राष्ट्रिय मेलमिलापको सान्दर्भिकता

हाम्रो शासन पद्धतिमा त दलहरुबीच सहमति र सहकार्य गर्न नसक्ने हो भने व्यवस्थामाथि नै खतरा उत्पन्न हुने भयसमेत उत्तिकै छ ।

पुस १६, २०८१

डिला संग्रौला

Relevance of National Reconciliation

२०३३ साल पुस १६ गतेको घटना । नेपाली कांग्रेसका संस्थापक नेता एवं राष्ट्रिय मेलमिलाप नीतिका प्रणेता बीपी कोइराला भारतमा निर्वासित जीवन त्यागेर सहयोद्धा गणेशमान सिंहलगायत नेताहरूसँग स्वदेश फर्कने निर्णय गरेका थिए । तत्कालीन पञ्चायती व्यवस्थाले मृत्युदण्डको सजाय दिन सक्ने अनुमान हुँदाहुँदै पनि राष्ट्रियता जोगाउन र मुलुकको सार्वभौमसत्ता रक्षा गर्न उनले स्वदेश फर्कने साहस देखाएका थिए । त्यो दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ ।

मुलुकको राष्ट्रियता संकटमा परेको निष्कर्षसहित एकदलीय पञ्चायती शासनले फाँसीसम्मको सजाय दिन सक्ने अनुमान गरिँदा गरिँदै पनि  सहयोद्धा गणेशमान सिंहसहित लामो प्रवासपछि नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रणेता बीपी कोइराला स्वदेश फर्किए । यही दिनलाई राष्ट्रिय मेलमिलाप दिवसको रूपमा मनाउँदै गरिएको छ । यो दिनको सान्दर्भिकता नेपाली राजनीतिमा अहिले पनि उत्तिकै छ । राजनीतिक दलहरू निर्दलीय पञ्चायती व्यवस्थालाई फाली संसदीय प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दासमेत सबै दलहरूबीच  एकता र मेलमिलापमा लाग्नु पर्ने देखिएको छ । अझ हाम्रो शासन पद्धतिमा  त दलहरुबीच सहमति र सहकार्य गर्न नसक्ने हो भने व्यवस्थामाथि नै खतरा उत्पन्न हुने भय समेत उत्तिकै छ ।  

२०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’गर्दै शासन आफ्नो हातमा लिए । नेपाली कांग्रेसका संस्थापक तत्कालीन प्रधानमन्त्री बीपी कोइराला लगायत नेताहरूलाई जेल हालियो । अनि  बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई विघटन गर्दै पञ्चायती प्रणालीको स्थापना गरियो । राजा महेन्द्रको शासनमा राजनीतिक दलमाथि प्रतिबन्ध मात्र होइन, नेताहरूलाई देशद्रोहको मुद्दामा मृत्युदण्डसम्मको सजाय सुनाइयो । २०२५ सालमा बीपी कोइरालालगायतका नेताहरू जेलमुक्त भए । उनीहरू भारततर्फ निर्वासनमा गएर आठ वर्षसम्म त्यहाँबाट गतिविधि सञ्चालन गर्दै आएका थिए । तर, मुलुकमा देखिएको राजनीतिक संकट र राष्ट्रियताको कमजोर स्थितिबाट चिन्तित कोइरालाले आफ्नो व्यक्तिगत सुरक्षाभन्दा देशको हितलाई प्राथमिकता दिँदै स्वदेश फर्कने निर्णय गरे । यो निर्णयले राष्ट्रियता, प्रजातन्त्र र मेलमिलापको महत्वलाई स्थापित ग-यो ।

महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरूमाथि देशद्रोहको मुद्दासमेत लगाए । २०२५ कात्तिक १४ गते बीपी कोइरालालगायतका नेताहरू जेलमुक्त भए । त्यसपछि उनीहरू भारतमा निर्वासित जीवन बिताउन थाले । त्यसको आठ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरू आफूहरूमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अँगाल्दै स्वदेश फर्किए । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ उनीहरू भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए । दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेताहरूले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै ४८ वर्षअघि अवलम्बन गरेको नीति अहिले पनि सान्दर्भिक रहेको छ । २०४६ सालको जनआन्दोलनमा दलहरू एक ठाउँ उभिए, जनता आन्दोलित भएपछि तत्कालीन राजाले पनि माग सुनुवाइ गरे र प्रजातन्त्र पुनर्बहाली गरिदिए ।

