महन्थ काठमाडौंमा बोल्दा सत्ता प्रतिष्ठानले सजग भएर उनको कुरा सुन्थ्यो, अचेल उनी कराउँदा पनि कोही सुन्नेवाला छैनन् । उनी कहाँ चुके ? उनीबाहेक अरू कसले बढिया तरिकाले भन्न सक्छ र !
यतिखेर मधेश आन्दोलनको रापताप सकिइसकेको निष्कर्ष काठमाडौंमा छ । चालु संविधानको अन्तर्वस्तुमा असहमति राख्दै भएको आन्दोलन बिनाकुनै सम्झौता नै सेलायो । त्यसअघि २०६४ भदौमा उपेन्द्र यादवको नेतृत्वमा २२ बुँदे सम्झौता भएको थियो । तर फागुनमा जुन आठबुँदे सम्झौता गरियो, त्यो मधेशको कोणबाट ऐतिहासिक थियो ।
यसमा स्वायत्त मधेश प्रदेशको चाहना र राज्य संरचनालाई समावेशी बनाउन समूहगत प्रवेशजस्ता वाक्यांश थियो । यो उपलब्धि हासिल गर्नमा उपेन्द्र यादव र राजेन्द्र महतोको भूमिका त छँदै थियो किनभने नेपाल सरकारसँगको सम्झौतामा एकातर्फ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको हस्ताक्षर थियो भने अर्कातर्फ यी दुईको पनि सही थियो । तर इतिहासको पदचाप जान्नेहरू भन्छन्– त्यही वर्षको मंसिरमा आफ्नो कांग्रेसी राजनीति परित्याग गरी मधेश राजनीतिमा आएका महन्थ ठाकुरको सार्थक सहभागिताले त्यो कोसेढुंगा उपलब्धि अर्जित भएको थियो ।
नेपाली राज्यको सत्ता प्रतिष्ठान, जो आफूलाई सुरक्षित ठान्छ किनकि उसले रक्षा–कवचका रूपमा स्थायी निरन्तरता पाएको हुन्छ । उसले राज्यतन्त्र परिधिभित्र अर्काको प्रवेशलाई हतपत्ति स्वीकार गर्दैन । जब कुनै जनसंघर्षले स्थायी–किलाको द्वार खटखटाउन पुग्छ तब ऊ आफूलाई असुरक्षित अनुभव गर्न थाल्छ । तिनलाई
आफ्नो व्यवस्थित सुखप्रति खतरा स्पर्श हुन थाल्छ, उनीहरू झटपट ढोका र झ्याललाई साबिकभन्दा झन् कडा ढंगले मजबुद गर्न थाल्छन् । २०७२ को मधेश आन्दोलनताका काठमाडौंको सत्ता यही मनोविज्ञानमा अडिएको थियो । त्यसैले राज्यले चरम दमन गर्यो र बिनाकुनै निष्कर्ष दिएर आन्दोलनलाई पराजित गर्यो । यतिखेर वर्चस्ववादी दुन्दुभिले कोलाहल गरिरहेको छ । अहिलेको सत्तालाई ‘चुनरी’ देखाउन एक मधेशी भनिने दल चाहिएको छ, जो उसको अह्रनखटनमा रहोस् ।
महन्थ ठाकुरको कांग्रेसमा विद्रोहमा गरेको १७ वर्ष भयो । विद्रोहपछि उत्पन्न क्षेत्रीय एवं राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रभावलाई मधेशीहरूले कसरी हेरिरहेका छन् ? स्वयं महन्थले के सोचिरहेका छन् ? कांग्रेसमै हुर्किएका उनी लोकतन्त्रका लागि अविचल लड्दै रहे । संसदीय व्यवस्था र गणतन्त्रका मुखर प्रवक्ता देखिए । कांग्रेस छाडेपछि संघीयता र समावेशीका पक्षधर भए । उनले पारम्परिक निष्ठाहरूलाई अँगाल्दै मधेश राजनीतिमा एउटा यस्तो मध्यमार्गी विमर्श स्थापित गरे, जसलाई प्रगतिवादी रुझानका साथ बहुलतावादी र उदारवादी मानिए । सामाजिक ‘रेडिकलिजम’ बाट वञ्चित रहनु र अन्य प्रकट सीमाहरूका बाबजुद महन्थ नेतृत्वको खुबी यो थियो कि उनले बहुसंख्यकवादी आवेगलाई किनारामा राख्न समर्थ भए ।
यतिखेर सोह्र वसन्त पार गर्न लागेको पिँढी महन्थ ठाकुरको कामसँग अनभिज्ञ हुन सक्छ । थाहा पनि होला तर अत्यल्प । महन्थको कहानीले मधेश राजनीतिलाई मात्र होइन, राष्ट्रिय राजनीतिको चरित्र र संस्कारलाई समेत सामुन्ने ल्याउँछ । कतिपयले टिप्पणी गर्छन्, उनी नेपाली कांग्रेसमै रहिरहेको भए ‘यो’ बन्थे, ‘त्यो’ बन्थे । त्यो भनेको कांग्रेसको रसायन बुझ्न नसक्नु हो ।
कांग्रेसले दाबी गर्ला, गर्छ पनि हामीले मुलुकको पहिलो राष्ट्राध्यक्ष मधेशी समुदायबाट छनोट गर्यौं तर सभ्य कहलिने यस पार्टीका सभ्य नेताले संसद्मा उनको मानमर्दन गर्न कुनै कसर राखेनन् । यो कम–से–कम मधेशले बिर्सेको छैन । रामवरण यादव विषपान गरेर पनि चुप लागे । यो पनि सत्य हो, कांग्रेसभित्र मधेशी उभारबाट महन्थ उत्साहित थिए, तर जब कांग्रेसले केही अनुहारलाई आलंकारिक स्पेस दिन खोज्यो, शक्ति बाँडफाँटको अन्तर्वस्तुमा अनुदार देखियो । शीर्ष नेतृत्वगणले मधेशलाई अनुदान दिएजस्तै मनोभाव राख्न थालेपछि उनले कांग्रेसमा आफ्नो स्वप्न भंग र मोह भंग भएको पाए । परिणाम कांग्रेसबाट बहिर्गमन हुनुपर्यो ।
मलाई लाग्थ्यो, महन्थ ठाकुर विचारको दुनियाँमा विचरण गर्न मन पराउने राजनीतिज्ञ हुन् । उनी व्यावहारिक छैनन् भन्नु पनि गलत नै होला तर उनी आफ्ना आस्थालाई निःसन्देह माथि राख्छन् । उनीसँग पछिल्ला ४० वर्षमा कैयौं पटक बातचित गर्ने मौका मिलेको छ । उनीसँग विमर्श गर्नु आनन्ददायक हुन्छ पनि । बेलाबखत उनी दार्शनिक मुद्रामा आइपुग्छन् । संघर्षका दिन उनी वाचाल थिएनन्, उसो त उनले त्यस्तो स्वभाव कहिल्यै पनि राखेनन् । सत्तामा हुँदा पनि सौम्य बनिरहनु र पूरै विनम्रतापूर्वक आफ्ना कुरामा डटिरहनु र कुनै सन्तको जस्तो आफ्नो कुरालाई स्पष्ट गर्नु उनको खुबी झल्किन्थ्यो । उनी अर्काका कुरा ध्यानपूर्वक सुन्थे, अनि मुस्काउँदै विस्तारै आफ्ना कथ्यलाई राख्थे । यसरी उनी संवादलाई सम्भव बनाउँथे ।
मधेशमा स्थिरता भनेको कुनै पार्टी वा व्यक्तिको सरकारमा सहभागिता होइन । संवैधानिक प्रणालीले सुसंगत रूपमा काम गर्न सकेको छ कि छैन, संविधानको प्रस्तावना कस्तो छ र तिनको अन्तर्धारा कानुनी अभ्यासमा कसरी प्रतिध्वनित भइरहेको छ भन्ने महत्त्वपूर्ण सवाल हो । मधेश राजनीतिमा महन्थको प्रवेश त्यतिखेर भएको थियो, जब जनआन्दोलन दोस्रोपश्चात संघीयता ल्याउने र नल्याउने सवालमा अड्किएको थियो । त्यसयता १७ वर्षपश्चात यो प्रदेश संरचना राख्ने कि नराख्ने बखेडामा अल्झिएको छ ।
