प्राचीन भारत वर्षमा ऋषिमुनिले सूर्य, चन्द्र, ग्रह तथा नक्षत्रको गति मापन गर्ने विधि पत्ता लगाएका थिए भनिन्छ । त्यसैका आधारमा समय, तिथिमिति निकाल्ने विधि बनाइएका हुन् र त्यस्तो विधि प्राचीन ग्रन्थमा लेखिएका छन् । त्यस्तो विधि सिक्न पश्चिमा ज्योतिषहरू भारत आएका थिए । उनीहरूले हाम्रा ऋषिमुनिले आर्जेको ज्ञान नक्कल गरे । अंग्रेजीमा अनुवाद गरी संसारभर फैलाए ।
ग्रिसको उत्तरी भागस्थित मेसोडोनियाका राजा अलेक्जेन्डर दि ग्रेटले इसापूर्वर् ३३० मा फारसी साम्राज्य अर्थात् पर्सियन इम्पायर (हिजोआज इरान) माथि जित हासिल गरे । त्यसअघि फारसी साम्राज्यले गान्धार (अफगानिस्तान) देखि सिन्धु उपत्यकाको दक्षिण–पश्चिमी सीमा हाइडास्पिस नदीसम्म जितेको थियो ।
अलेक्जेन्डर दि ग्रेटले गान्धारबाट हिन्दकुश माउन्टेन पार गरेर इसापूर्वर् ३२६ मा हाइडास्पिस नदी छिचोल्न खोज्दा तत्कालीन सिन्धु उपत्यकाका राजा पोरोसका सेनासँग युद्ध लड्नुपर्यो । त्यो युद्धलाई ‘ब्याटल अफ हाइडास्पिस’ भनिन्छ । ग्रिक भाषामा हाइडास्पिस भनेको झेलम नदी हो ।
यसबारे संक्षिप्त जानकारी सन् १९०८ मा प्रकाशित ‘द इम्पेरियल गजेटियर अफ इन्डिया’, भोलम १९ मा उल्लेख छ । युद्ध विजयपछि आफूले जितेका क्षेत्रमा अलेक्जेन्डर दि ग्रेटले सैनिक, प्रशासक तथा गैरसैनिक मेसोडिनियन व्यक्तिहरूलाई राखे । उनीहरूले त्यहाँ ग्रिक कला, भाषा, वास्तुकला र शासन प्रणालीलगायत स्थापित गरे । यसरी हेलेनिस्टिक संस्कृति भनिने ग्रिसेली संस्कृति दक्षिण एसियामा प्रचलनमा आयो ।
ग्रिसमा लेख्य परम्परा इसापूर्वर् १२०० मा सुरु भएको थियो । इसापूर्वर् सातौं र छैटौं शताब्दीमा जन्मेका थेल्स अफ मिलेटस, सोलन अफ एथेन्स, चिलोन अफ स्पार्टा, पिटाकस अफ माइटिलिन, क्लियोबुलस अफ लिन्डोस र पेरिएन्डर अफ कोरिन्थ ग्रिसको ‘सेवेन वाइज मेन’ वा ‘सेवेन सेजेज’ हुन् ।
‘सेज’ को अर्थ ऋषि तथा ‘सेवेन सेजेज’ भनेका सप्तऋषि । ‘सेवेन सेजेज’ लाई प्राचीन ग्रिस सभ्यताको धरोहर मानिन्छ । ऋग्वेद तथा पौराणिक कथामा उल्लेख अत्रि, भृगु, अङ्गिरस, वशिष्ठ, कश्यप, गौतम र जगदग्नि सप्तऋषि हुन् । यी पौराणिक ऋषि कहिले जन्मेका थिए, अत्तोपत्तो छैन । यस आलेखमा ग्रिक र हिन्दु ज्योतिषशास्त्रीले पृथ्वी र सौर्यमण्डलबारे गरेको अध्ययनबारे चर्चा गरिनेछ ।
पृथ्वी र ब्रह्माण्ड
ग्रिसको प्राचीन इतिहासमा सप्तऋषिमध्ये थेल्स अफ मिलेटसलाई प्रमुख ऋषि मानिन्छ । इसापूर्वर् ६२५ मा जन्मेका थेल्सले पृथ्वी चेप्टो र समुद्रमा तैरिरहेको छ भन्ने मान्यता राख्थे । ग्रिसमा इसापूर्वर् ५७० मा जन्मेका पाइथागोरसले सर्वप्रथम पृथ्वी गोलाकार छ भन्ने मान्यता अघि सारेका थिए । ब्रह्माण्ड गोलाकार छ, पृथ्वी ब्रह्माण्डको एक हिस्सा भएका कारण पृथ्वी पनि गोलाकार हुनुपर्छ भन्ने बुझाइ थियो । यस्तै, उनले पृथ्वीको छाया चन्द्रमामा गोलाकार देखिएको कारण पृथ्वी गोलाकार हुनुपर्छ भन्ने तर्क गर्थे ।
पाइथागोरसको कमजोरी भनेको उनी पृथ्वी केन्द्रमा छ, यसको वरिपरि सूर्य, चन्द्र तथा अन्य ग्रहले परिक्रमा गर्छ भन्ने जियोसेन्ट्रिक मोडेलप्रति मान्यता राख्थे । अफ्रिकी देश इजिप्ट इस्वी संवत् दोस्रो शताब्दीमा रोमको शासनअन्तर्गत थियो । त्यसबेला इजिप्टमा बौद्घिक व्यक्तित्व क्लाउडियस टोलेमी थिए । उनले ग्रह परिक्रमा गर्ने कक्षलगायत ग्रह र पृथ्वीबारेमा निकै जानकारी थपेर जियोसेन्ट्रिक मोडेललाई परिस्कृत गरे । त्यसबाट पृथ्वी केन्द्रमा र सूर्य, चन्द्रमा तथा ग्रहले पृथ्वीलाई परिक्रमा गर्छ भन्ने मान्यता स्थापित भयो ।
पोल्यान्डका निकोलस कोपर्निकस १५ औं शताब्दीका महान् गणितज्ञ, खगोलशास्त्री थिए । उनी जियोसेन्ट्रिक मोडेलको विपक्षमा थिए । उनले सूर्य, चन्द्र र ग्रहहरूको केन्द्रमा पृथ्वी छैन भने । कोपर्निकसले पृथ्वी आफ्नै कक्षमा दैनिक रूपमा घुम्छ भन्दै ब्रह्माण्डको केन्द्र भागमा सूर्य छ भन्ने हेलियोसेन्ट्रिक मोडेल प्रस्ताव गरे । ताराहरू पनि भिन्नभिन्न कक्षमा परिक्रमा गर्छन् भने ।
यद्यपि, त्यो विचार कोपर्निकसको मात्रै थिएन । त्यसभन्दा अघि नै यस्तो मान्यता चर्चामा आइरहेको थियो । उनले त ती मान्यतालाई गणितका आधारमा स्पष्ट पारेका थिए । उनी डरपोक थिए । भयका कारण त्यो मान्यतालाई अघि सारेनन् । उनीपछिका वैज्ञानिक जोहानेस केप्लर, ग्यालिलियो ग्यालिली र आइज्याक न्युटनको योगदानबाट कोपर्निकसको अवधारणा प्रस्टसँग पुष्टि भयो ।
केप्लरले ग्रह गतिको नियम, ग्यालिलियोको टेलिस्कोपिक अवलोकन र न्युटनको गुरुत्वाकर्षणका नियम उनै कोपर्निकसका मान्यताबाट उत्पन्न भएका थिए । कोपर्निकसको हेलियोसेन्ट्रिक मोडेलले अन्ततः १६ औं र १७ औं शताब्दीमा वैज्ञानिक क्रान्तिको आधारशिला राख्न मद्दत गर्यो । यसबाट मानिसले ब्रह्माण्ड बुझ्न ठूलो सहयोग गरेको छ ।
हेलियोसेन्ट्रिक मोडेललाई ग्यालिलियोको टेलिस्कोपका कारण निकै चर्चा पायो । ग्यालिलियोले जे देखे र चर्चा गरे, त्यसमा रोमन क्याथोलिक चर्च सहमत भएन । पृथ्वी, चन्द्र तथा ग्रहहरूले सूर्यलाई परिक्रममा गर्छ भन्नु बाइबल मतभन्दा भिन्न थियो । बाइबलमा त उसबेला जियोसेन्ट्रिक मोडेलअनुसार सूर्य, चन्द्र, पृथ्वीको स्थान लेखिएका थिए । उनलाई सन् १६१६ मा चर्चबाट चेतावनी दिइयो ।
