सरकारका तीन तहबीच प्राविधिक शिक्षाको कार्यक्षेत्रबारे स्पष्टता छैन, कुन तहले प्राविधिक शिक्षामा के काम गर्ने भन्नेमा अन्योल देखिन्छ, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रम संघीयताको अभ्यासअनुसार पुनःसंरचना अत्यावश्यक छ, यसमा तीनै तहका सरकारको भूमिका प्रस्ट हुनुपर्छ ।
देश विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने मध्यमस्तरको जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षा आज विभिन्न समस्याले आक्रान्त छ । प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्न थालेको छ । ठूलो लगानी गरी तयार गरेका कक्षाकोठा खाली हुँदै गएका छन् ।
पाठ्यक्रम पुराना छन्, यी कार्यक्रमबाट दीक्षित भएकाहरूले पनि जागिर पाउन छाडेका छन् । कार्यक्रममा विद्यार्थी भर्नादर र अध्ययन पूरा गर्ने दर घट्दो छ । यस क्षेत्रका अनेकौं समस्यामध्ये मुख्य समस्या पहिचान र समाधानका उपाय खोजी यस लेखमा गरिएका छ ।
प्राविधिक शिक्षाभित्र औपचारिक तथा अनौपचारिक दुवै शिक्षा समावेश हुन्छन् । यसले आवश्यक ज्ञान र सीपका साथ मानिसलाई काम गर्न तयार पार्छ । उन्नत जनशक्तिको विकासलाई बढावा दिन्छ, व्यक्तिलाई सीपयुक्त बनाई विभिन्न क्षेत्रमा उद्यम तथा व्यवसायको स्थापना, सञ्चालन र प्रवर्द्धन गर्न सक्षम बनाउँछ । सेवा तथा सामान उत्पादकबीच प्रतिस्पर्धा बढाई नयाँ प्रविधि अन्वेषण गर्न सघाउँछ ।
सामाजिक समानता, समावेशीकरण र दिगो विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्छ । यसले देशको उत्पादकत्व बढाउँछ, व्यक्तिलाई आत्मनिर्भर बन्न र उद्यमशीलतालाई उत्प्रेरित गर्छ । समग्रमा देश विकासमा सहायक हुन्छ । यही तथ्यलाई मध्यनजर गरी नेपालले ९५ वर्ष पहिलेदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको छ ।
नेपालमा सन् १९३० मा पहिलोपल्ट कुमारीचोकमा प्राविधिक विद्यालयको स्थापना गरी यसको विधिवत् सुरुवात भएको थियो । मध्यमस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्न सन् १९८९ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना भयो । यसपछि प्राविधिक शिक्षाको व्यवस्थापन यसै संस्थामार्फत हुँदै आएको छ । हाल नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम दिने संस्था १,५९१ छन् । देशमा प्राविधिक शिक्षा दिने संस्थाको वितरण समान छैन ।
७५३ स्थानीय तहमध्ये ६३३ मा कम्तीमा पनि एक प्राविधिक धारको विद्यालय वा सीटीईभीटीको कार्यक्रम छ भने १२० स्थानीय तहमा यस प्रकारको प्राविधिक शिक्षा पुग्न सकेको छैन । प्राविधिक शिक्षाअन्तर्गत पढाइ हुने ६४ कार्यक्रममध्ये ३२ कार्यक्रम तीनवर्षे डिप्लोमाका छन्, २६ कार्यक्रम प्रि–डिप्लोमा तहका र ६ कार्यक्रम विद्यालय तहका प्राविधिक धारका छन् । व्यावसायिक तालिमतर्फ ३११ विषयमा छोटो अवधिको तालिम दिई सीप परीक्षण गर्ने व्यवस्था छ ।
नेपालको प्राविधिक शिक्षाले आपूर्ति पक्षमा बढी जोड दिएको छ, बजारको माग पक्षलाई पर्याप्त ध्यान दिएको छैन । बजारको मागअनुरूपका पाठ्यक्रम नहुँदा यस कार्यक्रममा विद्यार्थी भर्नादर घट्दै गएर विद्यालय तहको प्राविधिक धारमा कुल क्षमताको २९ प्रतिशत, ३ वर्षे डिप्लोमामा कुल क्षमताको ५२ प्रतिशत र १८ महिने प्राविधिक तालिममा कुल क्षमताको १९ प्रतिशत मात्र विद्यार्थी भर्ना भएका छन् ।
२०७८ सालमा कुल भर्ना क्षमता १,०७,४४१ विद्यार्थी रहेकामा जम्मा ५४,८७१ मात्र भर्ना भएका थिए । यो कुल क्षमताको ५१ प्रतिशत मात्र हो । यस समस्याको समाधान गर्न सीटीईभीटीले बजारको मागलाई ध्यान दिएर माग र आपूर्तिबीच सन्तुलन हुने गरी पाठ्यक्रम पुनरावलोकन गर्नुपर्छ ।
बजारको माग विश्लेषण गरी माग–सञ्चालित कार्यक्रम बनाउने, विद्यार्थीलाई सिकाइ र कमाइ सँगसँगै हुने कार्यक्रमको व्यवस्थापन गर्ने, अर्धप्रशिक्षित कार्यबलका सीप अन्तरपहिचान गर्ने, पाठ्यक्रममा छुटेका विषय पढाउन नयाँ पाठ्यक्रम विकास गर्ने जस्ता सुधारका कार्य आवश्यक देखिन्छन् ।
दक्ष विषयगत शिक्षकको अभाव प्राविधिक शिक्षाको अर्को समस्या हो । कुनै एक प्रि–डिप्पोमा प्राविधिक कार्यक्रमका कक्षा सञ्चालन गर्न कम्तीमा तीन प्राविधिक शिक्षक चाहिन्छन् । हाल प्रतिकार्यक्रम सरदर २.८८ शिक्षक उपलब्ध छन् । उपलब्ध शिक्षकमध्ये पनि एक चौथाइ स्थायी र तीन चौथाइ सेवा करारका अस्थायी शिक्षक छन् । त्यस्तैगरी विद्यालय तहको प्राविधिक धारका लागि ५ शिक्षक आवश्यक पर्नेमा हाल ४ शिक्षक मात्र उपलब्ध छन् र करिब २० प्रतिशत आवश्यक शिक्षकको दरबन्दी सिर्जना भएको छैन ।
विद्यालयको प्राविधिक धारमा पनि २५ प्रतिशत शिक्षकले आंशिक शिक्षकका रूपमा काम गर्छन् । यस विधाको मुख्य कार्यक्रम अथवा तीनवर्षे डिप्लोमा पाठ्यक्रमका लागि १० जना शिक्षक आवश्यक पर्नेमा हाल ६ जना मात्र उपलब्ध छन् । उपलब्ध शिक्षकमध्ये सरदरमा एक शिक्षक स्थायी र पाँच जना सेवा करारमा छन् । उपलब्ध शिक्षकमध्ये एक चौथाइ मात्र तालिम प्राप्त छन् र अन्यले शिक्षण तालिम पाएका छैनन् ।
आवश्यक तालिम र जागिरको स्थायित्व नहुने कारण प्राविधिक धारको शिक्षामा दक्ष शिक्षकको अभाव देखिएको छ । यी समस्या समाधान गर्न निर्धारित राष्ट्रिय मापदण्डअनुसार विषयगत शिक्षक नियुक्ति गर्ने र आवश्यक तालिम दिने गर्नुपर्छ । प्राविधिक धारका सामुदायिक विद्यालय र सीटीईभीटीअन्तर्गतका आंगिक संस्थामा राष्ट्रिय मापदण्डअनुसारका शिक्षक पूर्ति गरी स्थायित्व यकिन गर्नुपर्छ ।
नयाँ नियुक्ति पाएका शिक्षकलाई सेवा प्रवेश तालिम दिई शिक्षणमा लगाउने र प्रत्येक तीन वर्षमा बदलिँदो प्रविधिबारेको ज्ञान अद्यावधिक गर्न पुनर्ताजकी तालिम दिने व्यवस्था गर्नुपर्छ । सीटीईभीटीबाट सम्बन्धन लिई सञ्चालन भएका निजी संस्थामा राष्ट्रिय मापदण्डअनुसार विषयगत शिक्षक आवश्यक संख्यामा कार्यरत छन् कि छैनन् अनुगमन गर्नुपर्छ । धेरै जनसंख्या भएका सहरी क्षेत्रका प्राविधिक शिक्षालयमा विषयगत शिक्षकको समस्या समाधान गर्न बहुप्राविधिक शिक्षालयको अवधारणा अगाडि बढाउनुपर्छ ।
अपर्याप्त व्यावहारिक अभ्यास प्राविधिक शिक्षाको अर्को मुख्य समस्या हो । छोटो अवधिका सबै प्राविधिक पाठ्यक्रमको अवधि १,६९६ घण्टा निर्धारण गरिएको छ । यसमध्ये ५७६ घण्टा (३४ प्रतिशत) रोजगार प्रशिक्षण तालिमका लागि र १,१२० घण्टा (६६ प्रतिशत) कक्षाकोठाको शिक्षणका लागि निर्धारण गरिएको छ । अधिकांश संस्थाले रोजगार प्रशिक्षण तालिमको राम्रो व्यवस्था गर्न सकेका छैनन् ।
विद्यालय शिक्षाको प्राविधिक धारको समय अवधि कक्षा ९ देखि १२ सम्म चार वर्ष र एक वर्ष रोजगार प्रशिक्षण तालिम गरी ५ वर्षको हो । यसमध्ये चार वर्ष विद्यालयमा र एक वर्ष रोजगार प्रशिक्षण तालिमका लागि हो । विद्यालय तहको प्राविधिक धारमा पनि रोजगार प्रशिक्षण तालिमको उचित व्यवस्थापन हुन नसक्दा सैद्धान्तिक ज्ञानका आधारमा मात्र कक्षा उत्तीर्ण हुनाले यसका स्नातकहरू बजारमा प्रतिस्पर्धी बन्न सकेका छैनन् ।
यस समस्याको समाधान गर्न रोजगार प्रशिक्षणको समय कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । छोटो अवधिका सबै प्राविधिक पाठ्यक्रममा रोजगार प्रशिक्षण तालिमका लागि छुट्याइएको ५७६ घण्टा बराबरको समय अनिवार्य रूपमा व्यावहारिक अभ्यासमा लगाउने व्यवस्था गर्नु जरुरी छ । उद्योग तथा व्यापारिक प्रतिष्ठानसँग शैक्षिक संस्थाले अग्रिम सम्झौता गरी इन्टर्नका रूपमा काम गरी व्यावहारिक ज्ञान हासिलको विकल्पबारे सोच्नुपर्छ । विद्यालय तहको प्राविधिक शिक्षामा पनि ६ महिना कक्षा १० सकिएपछि र अर्को ६ महिना १२ कक्षा सकिएपछि रोजगार प्रशिक्षण तालिममा पठाउने व्यवस्था गर्नुपर्छ ।
प्राविधिक शिक्षामा विद्यार्थीले पढाइ पूरा गर्ने दर कमजोर छ । २०७४ सालमा प्रि–डिप्लोमा पढाइ पूरा गर्ने दर ३८ प्रतिशत र डिप्लोमा पूरा गर्नेको दर ५२ प्रतिशत मात्र थियो । डिप्लोमा तहमा भर्ना भएका विद्यार्थीको टिकाउ दर ५९ प्रतिशत र विद्यालय तहको प्राविधिक धारमा विद्यार्थी टिकाउ दर ५८ प्रतिशत मात्र थियो ।
यी समस्या समाधान गर्न विद्यार्थीलाई उद्योगमा काम गर्न तयार पार्ने उद्देश्यका साथ पाठ्यक्रमको पुनरावलोकन जरुरी छ । विद्यार्थीको व्यावहारिक ज्ञानलाई ध्यान दिएर शिक्षण विधि परिमार्जन गर्ने र पढाइ सकेपश्चात् उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा जागिर पाउन योग्य स्नातक बनाउने व्यवस्था गर्नुपर्छ । यसले गर्दा विद्यार्थीमा जागिरको आस बढेर जान्छ र विद्यार्थीको टिकाउ दर र पढाइ पूरा गर्ने दर पनि बढ्न पुग्छ ।
प्राविधिक शिक्षाको अध्ययनपश्चात् कमजोर रोजगार प्राप्ति यस क्षेत्रको अर्को महत्त्वपूर्ण समस्या हो । माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा पूरा गरेका विद्यार्थीको रोजगार प्राप्ति दर २९ प्रतिशत, प्रि–डिप्लोमा पूरा गर्नेको ६१ प्रतिशत र डिप्लोमा तहको रोजगार प्राप्ति दर ६६ प्रतिशत मात्र छ । अध्ययन सकिएपछिको रोजगार प्राप्तिदर बढाउन औद्योगिक तथा व्यावसायिक क्षेत्रसँग सहकार्य गरी उनीहरूका लागि आवश्यक प्राविधिक स्नातक उत्पादन गर्न सकिन्छ । यी क्षेत्रसँग सम्झौता गरी उद्योग–तयार स्नातकहरू उत्पादन गरी रोजगारको प्रत्याभूति गर्ने व्यवस्था गर्नुपर्छ ।
मध्यमस्तरको प्राविधिक शिक्षामा उद्यमशीलता जस्ता पाठ्यक्रमको अभाव अर्को समस्या हो । पाठ्यक्रममा उद्यमशीलतासम्बन्धी विषय समावेश नभएकाले विद्यार्थीमा पढाइ सकेपश्चात् स्वउद्यम सञ्चालन गर्ने सोचको विकास भएन । तसर्थ विद्यार्थीहरू पढाइ सकेपश्चात् देशमा जागिर खोज्न हिँड्ने र नपाए विदेश जाने समस्या बढ्दै गएको छ । यो समस्या समाधान गर्न हालको प्राविधिक शिक्षामा सैद्धान्तिक र व्यावहारिक ज्ञानको अतिरिक्त उद्यमशीलतासम्बन्धी विषय थप गरी पढाइ गर्ने र जागिरको अतिरिक्त स्वउद्यम सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्छ ।
हालको प्राविधिक शिक्षाका पाठ्यक्रम पुराना छन् र अध्ययन सीमित विषय जस्तैः इन्जिनियरिङ, स्वास्थ्य र कृषिमा केन्द्रित छन् । यस्ता समस्या समाधान गर्न बजारको माग पहिचान गरी पुराना पाठ्यक्रमको पुनरावलोकन र बजारमा उच्च माग भएका नयाँ पाठ्यक्रम जस्तैः सूचना प्रविधि, खाद्य प्रशोधन, उद्यमशीलता, फर्मास्युटिकल, टेक्सटायल आदि विषय थप गरी अध्यनका क्षेत्र विविधीकरण गर्नुपर्छ ।
प्राविधिक शिक्षाबाट उत्पादित जनशक्तिलाई प्राविधिक तालिम दिएर थप दक्ष र प्रतिस्पर्धी बनाउनुको सट्टा उच्च शिक्षातर्फ प्रोत्साहन गरेको देखिन्छ । यो समस्या समाधान गर्न प्राविधिक शिक्षामा विशिष्टता विकास गर्न आफ्नै ‘डोमेन’ भित्र उच्च अध्ययनको व्यवस्था मिलाउन आवश्यक छ । राष्ट्रिय व्यावसायिक योग्यता फ्रेमवर्कले उच्च स्तरका स्नातक जस्तैः विशेषज्ञ कामदार (उन्नत डिप्लोमा तह ५), स्नातक स्तर (तह ६), स्नातकोत्तर स्तर (तह ७) र विद्यावारिधि स्तर (तह ८) को पढाइ र सीप परीक्षणको व्यवस्था गरी डिप्लोमा (तह ४) पास गरेपछि विश्वविद्यालयतर्फ जाने प्रवृत्ति निरुत्साहित गरी प्राविधिक क्षेत्रको विशेषज्ञता कायम राख्ने व्यवस्था गर्न आवश्यक देखिन्छ ।
कमजोर छात्रवृत्ति वितरण कार्यक्रम प्राविधिक शिक्षाको अर्को व्यवस्थापन गर्न सकिने समस्या हो । २०७८ सालमा प्रि–डिप्लोमाका लागि छुट्याइएको छात्रवृत्तिमध्ये ७५ प्रतिशत र डिप्लोमाका लागि छुट्याएको २७.५ प्रतिशत छात्रवृत्तिको रकम प्रयोग भएको थिएन । तसर्थ हालको छात्रवृत्ति वितरण प्रणालीमा सुधार गरी आर्थिक रूपले कमजोर विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने तालिका बनाई वितरणको व्यवस्था गर्न आवश्यक देखिन्छ ।
प्राविधिक शिक्षाको परीक्षा प्रणाली पनि समस्याग्रस्त छ । विद्यार्थीका उपलब्धि मूल्यांकन गर्ने परीक्षा सिद्धान्तमा केन्द्रित छन् र उपलब्धिलाई सामान्य शिक्षामा जस्तै प्रतिशतका हिसाबले मूल्यांकन गरिन्छ । परीक्षा प्रणालीमा सुधार गरी सैद्धान्तिकभन्दा कार्यस्थलमा व्यावहारिक मूल्यांकनमार्फत योग्यताको मूल्यांकन गर्ने व्यवस्था गरी परीक्षा प्रणालीमा सुधार गर्नुपर्छ ।
छोटो अवधिको तालिम तथा प्रशिक्षण ‘स्ट्यान्ड–अलोन’ योग्यताका रूपमा रहनु र ‘क्रेडिट ट्रान्सफर’ नहुने व्यवस्थाले गर्दा यसका स्नातकहरूको शिक्षा ठाडो र तेर्सो रूपमा अगाडि बढाउने अवसरलाई सीमित गर्यो । त्यस्तैगरी प्राविधिक शिक्षामा ‘क्रेडिट एक्युमुलेसन एन्ड ट्रान्सफर’ पद्धतिको अभाव रह्यो ।
तसर्थ, छोटो अवधिको तालिम तथा प्रशिक्षण (कम्तीमा एक सेमिस्टर अवधिको छ भने) को क्रेडिट ट्रान्सफर हुने व्यवस्था गर्नुपर्छ । राष्ट्रिय व्यावसायिक योग्यता फ्रेमवर्कका माध्यमले प्राविधिक शिक्षा र सामान्य शिक्षाबीच समानता स्थापित गर्ने र यसै पद्धतिमार्फत तिनीहरूको बीचमा ठाडो र तेर्सो सम्बन्ध विस्तार गरी विकर्ण प्रगतिलाई पनि सहज बनाउने व्यवस्था गर्नुपर्छ ।
सरकारका तीन तहबीच प्राविधिक शिक्षाको कार्यक्षेत्रबारे स्पष्टता छैन । कुन तहले प्राविधिक शिक्षामा के काम गर्ने भन्नेमा अन्योल देखिन्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रम संघीयताको अभ्यासअनुसार पुनःसंरचना अत्यावश्यक छ । यसमा तीनै तहका सरकारको भूमिका प्रस्ट हुनुपर्छ । माथि उल्लिखित समाधानका उपायलाई कार्यान्वयन गर्न सकेमा नेपालको प्राविधिक शिक्षामा अपेक्षित सुधार हुने देखिन्छ ।
