खासगरी जो छात्राहरू अहिले, यसअघि वा पछि पनि सर्वोत्कृष्ट भएका छन्, निकट भविष्यमा उनीहरू यो देशको राजनीतिक, प्रशासनिक वा अन्य प्रतिष्ठित क्षेत्रमा पनि आफ्नो उत्कृष्ट मिहिनेत र क्षमताका साथ उच्च पदमा पुग्न सके र नतिजा निकाल्न सके भने समग्र समाजका लागि हौसला हुनेछ ।
त्रिभुवन विश्वविद्यालयले हरेक वर्ष आफ्ना विद्यार्थीलाई दीक्षित गरिरहँदा कैयौं रोचक दृश्य देखिन्छन् । शनिबार आयोजित दीक्षान्त समारोहमा त्यस्ता कैयौं दृश्यलाई पार्श्वमा धकेल्ने सन्दर्भ थियो– सर्वोत्कृष्ट भएकाहरूलाई उसले प्रदान गरेको २२ वटा पदक र पुरस्कारमध्ये १७ वटा छात्राले पाएका छन् ।
त्यो पनि केवल १२ जना छात्राले पाएका हुन्, कतिपयले तीनवटासम्म पाएका छन् । विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा सर्वप्रथम भएका छात्रछात्रालाई पदक र पुरस्कार प्रदान गरिने प्रचलन छ । त्रिविको स्वर्ण दीक्षान्त समारोह भएकाले उसै पनि विशेष हुने भइहाल्यो, सर्वोत्कृष्टको सूचीमा छात्राको बाहुल्यताले थप विशेष बनेको छ ।
६५ वर्षअघि त्रिभुवन विश्वविद्यालय स्थापना हुँदा भर्ना हुने छात्रासमेत भेट्न मुस्किल हुने पृष्ठभूमिलाई ख्याल गर्ने हो भने अहिले छात्राहरूले प्रमाणित गरेको आफ्नो क्षमताले यस विश्वविद्यालय स्वयं पनि पुरस्कृत भएको छ । यस खबरले समाजलाई अनेकौं प्रेरणा दिनेछ ।
त्रिविका अनुसार, सर्वोत्कृष्ट छात्रा हीरा श्रेष्ठले त्रिवि प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक पाएकी छन् ।
त्यस्तै, सुधा काफ्लेले इन्द्रभक्त श्रेष्ठ पदक, रिकिता भण्डारीले मदन विद्या वातावरण विज्ञान पुरस्कार, रेबिका भण्डारीले नेपाल बैंक सरदार गुञ्जमान सिंह स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार, सुदीक्षा घिमिरेले नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखे स्वर्ण पदक, श्रीणा श्रेष्ठले इमिरेट्स प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक, चेतना कुँवरले नारायण शान्ति मिश्र पदक, श्रीज्या काफ्लेले तारापद चौधरी पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार, सीताकुमारी श्रेष्ठले शिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार, आकृति झाले भाइस चान्सलर पदक र भ्वाइथ सत्य माँ स्मृति स्वर्ण पदक, समिता ढुंगेलले नेपाल बैंक छत्रबहादुर पदक र संगीता प्रजापतिले सुशीलादेवी शर्मा पुरस्कार पाएकी छन् ।
छात्रतर्फ सुशील पोखरेलले अमृत पदक, प्रतीकराज जोशीले डा. दुबसु क्षेत्री स्वर्ण पदक, सञ्जीवकुमार सिंहले शान्तिनारायण मिश्र पदक, सिजन बोहराले लोकराज ज्ञवाली पदक र आशिष थापाले शिवराज पन्त स्मृति पुरस्कार पाएका छन् ।
हाम्रो देशमा अनेकौं जात, धर्म, भाषा, वर्ग, लिंगका मानिस छन् । यो विविधताको सकारात्मक चर्चा हुनु स्वाभाविक पनि हो । तर एकथरीलाई त्यस्तो निश्चित जात, धर्म, भाषा, वर्ग वा लिंगको भएकै कारण सफलता पाउनका लागि जति संरचनागत लाभ प्राप्त हुन्छ, अर्कोथरीलाई उति नै अवरोध पनि । जति सीमान्तीकृत समुदायतिर पुगिन्छ, अवरोध झन् बढ्छ, महिलालाई झनै बढ्छ । एकाध व्यक्तिलाई देखाएर ‘सक्नेले गरेकै छन्’ भन्ने भाष्य दोहोर्याउने गरिएको पनि पाइन्छ । तर बृहत् रूपमा हेर्ने हो भने संरचनागत अवरोध खेप्ने वर्गले सफलता पाउनका लागि कैयौं गुना बढी मिहिनेत गर्नुपरेको हुन्छ ।
त्रिविमा अहिले सर्वोत्कृष्ट हुने छात्राले पनि कैयौं सामाजिक अवरोध खेपेर अघि बढेका हुन् भन्ने सहजै बुझ्न सकिन्छ । त्यसैले पनि उनीहरूको सफलताको थप अर्थ छ । त्रिभुवन विश्वविद्यालयमा छात्राको उपस्थिति पनि बढ्दै गएको छ । विश्वविद्यालय अनुदान आयोगका अनुसार ४ लाख ९१ हजार २९९ विद्यार्थीमध्ये २ लाख ८६ हजार ८५० जना (५८ प्रतिशत) छात्रा र २ लाख ४ हजार ४४९ जना (४२ प्रतिशत) छात्र छन् ।
समग्र उच्चशिक्षामा पनि छात्राको संख्या बढेर गएको छ । देशभरका २२ विश्वविद्यालय तथा सोही हैसियतमा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ लाख ५८ हजार छात्रा (५७ प्रतिशत) र २ लाख ७४ हजार छात्र (४३ प्रतिशत) अध्ययरत रहेको आयोगको वार्षिक प्रतिवेदनको तथ्यांक छ ।
कुनै समय छोरीलाई विद्यालय नै पठाउनु हुँदैन भन्ने मान्यता बोक्ने नेपाली समाजमा उच्च शिक्षामा बढ्दो छोरीहरूकै उपस्थितिले त्यस किसिमको विभेदकारी र जड मानसिकता कमजोर बन्दै गएको पुष्टि गर्छ । यद्यपि, यदाकदा छोरीलाई उच्च शिक्षा पढाउने वा त्यसका लागि घरभन्दा बाहिर राख्ने वा विदेश पठाउने सवालमा समाज अझै उदार हुन सकेको पाइँदैन । उच्च शिक्षामा छात्राको उपस्थिति बढेको, उनीहरू सर्वोत्कृष्ट भएको समाचारले समाजलाई थप उदार बनाउन सहयोग पुर्याउनेछ ।
त्रिभुवन विश्वविद्यालयका अनेकौं समस्याहरू छन् । जसले गर्दा उसको शैक्षिक र प्राज्ञिक साख कमजोर हुँदै गएको छ । यही दीक्षान्त समारोहलाई हेरौँ । ऊ ६५ वर्षको भइसके पनि आन्तरिक विवाद, नजिता प्रकाशनमा ढिलाइ, राजनीतिका कारण हुने आन्दोलनले समयमा दीक्षान्त गर्न नसक्दा बल्ल ५० औं दीक्षान्त समारोह मनाएको हो । यद्यपि, आज पनि धेरै विद्यार्थीको उच्च शिक्षाको मुख्य गन्तव्य यही विश्वविद्यालय हो ।
देशमा आ–आफ्नो पेसा र व्यवसाय गरिरहेका कैयौंको उच्च शिक्षाको पृष्ठभूमि यही विश्वविद्यालयसँग जोडिएको छ । सर्वोत्कृष्ट भएका हुन् वा सामान्य नतिजाका साथ आफ्नो तह पूरा गरेका हुन्, उनीहरूमध्ये कैयौं यही देशमा रहन्छन्, यही देशका पेसा र व्यवसायमा हुनेछन् । कैयौं थप अध्ययन, रोजगारी वा अन्य अवसरका कारण विदेश जानेहरू पनि हुनेछन् ।
यतिबेला देशको चुनौती उच्च शिक्षा पूरा गरेकाहरूलाई देशभित्रै आफ्नो क्षमताको प्रयोग गर्ने वातावरण सिर्जना गर्नुमा छ । खासगरी जो छात्राहरू अहिले, यसअघि वा पछि पनि सर्वोत्कृष्ट भएका छन्, निकट भविष्यमा उनीहरू यो देशको राजनीतिक, प्रशासनिक वा अन्य प्रतिष्ठित क्षेत्रमा पनि आफ्नो उत्कृष्ट मिहिनेत र क्षमताका साथ उच्च पदमा पुग्न सके र नतिजा निकाल्न सके भने समग्र समाजका लागि हौसला हुनेछ । त्यतिबेला उनीहरूको ज्ञान र विवेकबाट नेपाली समाजले लाभ पाउने छ । र, नेपाली समाजले पनि गुणात्मक फड्को मार्नेछ ।
