ठूलाबडा बाढीमा पर्दैनन्, पर्ने त गरिब र सीमान्त वर्गका हुन्

नख्खुको तलपट्टि दुई घण्टासम्म मान्छेले गुहार माग्दा पनि सहयोग पाएनन् र ती बगेर गए । त्यसमा मन्त्री वा सांसद परेको भए के हुन्थ्यो ?

पुस १, २०८१

आनन्दमोहन भट्टराई

The big ones don't get affected by the flood, but the poor and marginalized people do get affected

संविधानले अदालतलाई सार्वजनिक सरोकारका निवेदनलाई लिएर सुनुवाइ गर्न सक्ने जुन अधिकार दिएको छ । पहिले त्यसमाथि विचार गर्न आवश्यक छ । भारतमा धेरै वर्षपछिको मिहिनेतले त्यहाँको अदालतलाई असीको दशकमा न्यायिक व्याख्यामार्फत यो अधिकार प्राप्त भएको थियो ।

हामीकहाँ त संविधानले नै जुनसुकै सार्वजनिक सरोकारको मुद्दालाई अदालतमा प्रवेश गर्न पाउने अधिकार दिएको छ सुरुदेखि नै । यसरी, देशमा विवादमा उठ्ने विषय अदालतमा आएपछि त्यसलाई निपटारा गर्नु हाम्रो कर्तव्य हुन गएको छ । हाम्रो यही कर्तव्य भारतमा न्यायिक सक्रियता मात्रै बन्न पुगेको छ । यो कर्तव्यको पालनामा हाम्रा अदालतले कानुनी शून्यता भएको ठाउँमा त्यसको पूर्ति गर्ने गरी आदेश पनि दिन्छन् र निर्देशनात्मक आदेश पनि जारी गर्छन् । त्यस हिसाबले दक्षिण एसियाका धेरै अदालत यस्ता बाध्यकारी नियम निर्माण गर्ने संस्था हुन् । 

बाराको निजगढमा अन्तराष्ट्रिय विमान्स्थल बनाउने बिषयको मुद्दामा हामीले आठ हजार हेक्टरको वन काट्न मिल्दैन भन्यौं । के यस्तो अधिकार अदालतलाई छ र भन्ने प्रश्न पनि उठ्न सक्ला । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) नै कपीपेस्ट गरेर तीन हजार हेक्टरको रनवे भए पुग्ने विमानस्थल बनाउन आठ हजार हेक्टरको वन काट्ने गरी अति खराब ढंगले अघि बढेको शासन प्रशासनलाई रोक्न त अदालत बोल्नैपर्छ । पोखराको फेवाताल जोगाउन किनाराबाट ६५ मिटरसम्म भवन नबनाउनू भन्ने आदेश होस् कि बलात्कारपीडितको नाम गोप्य राख्नू भनी जारी गरिएको निर्देशिका, कानुनको शून्यतामा अदालतले निभाउनुपर्ने कर्तव्य निभाएकै छ । 

विश्व सम्पदा सूचीमा भएको चितवन वन्यजन्तु संरक्षण निकुञ्जको ईआईए पनि त्यस्तै खराब तरिकाले तयार गरेर निकुञ्जभित्रबाट बाटो बनाउन लागिएकाले मेरै इजलासले त्यो खारेज गरिदिएको थियो । वाग्मतीमा मैले गरेको फैसला पुनरावलोकनका लागि इजलासमा गएको छ, त्यसैले यो विचाराधीन मुद्दा भएकोले धेरै बोल्नु हुँदैन । तर, जसरी कुरा आए सार्वजनिक जानकारीमा, मलाई केही आश्चर्य लाग्यो । वाग्मतीमा आएको यसपालिको ठूलो बाढी पहिलो बाढी होइन । र, यो अन्तिम बाढी पनि हुने छैन । किनभने, बाढी त फेरि पनि आउँछ । अहिले जलवायु परिवर्तनका कारण ‘क्लाउड बर्सिटङ’ भएर सीमित क्षेत्रमा आरीघोप्टे पानी पर्न थालेको छ । नेपालमा पनि ठाउँठाउँमा त्यस्तो भएको छ । पाकिस्तानमा पनि भयो । सिक्किममा पनि भयो त्यस्तै । यस्तो हुन थालेपछि हामीले नदी बग्ने ठाउँलाई छाडिदिनुपर्छ । नदीको जमिनमा अरू गएर बसे उसले तिनलाई बगाउँछ । नदीको जमिन नदीकै हो । त्यसमा कसैले खेती गरे तापनि नदी बग्नलाई छेक्न सक्दैन । 

हाम्रो संविधानले वातावरणीय दिगो विकासको व्यवस्था गरेको छ । संविधानको धारा ३० मा स्वच्छ तथा स्वस्थ वातावरण भनेको छ । त्यो ‘स्वस्थ’ भनेकोपर्यावरणलाई शुद्ध राख्ने हो । त्यसैले, बेरोकटोक प्रवाहमय नदी त हाम्रो वातावरणको हकभित्र पर्छ । यसको तथ्यमै पनि तोडमोड भयो । त्यो के भने, २०६५ सालमा सरकारले वाग्मतीमा २० मिटर दुईतिरै छोड भनेकै हो नि ।

एक क्षणलाई मान्नुस्, पशुपति आर्यघाटमा हामीले २० मिटर छोड्ने हो भने त्यो त पशुपतिनाथ मन्दिरसम्म पुग्छ । सरकारले त्यो भनेको त होइन नि । सम्पदालाई यथावत् राख्ने भनेको हो । यो फैसलामा पनि सम्पदालाई कहीँ हटाऊ भनेको छैन । भनेको के छ भने, खुला छ भने त्यसमा संरचना नबनाऊ । त्यो पनि विचाराधीन छ । अदालतले यसमा बोल्ला । राज्यका निकायका एकदम प्रमुख व्यक्तिहरूले अदालतले नबुझी २० मिटर भन्यो, त्यसमा पशुपतिनाथ पनि पर्छ, गुह्येश्वरी पनि पर्छ भने । पशुपति पर्छ भने अदालतको फैसलाले होइन, सरकारकै निर्णयले पर्छ नि । 

वाग्मती सभ्यताको कार्यालय छ, जो कार्यकारीको निर्णयले खडा भएको संस्था हो । यसलाई कसैले टेर्दो रहेनछ । र, त्यस संस्थाले अदालतमा आएर हामीलाई कानुन देऊ भन्यो । अदालतले कानुन बनाएर वाग्मती सभ्यताभित्रका सबै नगरप्रमुखलाई पक्ष कायम गरीबोर्डको सदस्य बनाऊ र छलफल गरेर अगाडि बढ भन्यो । बाढीले जसरी नोक्सान पारेको छ, उठीबासमा परेका मानिसको पुनर्वास राज्यको दायित्व बन्दैन ? तिनीहरूलाई राज्यले केही गरेकै छैन । अनि अदालतले आफ्नो दायित्व निर्वाह गर्दैन ? नख्खुको तलपट्टि दुई घण्टासम्म मान्छेले गुहार माग्दा पनि सहयोग पाएनन् र ती बगेर गए । त्यसमा मन्त्री वा सांसद परेको भए के हुन्थ्यो ? ठूला र धनी मानिस बाढीमा पर्दैनन्, पर्ने त गरिब र सीमान्त वर्गका हुन् । वातावरणको विनाशले भयावह प्रभाव पार्छ र त्यसले गरिब तथा निमुखा मानिसलाई ज्यादा पिरोल्छ । तिनलाई जोगाउनपनि वातावरणीय न्यायको विषयमा अदालत अलि सक्रियताका साथ लाग्छ । जहाँ मापदण्ड बनाउन जरुरत पर्छ, त्यहाँ मापदण्ड बनाउँछ । हामीले गरेको त्यत्ति हो । 

हामीले चुरेमा पनि यसै गरेका थियौं । जहिलेदेखि अदालतले वातावरणको मुद्दा हेर्न थाल्यो, तैलेदेखि अदालत बाध्यकारी नियम बनाउने संस्था पनि भएको छ । वाग्मतीमा हाम्रो सहितको डिभिजन बेन्चले गरेको यो आठौं फैसला हो । अदालतले यसमा निरन्तर फैसला गरी नै रहेको छ । वाग्मतीको बाढी क्षेत्रमा पार्टीको अफिस राख्छन् त हामी के गरौं ? बाढी पस्छ होला नि त । वाग्मतीको बाढी क्षेत्रमा नेताहरूको सालिक राख्छन्, प्रतिष्ठा बनाउँछन् भने हामी के गरौं ? त्यो बाढीले के गरोस् ?वाग्मतीले के गरोस् ?

(सर्वोच्च अदालतबाट हालै अवकाशप्राप्त न्यायाधीश आनन्दमोहन भट्टराईसँग कान्तिपुरका उमेश चौहान र घनश्याम खड्काले गरेको अन्तर्वार्ताको सम्पादित अंश )

आनन्दमोहन भट्टराई सर्वोच्च अदालतका न्यायाधीश हुन् ।

Link copied successfully