सकारात्मक सोचका लागि अध्यात्म

सकारात्मक सोचको सूक्ष्म तथा शक्तिशाली आधार आध्यात्मिकतामार्फत सिर्जना हुन्छ । आध्यात्मिक साधनाले आत्मालाई शुद्धि गराई उन्नत विचारतर्फ मार्गदर्शन गर्दै व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याइदिन्छ ।

माघ २, २०८१

विमला ढकाल

Spirituality for positive thinking

कुनै पनि विषय वा वस्तुमा केन्द्रित रही गरिने आन्तरिक चिन्तन मनन वा मनभित्र हुने विचार प्रवाह नै सोच हो, जुन अदृश्य हुन्छ । सोच वरपरको वातावरण, उपलब्ध सूचना वा तर्कका आधारमा निर्माण हुन्छ । जुन सोच दृढ हुन्छन् तिनले सफलता प्राप्त गर्छन् ।

सकारात्मक सोच कुनै पनि परिस्थिति वा विषय सम्बन्धित कुरालाई राम्रो पक्षबाट मनन तथा स्वाभाविक ढंगमा बुझ्ने प्रक्रिया हो । सोही क्रममा विषय वा परिस्थितिलाई नराम्रो अर्थले लिने, हेर्ने र व्याख्या गर्ने प्रवृतिले नकारात्मकतालाई बुझाउँछ । सोचबाट नै सिर्जना हुन्छ । स्वार्थरहित सोचहरू सत्यमय वा उत्तम हुन्छन् । दृढ सकारात्मक सोच मन, बचन र कर्मका साथै सात्विकता, निःस्वार्थपना र सत्यताले युक्त हुन्छन् । 

सोचकै कारण मानिसभित्र प्रेम, दया, करुणा र सेवाभावको विकास हुन्छ । यसका लागि आध्यामिकताको निरन्तर अभ्यास गर्न सकिन्छ । आन्तरिक शान्ति, चेतना प्राप्तिका लागि गरिने साधना नै अध्यात्म हो । आध्यात्मिकता र सकारात्मकताको संयोजनबाट जीवनका हरेक पक्षहरूमा सकारात्मक विचारको बीजारोपण हुन्छ । सकारात्मक सोच भएमा मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ । 

मानिसले हरबखत मनमा केही न केही कुरा खेलाई नै रहेको हुन्छ । मनका भावनाहरू अत्यन्तै चञ्चल हुन्छन् । तिनै कुराहरूबाट विचार निर्माण हुन्छ । विचार निर्माण प्रक्रियामा सही र गलत कुरा केलाउँदै राम्रा पक्षहरूलाई आत्मसात् गर्नु नै सकारात्मक सोच हो । आफैंले आफूलाई खुसी राख्न खोजिएन भने कसैले पनि खुसी राख्न सक्दैन । खुसी आाफैंभित्र खोज्न सकिन्छ । गल्तीहरूबाट पाठ सिक्दै आफैंले आफूलाई पनि क्षमा गरी आफ्नो मनमा भएका बोझ हल्का गर्न सकिन्छ ।

क्षमाशीलताको भावना संसारका हरेक धर्मग्रन्थ तथा संस्कृतिहरूमा पाइन्छ । हाम्रो वैदिक तथा सनातन संस्कृतिले सकारात्मकताको संस्कार सिकाएको छ । उपनिषद्मा उल्लेखित ‘असतो मा सत्गमय, तमसो मा ज्योतिर्गमय, मृर्त्योमा अमृतं गमय अर्थात् असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ, मृत्युदेखि अमरत्व’ तर्फ भन्ने श्लोकमा प्रवाहित विचारले सकारात्मक सोचको महत्त्व दर्शाएको छ । 

सकारात्मक सोचलाई विश्व समाजमा समेत प्रवाहित गर्नु आवश्यक छ । संयुक्त राष्ट्रसंघको दिगो विकासका मुख्य लक्ष्यहरू जस्तो गुणस्तरीय शिक्षामा नवीन सोचलाई प्रोत्साहन दिन, स्वस्थ समाजको निर्माण गर्न, गरिबी अन्त्य गर्न, जलवायु परिवर्तनको चुनौतीलाई अवसरका रूपमा लिन र नवीन समाधानहरू विकास गर्न, शान्ति र न्याय कायम राख्न, द्वन्द्व समाधान र सहअस्तित्वको भावना विकास गर्न सकारात्मक सोच अनिवार्य छ । 

मनुष्य प्रकृतिको त्यो अद्भुत सिर्जना हो जसले तर्क, कारण तथा चेतनाद्वारा आफ्ना जीवनका अनुभवहरू मार्फत सही बुद्धि, विवेक, ध्यान, चिन्तन प्रयोग गरेर सकारात्मक सोचको विकास गर्न सक्छ । हरेक व्यक्तिले आफ्ना वरपरका वातावरण, प्राकृतिक अवयव अरूसँग सामीप्यता बढाएर आफ्नो सोचलाई सकारात्मकतातर्फ उन्मुख गराउन सक्छ ।

सकारात्मकताको अभ्यासका निम्ति आफूसँग उपलब्ध स्रोत, साधन र साधनाबाट विभिन्न सरल क्रियाकलापहरू अनुसरण गर्न सकिन्छ ।सामाजिक तथा पारिवारिक संस्कारहरू मार्फत सानै उमेरदेखि बालबालिकालाई पनि प्राकृतिक तथा आध्यात्मिक कार्यहरूमा सम्मिलित गराउँदा उनीहरूमा सकारात्मक सोचको विकास हुन सक्छ । 

विश्व जगत्का महान् विचारक तथा आध्यात्मिक साधकहरूले सकारात्मक सोचमार्फत समाजलाई प्रगतिको दिशातर्फ उन्मुख गराउन योगदान दिएका छन् । सादा जीवन उच्च विचार राख्ने महात्मा गान्धीको अध्यात्मको साधना र सत्याग्रहमार्फत सकारात्मक सोचको विस्तारबाट भारतले आफ्नो स्वतन्त्रता पाउन सफल भएको थियो । त्यसैगरी अमेरिकी अधिकारवादी नेता मार्टिन लुथर किङ जुनियर सकारात्मक सोचमार्फत भ्रातृभाव र प्रेमको भावनाबाट रंगभेद नीतिको अन्त्य गरी समान अधिकारको बिगुल फुक्न सफल हुनुभएको थियो । 

खप्तड बाबाले व्यक्ति, परिवार तथा समाजमा विचारको सूक्ष्म तथा व्यापक प्रभाव हुने हुनाले विचारलाई बलवान् राख्न र आनन्दमा मग्न रहन प्रेरणा दिनुभएको छ । जीवन त्यस्तो एक चक्र हो, जहाँ सुख, दुःख, सहज, असहज, सफलता, असफलता, लाभ, हानि एकपछि अर्को निरन्तर चलिरहन्छ । यही चक्रमा रहेर जीवन निर्वाह गर्ने क्रममा आइपर्ने समस्या तथा चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ । सानातिना समस्या पर्दैमा हतोत्साही हुनु हुँदैन, यदि ती कुराहरूको जकडमा परियो भने मानसिक अशान्ति, तनाव, अनेक शारीरिक कठिनाइहरू आउन सक्छन् । 

जीवनमा आउने परिस्थितिहरूले कुनै न कुनै शिक्षा दिएर वा पाठ सिकाएर जान्छन् । सकारात्मक सोचले मनस्थितिलाई स्फूर्त बनाई परिस्थितिजन्य जटिलताहरूलाई पनि सहजै रूपमा स्वीकार गर्न सक्ने क्षमता विकास गर्छ । सकारात्मक सोचको सूक्ष्म तथा शक्तिशाली आधार आध्यात्मिकतामार्फत सिर्जना हुन्छ । आध्यात्मिक साधनाले आत्मालाई शुद्धि गराई उन्नत विचारतर्फ मार्गदर्शन गर्दै व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याइदिन्छ ।

आफ्नो मनमा उत्तम सोच र विचारहरूलाई स्थान दिन सक्यौं भने जीवनमा आनन्द, आरोग्य, ऐश्वर्य प्राप्त गर्न सकिन्छ । सदा राम्रा सोचहरूलाई मनमा ल्याउने अभ्यास गर्न सकेमा नराम्रा सोचहरू स्वतः नष्ट हुँदै जान्छन् । सकारात्मक सोचको निरन्तर अभ्यासबाट मानिसमा रहेको अन्तर्निहित क्षमताको उजागर भई परमानन्दमय जीवनयापन गर्न सकिन्छ । 

विमला

Link copied successfully