कहिलेकाहीँ सामान्य बैंकिङ प्रक्रिया तथा नियमबारे जानकारी नरहँदा कतिपय व्यक्ति ठगिएका,अलमलमा परेका साथै बैंक तथा वित्तीय संस्थाले समेत उनीहरूलाई अन्योलमा राखेको सुन्ने गरिन्छ । वित्तीयसाक्षरता अभिवृद्धिले यस किसिमका समस्याको न्यूनीकरण एवं समाधानमा सहयोग गर्छ ।
वित्तीय साक्षरता आम जनमानसको सरोकार र चासोको विषय हो । वित्तीय साधनको कुशलतापूर्वक उपयोग गर्ने र सो सम्बन्धमा उपयुक्त निर्णय लिने क्षमता अभिवृद्धि गर्नका लागि आवश्यक ज्ञान र चेतना नै वित्तीय साक्षरता हो ।
वित्तीय साक्षरताले मानिसको आधारभूत आवश्यकता पूरा गर्नका लागि पैसा बचाउने बानी बसाल्न, दैनिक तथा आकस्मिक खर्चको व्यवस्थापन गर्न, कर्जाको सदुपयोग गर्न, छरिएका पुँजी एकत्रित गरी पुँजी निर्माण गर्न एवं भविष्यमा कर्जाको बोझमा नपरी आकस्मिक घटनाको सामना गर्न योजना निर्माणमा समेत सहयोग पुर्याउँछ । कुनै पनि व्यक्तिले दैनिक जीवनका आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्न एवं आम्दानी, कर्जा, लगानी, बचत, ब्याजदर, विप्रेषण, बजेट कोष, आकस्मिक कोष, वित्तीय जालसाजी, वित्तीय सेवा प्रदायकसँगको आर्थिक व्यवहार, उपभोक्ताको अधिकार एवं दायित्वजस्ता पक्षको ज्ञान प्राप्त गर्न पनि वित्तीय साक्षरता निकै प्रभावकारी हुन जान्छ ।
कहिलेकाहीँ सामान्य बैंकिङ प्रक्रिया तथा नियमबारे जानकार नरहँदा कतिपय व्यक्ति ठगिएका, अलमलमा परेका साथै बैंक तथा वित्तीय संस्थाले समेत उनीहरूलाई अन्योलमा राखेको भन्ने सुन्ने गरिन्छ । वित्तीय साक्षरता अभिवृद्धिले यस किसिमका समस्याको न्यूनीकरण एवं समाधान गर्न सहयोग गर्छ । वित्तीय साक्षरता बैंकिङ सेवा उपयोग गरी धनको सुरक्षा तथा आर्थिक उन्नति कसरी गर्ने भन्ने विषयमा मात्र केन्द्रित हुँदैन । बैंक तथा वित्तीय संस्थाको काम, कर्तव्य, अधिकार तथा निक्षेप संकलन, कर्जा प्रवाह, ब्याज लिने दिने प्रक्रिया र समय, कर्जा लिनु दिनुपर्दा अपनाइने प्रक्रियागत तौरतरिका, कर्जाको सदुपयोगबाट हुने लाभ र कर्जा दुरुपयोगबाट निम्तिन सक्ने नकारात्मक परिणामका बारेमा पनि जानकारी प्रदान गर्छ ।
पैसा वा धन सम्पत्ति कानुनबमोजिम मात्र आर्जन गर्ने, पैसा खर्च गर्दा मितव्ययी रूपमा बजेट बनाएर आयबमोजिम खर्च गर्ने, आफ्नो आयको केही अंश भविष्यका लागि बचत गर्ने तथा उद्यम व्यवसायका लागि कर्जा लिने र विदेशको कमाइ अर्थात् विप्रेषणको समुचित र उत्पादनमूलक उपभोग गर्ने ज्ञान तथा सीप वित्तीय साक्षरताको माध्यमबाट प्रदान हुन्छ । साथै, वित्तीय साक्षरताले उद्यम व्यवसायमा कहिलेकाहीं निम्तिन सक्ने जोखिम व्यहोर्न र जोखिम न्यूनीकरणका लागि बिमा तथा सुरक्षण गर्न सघाउँछ । गैरकानुनी तरिकाले आर्जित सम्पत्तिले भविष्यमा कठिनाइ निम्त्याउँछ भन्ने जस्ता विषयमा आवश्यक न्यूनतम ज्ञान पनि यसले प्रदान गर्छ ।
मुलुकमा वित्तीय बजारको विकास, नवीन वित्तीय प्रोडक्टहरूको आगमन, जनसांख्यिक, आर्थिक तथा नीतिगत परिवर्तनका कारण जटिल हुँदै गएको वित्तीय बजारका कारण वर्तमान समयमा वित्तीय शिक्षाको महत्त्व अझ बढिरहेको छ । ग्राहकका लागि उपलब्ध कर्जा एवं बचतका विभिन्न उपकरणका साथै कोभिड–१९ को महामारीपश्चात् ठूलो परिमाणमा वृद्धि भएको अनलाइन बैंकिङ, मोबाइल बैंकिङलगायतले नयाँनयाँ जिज्ञासा थपेको छ । औपचारिक वित्तीय संयन्त्रमा पहुँचको कमी, ठूलो संख्यामा बैंकिङ पहुँचविहीन जनसंख्या, बैंकिङ प्रवर्द्धनसम्बन्धी लक्षित गतिविधिका कमीका कारण पनि वित्तीय साक्षरता अपरिहार्य छ ।
नेपालमा वित्तीय साक्षरता सबै किसिमका मानिसलाई प्रदान गरिनु अत्यन्त आवश्यक देखिन्छ । कतिपय उच्च शिक्षा हासिल गरेका ठूला ओहदाका मानिसमा समेत वित्तीय कारोबारको न्यून ज्ञान मात्रै रहेको स्थिति छ । उपयुक्त वित्तीय शिक्षाको कमी हुँदा सही समयमा उचित निर्णय लिन नसक्दा कतिपय गम्भीर आर्थिक दुर्घटनामा परेको उदाहरणसमेत छ । यस किसिमका घटनाले हाम्रो समाजमा नकारात्मक असर पार्न पनि सक्छन् । यसर्थ, मानिसको उमेर समूह, शैक्षिक योग्यता, आर्थिक अवस्था आदिका अनुसार विभिन्न वर्गका मानिसका लागि फरक प्रकृतिका वित्तीय शिक्षा प्रदान गरिनु आवश्यक छ ।
विशेषतः बालबालिकालाई सानो उमेरदेखि नै बचत गर्ने बानी बसाल्न, उनीहरूलाई पैसा, बचत तथा बैंकिङ अभ्यासलगायतका अन्य वित्तीय कारोबारसम्बन्धी आधारभूत जानकारी दिनु जरुरी रहेको छ । घरको खर्च व्यवस्थापन अधिकांश गृहिणीले नै गर्ने भएकाले उनीहरूलाई कसरी खर्च व्यवस्थापन गर्ने, बचत, लगानी, बैंकिङ कारोबारलगायत अन्य कारोबार कसरी गर्ने भन्ने कुराको ज्ञान दिनु अझ जरुरी छ । साथै, वैदेशिक रोजगारीमा आश्रित घरपरिवारका सदस्यलाई बचत, विप्रेषण खाताको ब्याजदर, विप्रेषण आम्दानीको उत्पादनमूलक क्षेत्रमा प्रयोगलगायतका अन्य वित्तीय जानकारी प्रदान गर्नुपर्छ । यससँगै, बैंक तथा वित्तीय संस्था एवं लघुवित्त वित्तीय संस्थाका ऋणीहरूलाई ऋण सदुपयोगिताका बारेमा, ऋण लिँदा सर्तहरूका बारेमा जानकार भएर मात्र ऋण लिने भन्नेबारे एवं ब्याजदर र धितोको बारेमा समेत जानकारी दिनु आवश्यक छ ।
वित्तीय साक्षरता प्रवर्द्धन गर्नका लागि नेपाल राष्ट्र बैंकले समयसमयमा विभिन्न नीतिगत व्यवस्था गर्दै आएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ दफा ४ मा बैंकको उद्देश्यको उपदफा (१) को (ख) मा समेत ‘वित्तीय सेवाको पहुँच अभिवृद्धि र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने’ भनी उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंकको चौथो रणनीतिक योजना (सन् २०२२–२६) मा वित्तीय साक्षरता र डिजिटल वित्तीय साक्षरताका माध्यमबाट वित्तीय समावेशिताको लक्ष्य प्राप्त गर्ने प्रावधानसमेत रहेको छ । नेपाल राष्ट्र बैंकले, बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय साक्षरताका कार्यक्रम कार्यान्वयन गर्ने उद्देश्यले ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ जारी गरेको छ । साथै, वित्तीय शिक्षासम्बन्धी विभिन्न विषयलाई विद्यालयस्तरका पाठ्यक्रममा समेट्न शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रसँग आवश्यक समन्वय गर्ने योजना बैंकले बनाएको छ । वित्तीय समावेशीकरण रोडम्याप, नेपाल राष्ट्र बैंकको रणनीतिक योजना, एलायन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआई) को वित्तीय तथा प्राविधिक सहयोग र विभिन्न वर्षका मौद्रिक नीतिमा समेत वित्तीय साक्षरता अभिवृद्धिलाई प्राथमिकतामा राखिएबमोजिम राष्ट्र बैंकले वित्तीय साक्षरता फ्रेमवर्क, २०२२ जारी गरी कार्यान्वयनमा ल्याएको छ ।
वित्तीय सेवामा जनताको पहुँच अभिवृद्धि गरी विभिन्न बैंकिङ प्रोडक्ट तथा सेवाको उपलब्धताको बारेमा जनचेतना फैलाउने, आम जनतालाई औपचारिक बैंकिङ प्रणालीमा अभ्यस्त गराउन प्रेरणा प्रदान गर्ने एवं आमजनताको वित्तीय अवस्थामा सुधार ल्याउन सहयोग गर्ने वितीय साक्षरता फ्रेमवर्कका मुख्य उद्देश्य हुन् । यस्तै, उपभोक्तालाई वित्तीय प्रोडक्ट र सेवा उपयोग गर्दा आफ्नो अधिकार र दायित्वको बोध गर्न सहयोग पुर्याउने, वित्तीय वञ्चितीकरणमा परेका व्यक्तिलाई न्यून लागतमा वित्तीय सेवा उपलब्ध गराउने, डिजिटल वित्तीय सेवा र उक्त सेवाका फाइदा तथा जोखिमबारे जनचेतना फैलाउने, व्यक्तिगत वित्त व्यवस्थापनमा जनचेतना बढाउने, वित्तीय ज्ञानलाई व्यवहारमा उतार्न सहज बनाउने, वित्तीय सेवाको मागका पक्षलाई सबल बनाउँदै वित्तीय समावेशीकरण बढाउने यसको उद्देश्य हो । यस फ्रेमवर्कमा तलबी कर्मचारी, किसान, विप्रेषण प्रापक, महिला तथा विद्यार्थी आदि लक्षित वर्गलाई विभाजन गरी सोहीअनुरूप उपयुक्त हुने गरी वित्तीय शिक्षा प्रदान गर्नुपर्नर् ेप्रावधान तोकिएको छ । वर्तमान परिप्रेक्ष्यमा यो फ्रेमवर्कमा नै आधारित भएर राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकले, बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ को २० नं निर्देशनमा वित्तीय साक्षरता र ग्राहक संरक्षण सम्बन्धमा छुट्टै नियामकीय व्यवस्था गरेको छ । सो एकीकृत निर्देशनमा इजाजतपत्र प्राप्त संस्थाले आफ्ना कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम अनिवार्य रूपमा समावेश गर्नुपर्ने, आफूले प्रदान गर्ने वित्तीय सेवा सुविधाका सम्बन्धमा सर्वसाधारणलाई सुसूचित गराउने व्यवस्था गर्नुपर्ने, वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्याउने किसिमका विज्ञापन तथा सूचनालाई प्रोत्साहित गर्नुपर्ने तथा राष्ट्र बैंकबाट जारी वित्तीय साक्षरता मार्गदर्शन, २०७८ अनिवार्य रूपमा लागू गर्नुपर्ने भनी उल्लेख गरिएको छ ।
यो निर्देशनमा बैंक तथा वित्तीय संस्थालाई संस्थाले आफ्नो खुद नाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषका रूपमा छुट्याउनुपर्ने र सो रकमको ५ प्रतिशत रकम महिला तथा सीमान्तकृत समुदायलाई लक्षित गरी तालिम तथा वित्तीय चेतना अभिवृद्धिमा टेवा पुग्ने किसिमका वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्थासमेत छ । वित्तीय साक्षरता कार्यक्रम विद्यालयस्तरबाटै सुरु गर्दा प्रभावकारी हुने महसुस गरी विद्यार्थीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गरिँदै आइएको छ । अन्यत्रबाट सञ्चालन हुने वित्तीय शिक्षा कार्यक्रममा समेत वित्तीय सहयोग तथा स्रोत व्यक्ति प्रदान गर्ने सहयोग भइरहेको छ ।
नेपाल राष्ट्र बैंकले विभिन्न वित्तीय साक्षरतामूलक सन्देश तथा सूचना प्रकाशन तथा प्रसारण गर्दै आएको छ । यसरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दा विशेषगरी बचत, कर्जा, डिजिटल वित्तीय सेवा, वित्तीय, बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक, ग्राहक संरक्षण, ब्याजदर, साधनको लागत, सफा नोट नीति, आयआर्जनका तरिका, विप्रेषण, पुँजी बजार, बजेटिङ, विवेकशील वित्तीय निर्णय, वित्तीय सेवा प्रदायक, जोखिम व्यवस्थापन, गुनासो व्यवस्थापन आदिका बारेमा ज्ञान दिने गरिन्छ ।
वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’, ‘वित्तीय साक्षरता ः सन्दर्भ पुस्तक’ र ‘पैसाको बोट’ विषयक सन्दर्भ सामग्री प्रकाशन गरेको छ । साथै, केही वित्तीय चेतनामूलक गीत तथा जिंगलहरूको सँगालो तयार पारी बैंकको वेबसाइटमा राखिएको छ । यससँगै, बैंकले नियमित प्रकाशन गर्ने विभिन्न अध्ययन प्रतिवेदन, परिपत्र, समाचार/बुलेटिनलगायतका दस्ताबेजमार्फत सरोकारवाला पक्षको वित्तीय साक्षरता प्रवर्द्धनमा जोड दिँदै आएको छ । विभिन्न सातवटा विषयका वित्तीय चेतना अभिवृद्धि गर्ने श्रव्यदृश्य सामग्री निर्माण गरी राष्ट्रियस्तरका टेलिभिजन र बैंकका आधिकारिक सामाजिक सञ्जालबाट प्रसारण गर्नुका साथै ती सामग्रीलाई वेबसाइटमा अपलोडसमेत गरिएको छ ।
श्रव्यदृश्य सामग्रीमार्फत सफा नोट नीतिको कार्यान्वयन, फजुल खर्च घटाई बचत गर्ने अभ्यास, देशभित्र स्वदेशी मुद्रामै कारोबार गर्ने, समयमै कर्जा भुक्तानी गर्ने, सहुलियत कर्जा उपयोग गरी व्यवसाय गर्ने, विदेशबाट विप्रेषण पठाउँदा औपचारिक माध्यमबाट मात्र पठाउने, भुक्तानी कारोबारमा डिजिटल माध्यमको प्रयोग गर्ने जस्ता विषयमा चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । यसका अतिरिक्त नेपाल राष्ट्र बैंकले केही वर्षअघि वित्तीय साक्षरतासम्बन्धी विषयमा टेलिभिजनबाट प्रसारण गरेको हास्य टेलिशृङ्खला पनि बैंकको वेबसाइटमा राखिएको छ । नेपाल राष्ट्र बैंकले उद्यमशीलता विकास, पैसाको महत्त्व, सुरक्षा र आयआर्जन वृद्धि गर्ने गरी आममानिसको वित्तीय चेतना अभिवृद्धि गर्नका लागि द अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) को समन्वयमा हरेक वर्ष मार्च महिनामा ग्लोबल मनी विक मनाउँदै आएको छ ।
मुलुकको वित्तीय सेवा र प्रणालीलाई डिजिटलाइजेसनको माध्यमबाट वित्तीय पहुँच विस्तार गर्नेतर्फ नेपाल राष्ट्र बैंक अगाडि बढिरहेको छ । नेपालमा मात्र नभई विश्वमै प्रविधिको विकाससँगै डिजिटल वित्तीय सेवा प्रवाहको गति तीव्र रूपमा बढ्दै गएकाले नेपालमा पनि डिजिटल वित्तीय सेवा प्रवाहसम्बन्धी नीतिगत व्यवस्था, डिजिटल पूर्वाधार र डिजिटल वित्तीय साक्षरता प्रवर्द्धन गर्न बैंक अहोरात्र खटिँदै आएको छ । नेपाल राष्ट्र बैंकले यस विषयमा बैंक तथा वित्तीय संस्थाहरूलाई समयानुसार निर्देशनसमेत प्रदान गर्दै आएको छ ।
बैंकले मुलुकमा रहेका विभिन्न क्षेत्रका भिन्नभिन्न समूहलाई लक्षित गरी डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिरहेको छ । उक्त कार्यक्रममार्फत मुलुकमा प्रयोग भइरहेका डिजिटल वित्तीय सेवाहरू तथा क्रिप्टोकरेन्सी, हाइपरफन्ड, पिरामिड स्किम, नेटवर्क मार्केटिङलगायतका गैरकानुनी कारोबारको जानकारी दिनुका साथै डिजिटल वित्तीय कारोबारमा हुन सक्ने ठगी र त्यसबाट बच्ने उपाय आदिबारे सचेतना फैलाउने कार्य पनि भइरहेको छ । यस्ता किसिमका गैरकानुनी कारोबारलाई निरुत्साहित गरी वित्तीय समावेशीकरण अभिवृद्धि गर्न राष्ट्र बैंकले विश्वमा नै चर्चाको विषय रहेको केन्द्रीय बैंक डिजिटल मुद्राको कार्यान्वयन सम्बन्धमा छुट्टै महाशाखाको व्यवस्था गरी आवश्यक कार्य अगाडि बढाएको छ ।
विभिन्न सूचना, जानकारी तथा वित्तीय चेतनामूलक सामग्री प्रचारप्रसार गर्न राष्ट्र बैंकको आधिकारिक एक्स (ट्वीटर) अकाउन्ट, फेसबुक पेज, युट्युब च्यानल नियमित रूपमा सञ्चालनमा आएका छन् । साथै, राष्ट्र बैंकले वित्तीय साक्षरतालगायत वित्तीय समावेशिता वृद्धि गर्ने उद्देश्यले एलायन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआई) को वित्तीय तथा प्राविधिक सहयोगमा विभिन्न वित्तीय चेतनामूलक गतिविधि सञ्चालन गरिरहेको छ । यस सम्बन्धमा युनाइटेड नेसन्स क्यापिटल डेभलपमेन्ट फन्ड (यूएनसीडीएफ), इन्टरनेसनल फाइनान्स कोअपरेसन (आईएफसी) लगायतका विकास साझेदारहरूसँग समेत आवश्यक समन्वय भइरहेको छ ।
विभिन्न अध्ययन प्रतिवेदनको निष्कर्षबाट वित्तीय साक्षरताले आममानिसलाई वित्तीय रूपमा साक्षर बनाउने मात्र नभई, उनीहरूमाझ असल वित्तीय व्यवहार एवं आचरणको बीजारोपण गर्छ । जसले उद्यमशीलताको विकास एवं प्रवर्द्धन गर्नसमेत मद्दत पुर्याउने तथ्य स्पष्ट भएको छ । ग्राहक, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थालगायतका अन्य सरोकारवालाका लागि मात्रै होइन मुलुकको दिगो आर्थिक विकास, गरिबी न्यूनीकरण, वित्तीय पहुँचमा अभिवृद्धि, वित्तीय समावेशीकरण एवं समग्र वित्तीय स्थायित्व कायम गर्नमा समेत वित्तीय साक्षरताको महत्त्व छ ।
– तिम्सिना नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर हुन् ।
