तिब्बत भूकम्पले क्षति न्यूनीकरणका लागि गर्नुपर्ने पूर्वतयारी र भूकम्पका निरन्तर सम्भावनालाई पुनः ताजा बहस बनाएको छ । यसलाई समसामयिक चर्चामा सीमित राखिनु हुँदैन, जीवनशैलीमा परिवर्तन गर्नुपर्छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार बिहानै गएको भूकम्पको धक्काले नेपालमा पनि २०७२ वैशाखको गोरखा भूकम्प र २०८० कात्तिकको जाजरकोट भूकम्पको त्रासदी सम्झाइदिएको छ । तिब्बतको डिङ्ग्री काउन्टीमा गएको भूकम्पले त्यहाँ कम्तीमा १२६ को मृत्यु र ठूलो भौतिक क्षति भएको विवरण पनि आइरहेका छन् ।
पछिल्लो एक दशकभित्र नेपालमा गएका दुई शक्तिशाली भूकम्पले समाजलाई निकै ठूलो घाउ लगाएका छन् । कैयौं साना–ठूला परकम्पले पनि त्रसित बनाउने गरेकै छन् । तिब्बत भूकम्पको प्रभावले अबका केही दिन भूकम्पसँग जोडिएर बहस र चेतनाका कार्यक्रमहरू हुनेछन् ।
यद्यपि, समय क्रममा यो प्रसंग ओझेल पर्नेछ र विगतमा झैं भूकम्पप्रतिको जागरण निष्क्रिय हुनेछ किनकि हाम्रो राज्य र समाज यसैमा अभ्यस्त छ । तर पनि नेपाली नागरिक र राज्यले बिर्सिंदै गएको मापदण्डलाई तिब्बत भूकम्पले पुनः सम्झाएको छ । पाठ सिक्न यो ठूलो अवसर हो ।
इन्डियन र युरोसियन प्लेटको सिमानामा रहेको नेपालमा भूकम्पका हिसाबले सधैं जोखिमयुक्त क्षेत्र हो । इन्डियन प्लेट हरेक वर्ष पाँच सेन्टिमिटरका दरले पूर्वोत्तरतर्फ सर्दै गएको र युरोसियन प्लेट हरेक वर्ष दुई सेन्टिमिटरका दरले उत्तरतर्फ सरिरहेको वैज्ञानिकहरूको भनाइ छ ।
यी दुईबीचको घर्षणले इन्डियन प्लेट चार मिलिमिटरका दरले संकुचित भइरहेको र यो हलचलले नेपाली भूभाग सदैव भूकम्पको उच्च जोखिममा छ । जति ठूलो जोखिम, त्यति नै धेरै सतर्कता हुनुपर्नेमा हामी भने त्रसित हुँदै, बिर्संदै जाने चक्रमा छौं । पाठ लिने हो भने हामीसँग गम्भीर सन्दर्भहरू छन् ।
गोरखा भूकम्पका कारण नेपाली र विदेशी नागरिक गरी झन्डै नौ हजारको ज्यान गएको थियो । झन्डै ११ लाख निजी घरमा क्षति पुगेको थियो । विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदाजस्ता सार्वजनिक संरचना पनि हजारौंको संख्यामा क्षतिग्रस्त भएका थिए । त्यसपछिका भूकम्पबाट पनि मानिसको मृत्यु भएकै छ, भौतिक संरचनामा क्षति पुगेकै छ ।
२०७२ पछि भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सघाउने शिक्षा, पूर्वतयारी, भूकम्प प्रतिरोधी घर तथा संरचना र भवनका मापदण्डजस्ता बहसको मूलधारमा उक्लिएको हो । तर, मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न हाम्रो सावधानी र पूर्वतयारी फेरि पनि फितलो नै रहेको छ । धेरैजसो मापदण्ड र सावधानी औपचारिकतामा सीमित भएका छन् ।
२०७२ पछिको भूकम्पमा ठूलो क्षति बेहोरिएपछि र पुनर्निर्माणका क्रममा आ–आफ्नै ढंगबाट असुरक्षित भवन निर्माण हुन थालेपछि सरकारले ‘बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२’ लागू गरेको थियो । तर त्यसको पूर्ण पालना हुन सकेको छैन । अहिले पनि नक्सा पास नगरी भवन निर्माण गर्ने प्रवृत्ति बढ्दो छ ।
व्यक्तिगत रूपमा मापदण्डको पालना नगर्ने प्रवृत्ति छ भने जिम्मेवार निकायले अनुगमन पनि गरिएको पाइँदैन । भवन निर्माणकर्ताले मापदण्डको पालना गर्ने र जिम्मेवार निकायले अनुगमन पनि गर्ने अभ्यास कठोरतापूर्वक लागू भए मात्र सम्भावित क्षति न्यूनीकरण हुन सक्छ ।
भूकम्पबाट सबैभन्दा बढी क्षति बेहोर्नुपर्ने सर्वसाधारणले नै हो । राज्यका लागि मानवीय र भौतिक क्षति परिमाणमा हुने गर्छ जसलाई समय क्रमले पूर्ति पनि गर्न सक्छ । तर, नागरिक भने प्रियजन, अभिभावक वा सन्तान गुमाउँछन् जसको क्षतिपूर्ति असम्भव छ । आफन्तजन गुमाउँदा पारिवारिक जीवनको लय नै बिथोलिन्छ । आर्थिक भार थपिन्छ ।
त्यसैले विगतका भूकम्पबाट पाठ सिक्नुपर्ने र सम्भावित भूकम्पबाट आफू र परिवारलाई कम क्षति पुग्ने गरी पूर्वतयारी गर्ने विषयलाई व्यक्ति–व्यक्तिले प्राथमिकता दिनुपर्छ । सरकारले तय गरेका मापदण्ड पालना गर्दै यथाशक्य भूकम्पको असर कम पर्ने घर निर्माण गर्ने, त्यसको गुणस्तर सुनिश्चित गर्ने, भूकम्पबाट जोगिनका लागि परिवारका सदस्यहरूबीच छलफल गरिराख्ने र बेलाबखत अभ्यास पनि गर्नेजस्ता काम गरियो भने कम मात्रै क्षति बेहोर्नुपर्ने हुन सक्छ ।
फेरि पनि भूकम्प स्वयंले क्षति गर्ने होइन, त्यसको कम्पन सहन नसक्ने संरचनाका कारण क्षति हुने यथार्थलाई ख्याल गर्नुपर्छ । तिब्बत भूकम्पले क्षति न्यूनीकरणका लागि गर्नुपर्ने पूर्वतयारी र भूकम्पका निरन्तर सम्भावनालाई पुनः ताजा बहस बनाएको छ । यसलाई समसामयिक चर्चामा सीमित राखिनु हुँदैन, जीवनशैलीमा परिवर्तन गर्नुपर्छ ।
