त्रिवि स्वर्ण दीक्षान्त समारोहलाई स्वर्णिम बनाउने छात्राहरू

खासगरी जो छात्राहरू अहिले, यसअघि वा पछि पनि सर्वोत्कृष्ट भएका छन्, निकट भविष्यमा उनीहरू यो देशको राजनीतिक, प्रशासनिक वा अन्य प्रतिष्ठित क्षेत्रमा पनि आफ्नो उत्कृष्ट मिहिनेत र क्षमताका साथ उच्च पदमा पुग्न सके र नतिजा निकाल्न सके भने समग्र समाजका लागि हौसला हुनेछ ।

पुस १४, २०८१

सम्पादकीय

Students make the Trivi Golden Convocation ceremony golden

त्रिभुवन विश्वविद्यालयले हरेक वर्ष आफ्ना विद्यार्थीलाई दीक्षित गरिरहँदा कैयौं रोचक दृश्य देखिन्छन् । शनिबार आयोजित दीक्षान्त समारोहमा त्यस्ता कैयौं दृश्यलाई पार्श्वमा धकेल्ने सन्दर्भ थियो– सर्वोत्कृष्ट भएकाहरूलाई उसले प्रदान गरेको २२ वटा पदक र पुरस्कारमध्ये १७ वटा छात्राले पाएका छन् ।

त्यो पनि केवल १२ जना छात्राले पाएका हुन्, कतिपयले तीनवटासम्म पाएका छन् । विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा सर्वप्रथम भएका छात्रछात्रालाई पदक र पुरस्कार प्रदान गरिने प्रचलन छ । त्रिविको स्वर्ण दीक्षान्त समारोह भएकाले उसै पनि विशेष हुने भइहाल्यो, सर्वोत्कृष्टको सूचीमा छात्राको बाहुल्यताले थप विशेष बनेको छ ।

६५ वर्षअघि त्रिभुवन विश्वविद्यालय स्थापना हुँदा भर्ना हुने छात्रासमेत भेट्न मुस्किल हुने पृष्ठभूमिलाई ख्याल गर्ने हो भने अहिले छात्राहरूले प्रमाणित गरेको आफ्नो क्षमताले यस विश्वविद्यालय स्वयं पनि पुरस्कृत भएको छ । यस खबरले समाजलाई अनेकौं प्रेरणा दिनेछ ।

त्रिविका अनुसार, सर्वोत्कृष्ट छात्रा हीरा श्रेष्ठले त्रिवि प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक पाएकी छन् ।

त्यस्तै, सुधा काफ्लेले इन्द्रभक्त श्रेष्ठ पदक, रिकिता भण्डारीले मदन विद्या वातावरण विज्ञान पुरस्कार, रेबिका भण्डारीले नेपाल बैंक सरदार गुञ्जमान सिंह स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार, सुदीक्षा घिमिरेले नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखे स्वर्ण पदक, श्रीणा श्रेष्ठले इमिरेट्स प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक, चेतना कुँवरले नारायण शान्ति मिश्र पदक, श्रीज्या काफ्लेले तारापद चौधरी पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार, सीताकुमारी श्रेष्ठले शिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार, आकृति झाले भाइस चान्सलर पदक र भ्वाइथ सत्य माँ स्मृति स्वर्ण पदक, समिता ढुंगेलले नेपाल बैंक छत्रबहादुर पदक र संगीता प्रजापतिले सुशीलादेवी शर्मा पुरस्कार पाएकी छन् ।

छात्रतर्फ सुशील पोखरेलले अमृत पदक, प्रतीकराज जोशीले डा. दुबसु क्षेत्री स्वर्ण पदक, सञ्जीवकुमार सिंहले शान्तिनारायण मिश्र पदक, सिजन बोहराले लोकराज ज्ञवाली पदक र आशिष थापाले शिवराज पन्त स्मृति पुरस्कार पाएका छन् ।

हाम्रो देशमा अनेकौं जात, धर्म, भाषा, वर्ग, लिंगका मानिस छन् । यो विविधताको सकारात्मक चर्चा हुनु स्वाभाविक पनि हो । तर एकथरीलाई त्यस्तो निश्चित जात, धर्म, भाषा, वर्ग वा लिंगको भएकै कारण सफलता पाउनका लागि जति संरचनागत लाभ प्राप्त हुन्छ, अर्कोथरीलाई उति नै अवरोध पनि । जति सीमान्तीकृत समुदायतिर पुगिन्छ, अवरोध झन् बढ्छ, महिलालाई झनै बढ्छ । एकाध व्यक्तिलाई देखाएर ‘सक्नेले गरेकै छन्’ भन्ने भाष्य दोहोर्‍याउने गरिएको पनि पाइन्छ । तर बृहत् रूपमा हेर्ने हो भने संरचनागत अवरोध खेप्ने वर्गले सफलता पाउनका लागि कैयौं गुना बढी मिहिनेत गर्नुपरेको हुन्छ ।

