थकित, गलित र निराश नागरिकहरू भएको देश कहिल्यै उँभो लाग्दैन । अतः निराश मान्छेलाई आशाको उज्यालो दिन आन्दोलन आवश्यक छ । त्यसैले, हाम्रो सडक अहिले आन्दोलन पर्खिएर बसेको छ ।
मित्र तेज ढकाल, दिनेश बस्नेत र म एकदिन साँझ काठमाडौंको सडक यात्रामा थियौं । त्यो दसैंको दिन थियो । दसैंले गर्दा सडक सुनसान थियो । त्यही सुनसान सडकलाई हेरेर मित्र तेज ढकालले सोध्यो– ‘यो शान्त सडक हेर्दा तिमीलाई कस्तो लाग्दै छ ?’ हेर्दा साँच्चै काठमाडौंको सडक शान्त र सुनसान देखिन्थ्यो । तर मलाई लाग्यो, मान्छे नहुँदैमा सडकलाई शान्त कसरी भन्न सकिन्छ ?
मैले भने– ‘चुपचाप बस्दैमा मान्छे मौन छ भनेर कसरी भन्न सकिन्छ ? सडक शान्त छैन साथी, यो उकुसमुकुसमा छ । सायद यो आन्दोलन पर्खिबसेको छ ।’ ‘फेरि आन्दोलन ?’, साथीले सोध्यो । उसको स्वरमा आन्दोलनको संशय र त्रास थियो । मेरो मत भने आन्दोलनसँग डराउनु पर्दैन (तर अराजकतासँग डराउनुपर्छ) भन्ने हो । किनभने, लोकतन्त्रलाई गतिशील र अग्रगामी आकार दिन आन्दोलनहरू चाहिन्छन् । त्यसपछि हामीले काठमाडौंको सडक र आन्दोलनको आवश्यकतामाथि त्यस साँझ अनेक छलफल गर्यौं । यो लेख त्यही छलफलको भाव प्रस्तुति हो ।
के आन्दोलनहरू चाहिन्छन् ? विचार गरौं त, किन चाहिन्छन् आन्दोलनहरू ? जब सरकार, राजनीतिक दल र नेतृत्वले लोकतन्त्रका नाममा सत्तालाई भ्रष्ट बनाउँदै लैजान्छन्, तब आन्दोलनहरू चाहिन्छन् । जब लोकतन्त्र, दलतन्त्रमा फेरिन्छ र दलहरू स्वयं दलालीमा मग्न हुन्छन्, तब लोकतन्त्रलाई पुनःस्थापित गर्न आन्दोलन चाहिन्छ । जब नागरिक आन्दोलनमा निस्किन्छन्, तब लोकतन्त्र स्वचालित र गतिशील हुन्छ । अन्यथा, राज्य भुत्ते हुन्छ र राजनीतिमा खिया लाग्छ । जब राज्यले नागरिकप्रतिको जिम्मेवारी बिर्सिन्छ, तब बोल्न आवश्यक हुन्छ । किनभने, नागरिक चुपचाप बसे भने एजेन्डाहरू छुट्छन्, लक्ष्य छुट्छ र राज्य सर्वसत्तावादी बन्न पुग्छ । त्यसैले नागरिकले बोल्नुपर्छ । चर्को बोल्नुपर्छ । नागरिक सडकमा आउनुपर्छ र आन्दोलनको आँधी ल्याउनुपर्छ । किनभने, आन्दोलन लोकतन्त्रको ऊर्जा हो । त्यसले मात्र राज्य र राजनीतिलाई अझ धेरै जीवन्त, गतिशील र उत्तरदायी बनाउँछ ।
यस्तो आन्दोलन, जसले राजनीतिक विकल्पको नयाँ मार्गचित्र बनाओस् । यस्तो आन्दोलन, जसले राज्यलाई नागरिकप्रति उत्तरदायी बनाओस् । यस्तो आन्दोलन, जसले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति गरोस् । यस्तो आन्दोलन, जसले स्वाभिमान र समृद्धिको यात्रामा देखिएका तगाराहरू तोडोस् र राजनीतिक संकल्पको नवीकरण गरोस् । यस्तो आन्दोलन, जसले नागरिक सर्वोच्चता स्थापित गरोस् । तर दुर्भाग्य, अहिले सडक खाली छ । र, म त्यो खाली सडक हेरेर आन्दोलनको सपना देखिरहेको छु । यस्तो लाग्छ, सडक आन्दोलन पर्खिरहेको छ ।
पतनको पहाड
