ध्यान आफैंले आफैंलाई चिन्ने माध्यम हो । यसले मनलाई शान्त र शरीरलाई स्वस्थ राख्दै प्राकृतिक ऊर्जामा आफूलाई समाहित गराउँछ । ध्यानले आत्मालाई परमात्मासँग साक्षात्कार गर्न मद्दत गर्छ ।
ध्यान हजारौं वर्षदेखि आध्यात्मिक, धार्मिक, यौगिक र धर्मनिरपेक्ष जीवन पद्धतिमा अभ्यास गरिँदै आइएको छ । गत साता विश्वभरका साधकद्वारा विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति भन्ने नाराका साथ योग तथा साधना गरी विश्व ध्यान दिवस मनाइयो ।
ध्यान एउटा त्यस्तो अस्त्र हो, जसले व्यक्तिमा निहित नकारात्मकता हटाई आन्तरिक शान्ति, सद्भाव सहिष्णुता र करुणाको विस्तार गर्छ । एक व्यक्तिमा निहित समस्या मात्र होइन, विश्वमा व्याप्त समस्या ध्यानद्वारा नै निवारण गर्न सकिन्छ ।
किनभने अहिलेको समाजमा अशान्ति, नकारात्मकता र वैमनश्यता फैलिएको छ । यदि मन स्थिर छैन भने ध्यान गर्दा निकै फाइदा पुग्छ । निरन्तर ध्यान गर्दै जाँदा मानिसले यसबाट आनन्दको अनुभूति प्राप्त गर्न सक्छ । अहिलेको व्यस्त जीवनशैली र प्रतिस्पर्धात्मक कार्यशैलीमा सन्तुलन ल्याउँदै व्यक्तिमा आध्यात्मिक जागरण ल्याउन मद्दत गर्छ ।
ध्यान आफैंले आफैंलाई चिन्ने माध्यम हो । यसले मनलाई शान्त र शरीरलाई स्वस्थ राख्दै प्राकृतिक ऊर्जामा आफूलाई समाहित गराउँछ । ध्यानले आत्मालाई परमात्मासँग साक्षात्कार गर्न मद्दत गर्छ । संयुक्त राष्ट्रसंघले पनि योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा आत्मसात् गर्दै डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’ घोषणा गरेको छ ।
मानसिक स्वास्थ्यलाई मौलिक मानवअधिकार र दिगो विकास लक्ष्य २०३० सँग आबद्ध गरी लक्ष्य ३ अन्तर्गत राम्रो स्वास्थ्य र कल्याण शीर्षकमा स्वस्थ जीवन सुनिश्चित गर्न र सबै उमेरका व्यक्तिको कल्याणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । विश्व स्वास्थ्य संगठनले पनि तनाव व्यवस्थापन तथा मानसिक र शारीरिक कल्याणका लागि ध्यानलाई एक महत्त्वपूर्ण औजार मानेको छ । ध्यान, योग र स्वास्थ्य अन्तरसम्बन्धित छन् ।
गीतामा ध्यानलाई मन तथा इन्द्रियलाई नियन्त्रणमा राख्ने साधनका रूपमा वर्णन गरिएको छ । गीतामा कर्मयोग, ज्ञानयोग, ध्यानयोग तथा भक्तियोगलाई आन्तरिक शान्ति प्राप्तिका आधार मानिएको छ । ध्यानका सम्बन्धमा पूर्वीय संस्कृति धेरै समृद्ध मानिन्छ ।
गौतम बुद्धले ध्यानद्वारा दिव्य ज्ञान प्राप्त गर्नुभएको थियो । पछिल्लो समय पश्चिमा संस्कृतिले पनि ध्यान संस्कृतिको विकास गरेको देखिन्छ । ध्यान शारीरिक, मानसिक रोगको वैज्ञानिक निवारण पनि हो । जीवन विज्ञानका गुरु भानु शर्माका विचारमा मानसिक, शारीरिक र भावनात्मक स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण उपकरण ध्यान हो जसले हाम्रो जीवनमा शान्ति र सकारात्मक ऊर्जा ल्याउँछ ।
ध्यानका धेरै प्रकारका विधिमध्ये पतञ्जलीको अष्टाङ्ग योग पनि प्रमुख विधि मानिन्छ । ध्यान गर्दा सामान्यतया मनलाई एकाग्र राखी शरीरलाई स्थिर बनाई पद्मासन वा कुर्सीमा बसेर पनि गर्न सकिन्छ । घरको एकान्त स्थान, बगैंचा, जंगल, खोलाको किनारमा बसेर पनि ध्यान गर्न सकिन्छ । कुनै योग वा ध्यानगुरुबाट सिकेर ध्यान सुरु गर्नु राम्रो हुन्छ ।
मानिसलाई भौतिक सुखसुविधाबाट प्राप्त आनन्द क्षणिक हुन्छ तर ध्यानबाट प्राप्त खुसी र आनन्द दिगो हुन्छ । सुरुका दिन पाँच मिनेट मात्र ध्यान गरेमा पनि फरक अनुभव हुन थाल्छ । क्रमिक रूपमा १५ देखि ३० मिनेटसम्म सहज रूपले ध्यान गर्न सकिन्छ । ध्यानले मन मस्तिष्कलाई आराम दिनुका साथै आन्तरिक क्षमता उजागर गराउँछ ।
यसले व्यक्तिमा सकारात्मक ऊर्जाको सञ्चार गराउँदै अन्तरज्ञानको तह पनि बढाइदिन्छ । साथै, मनुष्य जीवनको रहस्य पत्ता लगाई प्रकृतिसँग रमाउन सिकाउँछ । त्यसैले हरेक व्यक्तिले ध्यानलाई आफ्नो जीवनको दैनिकीसँग जोड्न सक्नुपर्छ । यसो गरेमा एक व्यक्ति, उसको परिवार, समाज र सिंगो राष्ट्रलाई नै सकारात्मक फाइदा पुग्छ । किनभने ध्यानले व्यक्तिलाई अनुशासित र धैर्य बनाउने हुँदा देशप्रति नागरिकको कर्तव्यबोध गराउँछ ।
