क्रिकेटलाई साथ दिन पूर्वाधार बनाऊ

सबै तहका सरकारले क्रिकेटसँग सम्बन्धित भौतिक पूर्वाधार निर्माण गर्ने कामलाई प्राथमिकता दिन आवश्यक छ । प्रतिभाको पहिचान गरेर उसलाई खारिनका लागि आवश्यक अवसर उपलब्ध गराउने नीति तय गर्न र कार्यान्वयन गर्न सक्नुपर्दछ ।

पुस ७, २०८१

सम्पादकीय

Build infrastructure to support cricket

नेपाली क्रिकेटको घरेलु महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) शनिबारबाट अन्त्य भएको छ । यो अन्त्य एउटा प्रारम्भ पनि हो । मुख्यतः नेपालमा क्रिकेटको गुणात्मक विकासका लागि एउटा प्रस्थानबिन्दु हुन सक्ने पर्याप्त आधार छन् ।

यसका केही पक्षहरू विशेष उल्लेखनीय छन् । जस्तो कि, एउटा ठूलो प्रतियोगिता सम्पन्न हुन सक्ने गरी यहाँ आर्थिक, प्राविधिक र व्यवस्थापकीय क्षमता विकास भइसकेको पुष्टि भएको छ । नेपाली क्रिकेट थप व्यावसायिक भएको छ, खेलाडीहरूले आफ्नो क्षमताको प्रदर्शन गर्न र पहिचान पाउन सफल भएका छन् ।

दर्शकले तीन साता यस प्रतियोगितालाई एउटा उत्सवका रूपमा व्यतीत गरे । यी सबैका आधारमा भन्न सकिन्छ, एनपीएलको एउटा पूर्ण स्वरूप सफलतापूर्वक सम्पन्न भएको छ । यसका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान) बधाईको पात्र भएको छ । आगामी संस्करण अझ परिष्कृत र भव्यतापूर्वक आयोजना हुन सकुन् भन्ने शुभकामनाको हकदार भएको छ ।

गत मंसिर १५ गते जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई पराजित गर्दै सुरु भएको प्रतियोगिता शनिबार उसैले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सम्पन्न भएको हो । यसबीचमा ३२ वटा खेल भए । जसमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सका अतिरिक्त कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स र लुम्बिनी लायन्सजस्ता फ्रेन्चाइज टिमहरू सहभागी थिए ।

राष्ट्रिय टिमका खेलाडी, कुनै बेला राष्ट्रिय टिममा परेका खेलाडी, ट्यालेन्ट हन्टमार्फत छानिएका खेलाडीले आफ्नो क्षमता देखाए । नाम चलेका विदेशी खेलाडीहरू जस्तै न्युजिल्यान्डका मार्टिन गप्टिल, जिम्मी निसम र स्कट कुगेलेइज्न, भारतका शिखर धवन, इंग्ल्यान्डका स्टेफन इस्किनाजी, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका लाहिरू मिलान्थालगायत ४० जनाको उपस्थितिले यो प्रतियोगिता थप विशेष बन्यो । नेपाली खेलाडीले त्यस्ता परिचित र प्रतिभावान् खेलाडीकै टिममा वा विपक्षमा रहेर खेल्न पाए ।

त्यसमार्फत नयाँनयाँ सीप सिक्न पाए । कैयौं नयाँ खेलाडी वा कुनै बेला चम्केर अहिले ओझेल परेका खेलाडीले आफ्ना सीपको पुनः प्रदर्शन गर्न पाए । यो विगत तीन हप्तामा हुन सक्यो । तर यसको छाप भने आगामी दिनमा पर्ने निश्चित छ । अहिले राष्ट्रिय टिममा नरहेका तर एनपीएलमा गरेको प्रदर्शनका कारण चर्चामा रहेका विपिनकुमार शर्मा, किशोर महतो, रिजन ढकाल जस्ता खेलाडीहरूका कारण आगामी दिनमा राष्ट्रिय टिम थप सशक्त हुने विश्वास लिन सकिन्छ । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकाहरूले विश्वका अन्य प्रतियोगितामा पनि अवसर पाउने अपेक्षा गर्न सकिन्छ ।

क्रिकेट र समग्र खेलकुदप्रति सक्रिय चासो राख्नेले त पछिल्लो तीन साता आफूलाई कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेका खेल र त्यसका नतिजामा केन्द्रित गरेका थिए नै, कैयौं निरपेक्ष जमातलाई पनि प्रतियोगिता अन्तर्गतका उथलपुथलले स्पर्श गरेर गएको छ । जसले गर्दा एनपीएल आमचासोको विषय बन्न सक्यो । उसै पनि नेपाली दर्शकले क्रिकेटप्रति गर्ने प्रेमको चर्चाको कुनै सीमा छैन ।

एनपीएलले त्यसलाई थप फैलाउन भूमिका खेलेको छ । कैयौं खेलमा टिकट ‘सोल्ड आउट’ भए । कीर्तिपुरस्थित त्रिवि मैदानमा हरेक खेल हेर्नका लागि उपस्थित भएर मात्रै होइन, टीभी तथा युट्युबमार्फत प्रत्यक्ष हेर्ने दर्शकले समेत यसको महत्त्व बढाउन भूमिका खेले । यसप्रति अपनत्व स्थापित गर्न सहयोग गरे । अर्थात्, एनपीएल एउटा यस्तो उत्सव हुन सक्यो, जसमा नेपाली झुम्न सके । रमाउन सके । यो नेपालीको एउटा जीवनशैली बन्यो ।

यो प्रतियोगितामा करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार भएको आकलन गरिएको छ । त्यो कारोबार टिमले आफ्ना खेलाडीलाई दिने रकम वा अन्य व्यवस्थापनका लागि गर्ने खर्चमा मात्रै सीमित छैन । बरु यही मौकामा नाङ्ले पसल स्थापना गरेर, बदामदेखि पानीसम्म बेचेर आफ्नो लगानीअनुसारको व्यापार गर्नेसम्मै विस्तारित भएको छ । मुख्यतः एनपीएलको निरन्तरताका लागि बलियो आधार निर्माण भएको छ ।

दर्शकको चासो, विदेशी खेलाडीले देखाएको रुचि, स्पोन्सर गर्नेहरूको अग्रसरता, प्रतियोगितासँग सम्बन्धित भएर गरिएका आर्थिक कारोबार, प्रतियोगिताको पहिलो संस्करणको सफलतापूर्वक गरिएको आयोजनाबाट प्राप्त अनुभवले आगामी प्रतियोगिता पनि सहज ढंगले आयोजना हुनेछन् भन्ने आधार निर्माण भएको छ ।

एनपीएलको नाममा क्यानले तत्काल गर्न सक्ने जति गरेको छ । कतिपय व्यवस्थापकीय कमजोरीलाई आगामी दिनमा सुधार गर्दै लैजाने नै छ । यो समयक्रमसँगै परिपक्व हुने विषय हो । यस प्रतियोगितालाई हेरेर सबै तहको सरकारले पनि क्रिकेटसँग सम्बन्धित भौतिक पूर्वाधार निर्माण गर्ने कामलाई प्राथमिकता दिन आवश्यक छ । प्रतिभाको पहिचान गरेर उसलाई खारिनका लागि आवश्यक अवसर उपलब्ध गराउने नीति तय गर्न र कार्यान्वयन गर्न आवश्यक छ ।

संघीय सरकारले त्रिवि मैदानलाई थप स्तरोन्नति गरिहाल्न जरुरी छ । यस पटकको प्रतियोगिता चल्दै गर्दा धेरैले ‘फ्लड लाइट’ का साथमा साँझमा खेल हुन सकेको भए गज्जब हुने थियो भन्ने चाहना राखेका थिए । यसबारे प्रधानमन्त्रीकै तहबाट भएका प्रतिबद्धताहरू यथाशक्य पालना हुन सक्यो भने दर्शकका सकारात्मक चाहना पूरा हुनेछन् ।

सरकारले मात्रै होइन, नेपाली क्रिकेटसँग जोडिने गरी निजी क्षेत्रले लगानी गरे पनि प्रतिफल प्राप्त हुने सुनिश्चित भएको यसप्रति बढ्दो चासोले पुष्टि गर्छ । सरकारले उनीहरूलाई पनि उत्प्रेरित र अग्रसर गर्न आवश्यक छ । र, एनपीएल जस्ता घरेलु प्रतियोगिता मात्रै होइन, निरपेक्ष भूमिका रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिताको पनि सफल आयोजना हुन सक्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully