कांग्रेसमा पात्र फरक, प्रवृत्ति पुरानै

अब नयाँ कुरा सिक्न र नयाँ सोच लिन नसक्ने वयोवृद्ध नेताहरूलाई ससम्मान अभिभावक बनाएर आउँदो पन्ध्रौं महाधिवेशनमा पार्टीको कार्यकारी भूमिकाबाट बिदा गर्नुपर्दछ । त्यहाँ परीक्षित, आशालाग्दा र युवा नेतालाई ल्याउनुपर्छ ।

पुस १२, २०८१

जैनेन्द्र जीवन

In Congress, the character is different, the trend is the same

नेपाली कांग्रेसका नेतागण न आफ्नो अनुभवबाटै पाठ सिक्छन्, न इतिहासबाट । अनि, हरेक पुस्ताका नेताहरू एकपछि अर्को ठूलाठूला र ऐतिहासिक भूल दोहोर्‍याइरहन्छन्, जो बहुधा पार्टीका लागि आत्मघाती हुन्छन् । तर त्यसो भए पनि एकफेर गिरिजाप्रसाद कोइराला वा शेरबहादुर देउवाजस्तो सभापति अथवा शेखर कोइरालाजस्तो ठूलै गुट चलाउने नेता भयो भने ऊ पार्टीभित्र कतै पनि प्रश्नको दायरामा आउँदैन ।

भूलबापत उसले पार्टीका कसैलाई, कुनै संरचनालाई जवाफ दिनु पर्दैन । दण्ड भोग्नु त परैको कुरा भयो । किनकि कांग्रेस नीतिप्रधानभन्दा ‘नेताप्रधान’ पार्टी हो भनेर कांग्रेसकै नेता कार्यकर्ताहरू गर्वसाथ भन्छन् । अभ्यासमा जसको अर्थ पद्धतिभन्दा नेता ठूलो, नेताले गल्ती गर्दैनन्, गरे पनि उनी प्रश्न र दण्डबाट उन्मुक्त छन् भन्ने देखिन्छ ।

यस्तो दण्डहीनतालाई परिवर्तन गर्ने दायित्व कार्यकर्ताको थियो, हो । तर कांग्रेसको संरचना र संस्कृति यस्तो छ कि यसका कार्यकर्ता चुनावताका मात्र सक्रिय हुन्छन् । यस्तो किन त ? उनीहरूको जवाफ हुन्छ– हामी कम्युनिस्ट पार्टीजस्तो कार्यकर्तामा आधारित पार्टी होइनौं ।

यसमार्फत उनीहरू आफ्नो अल्छीपन र निष्क्रियताको ढाकछोप गर्छन् । आफ्नो निर्वाचन क्षेत्र, पार्टीको मूल संरचना, विभाग वा भ्रातृ संगठन आदिमा लगन र मिहिनेतका साथ आधिकाधिक सक्रिय हुन कम्युनिस्ट पार्टीको जस्तो ‘होल टाइमर’ नै भइराख्न पर्दैन भन्ने कुरा उनीहरू या त बुझ्दैनन्, या बुझेर पनि बुझ पचाउँछन् ।अब चर्चा गरौँ, २०४७ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछिका त्यस्तो केही महाभूलहरूको ।

गिरिजाप्रसादको महाभूल

पार्टी सत्तामा पनि शक्तिशाली भूमिकामा रहेका, पार्टीबाहिर त आफूभन्दा लोकप्रिय र वरिष्ठसमेत रहेका नेताद्वय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको महत्त्वाकांक्षा र अहंको व्यवस्थापन गरेर लामो समयसम्म पार्टी सत्तारूढ र आफू प्रधानमन्त्री भइराख्ने सुनौलो अवसर थियो, गिरिजाप्रसाद कोइरालालाई । तर त्यो बाटो छाडेर उनीहरूलाई ‘देखाइदिन’ कोइरालाले संसद् विघटन गरेर मध्यावधि चुनाव गराइदिए ।

पार्टीको आन्तरिक कलह व्यवस्थापन गरेर जनादेशको कदर गर्दै पूरा अवधि संसद् चल्न नदिएको दण्ड पनि चुनावमा जनताले दिए । २०५ सांसद रहने प्रतिनिधिसभामा २०४८ सालमा १११ सिट ल्याएर सत्तामा पुगेको दललाई २०५१ मा ८३ सिटमा झारिदिए । त्यसपछि ‘हङ्ग’ सदन तथा अस्थिर सरकारहरूको लामो सिलसिला देशमा सुरु भयो । जुन ३० वर्षपछिसम्म पनि कायमै छ । अझै हट्ने कुनै छाँट छैन ।

त्यतिबेला संसद् पूरा अवधि चल्न दिएको भए अर्को २–३ पटकको आमचुनाव कांग्रेसले सजिलै जित्ने आकलन अलिकति जान्ने बुझ्ने सबैले, यहाँसम्म कि प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेले समेत आन्तरिक रूपमा गरेको थियो ।

त्यस्तो किनकि गिरिजा नेतृत्वको कांग्रेस सरकारले लिएको उदार अर्थनीतिका कारण त्यतिबेला देशको आर्थिक वृद्धि ७ प्रतिशतको हाराहारीमा पुगेको थियो । गाउँगाउँमा मोटर बाटो पुग्दै थियो । निजी क्षेत्र उत्साहित हुँदै थियो र जलविद्युत् तथा पर्यटनजस्ता तुलनात्मक लाभका क्षेत्रहरूमा देशीविदेशी लगानी आउँदै थिए । हवाई उडान, सञ्चार, मेडिकल कलेज र अस्पताल स्थापनाको क्षेत्रमा क्रान्ति नै आएको थियो । यस्तोमा सदनमा सुविधाजनक बहुमत ल्याएको दलले अर्को चुनाव नजित्ने सवालै थिएन ।

वास्तवमा २०४८ सालमा भएको सो चुनावमा जनताले बडो सुझबुझपूर्ण र परिपक्व ढंगबाट आफ्नो मत दिएका थिए । प्रजातन्त्र प्राप्तिका लागि धेरै संघर्ष गरेको र धेरै बलिदानी दिएको पार्टी भनेर राष्ट्रिय राजनीतिमा ३५ वर्षदेखिको उसको पहिलो र निर्णायक स्थानलाई लालमोहर लगाइदिएका थिए । र, नेकपा एमालेलाई जोसजाँगरले पूर्ण नयाँ दल र लोकतन्त्रका लागि कांग्रेस सँगसँगै जनआन्दोलन गरेर आएको भनेर जनताले दोस्रो स्थान दिएका थिए ।

कम्युनिस्टको पहिचान भए तापनि त्यसका दूरदर्शी र सुधारवादी नेता मदन भण्डारीले कम्युनिस्ट शासनको परम्परागत एकदलीय पद्धतिको सिद्धान्तलाई नकारेर जनताको बहुदलीय जनवाद नामको दलहरूबीच प्रतिस्पर्धामा आधारित लोकतान्त्रिक पद्धति अपनाएका थिए । चुस्त संगठन र निरन्तर क्रियाशील कार्यकर्ताका बलमा दुईवटा चुनावपछिको चुनाव उसले त्यसै जित्न पनि सक्थ्यो । नभए पनि दुई तीन चुनावपछि ‘एन्टी इन्कम्बेन्सी’ को लहर आउँथ्यो, उसको पालो आउँथ्यो ।

त्यसपछि फेरि कांग्रेस, त्यसपछि फेरि एमालेले पालैपालो चुनाव जित्ने यो चक्र चलिरहन्थ्यो । जसबाट सत्ता र प्रतिपक्ष दुवै कमजोर र असुरक्षित हुने, हुनुपर्ने अहिलेको स्थिति हुन्थेन । भ्रष्टाचार र भागबण्डाको फोहोरी राजनीति धेरै कम हुन्थ्यो, जनस्तरमा हुने अराजकता पनि कम हुन्थ्यो, लोकतन्त्र पनि जीबन्त र क्रियाशील हुन्थ्यो, आर्थिक बिकास धेरै गुणा बढी हुन्थ्यो र अहिलेजस्तो जनतामा निराशाको सञ्चार हुँदैनथ्यो ।

नजानेरै किन नहोस्, यति ठूलो महाभूल गरेर आफ्नो पार्टीको यो बिघ्न नोक्सान गर्ने गिरिजाबाबु जीवनपर्यन्त पार्टी सभापतिमा निर्वाचित भइरहे । त्यतिले नपुगेर आफ्ना अन्तिम दिनहरूमा राष्ट्रपति हुने लोभमा सबै कुरामा माओवादीको हात माथि हुने गरी दल र देश दुवैलाई माओवादीको भारी बोकाउन प्रयोग भए । आफ्नो पार्टीलाई राजाहरूले भन्दा पनि बढ्ता दुःख दिएको माओवादीका ज्यादतीहरूका लागि उसले दण्ड व्यहोर्नै नपर्ने वा कम पर्ने र धेरैजसो ज्यादतीमा उन्मुक्ति पाउने गरी माओवादीलाई सम्झौतामा ल्याउने काममा उनी केन्द्रीय पात्रका रूपमा प्रयोग भए ।

यस्तो हुँदा पनि आलोचनात्मक चेत राखेर यो विषयमा प्रश्न गर्ने वा यो कामको समीक्षा गर्नुपर्छ भन्ने पार्टीमा कोही निस्केनन् । बरु माओवादीकै भाषा र शैलीमा यो भूललाई ठूलो उपलब्धि मान्दै कांग्रेस पंक्तिले आज पनि उनलाई भगवान् मान्छ ।

शेरबहादुरका भूलैभूल

कुनै बखत गिरिजाबाबुलाई चुनौती दिँदै उनीसँग पार्टी सभापतिको चुनावमा भिड्ने हिम्मत राख्ने ऊ बेलाका ‘जुझारु र युवा’ नेता शेरबहादुर देउवाको त भूलहरूको बखान गरेर साध्यै छैन । लामो समयदेखि पार्टी सभापति र पाँचपटक प्रधानमन्त्री भइसकेका उनले गिरिजाबाबुको पेलानका विरुद्ध पार्टीभित्रै संघर्ष गर्ने बाटो छाडेर पार्टी नै फुटाइदिए । पार्टी फुटेर बहुमत आउन नसक्ने अवस्थामै चुनाव गर्ने घोषणा पनि गरिदिए । माओवादीको सशस्त्र विद्रोह उत्कर्षमा रहेको सो अवस्थामा चुनाव हुन सक्ने कुरै थिएन, भएन । बरु चुनाव गर्न नसकेबापत राजाबाट अक्षमको पगरी पाए ।

कांग्रेसको आपसी झगडाले माओवादीहरू हत्याहिंसा गर्न झनै सुरिए भने राजा आफ्नो हातमा शासन लिन । लिए पनि । र, लिएबापत देशलाई अभिभावकत्व दिन सक्ने राजसंस्था केही समयपछि समाप्त पनि भयो । शेरबहादुरका भूलहरू यत्तिमै सीमित छैनन् । सत्तालिप्सा, परिवारवादजस्ता यावत् कुरामा उनी बदनाम र अलोकप्रिय भए, जुन कुराहरूको आक्षेप उनी आफैं गिरिजाबाबुलाई लगाउने गर्थे ।

इमानदार र जनस्तरमै लोकप्रिय रहेकी पहिलो महिला प्रधानन्यायाधीशलाई व्यर्थमा महाभियोग लगाउन खोजे । तर पछि नसकेर त्यो प्रस्तावलाई बीचैमा छाडिदिए । पार्टी सञ्चालनमा अकर्मण्यता र ‘कोटरीवाद’ उनको पहिचान बन्यो । यस्ता असंख्य र गम्भीर भूलहरूका बाबजुद उनी लामो समयदेखि पार्टीको सभापति मात्र छैनन्, भोलि महाधिवेशन भई निर्वाचन हुँदा उनले समर्थन गरेकै उम्मेदवार जित्ने बलियो सम्भावना छ ।

शेखर : भूलकै पुनरावृत्ति

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा गिरिजाबाबुको दाहिने हात भई काम गरेर चर्चामा आई कांग्रेस राजनीतिमा उदाएका नेता हुन्, शेखर कोइराला । पारिवारिक विरासतको राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय नेताहरूमध्ये उनी अब्बल नेता हुन् ।

मृदुभाषी र पढेलेखेका उनको सक्रियता र कार्यकर्ता तथा जनसम्पर्क पनि राम्रै छ । गत महाधिवेशनको सभापति निर्वाचनमा शेरबहादुरसँग प्रतिस्पर्धा गर्दा ४० प्रतिशत हाराहारी मतसमेत हासिल गरेका (यद्यपि जुन मत धेरै नै घट्ने गरी परिस्थिति अब परिवर्तन भइसकेको छ) उनले अब आउने महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिन आधार बनाउँदै जानु स्वाभाविक आकांक्षा पनि हो ।

