सकारात्मक सोचको सूक्ष्म तथा शक्तिशाली आधार आध्यात्मिकतामार्फत सिर्जना हुन्छ । आध्यात्मिक साधनाले आत्मालाई शुद्धि गराई उन्नत विचारतर्फ मार्गदर्शन गर्दै व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याइदिन्छ ।
कुनै पनि विषय वा वस्तुमा केन्द्रित रही गरिने आन्तरिक चिन्तन मनन वा मनभित्र हुने विचार प्रवाह नै सोच हो, जुन अदृश्य हुन्छ । सोच वरपरको वातावरण, उपलब्ध सूचना वा तर्कका आधारमा निर्माण हुन्छ । जुन सोच दृढ हुन्छन् तिनले सफलता प्राप्त गर्छन् ।
सकारात्मक सोच कुनै पनि परिस्थिति वा विषय सम्बन्धित कुरालाई राम्रो पक्षबाट मनन तथा स्वाभाविक ढंगमा बुझ्ने प्रक्रिया हो । सोही क्रममा विषय वा परिस्थितिलाई नराम्रो अर्थले लिने, हेर्ने र व्याख्या गर्ने प्रवृतिले नकारात्मकतालाई बुझाउँछ । सोचबाट नै सिर्जना हुन्छ । स्वार्थरहित सोचहरू सत्यमय वा उत्तम हुन्छन् । दृढ सकारात्मक सोच मन, बचन र कर्मका साथै सात्विकता, निःस्वार्थपना र सत्यताले युक्त हुन्छन् ।
सोचकै कारण मानिसभित्र प्रेम, दया, करुणा र सेवाभावको विकास हुन्छ । यसका लागि आध्यामिकताको निरन्तर अभ्यास गर्न सकिन्छ । आन्तरिक शान्ति, चेतना प्राप्तिका लागि गरिने साधना नै अध्यात्म हो । आध्यात्मिकता र सकारात्मकताको संयोजनबाट जीवनका हरेक पक्षहरूमा सकारात्मक विचारको बीजारोपण हुन्छ । सकारात्मक सोच भएमा मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ ।
मानिसले हरबखत मनमा केही न केही कुरा खेलाई नै रहेको हुन्छ । मनका भावनाहरू अत्यन्तै चञ्चल हुन्छन् । तिनै कुराहरूबाट विचार निर्माण हुन्छ । विचार निर्माण प्रक्रियामा सही र गलत कुरा केलाउँदै राम्रा पक्षहरूलाई आत्मसात् गर्नु नै सकारात्मक सोच हो । आफैंले आफूलाई खुसी राख्न खोजिएन भने कसैले पनि खुसी राख्न सक्दैन । खुसी आाफैंभित्र खोज्न सकिन्छ । गल्तीहरूबाट पाठ सिक्दै आफैंले आफूलाई पनि क्षमा गरी आफ्नो मनमा भएका बोझ हल्का गर्न सकिन्छ ।
क्षमाशीलताको भावना संसारका हरेक धर्मग्रन्थ तथा संस्कृतिहरूमा पाइन्छ । हाम्रो वैदिक तथा सनातन संस्कृतिले सकारात्मकताको संस्कार सिकाएको छ । उपनिषद्मा उल्लेखित ‘असतो मा सत्गमय, तमसो मा ज्योतिर्गमय, मृर्त्योमा अमृतं गमय अर्थात् असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ, मृत्युदेखि अमरत्व’ तर्फ भन्ने श्लोकमा प्रवाहित विचारले सकारात्मक सोचको महत्त्व दर्शाएको छ ।
सकारात्मक सोचलाई विश्व समाजमा समेत प्रवाहित गर्नु आवश्यक छ । संयुक्त राष्ट्रसंघको दिगो विकासका मुख्य लक्ष्यहरू जस्तो गुणस्तरीय शिक्षामा नवीन सोचलाई प्रोत्साहन दिन, स्वस्थ समाजको निर्माण गर्न, गरिबी अन्त्य गर्न, जलवायु परिवर्तनको चुनौतीलाई अवसरका रूपमा लिन र नवीन समाधानहरू विकास गर्न, शान्ति र न्याय कायम राख्न, द्वन्द्व समाधान र सहअस्तित्वको भावना विकास गर्न सकारात्मक सोच अनिवार्य छ ।