क्याथोलिक चर्चले हेलियोसेन्ट्रिक कुरा गर्नेलाई विधर्मी घोषणा गरिदिएको थियो । हेलियोसेन्ट्रिकबारे वकालतमा बन्देज लगाउँदा पनि ग्यालिलियो हेलियोसेन्ट्रिकबारे दुई पुस्तक लेख्छन् । त्यसपछि उनलाई रोममा बोलाई धार्मिक असहिष्णुता फैलाइएको आरोप लगाउँदै हेलियोसेन्ट्रिक मान्यता अस्वीकार गर्न बाध्य पारिन्छ । त्यतिले मात्र पुग्दैन, उनको बाँकी जीवन आफ्नै घरमा नजरबन्दीका रूपमा बित्छ ।
युक्लिड र एराटोस्थेनिस
ग्रिसमा इसापूर्वर् तेस्रो शताब्दीमा युक्लिड नाम गरेका एक गणितज्ञ थिए । उनलाई गणित विषयअन्तर्गत ज्यामितिका पिता पनि भनिन्छ । उनले लेखेको गणितसम्बन्धी ‘द एलिमेन्टस’ सर्वाधिक विश्वप्रसिद्ध सामग्री हो । भनिन्छ, पश्चिमा जगत्मा बाइबलबाहेक सबैभन्दा बढी अनुवाद गरिएको सामग्री युक्लिडलिखित ‘द एलिमेन्टस’ हो । उनले उनीअघि गणितसम्बन्धी लेखिएका कृति संकलन गरेर जम्मा १३ वटा पुस्तक लेखे पनि उनको विशेष रुचि ज्यामितिमा थियो ।
उनले वृताकार वस्तुको अर्धव्यास, परिधि आदिबारे जानकारी प्रस्तुत गरेका थिए । कोण अर्थात् एंगल र यसको वृत्तसँग सम्बन्धित अध्ययन गरे । त्यस्तै, गोलाकार वस्तुमा कोण र त्यसले ओगट्ने क्षेत्रफल पनि उनीबाट अध्ययन गरिएको थियो । युक्लिडले यदि दुई समानान्तर रेखालाई तेस्रो रेखाले पार गर्यो भने वैकल्पिक भित्री
कोण बराबर हुन्छन् भनेर सावित गरेका थिए (मेरी गौ, सन् २०१० : मेजरिङ द अर्थ : एरातेस्थेनिस एन्ड हिज सेलेस्ट्रिय जिओमेट्री, पृष्ठ ५३) । यो तथ्य हिजोआज विद्यालय तहको जिओमेट्रीअन्तर्गत पढाइन्छ ।
ग्रिसमा इसापूर्वर् २७६ मा जन्मेका एराटोस्थेनिस वैज्ञानिक, लेखक, खगोलविद् र कवि थिए । उनका पालामा अफ्रिकी देश इजिप्ट ग्रिसको टोलेमिक राजवंशअन्तर्गत थियो । एराटोस्थेनिस इजिप्टमा बस्थे । एराटोस्थेनिस इजिप्टस्थित अलेक्जान्ड्रियाको पुस्तकालय प्रमुख थिए । उसताका अलेक्जान्ड्रिया संसारभरको निम्ति शिक्षाको केन्द्र थियो ।
एराटोस्थेनिसको पालासम्म पृथ्वी कहाँसम्म फैलिएको छ भन्ने थाहा थिएन । उसबेला नयाँ विश्व (उत्तर तथा दक्षिण अमेरिका) सहित अस्ट्रेलिया, अन्टार्टिकाबारे थाहा पत्तो थिएन । यस्तो अवस्थामा एराटोस्थेनिसले पृथ्वीको परिधि सामान्य प्रयोगबाट नापे ।
उसबेला लम्बाइ स्टेड एकाइमा नापिन्थ्यो । एक स्टेड बराबर १५७.७ मिटर मानिन्छ । उनले पृथ्वीको परिधि जम्मा २,५२,००० स्टेड्स अर्थात् ३९,७४० किमि निकाले । पृथ्वीको वास्तविक परिधि करिब ४० हजार किमि छ । एराटोस्थेनिसले पृथ्वीको परिधिभन्दा मात्र २६० किमि कम निकालेका रहेछन् । हामी आजका दिनमा पनि पृथ्वीको परिधि कति होला हेक्का राख्दैनौं र राखे पनि कसरी निकाल्ने भन्ने थाहा पाउन्नौं ।
मापन विधि
डुराने डब्लू रोलरले सन् २०१० मा लेखेको ‘एराटोस्थेनिस जिओग्राफी’ शीर्षक पुस्तकमा एराटोस्थेनिसले के कसरी पृथ्वीको परिधि निकाले भन्ने सचित्र विवरण समावेश छ । एराटोस्थेनिसले पृथ्वीको परिधि इजिप्टमा प्रयोग गरेर निकालेका थिए । उनले परिधि मापनको निम्ति पृथ्वीलाई गोलाकार मान्दै आर्क मापन विधि प्रयोग गरेका थिए । यो विधिबाट पृथ्वीको गोलाइ अर्थात् अर्धव्यास (रेडियस) निकाले ।
उनले पृथ्वीको रेडियस निकाल्न इजिप्टको एलेक्जान्ड्रिया र साइन भन्ने ठाउँ रोजे । ती दुई ठाउँ एकआपसबाट करिब ८०० किलोमिटर टाढा छन् । उनी जुन महिनामा साइनमा थिए । उनले थाहा पाए कि जुन २१ तारिक मध्यदिन सूर्य सिधा टाउको माथि आइपुग्छ र छाया देखिन्न । त्यसका निम्ति उनले एउटा सोझो लौरो भुइँमा गाडेर हेरे । त्यस्तै भयो, लौरोको छाया देखिएन ।
उनले एलेक्जान्ड्रियामा जुन २१ को मध्यदिन लौरो गाड्न लगाए, तर त्यहाँ लौरोको छाया देखियो । लौरोसँग छायाले ७.२ डिग्रीको कोण बनाएको थियो । यसले एराटोस्थेनिसले यी दुई सहर एकआपसमा ७.२ डिग्रीको कोण बनाएर बसेको छ भन्ने माने ।
उनले पृथ्वीको परिधि निकाल्न लौरो गाडेको दुई बिन्दुबीचको दूरीलाई सूर्यको किरणले बनाउने कोणले भाग गरी आउने भागफल बराबर (इक्वायल टु) पृथ्वीको परिधिलाई ३६० डिग्रीले भाग गर्दा जति निस्कने तथ्यांकलाई आधार माने । यसो गर्दा ८०० किमि भाग ७.२ डिग्री इक्याल टु पृथ्वीको परिधि भाग ३६० डिग्री हुन्छ । हिसाबको नियमअनुसार इक्वायल टुको बायाँ र दायाँतर्फको डिग्री एकआपसमा काटिन्छन् । अर्को स्टेपमा बायाँतर्फ पृथ्वीको परिधि × ७.२ हुन्छ । इक्वायल टुको दायाँतर्फ ८०० किमि × ३६० रहन जान्छ । यसलाई हिसाब गर्दा पृथ्वीको परिधि लगभग ४० हजार कि.मि. निस्कन्छ ।
सूर्य सिद्धान्त
भन्ने गरिन्छ कि प्राचीन भारत वर्षमा हाम्रा ऋषिमुनिले सूर्य, चन्द्र, ग्रह तथा नक्षत्रको गति मापन गर्ने विधि पत्ता लगाएका थिए । त्यसैका आधारमा समय, तिथिमिति निकाल्ने विधि बनाइएका हुन् र त्यस्तो विधि हाम्रा प्राचीन ग्रन्थमा लेखिएका छन् । त्यस्तो विधि सिक्न पश्चिमा ज्योतिषहरू भारत आएका थिए । उनीहरूले हाम्रा ऋषिमुनिले आर्जेको ज्ञान नक्कल गरे । अंग्रेजीमा अनुवाद गरी संसारभर फैलाए । हिन्दुहरूले पृथ्वी, सूर्य, चन्द्र र ग्रहहरूबारे लेखेको पुस्तक ‘सूर्य सिद्धान्त’ हो ।
अमेरिकी अध्येता रेभेरेन्ड एबेनेजर बर्गेस १९ औं शताब्दीमा दक्षिण एसिया आएका थिए । उनले भारतीय इतिहास र संस्कृति अध्ययन गरे । संस्कृतका प्राचीन ग्रन्थ अंग्रेजीमा अनुवाद गरे । यसक्रममा उनले ‘सूर्य सिद्घान्त’ अनुवाद गरे ।
त्यो अनुवाद ‘द जर्नल अफ द अमेरिकन ओरिन्टल सोसाइटी’ मा सन् १८६० मा प्रकाशित भएको थियो । उनी र उनका सहकर्मीले ‘सूर्य सिद्घान्त’ अनुवादमा समर्पित गरेको समय, विचार र धैर्य परिश्रमका कारण, हिन्दु खगोल विज्ञानको बारेमा विश्वलाई अवगत भयो । त्यो पुस्तक कलकत्ता विश्वविद्यालयले सन् १९३५ मा पुनर्मुद्रण गर्यो । यो कार्यका निम्ति उक्त विश्वविद्यालयअन्तर्गत गणित विभागका फणीन्द्रलाल गाङ्गुलीले पर्यवेक्षण गरेका थिए ।
पुस्तकमा मूल पाठ बुँदागत रूपमा अंग्रेजीमा अनुवाद गरिएको छ । त्यसपछि ती बुँदाको व्याख्या छ । तर, अधिकांश लेखाई रामायण, महाभारत वा पुराण शैलीका वृतान्तझैं लाग्छन् । कतिपय कुरा विज्ञान सम्मत् छैनन् । बुँदाहरू भगवान्सँग जोडिएका छन् । तिनले मानव उद्विकास, सभ्यता भाषा, लिपि उद्विकास आदिका तिथिमितिसँग सामञ्जस्य राख्दैन । उदाहरणका लागि च्याप्टर एकमा भनिएको छ– ‘सूर्य सिद्घान्त २१,६४,९६० वर्ष पहिले प्रकट भएको थियो ।’ जबकि त्यसबेला मानव पूर्वज अफ्रिकामा ४ खुट्टाले हिँडडुल गर्थ्यो ।
दक्षिण एसियामा भाषा तथा लिपि सिन्धु सभ्यतामा करिब ५–६ हजार वर्ष पहिले प्रचलनमा थियो । सिन्धु सभ्यता करिब ४ हजार वर्षअघि विलय भयो । त्यहाँको उत्खननमा पाइएका काठ तथा माटाका लिपि अझै बुझ्न सकिएको छैन । ‘सूर्य सिद्घान्त’ संस्कृत भाषा तथा ब्राम्ही–व्युत्पन्न लिपिमा लेखिएको थियो । अतः ‘सूर्य सिद्घान्त’ २१ लाख ६४ हजार वर्षअघि आएको थियो भनेर लेख्नु गलत हो ।
पुस्तकमा भिन्नभिन्न लेखकले पृथ्वीको परिधि निकालेको चर्चा गरिएको छ । लम्बाइ मापनमा योजनस एकाइ लेखिएका छन् । एक योजन भनेको ४० वा ३० लि हुन सक्ने लेखिएको छ । तर, धार्मिक पुस्तकमा १ योजन भनेको १६ लि हुन्छ भन्ने लेखिएको छ । लम्बाइ मापनमा लिले ५०० मिटर जनाउँछ । अतः १ योजन बराबर ८ किमि हुन्छ ।
‘सूर्य सिद्घान्त’ मा विभिन्न खगोलविज्ञले इस्वी संवत्को पाँचौंदेखि १२ औं शताब्दी (सन् ४९९, सन् ५०५, सन् ५५०, सन् ६२८, सन् ७४८, सन् ९३२, सन् १०२८ र सन् ११५०) मा लेखेको पुस्तकको भूमिका उल्लेख छ । पुस्तकमा पृथ्वीको परिधि ३,०९३६.७५ योजनस, ४,९६७ योजनस, ५,०५९.५५६ योजनस निकालिएको छ । यसबाट ‘सूर्य सिद्घान्त’का लेखकहरूले पृथ्वीको परिधि ३१,४९४ किमिदेखि ४०,४७६ किमिसम्म निकालेका थिए भन्ने प्रस्टिन्छ । पछिल्लो परिधि मात्र वास्तविकताको नजिक छ ।
एक सभ्यताको प्रभाव अर्को सभ्यतामा नपर्ने भन्ने हुन्न । जब ग्रिसमा पृथ्वीको परिधि मापन गर्ने सूत्र बनाइयो र मापन गरियो, त्यसबेला दक्षिण एसियामा लेख्य परम्परा सुरु भइरहेको थियो । लेख्य परम्परा सुरु हुनुअघि गणितका सूत्र अभ्यासमा थिए होला भनेर कल्पना गर्नु सही हुन्न ।
दक्षिण एसियामा लेख्य परम्परा सुरु भएको करिब ७ सय वर्षपछि ‘सूर्य सिद्घान्त’ को सुरुका लेख लेखियो । अतः ग्रिकका खगोल शास्त्रीहरूले प्रचलनमा ल्याएका कुरा दक्षिण एसियाका प्राचीन गणितज्ञहरूले अध्ययन गरी संस्कृत भाषामा लेखे भन्दा अन्यथा हुन्न ।
