‘ट्रम्प खराब व्यापारी, तर चलाख सेल्सम्यान हुन्’ भन्ने कुरा २०१६ को अप्रत्याशित विजय र २०२० को पराजयबाट सिकेको पाठले पुष्टि गर्दछ । चिनियाँ र मेक्सिकन उद्योग फिर्ता, मुस्लिमहरू आतंककारी, आप्रवासी हाम्रा दुस्मन हुन् भन्ने उनको कथनले अमेरिकी मतदातालाई आकर्षित गर्यो ।
यस पटक उनले आफूलाई कामदार वर्ग र ‘ब्लु कलर’ पेसाबाट आएको भनेनन्, तर उनीहरूको प्रतिनिधित्व गर्ने विश्वास दिलाए । ट्रम्प निर्वाचित भएपछि ‘प्रथम साथी’ मस्कलगायतसँगै निजी विमानमा सयर गर्दा म्याकडोनाल्ड डिनरको फोटो ट्वीट गरे । यसको अर्थ हामी निकै माथिल्लो वर्गका अवश्य हौं, तर हामीलाई तिमीहरूकै खानेकुरा मन पर्छ भन्ने सन्देश प्रवाहित गर्नु हो । यही अमेरिकी भावनालाई ट्रम्प–मस्कले सुन्दर ढंगले अवशोषित गर्न सफल भए । अमेरिकी जनताले कसलाई निर्वाचित गरे ? रिपब्लिकन उम्मेदवारहरूमा दुई जनाको नाम थियो– डोनाल्ड ट्रम्प र जेडी भ्यान्स । तर उनीहरूको सामूहिक भविष्यको जिम्मा अर्कै एक ‘स्टार’ एलन मस्कले लिइरहेका थिए ।
२०१७ मा, मस्कले ट्रम्पलाई ठग र विश्वकै उत्कृष्ट झूटो बोल्ने व्यक्तिहरूमध्ये एक भनेका थिए । तर अहिले उनलाई मार–अ–लागोमा (ट्रम्प टावरमा) ‘अंकल एलन’ भनेर चिनिने मात्र होइन, भावी ट्रम्प प्रशासनका रणनीतिक नियुक्तिका लागि उनी नै मुख्य इन्जिनियरको भूमिकामा छन् । विश्वका अग्रणी राजनीतिज्ञ र सबैभन्दा धनी व्यक्तिको यो गठबन्धनले शक्ति केन्द्रित गर्दै, विस्फोटक प्रभावका लागि मतादेशको प्रयोग गर्ने प्रतिज्ञा गरेको छ । प्रशासनिक अराजकतालाई अन्त्य गर्न, उदारवादी मान्यताहरूलाई ध्वस्त पार्न र आर्थिक वृद्धिको नाममा नीति नियमनलाई हटाएर स्वेच्छाचारी शासन गर्ने बाटोमा अघि बढेका छन् ।
ट्रम्पसँग यस्तो परिवर्तन गर्ने जनादेश त छ । अमेरिका आर्थिक रूपमा शक्तिशाली भए पनि, मेन स्ट्रिट, वाल स्ट्रिट र सिलिकन भ्यालीका धेरै मानिसहरू सरकारी खर्च र अयोग्यताका कारण निराश छन् । उनीहरूको गुनासो सही छ । राज्यलाई सुधार गर्न आवश्यक छ । तर मस्कको नेतृत्वमा गरिने सुधारले अमेरिकालाई थप विवादित र नयाँ समस्या सिर्जना गर्नर् ेबाटोमा धकेल्छ, एउटा खतरनाक र भ्रष्ट ओलिगार्कीको उदयमार्फत । प्राचीन ग्रिक भाषामा ‘ओलिगार्खिया’ को अर्थ ‘थोरै व्यक्तिहरूको शासन’ हो । यसको प्रारम्भिक आलोचक एरिस्टोटल थिए । चौथो शताब्दी ईशापूर्वमा यी दार्शनिकले गरेको व्याख्या नै सर्वस्वीकृत धारणाका रूपमा स्थापित छ, ‘मुठ्ठीभर सम्पन्न व्यक्तिहरूको हातमा शासन सुम्पनु ।’ आधुनिक समयमा यसको सबैभन्दा ज्वलन्त उदाहरण सन् १९९० को दशकमा रुसमा देखिएको थियो । रुसी समाज अराजक ढंगमा पुँजीवादतर्फको संक्रमण गर्ने क्रममा केही चतुर व्यापारीले राष्ट्रिय अर्थतन्त्रलाई लुट्न सफल भए । रुसी शब्दमा यस प्रकारको ओलिगार्कीलाई ‘सेमिबैंकिर्शचिना’ अर्थात् सात बैंकका मालिकहरूको शासन भनिन्छ ।
त्यसमध्येका सबभन्दा शक्तिशाली, बोरिस बेरेजोभ्स्कीले आफ्नो मिडिया नेटवर्कहरूको प्रयोग गरेर सन् २००० मा पुटिनलाई पहिलो पटक चुनाव जित्न सघाएका थिए । उनले सायद एलन मस्कले जस्तै नयाँ राष्ट्रपतिले सत्ताको लाभ बाँड्ने अपेक्षा गरेका थिए । तर ती दुईबीच झगडाले वैश्विक धन र राजनीतिबीचको उदाहरणीय झगडाको रूप लियो । धेरै ढिलो नगरीकन पुटिन प्रशासनले बेरेजोभ्स्कीको टेलिभिजन च्यानल कब्जा गर्यो । उनलाई निर्वासनमा पठाइदियो । विक्षिप्त र एक्लो जीवन बिताइरहेका बेरेजोभ्स्कीको २०१३ मा इंग्ल्यान्डको एउटा गाउँमा रहेको घरमा मृत्यु भइसकेको छ । विडम्बना अहिलेसम्म पनि बेरेजोभ्स्कीको टीभी च्यानलले क्रेमलिनको सन्देश प्रसारण गरिरहेको छ । अर्कोतिर पुटिन भने एलन मस्ककै ‘प्रथम साथी’ लाई मात्र होइन, दुनियाँकै सबैखाले शासकहरूलाई दम्काउने हैसियत बरकरार गरिरहेका छन् ।
बेरेजोभ्स्कीका नजिकका सहयोगी एलेक्स गोल्डफार्ब अहिले अमेरिकाको न्यु जर्सीमा बस्छन् । उनले मस्क र ट्रम्पको जोडीलाई चिन्ता र पुरानै परिचिततासहित हेरिरहेको प्रतिक्रिया जनाएको टाइम म्यागजिनले रोचक तरिकाले उद्धृत गरेको छ । ‘यहाँ पनि ओलिगार्की बन्ने सम्भावना देखिन्छ’, गोल्डफार्बले भनेका छन्, ‘पुटिनको प्रारम्भिक शासनकालमा, हाम्रा ओलिगार्कीहरूले राज्यविरुद्ध डरलाग्दो संघर्ष गरेका थिए । यहाँ त मस्क र ट्रम्प दुई ओलिगार्कीहरू मिलेर राज्य कब्जा गर्न लागेका जस्तो देखिन्छ ।’
अमेरिकी पत्रकारिताको इतिहासमा न्युजम्याग्नेटले पुकारिने विलियम रान्डोल्फ हर्स्टको युगयता, कुनै पनि निजी व्यक्तिले अमेरिकी जीवनका यति धेरै पक्षहरूमा एकसाथ यति ठूलो प्रभाव पारेको थिएन । झन्डै एक शताब्दीअघि हर्स्टले फ्रांकलिन डी. रुजबेल्टको उदयलाई सहज बनाएका थिए । अहिले एलन मस्कले देशको संस्कृति, सञ्चारमाध्यम, अर्थतन्त्र र राजनीतिलाई समेत निजी इच्छाको शक्तिमा बदलेका छन् ।
यद्यपि १९ औं शताब्दीमा जोन डी. रकफेलरजस्ता ‘रबर व्यारोन’ हरूले अर्थतन्त्रमा प्रभुत्व जमाएका थिए । २० औं शताब्दीको सुरुवातमा फेडरल बजेट रिजर्भ नभएका बेला जोन पियरपोन्ट मोर्गन एकल केन्द्रीय बैंकको भूमिकामा उदाएका थिए । तर मस्कका कम्पनीहरू १९ औं र २० औं शताब्दीका ठूला एकाधिकारहरूभन्दा कैयौं गुना विश्वव्यापी छन्, तर नाफालाई जीडीपीसँग तुलना गर्दा भने धेरै साना छन् ।
अहिलेसम्म ट्रम्प मस्कको योजनामा खुसीसाथ सामेल छन् । नोभेम्बर ६ को आफ्नो विजय भाषणको क्रममा उनले चार मिनेट लगाएर ‘सुपर जिनियस’ भन्दै मस्कको प्रशंसा गरे । विभिन्न मिडिया रिपोर्टअनुसार, मस्कले १ करोड १० लाख ढोकाहरूमा क्यानभासरहरूलाई पठाउन र अमिश समुदायका मानिसहरूलाई मतदान केन्द्रमा ल्याउन भ्यानहरूको व्यवस्था गरेका थिए । ‘हामीसँग नयाँ तारा छ’, ट्रम्पले फ्लोरिडामा स्टेजबाट घोषणा गर्दै भनेका थिए, ‘एक तारा जन्मियो—एलन !’ आफ्ना समर्थकहरूलाई धन्यवाद दिन पुनः टेलिप्रम्प्टरतर्फ फर्कन ट्रम्पले भाषणको १९ औं मिनेटसम्म पर्खनुपर्यो । (टाइम, नोभेम्बर २१, २०२४)
चुनावी अभियानमा ट्रम्पले आफ्ना समर्थकहरूलाई भ्रष्ट संस्थाहरू ध्वस्त पार्ने वाचा गरेर उत्साहित बनाउँथे भने, मस्कले नयाँ कुरा निर्माण गर्ने र कठिन समस्याहरू समाधान गर्ने आशा देखाउँथे । जब दुनियाँकै सबैभन्दा धनी व्यक्तिले साहसिक योजनाहरूमा सफलता हासिल गरेका छन् भने उनले नै ४२ ट्रिलियनको सरकारी खर्च कटौतीको वाचा गर्दा ट्रम्प विरोधीहरूले उनको समूहलाई अज्ञानीहरूको जमातका भन्दै भण्डाफोर गर्न सकेनन् ।
डेमोक्र्याटहरूले बारम्बार ट्रम्पको सम्पत्तिको विरासत, पटकपटक दिवालियापन भएको र दशकौंसम्मको व्यापारिक झमेलाका बारेमा आलोचना गरे । तर मस्कको व्यावसायिक सफलताको अस्वाभाविकतालाई छुन चाहेनन् । यतिसम्म कि, अर्बपतिहरूका कट्टर आलोचक बर्नी स्यान्डर्सले समेत मस्कको आलोचना होइन, प्रशंसा गरे, ‘एलन मस्क एकदम आक्रामक र सक्षम व्यवसायी हुन् ।’ मस्कले त चुनौतीका भाषामा भन्दै आएका छन्, ‘मैले एक हप्तामा जति गर्न सक्छु, सरकारलाई पाँच वर्ष लाग्छ । सरकारप्रतिको विश्वासमा ह्रास आएको समयमा, धेरै मतदाताहरूले देख्न चाहेको यस्तै कुरा थियो । एक सक्षम बाहिरिया, कठोर र स्वतन्त्र, जसलाई भीमकाय सरकारी संयन्त्रलाई सानो, चुस्त र प्रभावकारी बनाउने तरिका थाहा होस् । (न्युजविक, नोभेम्बर १८, २०२४)
रिपब्लिकनका निर्वाचित सांसदहरूको भेलामा ट्रम्पलाई क्यापिटल हिलको गोप्य सत्रमा बोलाइएको थियो, मस्क पनि सँगै गए । ट्रम्पको मोटरकेडमा रहेको मस्कको गाडीको सिसामा ‘गेस्ट नम्बर १’ टाँसिएको थियो । त्यस दिनसम्म ट्रम्पले मस्कलाई नयाँ निकायको नेतृत्वका लागि नियुक्त गरिसकेका थिए । जसको नाम राखिएको छ ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डोज) । यसको काम गम्भीर छ । ट्रम्पले संघीय प्रशासनलाई विघटन गर्ने र यसका निकायहरूको पुनःसंरचना गर्ने जिम्मेवारी ‘डोज’ लाई दिएका छन् । मस्क भन्छन्, ‘उनीहरूको कामले प्रणालीभरि कम्पन उठाउनेछ ।’ वाल स्ट्रिट जर्नलमा मस्क र उनका सहनिर्देशक विवेक रामास्वामीले आफूहरूले गर्न लागेका कामबारे संयुक्त आलेखमा भनेका छन्, ‘सर्वोच्च अदालतको मार्गदर्शनका आधारमा, हामी दशकौं पुरानो कार्यकारी शक्ति हस्तक्षेपलाई उल्ट्याउनेछौं ।’ (नोभेम्बर २०, २०२४)
सर्वोच्च अदालतका ९ जना न्यायाधीशमध्ये ६ जना कन्जरभेटिभहरूको शक्तिका आधारमा उनीहरूले चाहेका सबै नियम कानुन व्याख्या गराउने ट्रम्प–मस्क ओलिगार्कीको योजना रहेको उनीहरूले खुलेआम भनिरहेका छन् । सर्वोच्चको फैसला र व्याख्या संविधानसरह हुने अमेरिकी राजनीतिक सिद्धान्त नै हो । ‘हाम्रो लोकतन्त्र हाल केवल एउटा धागोमा झुन्डिएको छ र ट्रम्पको सत्तावादी प्रवृत्तिलाई रोक्न परम्परागत नियन्त्रण र सन्तुलन प्रणालीमा निर्भर गर्न सकिँदैन । उनले सर्वोच्च अदालतलाई आफ्नो प्रभावमा राखेका छन्, जसले उनलाई राष्ट्रपतिको कृत्यलाई प्रतिरक्षा उपहार दिएको छ । र, दुवै सदन र सिनेटमा अहिले रिपब्लिकनहरूको नियन्त्रण रहेकाले, विधायी निकायबाट कुनै प्रकारको रोकथामको आशा गर्न सकिँदैन ।’ (ब्रेव्टन डाराः न्युजविक, नोभेम्बर २०, २०२४) । मस्कले पहिले नै विदेशी नेताहरूसँग सम्पर्क राख्न थालेका छन् र मन्त्रिपरिषद्का नियुक्तिहरूका लागि दबाब दिइरहेका छन् ।
एलन मस्कको प्रवृत्ति परम्परागत ढाँचालाई ध्वस्त पार्ने व्यक्तिका रूपमा स्थापित छ । एकाधिकार कायम गरेर मूल्य बढाउने परिवर्तनशीलता मस्कको मिसनरी विचारधाराको केन्द्रबिन्दु हो । नवीनताले मानवताका जटिल चुनौतीहरू समाधान गर्छ भन्दै जलवायु परिवर्तनदेखि मंगल ग्रह उपनिवेशीकरणसम्म उनको महत्त्वाकांक्षी परियोजनाको उडान जारी छ ।
चुनावी अभियानका क्रममा मस्कको सबैभन्दा प्रभावशाली प्रदर्शन टेक्सासको बोका–चिका लन्च प्याडमा प्रस्फुटन भएको हो । त्यहाँ मस्कको एरोस्पेस कम्पनीले एक रकेटलाई रोबोटिक हातले समातेर विश्वलाई चकित पारेको थियो । यदि यस्तो चमत्कार गर्न सक्ने व्यक्तिले ट्रम्पलाई उस्तै जोसका साथ समर्थन गर्छन् भने, धेरै मतदाताले सोचेको हुनुपर्छ– हामी किन पछि नलाग्ने ? विशेषगरी उनका अनुयायी युवा पुरुषहरूलाई मस्कले आफ्नो दुस्साहसीपनले ट्रम्पका पक्षमा आकर्षित गर्न सफल भएका थिए । ‘सबैभन्दा ठूलो कुरा यहाँ पुरुषहरूले मतदान गर्न आवश्यक छ’, मस्कले चुनावको अघिल्लो रात जो रोगनसँगको पडकास्ट शोमा अपिल गरेका थिए । त्यसको भोलिपल्ट, ६० प्रतिशत गोरा पुरुषहरूले ट्रम्पको पक्षमा मतदान गरेपछि मस्कले ट्वीट गरे– ‘अलंकार आएको छ ।’
मस्कको स्वतन्त्रताको चाहनाले, अर्थोडक्स भनिने परम्परागत मान्यताहरूप्रतिको उनको तिरस्कारलाई देखाउँछ । उनले ‘अवोक कन्फर्मिजम्’ अर्थात् चेतनशील सामूहिकतावादप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै आएका छन् । अमेरिकी सरकारको अन्तरिक्ष प्रक्षेपण बजारलाई रक्षा कम्पनीहरूले नियन्त्रण गर्न दिइएदेखि यता टेस्लाका कारखानाहरूलाई नियमन गर्ने क्यालिफोर्नियाका अधिकारीहरूसम्म मस्कका विचारमा त्यसखाले सरकार विकासको बाधक हो ।
‘डोज’ ले वार्षिक संघीय बजेट ७ ट्रिलियनबाट २ ट्रिलियन डलर कटौती गर्ने र धेरै एजेन्सीहरूलाई खारेज गर्न लक्ष्य राखेको छ । अमेरिका ६ प्रतिशत जीडीपी बराबरको बजेट घाटा र करिब १०० प्रतिशत ऋण भएको मुलुक हो भन्दा कसैले आश्चर्य मान्नु पर्दैन । किनकि विश्व नै अहिलेसम्म उसकै नीतिगत निर्देशनमा अधीनस्थ छ ।
पेन्टागन संयन्त्र ड्रोन र एआई युगसँग अनुकूलन हुन संघर्ष गरिरहेको छ । ‘यूएस फ्याक्ट्स’ का अनुसार ठूला व्यवसायहरूको दबाबले संघीय नियमहरू ९० हजार पृष्ठभन्दा बढीको भारीभरकम अवस्थामा जेलिएका छन् । मस्कको प्रवृत्तिगत उत्तेजनाभन्दा यथार्थ चिन्ताको प्रयोग भएर सानो अंश मात्र पनि हासिल भएमा अमेरिकी प्रणाली नै भस्मासुरको लहडमा बग्ने खतरा बढी छ ।
अमेरिकाको मुख्य खतरा भनेकै ‘क्रोनिज्म’ हो । यो प्रवृत्तिले आफ्नालाई पोस्न नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्छ । नेपाल–भारतदेखि दुनियाँ नै यो गम्भीर महामारीबाट ग्रसित छ । ट्रम्पको आर्थिक राष्ट्रवाद र मस्क संलग्न उद्योगहरूको चीनसँगको प्रतिस्पर्धा, अन्तरिक्षको सैनिकीकरण र सीमा–पारको गलत सूचना युद्धहरूका कारण विश्व राजनीति स्वाभाविक प्रशासन नभएर रणनीतिक दाउपेचको विस्फोटक खेल बन्दै गएको यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन । ट्रम्पको धाप पाइरहेमा मस्कले नियमन र करमा हेरफेर गर्न सक्छन् । कार, क्रिप्टोकरेन्सी, स्वचालित सवारीसाधन र एआईका क्षेत्रमा प्रतिस्पर्धीहरूलाई कमजोर बनाउने उनको लक्ष्य पूर्वघोषितै छ ।
ट्रम्प–मस्क ओलिगार्कीले लोकतान्त्रिक शासन प्रणालीमा गरिनुपर्ने सुधारबाट राजनीतिज्ञहरूलाई धेरै टाढा धकेल्ने खतरा बढ्नेछ । राजनीतिज्ञ र ठूला व्यवसायीहरूबीचको गठबन्धन विश्व राजनीतिमा सामान्य बन्दै जाने प्रवृत्ति ह्वात्तै बढ्ने जोखिम अझ डरलाग्दो हुनेछ । उदार लोकतन्त्र र अमेरिकी प्रणाली भनेको परिणामभन्दा बढी प्रक्रिया हो भन्ने सिद्धान्तलाई ट्रम्प–मस्क जुगलबन्दीको सुखान्त वा दुःखान्त जुन रूपमा प्रकट भए पनि क्षतविक्षत बनाएर अमेरिकालाई मात्र बिथोल्ने छैन, बाँकी दुनियाँमा समेत निर्वाचित अधिनायकवाद र बलियो नेताको मृगतृष्णालाई अब कसैले रोक्न नसक्ने अवस्था खडा हुन सक्छ ।
बेइजिङकै जित
अस्ट्रेलियाका प्रधानमन्त्री केभिन रुडले अवकाश लिएपछि हार्वर्ड केनेडी स्कुलमा वरिष्ठ फेलोका रूपमा अमेरिका र चीन सम्बन्ध विषयमा अनुसन्धान गरे । उनको ‘एभोइडएबल वार’ नामक प्रभावशाली अनुसन्धानमूलक पुस्तक महाशक्तिहरू (अमेरिका–चीन) बीचको रणनीतिक प्रतिस्पर्धा कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित छ । प्रबन्धित रणनीतिक प्रतिस्पर्धाको आधारमा विवादास्पद मुद्दाहरूमा सीमा निर्माण गरेर द्वन्द्व टाल्न र साझा वैश्विक समस्याहरू जलवायु परिवर्तन र आर्थिक स्थिरतामा सहकार्य गर्न सुझाएका थिए । आधारभूत रूपमा बेइजिङ र वासिङ्टन यही नीतिमा अघि बढेका छन् ।
हार्वर्डमा रहँदा रुडले चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनको प्रशासकीय शैलीबारेमा गहिरो अध्ययन गरेका थिए । म्यानडरिएन भाषाका विज्ञसमेत रहेका रुडका अनुसार जुन दिन तत्कालीन सोभियत राष्ट्रपति मिखाइल गोर्भाचोभले ग्लास्नोस्ट र पेरस्त्रोइका लागू गरे, त्यही दिन नै सोभियत युनियन विघटन भएको थियो भन्ने कुरामा सी चिनफिङको गहिरो विश्वास छ । अर्थात् वर्तमान चीनले बजारमाथिको पूर्ण नियन्त्रण र झगडालु प्रतिस्पर्धी चाहन्छ, जसले गर्दा संकीर्ण सांस्कृतिक राष्ट्रवादी नीति र संरक्षणवादी आर्थिक कार्यक्रम अघि बढाएर शासकीय निरन्तरता जारी राख्न सहज होस् । अमेरिकामा ट्रम्पको उदय बेइजिङको रुचिमा छ । उसका लागि दबाब कार्डका रूपमा एलन मस्कको ६० प्रतिशतभन्दा बढीको टेस्ला गाडीको बजार रहेको चीन नै हो ।
मस्कले ताइवानको हैसियतलाई हवाईसँग तुलना गरेको घटना अमेरिकी स्वार्थको नाभीमा छुरा हानेजस्तै हो । सोसल मिडिया र षड्यन्त्र सिद्धान्तका भुमरीमा मस्कको लगाव, टेस्लाका आधा उत्पादन रहेको चीनमा ५० अर्ब डलर बढीको सम्पत्ति रहेको अवस्था र ट्रम्पको चीनसँग व्यापार युद्ध गर्ने प्रवृत्तिमा कहाँनेर विस्फोट हुन्छ भन्ने सन्त्रासले अमेरिकी नीति निर्माताहरूको टाउको दुखाई बन्दै छ । अमेरिकी आवधिक–निश्चित यो चुनावले आधुनिक साम्राज्यको इतिहासमै शीतयुद्ध समेत बेहोर्न नपरेको वैचारिक तनाव झेलिरहन विवश छन् ।
एकै दिनमा दर्जनौं ट्वीट गरेर २०५ मिलियन अनुयायीहरूसँग संवाद गर्ने मस्कले र उत्तिकै सक्रिय उनका राष्ट्रपति–निर्वाचितका प्रमुख सल्लाहकार बनेपछि पत्रकारहरूको प्रश्नहरूको उत्तर दिन अस्वीकार गरेका छन् । उनले चीन, रुस र इरानजस्ता अमेरिका विरोधीहरूसँग सम्पर्क राखेको रिपोर्टमा स्पष्टीकरण दिएका छैनन् । सरकारको प्रमुख भूमिकामा रहेर आफ्ना व्यवसायहरूको नियामक जाँचका कारण उत्पन्न हुने हितहरूको द्वन्द्वबारे अमेरिका नै मौन छ । उनले बोल्ने त कुरै भएन । सायद अबको विश्व प्रणाली यस्तै यस्तै प्रतीत हुनेछ ।
