खेलाडीको पारिश्रमिक, आर्थिक भविष्यको सुरक्षित आधार, एक्पोजरको प्राप्तिदेखि उनीहरूमाथि राज्यको लगानी असाध्यै न्यून छ । पहिलेभन्दा सुधार आएको पक्कै हो तर अपर्याप्त छ । पूर्वाधार निर्माण त झन् कमजोर छ ।
‘साफ वुमन्स च्याम्पियनसिप’ को उपाधि उचाल्नबाट नेपाल फेरि पनि वञ्चित भएको छ । बुधबार काठमाडौंस्थित दशरथ रंगशालामा भएको सातौं संस्करणको फाइनल खेलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै उपाधि उचाल्ने नेपालको सपना पुनः टरेको हो । यसका सात संस्करणमध्ये यस पटकसमेत गरी ६ पटक फाइनलमा पुगेको नेपाल ६ नै पटक पराजित भएको हो ।
त्यसो त नेपाल साफ, साग, वुमन्स गोल्डकप, नादेज्डा कप र वाफ च्याम्पियनसिप गरी १२औं पटक फाइनलमा पुगेको थियो । तर सबै प्रतियोगितामा नेपालको नियति उस्तै हुन पुगेको छ । यद्यपि खेलमा जितहार स्वाभाविक प्रक्रिया हो भन्ने उक्तिलाई सम्झिनु र आगामी प्रतियोगिताका लागि अहिल्यैदेखि तयारी गर्नु आवश्यक छ ।
प्रतियोगिताभर नेपालको प्रदर्शन उत्साहजनक नै रह्यो । कात्तिक २ मा सम्पन्न भुटानविरुद्धको पहिलो खेल गोलरहित बराबरीमा खेल्नुको अतिरिक्त बाँकी खेलमा नेपालले सनसनीपूर्ण नतिजा प्राप्त गर्यो । कात्तिक ५ मा माल्दिभ्सलाई ११–० ले र कात्तिक ८ मा श्रीलंकालाई ६–० ले हराउन सक्यो । त्यस्तै, कात्तिक ११ मा भारतसँगको तनावपूर्ण खेलमा टाइब्रेकरमार्फत नतिजा आफ्नो पक्षमा पार्यो । सेमिफाइनसम्मका ती नतिजाले नेपालको महिला फुटबल उत्कृष्ट लयमा रहेको र नतिजा आफ्नो पक्षमा पार्न सक्षम रहेको सन्देश दिएको थियो । बुधबार सम्पन्न बंगलादेशविरुद्धको फाइनल खेलमा पनि नेपालको प्रदर्शनी उत्साहजनक नै थियो । तर फुटबलको यथार्थ त्यही हो, जसले गोल गर्छ, उसैले जित्छ । फाइनलमा नेपाल त्यही यथार्थ स्थापित गर्न चुक्यो ।
प्रतियोगिताको खेल र परिणामलाई पृष्ठभूमिमा राखेर छलफल गर्नुपर्ने थप पक्षहरू छन् । पुरुष टोलीले खेल्ने फुटबल तथा क्रिकेट प्रतियोगिताका जुनसुकै सन्दर्भमा दर्शकको भीड थामिनसक्नु हुने गरेको त आम विषय हो । तर यसअघि महिला फुटबल मात्रै होइन, महिला टोलीले खेल्ने जुनसुकै खेलले पनि यस तहको चर्चा र सनसनी सिर्जना गर्न सकेको थिएन । तर ‘साफ वुमन्स च्याम्पियनसिप’ को यस संस्करण भने अपवाद रह्यो । रंगशालामै उपस्थित भएर खेल हेर्ने दर्शकको भीड मात्रै होइन, युट्युबबाट प्रत्यक्ष प्रसारण हेर्नेको संख्या पनि उत्साहजनक रह्यो । ठाउँठाउँमा राखिएका ठूला स्क्रिनमा पनि सहभागीको संख्या उत्साहबर्द्धक रह्यो । नेपालले खेल्ने जुनसुकै खेलप्रति नेपाली दर्शकबीच बढ्दो मोह र अन्तरक्रियालाई पुष्टि गर्छ । खेलप्रतिको यो लगावलाई पुँजीकृत गर्न ढिलाइ भइसकेको छ । सरकारदेखि खेलसम्बद्ध संस्थाहरूले त्यसका उपायका बारेमा अविलम्ब सोच्नुपर्छ ।
खेलाडीको पारिश्रमिक, आर्थिक भविष्यको सुरक्षित आधार, एक्पोजरको प्राप्तिदेखि उनीहरूमाथि राज्यको लगानी असाध्यै न्यून छ । पहिलेभन्दा सुधार आएको पक्कै हो तर अपर्याप्त छ । पूर्वाधार निर्माण त झन् कमजोर छ । देशमा एउटा मात्रै अन्तर्राष्ट्रिय रंगशाला छ । त्यसको पनि अन्तर्राष्ट्रिय मान्यता गुम्ने र फिर्ता आउने भइरहन्छ । अवस्था यस्तो छ कि, दशरथ रंगशालाको क्षमता करिब १५ हजार मात्रै छ । त्यही क्षमताभन्दा बढी दर्शकको भीड लगाइन्छ । तैपनि, दर्शकहरू टिकट नपाउँदा नाराबाजी गर्न बाध्य छन् । यी सबै सन्दर्भको निष्कर्ष के हो भने खेलाडीलाई खेलेरै जिउन सक्ने आधार उपलब्ध बनाउनदेखि देशभित्र भौतिक संरचनाको निर्माणगर्न आवश्यक भइसकेको छ । देशमा खेलकुदको वातावरण बनाउन आवश्यक छ । नत्र खेलाडी पलायन हुने र दर्शक निराश हुने प्रवृत्तिले नै निरन्तरता पाइरहन्छ ।
आयोजक र प्रतिस्पर्धी टिमका हिसाबले पनि नेपालले समीक्षा गर्नुपर्ने थप विषय रहेको यस पटकको प्रतियोगिताले प्रस्ट पारेको छ । मुख्यतः आइतबार भारतसँगको सेमिफाइनल खेलले त्यो आवश्यकतालाई उजागर गरेको छ । त्यस खेलमा नेपाल विजयी त भयो । तर, खेलका विश्वव्यापी प्रचलन, त्यसक्रममा आइपर्ने तनावको व्यवस्थापन र खेलाडीले असहमति दर्ज गर्ने विषयमा भने हामी कच्चा नै रहेको देखियो । खेल कौशल निखारिँदै गएको भए पनि अनुशासनको प्रश्न भने खेलाडीदेखि दर्शकसम्मै सोझियो । खेलाडीका निम्ति कौशलको जति महत्त्व हुन्छ, अनुशासनको थप महत्त्व हुन्छ ।
स्पष्टै छ, खेलका क्रममा जित वा हार हुन सक्छ तर अनुशासन हार्दैन । तर भारतविरुद्धको सेमिफाइनल खेलमा खेलाडीले आफ्नो असहमति दर्ज गर्ने नाममा घण्टौं खेल रोकिन पुग्यो । ठूलो दुर्घटना त भएन तर दर्शकले पनि पानीका बोतलदेखि घडीसम्म मिल्काउने हर्कत गरे । समग्रमा त्यो खेल विश्वकै फुटबल इतिहासमा खराब उदाहरणका रूपमा प्रस्तुत हुनेछ । यो प्रवृत्तिमा सुधार गर्नका लागि नेपालको समग्र खेलकुद, विशेषतः फुटबलको नेतृत्व गर्नेहरूले पहलकदमी लिन आवश्यक छ ।
राखेप तथा एन्फाको खराब व्यवस्थापन त छताछुल्लै भएको छ । टिकट वितरणदेखि भीड व्यवस्थापनसम्ममा सम्बन्धित निकायहरू चुकेको देखियो । किनकि खेल प्रतियोगिता भइरहेका बेलामा भीड व्यवस्थापनका विश्वव्यापी विधि र रणनीतिहरू हुने गर्छन् । हामीकहाँ भने आयोजक देशका रूपमा खासै जिम्मेवारीबोध गरिएको देखिएन । केवल रंगशालाभित्र दर्शक छिराइदिने र छाडिदिने प्रवृत्ति देखियो । विशेषतः एन्फाले आफ्ना कमजोरीहरूप्रति गम्भीर समीक्षा गर्न आवश्यक छ । जसबाट आगामी दिनमा यस्ता प्रतियोगिताको प्रभावकारी आयोजना गर्न सहयोग पुगोस् ।
