अध्यादेशमा सत्ताको जोड, साना दल फुटाएर ठूलो बन्ने होड

झन्डै दुई तिहाइ समर्थनमा बनेको सरकार आफ्ना सबै आधारभूत कर्तव्य थाती राखेर साना दल फुटाउने गृहकार्यमा जुटेको छ । प्रतिपक्षी आवाजलाई कमजोर बनाउने सत्तासीन दलको यो योजनाले लोकतन्त्रमाथिको उनीहरूको प्रतिबद्धता मात्र कमजोर बनाएको छैन, एउटै डुंगामा सवार सत्तासीन दुई दलबीच आपसमा को ठूलो हुने भन्ने मनोवैज्ञानिक प्रतिस्पर्धा र अविश्वास छ भन्ने पनि छर्लंग भएको छ ।

कार्तिक ६, २०८१

सम्पादकीय

Emphasis on power in ordinances, small parties split up and become big ones

मुलुकका अनेकौं विशिष्ट समस्या समाधान गर्ने वाचाका साथ प्रतिनिधिसभाका दुई ठूला दल मिलेर गठन भएको सरकारको सर्वाधिक प्राथमिक दायित्व के होला ? सुशासन ? पूर्वाधार विकास ? औद्योगिक तथा व्यावसायिक वातावरण निर्माण ? शिक्षा र स्वास्थ्यमा सुधार ? वा राजनीतिक बेथितिको अन्त ?

विडम्बना, उत्तर माथिका कुनै पनि होइनन् । झन्डै दुई तिहाइ समर्थनमा बनेको सरकार आफ्ना सबै आधारभूत कर्तव्य थाती राखेर साना दल फुटाउने गृहकार्यमा जुटेको छ । प्रतिपक्षी आवाजलाई कमजोर बनाउने सत्तासीन दलको यो योजनाले लोकतन्त्रमाथिको उनीहरूको प्रतिबद्धता मात्र कमजोर बनाएको छैन, एउटै डुंगामा सवार सत्तासीन दुई दलबीच आपसमा को ठूलो हुने भन्ने मनोवैज्ञानिक प्रतिस्पर्धा र अविश्वास छ भन्ने पनि छर्लंग भएको छ । कांग्रेस र एमालेबीच को ठूलो होला भन्ने प्रश्न मुलुकका लागि गौण हो, यो प्रवृत्ति प्रणालीका लागि घातक छ, सरोकार यसैमा छ । 

राजनीतिक दलसम्बन्धी वा अन्य ऐन अपरिवर्तनीय होइनन् । तर परिवर्तनको आफ्नै नियमित विधि छ । सरकारले आवश्यक ठानेको कानुन संसद्बाट अनुमोदन गराएर ऐनको रूपमा लागू गर्न सक्छ । संसद् नभएको बेला कुनै ऐन अत्यावश्यक भएमा अध्यादेश ल्याउने अधिकार सरकारलाई छ, तर अहिले दल विभाजन गर्ने ऐन नभएका कारण विधिविधानमा कहाँ कस्तो अवरोध भयो ? बाढीपीडितलाई राहत दिन रोकियो कि भूकम्पपीडितका घर बनाउन ? दलसम्बन्धी अध्यादेशले राजमार्ग निर्माणको गति बढाउने हो, विदेश गएका युवालाई स्वदेशमै रोजगारी दिने हो ? देश निर्माणमा सरकारलाई कहाँ कसरी बाधा पुग्यो भन्ने पुष्टि गर्न नसकेसम्म अध्यादेश ल्याउने अभ्यास आफैंमा अलोकतान्त्रिक हो । अझ आफ्नो राजनीति गरिरहेका प्रतिपक्षी दल विभाजन गर्ने अभ्यास नेताको आत्मरतिबाहेक केही होइन । अझ, संसद्को अधिकार क्षेत्रमा रहेको कानुन निर्माण अधिकार सरकारले नै अभ्यास गर्ने प्रवृत्ति शक्ति पृथकीकरणको मूल सिद्धान्तविपरीत हो । 

कांग्रेस र एमालेका नेताहरूले साना दलका कारण शासकीय अस्थिरता बढेकाले ठूला दल नै बलियो बन्नुपर्ने तर्क गर्दै आएका छन् । यसै पनि देशमा कति दल हुने भन्ने विषय कानुनले होइन, जनमतले निर्धारण गर्ने विषय हो । त्यसमाथि अस्थिरताको दोष साना दललाई लगाउने सत्तासीन चस्मा नै दोषी छ । नेपालको राजनीति विगतले सिद्ध गरेको सत्य के हो भने, लोकतान्त्रिक विकास, सरकार गठन र विघटन, सुशासन, सार्वजनिक सेवा प्रवाहमा नकारात्मक प्रतिफलको ठूलो हिस्सा ठूलै दलको छ । कुर्सी दौडमा लागेका नेता ठूलै दलका हुन्, उनीहरूले नै आफ्ना दलभित्र संवादको दायरा साँघुरो बनाउँदै लगेका छन् । 

हुन त कुनै पनि नेता कुन दलमा रहने भन्ने उसको रोजाइको अधिकार हो । कुनै पनि दलले कानुनी बन्धनले मात्र दलको सदस्य बनाइरहन सक्दैन, बनाउन मिल्दैन । दलको विचार, उद्देश्य, कार्यक्रम, विश्वास र प्रतिबद्धताले मात्र नेता र नेतृत्वलाई जोगाउन सक्छ । तर, दलको टिकटमा निर्वाचित सांसदले सम्बन्धित दलसँगको अनुबन्ध त्याग्ने विषयमा पनि छुट्टै कानुनी मार्ग छ । तर, स्थापित कानुन नाघेर सरकारले धराप थाप्ने अभ्यास पछिल्ला वर्षमा तीव्र भएको छ । खासगरी २०७७ वैशाखयता यो अभ्यास तीव्र भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा विभाजन गराउन अध्यादेश जारी गराएका थिए, तर दल विभाजनको प्रयास तत्काल विफल भयो भने राजनीतिक र सामाजिक रूपमा आलोचना भएपछि सरकारले अध्यादेश नै फिर्ता लिएको थियो ।

२०७८ भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याइदिएपछि एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका थिए । यो अध्यादेश ल्याउन तत्कालीन प्रधानमन्त्री देउवालाई अहिले प्रतिपक्षमा रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हौसला थियो । त्यही बेला ल्याइएको अध्यादेशका प्रावधान खारेज भए पनि पुनः जगाउने काम नहुँदा राजनीतिक दलसम्बन्धी ऐनका केही प्रावधान अहिलेसम्म निष्क्रिय छन् । यो ऐनलाई पूर्ण बनाउनुपर्ने हो, तर तीन वर्षसम्म पनि यो काम प्रमुख दलको प्राथमिकतामा परेन । बरु, गत वैशाखमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नियमावलीमा सहजीकरण गरिदिएपछि जसपा नेपाल विभाजन भएर जसपा निर्माण भएको थियो । मन्त्रिपरिषद्मा रहेका सहकर्मी उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला दाहालले उनको दलको विभाजन गराइदिएका थिए । त्यो बेला ओलीको साथ पाएका दाहालले यस्तो अराजनीतिक अभ्यास गरेका थिए, तर अहिले भने प्रतिपक्षमा पुगेका दाहाल अध्यादेशको भरमा दल विभाजन गर्न पाइँदैन भन्ने पक्षमा छन् । 

कांग्रेस, एमाले र माओवादी वा अन्य कुनै पनि दलका नेताले के भन्छन् भन्ने मूल प्रश्न होइन । लोकतान्त्रिक अभ्यासले के भन्छ भन्ने प्रमुख विषय हो । जोकसैको पालामा भए पनि शासकीय शक्ति दुरुपयोग गरेर पार्टी विभाजन गरिनु आलोचनाकै विषय हो । साना दल फुटाउने उद्देश्यसहित अध्यादेश ल्याउन सत्ताधारी एमाले र कांग्रेसका शीर्ष नेताहरू चरणबद्ध भेटघाटमा छन् । सत्तापक्षको योजनामा प्रतिपक्षी दल विभाजन भएमा यो प्रणाली थप अर्को पटक आहत हुनेछ । सरकारको यो कदमले शासकीय बेथितिप्रति दिग्दार सर्वसाधारणलाई पनि थप निराश बनाउनेछ । शक्ति प्रदर्शन गर्ने र बदला लिने जस्ता उद्देश्यले हुने यस्ता अभ्यासको विरोध सत्तापक्षकै नेताहरूले पनि गर्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully