अध्यादेशको शासन बन्द गर, संसद्‌बाट अघि बढ

आलोचकले मात्रै होइन, कांग्रेस–एमाले मिलनलाई प्रगति र समृद्धिको प्रस्थानबिन्दु मान्नेहरू पनि यतिबेला सरकार अनपेक्षित रूपमा सुस्त र अलमलमा परेको मूल्यांकन गरिरहेका छन् । राजनीतिक मुद्दा हुन् वा आर्थिक सूचक, सेवा प्रवाह हुन् वा सुशासन, जताततै शक्तिशाली सरकारको उपस्थिति खोजी भइरहेको छ ।

पुस २८, २०८१

सम्पादकीय

Stop the rule of ordinance, move on from Parliament

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्‍ बैठकले सिफारिस गर्ने निर्णय गरेको नेपाल ऐन संशोधन अध्यादेश, भूमिसम्बन्धी कानुन संशोधन गर्न बनेको अध्यादेश र लगानीसम्बन्धी कानुन संशोधन गर्न बनेको अध्यादेशमार्फत कांग्रेस–एमालेको गठबन्धन र वर्तमान सरकारको शासकीय सोचसमेत प्रस्ट गरेको छ ।

शासन प्रणालीमा सुधारका अनेकौं वाचा गरेर गठबन्धन बनाएका र अझै पनि दैनिकजसो त्यस्तै वाचा प्रस्तुत गरिरहेका उनीहरूले एकसाथ तीनवटा अध्यादेश ल्याएर प्रणालीप्रति आफू स्वयंको कमजोर प्रतिबद्धतालाई उजागर गरेका हुन् ।

देशमा कुनै असहज अवस्था आइपरेका बेला, तत्काल कानुनी सम्बोधन गर्नुपर्दा अध्यादेश ल्याउन सकिने मान्यता भए पनि शुक्रबार राति जस्ता अध्यादेश सिफारिस भए, त्यसले त्यस किसिमको अवस्थाको चित्रण गर्दैन । बरु सरकारको मनोमानीको पुष्टि गर्छ । सरकार गठन भएको ६ महिना पूरा हुनै लाग्दा अधिकांश सूचक र जनअनुभूतिमा कमजोर रहेको सरकारले असमयमा अध्यादेशप्रति राखेको रुचि आलोचनाको विषय हो । यसले सरकार आफ्नो प्राथमिकताबाट बरालिएको सन्देश दिएको छ ।

गत असार १७ गते मध्यरातमा सातबुँदे सहमति गर्दै कांग्रेस–एमालेले सत्ता साझेदारीका लागि नयाँ गठबन्धनको निर्माण गरेका थिए । त्यस सहमति राष्ट्रिय हितको रक्षा, सुशासन, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता, राजनीतिक स्थिरता, राष्ट्रिय सहमतिको सरकार, संविधानमा आवश्यक संशोधन, विश्वसनीय व्यावसायिक वातावरण, आर्थिक गतिविधिलाई चलायमान, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन, पर्याप्त र मर्यादित रोजगारी सिर्जना, राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार अन्त्य, सुशासन, विकास निर्माणको अभियानलाई तीव्रता जस्ता शब्दावलीद्वारा सुशोभित छन् ।

यही सहमतिको जगमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओली असार ३० मा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रतिनिधिसभाका सबैभन्दा ठूला दुई दलले प्रस्ट वाचामार्फत सत्ता आफ्नो हातमा लिएपछि मुलुक बलियो जगसहित सकारात्मक बाटोतर्फ अग्रसर हुनेमा धेरैको विश्वास थियो । तर, आज प्रधानमन्त्री ओली स्वयंले आफ्नो पार्टीमा अध्यक्षका रूपमा प्रस्तुत गर्ने प्रतिवेदनमा सरकारको काम पर्याप्त नभएको टिप्पणी गरेका छन् । उनले नै सेवा प्रवाह, लगानी र व्यावसायिक वातावरणमा सुधार नआएको भनेपछि धेरै विषय त्यसै प्रस्ट हुन्छन् ।

