रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्धको लडाइँमा होमिएका नेपालीले जीवनमरणको अन्योलपूर्ण दैनिकीबाट मुक्ति पाउने भएका छन् । रुसले करार नवीकरण नगरेपछि नेपाली युवाहरू युद्ध मैदानबाट विस्तारै मस्कोतर्फ फर्किन थालेका छन् ।
अब उनीहरूको यात्रा नेपालतर्फ हुनेछ । यसले रुस–युक्रेन युद्धबाट नेपाली समुदायमा सिर्जित दुस्वप्नको पनि अन्त्य गर्नेछ । यद्यपि यो सन्दर्भको टुंगो सहजै र तत्कालै लाग्ने भने देखिँदैन किनकि युद्धबाट नेपाली बाहिरिए पनि मृतकका परिवार र घाइतेले पाउने क्षतिपूर्तिको सरोकार यथावत् छ । यी विषयमा रुसलाई जवाफदेही बनाउन नेपाल सरकारको भूमिका बाँकी नै छ ।
रुस र युक्रेनबीच २०२२ फेब्रुअरीदेखि युद्ध जारी छ । त्यही युद्धमा रुसी पक्षबाट सहभागी हुन नेपाली युवा पनि गएका हुन् । स्वदेश तथा विदेशमा विभिन्न पेसामा रहेका युवा रुस पुगेर सेनामा भर्ना भई युक्रेनविरुद्धको युद्धमा होमिएका हुन् । त्यहीं अध्ययनरत नेपाली विद्यार्थी पनि युद्धमा जोडिए । यसरी तटस्थ देश नेपालका नागरिकलाई सेनामा भर्ती गरेर युद्धमा सामेल गराउनु गैरकानुनी हो । जनशक्तिका लागि रुसले संस्थागत रूपमा र रोजगारी तथा कथित आकर्षक तलबका लागि नेपाली युवाले व्यक्तिगत रूपमा करार गरे । तलबबापत प्राप्त हुने रकम, एक वर्ष सेवा गरेपछि वा करार अवधि सकिएपछि त्यहींको नागरिकता र राहदानी पाइनेलगायतका प्रलोभनले कतिपय नेपालीलाई उद्वेलित गरेको थियो । त्यसैले पनि उनीहरू दलालको भर परेर, लाखौं लगानी गरेर अनिश्चित यात्रामा निस्किएका थिए । तर, रुस पुगेपछि उनीहरूले पर्याप्त तालिम लिन नपाई ‘रेड जोन’ मा तैनाथ हुनुपर्यो । जसले गर्दा नेपाली परिवारले मानवीय क्षति भोग्नुपर्यो । कतिपय युवा घाइते, सम्पर्कविहीन र बन्दी बन्नुपर्यो । त्यहाँको युद्धमा ४९ नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यस्तै, १ सय १८ जना बेपत्ता रहेको भनेर खोजीका लागि परिवारले सरकारलाई निवेदन दिएका छन् ।
अहिले रुसी सेनामा थप नेपालीलाई भर्ना नलिइने र करार अवधिलाई पनि नवीकरण नगरिने निश्चित भएकाले यो युद्धमा नेपाली समाजले थप मानवीय क्षति भोग्नु नपर्ने विश्वास गर्न सकिन्छ । तर अहिलेसम्मको युद्धमा मृत्यु भएका वा घाइते भएका कारण प्राप्त हुनुपर्ने क्षतिपूर्ति कहिले र कसरी पाउने भन्ने अन्योल उस्तै छ । आर्थिक क्षतिपूर्ति निश्चित रहेको भनिए पनि त्यसको प्रक्रिया के हुने भन्ने निश्चित छैन । क्षतिपूर्ति दिनु रुसको दायित्व हो । उसले यसलाई जतिसक्दो छिटो र सजिलो तरिकाले सम्बन्धितले पाउने प्रक्रिया तय गर्नुपर्छ । यसका लागि रुस र नेपालबीचको कूटनीतिक संवाद अपेक्षित छ । युद्धको घाउ नमेटिन सक्छ, तर क्षतिपूर्तिले मल्हमको काम गर्नेछ । खासगरी नेपाल पक्षले यसका लागि आफ्ना पहल तीव्र बनाउनुपर्छ र सरोकारवालालाई विश्वस्त तुल्याउनुपर्छ ।
त्यस्तै, युक्रेनविरुद्धको युद्धका लागि करिब १५ सय नेपाली रुसी सेनामा भर्ना भएको आकलन गरिन्छ । तर त्यसको आधिकारिक तथ्यांक नेपाल सरकारसँग छैन । रुसले पनि आधिकारिक तथ्यांक उपलब्ध गराएको छैन । यसकारण युद्धमा सामेल भएका, मृत्यु भएका र स्वदेश फर्किएका वा सम्पर्कमा आएका नेपालीको वास्तविक तथ्यांकबारे खाडल रहिरहने सम्भावना छ, सम्पर्कमा नआएका वा बेपत्ता भएकाहरूको विषयमा के गर्ने ? उनीहरूको संख्या र अवस्था कसरी निश्चित गर्ने ? अझ कतिपय त परिवारसँग पनि सल्लाह नगरी रुस पुगेका थिए । उनीहरूको विवरण खुल्न समय लाग्न सक्छ । कतिपयका बारेमा युद्धभूमिका सीमित व्यक्तिलाई मात्रै थाहा हुन सक्छ, जहाँ सूचित व्यक्तिहरू नै मारिएका हुन सक्छन् । यस्ता जटिलतालाई फुकाउन तब मात्र सम्भव छ जब रुसले आफ्नो सेनामा भर्ना भएका नेपालीको संख्या, उनीहरूलाई खटाइएको क्षेत्र र त्यहाँ भएको मानवीय क्षतिका आधिकारिक विवरण नेपाल सरकारलाई उपलब्ध गराउँछ । यसका लागि नेपालका तर्फबाट निरन्तर पहल हुनुपर्छ ।
कतिपय नेपाली युद्धका क्रममा युक्रेनमा पक्राउ परेका छन् र युद्धबन्दी बनाइएका छन् । अहिलेसम्म युद्धबन्दीको आधिकारिक संख्या सात छ । पछिल्लो विवरणअनुसार उनीहरूले आफूहरू युक्रेनबाट सोझै नेपाल नफर्किने बरु रुस गएर मात्रै फर्किने बताएका छन् । रुसबाट पाउनुपर्ने क्षतिपूर्तिमा उनीहरूको चासो रहेको बुझ्न सकिन्छ, जुन अस्वाभाविक छैन । युद्धबन्दीको जायज चासोको सम्बोधन हुने गरी यथाशक्य स्वदेश फिर्तीका लागि पनि नेपाल सरकारले पहल गर्नुपर्छ । साथसाथै, करार अवधि समाप्त भएपछि पनि कतिपय युवा भने उतै रहन चाहेका छन्, त्यहाँ अहिले प्राप्त तलबलगायतका सुविधा र सुखद भविष्यप्रतिको अपेक्षाले उनीहरूमा त्यो मनोविज्ञान बनेको हुन सक्छ ।
तर, सम्भावित जोखिमप्रति उनीहरूलाई सचेत गराउनु पनि नेपाल सरकारको कर्तव्य हो । दीर्घकालीन रूपमा भने नेपाल राज्य र नेपाली समुदायले रुस–युक्रेन युद्ध र त्यसक्रममा बेहोर्नुपरेको मानवीय क्षतिलाई एउटा पाठका रूपमा ग्रहण गर्नुपर्छ । कुनै पनि कारणले होस्, अन्य देशबीच लडाइँ हुने र नेपाली युवाले ज्यान गुमाउनुपर्ने दुःखद नियति अब अन्त्य हुनुपर्छ । त्यसका लागि नेपाली युवालाई त्यस्ता युद्धमा जान बाध्य बनाउने बेरोजगारीको समस्या अन्त्य गर्न राज्य र राजनीतिक दलको प्राथमिक विषय हुनुपर्छ । तर, बेरोजगारी मात्रै समस्या भने होइन । किनकि, रुसी सेनामा भर्ना हुन जाने क्रममा यहीं विभिन्न पेसामा जोडिएर ठीकैको आम्दानी गरिरहेकादेखि विदेशमा आम्दानी गरिरहेकासम्म छन् भन्ने भुल्नु हुँदैन । बरु देशमा कायम कुशासन, व्याप्त बेरोजगारी र बढ्दो निराशालाई चिर्न सरकार संवेदनशील बन्नुपर्छ । राज्य र नागरिकबीचको जीवन्त संवाद, साझा सपना र साझा संकल्पबाट मात्र हामी यस्तो दुस्वप्नबाट मुक्त हुन सक्नेछौं ।