केही मधेशीजन निश्चित रूपमा लोकतन्त्रको सिँढीमा उक्लिन पुगेका छन् तर तिनीहरूलाई समेत आफ्नो औकात त्यतिखेर थाहा हुन्छ, जतिखेर ऊ आफ्नो विवेक राख्न खोज्छ । मधेशका लागि न्यायमाथि विचार गर्दा यससँग गाँसिएका केही तत्त्व अवश्य नै बुझ्नुपर्छ । प्राकृतिक न्यायमा शक्ति र संख्याले निर्धारण गर्छ । जस्तो कि ठूलो माछाले सानो माछालाई चपाउँछ । न्यायलाई केवल संख्या र शक्तिको दृष्टिले हेरेर पुग्दैन । न्यायलाई करुणाको आँखाले हेर्ने हो र संवैधानिक यात्रामा त्यसका आँखा विवेक र करूणा हो । संविधान संख्याको बलमा जारी गरेर हुँदैन, त्यसको उत्कृष्टता त्यसको नेत्रहरूमा अन्तर्निहित हुन्छ । संविधान लागू गरिँदा कस्तो राजनीतिक व्यवहार र संस्कृति निर्माण गर्न खोजियो ? आज त्यो कुन रूपमा छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।
महन्थ काठमाडौंमा बोल्दा एक बखत सत्ता प्रतिष्ठानले सजग भएर उनको कुरा सुन्थ्यो । अचेल उनी कराउँदा पनि कोही सुननेवाला छैन । उपेन्द्र र राजेन्द्रले पनि उनको नेतृत्व स्वीकार गरेकै थिए । एकएक गरेर सबैले छाड्दै गए । मधेशको विविधतालाई जोड्न तम्सिएका उनी खास जातिविशेषका पसले भएको आक्षेप बेहोर्दै छन् । आखिर मधेशभित्र थारू, मुस्लिम, सन्थाल, दलितलगायतले राज्यसँगको सम्बन्ध निर्धारणको संघर्षमा साथ दिएकै थियो । तर उनले आफैंसँग न्याय दिन सकेनन् ।
२०६४ सालपछि जब सत्ता राजनीतिमा मधेशी शक्ति होमियो, तब उनी स्वयं सत्तामा नगए पनि उनले उठान गरेको नैतिक बल क्षरण हुँदै आयो । अब त उनकै भजन मण्डलीले उनलाई ‘मौनी बाबा’ कहन थालेका छन् । महन्थ निष्प्रभावी हुनुमा राज्यतन्त्रको शतरञ्जी खेल हो कि उनी स्वयं आफ्ना कमजोरीको बन्दी हुँदै जानु हो ? अहिले महन्थले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी छ, तर पर्दा पछाडिको सत्य के हो भने कोही उनीप्रति प्रतिबद्ध छैनन् । स्वयं महन्थका नातेदारहरू प्रतिस्पर्धात्मक महत्त्वाकांक्षाको भुमरीमा डुब्न थालेका छन् । महन्थसँग बोल्न सक्ने धेरै कुरा छ । उनी कहाँ चुके र किन ? उनीबाहेक अरू कसले बढिया तरिकाले भन्न सक्छ । तर उनी टुलुटुलु आफ्नो दुर्योग हेर्न विवश छन् ।
आफ्नो सम्मानजनक निवृत्तिका बारेमा उनले केही सोचेका छन् कि ? मधेशको मिजास समात्न ढिलो हुँदै जाँदा समयले प्रत्येक नेतालाई असान्दर्भिक बनाइदिन्छ । नेतृत्वको समय हुँदो रहेछ । नेतृत्वले समयसँग पाठ सिकेन भने समयले तिनलाई किनारामा धकेलिदिन्छ ।
