मेट्रो रेलमा सफलता प्राप्त गरेका अन्य सहरका उदाहरण हेर्ने हो भने अप्रत्यक्ष लाभको सूची लामै बन्छ । यसले सडकमा ट्राफिक जाम कम हुनेछ, इन्धन बचत हुनेछ र वातावरण प्रदूषण कम हुनेछ ।
ठूलासाना सवारीसाधनको प्रतिस्पर्धायुक्त दौड, कोचाकोच गर्दै गाडी चढ्न हतारो गरिरहेका यात्रु, ट्राफिक जाम । हर्नको कर्कस ध्वनि । काठमाडौं उपत्यकाको कुनै पनि मुख्य चोकमा देखिने दृश्य यही हो । काठमाडौं उपत्यकामा झन्डै १२ लाख सवारीसाधन छन्, जसको तथ्यांक बर्सेनि बढिरहन्छ, तर यात्रुका लागि आधारभूत सुविधा पनि दुर्लभ छ ।
सार्वजनिक ठूला सवारीसाधनमा यात्रा गर्नु सकसपूर्ण र निजी साना साधनमा यात्रा गर्नु जोखिमपूर्ण छ । तर अहिलेकै यातायात प्रणालीलाई व्यवस्थित बनाउने वा पूरक/वैकल्पिक प्रणाली खोज्नेतर्फ सरोकारवाला संवेदनशील छैनन् । यद्यपि, मेट्रो रेल चलाएर काठमाडौं उपत्यकाभित्रको आवागमनलाई व्यवस्थित बनाउन सकिने विज्ञले बताउँदै आएका छन् । सरकारले यो र यस्तै विकल्पमाथि गम्भीरतापूर्वक सोच्न आवश्यक छ ।
काठमाडौं उपत्यकामा मेट्रो चलाउने विषय राजनीतिक भाषणबाजी र चुनावी घोषणापत्रका लागि नयाँ विषय भने होइनन् । पहिल्यैदेखि छिटपुट चर्चा हुने विषयलाई केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेका बेलामा बढी नै चर्चा दिलाएका थिए । उनले काठमाडौं उपत्यकामा विद्युतीय मेट्रो रेलका लागि तत्काल कार्य अगाडि बढाउने वाचा गरेका थिए । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनको आसपास यो विषयले फेरि चर्चा पाएको थियो । काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका विद्यासुन्दर शाक्यले तीन वर्षमै मेट्रो रेल चलाउने घोषणा गरेका थिए । विद्यासुन्दरका धेरै भनाइजस्तै यो वाचा पनि हरायो । त्यसपछि यो विषय चर्चाबाट पनि हराउन लागेका बेला बेलायतका इन्जिनियरहरूले काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउन सकिने विभिन्न आधार प्रस्तुत गरेका छन् । ‘इन्स्टिच्युसन अफ सिभिल इन्जिनियर्स’ र ‘सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूके’ ले गत बुधबार आयोजना गरेको कार्यक्रममा यसको सम्भाव्यता र दीर्घकालीन प्रभावसहित गुरुयोजनाबारे छलफल भएको छ । जसले मेट्रो रेलको सम्भावनालाई जीवित राखेको छ ।
प्रस्तावित गुरुयोजनामा काठमाडौं उपत्यकामा पाँच लाइन मेट्रो चलाउने भनिएको छ । काठमाडौं लाइन (बनेपा, धुलिखेल, कोटेश्वर, भृकुटीमण्डप भएर थानकोट), पाटन लाइन (गोदावरीदेखि भृकुटीमण्डप, बुढानीलकण्ठ), विष्णुमती लाइन (दक्षिणकाली, चोभार, बल्खु, टंकेश्वर, नयाँ बसपार्क, धर्मस्थली), चक्रपथ लाइन (रिङरोड आसपास) र भ्याली लाइन (आउटर रिङरोड) प्रस्ताव गरिएको छ । यो कुल १९२.५ किमि लामो हुनेछ भने ८५ किमि भूमिगत टनेल र १०७.५ किमि ओभरहेड (जमिनमाथि) हुनेछ । यो एउटा सम्भावनाको विषय हो । यस्ता अन्य सम्भावनाहरू पनि हुन सक्छन् । तर हामीलाई अहिलेको यातायात प्रणालीलाई व्यवस्थित गर्न विकल्पको खोजी आवश्यक भइसकेको भने निश्चित हो ।
काठमाडौं उपत्यकामा अहिलेकै दरमा सवारीसाधनको वृद्धि हुँदै जाने, निजी सवारीसाधनको बाध्यता वा मोह पनि बढ्दै जाने, काठमाडौं भित्रिने दर पनि बढ्दै जाने हो भने यहाँको यातायात प्रणाली भयावह हुनेछ । त्यसैले अहिले नै विकल्पबारे सोच्न र कार्यान्वयन थालिहाल्न आवश्यक छ । पहिलो, अहिलेको सवारी चापको असरलाई न्यूनीकरण गर्न मेट्रो रेल विकल्प हुन सक्छ । तर यो चुनावी भाषण वा विज्ञका मन्तव्यमा सीमित रहनु हुँदैन । प्रतिफल नै देखिनुपर्छ । दोस्रो, निजी सवारीसाधन कम मात्रै आवश्यक पर्ने गरी सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने उपाय पनि खोज्न सकिन्छ । यात्रुलाई हिँड्न, साइकल प्रयोग गर्न वा सार्वजनिक सवारीसाधनमा यात्रा गर्न अभिप्रेरित गर्ने नीति ल्याउन सकिन्छ । धेरै यात्रु अट्ने विद्युतीय बस वा लाइट रेललाई पनि प्राथमिकता दिन सकिन्छ । मानिस र सवारीसाधनको उच्च चाप भएका विश्वका प्रतिष्ठित सहरमा अपनाइएका उपाय यहाँ पनि अपनाउन सकिन्छ ।
मेट्रो रेल आर्थिक लगानीको हिसाबले उच्च लगानीको परियोजना हो । जस्तो कि, ३६.५ किमि दूरीको काठमाडौं लाइन बनाउन २.६ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । जमिनमै कालोपत्र बिछ्याउन कठिन भइरहेको देशमा ठाउँठाउँ जमिनमुनि र जमिनमाथि नयाँनयाँ संरचना निर्माण गरेर रेल कुदाउनु सामान्य योजना होइन । यात्रुको चापको अनुपलब्धता, यात्रु भाडा, सञ्चालन खर्च, मर्मत खर्च पनि महँगो नै पर्ने विज्ञहरू बताउँछन् । तर यसका अन्य आर्थिक तथा वातावरणीय नाफा भने हुनेछन् । मेट्रो रेलमा सफलता प्राप्त गरेका अन्य सहरका उदाहरण हेर्ने हो भने अप्रत्यक्ष लाभको सूची लामै बन्छ । यसले सडकमा ट्राफिक जाम कम हुनेछ, इन्धन बचत हुनेछ र वातावरण प्रदूषण कम हुनेछ । दुर्घटना न्यूनीकरण हुनेछ र त्यसमार्फत मानवीय तथा आर्थिक क्षतिमा कमी आउनेछ । सार्वजनिक सवारी र रेल दुवैतर्फको यात्रा सहज हुनेछ । त्यसैले पनि तीनै तहका सरकारले स्रोतको खोजीमार्फत मेट्रो रेल सञ्चालन गर्न सक्दा काठमाडौं उपत्यकाको हित नै हुनेछ ।
