मेवालाई जसरी खाए पनि यसले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछ, कब्जियत, खाना नपच्ने समस्या हटाउन सघाउँछ, मेवामा भिटामिन ‘सी’ को मात्रा प्रचुर हुन्छ
डाक्टर साहेब, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस् न ।’ अस्पताल, हेल्थपोस्ट र क्लिनिकमा काम गर्ने डाक्टर वा स्वास्थ्य कार्यकर्ताले प्रायः यस्तो सुनेकै हुनुपर्छ । परिवारका बालबालिका वा बिरामीबाट भर्खर तंग्रिन लागेका व्यक्तिलाई हतारमा टनिक खुवाउने प्रचलन अहिले गाउँसहर सबै ठाउँमा बढ्दो छ ।
सुत्केरीलाई ज्वानोको झोल खुवाएर दूध पर्याप्त मात्रामा आउँथ्यो । क्याल्सियम पनि हुन्थ्यो । तर अहिले ज्वानोको नाममा नाक खुम्च्याइन्छ । तर महँगा क्याल्सियमका चक्की भने मजासँग खुवाइन्छ ।
ग्राहक आफैं औषधि पसलमा गएर भन्छन्– ‘मलाई कमजोरी भएको छ, कुनै तागतको झोल दिनुस् न ।’ पसलेले ‘कुनै रंगीन झोल’ निकालेर दिन्छन् र ग्राहक खुसी हुँदै ‘तागतको सिसी’ लिएर फर्कन्छन् । विशेषगरी गाउँघरतिर महिलाहरू ढाड दुख्नेदेखि लिएर मुटु पोल्नेसम्म जुनसुकै प्रकारको शारीरिक अस्वस्थतामा पनि भिटामिन प्रयोग गर्छन् ।
सहरका महिलाले पनि आफैं ‘दुब्लो भएँ, मोटाउने भिटामिन दिनुस् न’ भनेपछि औषधि पसलबाट पाउँछन् । गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा कतिचोटि महिलाहरू खास कुनै समस्या नभए पनि कमजोरी भयो भनेर आउँछन् र भिटामिनको माग गर्छन् । उनीहरूलाई भिटामिन नदिने हो भने ‘कस्तो डाक्टर होला, केही रोग छैन भनेर भिटामिन दिएन’ भनेर गुनासो गरेको पनि सुनिन्छ । यस्तै, बच्चाले भात खाएन भनेर बजारको औषधि खुवाए भात र रोटीले पाउने पोषण पुग्छ भन्ठान्छन् ।
भिटामिन मानव शरीरका लागि नभई नहुने तत्त्व हो । भिटामिन दिनदिनै खाने भोजनबाट नै प्राप्त हुन्छ र यसको बढी प्रयोग गरेर ज्यादा फाइदा हुँदैन भन्ने कमैलाई थाहा हुन्छ । हेर्दा आकर्षक देखिने तर महँगा र अनावश्यक झोलले त्यसको पूर्ति हुन सक्दैन भन्ने तथ्यतर्फ कमैको ध्यान जान्छ । गर्भवती र सुत्केरी आमालाई सबै पौष्टिक तत्त्व एवं भिटामिन बढी चाहिन्छ । तर ती आवश्यक तत्त्वहरू प्राकृतिक भोजनमै हुन्छन् । तर, आमाहरू बच्चालाई भिटामिन झोल र टनिक दिएर सन्तुष्ट हुन्छन् । बच्चालाई पोषण दिइरहेको ठान्छन् तर कमैलाई थाहा छ– भान्छामा भएको भोजन नै सबभन्दा उपयुक्त हुन्छ ।
आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्र्याटसले भनेका थिए– ‘भोजन नै औषधि हो ।’ विभिन्न विज्ञापनको भरमा औषधि किनेर खाने प्रचलन र घरको खानेकुराले मात्रै हाम्रो शरीर कमजोर हुन्छ भन्ने गलत मानसिकताका कारण मानिसहरू सिसी र चक्की भिटामिन किनेर खान्छन् । हाम्रा करेसाबारीमा फलेका हरिया तरकारी, बजारमा पाइने मौसमअनुसारका फलफूललाई बेवास्ता गरेर धेरैजसो स्वास्थ्य राम्रो पार्नका लागि बजारका ‘टनिक’ खान्छौं ।
अनेक भ्रामक र अज्ञानताका कारण गाउँघरमा पनि सस्ता पोषक खानेकुरा छाडेर महँगो झोल तथा भिटामिन सुईका पछाडि दौडिने विकृति फैलिएको छ । यसको कारण सञ्चारमाध्यममा हर्लिक्स, बुस्ट, बोर्नभिटाको प्रचारप्रसार अत्यधिक हुनु पनि हो । राति अन्धो हुने रोगका लागि भिटामिन ‘ए’ को क्याप्सुल सरकारले बाँड्छ । तर सरकारले ‘मेवा वा अम्बा खानू है’ भन्दैन । जुन ठाउँमा पर्याप्त अमला पाइन्छ, त्यहाँ भिटामिन ‘सी’ को चक्की बेचिन्छ ।
औषधि पसलमा गएर रंगीन झोल किन्नु अगाडि डाक्टरलाई सोध्नुस्, ‘के वास्तवमै मलाई भिटामिन जरुरी छ ?’ भोक लगाउने टनिक आफूले खानुभन्दा अघि वा परिवारका सदस्यलाई दिनुभन्दा अघि सोच्नुस्, ‘के यो वास्तवमा चाहिन्छ नै ?’ भिटामिन झोल र टनिकको जरुरत तपाईंलाई हुँदैन यदि तपाईंले सन्तुलित भोजनबाट सबैखाले भिटामिन पाउन सकिन्छ भनेर बुझ्नुभयो भने । त्यसैगरी धेरै मानिस भोजन भनेर ‘पाचन गराउने रस’ किनेर खान्छन् । तर घरमै भएका ज्वानो र हिङले पच्ने प्रक्रिया राम्रो गराउँछ भनेर कतिलाई थाहा होला ?
खाना पचाउने भनेर थरीथरीका सिसी बजारबाट किनेर ल्याउनेलाई थाहा छ कि छैन, मेवामा भोजन पचाउन चाहिने सबै पाचन रस हुन्छन् । मेवालाई विभिन्न ठाउँमा विभिन्न तरिकाले प्रयोग गरिन्छ । कतै पाकेका फललाई झोल बनाएर खाइन्छ, कतै काँचो मेवालाई तरकारी वा अचार बनाएर खाइन्छ । जसरी खाए पनि यसले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउने मात्रा होइन कब्जियत, खाना नपच्ने समस्या हटाउन सघाउँछ । मेवामा भिटामिन ‘सी’ को मात्रा प्रचुर रहेको हुन्छ ।
आधुनिक पाचन रसका बारेमा जानिफकार प्रोफेसर म्यकस वोल्फले क्यानेडियन सिपाहीहरूमाथि एउटा अनुसन्धान गरेका थिए । उनले पर्याप्त मात्रामा पाचन रस भएका फलफूलको रस खान दिएका सिपाहीहरूको स्वास्थ्यमा सुधार मात्र भएन कि उनीहरूमध्ये जसलाई धेरै रुघाखोकी लागिरहन्थ्यो २ तिहाइलाई त लामो समयसम्म रुघाखोकी नै लागेन ।
एक तिहाइ सिपाहीलाई रुघाखोकी लागे पनि कडा रूपले लागेन । प्रोफेसरले आफ्ना विभिन्न अनुसन्धानबाट यो निष्कर्ष निकाले कि शरीरमा पर्याप्त मात्रामा पाचन रस हुने हो भने व्यक्तिहरूको शरीरमा कीटाणुले आक्रमण गरेर रोग लाग्ने सम्भावना कम हुन्छ । पाचन रस प्राप्त गर्न टाढा जानै पर्दैन । मेवामा रहेका पर्याप्त तत्त्वहरू नै खानेकुरा पचाउन पर्याप्त छन् ।
प्रायः मानिस घरमा फलेको मेवा खान छाडेर औषधि पसलमा गएर पचाउने औषधि, विभिन्न भिटामिनका झोल, शक्ति दिने झोल, सुत्केरी महिलालाई दूध बढाउने झोल, बालबालिकालाई भोक लगाउने झोलका बट्टा किनेको पाइन्छ । ‘नजिकको तीर्थ हेला’ भनेझै आफूसँग भएको उपयोगी फलफूलको बेवास्ता गरेर त्यसको सट्टामा महँगा झोलहरू किन किन्ने ?
