अध्यादेशको शासन

ओली सरकारले यसपटक सिफारिस गरेका अध्यादेशका विषयवस्तुबारे आगामी दिनमा छलफल हुँदै जाने नै छन्, तर संसद् अधिवेशन पछाडि धकेलेर त्यति धेरै अध्यादेश ल्याइनु बलमिच्याइँ मात्रै हो, कांग्रेस–एमाले जस्ता परम्परावादी संसदीय दलको संयुक्त सरकारले जे गरिरहेको छ, त्यसले यो व्यवस्थाकै हुर्मत लिने निश्चित छ

पुस २९, २०८१

किशोर दहाल

Rule of Ordinance

सामान्यतया संसद्को हिउँदे अधिवेशन पुस पहिलो वा दोस्रो हप्तातिर सुरु भइसक्थ्यो । यसपटक भने माघ दोस्रो साता मात्रै सुरु हुन सक्ने सम्भावना देखिँदै छ । समय भइसक्दा र विपक्षी दलहरूले समेत आग्रह गरिरहँदा सरकारले भने अधिवेशनलाई अकारण धकेलिरहेको छ । र, केही दिनको अन्तरालमा दुई पटक अध्यादेश सिफारिस गरेको छ ।

पुस ९ को मन्त्रिपरिषद्बाट ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सिफारिस भएको थियो, जसलाई राष्ट्रपतिले पुस १४ गते जारी गरेका थिए । पुस २६ गते मध्यरातसम्म बसेको मन्त्रिपरिषद्को बैठकले केही नेपाल ऐन संशोधन अध्यादेश, भूमिसम्बन्धी कानुन संशोधन गर्न बनेको अध्यादेश र लगानीसम्बन्धी कानुन संशोधन गर्न बनेको अध्यादेश सिफारिस गर्‍यो । दल विभाजनका लागि सहज प्रावधान राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश पनि ल्याउने तयारी भइरहेको सत्तापक्षकै नेताहरू बताउँछन् ।

संसदीय प्रणालीको वकालतकर्ता कसैले पनि अध्यादेशलाई सैद्धान्तिक रूपमा समर्थन गर्न सक्दैनन् । यसलाई परिस्थिति र अध्यादेशको अन्तरवस्तु र उद्देश्यका आधारमा यदाकदा ‘ठिकै छ नि त’ भनेर स्वीकार गर्न भने सक्छन् । यसपटक सरकारले अध्यादेश ल्याउनैपर्ने कुनै बाध्यात्मक परिस्थिति छैन ।

साथसाथै, जस्ता विषयमा अध्यादेश ल्याइएको छ, त्यसको औचित्य पनि स्थापित हुँदैन । बरु संसदीय व्यवस्थाको सबलीकरण र आमजनताको अपेक्षाप्रति सरकार र सत्ता गठबन्धनको बेपर्वाह छविलाई बलियो बनाउँछ । शासकीय उन्मादको आडमा उनीहरूबाट व्यवस्थामाथि बलमिच्याइँ भइरहेको स्थापित हुन्छ । एकातिर संसदीय व्यवस्थाप्रति नै असन्तुष्ट समूह समाजमा छ । अर्कोतिर यही व्यवस्थाका सबैभन्दा ठूला दुई हिमायतीले व्यवस्थालाई नै कमजोर बनाउन सघाउने ढंगले आफ्ना शासकीय प्राथमिकता प्रस्तुत गर्नु दुःखद स्थिति हो ।

अध्यादेश ल्याउनका लागि सरकारलाई संविधानले नै सर्तयुक्त सुविधा दिएको छ । हाम्रा व्यवस्था, परम्परा र विश्वव्यापी मान्यताले त्यसको नैतिक दायरा पनि तय गरेको छ । तर सरकारले संवैधानिक सुविधालाई मात्रै प्रयोग गर्दै जाँदा केही वर्षयता अध्यादेशको नाममा मनोमानी स्थापित भइरहेको छ । मुलुक अध्यादेशको शासनतर्फ उन्मुख हुन थालेको छ । सबैभन्दा संवेदनशील विषयचाहिँ सत्ताधारीहरूको व्यक्तिगत वा दलीय आग्रह/पूर्वाग्रहमा हेलिएर संवैधानिक सुविधाको व्यापक दुरुपयोग भइरहेको छ । यो लेखमा यिनै विषयमा चर्चा गरिनेछ ।

संवैधानिक सुविधा

संसदीय व्यवस्थाको मूल मर्म हो– संसद्ले कानुन बनाउँछ, सरकारले कार्यान्वयन गर्छ र न्यायपालिकाले कार्यपालिकाका कामकारबाही कानुनसम्मत छन् वा छैनन् भनेर परीक्षण गर्छ । आ–आफ्नो कामका लागि उनीहरू सार्वजनिक निगरानीमा हुन्छन् । शक्ति पृथकीकरणको विश्वव्यापी मान्यता र सिद्धान्तले पनि यही भन्छ । यो मान्यताको जति पूर्ण पालना हुन्छ, संसदीय व्यवस्था त्यति नै बलियो बन्दै जान्छ । यद्यपि, कानुन बनाउँदा भविष्यमा आइपर्न सक्ने सबै जटिलताको आकलन गर्न सकिँदैन ।

अर्थात् भविष्यमा सरकारले कानुनी सम्बोधन गर्नुपर्ने कुनै समस्या वर्तमानमै थाहा नहुन सक्छ । जुनबेला समस्या आइपर्छ, त्यसबाट निकास पाउनका लागि नयाँ कानुन चाहिन सक्छ वा पुरानो कानुनको कुनै प्रावधानमा हेरफेर गर्नुपर्ने हुन सक्छ । त्यतिबेला आवश्यक कानुनका लागि द्रुतमार्ग चाहिन सक्छ । अध्यादेशको औचित्य यहीं स्थापित हुन्छ ।

यस प्रसंगमा संसद्बाट कानुन बनाइने विषयलाई दुईवटा कोणबाट हेर्नुपर्छ । पहिलो, कतिपय अवस्थामा छिटो छरितो गर्न सकिने भए पनि सामान्यतया संसद्ले कानुन बनाउँदा लम्बेतान प्रक्रिया अवलम्बन गर्छ । संसदीय प्रक्रियामा छिटो छरितो भन्ने हुँदैन । जब विधेयक अघि बढ्छ, त्यस क्रममा सांसदहरूले व्यक्तिगत रूपमा आफ्नो प्रारम्भिक धारणा राख्ने, विधेयकमाथि संशोधन प्रस्ताव राख्ने, सामूहिक अन्तरक्रिया गर्ने, सरोकारवालासँग छलफल गर्ने, पक्ष–विपक्षका धारणा सुन्ने जस्ता अनेकौं काम हुन्छन् ।

संसद्को पूर्ण बैठक, सम्बन्धित संसदीय समिति, फेरि पूर्ण बैठकबाट सम्बन्धित विधेयक गुज्रिनुपर्छ । दुई सदनात्मक हाम्रो जस्तो संसदीय व्यवस्थामा दुवै सदनमा तोकिएका प्रक्रिया पूरा गर्नुपर्छ । विधेयकको उत्पत्तिदेखि राष्ट्रपतिबाट प्रमाणीकरण हुने अवस्थासम्म पुग्दा महिनौं बित्छन् । कतिपय विधेयकले त वर्षौं पनि समय लिइदिन्छन् । संसदीय व्यवस्थाका पक्षधरहरूले यसलाई स्वीकार गर्नैपर्छ । यो व्यवस्थाको वकालत पनि गर्ने, अनि संसद्बाट कानुन बन्न लामो समय लाग्ने भएकाले अध्यादेश ल्याइयो भनेर तर्क गर्न मिल्दैन ।

दोस्रो, प्रक्रिया लामो भए पनि संसदीय व्यवस्थाले कुनै पनि विषय वा विधेयकमा बढीभन्दा बढी पक्षको सहभागिता सुनिश्चित गर्छ । विधेयकहरूमा फरकफरक पार्टीको सामूहिक वैचारिक मान्यता, पार्टीभित्रकै सांसदको स्वतन्त्र वैचारिक मान्यता, तिनै सांसदले आफ्नो लिंग, धर्म, समुदाय, भूगोलप्रति संवेदनशील भएर राख्ने विचार, सदन बाहिरका सरोकारवाला वा सम्बन्धित विषयमा अनुभव र अनुसन्धान भएका व्यक्तिहरूले यसमा भाग लिन्छन् ।

फरकफरक मिडिया, बुद्धिजीवी, सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत सदनमा प्रवेश गरेका कैयौं विधेयक/विषयमाथि बहस र छलफल गर्छन् । यसरी व्यापक वैचारिक र संख्यात्मक मन्थनपछि पुगिएको निष्कर्षले नै धेरैको हित गर्छ र त्यो दिगो पनि हुन्छ भन्ने मान्यता नै संसदीय व्यवस्थाको सौन्दर्य हो । लम्बेतान प्रक्रियाबाट अघि बढेर भए पनि बढीभन्दा बढी ‍सरोकारवालाको अपनत्व सुनिश्चित गर्ने प्रयत्न गरिन्छ । समग्रमा, बृहत् छलफल र वैचारिक घर्षणपछि निष्कर्षमा पुग्नु र त्यसलाई कार्यान्वयनमा लैजानु संसदीय व्यवस्थाको मूल मान्यता हो ।

यो सबै विधि र प्रक्रिया पूरा गर्दा सामान्यतया तत्काल चाहिने कानुनसमेत तयार हुने सम्भावना ज्यादै कम मात्रै हुन्छ । अर्कोतिर, कतिपय संकटमा संसद् नै सक्रिय हुन नसक्ने अवस्था बन्छ । कोभिड महामारी त्यस्तै एउटा कालखण्ड थियो । मुख्यतः संसद्को अधिवेशन सधैं चलिरहेको हुँदैन । यसरी संसद् अधिवेशन नचलेको समयमा तत्कालै कानुन चाहिने अवस्था बन्यो भने सरकारले अध्यादेश नामको कानुन ल्याउन पाउने सुविधा संविधानले नै सुरक्षित गरेको छ ।

नेपालको संविधानको धारा ११४ मा ‘संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ’ भन्ने प्रावधान राखिएको छ । त्यस्तो अध्यादेश ऐनसरह मान्य हुने भनिएको छ । तर त्यस्तो अध्यादेश जारी भएपछि बसेको संघीय संसद्को दुवै सदनको पहिलो बैठकमा सम्बन्धित मन्त्रीले पेस गर्नेछ । दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ ।

राष्ट्रपतिले जुनसुकै बखत खारेज गर्न सक्नेछन् । यी दुवै बाटोबाट निष्क्रिय वा खारेज नभएमा दुवै सदनको बैठक बसेको ६० दिनपछि स्वतः निष्क्रिय हुनेछ । संविधान र सदनका नियमावलीले प्रस्ट पारेका सन्देश के हुन् भने, कुनै पनि अध्यादेश दीर्घायु हुन सक्दैन । यो तत्कालै आइपर्ने समस्याको कानुनी समाधानका लागि सरकारलाई उपलब्ध क्षणिक सुविधा मात्रै हो । दीर्घकालीन कानुन निर्माणको अधिकार वा जिम्मेवारी संसद्को मात्रै हो । अध्यादेश जीवित राख्न पनि संसद्को स्वीकृति चाहिनुपर्ने र त्यहाँ प्रस्तुत अध्यादेश/प्रतिस्थापन विधेयकलाई संसद्ले नियमित कामका रूपमा अघि बढाउने प्रावधानले कानुन निर्माणमा संसद्को सर्वोच्चतालाई प्रस्ट पारेको छ ।

संसद्ले कानुन बनाउँदा जति र जस्ता प्रक्रिया अपनाउँछ, अध्यादेशमा भने ती सबै छुट्छन् । जसले गर्दा कमजोर कानुनी प्रबन्ध तयार हुने सम्भावना रहन्छ । किनकि, अध्यादेश भनेकै मन्त्रिपरिषद् वा प्रधानमन्त्रीले आफ्नो दिमागमा कानुन सिर्जना गर्ने र त्यसलाई जारी गराएर कार्यान्वयन गर्ने अवधारणा हो । बहुपक्षीय मन्थनबाट निष्कर्षमा पुग्नुपर्ने विषयलाई सीमित व्यक्तिको दिमागबाट सिर्जना गर्दा त्रुटि हुने सम्भावना अधिक रहन्छ ।

राजाको निरंकुश शासनकालमा र संसद् नै नरहेको अवस्थामा अध्यादेशहरू पर्याप्त जारी हुने गरेका थिए । तर, संसद् रहेका बेलामा भने बिरलै मात्रै अध्यादेश जारी हुने गरेको थियो । संघीय संसद् सचिवालयको ‘नेपालमा अध्यादेशः व्यवस्था र अभ्यास’ शीर्षकको अध्ययन प्रतिवेदन, २०७९ का अनुसार, पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पालामा (२०१६–२०१७) मा पाँचवटा अध्यादेश जारी भएका थिए । २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापित भएपछि २०४८ मा निर्वाचन भयो । त्यसपछिका सरकारले पनि अध्यादेशमा खासै रुचि राखेको पाइँदैन । २०४८ देखि २०५९ मा प्रतिनिधिसभा विघटन हुनुअघिसम्मको दसवर्षे अवधिमा केवल २३ वटा अध्यादेश जारी भएका थिए ।

