स्थानीय सरकारको प्रश्न, ‘खै संघीयता ?’

समग्रतामा, संघीयतापश्चात् पनि संघ र प्रदेशले अधीनस्थजस्तो व्यवहार गरेको, आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेको, बजेट वितरणमा विभेद गरेको, समानीकरण अनुदान कटौती गरेको गुनासो स्थानीय सरकारले गरेका छन्

कार्तिक २२, २०८१

खिमलाल देवकोटा

The local government's question, 'What about federalism?'

केही साता अगाडि ‘फेडरलिजम एन्ड लोकालाइजेसन सेन्टर’ ले सातवटै प्रदेशमा आयोजना गरेको कार्यक्रमका दौरान केही पालिकाका प्रमुखलगायतका पदाधिकारीसँग लेखकले छलफल गरेको थियो । कतिपय पदाधिकारीले सेन्टरको कार्यक्रममा नै आफ्नो धारणा राखेका थिए । प्रदेश तहको उकुसमुकसजस्तै उनीहरूको पनि गुनासा र दुःखेसाका पोका थिए । प्रदेशको दुःखेसो संघप्रति लक्षित थियो भने स्थानीयको प्रदेश र संघप्रति । आलेख यही सेरोफेरोमा छ । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय सरकारलाई संघ र प्रदेश मातहतको जस्तो व्यवहार गर्ने गरेको गुनासो गरे । प्रदेशका सांसद तथा मन्त्री वडाध्यक्षभन्दा पनि तल्लोस्तरमा झरेर योजना तथा कार्यक्रम राख्ने गरेको, खानेपानीलगायत कैयौं संघीय कार्यालयले स्थानीयको कार्यक्षेत्रलाई मिचेको, प्रदेशका अधिकांश कार्यालयको कार्यक्षेत्र स्थानीयसँग बाझिएको उनको भनाइ थियो ।

आधारभूत स्वास्थ्य र माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीयको भए पनि कर्मचारी र शिक्षकले यसलाई स्वीकार गर्न नसकेको, विकास निर्माणलगायतका विषयमा प्रदेशले नगरसँग समन्वय नगरेको गुनासो उनले सुनाए । जिल्ला सभाको कुनै औचित्य नभएको र जिल्लामा सुरक्षाबाहेक संघका कुनै पनि संरचना जरुरी नभएको आचार्यको भनाइ थियो । ७५३ वटा पालिकामा तीन जना मात्र मेयर रहेको जस्तो व्यवहार मिडियाले गर्ने गरेकामा उनको गुनासो रहेछ ।

व्यास नगरपालिका तनहुँका प्रमुख वैकुण्ठ न्यौपानेले संघीय सरकारले समानीकरण अनुदान वितरणमा बलमिच्याइँ र ससर्त अनुदानका नाममा स्थानीय तहको स्वायत्तताको हनन गरेको, प्रदेशको व्यवहार पनि संघकै जस्तो रहेको र दुवै सरकारले नगरसँग आवश्यक समन्वय नगरेको गुनासो गरेका थिए । संघीयता बलियो हुन स्थानीय सरकार बलियो हुनुपर्छ । तर, कर्मचारी, वित्तीय स्रोतसाधनलगायतमा संघको नै दबदबाका कारण स्थानीय सरकारको हातखुट्टा बाँधिएको भन्ने गुनासो पदाधिकारीहरूको थियो ।

शुक्लागण्डकी नगरपालिका तनहुँका प्रमुख कृष्णराज पण्डितले जुन उत्साहका साथ निर्वाचित भएको हो, त्यो उत्साह कर्मचारी व्यवस्थापन, वित्तीय स्रोत, कानुन तर्जुमा योजना कार्यान्वयनलगायतमा नभएको गुनासो गरे । संविधानले स्थानीय तहलाई राज्यको शक्ति नै दिएको छ । तर, व्यवहारमा त्यस्तो नदेखिएको, संघ र प्रदेशको सोच आफ्नो निकायजस्तो ठान्ने र विकास निर्माणलगायतमा नगरपालिकासँग समन्वय नगर्ने उनको गुनासो थियो । म्याग्दे गाउँपालिका, तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कुनै पनि तहका सरकारले जनतामा अपेक्षित आशा र भरोसा दिन नसकेको धारणा राखे । स्थानीय सरकार संघ र प्रदेशको चेपुवा त छँदै छ । उल्टै राति–राति गिट्टी चोर्ने तस्कार ठेकदारको चेपुवामा समेत परेको उनले दुःखेसो गरे । वास्तविक रूपमा वित्तीय संघीयताको कार्यान्वयन नै नभएको र नागरिकलाई अपेक्षाअनुसार सुशासन दिन नसकेकामा उनको चिन्ता थियो ।

नेताहरू सत्तामूखी हुँदा युद्धको भावनालाई बिर्सेको गुनासो बेनीघाट रोराङ गाउँपालिकाका, धादिङका अध्यक्ष कृष्णबहादुर थपलियाको थियो । माओवादीको १० वर्षे सशस्त्र आन्दोलनमा संलग्न भएको स्मरण गर्दै उनले आफन्तहरू गुमाएको पीडादायी कथा सुनाए, ‘हामीले जनयुद्ध लड्यौं, धेरै गुमायौं तर नेताहरू सत्तामूखी हुँदा संघीयता र गणतन्त्रको मर्मअनुसार काम भएन । रुकुम र रोल्पाका मगर पनि एकसुरा भए । हामीले ल्याएको व्यवस्था कति टिक्छ ? दिगो हुन्छ ? यो हामीमा नै निर्भर रहन्छ । तर, नेताहरूको व्यवहारलगायतका कारण यो व्यवस्थामाथि नै प्रश्नचिह्न खडा भएको छ ।’

कटारी नगरपालिका उदयपुरका प्रमुख राजेशचन्द्र श्रेष्ठले संघीय र प्रदेशका योजनाहरू पालिकाकाभन्दा पनि साना रहेको गुनासो गरे । कुन तहको सरकारले के कतिसम्मका योजना राख्ने स्पष्ट विधि निर्माण जरुरी रहेको सुझाव उनको थियो । जनताले खोजेको व्यवस्था र अवस्था दुवैको परिवर्तन आवश्यक भएकामा केही उपलब्धि हासिल भए पनि नागरिकको अपेक्षाअनुसार हुन नसकेको धारणा उनले राखे ।

पथरीशनिश्चरे नगरपालिका मोरङका प्रमुख दिलीपकुमार राईले प्रदेश र स्थानीय तहलाई संघले राम्रोसँग काम गर्न नदिएको धारणा राखेका थिए । उनका अनुसार, संविधानतः मालपोतको अधिकार स्थानीय सरकारको हो । तर, अझसम्म स्थानीयलाई हस्तान्तरण गरिएको छैन । शिक्षा र स्वास्थ्य सेवाको जिम्मेवारी पूरा गर्न पर्याप्त बजेट र जनशक्ति छैन । आन्तरिक स्रोत अति नै न्यून हुने पालिकालाई समेत समपूरक अनुदानमा संघीय सरकारले लागत सहभागिता खोज्ने गरेको उनको भनाइ थियो ।

‘स्थानीय तहलाई १५ शय्याभन्दा माथिको अस्पताल बनाउने अधिकार छैन । मेरो नगरमा ७२ हजार र बाहिरबाट आएर बसेका गरी सवा लाख जनसंख्या छ । तेह्रथुम जिल्लामा ८८ हजार जनसंख्या छ । त्यहाँ ५० शय्या र मेरो नगरमा १५ शय्याको अस्पताल बनाउन पाउने अधिकार जनसंख्याको आधारमा किटान हुनुपर्छ,’ उनले गुनासो पोखे, ‘संघीय सरकारको नीति विभेदकारी छ । सुरक्षाको सवालमा पनि दरबन्दी किटान गरिनुपर्छ ।’ संघीयतालाई दिगो बनाउन प्रदेशसभाको संख्या आधा कटौती गर्नुपर्ने र प्रदेशसभालाई वडाध्यक्षबाट निर्वाचित गर्नुपर्ने सुझावसमेत उनको थियो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रदेशको बचाउ गर्दै अहिले प्रदेशको खर्च जग निर्माणमा लागेको बताए । ‘सुरुवाती चरणमा यस्तै हुन्छ, जग निर्माणमा गरिएको लगानी देखिँदैन,’ उनले भने, ‘अहिले प्रदेशको मूल्यांकन गर्ने समय भएको छैन ।’ बुझ्नेले प्रदेशलाई चुरेजस्तो मान्न सकिने र चुरे नभए तराई–मधेश बाँच्न नसक्ने उनको धारणा थियो । यूएसएडको एक कार्यक्रममा आफूलाई ‘प्रदेश रहन्छ कि रहन्न’ भनेर प्रश्न गरिएको सन्दर्भ कोट्याउँदै उनले भने, ‘यस्तो प्रश्न गर्न हुँदैनथ्यो । मैले प्रदेश रहन्छ, रहनुपर्छ, चाहिन्छ भनेँ । यो त हाम्रो पार्टीको आधिकारिक नीति पनि हो ।’ संघीयताभित्र पनि विकेन्द्रीकृत नीति जरुरी रहेको धारणा उनको थियो । संविधानले समाजवादोन्मुख अर्थतन्त्र निर्माणको कुरा गर्छ । बीपीले परिकल्पना गरेको समाजवादमा लाग्न तीनै तहका सरकार इमानदार हुनुपर्ने सुझाव उनको थियो । 

सुन्दरहरैचा नगरपालिका मोरङका प्रमुख केदारप्रसाद गुरागाईंले शिक्षा ऐनमा विलम्ब र शिक्षकहरूको केन्द्रीकृत सोचका कारण पालिकालाई काम गर्न अप्ठ्यारो भएको गुनासो गरे । संघीयता लडाइँको उपज भए पनि योभन्दा राम्रो जनगणतन्त्र रहेको उनको तर्क थियो । ‘त्यो व्यवस्था ल्याउन नसके तापनि संघीयता ठीक छ । व्यक्ति दोषी हुन सक्छ, व्यवस्थाको दोष छैन । संघीयताको मर्म हामीले जति संघले बुझेको देखिँदैन,’ उनले भने, ‘एकात्मक व्यवस्थामा सांसदहरूले खेप्नुपर्ने प्रेसर अहिले स्थानीय तहले खेप्नुपरेको छ ।’

यो समस्या नभएर उपलब्धिका रूपमा लिनुपर्ने धारणा उनको थियो । अघिल्लो वर्ष १२ प्रतिशत र अहिले ७ प्रतिशत वित्तीय समानीकरण अनुदान कम आएको उनले सुनाए । ‘त्यो पनि आन्दोलन गरेपछि मात्र पायौं,’ उनले भन्दै गए, ‘संघ सरकारले अघिल्लो वर्ष यस नगरपालिकामा रबर खेती गर्ने भनेर ८ लाख पठायो । जब कि यहाँ रबर खेती नै हुँदैन । जहाँ जे आवश्यकता छ, त्यो पठाइँदैन । हामीलाई हरेक वर्ष शिक्षामा ६० लाख सेनेटरी प्याडका लागि बजेट आउँछ । हामीले यो यतै निर्माण गर्छौं भनेर संघसँग पहल गर्‍यौं । तर, सहयोग पाइएन ।’

शक्ति केन्द्र र भनसुनका आधारमा बजेट विनियोजन गर्ने पद्धतिमा सुधार गर्न उनले सुझाए । प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर निस्कन नसकेको उनको गुनासो थियो । संविधान संशोधनको सवालमा पालिका प्रमुखहरूले मुख्यमन्त्री चयन गर्ने र विज्ञहरूबाट ५ जना मन्त्री बनाउने गरे प्रदेश बलियो हुने सुझाव उनको थियो । प्राकृतिक स्रोतको संरक्षणको जिम्मा प्रदेशलाई दिनुपर्ने, शिक्षा, स्वास्थ्य, कृषि र पशुपन्छी क्षेत्रको पूर्ण अधिकार स्थानीय तहको हुनुपर्ने धारणा उनले राखेका थिए ।

गाउँपालिका राष्ट्रिय महासंघ, मधेश प्रदेशका अध्यक्ष जवाहरलाल यादवले संविधानमा टेकेर सत्तामा गएका दलहरूले नै संविधान खारेजको कुरा गर्नु बेइमानी भएको धारणा राखे । संघीयता मधेशी जनताको लडाइँबाट प्राप्त भएको र यसको सबलीकरणमा सामन्य नागरिकदेखि राष्ट्रपतिसम्मले छातीमा हात राखेर इमानदारीपूर्वक काम गर्नुपर्ने उनको सुझाव थियो । शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्र स्थानीयको अधिकार क्षेत्रभित्र परे पनि संघ र प्रदेशले स्थानीयको अधिकार क्षेत्र मिचेर धमाधम कार्यालय खोलेको गुनासो उनको थियो । कृषि ज्ञानकेन्द्र, पर्यटन विकास कार्यालय, दुग्ध विकास बोर्ड, पूर्वाधार विकास कार्यालय, सामाजिक विकास इकाइ, शिक्षा विकास इकाइ, रोजगार सूचना केन्द्र, भू तथा जलाधार व्यवस्थापनलगायतका कार्यालय खोलेर संघ र प्रदेशले स्थानीय तहको अधिकारको हनन गरेको उनले गुनासो गरे । ‘स्थानीयको अधिकारका लागि जति संघसँग लड्नुपरेको छ, त्यति नै प्रदेशसँग पनि लडाइँ गर्नुपरेको छ,’ उनले भने ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार शाहले संघीयता चाहिँदैन भन्नेहरू संविधान र मधेशविरोधी भएको धारणा राखे । प्रदेश र स्थानीय तहको अधिकारको सीमारेखा संविधानमा छ । तर, अधिकार प्रयोगमा संघीय सरकार बाधक रहेको गुनासो उनको थियो । कर्मचारी, प्रहरी र गुठीको अधिकार कार्यान्वयन नभए संघीयताको सुन्दरता गुम्ने उनले चिन्ता व्यक्त गरे । बर्दिवास नगरपालिका महोत्तरीका प्रमुख प्रल्हाद क्षेत्रीले स्थानीय तहमा विकासको लहर आएको धारणा राखे । आफूले दुई वर्षमा २५ किमि सडक पिच गरेको, दुई वटा पुल निर्माण गरेको, कृषि र शिक्षा क्षेत्र सुधारको अभियान छेडेको र आन्तरिक राजस्वको दायरा बढाएको विवरण सुनाए । संघीयता नभएको भए स्थानीय तहले जेजति अधिकार प्रयोग गर्न पाएका छन्, ती प्रयोग गर्नबाट वञ्चित हुने धारणा उनको थियो । जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले संविधानप्रदत अधिकारको प्रयोगमा स्थानीय तहलाई अंकुश लगाइएको गुनासो गरे । जनताको नजिकको सरकार हुनुका नाताले स्थानीय तहबाट जनताले केकति सेवा पाए र त्यो हेरिनुपर्ने उनको भनाइ थियो । राजनीतिक दलका नेताहरूले संघीयताको मर्म बुझ्न नसकेका कारण नै अहिले नागरिकमा निराशा उत्पन्न भएको धारणा उनको थियो । 

हेटौंडा उपमहानगरपालिका प्रमुख मीना लामाले व्यवस्था राम्रो तर चालकहरू खराब भएका कारण समस्या सिर्जना भएको धारण राखिन् । ‘संघले पठाउनुपर्ने अनुदान पठाउँदैन । हाम्रो कार्यक्षेत्र मिचेर संघीय र प्रदेशका योजनाहरू आउँछन्, त्यो पनि हामीसँग कुनै समन्वय नगरी,’ उनले भनिन्, ‘कृषिको कुरा गर्दा सरकारले यसपालि उत्पादन दशक भनेको छ । संघको काम क्वारेन्टाइन र अनुसन्धान हो । प्रदेशले ब्रान्डिङ र बजारीकरण गर्ने हो । उत्पादनको काम त स्थानीय तहको हो । तर, सरकारका तहबीचमा समन्वय र सहकार्य भएन ।’ स्थानीयमा जनशक्ति थप गर्नुपर्ने भए पनि संघमा जनशक्ति बढाउने काम भएको उनको भनाइ थियो । आवश्यकताभन्दा पनि नेताहरूका खल्तीका योजनाहरू आउने विकृति देखिएको उनले बताइन् । ‘वागमती प्रदेशको राजधानी हेटौंडा हो । तर, यहाँको विकासमा प्रदेश सरकारले ध्यान दिएन, बरु उल्टै काठमाडौंमा सर्म्पक कार्यालय राखेर हेटौंडालाई विस्तारै विस्थापित गर्ने क्रियाकलापमा प्रदेश सरकार लागेको हो कि भन्ने चिन्ता लाग्न थालेको छ,’ उनले भनिन् । 

किस्पाङ गाउँपालिका नुवाकोटका पूर्वअध्यक्ष छत्र लामाले संघले नीति निर्माण गर्ने, प्रदेशले विकास गर्ने र स्थानीयले कार्यान्वयन गर्ने धारणा राखे । स्थानीय तहलाई स–साना बजेटका योजना तथा कार्यक्रम संघले पठाउँछ । न त त्यसका लागि स्थानीय सरकारसक्षम रहेको उनले बताए । स्थानीय तहलाई अहिले ऐन कानुन, जनशक्ति र संविधानअनुकूल अनुदान चाहिएको उनको भनाइ थियो । तर, संघ आफ्नो मूल दायित्वबाट विमुख भएको गुनासो उनले गरे । घोराही नगरपालिका, दाङका प्रमुख तथा नेपाल नगरपालिका संघका महासचिव नरुलाल चौधरीले संविधानले दिएको अधिकार प्रयोग गर्नबाट स्थानीय सरकारलाई वञ्चित गरिएको गुनासो गरे । एकल अधिकारलाई साझा अधिकारका नाममा संघले हस्तक्षेप गरेको जिकिर उनको थियो । स्थानीयलाई अधिकार दिँदा जनतालाई सेवा प्रवाह गर्न सहज हुने भए पनि त्यसो हुन नसकेको उनले बताए । संघीयताका कारण धेरै भौतिक संरचना निर्माण भएको, सामाजिक आर्थिक क्षेत्रमा ठूलो परिवर्तन भएको धारणा उनको थियो । स्थानीय आवश्यकता एकातिर, संघीय सरकारको सोच र मानसिकता अर्कोतिर रहेकाले समन्वय हुन नसकेको भन्दै उनले प्रदेश–संघबीच समन्वय र सहकार्यमा जोड दिए ।

कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले स्थानीय तहमा निर्दलीय निर्वाचन प्रणाली लागू गर्दा बेस हुने सल्लाहसमेत दिए । ‘मैले चुनाव जित्दा ११,९०६ मत ल्याएँ । तर मेरा सबै विपक्षीको मत जोड्दा २० हजार हुन्छ । त्यसैले यस्तो निर्वाचन प्रणालीले जनताको वास्तविक प्रतिनिधित्व गर्दैन,’ उनले भने । आफूले निःशुल्क शिक्षामा जोड दिएको, स्वास्थ्य बिमा लागू गरेको तर पालिकाको मूल समस्या छाडा चौपाया व्यवस्थापनमा रहेको दुःखेसो उनको थियो । सीमावर्ती भारतबाट अधिक संख्यामा बूढा गाईवस्तुहरू सीमा भित्र्याएर छाडिँदिँदा व्यवस्थापन गर्न सिमानाका पालिकालाई निकै अप्ठ्यारो भए पनि संघीय सरकारले अपेक्षित सहयोग नगरेको गुनासो उनको थियो । 

खजुरा गाउँपालिका बाँकेका अध्यक्ष डम्बरबहादुर विकले आफू विगतमा माओवादी आन्दोलनमा सरिक भएको तर आन्दोलनबाट प्राप्त उपलब्धिको सही व्यवस्थापन हुन नसकेको गुनासो गरे । ‘खजुरा बाँके जिल्लाको परिवर्तनको पक्षमा नेतृत्व गर्ने ठाउँ हो । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले भूमिगत कालमा यसै क्षेत्रमा सेल्टर लिएका हुन्, माओवादी आन्दोलनमा यस क्षेत्रमा १३ जना सहिद भए, राजा ज्ञानेन्द्रविरुद्धको जनआन्दोलन क्रममा सात राजनैतिक दल र माओवादीबीच संयुक्त जनआन्दोलन संयोजन समिति पहिलो पटक यसै स्थानमा बनेको हो,’ उनले स्मरण गरे । गणतन्त्र र संघीयता प्रिय शब्द भए पनि त्यसको भावनाअनुसार काम हुन नसकेको उनको गुनासो थियो । स्थानीय तहको मातहतमा बस्दिनँ भन्ने शिक्षकहरूको केन्द्रीकृत मानसिकताले संविधान चिन्न नसकेको उनले बताए । प्रदेशको स्थायित्वका लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने गरी संविधान संशोधन गर्नुपर्ने उनले सुझाव दिए । दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निमबहादुर केसीले एकात्मक व्यवस्थाका तुलनामा वित्तीय हस्तान्तरण बढेको धारणा राख्दै लडेर ल्याएको यो व्यवस्थाको स्थायित्वमा जोड दिनुपर्ने सुझाए । तर, संघीय सरकारले तलका सरकारलाई आफ्नो मातहतको जस्तो ठान्ने र त्यो रोग प्रदेशमा पनि सरेको दुःखेसो उनको थियो । 

भेरीगंगा नगरपालिका सुर्खेतका प्रमुख यज्ञप्रसाद ढकालले संघीयताको विकल्प समृद्धि र सुशासन रहेको बताए । उनका अनुसार नागरिकलाई शासन व्यवस्थासँग कुनै लेनदेना छैन । नागरिकले चाहेको विकास र परिवर्तन हो । यसमा तीनै तहका सरकारले काम गर्ने हो भने शासन व्यवस्थामा देखिएको समस्या समाधान हुने उनले सुझाए । संघले राष्ट्रिय–अन्तर्राष्ट्रिय, प्रदेशले विकास र स्थानीयले सेवा प्रवाहमा जोड दिनुपर्ने सुझाव उनको थियो । 

शिवालय गाउँपालिका जाजरकोटका अध्यक्ष शेरबहादुर शाहीले कर्णालीको विकासमा संघीय सरकारले सहयोग नगरको गुनासो गरे । ‘कर्णाली पिछडिएको छ । हामीसँग ३५ किमि पाइप किन्ने पैसा छैन । प्रदेश पनि स्थानीय तहसँग समन्वय नगरी एक्लै हिँड्ने गरेको छ,’ उनले दुःखेसो गरे । 

वीरेन्द्रनगर नगरपालिका सुर्खेतकी प्रमुख मोहनमाया ढकालले ‘हामी जो जहाँ छौं, त्यहीं केन्द्रित हुने गरेको’ गुनासो गरिन् । यसले संघीयता कार्यान्वयनमा समस्या आएको र शक्ति केन्द्रीकृत गर्नमा मलजल पुगेको उनको भनाइ थियो । स्थानीय तहको पुनर्संरचना गर्दा वीरेन्द्रनगरलाई अवमूल्यन गरिएको दुःखेसो उनको थियो । ‘सिंगो कर्णाली प्रदेशमा महानागरपालिका त कुरै छाडिदिऊँ, उपमहानरपालिकासमेत छैन । हामीकहाँ सबै पूर्वाधार छ, तर बेवास्ता गरिएको छ,’ उनको गुनासो थियो । 

समग्रतामा, संघीयतापश्चात् पनि संघ र प्रदेशले अधीनस्थजस्तो व्यवहार गरेको, आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेको, बजेट वितरणमा विभेद गरेको, समानीकरण अनुदान कटौती गरेको गुनासो स्थानीय सरकारले गरेका छन् । ससर्त अनुदान जथाभावी वितरण, कर्मचारी व्यवस्थापनमा असहयोग, आवश्यक कानुन तर्जुमा नगरेको, समन्वय र सहकार्यमा ध्यान नदिएको जस्ता समस्या स्थानीय सरकारमा देखिएका छन् । यस्तै, नीतिगत असमझदारीका कारण कार्यक्षेत्र स्पष्ट नभएको, कानुनी अस्पष्टता र आवश्यक प्रविधि तथा जनशक्ति अभावले स्थानीय सरकारका काममा समस्या उत्पन्न भएको गुनासोसमेत उनीहरूको छ । स्थानीय सरकारका गुनासा तथा दुःखेसा हटाउन प्रदेश र संघीय सरकारको विशेष ध्यान जान जरुरी छ । गुनासा मेटाउने सबभन्दा भरपर्दो विधि अन्तरप्रदेश परिषद्, विषयगत समिति, प्रदेश समन्वय परिषद्लगायत अन्तरतह समन्वयकारी संस्थाको निरन्तर बैठक र त्यसका निर्णयको कार्यान्वयन हो । 

संघीयताको मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहको भूमिका, कार्यक्षेत्र र समन्वयमा समस्या छ । संघीयता कार्यान्वयनमा संघीय सरकारको उदासीनता देखिन्छ । सुशासन प्रवर्द्धन र विकास निर्माणलगायतमा प्रदेश र स्थानीय सरकारलाई प्रोत्साहित गर्नुको सट्टा बाँधिइराख्ने प्रवृत्तिले संविधानको वास्तविक मर्म ओझेलमा परेको छ । संविधानको इमानदारितापूर्वक कार्यान्वयन र संघीयतको सबलीकरणमा संघीय सरकार र राजनीतिक दलहरू गम्भीर हुन जरुरी छ । 

खिमलाल राष्ट्रिय सभाका पूर्वसांसद समेत रहेका खिमलाल देवकोटा संघीयता र योजनाविज्ञ हुन् । उनी संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक समेत थिए ।

Link copied successfully