विचार गरौं त, हामी कहाँ फसेका छौं ? हाम्रो लोकतन्त्र कहाँ फसेको छ ? उदाहरणका लागि, एउटा ताजा घटना लिऔं । एक जना व्यापारीले एमालेलाई आफ्नो कार्यालय भवन बनाउन करोडौंको जग्गा दान (?) गरे । एक वर्षमा भवन बनाएर दिने ती व्यापारीको कुरा सुन्दा उनी एमालेका नाममा अर्ब खर्च गर्दै छन् । यो लेनदेनले एमालेजनमा उधुमको उत्साह सिर्जना गरेको छ । सबै प्रफुल्ल । सबै गद्गद् । कमरेडहरूको (?) उत्साह हेर्दा लाग्छ, एमालेले राजनीतिको नयाँ नुस्का भेटेको छ । त्यसैले उनीहरू विजयको हुर्रा लगाउँदै छन् । आज कमरेडहरूको कोठाचोटामा भाटभटेनीको जयजयकार छ । यस्तो लाग्छ, कमरेडहरूले अन्तर्राष्ट्रिय गीत भुलिसके र याद छ मात्र दानवीर गुरुङ दम्पतीको स्तुतिगान । हेरौं त कस्तो छ अवस्था, दानका नाममा भएको यो खुला सौदाबाजीको एमालेजनमा कतै प्रश्न छैन ।
दानका नाममा भएको यो खुला भ्रष्टाचारमाथि पार्टीभित्र नेतृत्वको कतै (कमरेड बिन्दा पाण्डेको बागी स्वरबाहेक) आलोचना छैन । सबै शान्त, सबै चुपचाप । उल्टो नेताहरू सार्वजनिक प्रतिवाद गर्दै छन्– ‘दानवीरले दान गर्न पनि नपाउनु ?’, ‘कसैले आफ्नो निजी सम्पत्ति दान दिँदा अरूलाई किन टाउको दुखाइ ?’ एमालेले किन बिर्सिंदै छ कि गुरुङ ललिता निवास प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । गुरुङमाथि नक्कली बिलबीजक अपराधमा ठूला करदाता कार्यालयले ०६९ भदौमा एक अर्ब त्रिपन्न करोड असुल्ले निर्णय गरेको थियो र अदालतले यो मुद्दामा भाटभटेनीलाई दोषी ठहर गरेको थियो । विचार गरौं त एक जना व्यापारी, जो अदालतबाट दोषी ठहर भएको छ, उनीबाट प्राधानमन्त्रीले दान लिनु के नैतिक हुन्छ ? एउटा सरकारमा भएको मुख्य दलले खुलमखुला शंकास्पद व्यापारीबाट दान लिनु ‘कन्फिक्ट अफ इन्ट्रेस’ हुँदैन ?
हाम्रो राजनीति कसरी चरित्रहीन हुँदै छ, त्यसको ताजा उदाहरण हो ‘ओली–गुरुङ’ सहकार्य । जहाँ न त राजनीति छ, न त निष्ठा र नैतिकता । न त मार्क्सवाद छ, न त समाजवाद । सभ्य देशमा हो भने, यो चरम भ्रष्टाचार र अनैतिक काण्ड हो । यो आर्थिक र राजनीतिक अपराध हो । तर नेपालमा यस्तो भएको छ कि स्वयं भ्रष्टाचार गर्नेलाई समेत आफूले भ्रष्टाचार गर्दै छु भन्ने थाहा हुन छोडेको छ । किनभने भ्रष्टाचार आम बन्दै छ । भ्रष्टाचार स्वयं राजनीति बन्दै छ । मूल्यहीनता र भ्रष्टाचार जब नेताका लागि गर्वको विषय बन्छ, त्यो खतरनाक कुरा हो । जो अहिले दलहरूमा देखापरेको छ र त्यसको सिकार भएको छ हाम्रो लोकतन्त्र ।
यहाँ एमाले त एउटा उदाहरण मात्र हो, आज राजनीति र राजनीतिक दल भ्रष्टाचारको आहालमा डुबेका छन् । करोडमा हैन, अर्बमा भ्रष्टाचार हुँदै छ । सर्वत्र नीतिगत भ्रष्टाचार । कुनै सरकारी संस्थानले ठीक परिणाम दिएका छैनन् । कुनै योजना समयमा पूरा हुँदैनन् । कतिपय योजनाहरू नै यसरी बनाइन्छन्, जहाँ भ्रष्टाचार गर्न सकियोस् । राज्य सेवा प्रवाहमा यति धेरै उदासीन छ कि, बयान गरी साध्य छैन । न त सरकार जनताको भयो, न त संसद् मतदाताको भयो । सर्वत्र सिन्डिकेट, सर्वत्र दलीयकरण । आज निर्धा नागरिकले दलभन्दा पृथक् बसेर न्यायका लागि जाने ठाउँ कतै छैन । सर्वत्र छट्टुहरूको रजाइँ छ र हाकाहाकी मान्छे लुटिँदै छन् ।
हेरौं त, अहिले लोकतन्त्रमा कसरी खिया लागेको छ ? एउटा गतिशील समाजमा असफल नेता नै पटक पटक प्रधानमन्त्री भइरहेका छन् । एउटा सभ्य समाजले अनैतिक मान्छेलाई पटक पटक नेता स्विकारिरहेको छ । जेल जानुपर्ने भ्रष्ट ठेकेदार नै लगातार पद र विभूषणले सुशोभित भइरहेको हुन्छ । हामीकहाँ बितेका तीन दशकदेखि उनै मुठ्ठीभर नेताहरूले सत्ताको फन्को मारिरहेका छन् । पछिल्ला अनेकौं वर्षहरूमा ज्ञानको प्रवाहलाई कुण्डली मारेर एउटै समूह बुद्धिको बिर्कोमा विराजमान छ । विगत अनेक दशकमा वकिल, पत्रकार, नागरिक अगुवा वा बुद्धिजीवीको पगरी गुथेका उनै सुकिला मान्छेहरू पार्टी कार्यालयको ढोकामा थर्पो हालेर बसेका छन् । समय स्थिर छ, चेतना भुत्ते छ र राजनीति गतिहीन छ । किनभने हाम्रो राजनीतिले लोकतन्त्रका चाकल तन्तुहरूलाई निर्जीव बनाएको छ । अतः यसलाई जीवन दिन आवश्यक छ । र, त्यसका लागि आन्दोलन अनिवार्य भएको छ ।
आज हाम्रो अगाडि जे भएको छ र हुँदै छ, त्यो हेर्दा लाग्छ, हामी राजनीतिक पतनको विशाल पहाडले किचिएका छौं । हामी महँगीको पहिरोमा फसेका छौं । हामी भ्रष्टाचारको आहालमा डुबेका छौं । हेर्नलाई निर्वाचन त हुन्छ, तर चुनिन्छ उही, जोसँग राजनीति गर्ने थोरै पनि नैतिकता छैन । दलहरू त छन् तर जहाँ राजनीतिभन्दा धेरै दलाली चल्छ । न त आशा, न त उमंग । हुनलाई नेताहरू बग्रेल्ती छन्, तर सबै असफल । असफलताको उही चक्र बितेको तीन दशकदेखि एउटै घेरामा घुमिरहेको छ । परिणाम, राज्य चरित्रहीन बन्दै छ र शनैशनै लोकतन्त्र भ्रष्टतन्त्रमा फेरिँदै छ । स्पष्ट छ, हामी गतिहीन भएका छौं । हामी परिणामविहीन भएका छौं । हामी लक्ष्यविहीन भएका छौं । किनभने हामी हिँड्ने बाटोमा दलतन्त्र, भ्रष्टाचार र कुशासनको तगारो छ । त्यसैले अगाडि जान, तगारो भत्काउन आवश्यक छ । र, आन्दोलन मात्र एउटा यस्तो शक्ति हो, जसले त्यो तगारो भत्काउनेछ ।
आँधीको पर्खाइ
यो केहीअगाडिकै कुरा हो । बागबजारको पुरानो गल्लीमा एक जना दौंतरीसँग १५ वर्षपछि भेट भयो । ऊ विदेशबाट केही महिनाअगाडि मात्र नेपाल फर्किएको थियो । उसले आक्रोशमा भन्यो– साथी मलाई त नेताहरू देख्नासाथ थुक्न पो मन लाग्छ । संसारका सबै गालीहरू जम्मा गरेर तिनलाई सराप्न मन लाग्छ । अथवा कहिलेकाहीँ लाग्छ तिनका चिल्ला गालामा झापड हानौं । श्रीलंकामा जस्तै काठमाडौंमा पनि यिनका सेता दरबारभित्र पसेर जनताले खेद्ने दिन कहिले आउला ? अथवा, बंगलादेश जस्तै आन्दोलनको आँधी काठमाडौंमा आउला कहिले ?
मेरो साथी भुइँमान्छेको एउटा बिम्ब हो । ऊ विरक्त छ । त्यही विरक्तिमा ऊ कहिले राजनीतिलाई सराप्छ, कहिले दल र नेताहरूलाई । उसका आशा मरेका छन् । र, ऊ आफ्नै सपनाको मलामी बनेर घाट र चिहानघारी धाउँदै छ । ऊ सरकारी कार्यालयमा आफूले भोगेका अपमानका पीडाहरूले भरिएको छ । ऊ जागिर खोज्दा आफूले काटेका अनगिन्ती कुइनेटाहरूको अँध्यारोले त्रस्त छ । ऊ आफ्ना आमाबाबुले गरेको दुःखको छाया सम्झिएर व्याकुल छ । ऊ ऋणमा छ । ऊ भोकमा छ । र, ऊ एउटा सग्लो र स्वाभिमानपूर्ण जीवनको सपना देख्दै छटपटीमा कुदिरहेका छ । उसलाई थाहा छैन, जीवनको गति कहाँ रोकिएको छ । त्यसैले ऊ निराश छ । त्यसैले ऊ थकित छ । स्पष्ट छ, थकित, गलित र निराश नागरिकहरू भएको देश कहिल्यै उँभो लाग्दैन । अतः निराश मान्छेलाई आशाको उज्यालो दिन आन्दोलन आवश्यक छ । त्यसैले, हाम्रो सडक अहिले आन्दोलन पर्खिएर बसेको छ ।
दलहरू अहिले जे गरिरहेका छन्, त्यसको अर्थ उनीहरू नागरिकलाई हेपिरहेका छन् । उनीहरूलाई लाग्छ, नागरिकहरू फगत एक भोट हुन्, जसलाई किन्न सकिन्छ । हाम्रा नेताहरू अहिले नागरिकका सपनासँग खेलबाड गरिरहेका छन् । उनीहरूलाई लाग्छ, जनता साँच्चै भेडा हुन्, जोसँग भीरमा पुगेको कुनै चेतना छैन । हाम्रा नेताले समय कसरी जागृत हुन्छ, त्यो बिर्सिसके । हाम्रा दलहरूको स्मृति कमजोर भइसक्यो, त्यसैले उनीहरूले भोकाहरूको लस्कर बिर्सिसके । त्यसैले हुनुपर्छ उनीहरू नागरिकलाई दलको मातहतमा राख्ने धृष्टता गरिरहेका छन् । उनीहरूलाई लाग्छ, दल नै सर्वेसर्वा हुन् ।
दलभन्दा बाहिर आन्दोलनको कुनै शक्ति छैन । उनीहरूलाई लाग्छ, दलभन्दा बाहिर जीवनको कुनै ऊर्जा छैन । उनीहरू हरदम एउटै गल्ती गरिरहेका छन् कि उनीहरूलाई लाग्छ दल, नेता, राज्य र राजनीतिभन्दा नागरिकहरू निम्नकोटिका जन्तु हुन् । नेताहरूलाई मात्र भ्रष्टाचारबाट हुने आम्दानीको चमकधमक थाहा छ, नागरिकले भ्रष्टाचारीलाई समातेर सहर घुमाएको अतीत उनीहरूले बिर्सिसके । नेताले अवश्य नै दरबारहरू त देखेका छन् तर त्यसलाई जनताले कब्जा गरेको विगत उनीहरूले बिर्सिसके । त्यसैले उनीहरूले नागरिक शक्तिलाई अवमूल्यन गरिरहेका छन् । उनीहरूले नागरिकलाई हेपिरहेका छन् । सायद, उनीहरूमा थोरै पनि लोकलाज छैन । न त उनीहरूमा समय चेतना छ, न त विवेक । उनीहरू लवस्तरा भइसके । यो पक्का छ कि अब उनीहरूलाई ठेगान लगाउन आन्दोलनले मात्र सक्छ । र, आज सडकले त्यही आन्दोलनको प्रतीक्षा गरिरहेको छ ।
अब विलम्ब नगरी एउटा प्रश्नमाथि छिनोफानो गर्नैपर्ने भएको छ । दलको मातहतमा नागरिक हुन् कि नागरिकको मातहतमा दल ? नागरिकको मातहतमा राज्यसत्ता हुन्छ कि राज्यसत्ताको मातहतमा नागरिक ? सरकार सर्वोच्च हो कि नागरिक ? नेता सर्वोच्च हुन्छ कि नागरिक ? यसको अर्थ के भने, आज हामीलाई यस्तो आन्दोलन चाहिएको छ, जसले राज्यको मालिक नागरिक हुन् भन्ने कुरा फेरि पुनःस्थापित गरोस् । जसले राजनीतिक दल र नेताहरूको अहंकारलाई अस्वीकार गरोस् । जसले नागरिकभित्र सदियौंदेखि जमेर बसेको हीनताबोधलाई हटाओस् र नागरिक सर्वोच्चता स्थापित गरोस् ।
हामीलाई यस्तो आन्दोलन चाहिएको छ, जसले राजनीतिको चरित्रमा परिवर्तन गरोस् । राज्यको चरित्र र चिन्तन प्रणालीमा परिवर्तन गरोस् । नागरिकको हीन मनोग्रन्थिमा परिवर्तन गरोस् । हाम्रो शक्ति सम्बन्धमा परिवर्तन गरोस् । अन्यथा नेताहरू फेर्ने, तर राजनीतिको खिया नफाल्ने, के हुन्छ ? नेता फेर्ने तर बुद्धिजीवीहरूको मनको लोभ नफेर्ने, के हुन्छ ? मन्त्री फेर्ने तर भ्रष्ट प्रशासक जोगाउने, के हुन्छ ? व्यक्ति फेर्ने तर सत्ताको चरित्र नफेर्ने, के हुन्छ ?
किनभने राजनीतिक असफलता सामूहिक दुष्चक्रको एक कठिन सिलसिला हो । अतः हामीलाई यस्तो आन्दोलन चाहिएको छ, जसले हामीलाई सामूहिक दुष्चक्रबाट निकालोस् र अगाडि बढाओस् । एक प्रगतिशील र लोकतान्त्रिक आन्दोलन । जसले हाम्रो लोकतन्त्रको स्वाभाविक गति, ऊर्जा र सामर्थ्यलाई पुनःस्थापित गरोस् । र, त्यसका लागि एक मजबुत र पूर्ण आन्दोलन आवश्यक छ । जसले सम्पूर्ण लोकतन्त्रको प्रत्याभूति गरोस् । र, सडकले अहिले त्यही आँधीको प्रतीक्षा गरिरहेको छ ।
त्यो आन्दोलनको आँधी कहाँबाट आउला ? अहिले सडकमा प्रतिपक्ष छैन । अहिले नागरिक नै प्रतिपक्ष हो । अतः अबको आन्दोलन नागरिकले उठाउनुपर्छ । त्यसका लागि हाम्रो आम जनजीवनमा विद्रोहको चेतना जागृत हुनु आवश्यक छ । भ्रष्ट सत्ताविरुद्ध बगावतको चेतना । दल र नेतृत्वले निर्माण गरेको बेथितिलाई इन्कार गर्ने चेतना । प्रश्न गर्ने चेतना, आलोचना गर्ने चेतना ।
अर्थात्, दलतन्त्रको जालो तोड्ने चेतना । एउटा संगठित चेतना । वैकल्पिक, स्वतन्त्र, अटेरी वा बागी चेतना । यस्तो होस् कि देशका प्रबुद्ध वर्गले त्यो आन्दोलनलाई दिशानिर्देश गरुन् । युवापुस्ताले त्यो आन्दोलनमा रंग भरुन् । र, लोकतन्त्रलाई माया गर्नेहरू आन्दोलनको लहरमा सहभागी बनुन् । वस्तुतः अहिले संकट थामथामथुमथुम पार्ने समय हैन, बरु यो सम्पूर्ण उथलपुथलको समय हो । यस्तो उथलपुथल, जसले परम्परागत सत्ता, शक्ति र स्वार्थको सिन्डिकेट तोडेर समाजलाई नयाँ आशा, सपना र विकल्प प्रदान गरोस् । यो आँधीको गीत गााउने समय हो । र, सडक त्यो आँधीको प्रतीक्षा गरिरहेको छ ।