२०५३ र २०५६ सालमा त अध्यादेश नै जारी भएका थिएनन् । २०५९ मा प्रतिनिधिसभा विघटन गरिएपछि अध्यादेश बाध्यात्मक बन्यो । संख्या पनि बढ्यो । सोहीअनुसार २०५९ मा ७, २०६० मा २७, २०६१ मा ३३ र २०६२ मा ७९ अध्यादेश जारी भएका थिए । २०६३ मा अन्तरिम संविधान जारी भएपछि २०७२ सालसम्म जम्मा ३९ वटा मात्रै अध्यादेश जारी भएका थिए । यसमा पनि पहिलो संविधानसभा भंग भएपछि बाध्यात्मक बनेको अध्यादेशको संख्या बढी छ । २०६९ मा मात्रै १६ वटा अध्यादेश जारी भएका थिए । संविधान जारी भएपछि २०७२ र २०७३ मा अध्यादेश नै जारी भएनन् । २०७४ मा भने ३ वटा अध्यादेश जारी भए ।

२०७४ को निर्वाचनपछि गठित सरकारको पालामा भने अध्यादेशको संख्या र नियत सोचनीय बन्दै जान थालेको छ । संविधानको मूल मर्म भुलेर अध्यादेश ल्याउने प्रवृत्तिको विरोध हुने गरेको छ । तर सरकारले त्यसलाई वास्ता गरेको पाइँदैन । बरु अध्यादेशमै सहज अनुभव गरेको देखिन्छ । २०७४ फागुनदेखि २०७८ असारसम्म लगातार दोस्रो र तेस्रो कार्यकाल प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका केपी शर्मा ओलीका पालामा ३१ वटा अध्यादेश जारी भएको देखिन्छ ।

त्यसक्रममा केही अध्यादेश दोहोर्‍याइ–तेहर्‍याइ पनि ल्याइएको थियो । उनीपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाका पालामा १५ र पुष्पकमल दाहाल प्रचण्डका पालामा तीनवटा अध्यादेश जारी भएको थियो । चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका ओलीका पालामा ६ महिना नबित्दै ४ वटा शीर्षकमा अध्यादेश आइसकेका छन् ।

सरकारले अध्यादेशमार्फत शासन गर्दा सांसदहरूको जिम्मेवारीमा दखल पुग्छ । किनकि, कानुन बनाउने काम उनीहरूको हो । तर सरकारले फटाफट अध्यादेश ल्याउँदा पनि उनीहरूले भने सशक्त प्रतिवाद गरेको पाइँदैन । विपक्षमा हुँदा व्यक्तिगत रूपमा केही सांसदले औपचारिकताका लागि बोलेको सुनिए पनि सत्तापक्षका सांसदहरू मौन नै रहन रुचाउँछन् । सत्तापक्ष वा विपक्षमा रहेका सांसदले आफ्नो विवेकबाट निर्देशित भएर सामूहिक रूपमा आमरूपमा औचित्य पुष्टि नहुने अध्यादेशविरुद्ध आवाज उठाउने हो भने सरकारको बलमिच्याइँमा कमी आउन सक्छ । सांसदहरूले संवैधानिक वा कानुनी सुधारका लागि पनि पहल लिन सके भने अध्यादेशको अवधारणा थप ठोस हुन सक्छ ।

सत्ताको दुरुपयोग

अधिकांश अध्यादेशमा प्रधानमन्त्रीको आग्रह/पूर्वाग्रह प्रतिबिम्बित हुन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ वैशाख ८ मा ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा तत्कालीन ‘समाजवादी पार्टी, नेपाल’ लाई विभाजन गर्ने उद्देश्य राखिएको थियो । त्यतिबेला ऐनमा रहेको राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य चाहिने व्यवस्थालाई अध्यादेशमार्फत परिमार्जन गर्दै ‘र’ को ठाउँमा ‘वा’ बनाइएको थियो । तर, पार्टी विभाजनको संकेत पाएपछि सो पार्टीले रातारात राष्ट्रिय जनता पार्टी, नेपालसँग एकता गरी जनता समाजवादी पार्टी, नेपाल निर्माण गरेको थियो । विवादमा परेपछि र उद्देश्य पनि असफल भएपछि अध्यादेश भने फिर्ता लिइएको थियो । 

एक त, त्यतिबेला अध्यादेशको अवधारणाकै विपरीत गएर अध्यादेश जारी गरिएको थियो । अर्कोतिर, जनता कोरोना महामारीको त्रासमा रहेको र मुलुकभर ‘लकडाउन’ जारी रहेका बेलामा सरकारले महामारीसँग जुध्न सहज हुने कानुनी प्रबन्ध गर्ने अपेक्षाविपरीत अमूक दल विभाजन गर्ने वा राज्य संयन्त्रमा हालीमुहाली गर्ने उद्देश्य राखेर अध्यादेश ल्याइएको थियो ।

दल विभाजनका लागि सहजीकरण गर्ने ओलीकै प्रवृत्तिलाई उनीपछि २०७८ साउनमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले पनि दोहोर्‍याए । २०७८ भदौ २ मा उनले नेकपा एमाले र जसपा नेपाल विभाजनको उद्देश्य राखेर जारी गराएको अध्यादेशमा राजनीतिक दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए पुग्ने प्रावधान राखियो । जसअनुसार एमालेबाट माधवकुमार नेपाल र जसपा नेपालबाट महन्थ ठाकुर नेतृत्वको एक–एक समूहले पार्टी विभाजन गर्‍यो ।

एकातिर दल विभाजनको बदनियत छँदै थियो, अर्कोतिर अधिवेशन चालु नरहेका बेलामा अध्यादेश ल्याउन सकिने सुविधाको दुरुपयोग गर्दै सरकारले अधिवेशन अन्त्य गरेको थियो । २०७८ साउन ३२ गतेको मन्त्रिपरिषद् बैठकबाट त्यसै दिन रातिदेखि संघीय संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । र, भोलिपल्टै अर्थात् भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो । जुन भदौ २ गते राष्ट्रपतिबाट जारी भएसँगै कार्यान्वयनमा आयो । आफूले चाहे जस्तो प्रावधानयुक्त कानुन तत्कालै बनोस् र उद्देश्य पूरा भइहालोस् भन्ने संकुचित उद्देश्य सरकारको देखिन्थ्यो । संसदीय प्रक्रियामा अघि बढ्दा त्यस्तो उद्देश्य सफल नहुन सक्थ्यो ।

यस्ता अध्यादेशहरू तत्काल कार्यान्वयन हुने र उद्देश्य पनि पूरा हुने भएकाले त्यसपछि भने अलपत्र पर्ने गरेको छ, जबकि संसद्बाट बनेको कानुन त्यस्तो हुँदैन । जस्तो कि, एमाले र जसपा नेपाल विभाजन गर्न ल्याइएको अध्यादेश उद्देश्य पूरा भएपछि भने अलपत्र पर्‍यो । जसले गर्दा लामो समयदेखि राजनीतिक दलसम्बन्धी ऐनमा रहेको दल विभाजनको प्रावधानमा शून्यता कायम भयो । ऐनमा दल विभाजन गर्ने प्रावधान नभएकै कारण २०८१ वैशाखमा जसपा नेपाललाई अशोक राई नेतृत्वको समूहले विभाजन गर्दा नियमावलीको आड लिएको थियो ।

ओलीले नै दोस्रो पटक प्रधानमन्त्री हुँदा पटकपटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराएका थिए । त्यसमार्फत उनले संवैधानिक परिषद्मा आफ्नो चाहनाअनुकूल हुने गरी सहजै निर्णय गर्न सकिने प्रावधान राखेका थिए । र, विभिन्न आयोग तथा संवैधानिक निकायमा नियुक्ति गरेका थिए । त्यससम्बन्धी विवाद अझै सर्वोच्चमा विचाराधीन छ ।

अध्यादेशमा प्रधानमन्त्रीको व्यक्तिगत इगोसमेत प्रतिबिम्बित हुने गरेको छ । त्यसको उदाहरण हो– शपथसम्बन्धी अध्यादेश । ओली प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा २०७८ वैशाख ३० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि सोही दिन उनले लिएको शपथ विवादमा परेको थियो ।

शपथ खुवाउने क्रममा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उच्चारण गरेको ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्ने वाक्यलाई दोहोर्‍याउँदा ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्यांश उच्चारण गरेनन् । त्यसपछि राष्ट्रपतिले पुनः ‘प्रतिज्ञा गर्छु’ भनिन् । तर ओलीले ‘त्यो पर्दैन’ भन्ने जवाफ दिए । उनले शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै छुटाउँदा शपथको मूल मर्म पनि छुटेको भन्दै पुनः शपथ लिनुपर्ने माग उठ्यो ।

संविधानको धारा ८० मा संघीय कानुनबमोजिम लिनुपर्ने गरी शपथसम्बन्धी व्यवस्था रहेको भए पनि त्यस्तो कानुन बनिसकेको थिएन । परम्परागत ढाँचामा चलिरहेको थियो । ओलीभन्दा अगाडिका प्रधानमन्त्री तथा उनले नै यसअघि प्रधानमन्त्री बन्दा राष्ट्रपतिकै शब्दलाई पछ्याएका थिए । शपथसम्बन्धी कानुनको आवश्यकतालाई बोध गर्दा ओली वा अन्य प्रधानमन्त्रीले त्यसअघि नै सदनबाट कानुन बनाएर पूर्ति गर्न सक्थे तर गरेनन् । बरु आफ्नो शपथ विवादमा परेपछि प्रधानमन्त्री भएको सातौं दिनमै ओलीले नै शपथसम्बन्धी अध्यादेश जारी गराए ।

उनी प्रधानमन्त्री बनिसकेका थिए, एउटा ढंगले शपथ लिइसकेका थिए । सदनको बाँकी कार्यकालभर प्रधानमन्त्री निरन्तर रहने अपेक्षा गरिने भएकाले त्यस्तो कानुनका लागि हतारो पनि थिएन । ओलीले सदनबाटै कानुन बनाउन सक्थे । तर आफूले अस्वीकार गरेको शब्द हटाइछाड्ने ‘इगो’ बाट निर्देशित भएर तत्कालै शपथ जारी गराएका थिए । रोचक के छ भने, उनले शपथका क्रममा उच्चारण गर्न अस्वीकार गरेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दलाई अध्यादेशमा राखिएको शपथको ढाँचाबाटै हटाएका थिए ।

मुलुकले कानुनी सम्बोधन नगरी नहुने अवस्था यदाकदा सिर्जना हुन्छ । त्यसैले सन्दर्भको संवेदनशीलताअनुसार यदाकदा एउटा, दुइटा अध्यादेश जारी हुँदा शंकाको सुविधा दिन पनि सकिन्छ । तर यहाँ त एकैपटक सातवटासम्म (२०७८ वैशाख २१) अध्यादेश जारी गरिएका उदाहरणसमेत छन् । पटकपटक एउटै अध्यादेश ल्याइरहनुको सट्टा संसद्बाटै दिगो कानुन बनाउने सोच राखेको देखिँदैन । ओली सरकारले यसपटक सिफारिस गरेका अध्यादेशका विषयवस्तुबारे आगामी दिनमा छलफल हुँदै जाने नै छन्, तर संसद् अधिवेशन पछाडि धकेलेर त्यति धेरै अध्यादेश ल्याइनु बलमिच्याइँ मात्रै हो । कांग्रेस–एमाले जस्ता परम्परावादी संसदीय पार्टीहरूको संयुक्त सरकारले जे गरिरहेको छ, त्यसले यो व्यवस्थाकै हुर्मत लिने निश्चित छ ।

यसरी, सत्ताशक्तिको दुरुपयोग गर्दै ल्याइने यस्ता अध्यादेशले यसको मुख्य अवधारणालाई नै ओझेल पार्दै लगेका छन् । मुख्यतः कार्यपालिका व्यवस्थापिकाप्रति उत्तरदायी हुनुपर्ने संसदीय व्यवस्थाको मर्मको पनि उल्लंघन भइरहेको छ । किनकि, अध्यादेश भनेकै व्यवस्थापिकाले बनाउनुपर्ने कानुन कार्यपालिकाले नै बनाउने अवस्था हो । व्यवस्थापिकाले बनाइदिएको कानुन कार्यान्वयन गर्नुपर्ने कार्यपालिकाले आफैं कानुन बनाउनु र आफैंले शासन गर्नु भनेको परीक्षार्थी स्वयंले प्रश्नपत्र बनाएर उत्तर लेखे जस्तै हो । अर्को अंगको जिम्मेवारी र अधिकार हडप्नु हो । कार्यपालिका स्वेच्छाचारी बन्दै जानु हो । यसले संसदीय व्यवस्थालाई नै कमजोर बनाउँछ ।

किशोर दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

Link copied successfully