कम्युनिस्टहरू सरल जीवनको वकालत गर्छन् तर तिनको जीवन अपारदर्शी अनि विलासी हुने गर्छ । ‘कम्बल ओढेर घ्यु खाने’ प्रवृत्ति कम्युनिस्टहरूले त्याग्न सक्नुपर्छ र जनताको विश्वास र आकर्षण पुनर्प्राप्तिका लागि आफ्नो जीवनलाई पारदर्शी बनाउनुपर्छ ।
नेकपा एमालेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यबाट हटाएपछि र स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारी मुक्त गरेपछि यो पार्टीको गृहकलह सर्वत्र चर्चा र बहसको विषय बनेको छ ।
एमाले नेतृत्वपंक्ति निर्णयको प्रतिरक्षामा उत्रेको छ भने आमवृत्तमा यसको आलोचना भइरहेको छ । एमाले पंक्ति भन्छ, पार्टी हितविपरीत अराजकता र अनुशासनहीनता प्रदर्शन गरेकाले कारबाही गरिएको हो । तर आमवृत्तको बुझाइ छ, नेतृत्वको आलोचना र प्रश्न गर्दा अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिताको कोपभाजनमा परेका हुन् ।
भएको के हो भने, विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएर कार्यालय निर्माण गर्ने कुराको यी नेताहरूले आलोचना गरेका थिए । सार्वजनिक रूपमै आलोचना गरेपछि पार्टीले लिखित प्रस्टीकरण नै मागेको थियो ।
रावलले प्रस्टीकरण दिएनन् तर पाण्डे र तिम्सिनाले आफ्नो असहमतिसहित प्रस्टीकरण दिए । यद्यपि, सचिवालय बैठकले विधि र प्रक्रियाबाहिर गएर बोलेको र पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिएको भन्दै कारबाही गर्यो ।
कारबाहीको पक्ष र विपक्षमा अनेक टिकाटिप्पणी चलिरहँदा आफ्ना पूर्वसहयोद्धा ‘कमरेड’हरूप्रति नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सहानुभूति देखाएका छन् । मातृपार्टी एमालेभित्र उकुसमुकुस भइरहेको बताउँदै उनले रावललाई आफ्नो पार्टीमा आउन आग्रह गरे । शनिबार एउटा कार्यक्रममा बोल्दै उनले एमालेको नेतृत्वमा ओली रहुञ्जेल पार्टी अशान्त भइरहने दाबी गरे र ओलीलाई पार्टी नेतृत्वबाट हटिदिन सुझाव दिए ।
विगतमा एमालेभित्रै रहँदा भुसालका तिखा आलोचना खेपेका ओलीले यी सुझाव ग्रहण गर्लान् र ? शंका उठ्छ । यद्यपि, उनका यी भनाइपछि अरू केही प्रश्न चाहिँ अवश्य उठ्छन् । जसमाथि थप चर्चा जरुरी छ ।
के उकुसमुकुस र छटपटी एमालेभित्र मात्रै छ ? अरू कम्युनिस्ट घटकहरू आरामदायी अवस्थामा हुन् ? के नेकपा एस छटपटीमुक्त छ ? अनि, माओवादी ? पतनपथमा लम्केको के नेपाली वामपन्थी राजनीतिको कारक ओली मात्रै हुन् ? अथवा ओली प्रवृत्ति अन्यत्र पनि छ ?
यथार्थमा, नेपालको सिङ्गो कम्युनिस्ट राजनीति उकुसमुकुसमा छ, संकटग्रस्त छ । गुट, दम्भ र इगोले कम्युनिस्टहरू चिराचिरामा विभाजित छन् । विगतको जनआकर्षण र विश्वास घट्दो छ । कम्युनिस्ट घटकको नेतृत्व गुटमुखी, सत्तामुखी, आत्मकेन्द्रित अनि कुलीन वर्गमा रूपान्तरित हुँदै जाँदा तिनले आफ्नो राजनीतिक जमिन छोडेका छन् ।
जनतासँगको तिनको साइनो टुट्दै गएको छ । जसले गर्दा कम्युनिस्ट राजनीति संकटोन्मुख अवस्थामा पुगेको हो । यो अवस्थामा नेपाली समाजमा बलियो जनमत भएको कम्युनिस्ट राजनीतिको भविष्य कता जाला ? वाम वृत्तमा देखिएको छटपटीको निकास के हुन सक्ला ? कम्युनिस्टहरू यसैगरी आफू–आफूमै भिडेर सकिन्छन् कि फेरि बौरिन्छन् ?
यी प्रश्नहरूमा आधारित विमर्श यतिबेला थप सान्दर्भिक भएको छ । कम्युनिस्ट छटपटीको निकास पहिल्याउनुअघि वाम राजनीतिका संकट र चुनौतीका चरित्र कस्ता छन्, त्यो हेरौं ।
सुरुमा एमालेमै फर्कौं ।
कांग्रेसको बुई चढेर सत्तासीन एमालेमा यतिबेला ‘स्टालिनको प्रेत’ सल्बलाइरहेको आभास हुन्छ । जो प्रश्न गर्ने कार्यकर्तालाई कारबाहीको डन्डा देखाएर भयभीत पार्दै छ । एमालेहरू प्रश्न र आलोचनालाई षड्यन्त्र र कुप्रचार देख्न थालेका छन् । जनअपेक्षा अनुसार सरकार सञ्चालन गर्न नसक्ने, पार्टीसत्ता एकल हैकमबाट चलाउने अनि त्यसमाथि प्रश्न उठ्दा षड्यन्त्र र कुप्रचार देख्ने प्रवृत्ति लोकतान्त्रिक होइन ।
खासमा, एमालेको उदय लोकतान्त्रिक रूपान्तरणबाट भएको थियो । २०४९ सालमा भएको यो पार्टीको पाँचौं महाधिवेशन यसको राजनीतिक जीवनको ऐतिहासिक घुम्ती थियो, जहाँबाट एउटा कम्युनिस्ट पार्टीको लोकतान्त्रिक अवतरण भएको थियो । सादगी र निष्ठावान् नेता मनमोहन अधिकारी र प्रस्ट वैचारिक नेता मदन भण्डारीको नेतृत्वमा यो पार्टीको राजनीतिक उत्थान भएको थियो ।
निरंकुशताविरुद्ध लडेको इतिहास र २०४६ सालको परिवर्तनसँगै खुला विमर्शलाई स्विकार्दै प्रतिस्पर्धात्मक राजनीतिमा आएपछि एमालेप्रति नेपाली समाजको आकर्षण बढेको हो । सुरुमा सशक्त प्रतिपक्ष हुँदै २०५१ मा अल्पमतको सरकारमार्फत ९ महिनामै यसले केही आसलाग्दा काममार्फत आफूलाई राष्ट्रिय राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सक्यो ।
तर, त्यसपछिका दिनमा सत्ताको खेलमा हेलिँदै जाँदा यो पार्टीको राजनीति कमजोर हुँदै गएको छ । आकारमा ठूलै छ, यो पार्टी । अहिले पनि मुलुकको दोस्रो ठूलो र कम्युनिस्टहरूमध्ये सबैभन्दा अगुवा पार्टी हो यो । तर, न विगतमा जस्तो सादगी र निष्ठावान् नेताको अभिभावकत्व प्राप्त छ न त वैचारिक/राजनीतिक दिशाबोध गर्न सक्ने नेता नै छन् । अहिलेको एमालेमा हठवादी ओली छन् ।
त्यसैले त उनी कार्यकर्ता पंक्तिलाई आफ्नो विकल्प नखोज्न आदेशात्मक अभिव्यक्ति दिन सक्छन् । हालसालै एमालेको संगठन विभागले गरेको एउटा कार्यशालाले नेतृत्वविरुद्ध कुप्रचार भइरहेको भन्दै त्यसको प्रतिवाद गर्ने संकल्प गर्यो ।
राष्ट्रिय कार्यशाला गरेर एमालेजनले ओलीको बचाउको संकल्प गरिरहँदा ओली भने कार्यकर्तालाई आफू हुञ्जेल नेतृत्वको विकल्प नखोज्न निर्देश गरिरहेका थिए । अर्थमन्त्री विष्णु पौडेलचाहिँ एघारौं महाधिवेशनमा ओलीको विरुद्ध कोही पनि खडा नहुने भन्दै ओली आकांक्षाको अनुमोदन गर्दै थिए ।