मनुष्य प्रकृतिको त्यो अद्भुत सिर्जना हो जसले तर्क, कारण तथा चेतनाद्वारा आफ्ना जीवनका अनुभवहरू मार्फत सही बुद्धि, विवेक, ध्यान, चिन्तन प्रयोग गरेर सकारात्मक सोचको विकास गर्न सक्छ । हरेक व्यक्तिले आफ्ना वरपरका वातावरण, प्राकृतिक अवयव अरूसँग सामीप्यता बढाएर आफ्नो सोचलाई सकारात्मकतातर्फ उन्मुख गराउन सक्छ ।
सकारात्मकताको अभ्यासका निम्ति आफूसँग उपलब्ध स्रोत, साधन र साधनाबाट विभिन्न सरल क्रियाकलापहरू अनुसरण गर्न सकिन्छ ।सामाजिक तथा पारिवारिक संस्कारहरू मार्फत सानै उमेरदेखि बालबालिकालाई पनि प्राकृतिक तथा आध्यात्मिक कार्यहरूमा सम्मिलित गराउँदा उनीहरूमा सकारात्मक सोचको विकास हुन सक्छ ।
विश्व जगत्का महान् विचारक तथा आध्यात्मिक साधकहरूले सकारात्मक सोचमार्फत समाजलाई प्रगतिको दिशातर्फ उन्मुख गराउन योगदान दिएका छन् । सादा जीवन उच्च विचार राख्ने महात्मा गान्धीको अध्यात्मको साधना र सत्याग्रहमार्फत सकारात्मक सोचको विस्तारबाट भारतले आफ्नो स्वतन्त्रता पाउन सफल भएको थियो । त्यसैगरी अमेरिकी अधिकारवादी नेता मार्टिन लुथर किङ जुनियर सकारात्मक सोचमार्फत भ्रातृभाव र प्रेमको भावनाबाट रंगभेद नीतिको अन्त्य गरी समान अधिकारको बिगुल फुक्न सफल हुनुभएको थियो ।
खप्तड बाबाले व्यक्ति, परिवार तथा समाजमा विचारको सूक्ष्म तथा व्यापक प्रभाव हुने हुनाले विचारलाई बलवान् राख्न र आनन्दमा मग्न रहन प्रेरणा दिनुभएको छ । जीवन त्यस्तो एक चक्र हो, जहाँ सुख, दुःख, सहज, असहज, सफलता, असफलता, लाभ, हानि एकपछि अर्को निरन्तर चलिरहन्छ । यही चक्रमा रहेर जीवन निर्वाह गर्ने क्रममा आइपर्ने समस्या तथा चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ । सानातिना समस्या पर्दैमा हतोत्साही हुनु हुँदैन, यदि ती कुराहरूको जकडमा परियो भने मानसिक अशान्ति, तनाव, अनेक शारीरिक कठिनाइहरू आउन सक्छन् ।
जीवनमा आउने परिस्थितिहरूले कुनै न कुनै शिक्षा दिएर वा पाठ सिकाएर जान्छन् । सकारात्मक सोचले मनस्थितिलाई स्फूर्त बनाई परिस्थितिजन्य जटिलताहरूलाई पनि सहजै रूपमा स्वीकार गर्न सक्ने क्षमता विकास गर्छ । सकारात्मक सोचको सूक्ष्म तथा शक्तिशाली आधार आध्यात्मिकतामार्फत सिर्जना हुन्छ । आध्यात्मिक साधनाले आत्मालाई शुद्धि गराई उन्नत विचारतर्फ मार्गदर्शन गर्दै व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याइदिन्छ ।
आफ्नो मनमा उत्तम सोच र विचारहरूलाई स्थान दिन सक्यौं भने जीवनमा आनन्द, आरोग्य, ऐश्वर्य प्राप्त गर्न सकिन्छ । सदा राम्रा सोचहरूलाई मनमा ल्याउने अभ्यास गर्न सकेमा नराम्रा सोचहरू स्वतः नष्ट हुँदै जान्छन् । सकारात्मक सोचको निरन्तर अभ्यासबाट मानिसमा रहेको अन्तर्निहित क्षमताको उजागर भई परमानन्दमय जीवनयापन गर्न सकिन्छ ।
