ट्रम्प विजयको अन्तर्य

मंसिर २५, २०८१

प्रमोद मिश्र

Inside the Trump victory

ट्रम्प विजयले विश्व राजनीति तरंगित छ । अमेरिकी मूलधारका कन्जरभेटिभ विचारक र कतिपय संस्थापनपक्षीय रिपब्लिकन नेताहरू पनि खुसी छैनन् । उदारवादी डेमोक्र्याटहरू ट्रम्पद्वारा कमला ह्यारिसको हारपछि त छटपटिने नै भए । एउटा व्यक्ति जसको बोलीमाथि कुनै लगाम छैन ।

जो आफ्ना भनाइ र गराइ दुवैले नारीद्वेषी प्रमाणित भइसकेको छ । अनेकन महिलाले जसमाथि यौन दुराचारको आरोप लगाएका छन् र अदालतद्वारा त्यस सम्बन्धमा करोडौं डलरको जरिवाना सजाय पनि पाइसकेको छ । जो फौजदारी मुद्दामा जुरीद्वारा दोषी ठहर भयो । २४० वर्षे विश्वकै सबैभन्दा पुरानो लोकतन्त्रमा निर्बाध हुँदै आएको शान्तिपूर्ण सत्ता हस्तान्तरणको परम्परा र इतिहासलाई जसले आफ्ना हिंसात्मक नश्लवादी समर्थकलाई उचालेर व्यवस्थापिका कंग्रेसमाथि आक्रमण गराई तोडफोड गरायो, आफ्नो सत्ता निरन्तरताका लागि । यसबापत ऊमाथि कैयन मुद्दा चलिरहेकै थिए । त्यस्तो व्यक्तिलाई महान् अमेरिकी जनताले २०१६ को जस्तो ‘कलेजियट’ भोटबाट मात्र नभई जनताको बहुल (पपुलर) मतसमेत दिई दोस्रो पटक पनि कसरी विजय गराए ?

२००८ मा मलाई दक्षिण अफ्रिकामा विटवाटरसर्यान्ड विश्वविद्यालयका एक उच्च अधिकारी र नेपालका एक विद्वान् मित्रले काठमाडौंमा उस्तै आशंका सुनाएका सम्झिन्छु । भनेका थिए, ‘ओबामालाई कहाँ राष्ट्रपति हुन दिन्छन् ?’ त्यही अमेरिकी जनता जसले दुई–दुईचोटि बाराक हुसेन ओबामा जस्तो आमअमेरिकी समाजका लागि अनौठो नाम भएको, अमेरिकामा जन्मे पनि केनियन नागरिक पिताको सन्तानलाई दुई–दुई पटक जिताए । तर त्यही अमेरिकी मतदाताले ट्रम्प जस्तो चारित्रिक हिसाबले कुपात्र र आफ्नै नागरिकहरूले बनेको जुरीद्वारा ३४/३४ मामिलामा दोषी ठहराइसकेकालाई दुई–दुई पटक जिताए । त्यति मात्र होइन, हिलारी क्लिन्टन र कमला ह्यारिस जस्ता सक्षम महिलालाई पालैपालो हराए पनि ।

अमेरिकाको यस्तो विरोधाभासलाई दुनियाँले कसरी बुझ्ने ? ट्रम्पको विजयले अमेरिकी जनता र अमेरिकाबारे नै अन्योल खडा भएको छ ।

ट्रम्पको जित र कमला ह्यारिसको हारलाई ट्रम्पवादी रिपब्लिकनहरू र डेमोक््रयाटहरूले आ–आफ्नै किसिमले व्याख्या गर्दै छन् । तर यी दुवै खेमाका व्यक्ति र स्वतन्त्र टिप्पणीकारहरू चारवटा ‘इ’ मा सहमत छन् । ती हुन्— इन्फ्लेसन (मुद्रास्फीति र महँगी), इमिग्रेसन (आप्रवासन), आइडेन्टिटी पोलिटिक्स (पहिचानको राजनीति) र इन्टरनेसनल वार (अन्तर्राष्ट्रिय युद्ध ः इजरायल–गाजा र युक्रेन–रसिया युद्ध) ।

हो पनि । अमेरिकी अर्थतन्त्र र न्युयोर्क सेयर बजारले राम्रो गरिराखेको भए पनि आममानिसलाई महँगीले पिरोलेको थियो । आप्रवासनको अराजकता मेक्सिकोसँगको सीमामा देखियो । हूलका हूल मानिसहरू विश्वका अनेकौं मुलुकबाट ओइरिए र बाइडनले छिर्न दिए । बोर्डर हेर्ने दायित्व बोके पनि ह्यारिसले केही गरिनन् । ट्रम्पवादी दक्षिणपन्थीहरू अरू मुलुकका दक्षिणपन्थी जस्तै यहाँ पनि ‘अमेरिका डुब्यो, मुलुक विश्वका अपराधीहरूले भरियो, हाम्रो पहिचान र संस्कृति गुम्यो, अमेरिकालाई डेमोक््रयाटहरूले सिध्याउने भए’ भनेर फक्स टीभीसँगै भ्लग र सामाजिक सञ्जालहरूमा फुक्न थाले ।

अमेरिका आप्रवासीहरूको मुलुक भए पनि १९६५ सम्म यहाँ युरोपेली मूलका मानिसलाई मात्र बसाइँ सर्न खुला थियो । राष्ट्रपति लिन्डन बी जोन्सनले १९६५ मा नागरिक अधिकारका कानुन कंग्रेसबाट पास गराएर एकातिर अफ्रिकी मूलका दासका सन्ततिलाई मताधिकारसहितको नागरिक अधिकार (सिभिल राइट्स) पुनःस्थापित गरे भने अर्कोतर्फ आप्रवासी कानुन ल्याएर दक्षता र पारिवारिक मिलनलाई आधार बनाई युरोपबाहेकका देशबाट पनि आप्रवासन खुला गराए । यसैको परिणाम हो, अमेरिकामा दास बनाएर ल्याइएकाका सन्तति, यहाँका आदिवासी नेटिभ अमेरिकन र १८४८ को मेक्सिकोसँगको सन्धिद्वारा गाभिएका पश्चिमी राज्यका केही हिस्पानिक मूलका मानिसबाहेकका युरोपइतरका व्यक्तिहरूको पनि आगमन हुन थाल्यो । जनगणनामा अहिले लगभग सत्तरी प्रतिशत अमेरिकी श्वेत गनिएका छन्, बाँकी अश्वेत । २०५० हाराहारीमा श्वेत अर्थात् युरोपेली मूलका मानिसभन्दा अरूको संख्या बढी हुने अनुमान गरिएको छ । जसको अदृश्य प्रभाव परिराखेको जस्तो भान हुन्छ । यसैलाई ट्रम्पवादीहरूले मलजल गरिराखेका छन् ।

त्यस्तै गत एक वर्षदेखि युक्रेन–रसिया र इजरायल–हमास युद्धले पनि अमेरिकी समाज प्रभावित रह्यो । एकातिर युक्रेन–रसिया युद्धले बिलियन/बिलियन डलर पैसा र हातहतियार तान्यो भने इजरायल–हमास युद्धले अमेरिकी समाज, खासगरी यहाँका मुसलमान र कलेजका विद्यार्थी आन्दोलित भए । बाइडन–ह्यारिस युद्धका पक्षमा उभिएका थिए भने ट्रम्प विरोधमा । ती युवा र यहाँका मुसलमानले पनि ह्यारिसलाई भोट हालेनन् । तर, ट्रम्पको विजयलाई यी बाह्य कारणमा मात्रै सीमित राख्दा यसको समष्टिगत बुझाइ अधुरो नै रहन्छ । त्यसका लागि अमेरिकी समाजको इतिहासजनित सांस्कृतिक र मनोवैज्ञानिक जटिलतालाई केलाएर हेर्नुपर्ने हुन्छ ।

ट्रम्पको उदय श्वेत वर्चस्ववादी र पुरुषवादी धनाढ्य मसीहाका रूपमा भएको हो । तर त्यति मात्र होइन । ट्रम्प टीभीको ‘रियालिटी शो’ बाट राजनीतिमा उदाएका पात्र हुन् । रोनाल्ड रेगन हलिउड अभिनेताका रूपमा पचास वर्षअघि राजनीतिको पर्दामा उदाएका थिए भने ट्रम्प टेलिभिजनको पपुलर कल्चरबाट । जसमा उनको धनकुवेर (बिलियनेर) को तडकभडक छवि पनि गाँसिएको थियो । अमेरिकामा एकथरी बिलियनेर वारेन बफेट जस्ता छन् (जो तडकभडकबाट अलग रही सम्पत्ति कमाउँछन् र त्यो सम्पत्ति जनकल्याणका लागि खपत गर्छन् ) । ट्रम्प त्यसको विपरीत ध्रुवमा पर्छन् । सुनको कमोड, सुनको बेसिन, फेसन मोडेल र सिनेमा हिरोइनसँग बिहे, बेसोमतको डाङडुङ बोली, चुर्तीफुर्ती, फाइँफुट्टी । यस्तो स्वभाव उनको जुवा खेलाउने क्यासिनो र पाँचतारे संस्कृति र घरजग्गा खरिद बिक्री दलाली (डिल) सँग पनि गाँसिएको छ ।

श्वेत वर्चस्ववादी ट्रम्प

२०१६ मा ट्रम्पले पहिलोचोटि कलेजियट भोटले राष्ट्रपतिको चुनाव जित्दा अमेरिकाका चरम दक्षिणपन्थीहरू सलबलाएर उठेका थिए । तीमध्ये श्वेत नश्लवादीका विभिन्न समूहहरूले त भर्जिनिया राज्यको सार्लोटभिलमा ‘यहुदीले हामीलाई विस्थापित गर्दैन’ नाराका साथ राँके जुलुस नै निकालेका थिए । त्यहाँको भिडन्तमा एक नश्लवादविरोधी श्वेत महिलाको मृत्यु पनि भयो । राष्ट्रपति ट्रम्पले ‘दुवैतर्फ राम्रा मानिस नै थिए’ भनेर वक्तव्य दिए । भर्त्सना गरेनन् । तर त्यस वक्तव्यभन्दा दशकौंअघि सन् १९७३ मा ट्रम्पको कम्पनीमाथि संघीय सरकारले हाउजिङ (घर भाडा लगाउने प्रक्रिया) मा रंगभेद गरेको भनेर मुद्दा नै चलाएको थियो । यसको अर्थ के हो भने, डोनाल्ड ट्रम्पलाई अमेरिकाका श्वेत वर्चस्ववादीहरूले आफ्नो उद्धारकर्ता मानेका छन् ।

बाहिरी रूपमा खुल्लमखुला नश्लीय कुरा नगरे पनि राष्ट्रियताको नाममा, राष्ट्रिय संस्कृति जोगाउने नाममा यिनले अर्धविकसित मुलुकका व्यक्तिलाई निम्छरो भाषा प्रयोग गरेर वा श्वेत वर्चस्ववादी सांकेतिक भाषाद्वारा श्वेत वर्चस्ववादीहरूलाई हौस्याएका छन् । यसले कतिपय श्वेत समुदायमा साधारणतया सुषुप्त अवस्थामा रहने नश्लवाद जगाउने काम गरेको छ । १९३४ अघिपछि हिटलरको आगमन हुँदा पनि आमजर्मन यसैगरी हिटलरको राष्ट्रिय समाजवादी पार्टीको पछि लागेका थिए, यहुदी र रोमाविरुद्ध । अमेरिकामा पनि श्वेत वर्चस्ववादी समूहहरू ट्रम्पको विजयबाट खुब हौसिएका छन् । तर यस पटक भने हिस्पानिक, काला र एसियन जनसमुदायका बहुसंख्यक पुरुषहरूले समेत ट्रम्पलाई मत हालेका छन् । यहीँनेर ट्रम्प विजयको गुत्थी अझ पेचिलो हुन पुगेको छ ।

पुरुषवादी ट्रम्प

ट्रम्पको कथनी र करनी दुवैमा पुरुषवाद झल्किन्छ । यौन हिंसाका मामिलामा त उनीमाथि अनेकन आरोप लागेकै थियो, पहिलो पटककै चुनाव अघिपछि । उनीमाथि मुद्दा पनि चलेको थियो । जरिवाना पनि तिर्ने सजाय पाएका थिए । महिलाबारे स्त्रीद्वेषी पुरुषले गर्ने फोहोरी कुरा त यिनको पहिलोचोटिको चुनावअगावै सार्वजनिक भइसकेको थियो । तर पिँडालुको पातमा पानी नअडिए जस्तै उनीमाथिको सबै आरोप जनताका नजरमा चिप्लिएर गए । यिनले चुनाव जिते । यहाँसम्म कि अधिकांश श्वेत महिलाले पनि उनलाई नै मतदान गरे, दुवै चुनावमा । महिलामा पनि नारीत्वभन्दा पनि जातीय र स्वनश्लीय (अल्फा मेल) पुरुषत्वप्रति निकै आकर्षण हुँदो रहेछ भन्ने यसबाट देखिन्छ । तर यसपालि हिस्पानिक, काला र एसियन पुरुषहरूको बहुतायतले पनि ट्रम्पलाई नै मतदान गरे । कमला ह्यारिस नेतृत्वको डेमोक््रयाटको चुनावी प्लेटफर्मले ‘मेरो शरीर, मेरो छनोट’ नाराका साथ यौन र गर्भपतनमाथि नारी स्वतन्त्रता अँगालेको थियो । ‘तिम्रो शरीर, मेरो हक’ भन्ने पितृसत्तामा शताब्दीयौंदेखि पोषित पालित श्वेत, अश्वेत दुवैथरी पुरुषलाई ‘मीटू’ आन्दोलनले अ‌ंकुश लगाएको थियो । तिनले पनि ट्रम्पको पुरुषवादलाई नै आफ्नो हिस्पानिक, एसियाली, अफ्रिकी राहतकर्ता मानेर भोट दिए । अश्वेत पुरुषहरूमा नश्लभन्दा पुरुषवाद बढी आकर्षक देखियो ।

उता कमला ह्यारिस स्त्री मात्र नभई आमाबाबु दुवैतर्फ आप्रवासीका सन्तान ठहरिन्— बाबु अफ्रिकी मूलका जमैकन र आमा दक्षिण भारतीय मूलकी आप्रवासी । कमसे कम बाराक ओबामाको त आमा मध्यअमेरिकाकी श्वेत रैथाने थिइन् । ओबामा श्वेतहरूका नाति, भान्जा थिए । ह्यारिस त भुइँफुट्टी, न पुरुष, न श्वेत । यसले पनि निकै मत कटायो ।

सांस्कृतिक ट्रम्प

तर यी सबैभन्दा पनि सांस्कृतिक कुरा महत्त्वपूर्ण लाग्छ । अमेरिका स्वतन्त्रताको जगमा आधारित स्वतन्त्रहरूको मुलुक हो । स्वतन्त्रताको सबल पक्ष मुक्ति र सिर्जना हुन्छ । अहिलेसम्म अमेरिकी राष्ट्रपति गहकिलो व्यक्तित्वका, बाइबल, पश्चिमी सभ्यता (ग्रेकोरोमन, जुडियोक्रिश्चन) को गहिरा विशेषता बोकेका हुन्थे । रेगन हलिउड पृष्ठभूमिका भए पनि तिनको भाषामा यहाँका संस्थापक प्युरिटनहरूको गहकिलो छाप हुन्थ्यो । लिंकन ‘लग क्यबिन’ (काठको टहरो) मा जन्मे र विद्यालय नपढे पनि, अर्काको खेतमा जनमजदुरी गरी हुर्के पनि स्वाध्यायनले तिनको भाषा, व्यक्तित्व र शब्द चयन बाइबल र गहन साहित्यप्रेरित हुन्थ्यो । तर ट्रम्पको भाषा नै बेसोमत खालको छ । 

स्वतन्त्रताको अर्को पक्ष स्वच्छन्दता पनि हुन्छ । ट्रम्प यसका प्रतीक हुन् । किनभने ट्रम्प तडकभडकवाला धनकुवेर हुन्, जो जुवातासको व्यापार गर्छन् र आफू पनि पेसेवर अति आक्रामक कुस्ती (अल्टिमेट फाइटिङ) र मुक्केबाजी जस्ता खेलमा रमाउँछन् । रक्सी, जुवातास (क्यासिनो), स्त्री नांगिने (स्ट्रिप) क्लब, यौन भिडियो (पोर्नोग्राफी) र यौन सामग्री खरिदबिक्री, अनि यौनसम्बन्धी झल्ला टीभी शोमा घरपरिवारका यौनसम्बन्धी निजी कुरा सार्वजनिक गरेर रेटिङ बढाई पैसा कमाउने जुन सतहमुनिको संस्कृति अमेरिकामा रहिआएको छ, त्यसले कहिल्यै पनि खुलेआम ह्वाइटहाउस पस्ने जमर्को गरेको थिएन । जोन अफ केनेडीको मर्लिन मुनरोसँगको गाइँगुइँ सम्बन्ध रोमान्टिक, रहस्यमय र ग्लेमरस कथाका रूपमा रह्यो । बिल क्लिन्टनको मोनिका लिविन्स्कीसँगको यौनकाण्ड रिपब्लिकनहरूको पवित्रतावादमा अभियुक्त भएर बस्यो । तर ट्रम्पको विजयमा यस संस्कृतिको झल्ला (भल्गर) रूपले खुल्लमखुला मूलधारको राजनीतिक अभिव्यक्ति पाएको छ । किनभने मन, बचन अनि कर्मले ट्रम्प यस संस्कृतिका प्रतिनिधि पात्र हुन् ।

यिनको कर्मचारी र क्याबिनेट छनोटमा पनि हालसम्म यौनकाण्ड नै मिडियाको प्रमुख समाचार बनेको छ । उनको क्याबिनेट छनोटले अमेरिकी संस्थाहरूलाई कतिको क्षति पुग्छ भन्ने सोचेर मानिस चिन्तित छन् । तर यसो भनिरहँदा हामीले के पनि बिर्सिनु हुँदैन भने अमेरिकी जनतालाई (संविधानको प्रस्तावनामा भने जस्तै ‘वी द पिपुल’) संविधानले स्वतन्त्रताको हक दिएको छ । त्यस स्वतन्त्रताको अमेरिकी जनताले समय, काल नेतृत्व र परिस्थितिअनुसार कहिले राम्रो काममा लगाएका छन्, कहिले नराम्रो काममा । अमेरिकाका संस्थापक पिताहरू (फाउन्डिङ फादर्स) ले स्वदेशी, विदेशी विश्व आदर्शलाई पछ्याएर संविधान बनाए, लिंकनले ज्यान उत्सर्ग गरेर, गृहयुद्ध जितेर दासहरूलाई मुक्त गरे र अधिकार दिलाउने व्यवस्था गरे । लिन्डन जोन्सनले कालाहरूको नागरिक अधिकार पुनःस्थापित गरे र आप्रवासन खुला गरे । ट्रम्प विश्व आदर्श होइन, रिस, राग, घृणा, पूर्वाग्रह, संकीर्णता, द्वेष र बदलाको भावनालाई आत्मसात् गरी दोस्रो पटक राष्ट्रपति बनेका छन् । उनको क्याबिनेट र कर्मचारी छनोट पनि यहीअनुरूप देखिन्छ ।

तर हामीले के पनि स्मरण गर्नुपर्छ भने, झन्डै पचास प्रतिशत अमेरिकी जनताले ट्रम्पको विरोधमा भोट हालेका छन् । तिनीहरूको आदर्श र विमति के हुन्छ, त्यो पनि हेर्ने विषय नै हुनेछ, आगामी चार वर्षमा । अमेरिका पूरै बिग्रिसकेको छैन । अमेरिकाको आफ्ना आदर्शहरूमा मक्ख पर्ने बानीलाई ट्रम्पले चुनौती दिएर आत्मनिरीक्षण गर्न बाध्य पारे भने त्यो पनि उपलब्धि नै हुनेछ । 

प्रमोद अमेरिकाको ड्युक विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा विद्यावारिधि गरेका प्रमोद मिश्र करिब ३ दशकदेखि अमेरिकामा प्राध्यापनरत छन् ।

Link copied successfully