त्रिविमा अहिले सर्वोत्कृष्ट हुने छात्राले पनि कैयौं सामाजिक अवरोध खेपेर अघि बढेका हुन् भन्ने सहजै बुझ्न सकिन्छ । त्यसैले पनि उनीहरूको सफलताको थप अर्थ छ । त्रिभुवन विश्वविद्यालयमा छात्राको उपस्थिति पनि बढ्दै गएको छ । विश्वविद्यालय अनुदान आयोगका अनुसार ४ लाख ९१ हजार २९९ विद्यार्थीमध्ये २ लाख ८६ हजार ८५० जना (५८ प्रतिशत) छात्रा र २ लाख ४ हजार ४४९ जना (४२ प्रतिशत) छात्र छन् । 

समग्र उच्चशिक्षामा पनि छात्राको संख्या बढेर गएको छ । देशभरका २२ विश्वविद्यालय तथा सोही हैसियतमा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ लाख ५८ हजार छात्रा (५७ प्रतिशत) र २ लाख ७४ हजार छात्र (४३ प्रतिशत) अध्ययरत रहेको आयोगको वार्षिक प्रतिवेदनको तथ्यांक छ ।

कुनै समय छोरीलाई विद्यालय नै पठाउनु हुँदैन भन्ने मान्यता बोक्ने नेपाली समाजमा उच्च शिक्षामा बढ्दो छोरीहरूकै उपस्थितिले त्यस किसिमको विभेदकारी र जड मानसिकता कमजोर बन्दै गएको पुष्टि गर्छ । यद्यपि, यदाकदा छोरीलाई उच्च शिक्षा पढाउने वा त्यसका लागि घरभन्दा बाहिर राख्ने वा विदेश पठाउने सवालमा समाज अझै उदार हुन सकेको पाइँदैन । उच्च शिक्षामा छात्राको उपस्थिति बढेको, उनीहरू सर्वोत्कृष्ट भएको समाचारले समाजलाई थप उदार बनाउन सहयोग पुर्‍याउनेछ । 

त्रिभुवन विश्वविद्यालयका अनेकौं समस्याहरू छन् । जसले गर्दा उसको शैक्षिक र प्राज्ञिक साख कमजोर हुँदै गएको छ । यही दीक्षान्त समारोहलाई हेरौँ । ऊ ६५ वर्षको भइसके पनि आन्तरिक विवाद, नजिता प्रकाशनमा ढिलाइ, राजनीतिका कारण हुने आन्दोलनले समयमा दीक्षान्त गर्न नसक्दा बल्ल ५० औं दीक्षान्त समारोह मनाएको हो । यद्यपि, आज पनि धेरै विद्यार्थीको उच्च शिक्षाको मुख्य गन्तव्य यही विश्वविद्यालय हो ।

देशमा आ–आफ्नो पेसा र व्यवसाय गरिरहेका कैयौंको उच्च शिक्षाको पृष्ठभूमि यही विश्वविद्यालयसँग जोडिएको छ । सर्वोत्कृष्ट भएका हुन् वा सामान्य नतिजाका साथ आफ्नो तह पूरा गरेका हुन्, उनीहरूमध्ये कैयौं यही देशमा रहन्छन्, यही देशका पेसा र व्यवसायमा हुनेछन् । कैयौं थप अध्ययन, रोजगारी वा अन्य अवसरका कारण विदेश जानेहरू पनि हुनेछन् ।

यतिबेला देशको चुनौती उच्च शिक्षा पूरा गरेकाहरूलाई देशभित्रै आफ्नो क्षमताको प्रयोग गर्ने वातावरण सिर्जना गर्नुमा छ । खासगरी जो छात्राहरू अहिले, यसअघि वा पछि पनि सर्वोत्कृष्ट भएका छन्, निकट भविष्यमा उनीहरू यो देशको राजनीतिक, प्रशासनिक वा अन्य प्रतिष्ठित क्षेत्रमा पनि आफ्नो उत्कृष्ट मिहिनेत र क्षमताका साथ उच्च पदमा पुग्न सके र नतिजा निकाल्न सके भने समग्र समाजका लागि हौसला हुनेछ । त्यतिबेला उनीहरूको ज्ञान र विवेकबाट नेपाली समाजले लाभ पाउने छ । र, नेपाली समाजले पनि गुणात्मक फड्को मार्नेछ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully