परीक्षामा सहभागी नै नभएका विद्यार्थी कसरी पास भए ?

पुस ८, २०८१

सम्पादकीय

How did the students who did not participate in the exam pass?

नेपालका विश्वविद्यालयहरूको प्राज्ञिक धरातल कमजोर रहेकामा तुलनात्मक रूपमा आशा गर्न सकिने उदाहरण हो, काठमाडौं विश्वविद्यालय । यसका लागि उक्त विश्वविद्यालयका विगतदेखिका पदाधिकारी, प्राध्यापकहरूलगायत अध्यापनसँग जोडिएका प्राज्ञिक व्यक्तित्व, यस संस्थालाई विश्वास गर्ने विद्यार्थी र अभिभावक तथा आर्थिक–भौतिक सहयोग गर्ने शुभचिन्तकको अथक मिहिनेतको ठूलो भूमिका छ ।

तर यही विश्वविद्यालयमा गत मंसिर २९ मा जे भयो, त्यसले धेरैलाई स्तब्ध बनाएको छ । उसले परीक्षामा फेल भएका र बीचैमा कक्षा छाडेका विद्यार्थीलाई पनि दीक्षित गरेपछि प्रश्न उठेको छ ।

यस घटनाबारे भरपर्दो छानबिन गरेर सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न, विश्वविद्यालयले गल्ती सच्याउने र पुनः गल्ती हुन नदिने प्रतिबद्धता व्यक्त गर्न आवश्यक छ । केयूले आफूलाई टीयूकै बाटोतर्फ अग्रसर हुन नदिने हो भने पछिल्लो प्रकरणलाई संवेदनशील रूपमा लिएर पारदर्शी ढंगले छिनोफानो लगाउनुपर्छ ।

काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन प्राप्त निजी क्याम्पस लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट ललितपुरमा भर्ना भएका तर कोही बीचैमा कक्षा छाडेका र कोही तोकेको क्रेडिट पूरा नगरी फेल भएका सात विद्यार्थी दीक्षित भएको विवरण सार्वजनिक भएको हो । उनीहरूलाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अध्यक्षता गरेको दीक्षान्त समारोहबाट दीक्षित गरिएको हो । त्यति मात्रै होइन, परीक्षामा सहभागी नभए पनि उनीहरूलाई २.६५ देखि ३.५१ जीपीएसम्म अंक प्रदान गरिएको छ । केयूले सार्वजनिक गरेको सूचीअनुसार यो वर्ष बीबीएतर्फ १ सय ८७ विद्यार्थी दीक्षित भएका हुन् । तर, बीचैमा कक्षा छाडेको तथा फेल भएका सात विद्यार्थी दीक्षित हुँदा मापदण्ड पुगेका दुई विद्यार्थी भने यो अवसरबाट वञ्चित भएका छन् । 

अर्को दुर्भाग्य, यो प्रकरणमा केयू पदाधिकारी दुई समूहमा देखिएका छन् । उपकुलपति भोला थापा, रजिस्ट्रार अच्युत वाग्ले, परीक्षा नियन्त्रक रामप्रसाद घिमिरे, डिन विजयकुमार केसीले यसलाई मानवीय त्रुटिका रूपमा लिएका छन् । उनीहरूले दीक्षान्त समारोहलगत्तै आन्तरिक छानबिन गरिएको र एक कर्मचारीले ‘डेटा इन्ट्री’ को क्रममा आफूबाट भएको व्यक्तिगत गल्तीबारे पुस ३ मा नै लिखित स्पष्टीकरण दिएको बताएका छन् । ती कर्मचारीले व्यवस्थापनले आफूलाई क्षमा गरिदियोस् भनेर अनुरोध पनि गरेका छन् । आफ्नो गल्ती स्वीकार गरिसकेको अवस्थामा उनलाई आन्तरिक वा बाह्य एजेन्सीमार्फत कारबाही गर्ने भन्ने विषयमा आफूहरू छलफलमा रहेको उनीहरूको भनाइ छ । अर्कोतिर, फेल भएका विद्यार्थीलाई ‘ग्रेस लिस्ट’ मा समावेश गरेर दीक्षित गरिएकाले यो सामान्य गल्ती नभएको भन्दै सभाका सदस्य तथा स्कुल अफ एजुकेसनका डिन बालचन्द्र लुइँटेललगायतले छानबिनको माग गरेका छन् । लुइँटेलले त विश्वविद्यालयका अधिकांश प्राध्यापक र कर्मचारीलाई इमेलमार्फत पत्र लेखेर ध्यानाकर्षण गराएका छन् । गल्ती सुधार गर्दै केयूको ब्रान्डलाई धूमिल हुन दिन नहुने उनको मत छ ।

यस प्रकरणमा सबैभन्दा पहिले विश्वविद्यालयले नै आफ्नो संरचनामार्फत छानबिन गर्न आवश्यक छ । तर त्यतिले मात्रै पुग्दैन । राज्यका अन्य निकायले पनि यसतर्फ ध्यान दिनुपर्छ । त्यसमा केयूले सहयोग गर्नुपर्छ । कोही व्यक्ति दोषी देखिए भने उनले आफ्नो गल्तीको सजाय पाउने नै छन् । जुन अन्यको हकमा पनि सबक हुन सक्छ । तर प्रश्न भने त्यतिमा सकिँदैन । किनकि, केयू जस्तो व्यवस्थित र प्रतिष्ठित भनिएको विश्वविद्यालयमा, कतिपयले मत राखे जस्तो, एउटा कर्मचारीले नै नतिजामै उथलपुथल गराइदिन सक्छ, बीचैमा कक्षा छाडेका र क्रेडिट पूरा नगरी फेल भएका वा परीक्षामा फेल भएका विद्यार्थीलाई सहजै उत्तीर्ण गराइदिन सक्छ र दीक्षित तुल्याइदिन सक्छ भने विश्वविद्यालयको समग्र पक्षको विश्वसनीयतामाथि प्रश्न उठ्छ । जुन गल्ती कर्मचारीले गरेको हो भनिएको छ, त्यसमा उनी र उनको मानवीय त्रुटिमात्र जिम्मेवार छ भन्ने दाबीमा विश्वस्त हुन फराकिलो छानबिनको आवश्यकता छ । विगतमा पनि यस्तो भएको छ कि छैन भन्ने पनि खोजबिन हुन जरुरी छ ।

त्यस्तै, विद्यार्थी सो विश्वविद्यालयअन्तर्गतको कुनै पनि कलेजमा भर्ना हुनेदेखि उसले उत्तीर्ण भएर विश्वविद्यालयबाट बाहिरिनेसम्मको शृंखलामा उसलाई निर्देशित र अनुगमन गर्ने, उसका उपलब्धिको लगत राख्ने र आधिकारिकता दिने कामका लागि तहगत संरचना हुन्छन् । यो घटनालाई एउटा कर्मचारीको सम्भावित कमजोरीका अतिरिक्त ती सबै तहगत संरचनाको सामूहिक कमजोरीसँग पनि जोडेर हेर्नुपर्ने हुन्छ । प्रत्यक्ष कमजोरी गर्नेलाई कारबाही गर्ने र जिम्मेवारीको सोपानमा रहेका सबै जवाफदेही हुने पद्धति स्थापित गर्नुपर्छ । मुख्यतः आगामी दिनमा यस्ता कमजोरी दोहोरिने बाटो बन्द गराउन उपाय स्थापित गर्नुपर्छ । आज सात जना भनिएका विद्यार्थी कुनै दिन सयौंमा हुन नदिनका लागि यस प्रकरणलाई संवेदनशील रूपमा हेरिनुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully