तुलसीदास रामचरित मानसमा लेख्छन्, ‘जाकी रही भावना जैसी, प्रभु मुरत देखी तिन तैसी ।’ श्रीरामलाई जसले जुन रूपमा सोचे, जसको मनमा जस्तो भावना थियो, उनले तिनका बारे त्यस्तै परिकल्पना गरे ।
सीता स्वयंवरको प्रसंग चित्रण गर्दै उनी फेरि भन्छन्– ‘कसैले उनलाई बालकका रूपमा हेरे, कसैले तरुण पराक्रमी राम ठाने त कसैलाई विनम्र शिष्यका रूपमा लिए । अर्थात्, जसले जस्तो मनोभाव राखे उही रामलाई भिन्न–भिन्न रूपमा बुझे ।
विगतमा जसका पुर्खाले स्कुललाई जग्गा दान दिए, दशकौंसम्म ती परिवारको कीर्तिगाथा फैलिइरह्यो । जग्गा महँगो हुँदै जाँदा अहिले तिनका परिवारका सदस्यलाई यो बैंकमा जम्मा गरेको ‘फिक्स डिपोजिट’ जस्तो लाग्न थाल्यो । परिणामतः त्यस्ता स्कुल जग्गाधनीबाट जग्गा फिर्ता हुनुपर्ने दबाब बेहोर्दै छन् । केही जनप्रतिनिधि र प्रधानाध्यापकका लागि स्कुल ‘चर्चामा नआएको भन्सार’ जस्तो अनियमित आम्दानीको स्रोत भयो । कसैका लागि यो आफन्तहरूका लागि रोजगारीको केन्द्र भयो । कसैले यसलाई राजनीति गर्ने उर्वर ठाउँका रूपमा हेरे । सबका आँखामा स्कुलको फरक–फरक संसार ! स्कुललाई स्कुलका रूपमा मान्ने, बुझ्ने र देख्न चाहनेहरू थोरै भए । स्कुललाई सबैको सहज एवं समतामूलक पहुँचमा पुर्याउने र गुणस्तरको निरन्तरतालाई सुनिश्चित गर्न चाहनेहरू पातलिँदै गए ।
आज मधेशका आममान्छेमा यस क्षेत्रका स्कुलमाथिको भरोसा न्यून हुँदै गएको छ । कोही यहाँका स्कुलले आफ्नो अपेक्षा पूरा गर्न सक्दैन भन्ने ठान्छन् र आफ्ना सन्तानलाई अन्यत्र पढ्न पठाउँछन् । मधेशमै पनि दक्षिणभन्दा उत्तरतिरका स्कुलमाथि बढी आस राख्छन् । मधेश प्रदेशबाट विद्यार्थी अरू प्रदेशतिर सर्दै छन् । आफ्नो गाउँठाउँ, छेउछाउको स्कुलभन्दा अन्यत्रका माथि भरोसा किन जाग्यो ? यसको अर्थराजनीति के छ ? जो अभिभावक आफ्ना विद्यार्थी अन्यत्र पढाउन खोज्छन्, तिनीहरू घर नजिकको स्कुलमा कत्तिको चिहाउँछन् ? कोही अभिभावक र शिक्षक यस्ता पनि छन्, जो आफ्नै वरिपरिको स्कुललाई सुधार्न सकिन्छ कि भनेर काम गरिरहेका छन् । खोजे त्यस्ता उदाहरण पनि भेटिन्छ तर तिनको चर्चा छैन ।
यही क्षेत्रमा जनमत संग्रहताका नारा गुञ्जिन्थ्यो– ‘खुला दाखिला, सस्ता शिक्षा, प्रजातन्त्र के इहे परीक्षा ।’ अचेल प्रजातन्त्रको ठाउँमा लोकतन्त्र भन्न थालियो । यस्ता नारा लागेको पैंतालीस वर्ष हुन थाल्यो । तर शिक्षाको स्तर ओरालो लाग्दै आयो । एकताकाका नामुद स्कुल आज निराशाजनक स्थितिमा छन् । नेपालको संविधानले केन्द्रीकृत शासन प्रणालीमा निहित शक्ति स्थानीय तहमा ल्याइपुर्याएको छ । संविधानले विद्यालय शिक्षा स्थानीय सरकारको अधिकार क्षेत्रमा राखेको छ । आधारभूत शिक्षाको जिम्मा स्थानीय तहले पाएको छ । यो ऐतिहासिक कार्यभार हो । यो कार्यभारको उचित पालना भएन भने फेरि यो जिम्मेवारी फर्काउनका लागि कोसिस हुन सक्छ, यो भनेको स्वतः स्वीकार गर्नु हो–
हामी आफूलाई सुम्पिएको कार्यभार पूरा गर्न अयोग्य छौं । शिक्षा स्थानीय सरकारको प्राथमिकतामा कत्ति छ ? मधेश प्रदेश सरकारले त्यसमा कत्तिको सहजीकरण, समन्वय र सहकार्य गर्न आफूलाई उभ्याउन सकेको छ ? वर्चस्ववादी सत्ताको नियत के छ र मधेशको नियति कस्तो निर्माण हुँदै छ ? वस्तुपरक विमर्श देखिँदैन ।
एउटा टबमा पानी भरिएको थियो । त्यसलाई दुई जनाले चाखे । एकले भने– ‘पानी त चिसो छ तर यसमा छालाको गन्ध आइरहेको छ ।’ अर्काले अनुभव साझा गरे, ‘पानी ठन्डा त छ तर यसमा फलामको गन्ध आइरहेको छ ।’ पानी बाहिर निकालेर हेर्दा, टबको पिँधमा एउटा साँचोको गुच्छा थियो, जसमा छालाको समाउने थियो । मापन दुइटैको ठीक थियो । तर मूल्यांकनमा अन्तर थियो ।
राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले उजागर गरेको तथ्य हो, मधेश प्रदेशको एउटा पनि जिल्ला पूर्ण साक्षर हुन सकेको छैन । यस्तोमा कोही केन्द्रलाई दोषी ठहर्याउँछन् त कोही स्थानीय र प्रदेशलाई । कोहीकोही त बिस्तारै बोल्न थालेका छन् कि सरकारले यो घाटाको कारोबार गर्नुभन्दा बरु आफ्नो हात खिचेर यसलाई पूर्णतया निजी क्षेत्रको जिम्मामा दिइहाल्नुपर्छ । यो त त्यस्तै दिग्भ्रमित सोच हो कि लोकतन्त्रको मन्दगतिभन्दा बरु द्रुत गतिको तानाशाही नै ठीक । बजारवादले आफ्नो प्रकृतिअनुरूप पहिला हामीलाई पक्षाघातको सिकार बनाउँछ, त्यसपछि बैसाखी बेच्न आउँछ । उसो पनि आज उच्च शिक्षा र प्राविधिक शिक्षा प्रकारान्तरले निजी हातलाई दिइँदै गइएकै हो ।
लेनिनले भनेका थिए– ‘जबसम्म देशमा निरक्षरता जस्तो चिज मौजुद छ, तबसम्म राजनीतिक शिक्षाको कुरा बेइमानी हो । कारण, निरक्षर व्यक्ति राजनीतिभन्दा बाहिर नै रहन्छ । सबैभन्दा पहिला उसले क, ख, ग सिक्नुपर्छ, यसको अभावमा कुनै पनि राजनीति हुन सक्दैन । केवल अफवाह नै हुन सक्छ, पूर्वाग्रह हुन सक्छ, परिहरूको कथा हुन सक्छ, राजनीति हुन सक्दैन ।’ यसै विमर्शलाई अगाडि बढाउँदै पाब्लो रिचर्डको कथनलाई यहाँ उद्धृत गर्न सकिन्छ– ‘पुँजीवादले धेरै मान्छेको मूल्यमा थोरै मान्छेको ज्यान बचाउन चाहन्छ । आखिरकार यो जीवनको साटो मृत्युलाई छान्नु हो ।’ यसको एउटै विकल्प हो, सबैका लागि जीवन । यदि हामी यस विकल्पलाई अपनाउन असफल रह्यौं भने यो निकै धेरै मान्छेको मृत्युलाई स्वीकार गर्नुजस्तै हो । यसको परिणति अन्ततोगत्वा सबैको अवसान हो ।
मधेश प्रदेश उसै पनि मानव विकास सूचकांकमा पछाडि छ, यहाँ सार्वजनिक शिक्षा चौपट्ट छ । ओरालो लागेको सार्वजनिक शिक्षा रहेसम्म मधेशमा असमानता झन् घनिभूत हुँदै जान्छ । जहाँ गरिबी छ, सीप छैन त्यहाँको समाज अर्को पुस्तालाई पनि गरिबी नै हस्तान्तरण गर्न विवश हुन्छ । गरिबीको भुमरीमा रहेको समाज अनेकौं बेथिति, विसंगति र विडम्बनाबाट गाँजिन पुग्छ । अर्थात्, दुःखले सधैं गाँजिरहन्छ । जुन समुदायमा गरिबी सबैभन्दा धेरै छ, त्यो समुदायको मानव विकासका विभिन्न आयाम पनि कमजोर हुने निश्चित छ ।
अहिलेको गम्भीर प्रश्न हो– हामी कस्तो मधेश निर्माणतिर उन्मुख भइराखेका छौं ? शिक्षा समाजमा असमानता हटाउने साधन हो । जहाँ शिक्षा सहज र सुलभ छ, त्यहाँका नागरिकले आफ्नो क्षमताको पहिचान गर्न सक्छन् । शासकले जहिले पनि औपनिवेशिक भाष्य रच्ने र प्रेक्षण गर्ने गर्छ । महाभारतमा यक्षसँगको संवादमा युधिष्ठिरलाई सोधिएको थियो– ‘यात्रामा को सहायक हुन्छ ?’ तत्काल जवाफ दिइयो– ‘विद्या ।’ शिक्षाद्वारा प्राप्त ज्ञानलाई विद्या भनिन्छ । विद्या, प्रज्ञता, ज्ञान एउटै अर्थको पर्याय हो । संस्कृत वाङ्मयमा उक्ति छ– ‘विद्याविहीन पशुः ।’ बिनाविद्याको मान्छे पशु समान हो । अर्को छ– ‘सा विद्या या विमुक्तये’, अर्थात् विद्या त्यो हो जसले हामीलाई मुक्ति दिन्छ । मुक्तिका अनेक स्वरूप र पक्ष छन् । आफ्नो गरिमाप्रति सचेत, अधिकार प्राप्तिका लागि संगठित, न्याय प्राप्तिका लागि ऐक्यबद्ध, गैरन्यायिक थिचोमिचो प्रतिप्रतिरोध, गरिबीबाट मुक्ति, यी सबै ‘मुक्ति’ कै बहुआयामी रूप हुन् ।
शिक्षा प्रदान गर्ने विषय एउटा व्यक्तिसँग मात्र होइन, समुदाय र राष्ट्रिय स्वार्थसँग पनि गाँसिएको छ । शिक्षाबाट वञ्चित समुदाय आफ्नो प्रतिभा प्रस्फुटनको अवसर, समुदायका आफ्ना पहिचान र गौरव संवर्द्धन गर्ने विषयबारे ठीक निर्णय लिन असमर्थ हुन्छ । यस्तोमा उक्साहटमा परिन्छ, अरूद्वारा प्रदत्त संकथनलाई नै सत्य मान्ने सोझोपना प्रस्टिन्छ । लोकतान्त्रिक प्रक्रियामा सक्रिय भागीदारी गर्न योग्यता शिक्षाबाट नै प्राप्त हुन्छ । मधेशमा बेलाबखत अधिनायक मनसुबाका चटके आएर डमरु बजाउँछन् र यहाँका बासिन्दा त्यसको वरिपरि झुम्मिएर तिमी नै हौ वास्तविक मुक्तिदाता भनेर जयगान गर्छन् । आलोचनात्मक चेतको मात्रा समाजमा कम हुँदै जानुमा स्कुललाई उपेक्षामा राख्दाको सहउत्पादन हो ।
आज मधेशको समाज धेरै पछाडि परेको छ । यो समाजले आफ्ना कमजोरी मूल्यांकन गरेन र त्यसलाई सुधार गर्दै हिँड्न सकेन । यो भूखण्ड अनेकौं द्वन्द्वको अखाडामा रुमल्लिएको छ । प्रदेश सरकारले विगतमा आफैंले कोर्न खोजेका लकिर आफैं मेट्दै छ । छोरी शिक्षामा सहायक बनेको साइकल वितरणमा रोक लगाउनु यस्तै उदाहरण हो । खरिद प्रक्रिया, वितरण र अनुगमनमा पर्याप्त ध्यान दिनुको साटो यसलाई रोक नै लगाउनुको सोझो अर्थ साइकल आफैंमा परिवर्तनको माध्यम हो भनी सरकारका हर्ताकर्ताले बुझ्न नसक्नु हो ।
सामुदायिक विद्यालयमा राम्रो पढाइ भएन भनी अभिभावकले पेट काटेर पनि आफ्ना सन्तानलाई निजी विद्यालय पुर्याउँदै छन् । उनीहरू नै गुनासो पोख्छन्– ‘निजी विद्यालयले एक घाइते नेपालको निर्माण गर्दै छ ।’ यस्तोमा ज्ञानको स्वराज ‘स्वराज इन आइडियाज’ को परिकल्पना गर्न पनि गाह्रो छ । जुन समाजमा स्कुलभन्दा प्रार्थना गृहको संरक्षणलाई प्रश्रय दिइन्छ, त्यसैलाई राजनीति जोगिनुको सूत्र भनेर अथ्याईन्छ । जहाँ स्कुलको वार्षिकोत्सव वा अभिभावक दिवसमा जिम्मेवारीपूर्वक सहभागी हुनुभन्दा नयाँनयाँ जात्राहरूको कर्मकाण्डी
अनुष्ठानमा समाजको ठूलो हिस्सा रमाउँछ । जहाँ स्कुल जाने उमेर समूहकाहरूमा लागू पदार्थको प्रयोग बाक्लिन्छ । जहाँ नशालु पदार्थ खाने प्रेरणा यिनीहरूलाई कहाँबाट मिल्छ भनेर सार्वजनिक चिन्ता गरिँदैन । त्यो समाजको स्वस्थ भविष्य किमार्थ हुन सक्दैन । हिजो मधेशमा समुदायको सहयोग र सहजीकरणमा उन्नत देखिएको सार्वजनिक शिक्षा आज समुदायको निरीहताले बर्बाद भयो । भोजपुरीका कवि कबीर दासको पंक्ति छ– ‘साधो, देखो जग बौराना, साँची कहौ तो मारन धावै झूठे जग पतियाना ।’
