पौराणिक कथामा नदी उद्भव

नेपालको कौशिकी नदी रामायणमा छैन तर स्कन्दपुराणमा उल्लेख छ । यो लेख्ने भारतीय थिए । उनीहरू सम्भवतः सिन्धुली किनारकिनारै आए होलान् । जब रोशी खोलासँग सुनकोशी मिसिएको ठाउँनेर आइपुगे, उत्तरबाट बग्दै आएको सुनकोशीसँग मोहित भए होलान् । त्यो खोला भारतको उत्तराखण्डमा भएको कौशिकी नदीजस्तै लाग्यो होला । अल्मोडामा जस्तो भूगोलमा कौशिकी छ, त्यस्तै भौगोलिक बनावटमा सुनकोशी छ ।

आश्विन ८, २०८१

कमल मादेन

The origin of the river in mythology

पहिला चल्ला थियो कि अन्डा भन्ने प्रसंग नेपालमा मात्र होइन, संसारभरिको किस्सा हो । यी प्रश्नको उत्तर पाउन जीवको क्रमविकासतर्फ मोडिनुपर्छ । वैज्ञानिक मान्यताले भन्छ— करिब ३० करोड वर्षअघि पानी र जमिन दुवैमा बस्ने उभयचर अर्थात् एम्फिबियन वर्गबाट सरिसृप (रेप्टाइल) उद्विकास भयो ।

त्यसपछि करिब १५–१६ करोड वर्षयता तिनै सरिसृपबाट पक्षी उद्विकास भयो । सुरुमा उद्विकास भएका पक्षी सरिसृपजस्ता अर्थात् प्वाँखरहित र ठुँडो बेगरका थिए । यस्ता पक्षी समूहलाई आर्कियोप्टेरिक्स भनिन्छ । करिब १२ करोड वर्षअघि उद्विकास भएका पक्षीमा प्वाँख र ठुँडो विकास हुन थालेका थिए ।

सरिसृप भाले र पोथी छुट्टाछुट्टै हुन्थे र छन् । अतः भाले सरिसृपबाट भाले पक्षी र पोथी सरिसृपबाट पोथी पक्षी उद्विकास भयो । घरपालुवा कुखुराको पूर्वज जंगली लुइँचे (गालस गालस) हो । लुइँचे दक्षिण र दक्षिणपूर्व एसियामा करिब २६ लाख वर्षपहिले लुइँचेभन्दा केही भिन्न भुइँमा विचरण गर्ने पक्षीबाट उद्विकास भयो । मानिसले करिब ११ हजार वर्षअघिबाट लुइँचे पाल्न थाले । त्यसबेला, पोथीले अन्डा पार्थ्यो । अन्डाबाट चल्ला निस्कन्थ्यो । 

सिन्धु, सुल्टेज र यार्लुङ साङ्पो

अन्डा र चल्ला जस्तै अर्को प्रसंग पनि छ— हिमालय पहिले बने कि नदीनाला ! मलाई पहिले हिमालय र त्यसपछि नदी बने होलान् भन्ने लाग्थ्यो । माउन्टेन र हिमालय पनि पर्यायवाची शब्द होलान् भन्ठान्थे । तर, माउन्टेन र हिमालय उत्पत्ति र भूगोलका आधारमा फरक रहेछन् । युरेसियन प्लेट र दक्षिण एसिया टेक्टोनिक प्लेट करिब ५ करोड वर्षअघि एकापसमा जुधाजुध गरेर बनेको हिमालय र त्यसभन्दा अघि उद्भव भएकाचाहिँ माउन्टेन रहेछन् । 

हिमालय क्षेत्र बन्नुअघि करिब ७ देखि साढे ७ करोड वर्षअघि जब भारतीय टेक्टोनिक युरेसियन प्लेट नजिक आइपुग्दै थियो, उस बेला टेथिस महासागरमुनिको म्याग्मा युरेसियन प्लेट मुसी धसिँदै गयो । म्याग्मामाथिको कडा भागचाहिँ विशाल युरेसियन प्लेटलाई घचेट्न नसकेर आफैं फोल्डिङ हुँदै उँचो बने र तिब्बतमा उच्च भूभाग निर्माण भयो । केही भागमा ज्वालामुखी गयो, कतै उँचो र ठाडो आकृति बन्यो ।

उँचो भूभाग चिसोका कारण हिउँबाट ढाकियो र माउन्टेन बन्यो । कैलाश माउन्टेन त्यति बेलै बनेको हो । मानसरोवर ताल कैलाश माउन्टेन उँचो हुने क्रममा बनेको हो । यसरी, हिमालय क्षेत्र उद्भव नभई कैलाश माउन्टेन आसपासबाट अहिलेका सिन्धु, सुल्टेज र यार्लुङ साङ्पो नदी उद्भव भए । यस्तै, नेपालको अरुण, त्रिशूली, भोटेकोशी हिमालय क्षेत्र अग्लिने क्रममा करिब दुई–अढाई करोड वर्षअघि उद्भव भएका हुन् (माइक सियर्ले, सन् २०१७ : कोलाइडिङ कन्टिनेन्ट, पृष्ठ ३६१–३६२) ।

गंगा नदी 

दक्षिण एसियालगायत अन्यत्र भूभागमा पनि लोकप्रिय पौराणिक कथा हो— रामायण । यसको बालकाण्ड ९१ सर्गमा रघुकुलमा भगवान् रामको जन्म हुनुभन्दा निकै पुस्ताअघि बडो प्रतापी सगर नाम गरेका राजा थिए भन्ने उल्लेख छ । उनले राज्य विस्तारको उद्देश्यले अश्व (घोडा) यज्ञको आयोजना गरे । यज्ञबाट घोडा स्वतन्त्र रूपमा जता पनि जान पाउने गरी छाडिन्थ्यो । घोडा जहाँसम्म पुग्थे, त्यहाँसम्म अश्य यज्ञ गर्नेको राज्यसीमा निर्धारण हुन्थ्यो । घोडाको सुरक्षाका निम्ति धनुर्धर महारथी अंशुमान खटाइएका थिए (वाल्मीकि रामायण २०७९, पृष्ठ १४३) ।

यज्ञमा छाडिएका घोडा अपहरणका लागि स्वर्गका राजा इन्द्रले राक्षसको रूप धारण गर्छन् । र, घोडा ऋषि कपिलले तपस्या गरिरहेको स्थान नजिक लुकाइदिन्छन् । पछि त्यो घोडा कपिल ऋषिबाट चोरिएको भन्ठानेर उनको ध्यान भंग गरिन्छ । अचानक ध्यान भंग गरिँदा ऋषिको रिस र क्रोधका कारण त्यहाँ उपस्थित राजकुमारहरूसहित सबै सेना भष्म हुन्छन् । राजकुमारहरूको आत्माले मोक्ष प्राप्त गर्न सक्दैन । अन्तिम संस्कार हुन नपाई उनीहरू खरानीमा परिणत हुन्छन् । यसमाथि उनीहरूको वंशउपर कहिल्यै भलो नहुने श्राप आइलाग्छ । पछि उक्त राज्यमा दिलिप नाम गरेका नाति खलक राजा हुन्छन् । वंशलाई पापबाट मुक्त गराउन तपस्या गर्दागर्दै तिनको निधन हुन्छ । तिनका छोरा, राजा भगीरथले पनि वंशलाई पापबाट मुक्त गराउन कठोर तपस्या गर्छन् र अन्ततः वरदान पाउन सफल हुन्छन् । त्यसबेला स्वर्गमा पाप धोइपखाली गर्ने गंगा नदी हुन्छ ।

ब्रह्माले राजा तथा तपस्वी भगीरथलाई वरदान दिएपछि कमण्डुलबाट गंगा नदीलाई पृथ्वीमा अवतरण गराउन चाहन्छन् । स्वर्गबाट पृथ्वीमा झर्दा गंगा नदीबाट भयंकर विनाश हुन सक्ने भएकाले भगवान् शिवले गंगा नदीलाई आफ्नो जट्टामा राखेर हिमालयमा सुरक्षित अवतरण गराउँछन् । यसरी, रामायणअनुसार गंगा नदीको धर्तीमा अवतरण हुन्छ । अन्ततः भगीरथका सन्तान गंगा नदीमा नुहाइधुवाइ गरी श्रापबाट मुक्त हुन्छन् । 

वास्तवमा गंगा नदी गंगोत्री हिमतालबाट अढाई करोड वर्षअघि उद्भव भएको हो । रामायण करिब २२ सय वर्षअघि लेखिएको हो । वैज्ञानिक तथ्यांकअनुसार वैदिक आर्य (हिन्दु धर्म प्रवर्तक) दक्षिण एसियामा मध्यएसियाबाट करिब ३५ सय वर्षअघि मात्र आइपुगेका हुन् । वैदिक आर्य आउनुभन्दा करिब ५ सय वर्षअघि सिन्धु सभ्यता विलय भएको थियो ।

सिन्धु सभ्यता उत्खननबाट प्राप्त सामग्रीअनुसार त्यहाँ भगवान् शिवको प्रारम्भिक स्वरूप प्रचलनमा थियो भन्ने परिकल्पना गरिएको छ । तर, सिन्धु सभ्यताको लिपि बुझ्न नसकिएकाले खास यकिन हुन सकेको छैन । यस्तै, भगवान् शिवको प्रारम्भिक रूप ग्रिकको प्राचीन देवता डायोनिसससँग पनि केही मिल्छ । वैदिक आर्यले ऋग्वेदको रचना गर्दा तिनै भगवान्हरूका आधारमा शिवको प्रारम्भिक रूपमा रुद्र भगवान्को परिकल्पना गरे । ऋग्वेदमा इन्द्र, रुद्रसहित १ दर्जनभन्दा बढी भगवान्को नाम समावेश छ । तिनै रुद्रलाई पछि अन्य वैदिक सामग्रीमा भगवान् शिवमा रूपान्तरित गरियो । 

कौशिक उर्फ कोशी नदी 

रामायणमा रामलाई विश्वामित्र ऋषिले आफू कुशनाभ नाम गरेको क्षत्रीय राजाको सन्तान भएको बताएको वृत्तान्त छ । उनले कठोर तपस्या गरी भगवान्बाट ब्रम्हर्षि ऋषि उपाधि पाएको कथा पनि छ । यस्तै, विश्वामित्रकी दिदी सत्यवती एकताका जिउँदै स्वर्ग पुगेको श्लोक छ । विश्वामित्र कुश वंशका थिए । कुश वंशका पुरुष र स्त्री कौशिक र कौशिकी उपनामबाट पनि चिनिन्थे ।

भगवान्ले सत्यवती उर्फ कौशिकीलाई हिमालयमा कौशिकी नदी नामले सुरक्षित अवतरण गराए । यो कथामा शिव र ब्रह्माको प्रसंग छैन । हिन्दुहरूको सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेद मानिन्छ । ऋग्वेदमा शिव, पार्वती, ब्रह्मा, विष्णु उल्लेख भएको पाइन्न । तिनको प्रसंग नजोड्नुको कारण त्यो रामायण लेखिनुपूर्वको कथा होला । यसको केही संकेत देवीप्रसाद सुवेदीले लेखेको ‘वाल्मीकि र व्यास : तुलनात्मक अनुशीलन’ पुस्तकमा पाइन्छ । उनले वाल्मीकिले लेखेको रामकथासम्बन्धी मूल अंश त्यसअघिकै लोककथा भारतमा प्रचलित थियो भनेर लेखेका छन् (२०७४, पृष्ठ १६) । गंगा नदी उद्भवको कथाचाहिँ वाल्मीकिको परिकल्पना हुनुपर्छ । किनभने त्यसमा शिव र ब्रह्माको प्रसंग जोडिएको छ । 

विश्वाभित्रले वाल्मीकि रामायणको बालकाण्डअन्तर्गत सर्ग ३४, श्लोक १० मा तिनै कौशिकी नदी किनारमा गएर कहिलेकाहीं बडो नियमपूर्वक ध्यान गर्छु भनेको वृत्तान्त समावेश छ (वाल्मीकि रामायण २०७९, पृष्ठ १३३) । त्यो नदी हिजोआज उत्तरपश्चिम भारतको उत्तराखण्ड राज्यअन्तर्गत अल्मोडा जिल्लामा छ । जुन सुरुमा दक्षिण–पश्चिमतिर ओरालो लागेपछि रामगंगा नदीसँग मिसिन्छ र दक्षिण–पूर्वतिर बग्दै गंगामा मिसिन्छ । भारतमा कौशिकी नदीलाई हिजोआज कोशी नदी भनिन्छ । उत्तरपश्चिम भारतको नैनीताल जिल्लामा कौशिकी नदीमा बाँध बाँधिएको छ । त्यो बाँधको नाम पनि कोशी ब्यारेज राखिएको छ । 

नेपालको कौशिक नदी 

नेपालको कौशिकी नदीचाहिँ रामायणमा परेको छैन तर स्कन्दपुराणमा उल्लेख छ । स्कन्दपुराण सबैभन्दा प्राचीन पुराण मानिन्छ । यो पुराण सुरुमा उत्तरपश्चिम भारतमा लेखियो । त्यसमा पहिले उत्तरपश्चिम भारतको हिमालय क्षेत्रका धार्मिक क्षेत्रहरूको बेली विस्तार थियो । इतिहासकार डीआर रेग्मीले ‘मिडवल अफ नेपाल (सन् १९६५)’ पुस्तकमा त्यो ईस्वी सम्वत् १६ औं शताब्दीको अन्ततिर लेखिएको अनुमान गरेका छन् । जेहोस्, लेख्नेहरू भारतीय थिए । उनीहरू तराईबाट सम्भवतः सिन्धुली किनारैकिनार काठमाडौं खाल्डो आए होलान् ।

उनीहरू रोशी खोलासँग सुनकोशी मिसिएको ठाउँनेर जब आइपुगे । उत्तरबाट बग्दै आएको सुनकोशीसँग मोहित भए होलान् । उनीहरूलाई त्यो खोला भारतको उत्तराखण्डमा भएको कौशिकी नदीजस्तै लाग्यो होला । अल्मोडामा जस्तो भूगोलमा कौशिकी छ, त्यस्तै भौगोलिक बनावटमा सुनकोशी छ । यसर्थ, उनीहरूले काठमाडौंपूर्व रोशीमा मिसिने नदीको नाम कौशिकी लेखे । कौशिकी किनारमा विश्वामित्र ऋषि पनि तप गरी बस्थे भन्ने थपे । सुनकोशी र रोशी संगमस्थलमा एक ओडारलाई हिजोआज विश्वामित्र गुफा नामकरण गरिएको छ । कौशिकी नदीमा नुहाउँदा पाप पखालिन्छ भनेर सुनकोशीलाई गंगा नदीको समकक्षमा पुर्‍याए । 

विभिन्न कालखण्डमा पुराणमा सामग्री थप्दै लाने क्रममा स्कन्दपुराणमा नेपाल महात्म्यलाई केही सय वर्षसम्म समावेश गरेर प्रकाशन गरियो । हिजोआज स्कन्दपुराणबाट नेपाल महात्म्य अलग गरिएको छ । त्यो सर्वप्रथम हिन्दीमा प्रभाकरी कम्पनी, बनारसबाट सन् १९०१ मा पहिलो पटक प्रकाशन भएको थियो ।योगी नरहरिनाथ र अरूहरूले २०१२ सालमा त्यही नेपाल महात्म्यलाई नेपालको सन्दर्भमा थप अरू धार्मिकस्थल समावेश गरी हिमवत्खण्ड उपपुराण संस्कृत भाषामा लेखे ।

यसमा पूर्वी नेपालका धेरै नदीको नामपछि कौशिकी जोडेका छन् । जस्तोः अरुण कौशिकी, ताम्र कौशिकी, तमर कौशिकी । हिमवत्खण्ड उपपुराणलाई वेणीमाधव ढकालले संस्कृतको मूलपाठसहित नेपाली अनुवाद २०७५ सालमा गरे । यस उपपुराणमा नेपालका सबैजसो हिमाल तथा नदीनालामा भगवान् रहेका थिए भन्ने कथा हालिएको छ । उक्त उपपुराणमा कौशिकी उत्पत्तिको कथा पनि छ । जसअनुसार एकपटक देवी पार्वतीले हिमालयमा सूर्यको उपासना (तपस्या) गरिन् । त्यस क्रममा सूर्यको राप र तापबाट उनको पाउबाट पसिना चुहियो, त्यहीँबाटै कौशिकी नदी उत्पत्ति भयो (अध्याय ४० मा कौशिकी नदीको आविर्भाव) । 

पूर्वी नेपालमा वैदिक आर्यहरू फाट्टफुट्ट पुगेको ४–५ सय वर्ष हँॅुदै छ । तर, करिब ७० वर्षअघि लेखिएको हिमवत्खण्डमा कौशिकी उर्फ कोशी नदी उद्भवअघि नै हिन्दु धर्मका देवीदेवता त्यता पुगेको परिकल्पना गरियो । यसैलाई जोड दिँदै योगी नरहरिनाथले ‘हाम्रो देशदर्शन’ पुस्तकमा राजर्षि र ब्रम्हार्षि कौशिक उर्फ विश्वामित्रको स्मारकका रूपमा कोशी अञ्चल राख्न सफल भएकामा गर्व गरेका छन् । हिन्दुहरूले पहिले अस्तित्वमा रहेको स्थानीय नदी नामको सट्टा हिन्दुजन्य नाम प्रयोग गरे ।

राज्यले उसबेला एकल हिन्दु धर्म नीति अँगालेको र अन्यको धर्म तथा लिपिमा बन्देज लगाएका कारण उपत्यकाबाहेक अन्यत्रको इतिहास लिखतमा रहन सकेन । जति भेटिन्थे, तिनीहरू डढाइन्थे । कालान्तरमा नदी, अञ्चल नाम र अहिले प्रदेशको नामकरण नै पौराणिक कथा रामायणअन्तर्गत कुशनाभका महिला सन्तानको उपनाम कौशिकीबाट कोशी राखिएको प्रस्ट हुन्छ । तर, प्रदेशको नाम कोशी पारित गराउने केही नेताले कैयौं पटक कोशी किरात शब्द हो भनेर बताए । यसै भन्न सकिन्छ कि कोशी शब्द व्युत्पत्तिमा नेताहरू दिग्भ्रमित छन् । 

सप्तकोशी नदीको सबैभन्दा लामो नदी अरुण हो । यो नदीको ७० प्रतिशत हिस्सा त तिब्बतमै छ । अरुण नदी दुई–अढाई करोड वर्षअघि उद्भव भएको हो । त्यसबेला बाँदरजस्तो तर पुच्छर नभएको जन्तु मात्रै उद्विकास थियो । हिजोआज मानिसको स्वरूपसँग निकै मिल्ने जन्तुहरू चिम्पाञ्जी, बोनोबोज, गोरिल्ला, ओराङ्ओटाङ र गिब्बन छन् । यिनीहरू बाँदरजस्ता जनावरको समूहबाट अढाईदेखि तीन करोड वर्षअघि अफ्रिकामा अलग भएका थिए । मानवको पूर्वज त करिब एक–सवा करोड वर्षअघि अफ्रिकामा उद्विकास भएको थियो । त्यसअघिको जीवाष्म फेला परेको छैन । 

मानवको पूर्वजसँग गोरिल्ला र चिम्पाञ्जी क्रमशः ९० र ७० लाख वर्षअघि छुट्टिएका हुन् । मानिस या होमो सेपियन्सको सबैभन्दा पुरानो जीवाष्म ३ लाख १५ हजार वर्षअघिको सन् २०१७ मा उत्तरपश्चिम अफ्रिकी देश मोरोक्कोमा फेला परेको छ । यसले बताउँछ कि अफ्रिकामा मानिस त्यसअघि नै उद्विकास भएका थिए । दुई लाख वर्षअघि होमो सेपियन्स अफ्रिकाबाट युरोप र एसियातर्फ लागे । दाङ–देउखुरीमा ६०–७० हजार वर्षपहिले होमो सेपियन्स आइपुगेका थिए । नेपालमा चुरे क्षेत्रबाहेक अन्यत्र ८–१० हजार वर्ष पुराना मानव निर्मित सामग्री फेला परेका छैनन् । उत्तरतिरबाट आएको सबैभन्दा पुरानो मानव सभ्यता स्थल मुस्ताङ हो । 

पूर्वी हिमाली जिल्लामा मानिसको प्रवेश चीनको याङ्जे र येल्लो नदी उपत्यकामा खेतीपाती थालिएपछि भयो । तर, त्यहाँ वैदिक आर्य ३–४ सय वर्षअघि मात्र फाट्टफुट्ट पुगेका हुन् । करिब ७५–८० वर्षअघि पूर्वी नेपाल पुगेका योगी नरहरिनाथले हिमवत्खण्डमा लेखेको कौशिकी नदी उद्भवको कथा कपोकल्पित हो भन्ने माथि प्रस्ट गरियो ।

अझै हिन्दुहरूले त्यो कथा पत्याउनु भनेको पृथ्वी चेप्टो छ, सूर्य, चन्द्र तथा ग्रहले पृथ्वीको परिक्रमा गर्छ भने जस्तै हो । अर्कोतिर, राज्यले कुनै पनि धर्म प्रचार गर्न बाधा पुर्‍याउनु हुँदैन । तर, राज्य आफैंचाहिँ धर्मको पछि लाग्नु हुँदैन । राज्य नै धर्मको पछि लाग्यो भने हाम्रो समाज चल्लो पहिले कि अन्डा भन्ने किस्सामै अलमलिइरहन्छ । 

कमल वनस्पतिशास्त्रका प्राध्यापक कमल मादेन जीवजन्तु तथा वनस्पतिबारे खाेज अनुसन्धान गर्छन् ।

Link copied successfully