तर आफ्नो स्वार्थ र महत्त्वाकांक्षा सिद्धिका लागि र पार्टीको संस्थापन पक्षलाई कमजोर पारेर पार्टीभित्र आफ्नो समूहलाई बलियो पार्नका लागि अनावश्यक रूपले गुट चलाएर उनले ठूलो भूल गरिरहेका छन् । हो, शेरबहादुर र उनको संस्थापन समूहले निःस्वार्थ भावले सबैलाई समेटेर, गति र दक्षतापूर्वक पार्टीलाई हाँक्न सकेका छैनन् । तर संस्थापन पक्षलाई सही बाटोमा हिँडाउन पार्टीकै संरचना र फोरमहरूमा भूमिका खेल्नु साटो पार्टीले संस्थागत रूपमा लिएको नीति निर्णयको पनि उनी सार्वजनिक आलोचना गर्दै हिँडिरेका हुन्छन् ।

उदाहरणका लागि, पार्टीले योभन्दा अगाडि माओवादीसँग मिलेर सरकार चलाउँदा एमालेसँग मिलेर सरकार चलाउनुपर्छ भन्ने, र अहिले एमालेसँग मिलेर सरकार चलाउँदा यो भएन माओवादीसँगै मिल्नुपर्थ्यो भन्नेजस्ता कुराले जसरी हुन्छ, पार्टी संस्थापनलाई अप्ठ्यारो पार्ने नै नियत नभए पनि रणनीति देखिन्छ । बारम्बार यस्ता काम गरिरहेर उनले गरिहेका भूलले पार्टीलाई २०५१ वा २०५९मा नपुर्‍याउला भन्न सकिँदैन ।

र, अन्त्यमा

माथि वर्णित तीन नेताहरू आफ्नो व्यक्तिगत स्वार्थपूर्ति, महत्त्वाकांक्षा पूर्ति र अहंतुष्टिका लागि पार्टी हितलाई सहजै अनदेखा गर्ने नेताहरू होइनन् पहिले । तर पार्टी सत्ता वा राज्यसत्ता दुवैको स्वाद चाख्दै गएसँगै उनीहरू भ्रष्ट हुँदै गए, लर्ड एक्टनको प्रसिद्ध भनाइ ‘शक्तिले भ्रष्ट बनाउँछ’ लाई चरितार्थ गर्दै । उनीहरूको आपसमा कुनै वैचारिक मतभेद छैन, सैद्धान्तिक विवाद छैन ।

पार्टीको कार्यदिशा, संरचना, संगठन कस्तो हुनुपर्ने भनेर पनि कुनै मतभिन्नता छैन । अनि किन त उनीहरू कोही कहिले आफ्नो बहुमत रहेको संसद् नै विघटन गरिदिने, कोही कहिले पार्टी नै फुटाइदिने, कोही कहिले आफ्नै दल सम्मिलित सरकार नै ढल्ने बोली र व्यवहार देखाउने गरिरहन्छन् त ? हो, एउटा त उमेरले पनि उनीहरूलाई असुरक्षित बनाएकै हो ।

यदि उनीहरू ४०–५० वर्षको उमेरका भएका भए अहिले म पार्टी सभापति वा प्रधानमन्त्री हुन नपाए पनि अर्को १० वर्षपछि हुन सक्छु भन्थे होलान् । फलतः यस्ता महाभूलहरू जानीजानी गर्दैनथे । त्यसैले पनि अब नयाँ कुरा सिक्न र नयाँ सोच लिन नसक्ने यी दुई वा उनीहरूजस्ता अरू वयोवृद्ध नेताहरूलाई ससम्मान अभिभावक बनाएर आउँदो पन्ध्रौं महाधिवेशनमा पार्टीको कार्यकारी भूमिकाबाट बिदा गर्नुपर्दछ । र, त्यो भूमिकामा परीक्षित, आशालाग्दा र युवा नेतालाई ल्याउनुपर्छ । कांग्रेसको सुधार र पुनरुत्थानको यो पहिलो सर्त हो । त्यसपछि पनि गर्नुपर्ने कुरा त धेरै बाँकी छँदै छन् । 

जैनेन्द्र जीवन

Link copied successfully