रुसी सेनामा करार सकिए पनि नसकिएका सवाल

पुस २३, २०८१

सम्पादकीय

Questions that have not been resolved even though the contract has been concluded in the Russian army

रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्धको लडाइँमा होमिएका नेपालीले जीवनमरणको अन्योलपूर्ण दैनिकीबाट मुक्ति पाउने भएका छन् । रुसले करार नवीकरण नगरेपछि नेपाली युवाहरू युद्ध मैदानबाट विस्तारै मस्कोतर्फ फर्किन थालेका छन् ।

अब उनीहरूको यात्रा नेपालतर्फ हुनेछ । यसले रुस–युक्रेन युद्धबाट नेपाली समुदायमा सिर्जित दुस्वप्नको पनि अन्त्य गर्नेछ । यद्यपि यो सन्दर्भको टुंगो सहजै र तत्कालै लाग्ने भने देखिँदैन किनकि युद्धबाट नेपाली बाहिरिए पनि मृतकका परिवार र घाइतेले पाउने क्षतिपूर्तिको सरोकार यथावत् छ । यी विषयमा रुसलाई जवाफदेही बनाउन नेपाल सरकारको भूमिका बाँकी नै छ । 

रुस र युक्रेनबीच २०२२ फेब्रुअरीदेखि युद्ध जारी छ । त्यही युद्धमा रुसी पक्षबाट सहभागी हुन नेपाली युवा पनि गएका हुन् । स्वदेश तथा विदेशमा विभिन्न पेसामा रहेका युवा रुस पुगेर सेनामा भर्ना भई युक्रेनविरुद्धको युद्धमा होमिएका हुन् । त्यहीं अध्ययनरत नेपाली विद्यार्थी पनि युद्धमा जोडिए । यसरी तटस्थ देश नेपालका नागरिकलाई सेनामा भर्ती गरेर युद्धमा सामेल गराउनु गैरकानुनी हो । जनशक्तिका लागि रुसले संस्थागत रूपमा र रोजगारी तथा कथित आकर्षक तलबका लागि नेपाली युवाले व्यक्तिगत रूपमा करार गरे । तलबबापत प्राप्त हुने रकम, एक वर्ष सेवा गरेपछि वा करार अवधि सकिएपछि त्यहींको नागरिकता र राहदानी पाइनेलगायतका प्रलोभनले कतिपय नेपालीलाई उद्वेलित गरेको थियो । त्यसैले पनि उनीहरू दलालको भर परेर, लाखौं लगानी गरेर अनिश्चित यात्रामा निस्किएका थिए । तर, रुस पुगेपछि उनीहरूले पर्याप्त तालिम लिन नपाई ‘रेड जोन’ मा तैनाथ हुनुपर्‍यो । जसले गर्दा नेपाली परिवारले मानवीय क्षति भोग्नुपर्‍यो । कतिपय युवा घाइते, सम्पर्कविहीन र बन्दी बन्नुपर्‍यो । त्यहाँको युद्धमा ४९ नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यस्तै, १ सय १८ जना बेपत्ता रहेको भनेर खोजीका लागि परिवारले सरकारलाई निवेदन दिएका छन् ।

अहिले रुसी सेनामा थप नेपालीलाई भर्ना नलिइने र करार अवधिलाई पनि नवीकरण नगरिने निश्चित भएकाले यो युद्धमा नेपाली समाजले थप मानवीय क्षति भोग्नु नपर्ने विश्वास गर्न सकिन्छ । तर अहिलेसम्मको युद्धमा मृत्यु भएका वा घाइते भएका कारण प्राप्त हुनुपर्ने क्षतिपूर्ति कहिले र कसरी पाउने भन्ने अन्योल उस्तै छ । आर्थिक क्षतिपूर्ति निश्चित रहेको भनिए पनि त्यसको प्रक्रिया के हुने भन्ने निश्चित छैन । क्षतिपूर्ति दिनु रुसको दायित्व हो । उसले यसलाई जतिसक्दो छिटो र सजिलो तरिकाले सम्बन्धितले पाउने प्रक्रिया तय गर्नुपर्छ । यसका लागि रुस र नेपालबीचको कूटनीतिक संवाद अपेक्षित छ । युद्धको घाउ नमेटिन सक्छ, तर क्षतिपूर्तिले मल्हमको काम गर्नेछ । खासगरी नेपाल पक्षले यसका लागि आफ्ना पहल तीव्र बनाउनुपर्छ र सरोकारवालालाई विश्वस्त तुल्याउनुपर्छ ।

त्यस्तै, युक्रेनविरुद्धको युद्धका लागि करिब १५ सय नेपाली रुसी सेनामा भर्ना भएको आकलन गरिन्छ । तर त्यसको आधिकारिक तथ्यांक नेपाल सरकारसँग छैन । रुसले पनि आधिकारिक तथ्यांक उपलब्ध गराएको छैन । यसकारण युद्धमा सामेल भएका, मृत्यु भएका र स्वदेश फर्किएका वा सम्पर्कमा आएका नेपालीको वास्तविक तथ्यांकबारे खाडल रहिरहने सम्भावना छ, सम्पर्कमा नआएका वा बेपत्ता भएकाहरूको विषयमा के गर्ने ? उनीहरूको संख्या र अवस्था कसरी निश्चित गर्ने ? अझ कतिपय त परिवारसँग पनि सल्लाह नगरी रुस पुगेका थिए । उनीहरूको विवरण खुल्न समय लाग्न सक्छ । कतिपयका बारेमा युद्धभूमिका सीमित व्यक्तिलाई मात्रै थाहा हुन सक्छ, जहाँ सूचित व्यक्तिहरू नै मारिएका हुन सक्छन् । यस्ता जटिलतालाई फुकाउन तब मात्र सम्भव छ जब रुसले आफ्नो सेनामा भर्ना भएका नेपालीको संख्या, उनीहरूलाई खटाइएको क्षेत्र र त्यहाँ भएको मानवीय क्षतिका आधिकारिक विवरण नेपाल सरकारलाई उपलब्ध गराउँछ । यसका लागि नेपालका तर्फबाट निरन्तर पहल हुनुपर्छ ।

कतिपय नेपाली युद्धका क्रममा युक्रेनमा पक्राउ परेका छन् र युद्धबन्दी बनाइएका छन् । अहिलेसम्म युद्धबन्दीको आधिकारिक संख्या सात छ । पछिल्लो विवरणअनुसार उनीहरूले आफूहरू युक्रेनबाट सोझै नेपाल नफर्किने बरु रुस गएर मात्रै फर्किने बताएका छन् । रुसबाट पाउनुपर्ने क्षतिपूर्तिमा उनीहरूको चासो रहेको बुझ्न सकिन्छ, जुन अस्वाभाविक छैन । युद्धबन्दीको जायज चासोको सम्बोधन हुने गरी यथाशक्य स्वदेश फिर्तीका लागि पनि नेपाल सरकारले पहल गर्नुपर्छ । साथसाथै, करार अवधि समाप्त भएपछि पनि कतिपय युवा भने उतै रहन चाहेका छन्, त्यहाँ अहिले प्राप्त तलबलगायतका सुविधा र सुखद भविष्यप्रतिको अपेक्षाले उनीहरूमा त्यो मनोविज्ञान बनेको हुन सक्छ । 

तर, सम्भावित जोखिमप्रति उनीहरूलाई सचेत गराउनु पनि नेपाल सरकारको कर्तव्य हो । दीर्घकालीन रूपमा भने नेपाल राज्य र नेपाली समुदायले रुस–युक्रेन युद्ध र त्यसक्रममा बेहोर्नुपरेको मानवीय क्षतिलाई एउटा पाठका रूपमा ग्रहण गर्नुपर्छ । कुनै पनि कारणले होस्, अन्य देशबीच लडाइँ हुने र नेपाली युवाले ज्यान गुमाउनुपर्ने दुःखद नियति अब अन्त्य हुनुपर्छ । त्यसका लागि नेपाली युवालाई त्यस्ता युद्धमा जान बाध्य बनाउने बेरोजगारीको समस्या अन्त्य गर्न राज्य र राजनीतिक दलको प्राथमिक विषय हुनुपर्छ । तर, बेरोजगारी मात्रै समस्या भने होइन । किनकि, रुसी सेनामा भर्ना हुन जाने क्रममा यहीं विभिन्न पेसामा जोडिएर ठीकैको आम्दानी गरिरहेकादेखि विदेशमा आम्दानी गरिरहेकासम्म छन् भन्ने भुल्नु हुँदैन । बरु देशमा कायम कुशासन, व्याप्त बेरोजगारी र बढ्दो निराशालाई चिर्न सरकार संवेदनशील बन्नुपर्छ । राज्य र नागरिकबीचको जीवन्त संवाद, साझा सपना र साझा संकल्पबाट मात्र हामी यस्तो दुस्वप्नबाट मुक्त हुन सक्नेछौं ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully