मदिराको सामाजिक भाव–प्रभाव

मदिराजन्य वस्तुको बेचबिखनबाट राज्यले प्राप्त गर्दै आएको राजस्वभन्दा कैयौं गुणा बढी मानव स्वास्थ्य तथा समाजमा पारेको नकारात्मक र दूरगामी प्रभावबारे सरकारले अध्ययन गर्न जरुरी छ ।

माघ ३, २०८१

मधु राई

Social impact of alcohol

पाँच दशकअघि प्रवासमा छँदा आमाले घरमूलीको भूमिका निर्वाह गर्दै कोदो र चामलको घरेलु जाँड बनाएर बेच्नुहुन्थ्यो । अरू दिन आमाले घरमै बेच्ने गरे पनि हामी दुई छोरी आइतबारे हाटका दिन घरनजिकैको बाटोमा अस्थायी पसल थापेर जाँड बेच्ने गर्थ्यौं ।

तीनताका पल्टने बुबाले पठाउने गरेको सीमित खर्चले गर्जो टार्न हम्मे पर्ने गरेकाले पनि आमाले मदिराजन्य वस्तु बेच्नुपरेको पछि हामीले थाहा पायौं । यसरी आफूले मदिराजन्य वस्तु बेचे पनि उहाँले हामीलाई सधैँजसो ‘राम्ररी लेखपढ गर नत्र हामीले जस्तै दु:ख पाउँछौं’ भन्नुहुन्थ्यो ।

म घरको जेठोपाको र पढाइमा औसतभन्दा माथि भएकाले कलेजसम्म पढ्न पाएँ । यसरी ऊबेला आमा र आमाजस्ता धेरैले आफ्नो घरको आर्थिक विपन्नतासँग जुध्न मदिरालाई माध्यम बनाए । अर्थात्, ऊबेलाको जनजीवनमा मदिराको बेचबिखनले हामीजस्ता परिवारका कतिपय छोराछोरीले शिक्षाको उज्यालो चिहाउने अवसर पायौं ।

हिजो अतिरिक्त आयआर्जनको विकल्प नहुँदा आमाजस्ता धेरैले अतिरिक्त आयआर्जन गर्न आफैं मदिरा बनाएर बेचबिखन गर्थे । आज, मदिरा व्यवसाय अर्थतन्त्र सुधार्ने दरिलो माध्यम बन्दै गएको छ । हुनेखाने शिक्षितहरू साथीभाइसँग आफ्नो हैसियतअनुसार खुसीयाली मनाउन वा मनोरञ्जन गर्न होटल रेस्टुराँमा पुग्छन् ।

पछिल्लो समय भोजभतेरमा समेत मदिराजन्य वस्तुको अनिवार्यता बढ्दै गएको छ । हरेक टोल र गल्लीमा मदिराको पसल यत्रतत्र भेटिनु भनेको यसका पारखी दिनानुदिन बढ्दै जानु पनि हो । हिजो मानिस विपन्नतासँग जुध्न मदिराको व्यवसाय गर्थे भने आज आयआर्जन र रोजगारीका अनेकन विकल्प भए पनि कतिपय आफ्नो रोजाइमा मदिरा व्यवसाय गर्छन् ।

हिजोका दिन मदिराका उपभोक्ता विपन्न र निरक्षर पनि हुन्थे, आज सम्पन्न घरका कतिपय शिक्षित पुरुषको दैनिकी मदिरा सेवनबाट सुरु हुन्छ । कतिपय यस्ता मदिराप्रेमी पुरुषले श्रीमती, छोरीबुहारीलाई मानसिक मात्र होइन शारीरिक यातनासमेत दिने गरेका छन् । दुःखलाग्दो कुरा त सार्वजनिक ठाउँमा अरूका छोरीबुहारीमाथि कुदृष्टि राख्ने यस्ता पुरुषका व्यवहारलाई बहुसंख्यकले ‘आ, यिनीहरू यस्तै हुन्’ भनेर वास्ता गर्दैनन् ।

पछिल्लो समय महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना बढ्नुमा मदिरा सेवन पनि एक कारक देखिन्छ । यस्ता घरका कतिपय छोराछोरी हिंसा सहन नसकी सानैमा बेपत्ता हुने गर्छन् भने कतिपयले स्कुले शिक्षा पूरा गर्दैनन् । कतिपय त आफ्ना पीडा भुल्न स्वयं मदिराको कुलततिर लागेको पनि देखिन्छ । मदिराप्रेमी अभिभावकका कारण बिचल्लीमा परेका छोराछोरी कोही अनाथाश्रममा पुगेका छन् भने कतिपयको रात सडकका पेटीमा बित्ने गरेको छ ।

परापूर्वकालदेखि नै जनजीवनसँग मदिराको सम्बन्ध नियाल्दा एकातिर आयआर्जनको स्रोत देखिन्छ भने अर्कातिर यसको दुरुपयोगले मानिसलाई कुलतमा पुर्‍याई जीवन नै जोखिममा पार्ने अवस्था पनि छ । केही महिनाअघि मेरै उमेरका मदिराप्रेमी छिमेकीले मदिराकै कारण अकालमा ज्यान गुमाउनुपर्‍यो । 

नेपाली समाजमा विकास निर्माणका काममा महिलाको सहभागितालाई नजरअन्दाज गरिने परम्परा रहँदै आए पनि मदिराजन्य वस्तुको विज्ञापनमा महिलालाई अनिवार्य सहभागी गराउँदै आएको देखिन्छ । जसका कारण पनि पुरुषसँगसँगै शिक्षित र सम्पन्न महिला पनि मदिराप्रेमी बन्ने वातावरण तयार हुँदै छ । यी र यस्ता कतिपय कारण पनि पछिल्लो समय मदिराका नयाँ उपभोक्तामा युवायुवतीको संख्या बढ्दै छ । यसरी सरकार र सञ्चारमाध्यमको मदिराजन्य वस्तुप्रतिको उदारताकै कारण पनि नेपाली समाज मदिरामय बन्दै गएको सहजै अनुमान गर्न सकिन्छ ।

कतिपय समुदायमा मदिराजन्य वस्तुको धार्मिक र सांस्कृतिक महत्त्व बढ्दो छ । उदाहरणका लागि किराती समुदायमा मदिराबिनाको धार्मिक र सांस्कृतिक अनुष्ठान कल्पना गर्न सकिँदैन । किरातीको महान् चाड उँभौली र उँधौलीका दिन मनाइने पर्वमा मदिरालाई प्रसादका रूपमा ग्रहण गरिन्छ भने नेवार समुदायमा पनि मदिराको महत्त्वपूर्ण भूमिका छ ।

यद्यपि चाडबाडमा मदिराको उपभोगलाई सामान्य रूपमा लिए पनि पछिल्लो समय चाडपर्वका दिन सार्वजनिक स्थलमा मदिराजन्य वस्तुको जथाभावी बेचबिखन र सेवन बढ्दै गएको देखिन्छ । 

अमेरिका, बेलायत तथा अस्ट्रेलियालगायत कतिपय विकसित मुलुकमा मदिराको बेचबिखन र सेवन गर्न निश्चित प्रक्रिया र उमेर तोकिएको हुन्छ । छिमेकी मुलुक भारतका कतिपय राज्यमा मदिराजन्य वस्तुको बिक्री वितरण र सेवनमा सरकारले प्रतिबन्ध लगाएको छ ।

विहार राज्यमा मदिराप्रेमीले निश्चित समयमा निश्चित उमेर पुगेपछि मात्र मदिरा किन्न पाइन्छ भने हामीकहाँ तीनै तहको सरकार मदिराजन्य वस्तुको बिक्रीवितरण र सेवनमा उदार बन्ने गरेको देखिन्छ । हामीकहाँ १८ वर्षभन्दा मुनिका व्यक्तिलाई मदिरा बेचबिखन गर्न नपाइनेजस्ता कानुन त छन्, तर ती पालना गराउन स्थानीय तहहरू चुकेका देखिन्छन् । विद्यालय तथा मठमन्दिरबाट सय मिटरवरिपरि यस्ता पसल सञ्चालन गर्न नपाउने भनिए पनि चोकैपिच्छे खुलेका मदिरा पसलले सरकारी नियम उल्लंघन गर्दै आइरहेको देखिन्छ ।

केही समययता कोशी प्रदेशमा सरकारले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने भनेर रणनीतिक योजना अघि बढाइरहेको विषयमा सञ्चारका विभिन्न माध्यमहरूले समाचार सम्प्रेषण गरेका थिए । तथापि यी र यस्ता कार्यक्रमलाई स्थानीय तहले कसरी कार्यान्वयन गर्छन् भन्नेबारे बहुसंख्यक अनभिज्ञ छन् । घरेलु मदिरालाई ब्रान्डिङ गरेर सरकारले यसबाट थप राजस्व संकलन गर्ने दूरगामी कार्यक्रम अघि सारे पनि विगत र वर्तमानमा मदिराजन्य वस्तुले व्यक्ति र समाजमा पारेको दूरगामी र नकारात्मक प्रभावबारे सरकारले लेखाजोखा गरेको देखिँदैन । 

मदिराजन्य वस्तुको बेचबिखनबाट राज्यले प्राप्त गर्दै आएको राजस्वभन्दा कैयौं गुणा बढी मानव स्वास्थ्य तथा समाजमा पारेको नकारात्मक र दूरगामी प्रभावबारे सरकारले अध्ययन गर्न जरुरी छ । यति मात्र होइन, छिमेकी मुलुक भारतमा जस्तै मदिराजन्य वस्तुको बेचबिखन र उपभोग गर्न विशेष नियम कानुन र उमेरको हदबन्दी तोक्न जरुरी छ । चाडबाडका बेला सार्वजनिक स्थलमा मदिराजन्य वस्तुको बेचबिखन र उपभोग बन्देज गर्न स्थानीय सरकारले पनि निगरानी बढाउन जरुरी छ ।

मधु मधु राई शैक्षिक अभियन्ता हुन् । उनी शिक्षा, शैक्षिक वातावरण, सिकाई लगायतका समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully