प्राज्ञिक साख मात्र होइन, भौतिक सम्पत्ति पनि गुमाउँदै त्रिवि

मंसिर २६, २०८१

सम्पादकीय

The university is losing not only its academic reputation, but also its material assets

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो शैक्षिक र प्राज्ञिक चरित्र त गुमाउँदै गएकै थियो, जग्गा पनि गुमाउँदै गएको रहेछ भन्ने खुलासा भएको छ । त्यो पनि सयौं रोपनी । सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले त्रिविको करिब २४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमण भएको तथ्य जुटाएको हो ।

यसबाट त्रिविको सम्पत्तिमाथि सरोकारवालाको कमजोर अपनत्वलाई प्रस्ट पार्छ । साथसाथै, जग्गा हिनामिना तथा अतिक्रमणको भयावह प्रवृत्तिलाई उजागर गर्छ । 

नेपालमा सार्वजनिक जग्गा अतिक्रमणका विवरण शृंखलाबद्ध सार्वजनिक भइरहेका छन् । त्यसै कारण ललिता निवास, गिरीबन्धु, बाल मन्दिर, बाँसबारी प्रकरण सतहमा आएका हुन् । त्यही कडीमा त्रिभुवन विश्वविद्यालय पनि जोडिएको छ । 

त्रिवि केन्द्रीय कार्यालय मातहत ३७ सय रोपनी जग्गा हुनुपर्ने दाबी गर्ने गरिएको थियो र त्यसमध्ये एक हजार रोपनी अतिक्रमणमा परेको बताइन्थ्यो । त्यही जग्गाबारे खोजी गर्न पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले गत जेठमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । एक हजार रोपनी जग्गा पदाधिकारीकै मिलेमतोमा अतिक्रमणमा परेको विवरण पहिल्यै सार्वजनिक भइसकेको छ । यसमध्ये नैकापमा १२५ रोपनी, विश्वविद्यालय परिसरमा ल्याबरोटरी स्कुलले १ सय ८ रोपनी, बीपी प्लानेटोरियमको कार्यालयले १ सय ५० रोपनी, काठमाडौं उपत्यका खानेपानी आयोजनाले २४ रोपनी, राधास्वामी सत्संग व्यासले १३ रोपनी, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले ३० रोपनी अतिक्रमण गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । उसले बल्खु क्षेत्रको करिब एक हजार रोपनी संकुचन भएको र राजदरबारबाट प्राप्त लुभुको ३७५ रोपनी र पुल्चोक आसपासको २१ रोपनी जग्गा पनि हिनामिना भएको निष्कर्ष निकालेको हो । मुआब्जा दिइएको झन्डै एक हजार रोपनी जग्गा पनि त्रिविको मातहत आउन छुटेको समितिको भनाइ छ ।

समितिले प्रतिवेदन गत साता शिक्षामन्त्री तथा त्रिवि सहकुलपति विद्या भट्टराईलाई बुझाएको हो । उनले प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गरिसकेको बताएकी छन् । नेपालमा संवेदनशील विषयसँग सम्बन्धित प्रतिवेदन खासै सार्वजनिक हुने गरेको छैन । यो प्रतिवेदन पनि प्रधानमन्त्रीले होइन, शिक्षामन्त्रीले बुझेकी छन् । यो संयोग वा बेवास्ता जे पनि हुन सक्छ । समितिका सदस्यले प्रधानमन्त्रीलाई पनि प्रतिवेदन बुझाउने बताएका छन् । प्रतिवेदन नै सार्वजनिक भएन भने कार्यान्वयन पनि हुन सक्दैन । अतः यतिबेला प्रतिवेदन छिटो सार्वजनिक होस् र त्यसका सिफारिसको कठोर कार्यान्वयन होस् भन्ने अपेक्षा राख्नु स्वाभाविक छ । सरकारले आर्थिक तथा बौद्धिक लगानी गरेको विषय र २४ सय रोपनी जग्गाको विषय भएकाले पनि यसको महत्त्वलाई बोध गर्दै प्रतिवेदन सार्वजनिक हुनुपर्छ । त्यसो हुन सक्दा यसबारेका सार्वजनिक विमर्शले प्राथमिकता पाउनेछ । जसले हिनामिना तथा अतिक्रमण गरिएका जग्गालाई पुनः त्रिविकै मातहत ल्याउन सघाउ पुर्‍याउनेछ ।

प्रतिवेदनसँगै केही पाटोबारे निर्क्योल हुनुपर्छ । पहिलो, अब त्रिविको जग्गा गैरशैक्षिक कामका लागि प्रयोग हुने स्थितिको अन्त्य हुनुपर्छ । त्यसका लागि त्रिविका जिम्मेवार पदाधिकारीदेखि सिनेटसम्म जिम्मेवार र चनाखो हुनुपर्छ । त्रिविको जग्गा उपयोगसम्बन्धी प्रस्ट नीति बन्नुपर्छ । अहिलेजस्तो केही पदाधिकारीले आफूखुसी निर्णय गरेर अपारदर्शी रूपमा विभिन्न प्रयोजनका लागि उपयोग गर्न दिने र अन्ततः हिनामिना वा अतिक्रमण हुने स्थिति निम्तिन दिनु हुँदैन । यसरी जग्गा उपयोग गर्न दिँदा केही पदाधिकारीबाट होइन, सिनेटबाट नै निर्णय गर्नुपर्छ । अर्को पक्षलाई उपयोग गर्न दिँदा शैक्षिक उद्देश्य स्थापित हुने निश्चित गर्नुपर्छ । त्यसबारेका सम्झौताका विवरण पारदर्शी हुनुपर्छ । त्रिविलगायत अन्य विश्वविद्यालयको जग्गाको उपयोग गर्ने सवालमा सरकारले पनि बलमिच्याइँ गर्ने गरेको छ । त्रिविको जग्गाबारे निर्णय गर्ने, संरक्षण गर्ने र जिम्मेवारी लिने काम त्रिविकै हुनुपर्छ । 

दोस्रो, हिनामिना तथा अतिक्रमण भएका जग्गाबारे थप खोजी हुनुपर्छ र त्यसलाई त्रिविकै मातहत ल्याइहाल्न आवश्यक छ । कम्तीमा त्रिविको जग्गाको क्षेत्रफल र सिमानाबारे प्रस्ट हुनुपर्छ । र, यो विषय टुंगो लगाउने अहिले उपयुक्त मौका आएको छ । किनकि प्रतिवेदनसँगै यो विषयले बहस ल्याउने निश्चित छ । यतिबेला नै यो विषय टुंगो लागेन भने भविष्यमा टुंगो लाग्ने आधार कम छ । तेस्रो, अहिलेसम्म अपारदर्शी ढंगले त्रिवि जग्गाको उपयोग गर्न दिने काममा संलग्न पदाधिकारीलाई कारबाही गर्नुपर्छ । यसले गलत नियतले काम गर्नेले सजाय पाउनेछन् भन्ने स्थापित हुनेछ । साथसाथै, अबका दिनमा निर्णय गर्दा जिम्मेवारीबोध र जवाफदेहिता ख्याल गर्ने परिपाटी निर्माण हुन्छ । किनकि, दोषीले उन्मुक्ति पाए भने त्रिविको जग्गा हिनामिना तथा अतिक्रमण हुने प्रवृत्ति दोहोरिन्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully