सुपादेउरालीले खोजेको विकास

धार्मिक आस्थाको केन्द्र सुपादेउरालीलाई प्राकृतिक र साहसिक पर्यटकीय स्थलका रूपमा पनि विकास गर्न सकिन्छ ।

पुस ११, २०८१

अन्जु केसी

The development sought by Supadeurali

बागलुङदेखि परदेश जान हिँडेका एक जवान सुपादेउराली पुग्छन् र फूलअबिर चढाउँछन् । आफू फौजमा भर्ती हुन पाऊँ भनी मनकामना व्यक्त गर्छन् । पूरा भएमा देवीको पूजाआजा गरी बलि दिने भाकलसमेत गरेर उनको यात्रा मुग्लानतिर सोझिन्छ ।

त्यही मनोकामना पूरा भएर उनी भारतीय सेनामा भर्ती हुन्छन् । जागिरबाट बिदा लिएर उनी देउरालीकै बाटो भएर बागलुङ फर्कन्छन् । न उनले फर्किंदा पहिलेको आफ्नो भाकल पूरा गरे न त बिदामा घर बस्दा त्यतातिर ध्यान दिए ।

बिदा सकेर सुपादेउरालीको बाटो छलेर उनी पखेरापारिबाट मुग्लान फर्किने तय गर्छन् । तर भाकल पूरा नगरेकाले रिसाएकी देउरालीकी देवीले उनका सरसामान र लत्ताकपडा पहरामा टाँसिदिन्छिन् । अहिले पनि लाहुरे टाँसिएको भनिने स्थानको चट्टानमा मानव आकृतिजस्तो देख्न सकिन्छ । 

यही किंवदन्तीमा बाँचिरहेको अर्घाखाँचीको सुपादेउराली मन्दिर अहिले धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल बनेको छ । यति मात्रै होइन, खाँचीको राजकुलमा सुपादेउराली देवीले जन्म लिएको भन्ने अनेक इतिहास–किंवदन्ती पनि सुपादेउरालीसँग जोडिएका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने कपिलवस्तुको गोरुसिंगेदेखि सन्धिखर्कतर्फको ४७ किलोमिटरको सडक दूरी पार गर्दा सुपादेउराली पुगिन्छ । जुन शीतगंगा–२ र सन्धिखर्क–७ को सिमानामा पर्छ । 

चारैतिर अग्ला र मसिना लेक, भंगाने लेक, तीनपाने लेकले घेरिएको मन्दिर प्राचीन प्यागोडा शैलीमा निर्मित छ । स्थानीय बासिन्दामा अपनत्वको भाव र आयस्रोतको समान विभाजनको उद्देश्यले मन्दिरलाई शीतगंगा र सन्धिखर्क नगरपालिकामा नछुट्याई दुवैको स्वामित्व रहने गरी सिमानामै निर्धारण गरिएको छ ।

सन्धिखर्क–गोरुसिंगे यात्राको एक मात्र विकल्प यो सडकबाट दैनिक आवतजावत गर्ने सयौं यात्रीले मन्दिरमा पानी अचाएर, फूल चढाएर, आफूसक्दो भेटी अर्पण गरेपछि मात्रै यात्रा अगाडि बढाउँछन् । 

जनआस्था र विश्वासको केन्द्रबिन्दु सुपादेउरालीमा स्वच्छ मनले पूजा र भाकल गरे मनकामना सिद्ध हुने विश्वास छ । गुल्मी, पाल्पा, कपिलवस्तु, प्यूठान, पर्वत, स्याङ्जा, बागलुङ, नवलपरासी, दाङ, रोल्पालगायतबाट मात्र होइन, भारतबाटसमेत भक्तजन यहाँ आइपुग्ने गरेका छन् । नवरात्र, रामनवमी, वैशाख शुक्लपूर्णिमा, औंसी, एकादशी, अक्षतृतीया, शिवरात्रि, श्रीपञ्चमी र कृष्णजन्माष्टमीमा यहाँ विशेष पूजा हुन्छ ।

अहिले पनि वैशाख शुक्लपूर्णिमाका दिन खाँची राज्यका शाहवंश ठकुरी, कबदार, खड्का, रपाली, अड्गुरिका, श्रेष्ठहरूले खनाल पुजारीद्वारा कुलपूजाको रूपमा भव्य पूजापाठ लगाई बलि चढाई कुलदेवीलाई खुसी पार्दछन् । अहिले कालो पाठीको सट्टामा कालो पाठोको बलि चढाउने गरिन्छ । केही वर्षयता श्रेष्ठहरूले वैशाख शुक्लपूर्णिमाका दिन गरिने कुलपूजा यथावत् राखे पनि बलि भने मंसिर पूर्णिमामा दिने गरेका छन् ।

२०४० सालमा पत्थरकोट–सन्धिखर्क जोड्ने बाटो खुलेपछि अर्घाखाँचीको तत्कालीन बल्कोट गाविस निवासी बाबुराम रायमाझीले मोटरबाटोसँग जोडेर मन्दिर स्थापना गरी दैनिक पूजाआजाको व्यवस्थापन गरे । त्यसपछि यहाँ दैनिक चहलपहल सुरु भएको हो ।

२०६४ सालमा स्वामी नरनारायण बाबाको सहयोगमा कार्यविधि बनाई १ करोड २५ लाख लगानीमा प्यागोडा शैलीमा मन्दिर पुनर्निर्माण गरियो । मुख्य सडकमा अवस्थित सुपादेउरालीको मुख्य मन्दिरसँगै गणेश मन्दिर र शिवालय निर्माण गरिएका छन् । मुख्य मन्दिरभन्दा करिब २ सय मिटर तल दुर्गा मन्दिर र ३ सय मिटरमाथि सिद्ध मन्दिर छन् । 

आन्तरिक तथा बाह्य पर्यटकको आस्थाको केन्द्र सुपादेउरालीमा स्वदेशी र भारतीय भक्तजनको घुइँचो लाग्छ । देवीलाई सम्झेर पूजा गर्दा, जोडी परेवा उडाउँदा सुखशान्ति प्राप्त हुने विश्वास श्रद्धालु छ । आ–आफ्नो भाकलअनुसार कुखुराको भाले, हाँस, भेडा तथा पाठापाठीको बलि चढाउने गरिन्छ । आर्थिक व्यवस्थापन समितिले मन्दिरको आयबाट दैनिक व्यवस्थापनसँगै भौतिक पूर्वाधार निर्माणको काम गरिरहेको छ ।

दैवीप्रकोप पीडित, आर्थिक रूपमा विपन्न, अशक्त वृद्धवृद्धा, दीर्घरोगीलाई सहयोग प्रदान गरिन्छ । अन्य धार्मिक मठमन्दिर संरक्षण, जीर्णोद्वार, स्थानीय क्षेत्रमा खानेपानी, सडक निर्माण, विस्तार तथा विभिन्न सामाजिक हितका कार्यमा समितिले खर्च गर्दै आएको छ ।

मन्दिरको दैनिक आयआर्जन मुख्य र प्रत्यक्ष आम्दानी त हुँदै हो, मन्दिरमा आउने भक्तजनका कारण स्थानीयको आयआर्जन र जीविकोपार्जनमा समेत सहयोग र सुधार आएको छ । लेकको चिसो हावापानीमा उत्पादन हुने मौसमी फलफूल तथा तरकारीको बजार सीमित भए पनि मन्दिर आसपासका क्षेत्र नरपानी, ठाँडा, खाँचीकोटमा बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । 

सुपादेउराली जिल्लाको एक मात्र सदाबहार मन्दिर हो । महाभारत पर्वत शृंखलाको डरलाग्दो पखेरामा अवस्थित मन्दिर प्राकृतिक रूपमा अति मनमोहक छ । मन्दिरको पूर्वमा खस्ने झरनाको छङछङ आवाज र खोलाको सुसाहटले भक्तजनलाई वास्तवमै आनन्द दिलाउँछ ।

मन्दिरको उचित संरक्षण, आवश्यक विकास र प्रवर्द्धनमा भने अझै काम गर्न बाँकी देखिन्छ । थप पूर्वाधार हुने हो भने धार्मिक आस्थाको केन्द्रबिन्दुसँगै सुपादेउरालीलाई प्राकृतिक र साहसिक पर्यटकीय स्थलका रूपमा पनि विकास गर्न सकिन्छ ।

अन्जु केसी

Link copied successfully