खेल जति व्यावसायिक युगतर्फ अग्रसर हुन्छ, खेलाडी तथा टिमको नाम दुरुपयोग हुन सक्ने चुनौती रहन्छ
नेपाल प्रिमियर लिग (एनपीएल) सकिने तर्खरमा छ । मंसिर १५ देखि सुरु यो प्रतियोगितामा राष्ट्रियस्तरका अधिकांश खेलाडी र क्रिकेट पावरहाउस राष्ट्र भारत, बेलायत, अस्ट्रेलियासहितका अन्तर्राष्ट्रिय खेलाडी पनि क्लबमार्फत सहभागी छन् ।
क्रिकेटप्रेमी र दर्शकको उत्साह देख्दा नेपाली क्रिकेट व्यावसायिक युगको चरणमा प्रवेश भएको मान्न सकिन्छ । खेल जति व्यावसायिक युगतर्फ अग्रसर हुन्छ, खेलाडी तथा टिमको नामको दुरुपयोग हुन सक्ने चुनौती रहन्छ ।
खेलमा प्रयोग हुने नक्कली तथा गुणस्तरहीन सामग्री, खेलसँग सम्बन्धित प्रतिलिपि अधिकारको नक्कल वा चोरी, क्याप, जर्सी, जुत्ता, मोजालगायत पोसाकको उत्पादन तथा नक्कल, खेलजन्य सामग्रीको उत्पादन, ब्रान्ड तथा डिजाइनको नक्कलसमेतका अनधिकृत क्रियाकलाप पनि देखिन सक्छन् ।
विभिन्न व्यक्ति, संस्था तथा सरकारको एक प्रमुख आयस्रोतका रूपमा बौद्धिक सम्पत्ति क्षेत्रको उदय हुँदै गएकाले बौद्धिक सम्पत्ति अधिकारको संरक्षण अपरिहार्य हुन पुगेको छ । सन् २०२० मा स्विट्जरल्यान्ड र सिंगापुरमा ४०, अमेरिकामा ३९, ईयूमा ३८, दक्षिण कोरियामा ३४, जापान र क्यानडामा ३०, चीन र बेलायतमा २७ र जर्मनी तथा भारतमा २५ प्रतिशत हिस्सा अर्थतन्त्र अर्थात् कुल गार्हस्थ्य उत्पादनमा बौद्धिक सम्पत्तिको योगदान छ ।
यस्तो नतिजा हासिल गर्न इजरायल र दक्षिण कोरियाले कुल गार्हस्थ्य उत्पादनको करिब ५ प्रतिशत लगानी गरेका छन् । अमेरिका, स्विडेन, स्विट्जरल्यान्ड, जापान र जर्मनीले औसत ३.५, चीन, अस्ट्रेलिया, फ्रान्स, डेनमार्क, फिनल्यान्डले औसत २.५ र भारतले करिब १ प्रतिशत लगानी अनुसन्धान तथा विकासमा खर्च गरेका छन् ।
यस क्षेत्रमा भएको लगानीले आर्थिक वृद्धि, प्रतिस्पर्धा, नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै सर्वसाधारणलाई रोजगारी र सरकारलाई देश विकासका लागि राजस्व प्राप्त हुन्छ । यो लेखमा क्रिकेटसँग सम्बन्धित बौद्धिक सम्पत्ति अधिकारका विविध पक्षको संक्षिप्त चर्चा गरिनेछ ।
पेटेन्ट : कुनै समस्या समाधान गर्न पत्ता लागेको नयाँ प्राविधिक उपायलाई आविष्कार भनिन्छ भने त्यसका आविष्कारकर्तालाई कानुनबमोजिम प्रदान गरिने एकाधिकारलाई पेटेन्टका रूपमा बुझिन्छ । क्रिकेटमा प्रयोग हुने सामग्री बल, ब्याट, प्याड, लेग गार्ड, सुज, ग्लोभ, हेल्मेट जस्ता उपकरण एवं सामग्री गुणस्तरीय बनाउन र खेलाडीको सुरक्षाका लागि निरन्तर अनुसन्धान तथा विकासमार्फत आविष्कारमा सुधार गरिएको हुन्छ । पेटेन्ट अधिकारमार्फत आविष्कारकर्ता र लगानीकर्ता संस्थाको लगानीको समेत सुरक्षाको प्रत्याभूति भएको हुन्छ ।
औद्योगिक डिजाइन : कुनै वस्तुलाई आकर्षक स्वरूप दिन प्रयोग गरिने सेप, कन्फिगरेसन, प्याटर्नको दृश्य रूपको दुई वा तीन कोणीय वा दुवैको मिश्रित स्वरूपमा उत्पादित आकृतिलाई डिजाइनका रूपमा लिइन्छ । क्रिकेटमा प्रयोग हुने उपकरण एवं सामग्रीलाई आकर्षक स्वरूप प्रदान गर्न त्यस्तो आकृतिमाथिको अधिकार सुरक्षित गर्नुपर्ने हुन्छ ।
यो खेलका उपकरण तथा सामग्रीमा डिजाइनको खास महत्त्व रहन्छ । उपकरण तथा सामग्रीका उत्पादकबीच अन्य उत्पादकभन्दा फरक र आकर्षक बनाउन प्रतिस्पर्धा भइरहने हुँदा क्रिकेटका यस्ता सामग्रीका बौद्धिक सम्पत्ति (डिजाइन) संरक्षणका लागि उत्पादकले विशेष ध्यान दिनुपर्ने हुन्छ ।
व्यापार चिह्न (ट्रेडमार्क) : एक व्यावसायिक प्रतिष्ठानको वस्तु वा सेवालाई अर्को व्यावसायिक प्रतिष्ठानको वस्तु वा सेवाभन्दा फरक छुट्याउन, उपभोक्तालाई वस्तु वा सेवा पहिचानमा सहजता प्रदान गर्न फरक नाम, लोगो, चिह्न, शब्द, नम्बर, अक्षर, ध्वनि, चित्र प्रयोग गरिन्छ । चलनचल्तीको भाषामा व्यापार चिह्न (ट्रेडमार्क) लाई ब्रान्ड भन्ने गरिन्छ ।
क्रिकेटका सन्दर्भमा टिम, खेलाडी, प्रतियोगिता तथा खेल सामग्रीलाई अन्य टिम, खेलाडी, प्रतियोगिता तथा खेल सामग्रीभन्दा अलग पहिचान बनाउन व्यापार चिह्नको प्रयोग गरिएको हुन्छ । उदाहरणका लागि जर्सी, क्याप, चिया वा कफी मग, ल्यापटप तथा मोबाइलमा प्रयोग गरिने स्टिकर तथा कभर, एनपीएल, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज्, काठमान्डु गुर्खाज्, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स नाम तथा नामसहितको लोगो प्रयोग गरिएको छ । यसले ब्रान्ड भ्याल्यु यकिन गर्न र जनसाधारणमा ख्याति स्थापित गराउन सहयोग पुर्याउँछ । सुप्रसिद्ध खेलाडीका माध्यमबाट क्लब तथा टिमको ख्याति बढाउन पनि सघाउ पुगेको हुन्छ ।
व्यावसायिक गोपनीयता (ट्रेड सिक्रेट) : क्रिकेटमा प्रयोग हुने माथि उल्लिखित उपकरण एवं सामग्री बनाउन प्रयोग हुने सूत्र (फर्मुला), व्यावसायिक सूचना, रणनीतिक खेल योजनालाई व्यावसायिक गोपनीयताका रूपमा लिन सकिन्छ । यसबाट अहिलेको प्रतिस्पर्धात्मक समयमा सामग्रीको अनधिकृत उत्पादन रोकेर खेल सामग्री उत्पादन गर्ने उद्योगको विकास तथा विशिष्टीकरणमा सहयोगसमेत पुर्याउँछ ।
भौगोलिक संकेत (जियोग्राफिकल इन्डिकेसन्स) : कुनै खास भूगोलमा उत्पादनमा हुने विशिष्ट गुण, विशेषता तथा जनस्तरमा ख्यातिप्राप्त वस्तुको पहिचानको प्रयोग हुने नामलाई भौगोलिक संकेत भनिन्छ । यस्तो विशेषता भएको सामग्री क्रिकेटमा पनि प्रयोग भएको पाइन्छ ।
दक्षिण पूर्वी इंग्ल्यान्डको नदी किनार र होचो भूभागमा पाइने एक प्रकारको रूख सालिक्स अल्बाको काठबाट बनाइने हलुको र बलियो क्रिकेट ब्याटलाई ‘इङलिस विल्लो’ नाममा भौगोलिक संकेतका रूपमा व्यावसायिक उत्पादन गरिएको पाइन्छ । यसलाई बेलायतले जीआई ट्यागका रूपमा संरक्षित गरेको छ । क्रिकेटमा प्रयोग हुन सक्ने यस्ता वस्तु नेपालमा पनि नहोला भन्न सकिन्न । यसमा सरोकारवाला पक्षले अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
प्रतिलिपि अधिकार (कपीराइट) : आयोजकले तयार गरेको मौलिक सिर्जनात्मकता र कलात्मक सामग्रीलाई प्रतिलिपि अधिकारका रूपमा लिन सकिन्छ । खेलसँग सम्बन्धित प्रतिलिपि अधिकारमा खेलको टिम एन्थम तथा थिम सङ, सम्बन्धित गीतसंगीत, खेलको श्रव्यदृश्य, विज्ञापन, टिम वा खेलको नारा, चित्रकला, खेलको प्रत्यक्ष प्रसारण, पुनःप्रसारण, वितरण, खेल, खेलाडी, खेल समारोहको फोटोको प्रकाशन, खेल प्रतियोगिताका प्रतिवेदन, ब्रोसर, फ्लेयर एवं खेलका लिखित दस्ताबेज पर्छन् ।
यसको प्रयोग, प्रकाशन एवं प्रसारण सम्बन्धित व्यक्ति, आयोजक निकाय वा अधिकारप्राप्त निकायबाट अधिकारप्राप्त गर्न उपर्युक्त कार्यका लागि अनुमति लिनुपर्छ । आयोजकको लगानी, खेलको व्यवस्थापन तथा भविष्यमा खेलको विकासका लागि प्रतिलिपि अधिकारको संरक्षण आवश्यक हुन्छ । आईपीएलको लोकप्रियताका आधारमा सन् २०२३ देखि २०२७ सम्मका लागि प्रसारण संस्थाले खेल प्रसारणको प्रतिलिपि अधिकार लिएबापत आईपीएललाई भारतीय रुपैयाँ ४८,३९० करोडमा सम्झौता गरेको छ ।
बौद्धिक सम्पत्ति र बौद्धिक सम्पत्ति अधिकार : बौद्धिक सम्पत्ति भन्नाले मानव मस्तिष्कको सिर्जना हो भने बौद्धिक सम्पत्ति अधिकार भन्नाले आफ्नो सिर्जनालाई अनधिकृत प्रयोग हुनबाट रोक्न सक्ने अधिकार हो । अन्य व्यक्ति वा संस्थाको बौद्धिक सम्पत्तिको प्रयोग वा उपयोग गर्नुपरेमा लाइसेन्सिङ, फ्रेन्चाजिङ करार जस्ता माध्यममार्फत गर्नुपर्ने हुन्छ ।
पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ बमोजिम उद्योग विभाग र प्रतिलिपि अधिकार ऐन, २०५९ बमोजिम नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमार्फत बौद्धिक सम्पत्ति अधिकारको संरक्षणको कार्य भइरहेको छ । व्यावसायिक गोपनीयतालाई करार कानुनमार्फत कार्यान्वयन गर्न सकिन्छ भने भौगोलिक संकेतको संरक्षणका लागि हालसम्म कानुन बनिसकेको छैन । बौद्धिक सम्पत्ति अधिकारका सम्पूर्ण विधालाई राष्ट्रिय बौद्धिक सम्पत्ति नीति, २०७३ र नेपाल सदस्य तथा पक्ष रहेको विश्व व्यापार संगठन र व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी महासन्धि, १९९४ ले समेत समेटेको छ ।
अतः क्रिकेट दिन प्रतिदिन लोकप्रिय र व्यावसायिक हुँदै गएको सन्दर्भमा सम्बद्ध बौद्धिक सम्पत्ति अधिकारको पक्षमा समेत सचेतना आवश्यक छ । यसमा खेल उपकरण तथा सामग्री उत्पादक, खेलाडी, टिम, नेपाल क्रिकेट संघ तथा सरकार सबैको ध्यान जान जरुरी छ ।
– बराल बौद्धिक सम्पत्तिसम्बन्धी कानुनका जानकार हुन् । यहाँ व्यक्त धारणा लेखकका निजी हुन् ।
