क्षरणकालमा सुखरात्रि 

अँध्यारो कुनाबाट अराजकता फैलाउने र त्यसमा आफ्नो स्वार्थको टर्च बाल्ने मनसाय बोक्ने कम छैनन्  । यो सत्ता र सडकले आफ्नो ओज गुमाउँदै गएको क्षरणकाल हो ।

कार्तिक १५, २०८१

चन्द्रकिशोर

सत्तापक्षले जनताबाट वाहवाही पाउन सकिरहेको छैन । प्रधानमन्त्री खड्गप्रसाद ओलीले जतिसुकै हावा भर्न खोजे पनि बेलुन फुस्किँदै गएको छ । यसपटक प्रधानमन्त्री बन्न पुग्दा उनीसँग सम्भवतः अन्तिम मौका थियो, एक ताजा सुरुआत गर्न । भुइँतहका आवश्यकता र अभीष्टअनुसार उनले एकएक कदम बढाएको भए गिन्तीको सय दिनमा ताली पाउने स्थिति बन्थ्यो । 

अतिरञ्जित ‘अस्थिरता’ का चुनौतीसँग जुझ्नका लागि चालु ‘गठबन्धन–राज’ को अर्थ केही छ ? सुरुमा समीकरण फेरिँदा यसलाई अस्थिरता, अनिश्चितता र अव्यवस्थाका खिलाफ एक मजबुत कदम बताइयो । राजनीतिमा भरोसा फर्काउनका लागि ‘कडा औषधि’ बताइयो । तर छिट्टै मनमौजीको बढ्दो रोगमै बदलिएर आयो यो । आखिर अदालतले भन्नुपर्‍यो— जसले, जहाँ, जसरी पनि चन्दा लिन मिल्दैन । दान ग्रहण गर्ने र दातालाई अभिषेक गरेर सार्वजनिक जीवनमा बन्दनीय बनाउने सरकार प्रमुखको महान् योजना चकनाचुर भयो । लोकतन्त्रप्रतिको जनभरोसा कायम फगत लोकतन्त्रको जय जय गरेर हुँदैन ।

सत्ताको जनप्रियता फिक्का बन्दै जाँदा विपक्षले संसद् र सडकमार्फत त्यसको भर्पाइ गर्छ । सत्ताको लुकामारी खेलबाट अचानक अलग हुन पुगेका प्रचण्ड, आत्ममन्थनको सय दिन गुजार्न नभ्याउँदै स्वयंलाई संघर्षमा उभ्याउनुभन्दा सत्ता पक्षलाई सराप्नमा उद्यत देखिए । उता रवि लामिछाने टोलीको संघर्ष पोखरामा नांगियो । अँध्यारो कुनाबाट अराजकता फैलाउने र त्यसमा आफ्नो स्वार्थको टर्च बाल्ने मनसाय बोक्नेहरू पनि कम छैनन् । सामाजिक न्यायका लागि छोटाछोटा आन्दोलनहरू पछिल्ला वर्ष भइरहेकै छन् । तर समग्र अभिप्राय सन्निहित आन्दोलन जन्मिन सकेको छ । यो परिस्थितिमा सत्ता र विपक्ष दुइटैको प्रदर्शन फितलो छ । यो असाधारण अवस्था हो । 

सडकले आन्दोलन त कुरिरहेको छ । तर सडकमा हुने उपस्थिति कलाविहीन तमासा हुन पुगेको छ । प्रचण्ड जति उम्लिन खोजे पनि उम्लिन सकिरहेका छैनन् । वैकल्पिक शक्ति बन्न हतारिएकाहरू स्वयं बैसाखीमा हिँड्नुपरिरहेको छ । ‘सडक अस्तित्व’ को क्रान्तिकारी अवधारणाको राजनीतिक महत्त्वलाई आत्मसात् नगरी केवल शक्ति विन्यासमा भागबन्डा वा ढाकछोपका लागि गरिने जुनसुकै चटकले सडकमा मनोरञ्जन दिए पनि तागत दिँदैन । त्यसैले भुइँमान्छेलाई यतिखेर सडकले आकर्षित गर्न सकिरहेको छैन । यथार्थमा संसद् निष्प्रभावी छ, यता सडक सुनसान छ ।

अहिले जो सत्तामा छन् वा सत्ताबाहिर, त्यहाँ जे व्याप्त छ— त्यो हो व्यक्ति पूजा, संगठनको केन्द्रीकरण, प्रादेशिक ढाँचाको उपेक्षा, तथ्यको ढाकछोप र आफ्नो मान्छेको संरक्षण । यसलाई गाउँ देहातका सामान्य जनले यस प्रकार बुझेका छन्— ओली भनेको एमाले हो, देउवा भनेको कांग्रेस हो वा प्रचण्ड भनेको माओवादी हो । अहिले जो जहाँ दलपति छन्, तिनीहरूले दल कब्जा गरेसरहको आन्तरिक स्थिति निर्माण गरेका छन् । त्यहाँका कारिँदाहरू भजन गाउँछन्— ‘तेरे सुबह की जय, तेरे शाम की जय, तेरे काम की जय, तेरे नाम की जय ।’ यसैले दलहरूको झ्यालढोका बन्द भएर निस्सासिएको अवस्था छ । उकुसमुकुस छ । बाहिर–भित्र जो सन्नाटा छ । त्यो सधैं रहिरहने अवस्था भने पक्कै होइन । हामी यहीँ जकडिएका छौं । न त संसद् संसद् जस्तो छ, न सडक सडकजस्तो लोक सुवास लिएर फक्रिन सकेको छ ।

सडकसँग गाँसिएका अनेक अर्धसत्य छन्, त्यसको पुनर्पाठको खाँचो छ । पहिलो हो, सत्ताको खेल खेलिरहने र फुत्त बाहिर हुन पुग्दा सडक तताउन पुग्ने । पहिलो संविधानसभाका बखत प्रचण्ड सरकारबाट बाहिरिएर पनि उनको पूर्ण परीक्षण हुन सकेको थिएन । आमजनप्रति उनमा आशा थियो । यिनले साँच्चिकै हस्तक्षेप गर्न सक्छन् भन्ने भुइँभाव लुप्त भएको थिएन । यस्तोमा उनी ललकार्दा एक गुञ्ज उत्पन्न हुन्थ्यो । संविधान जारी गर्दासम्म ‘पुष्पकमल’ ओइलाइसकेको थियो । बास्नारहित कागजको फूलझैं । दोस्रो, पुराना दलहरूलाई गाली गरेर सडक तताउने । यो सूत्र जो जसले बोकेर आए, उनीहरू स्वयंको कपडा फुस्किँदै गयो । किनभने जेजस्ता आरोप–आक्षेप लगाएर आलोचना गर्थे, त्योभन्दा सर्वथा भिन्न तिनीहरूको पनि रबैया झल्किएन । तेस्रो, संघीयता र गणतन्त्रलाई सरापेर सडकबाट शक्ति आर्जन गर्न चाहनेहरू । चौथो, खासगरी कांग्रेस र एमाले बृन्दलाई लाग्छ— अहिले पनि हाम्रै संगठन देशव्यापी छ, त्यस्तै परे सत्ता र सडक हामी नै कब्जा गरेर देखाउँछौं । हेरौं को आउँछ सडकमा ?

ओली र देउवा आत्मकेन्द्रित, अदूरदर्शी, हठी र असुरक्षित व्यक्तित्वका नेता हुन् । यी चारवटै प्रकारका सडक तताउने सोच एक भ्रान्तिपूर्ण प्रयास हो । यी कोहीसँग समस्याबारे स्पष्ट बुझाइ र व्यावहारिक सामाधान दुइटैको अभाव छ । यस्तोमा आह्वान गर्दैमा सडक आन्दोलन सम्भव हुँदैन । यो सत्ता र सडकले आफ्नो ओज गुमाउँदै गएको क्षरणकाल हो । सडकले व्यवस्थामा आमूल परिवर्तनका लागि लक्ष्य राख्ने हो । यो नारा दिनेले आफ्नो विश्वसनीयता स्थापित गर्न सक्नुपर्छ । निराशाको माहोलमा सलाई कोर्न त सकिएला तर दावानल भयो भने त्यो साम्य कसरी हुने ?

यस्तैमा बाह्य दुकानदारहरू आआफ्नो पसल थाप्न मायावी रूपमा प्रवेश पाउँछन् । एकपटक चिन्तित भएर प्रदीप गिरिले भनेका थिए— ‘सिद्धान्तका ठाउँमा नितान्त व्यक्तिगत र मनोगत चिन्तन व्याप्त छ र नेता विशेषले जे बोल्यो त्यो नै नीति हुने गरेको छ । कार्यकर्ताहरूलाई नीति र नाराको शाब्दिक अर्थान्तर थाहा भएन । कार्यकर्ताहरूको राजनीतिक प्रशिक्षण र सांस्कृतिक रूपान्तरणको कुनै प्रयास गरिँदैन । यस्तो स्थितिमा दलहरू रहिरहनु भनेको एक प्रकारको गोलचक्करमा कैद हुनु हो ।’ जति गरे पनि उही परिधिभित्र भौंतारिरहन्छ । हो पनि, नेपालको लोकतन्त्र खासगरी कांग्रेस–एमालेले जनआन्दोलन दोस्रोका बखतका संकल्प, स्थापित गर्न खोजेको सिद्धान्त–विस्मृतिको मूल्य आज तिर्दै छन् । ओलीजी, यसपटक नयाँ अवतारमा देखिन सकेनन् ।

सत्ताले आफूलाई मदमस्त हात्ती जस्तो हिँडाइ राख्यो भने हस्तक्षेप सडकबाटै गरिने हो । सडक सुनसान देखिनुभएन । कुनै महलमा पनि मान्छेको बसोबास लामो समय भएन भने त्यो भूत बंगला कहलिन्छ । सडक पनि उस्तै हो । त्यहाँ संघर्ष गर्नेहरूमा उत्साह, जस्तोसुकै प्रतिकूलता सहने उत्सर्गको भाव, लोकसत्तालाई स्थापित राख्न सडक संघर्षको अनुशासन पालना आधारभूत रूपमा चाहिन्छ । हाम्रो आंकाक्षा आफ्नो समाजमा लोकतन्त्रात्मक व्यवस्थालाई साँचो अर्थमा कायम राख्ने हो । लोकतन्त्र एक राजनीतिक व्यवस्था त हुँदै हो । यो जीवनको नैतिक प्रणाली हो । यो सबैले मानेको तथ्य हो, हाम्रो लोकतन्त्र आज संकटग्रस्त छ । तर यो पनि सत्य हो, नेपालमा लोकतन्त्रको भविष्यको प्रश्न छ, यो जोड दिएर भन्नुपर्छ हाम्रो वर्तमान संसदीय लोकतन्त्र हाम्रो विविधताका लागि सर्वाधिक अनुकूल छ ।

मान्छेले प्रयत्न गरेर नै अवस्थामा सुधार हुन सक्छ । दुश्चक्रबाट उम्किन पनि सामूहिक कोसिस चाहिन्छ । आचरण उपदेशभन्दा ज्यादा कारगर हुन्छ । इतिहासले दिएको पाठ पनि यही हो अहिंसक संघर्ष सशस्त्र संघर्षको तुलनामा असाध्यै गम्भीर, टिकाउ र जनसमावेशी हुन्छ । सडकले भूमिगत संघर्ष वा कुनै प्रकारको हिंसक मनसायलाई अस्वीकार गर्छ । सडकको तागत नै उसको शान्तिधर्मिता हो, समावेशीपन र सामूहिकता हो । साम्प्रदायिकता र जातिवादिता लामो समयसम्म सडकमा टिक्न सक्दैन । उपद्रवी वा अराजक प्रवृत्ति सडकले थेग्न सक्दैन, यो त राज्य दमन वा कुनै प्रकारको हस्तक्षेपका लागि परिस्थितिको निर्माण गर्न टेवा दिन्छ ।

आखिर हामीले दलविहीनता चाहेको होइन । संघीय गणतन्त्रको विकल्प खोजेको होइन । आमजनमा राजनीतिप्रति भरोसा कायम गराउने हो । यो मुलुकभित्रै आशा जगाउने इच्छा हो । कसैलाई राजा–महाराजा वा देवदूत बनाउने आशय होइन । कुनै अवैधानिक सत्तालाई सडकमार्फत अभिनन्दन गर्न खोजेको होइन । यो सडक खाली राख्ने समय होइन । ‘लोकतन्त्र सेनानी’ गण सडकमा देखिएन भने खाली ठाउँमा बेफिक्रीले तानाशाही जिन्दावाद गर्नेहरू खडा हुन्छन् । 

आज दीपोत्सव । लोकोत्सवको दिन । मधेशको गाउँघरमा आजको दिनलाई सुखरात्रि भन्छन् । लुकारी लिएर घरमूली अँध्यारो कोठाहरूमा उज्यालोको खोजी गर्ने दिवस । घरका महिला सदस्य नाङ्लो ठटाउँदै घर परिक्रमा गर्दै गुनुनाउँछन्— अन्न धन लक्ष्मी घर आऊ, दारिद्र्य बाहिर जाऊ । हाम्रो सामाजिक जीवनको प्रत्येक क्षेत्रमा क्षरण हुँदै जानु भनेको नैतिक मूल्यको दारिद्र्य हो । सडकमा लुकारी लिएर लोकतन्त्रको सुखरात्रिका लागि सामूहिक गान गर्ने लोकपर्व हो आज ।

चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

Link copied successfully