भुसालले भनेझैं एमाले नेता/कार्यकर्ता पंक्तिमा या ओलीका शत्रु छन्, या त चाकर । अझ चाकर हुने होडबाजी बढी छ । पार्टीभित्र भूमिका र सरकारमा विभिन्न अवसरको खोजीमा ढोका कुरिबस्नेहरूको सामाजिक सञ्जालमा देखिने भक्तिभावमा त्यो भद्दा होडबाजी प्रदर्शन भइरहेको हुन्छ । भावी नेतृत्वमा पुग्ने सक्ने हैसियतका नेताहरू पनि त्यस्तो होडबाजीमा सरिक भइदिँदा यो पार्टीमा प्रश्न गर्ने प्रवृत्ति निरुत्साहित मात्रै भएको छैन, आलोचनात्मक चेत पनि ह्रास हुँदै गएको छ ।
कम्युनिस्टहरू अनेक ‘जार्गन’ प्रयोग गर्दै राजनीतिक शत्रु किटान गर्छन् । तर, अब सामन्तवाद, दलाल नोकरशाही पुँजीपतिवर्ग, साम्राज्यवाद, विस्तारवाद आदि ‘सूत्र’ बाट एमालेलाई जोखिम छैन । सत्ताप्रेरित अवसरवादबाट घायल र ओलीको शक्ति उन्मादले कायल एमाले ‘गृहशत्रु’हरूकै कारण पतनको मार्गमा बढेको छ । मात्रा केही कमबेसी होला तर यही प्रवृत्ति र अवस्था अरू कम्युनिस्ट पार्टीहरूमा पनि छ ।
नेकपा माओवादी केन्द्रकै कुरा गरौं ।
हालै सकिएको उपनिर्वाचनपछि ‘रिभाइभ’ भइयो भनेर माओवादी केही हौसिएको छ । प्रचण्ड अलि बढी नै हौसिएका छन् । लाग्छ, आत्मरतिमा छन् । उनी भन्दै छन्, ‘जहाँ गए पनि माओवादी र प्रचण्डको वाहवाही छ ।’ तर, जुन वर्गको राजनीति गर्ने भनेर यो पार्टी उदाएको थियो, त्यो भुइँवर्गसँग यसको सम्बन्ध विच्छेद भइसकेको छ ।
पार्टीभित्र आन्तरिक लोकतन्त्रको अवस्था कतिसम्म खस्कँदो छ भन्ने कुरा बेलाबेलामा जनार्दन शर्माले व्यक्त गर्ने अभिव्यक्तिहरूबाट लख काट्न सकिन्छ । हालै उनले एउटा कार्यक्रममा भने, ‘माओले पनि अल्पमतलाई सम्मान गर्नुभएको थियो । सयौं फूलहरूलाई फुल्न देऊ भन्नुभएको थियो, नेपालका कम्युनिस्टहरूले माओबाट सिक्नुपर्छ ।’
उनको यो भनाइ अन्त कतै होइन, प्रचण्ड लक्षित हो । केहीअघि शर्माले स्थायी समिति बैठकमा लिखित प्रस्ताव राखेर नै प्रचण्डलाई नेतृत्व हस्तान्तरणका लागि आग्रह पनि गरेका थिए । पार्टीभित्र गुट र नेतालाई उपयोग गरेर आफ्ना अभीष्ट साँध्न माहिर प्रचण्डले उनीप्रतिको असन्तुष्टि र नेतृत्व परिवर्तनको माग तत्कालका लागि व्यवस्थापन गर्न सकेका छन् । यद्यपि माओवादी पनि प्रचण्डको झन्डै चार दशकदेखिको एकोहोरो ‘शासन’बाट शासित भइराख्न अभिशप्त छ ।
अब घनश्याम भुसालको पार्टीको कुरा । नेकपा एसले महाधिवेशन गरेको ६ महिनापछि बल्ल आएर कार्यविभाजन गर्न सक्यो । त्यो कार्यविभाजनले पनि ‘सही मान्छेलाई सही जिम्मेवारी’ दिन सकेन । अध्यक्षसामु भुसालले निरीह भएर त्यो कार्यविभाजन स्विकारे ।
जसरी महाधिवेशनमा सम्झौताबाट प्राप्त पद ग्रहण गरेका थिए । नेतृत्व परिवर्तनको हाँक दिएर महाधिवेशनमा उत्रेका उनले अन्तिम समयमा नेतृत्वमा प्रतिस्पर्धा गर्ने आँट गरेनन् र सम्झौताबाट पद प्राप्त गरे । अर्थात् भुसाल स्वयं पनि वाम उकुसमुकुस मुक्त छैनन् । हालैको बैठकमा उनले प्रस्तुत गरेको ‘आन्दोलनबाट पार्टी निर्माण’ शीर्षक दस्तावेजमा ती उकुसमुकुस छरपस्ट पोखिएका छन् ।
जस्तो कि, एक ठाउँमा उनले लेखका छन्, ‘अहिले पार्टीमा अनेकौं प्रकारका समस्या छन्, निराशा, हतासा, अन्योल, पलायन, निष्क्रियता जस्ता प्रवृत्ति देखिएका छन् । जसले गर्दा कतिपयमा नेकपा एमालेसँग सामीप्यता खोज्ने, अरू कतिपयमा नेकपा माओवादीसँग नजिकिन खोज्ने र आमरूपमा अन्योलग्रस्त प्रवृत्तिहरू देखिएका छन् ।’
संसदीय राजनीतिमा अभ्यस्त यी कम्युनिस्टहरूमा छटपटी र अन्योलता बढ्नुमा केही साझा कारण पनि छन् ।पहिलो, यी पार्टीहरू वर्गीय स्वार्थका मुद्दा बोकेर हुर्केका हुन् । दलाल नोकरशाही पुँजीपति, सामन्तवादी आदि यिनले वर्ग दुश्मन किटान गर्ने गरेका छन् । तर, व्यवहारमा कम्युनिस्टहरूका ‘मालिक’ बिचौलिया र पुँजीपति वर्ग नै बन्न थालेका छन् । पार्टी मिलाउँदा होस् वा सत्ता गठबन्धन निर्माण गर्दा कम्युनिस्टहरू बिचौलियाकै आड लिन्छन् ।
दोस्रो, सत्ताका लागि जस्तोसुकै सम्झौता गर्न पनि यी तम्तयार हुन्छन् । कांग्रेससँग किन मिल्ने, के मुद्दामा मिल्ने केमा नमिल्ने ? कुनै प्रस्टता चाहिएको छैन । सत्तामा जाने सर्तमा के कांग्रेस, के कम्युनिस्ट, के दक्षिणपन्थी जोसँग पनि हातेमालो गर्न तयार रहन्छन् । जसले गर्दा कम्युनिस्टहरूको सैद्धान्तिक क्षयीकरण हुँदै गएको छ ।
तेस्रो, कम्युनिस्टहरू भन्नलाई सामूहिक नेतृत्व प्रणाली विकास गरेर बढ्ने कुरा गर्छन् तर व्यवहार र कार्यशैलीमा व्यक्ति नै सर्वेसर्वा हुने गरेको पाइन्छ । जसले गर्दा आन्तरिक लोकतन्त्र औपचारिक भाषणमा सीमित हुने गर्छ । पार्टीको निर्णायक सत्ता गुट र व्यक्तिकेन्द्रित भएपछि त्यो पार्टीमा लोकतान्त्रिक चरित्रको विकास कसरी सम्भव हुन्छ ?
कम्युनिस्ट पार्टीहरू संकटतर्फ उन्मुख हुनुको चौथो कारण हो, यी पार्टीभित्र बढ्दो अपारदर्शिता । कार्यालय व्यवस्थापन, निर्माण गर्ने कुरा पारदर्शी छैन । आर्थिक अनुशासन र व्यवस्थापनका कुरा मुख्य नेतृत्वको तजबिजमा चल्छ । कतिसम्म भने, सचिवालय सदस्यहरूले समेत कार्यालय निर्माण व्यापारीले गरिदिने कुरा बैठक सुरु भएपछि मात्रै थाहा पाउँछन् र त्यसमा आवश्यक छलफल नगरी निर्णय गरिन्छ । तसर्थ, कुशासन, भ्रष्टाचार र अपारदर्शिताले वाम पार्टीलाई गाज्दै लानु संकटको अर्को कारक हो ।
यस्ता थुप्रै कारणले वाम राजनीति अन्योलमा छ, भुसालले भनेजस्तै उकुसमुकुसमा छ । पटक–पटक परीक्षण भइसकेका पात्रहरूकै नेतृत्वमा रहेका यी पार्टीका आगामी दिन सुखद देखिँदैनन् । विकल्पहरू सीमित हुँदै जानेछन् । पार्टीहरूमा राजनीतिमा विसंगति बढ्दै जाँदा यसको भविष्यलाई लिएर एउटा प्रश्न अक्सर उठ्ने गर्छ, सक्किने कि सच्चिने ? बेलाबेलामा कांग्रेसमा चल्ने यो बहस वाम पार्टीका लागि बढी आवश्यक भएको छ । यो प्रश्नमा एमाले, माओवादी, एसलगायत अरू विभिन्न कम्युनिस्ट घटकहरूले गम्भीर आत्मसमीक्षा गर्न ढिला भइसकेको छ ।
तीन विकल्पमा अहिले यी पार्टीमा विमर्श हुनु आवश्यक छ । पहिलो, विधानसम्मत हिसाबले राजनीतिक नीति र कार्यक्रमका आधारमा नेतृत्व चुन्ने कुरालाई स्थापित गर्न सक्नुपर्छ । नेताको व्यवस्थापनका हिसाबले जिम्मेवारी तोक्ने होइन, क्षमता र उसंग भएका कार्यक्रमका आधारमा हो ।
शीर्ष तहका परीक्षण भइसकेका नेताहरूप्रति आमजनमा विश्वास पैदा हुन कठिन छ, त्यसैले नवोदित नेता/कार्यकर्ताले नेतृत्व परिवर्तन र हस्तान्तरणको मुद्दालाई बोक्न सक्नुपर्छ । अनुकूल भइराख्दा शक्तिको बागडोर कसले छोड्न चाहन्छ र ? तसर्थ, शीर्ष नेताले कहिले छोड्ला भनेर बस्ने होइन, नेतृत्व परिवर्तन र हस्तान्तरणको पहलमा दोस्रो र नवीन पुस्ताको अग्रसरता आवश्यक हुन्छ ।
दोस्रो, सार्वजनिक वृत्तमा देखिएर काम गर्न चाहने जोकोहीको जीवन नैतिक, आर्थिक, सामाजिक हिसाबले पारदर्शी हुनुपर्छ । कम्युनिस्टहरू सरल जीवनको वकालत गर्छन् तर तिनको जीवन अपारदर्शी अनि विलासी हुने गर्छ । ‘कम्बल ओढेर घ्यु खाने’ प्रवृत्ति कम्युनिस्टहरूले त्याग्न सक्नुपर्छ र जनताको विश्वास र आकर्षण पुनर्प्राप्तिका लागि आफ्नो जीवनलाई पारदर्शी बनाउनुपर्छ ।
कम्युनिस्टहरू विगतमा पार्टीबाट निर्णय गरेर लुगा लगाउँथे । अहिले करोडौं पर्ने घडी तिनको नाडीमा हुन्छ । आवश्यक स्रोत र साधनको उपयोग अनिवार्य भएको छ । तर, त्यस्ता दैनिक विलासिता वा आवश्यक सामग्रीको उपयोग पारदर्शी किसिमबाट हुनुपर्छ । कम्तीमा त्यसको स्रोत प्रस्ट हुनुपर्छ ।
तेस्रो, मोर्चाबन्दी । कम्युनिस्टहरूबीच राजनीतिक मतभिन्नता खासै छैन । विभिन्न आवरणमा सैद्धान्तिक मतभेद देखाए पनि प्रवृत्ति, व्यवहार र कार्यशैलीमा कम्युनिस्टहरूबीच धेरै हदसम्म समानता भेटिन्छ । कम्युनिस्टहरूबीच एकताका अभ्यास भएका छन्, सत्ता सहकार्यका अभ्यास भएका छन् । तर, नेताविशेषको इगो र राजनीतिलाई गुटको भागबन्डाको विषय बनाउँदा ती अभ्यास स्थायी र दिगो रहन सकेनन् ।
विगतका दृष्टान्तबाट सिकेर कम्युनिस्टहरूबीच समान राजनीतिक कार्यक्रमका आधारमा सक्दा पार्टी एकता, नसक्दा कम्तीमा मोर्चाबन्दी गरेर अघि बढ्ने एउटा मुख्य विकल्प बाँकी छ । एकजना ओली एमालेमा छन् तर ओली प्रवृत्ति सबैजसो वाम पार्टीमा भेटिन्छ । तसर्थ, ओली प्रवृत्तिको प्रवर्द्धन गर्ने कि सीमित विकल्पहरूको खोज्दै वाम राजनीतिलाई ओली प्रवृत्तिबाट जोगाउने ? यतिबेला वाम राजनीतिसामु उठेको अहम् फ्रश्न हो यो ।
