सार्वजनिक शिक्षा पुनःसंरचनाको खाँचो

हामीलाई जादूको शैलीमा नतिजामा सुधार चाहिएको छ । तर, यसका लागि निरन्तर काम गर्नुपर्छ र लामो समय लाग्छ । सुधारप्रतिको जिम्मेवारीबोध कम भएर हो कि परीक्षाका लागि चार महिना बाँकी रहँदा मात्र नतिजा सुधारका काम सुरु हुन्छन् । 

कार्तिक ८, २०८१

देवीराम आचार्य

The need for public education restructuring

एसईईको उत्तीर्ण प्रतिशत बढाउने उपायबारे गत असोजमा राजधानीमा उच्चस्तरको छलफल र प्रस्तुतीकरण गरिएको थियो । नतिजा सुधारका उपायबारे जति चर्चा भयो, लाग्थ्यो, अब नतिजा पक्कै सुध्रिन्छ । तर समस्या केमा छ, मुख्य कारण के हो, नतिजा कसरी सुधार हुन्छ भन्ने विषयमा कम र त्योभन्दा बढी अनेकौं विषयमा बहस भयो ।

कार्यक्रममा पाठ्यक्रम राम्रो नभएको, परीक्षाका प्रश्न कठिन भएको, विशिष्टीकरण तालिका नमिलेको, प्रश्नमा ‘ब्लुम्सको ट्याक्सोनोमी’ नमिलेको, उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण राम्रोसँग नभएको, अंक जोड्ने क्रममा त्रुटि भएको, परीक्षामा केन्द्राध्यक्ष र निरीक्षकलाई दिइने भत्ता कम भएको लगायतका कुरा उठे ।

शिक्षकमा प्रश्न बनाउने सीप नभएको, विद्यालयका परीक्षामा प्रश्नपत्रको व्यापार हुने गरेको, शिक्षक दरबन्दीको अभाव भएको, गणित र विज्ञानका शिक्षक नपाइएको, शिक्षक तालिम प्रभावकारी नभएको, शिक्षाशास्त्र संकाय मात्र पढेर शिक्षक हुने नीति ठीक नभएको, शिक्षा ऐन जारी नभएको, समयमा तलब नदिएको विषयमा छलफल चल्यो । अभिभावकले ध्यान नदिएको, विद्यार्थीले नपढ्ने र मोबाइलमा धेरै समय बिताउने कुरा उठाउँदै नतिजा सुधारका लागि गर्नुपर्ने कामका लामो सूची प्रस्तुत भयो । तर, नतिजा सुधारको मुख्य कर्ता को हो र मुख्य समस्या के हो भन्ने स्पष्ट थिएन ।

नतिजा राम्रो नहुनुमा धेरै पक्ष जिम्मेवार होलान् तर सुधारका लागि ध्यान दिनुपर्ने मुख्य पक्ष कक्षाकोठाभित्रको शिक्षण सिकाइ, शिक्षकको क्षमता विकास, उत्प्रेरणा र जवाफदेहिताका कुरा तुलनात्मक रूपमा कम भए । विद्यार्थीको नतिजाप्रतिको जवाफदेहिताको विषय समावेश हुन सकेन । विद्यार्थीको नतिजा सुधार्ने कुरा भौतिक विज्ञानमा हुने क्रिया प्रतिक्रिया वा गणितको जस्तो जोड–घटाउको विषय होइन भन्ने हाम्रो बुझाइमा समस्या छ ।

कुनै अध्ययन अनुसन्धान नगरी मनमा लागेका भरमा धेरै कुरा हाम्रा बुझाइमा नतिजा खस्किनुका कारण बन्छन् । हामीलाई जादूको शैलीमा नतिजामा सुधार चाहिएको छ । तर, यसका लागि निरन्तर काम गर्नुपर्छ र लामो समय लाग्छ । सुधारप्रतिको जिम्मेवारीबोध कम भएर हो कि परीक्षाका लागि चार महिना बाँकी रहँदा मात्र नतिजा सुधारका काम सुरु हुन्छन् । समस्यालाई बुझ्ने दृष्टिकोणमा भएको विविधता नै हाम्रो शिक्षामा सुधार नहुनुको एउटा कारण हो । 

कतिपयले सहज रूपमा भन्छौं— नतिजा केही होइन, फेल भएर केही बिग्रिँदैन । यसरी कुरा गरेर नतिजा सुधार हुँदैन । परीक्षा प्रणालीका बारेमा बहस हुन सक्छ तर औपचारिक शिक्षामा १०, १२ वर्ष समय बिताएपछि उक्त तह पार गर्नु अनिवार्य हुन्छ । फेल भएर केही हुँदैन भने १० वर्ष स्कुल किन गएको भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ । शिक्षा उत्तीर्ण प्रतिशत मात्र पक्कै होइन तर १० वर्ष विद्यालयमा विताएपछि कक्षा १० उत्तीर्ण हुनैपर्छ । उत्तीर्ण हुने कुरालाई प्रतिशत र संख्यामा हिसाब गरेर मात्र हेरिनु हुँदैन ।

एक जना विद्यार्थी अनुत्तीर्ण हुँदा ऊ र उसका अभिभावकका लागि त्यो शतप्रतिशत अनुत्तीर्ण हो । १० वर्ष अवधि विद्यालयमा बिताएर शिक्षाको माध्यम भाषामा लेखिएको वाक्य पढ्न नसक्ने, शुद्धसँग लेख्न नसक्ने, साधारण हिसाब गर्न नसक्ने हुन्छ भने त्यो शिक्षा प्रणाली पूर्णतः असफल हो । शिक्षाको बृहत् अर्थ, औपचारिक शिक्षा र त्यसका कमजोरीलाई एउटै अर्थमा बुझ्ने र सोहीअनुसार व्याख्या गर्ने हाम्रो अर्को समस्या हो । 

साना कक्षाबाट कमजोर भएको सिकाइ माथिल्ला कक्षामा सुधार गर्न कठिन हुन्छ भन्ने बुझाउन सकिएकै छैन । अंक थप गर्दै कक्षा चढाउने तर सिकाइ थप नहुने हाम्रो शिक्षण सिकाइको अभ्यासमा भएको समस्याको बारेमा कहीँकतै चर्चा हुँदैन । कक्षा ३, ५, ८ को नतिजाको कुरै नगरी कक्षा १० मा नतिजा सुधारका प्रयास गर्नु कति अर्थपूर्ण र प्रभावकारी होला ? निश्चित रूपमा राम्रो नतिजाका लागि धेरै पक्ष जिम्मेवार हुन्छन् तर केही पक्ष मुख्य जिम्मेवार र केही सहायक हुन्छन् । एउटै पाठ्यक्रम र परीक्षा प्रणालीमा उस्तैउस्तै विशेषता भएका विद्यालयअनुसार देखिने भिन्नभिन्न नतिजाका लागि मुख्य जिम्मेवार कक्षाकोठाको शिक्षण सिकाइ र विद्यालयको वातावरण हो । एउटै वडामा रहेका उस्तै परिवेश, आर्थिक सामाजिकस्तर भएका अभिभावक, भौतिक सुविधा र शिक्षक उपलब्धता भएका दुई विद्यालयको नतिजामा देखिने ठूलो भिन्नताका लागि जिम्मेवार पक्ष भनेको कक्षाकोठा नै हो ।

प्रारम्भकि कक्षामा गर्ने निरन्तर विद्यार्थी मूल्यांकन, उदार कक्षोन्नति, अनुत्तीर्ण गर्न नपाइने व्यवस्था, कक्षामा दण्ड दिन नपाइने र स्वतः पास भइने अक्षरांकन पद्धतिले सिकाइ कमजोर भएको भन्ने गरिन्छ, जुन कारण नभई बहाना मात्र हुन् । निरन्तर विद्यार्थी मूल्यांकनलाई मिहिनेतसाथ कार्यान्वयन गर्ने हो भने यसले सिकाइ सुनिश्चित हुन्थ्यो तर यसको वास्तविक कार्यान्वयन कक्षाकोठामा भएकै छैन । नीतिगत अस्थिरता मात्र होइन, नीतिगत व्यवस्था र त्यसको कार्यान्वयनका बीचमा धेरै ठूलो भिन्नता छ । 

नतिजा प्रकाशनमा उत्तीर्ण र अनुत्तीर्ण गर्ने व्यवस्थामा परिवर्तन गरी अक्षरांकन पद्धति सुरु गरियो । अक्षरांकन पद्धतिको सुरुवातका चरणमा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न यसको आवश्यकता भएको तर्क गरिएको थियो । अक्षरांकन पद्धति आफैंमा सिकाइमा सुधार गर्ने र कमजोर बनाउने दुवैसँग सम्बन्धित छैन । यो त केवल विद्यार्थीले प्राप्त गरेको अंकको समूहलाई अक्षरको संकेतमा परिणत गर्ने विषय मात्र हो । हामी एकथरीले अक्षरांकन विधिले बिगारेको हो भनिरहेका छौं तर अर्को पक्ष यसलाई परिवर्तन र प्रभावकारी बनाउनेभन्दा लहडका भरमा संशोधन गरिरहन पाएर रमाएका छौं । 