प्रधानमन्त्रीको भाषणमा दोहोरिने गर्छ– हामी यसो गर्न आएका हौं । शीर्ष नेताहरू दोहोर्‍याउँछन्– सरकारले यसो गर्नुपर्छ । यो सरकार के गर्न आएको र के गर्नुपर्छ भन्ने प्रस्ट विवरण सातबुँदे सहमतिमै छ । त्यसमा सकारात्मक नतिजा दिन नसक्ने हो भने अन्य भाषणको औचित्य रहँदैन । किनकि, यतिबेला सरकारले गरिरहेको सबै राम्रा कामको पूर्ण परिणाम देखिन सम्भव नभए पनि, सुरुवात भएको अनुभूत हुनुपर्ने बेला हो ।

यसले सरकारप्रति जनतामा रहेको आशालाई जीवितै राख्न भूमिका खेल्न सक्थ्यो । तर सरकार र गठबन्धनले यो संवेदनशीलतालाई ख्याल गरेको देखिँदैन । उनीहरू संविधान संशोधन कहिले भन्नेमा असमझदारी व्यक्त गरिरहेका छन् । यसले कांग्रेस–एमालेको मिलनको औचित्यलाई कमजोर बनाउने सम्भावना बढाउँदै लैजान्छ । र, जनतालाई झन् निराशातिर होम्ने जोखिम छ ।

शुक्रबार सिफारिस गरिएका अध्यादेश सरकारको सोच र शैली चियाउने आँखीझ्याल मात्रै हो । सरकारको सुस्त गति र गैरप्राथमिकता झल्काउने अनेकौं विवरण यसबीचमा सतहमा आएका छन् । तथ्यांकले पनि सकारात्मक सन्देश दिन सकेको छैन । गत साउनदेखि पुस मसान्तसम्म सरकारले ४० अर्ब ८० करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ ।

यो वार्षिक लक्ष्यको ११.५८ प्रतिशत मात्रै हो र मासिक लक्ष्यभन्दा करिब साढे २७ अर्बले कम हो । पुँजीगत खर्च गत वर्षभन्दा पनि कम हो । राजस्व संकलनमा पनि सरकार कमजोर देखिएको छ । मंसिर मसान्तसम्ममा वार्षिक लक्ष्यको २८.१५ प्रतिशत अर्थात् ३ खर्ब ९९ अर्ब ५९ करोड राजस्व संकलन भएको छ । यो लक्ष्यभन्दा करिब एक खर्ब रुपैयाँ कम हो । बैंकमा ऋण दिन मिल्ने रकम ६ खर्बभन्दा बढी थुप्रिएर बसेको छ । अर्थात् लगानीको वातावरण बन्न सकेको छैन, बन्ला भन्ने विश्वास पनि स्थापित हुन सकेको छैन । 

यस्तो तथ्यांकले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सकेको देखिँदैन नै, गहिरोसँग जरो गाडेका आर्थिक समस्या समाधानका लागि ठोस रणनीति पनि नरहेको पुष्टि हुँदै छ । प्रधानमन्त्री र मन्त्रीहरू सरकार स्थिर भएको भाषणाबाजीमै अल्झिए, त्यसको प्रतिबिम्ब सरकारको कामकारबाही र उपलब्धिमा देखिन सकेन । जसले गर्दा जनताले पनि शक्तिशाली र स्थिर सरकारको अनुभूति गर्न सकेनन्, मुलुक गुणात्मक प्रगतितिर अघि बढ्दै छ भनेर आशा गर्ने स्थिति बनेको छैन ।

आलोचकले मात्रै होइन, कांग्रेस–एमाले मिलनलाई प्रगति र समृद्धिको प्रस्थानबिन्दु मान्नेहरू पनि यतिबेला सरकार अनपेक्षित रूपमा सुस्त र अलमलमा परेको मूल्यांकन गरिरहेका छन् । राजनीतिक मुद्दा हुन् वा आर्थिक सूचक, सेवा प्रवाह हुन् वा सुशासन, जताततै शक्तिशाली सरकारको उपस्थिति खोजी भइरहेको छ । तर सरकार मध्यरातमा अध्यादेश ल्याएर मग्न भइरहेको छ । त्यसैले सरकारको ६ महिनाको यो समयावधिका कार्यशैलीप्रति आत्ममन्थन जरुरी छ । सकारात्मक गतिमा तीव्रता अनिवार्य छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully