ब्रिक्सले पश्चिमा प्रभुत्व वा विकसित विश्वलाई चुनौती दिँदै सन्तुलित विश्व व्यवस्थालाई प्रवर्द्धित गरेको छ
विचार, संगठन र वर्चस्व मर्दैनन्, ती बदलिरहन्छन् र नयाँ रूपमा देखिन्छन् । मार्क्स, हेगेल, म्याक्स विबर, फुकोहरूले पनि भनेकै हुन् । समकालीन विश्व व्यवस्थामा देखापर्दै गरेका प्रवृत्ति हेर्दा त्यो चित्रित पनि हुन्छ । अमेरिकी नेतृत्वको पुरानो र पश्चिमा विश्व व्यवस्थालाई उदाउँदै गरेको एसियाली विश्व व्यवस्थाले प्रभावित पार्दै छ ।
विश्वमा पहिला युरोपेली वर्चस्व थियो, त्यसपछि अमेरिकी वर्चस्व र अब एसियाली वर्चस्वको समय आएको देखिँदै छ । कुनै शक्ति समाप्त हुँदैन, खाली फरक भूमिकामा देखापर्ने मात्र हुन् ।
एसियाली शक्तिले विश्व प्रभावित पार्ने समय आएको छ । तीन उदाहरण हेरौःं
पहिलो, चिसिएको भारत–क्यानडा सम्बन्ध
१८ जुन २०२३ मा शिख पृथकतावादी नेता क्यानडेली नागरिक हरदीप सिंह निज्जारको ब्रिटिस कोलम्बियास्थित शिख मन्दिर परिसरमा हत्या भएपछि बिग्रिएको भारत र क्यानडाबीचको सम्बन्ध अहिले तनावमा बदलिएको छ । परिणामस्वरूप, १५ अक्टोबर २०२४ मा दुवै देशले एकअर्काका राजदूतसहितका कूटनीतिज्ञलाई देश निकाला गरेका छन् । राजदूतलाई देश निकाला गर्ने वा फिर्ता बोलाउने अवस्था द्विपक्षीय सम्बन्धमा सबैभन्दा खराब चरण हो ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले १८ सेप्टेम्बर २०२३ मा क्यानडाली संसद्मै खालिस्तानी आन्दोलनका नेता निज्जारलाई भारतीय सरकारकै एजेन्टको योजनामा मारिएको बयान दिएपछि भारतले त्यसको ठाडो प्रतिकार गरेको थियो । ट्रुडोको संकेत भारतीय खुफिया एजेन्सी ‘रअ’ को संलग्नतातर्फ छ । ट्रुडोका अनुसार क्यानडा सरकारले निज्जारको हत्यामा भारतीय संलग्नताको प्रमाणसहितको प्रतिवेदन अमेरिकालगायत चार देशलाई पनि बुझाएको छ । त्यसको अर्थ अमेरिकासहित ती चार देशले सम्भवतः यो मुद्दामा क्यानडालाई विश्वास गर्नेछन् । वासिङ्टनले ओटावालाई नयाँदिल्लीविरुद्ध यो मुद्दामा प्रत्यक्ष सहयोग गर्छ वा परोक्ष ? त्यसले कस्तो आकार लिन्छ ? त्यो भन्नलाई केही समय पर्खनुपर्छ ।
त्यसो हुँदा, स्वाभाविक रूपमा अमेरिकालगायत ती देशको भारतसँगको सम्बन्धमा पनि संशय पैदा हुनेछ । किनकि कुनै पनि राज्यलाई टुक्र्याउने सोच र त्यस्तो आन्दोलनलाई भारतले मात्र होइन, कुनै पनि सार्वभौम राष्ट्रले सहँदैन । भारतको पञ्जाबलाई स्वतन्त्र खालिस्तानी राज्य बनाउने यो अलगाववादी योजनालाई मोदी सरकारले असफल पार्छ नै । यस्तो आन्दोलनलाई सहयोग गर्ने वा उक्साउने जस्तासुकै र जोसुकै संलग्न भएका प्रयासका विरुद्ध भारतले कुनै मोलाहिजा गर्दैन भन्ने मोदी र जयशंकरको नीति सार्वजनिक नै छ ।
भारतभित्र यो पृथकतावादी आन्दोलन देखिँदैन, तर क्यानडा, बेलायत र अमेरिकामा रहेका शिख डायस्पोरामा अझै पनि यो भावना छ । जसलाई भारतले राष्ट्रिय सुरक्षामाथि खतराका रूपमा लिएको छ । त्यसरी हेर्दा, यो एउटा यस्तो संवेदनशील विषय हो, जसले पश्चिमा शक्तिविरुद्ध मूल रूपमा उसको रणनीतिक साझेदार ठानिएको भारतलाई एसियाली शक्तिको तागततर्फ मोड्नेछ ।
दोस्रो, आरम्भ भएको भारत–चीन समझदारी
क्यानडा र समग्रमा पश्चिमा नेतृत्वसँग भारतको सम्बन्धमा असमझदारी उत्पन्न भएकै बेला एसियाका दुई मुख्य शक्ति चीन र भारतबीच भने सम्बन्ध सुधारको आरम्भ भएको छ । वास्तविक सीमा रेखानजिक पूर्वी लद्दाखको गलवान उपत्यकामा १५ जुन २०२० मा भएका हिंसात्मक झपड र प्रदर्शनपछि बिग्रिएको सम्बन्ध २१ अक्टोबर २०२४ देखि सुधारको दिशामा अघि बढेको छ ।
त्यसबेला भएको हिंसात्मक आमनेसामनेमा २० भारतीय सैनिक र चार चिनियाँ सैनिक मारिएका थिए । त्यसकारण सिर्जित तिक्ततापूर्ण द्विपक्षीय सम्बन्धलाई किनारा लगाउँदै करिब चार वर्षपछि नयाँदिल्ली र बेइजिङबीच यो सहमति भएको हो । भारतीय विदेश सचिव विक्रम मिश्रीले २१ अक्टोबर २०२४ मा भारत र चीनबीचको वास्तविक सीमारेखामा दुवै पक्षले शान्तिपूर्ण रूपमा गस्ती गर्ने र सीमालाई तनावरहित गर्ने सहमति भएको सार्वजनिक गरेका थिए । भोलिपल्टै २२ अक्टोबरमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि त्यही दोहोर्याए ।
भारतीय विदेशमन्त्री एस जयशंकरको वक्तव्यअनुसार चीन २०२० पहिलेको अवस्थामा सेनालाई फर्काउन र त्यही स्थानमा राख्न सहमत भएको छ । त्यतिमात्र होइन, रुसको काजानमा भएको ब्रिक्सको शिखर सम्मेलनमा राष्ट्रपति सी र प्रधानमन्त्री मोदीले दुई देशबीच भएको सहमतिलाई स्वागत गर्दै समस्याको शान्तिपूर्ण समाधानमा निरन्तर लाग्ने समझदारी भएकोमा हार्दिकता साटासाट पनि गरे । यसको अर्थ सन् १९६२ देखि निरन्तर तनावका रूपमा रहेको सीमा समस्याको अप्रत्याशित समाधान भएको होइन, तर विश्वको दोस्रो ठूलो अर्थतन्त्र र पाँचौं ठूलो अर्थतन्त्रबीच विवादलाई वार्ताबाट समाधान गर्दै नयाँ सहकार्यको वातावरणको सम्भावना बढेको हो । भारत र चीनबीच जम्मु कश्मीरको लद्दाख र अरुणाञ्चल प्रदेशमा सन् १९६२ देखि सीमा विवाद छ । जसअनुसार चीनको नियन्त्रणमा रहेको अक्साई चीनलाई भारतले लद्दाखको एक भाग दाबी गर्छ भने अरुणाञ्चल प्रदेशलाई चीनले दक्षिण तिब्बत ठान्छ ।
पछिल्लो सहमतिले सबै समस्याको समाधान गर्दैन, तर समझदारी पुनःस्थापित हुन सक्ने सम्भावना देखाएको छ । किनकि, यसअघि पनि दुई देशबीच सन् १९९३ मा सीमा शान्ति र स्थिरता सहमति र सन् २०१३ मा सीमा प्रतिरक्षा सहयोग सम्झौता भएका थिए । तर, हिंसात्मक प्रदर्शन र भिडन्त रोकिएका थिएनन् ।
सीमा समस्याका बावजुद पनि राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच सन् २०१४ देखि सन् २०१९ सम्म १८ पटक प्रत्यक्ष भेटवार्ता भएका छन् भने मध्य चीनको उहान (२७–२८ अप्रिल २०१८) र भारतको तामिलनाडुको महावलिपुरम् (अक्टोबर २०१९) मा दुईवटा अनौपचारिक शिखर सम्मेलन भएका छन् । भारत र चीनबीच रणनीतिक प्रतिस्पर्धासँगै व्यापारमा सहयोग र जलवायु परिवर्तनलगायतका मुद्दामा समन्वयको विशिष्ट सम्बन्ध छ । यो अर्को राजनीतिक विकास हो, जसले स्थापित हुँदै गरेको विश्व व्यवस्थाको सम्भावित परिदृश्य देखाउँछ, जहाँ एसियाली प्रभाव देखिन्छ ।
तेस्रो, काजानमा प्रदर्शित पुटिन शक्ति
रुसको काजानमा २२–२४ अक्टोबर २०२४ मा ब्रिक्सको १६ औं शिखर सम्मेलन सम्पन्न भयो । पश्चिमासँग भारतको सम्बन्ध बिग्रँदै र चीनसँग सुधार हुँदै गरेकै अवस्थामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा पश्चिमाविरुद्धको ठूलै शक्ति प्रदर्शन गरिदिए । सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी, चीनका राष्ट्रपति सीलगायतका करिब दुई दर्जन राष्ट्रका सरकार प्रमुखले केही महत्त्वपूर्ण निर्णय लिए, जसमा ग्लोबल साउथको नेतृत्व लिएको भारतलाई शक्तिको पहिचान दिए ।
युक्रेनसँगको युद्धमा रुसलाई एक्ल्याउने अमेरिका र पश्चिमा योजनालाई राष्ट्रपति पुटिनले असफल बनाइदिए– विश्वका उदाउँदा अर्थतन्त्र र शक्तिलाई आफ्नै भूमिमा ल्याएर । त्यसो त रुस र युक्रेनको युद्धको विरोध र समर्थनमा विश्व दुई खेमामा विभक्त छ, जसमा भारतले तटस्थतासहितको मध्यस्थता र चीनले संवादसहितको समाधानको पहल गर्दैआएका छन् । गोल्डम्यान स्याक्सले ल्याएको अवधारणा र अर्थशास्त्री जिम ओ निलले सन् २००१ मा दिएको नाम ब्रिक्स त्यसबेला ब्राजिल, रुस, भारत र चीनको बढ्दो आर्थिक क्षमतालाई सम्बोधन गर्न आएको थियो । अहिले ब्रिक्सले विश्वको जनसंख्याको ४५ प्रतिशत र विश्व अर्थतन्त्रको ३५ प्रतिशत हिस्सा ओगट्छ ।
ब्रिक्सले पश्चिमा प्रभुत्व वा विकसित विश्वलाई चुनौती दिँदै सन्तुलित विश्व व्यवस्थालाई प्रवर्द्धित गरेको छ । एसियामा पश्चिमा प्रभाव न्यून गर्न प्रभावकारी बन्दै गरेको ब्रिक्सले पश्चिमाद्वारा नेतृत्व लिइएका आईएमएफ र विश्व बैंकजस्ता संस्थालाई प्रतिसन्तुलन गर्ने त्यस्तै संस्थाहरू अघि सारेको छ । चीनको प्रभुत्व रहे पनि जी–७ बाहिर आवाज बुलन्द गर्न र वैश्विक शक्ति संरचनालाई विविधीकरण गर्न यो प्रभावकारी बन्दै छ ।
ती तीन उदाहरण आफैंमा बदलिँदो विश्व व्यवस्थाका प्रमुख सूचक हुन् । यी वैश्विक राजनीतिका विकासले एसियाली शताब्दीको भाष्यलाई यथार्थ बनाउँदै छ । यी विकासक्रमका बीचमा विश्वमा भइरहेका दुई युद्ध– रुस र युक्रेन तथा इजरायल र प्यालेस्टाइनले जसरी विश्वलाई दुई ध्रुवमा विभाजित गरेका छन्, त्यसले पनि सम्भावित शक्ति सन्तुलनको तस्बिर देखिँदै छ । जसले भन्छ– अब एसियाली शताब्दीको पालो आयो ।
त्यसको अर्को उदाहरण हो– सांघाई कोपरेसन अर्गनाइजेसन (एससीओ) र त्यसको १५–१६ अक्टोबरमा पाकिस्तानको राजधानी इस्लामाबादमा सम्पन्न २३ औं बैठक । सन् २००१ मा चीन, रुस, कजाकस्तान, किर्गिस्तान, ताजकिस्तान र उज्वेकिस्तान मिलेर बनाएको राजनीतिक, आर्थिक र सुरक्षा गठबन्धन पश्चिमाद्वारा खडा गरिएको ‘नाटो’ लाई प्रतिसन्तुलन गर्न बनाइएको थियो । एसियामा पश्चिमा प्रभाव रोक्न र आफ्नो प्रभाव विस्तार गर्न चीन र रुसले यसलाई रणनीतिक रूपमा प्रयोग गरेको देखिन्छ । सन् २०१७ मा सदस्यका रूपमा भारत र पाकिस्तानको प्रवेशसँगै संगठनको शक्ति विस्तार मात्र भएको छैन, एसियाली एकतासमेत प्रदर्शन भएको छ । भारतका विदेशमन्त्री एस. जयशंकरसमेत सहभागी बैठकले क्षेत्रीय सहयोगमा जोड दिँदै सन् २०३० सम्मको आर्थिक विकास रणनीति, बहुपक्षीय व्यापार र आर्थिक सहयोगको कार्यक्रमको कार्यान्वयन गर्ने समझदारी गर्यो । बैठकले लिएको अर्को महत्त्वपूर्ण निर्णय हो– विवाद र मतभेदको शान्तिपूर्ण समाधान ।
सार्वभौम राष्ट्रका रणनीतिक स्वायत्तताका विषय छन्, समस्या छन् र समझदारी पनि कायम भएका छन् । आजको यथार्थवादी विश्वमा कुनै पनि राष्ट्रले पहिलो प्राथमिकतामा राख्ने उसको राष्ट्रिय स्वार्थ नै हो । एसियाली शक्तिको सहकार्य भनिरहँदा देश विशेषका स्वार्थ र प्राथमिकता फरकफरक हुन सक्छन् । भारत र चीनले अन्य एसियाली राष्ट्रसँग आफ्ना सम्बन्ध विस्तार गरिरहेका छन्, आफ्नै समानान्तर संरचनाबाट पनि । त्यसको उदाहरण चीनको बीआरआई र भारतले अघि बढाएको अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात सञ्जाल हुन्, जसले भारतलाई इरान, मध्य एसिया र रुससँग जोड्छ । त्यस्तै भारत–मध्यपूर्व युरोप आर्थिक मार्ग हो । बीआरआईलाई चुनौती दिन भारतले यी करिडर अघि बढाएको हुन सक्छ । तर बीआरआई र यी करिडरले साझा रूपमा भने एसियामा पश्चिमा प्रभुत्वलाई कम गर्छन् ।
जसरी भारत र चीनबीच समझदारी विकास भइरहेको छ, त्यसैगरी चीन र रुसबीचको सम्बन्ध रणनीतिक साझेदारितामा रूपान्तरण भएको देखिँदै छ । दुवै देशले पूर्वी चिनियाँ समुद्रमा संयुक्त सैन्य अभ्यासमार्फत सैन्य सम्बन्ध बलियो बनाएका छन् । अहिले उत्तर कोरियाले रुसको सहयोगमा सेना परिचालन गर्नु मस्को र बेइजिङबीचको विकसित सम्बन्धकै परिणाम हो । भारतले ‘मेक इन इन्डिया’ मार्फत सैन्य आत्मनिर्भरता जारी राखेको छ ।
परिवर्तित विश्व व्यवस्थामा नेपाल कहाँ ? प्रश्न उठ्छ । नेपालले भारत र चीनको सीमा समझदारीको स्वागत गर्नुपर्छ किनकि यसको सबैभन्दा ठूलो आर्थिक लाभ नेपालले लिन सक्छ । विश्वमा चलिरहेका युद्धको संवादबाट समाधान गर्ने प्रयासलाई समर्थन गर्नुपर्छ । भारत र चीनबीच सबैभन्दा तनावको विषय रहँदै आएको सीमामा शान्ति कायम गर्ने समझदारी हुन्छ भने नेपालले यी छिमेकीसँग मित्रता र सहकार्यबाहेक अरू केही सोच्नु पर्दैन । भारत र चीन मिल्ने दिशातिर अग्रसर हुने तर नेपालचाहिँ भारतसँग सहकार्य गर्दा चीन रिसाउँछ कि वा चीनसँग सहकार्य गर्दा भारत रिसाउँछ कि भनेर स्वायत्त रूपमा निर्णय गर्न
नसक्ने अवस्थामा रहनु भनेको विडम्बना हुन्छ । किनकि सबैले आफ्नै स्वार्थ हेर्ने हो । हेर्नोस् त्, दक्षिण चिनियाँ समुद्रमा तनाव भइरहँदा, हिन्द महासागरमा सामरिक प्रतिस्पर्धा भइरहँदा वा रुस–युक्रेन, इजरायल–प्यालेस्टिनी, हेजबुल्लाह, इरान युद्ध भइरहँदा अमेरिका, युरोपलाई कहाँ दुखेको छ ? किनकि भूराजनीतिक अवस्थितिले कतैबाट पनि उनीहरूको भूगोल युद्धस्थल बन्दैन । उनीहरू सुरक्षित छन् । युद्धले यता पचासौं हजार मारिएका छन् र लाखौं घरवारविहीन भएका छन् । बुझौं ।