अक्षरांकन पद्धतिले विद्यार्थीले परीक्षामा फेल भएर आत्महत्या गर्ने छैनन्, विद्यालयका बीच राम्रो र नराम्रोको अस्वस्थ प्रतिस्पर्धा हुने छैन, कसैले आफूलाई, प्रथम, दोस्रो भनेर घोषणा गर्ने छैनन्, कोही पनि फेल भएको र कमजोर भए भन्ने लघुताभासमा पर्ने छैनन् भन्ने बुझाइ छ । यी शैक्षिक गतिविधिका राम्रा पक्ष नै हुन् तर हामीले यी पक्षमा पनि सुधार गर्न सकेनौं । यसै वर्ष मात्र २ जना विद्यार्थीले आत्महत्या गरेको समाचार प्रकाशित भयो ।

देशकै र जिल्ला प्रथम को भयो भनेर खोज्ने काम अहिले पनि भइरहेको छ । ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका विद्यालयले पनि हाम्रो विद्यालय पालिकाको प्रथम विद्यालय भनिरहेका छन् । सबै विद्यार्थीको जीपीएसहितका विवरण सञ्जालमा पोस्ट गर्ने प्रतिस्पर्धा नै चलिरहेको छ । विद्यार्थीको कमजोर सिकाइमा मैले वा हामीले के गर्न सकेनौं भनेर मन्थन गर्ने फुर्सद नै छैन । सामाजिक सञ्जाल हेर्दा मेरो त कमजोरी नै छैन, अरु सबै दोषी छन् भन्दै दोष देखाउने प्रतिस्पर्धा नै चलिरहेको हुन्छ । 

अक्षरांकन पद्धति लागू हुनु पहिले सयौं विद्यालयको नतिजा शून्य हुन्थ्यो । ५० प्रतिशतभन्दा बढी विद्यार्थीलाई फेल भएको लब्धांकपत्र दिन्थ्यौं, जुन फेरि सुरु भएको छ । दुई सयभन्दा बढी विद्यालयको नतिजा शून्य भयो । विद्यार्थीको सिकाइमा सुधार र सिकाइ सुनिश्चितता हो कि प्रमाणपत्रमा लेख्ने अक्षर र अंक ? विद्यार्थीको अगाडि बढ्ने बाटो उसलाई सिकाएर जान्ने बनाउने हो कि फेल नभएको भनेर मात्र ? बहस र छलफल यता हुनुपर्ने हो । सुधार गर्ने क्षेत्र विद्यार्थीको सिकाइ र कक्षाकोठाको पठनपाठनमा हुनुपर्ने थियो तर हाम्रो ध्यान सिकाइको प्रमाणीकरणमा र परीक्षामा बढी भयो । ग्रेड वृद्धि परीक्षामा कसलाई सहभागी गराउने, ननग्रेड कहिलेबाट लागू गर्ने, परीक्षा कसले चलाउनेजस्ता विषयमा केन्द्रित छौं, जुन सिकाइ सुधारका प्राथमिकता होइनन् । 

सार्वजनिक शिक्षाको सुधारका लागि टालटुल होइन, पुनःसंरचनाको खाँचो छ । देशभरका ५७ प्रतिशत सामुदायिक विद्यालयमा १०० जनाभन्दा कम विद्यार्थी छन् । यी विद्यालयको पुर्नसंरचना गरेर पर्याप्त वित्तीय व्यवस्था र शिक्षक उपलब्धता हुन सक्छ । सिकाइका लागि जवाफदेही संयन्त्रले साना कक्षाबाटै सिकाइ सुधार हुँदै जान्छ र माथिल्ला कक्षाको नतिजा सुधार हुन्छ ।

करिब ७५ वर्षदेखिको शिक्षक तालिम र शिक्षक बन्न आवश्यक पर्ने योग्यतामा निर्मम समीक्षा र सुधारको जरुरी छ । अतिरिक्त नतिजा हासिल गर्न अतिरिक्त साधन, स्रोत, मिहिनेत, लगानी र क्षमताको आवश्यकता हुन्छ । आधारभूत तहको कमजोर सिकाइ सुधार गर्ने विषय प्राथमिकतामा हुनुपर्छ, जसले क्रमशः माथिल्लो तहमा सुधार हुन्छ ।

देवीराम

Link copied successfully