२०६२-०६३ सालमा पनि दलहरूबीच मेलमिलाप भयो, लोकतन्त्र बहालीका लागि । शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस र अन्य दल तथा सशस्त्र संघर्ष गरिरहेको माओवादी पनि शान्ति र लोकतन्त्र बहालीको मुद्दामा एक ठाउँमा उभिए । जनआन्दोलन सफल पनि भयो । प्रत्यक्ष शासनको मोह राखेका तत्कालीन राजा ज्ञानेन्द्र जनताका अगाडि झुक्न तयार भए, लोकतन्त्र बहाली भयो । मेलमिलापले जस्तोसुकै अवस्था पनि पार लगाउन सकिन्छ भन्ने तथ्य भने अभ्यासले नै पुष्टि गरिसकेको छ, जसको सुरुवात बीपी कोइरालाले नै गरेका थिए ।

बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र, र आर्थिक समृद्धि मात्र राष्ट्रिय एकता र मेलमिलापबाट सम्भव हुने धारणा अघि सारे। उनले राजशक्ति (राजा) र जनशक्ति (जनता र राजनीतिक दल) बीच सहकार्य हुनुपर्नेमा जोड दिए। यो सोच अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।
नेपाल अहिले लोकतान्त्रिक शासन प्रणालीको अभ्यास गरिरहेको छ । तर, पार्टीहरूबीच गुटबन्दी र आन्तरिक कलहले राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन कठिन भइरहेको छ । कांग्रेसभित्र पनि मेलमिलापको अभाव र गुटबन्दीले पार्टीको सशक्तता कमजोर बनेको छ । इतिहासले देखाएको छ, जब कांग्रेस कमजोर हुन्छ, मुलुक अस्थिर हुन्छ ।

अहिले राष्ट्रिय विकास, आर्थिक समृद्धि, र लोकतन्त्रको संस्थागत विकासको चरणमा छौं। तर, नेपालका अन्य मुलुकहरूसँग सुरु भएको आर्थिक विकासको चरण निकै पछाडि परेको छ। यस अवस्थामा कांग्रेसले पुनः मेलमिलापको नीति अवलम्बन गरेर राष्ट्रिय एजेन्डाहरूमा नेतृत्व लिनुपर्ने देखिन्छ ।
राजनीतिक स्थायित्व र समृद्धिका लागि राष्ट्रिय मेलमिलाप अपरिहार्य छ । बीपी कोइराला, गणेशमान सिंहले अवलम्बन गरेको नीति वर्तमान संकट समाधानका लागि पनि उत्तिकै सान्दर्भिक छ । लोकतन्त्रलाई सबल बनाउन, राष्ट्रिय एकता सुनिश्चित गर्न, र मुलुकलाई समृद्धिको बाटोमा डोर्याउन कांग्रेसले आफ्नो नेतृत्व क्षमतालाई पुनःस्थापित गर्नुपर्छ ।


मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय एकता, र लोकतन्त्रको स्थायित्वलाई सुनिश्चित गर्न मेलमिलापको नीति सधैं मार्गदर्शक बन्नेछ। नेपालमा देखिएका राजनीतिक, सामाजिक, र आर्थिक चुनौतीहरूलाई पार गर्न यो नीति अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने समय आएको छ । मेलमिलापको परिकल्पना मात्र होइन, यसको व्यवहारिक कार्यान्वयनले मात्रै देशलाई समृद्ध र सुदृढ बनाउन सकिन्छ ।

अहिले राजनीतिक परिवर्तनको मुद्दा धेरै हदसम्म  सम्बोधन भइसकेको छ । अब लोकतन्त्रलाई सबल बनाउने र देशलाई समुन्नतिको बाटोमा अगाडि बढाउनु पर्नेछ । नेपालसंगै आर्थिक विकासको चरण सुरु गरेका विश्वका कैयौं मुलुकहरुले  धेरै प्रगति गरिसके, तर, नेपाल पूर्वाधार र आर्थिक विकासका हिसाबले अझै निकै पछाडि छ । एकातिर पार्टीमा र अर्कातिर राष्ट्रिय मुद्दामा कांग्रेसले नै मेलमिलापको नेतृत्व लिनु पर्नेछ ।

राष्ट्रिय मेलमिलाप दिवसले बीपी कोइरालाको योगदान र नेपालका राजनीतिक परिवर्तनमा मेलमिलापको भूमिकालाई सम्झाउने काम गर्छ । यो दिवसले आज पनि राजनीतिक दलहरूलाई एकता, समन्वय, र सहकार्यको पाठ सिकाइरहेको छ । नेपालको विकास र लोकतन्त्रको सबलीकरणका लागि सबै दलहरूले यो नीतिलाई आत्मसात गर्नुपर्नेछ । बीपी कोइरालाको मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक छ र भविष्यका चुनौतीहरू सामना गर्न यो नीतिले मार्गदर्शन गर्नेछ ।

डिला प्रतिनिधिसभाकी पूर्वसदस्य डिला संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।

Link copied successfully