कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

अनियोजित विकासको आतुरी

महिला सशक्तीकरणका नाउँमा गरिने कटाइ, सिलाइ र बुनाइ अब असान्दर्भिक हुँदै गएका छन् । रहर औद्योगिकीकरणको गरे पनि ग्रामीण उत्पादन प्रणालीमा कृषि कर्मको विकल्प छैन । विप्रेषणको रकमले निर्वाहलाई सहज तुल्याए पनि खुद उत्पादन वृद्धिमा त्यसको प्रत्यक्ष भूमिका केही पनि देखिँदैन । 
सीके लाल

सुगा भवानीपट्टी औपचारिक तवरले अब जलेश्वर नगरपालिकाको एउटा वडा मात्रै हो तर यो कुनै बेला महोत्तरी जिल्लाको सबैभन्दा प्रभावशाली गाउँ रहेको ठसक सुगालीहरूमा अझै देख्न सकिन्छ । सडकछेउमा साइकल रोकेर काठमाडौंबाट आएको आगन्तुकलाई ‘देउवा दाइ’ र ‘केपी बा’ भन्दै पूर्वप्रधानमन्त्रीहरूसँग अन्तरंग सम्बन्ध देखाउँछन् ।

अनियोजित विकासको आतुरी

संघीय सांसद महन्थ ठाकुर फर्केर आफ्नो चुनाव क्षेत्रमा नआएको गुनासो गर्छन् । माओवादी अब सक्किन लागेको ठोकुवा गर्छन् । र, राष्ट्रिय परिचयपत्र पाउन कठिन भएको दुःख मनाउ गरेर कुराकानीको बिट मार्छन् । सन् १९९० को दशकसम्म पनि झन्डै ९० प्रतिशत बासिन्दा खेतीकिसानीमा निर्भर थिए । जग्गा नहुनेहरू पशुपालन गर्थे । मौसमको आवश्यकताअनुसार कृषि क्षेत्रमा मजदुरी गर्थे । निर्वाहयोग्य आय नहुनेहरू सुरुमा श्रमिक हुन ‘गोहाठी–कलकत्ता’ भन्दै भारतको आसाम–बंगाल लाग्थे । सन् १९७० को दशकपछि हरियाणा–पन्जाबतिर रोपाइँ–कटाइ गर्न जाने चलन पनि सुरु भइसकेको थियो । कुल ग्रामीण अर्थतन्त्रमा तिनको योगदान भने खासै उल्लेख्य हुँदैनथ्यो । अहिले भने जग्गा बेचेर बन्द–व्यापार जस्तो सहरी अर्थतन्त्रमा लगानी गरेका बढीमा १० प्रतिशत घरपरिवारबाहेक लगभग जम्मैजसो व्यक्तिहरूको निर्वाह कुनै न कुनै किसिमको विप्रेषण प्रवाहसँग जोडिएको छ ।

मधेशमा वर्षात आफ्ना सबै बिगारका बावजुद सहकालको छनक लिएर आउँछ । असारमा पहिले फाटफुट ‘फुही’, त्यसपछि ‘अछार’ अनि ‘बौछार’ हुँदै अद्रा नक्षत्रको आगमनसँगै मुसलधारे वर्षाको आभास दिन थाल्छ । मैथिलीमा ‘झिसी’ भनिने साउनको सिमसिमे पानी र भदौको भदौरे झरी कायम रह्यो भने धान उब्जाउने किसानको मुख उज्यालो रहन्छ । घाघ भद्दुरी भन्ने जनकविबारे धेरै जानकारी छैन तर मिथिलाको कृषि कर्मसँग सम्बद्ध उनका उक्तिहरू पुराना किसानलाई कण्ठस्थ हुने गर्थ्यो । उदाहरणका लागि एउटा घाघ वचन– ‘चढत बरसे आदरा, उतरत बरसे हस्त । बीच बरसे मघा, सुखी रहे गिरहस्थ’ । कृषि कर्म हेय हुँदै गएकाले होला, त्यससँग सम्बद्ध मान्यता पनि सुस्तरी अनावश्यक लाग्न थालेका छन् । यस पटक अद्राको सुरुवात भने शुभ रहेको छ ।

असारको अद्रा नक्षत्रमा पृथ्वी माता रजस्वला हुने भएकाले पहिला तीन दिन सिन्काले पनि माटो कोर्न हुन्न भनेर सिकाइन्थ्यो । सायद धाजा फाटेको खेतको माटालाई सुस्तरी खुकुलो भएर बस्न दिन त्यस्तो मान्यता विकसित भएको हुन सक्छ । त्यसपछि पृथ्वीको उर्वराशक्ति वेगवान भएर आउँछ । हलो–कोदालो खेतमा उत्रिन्छन् । मिथिलाका ग्राम्य देवता ब्रह्म र डिहवार एवं कतिपय परिवारका कुलदेवी भद्रकाली तथा मीनाक्षीको पूजा पनि अद्रा नक्षत्रमै हुन्छ । कलमी सँगसँगै सरही आँप पनि पाक्न थाल्छ ।

पाकेको कटहलको कोवाको सुगन्ध फैलिन्छ । मध्यअसारपछि गाउँ नै हिलाम्मे हुने भएकाले मूल बाटोबाट गाउँभित्र पस्नासाथ जुत्ता–मोजा हातमा झुन्ड्याउनुपर्थ्यो । अहिले भने ससाना गल्ली पनि ढलान गरिएका छन्, तर पानी परेका बेला नांगै खुट्टा घरबाट निस्किन उपयुक्त हुने अवस्था यथावत् छ । प्राकृतिक बहावको बेवास्ता गरेर उपयुक्त डिजाइनबेगरका पक्की सडकहरूमा जताततै पानी जम्नु स्वाभाविक हो । सहरी विकासका प्राथमिकता पनि उल्टा जस्ता देखिन्छन् । सबैभन्दा पहिले सडक ढलान गरिएको थियो । अब खानेपानीको पाइप

ओछ्याउन ढलान फोड्नुपर्ने कुरा हुँदै छ । त्यसपछि ढल निकासका लागि बचेको पक्की सतह पनि ध्वस्त गरिने होला । सिन्काले पनि माटो कोर्न नहुने अवधिमा जताततै उत्खनक यन्त्र (एक्स्काभेटर) मार्फत ‘असारे विकास’ भइरहेको देख्न सकिन्छ । पछौटेपनबाट सामान्यजनको निकास र सरकारी विकास फरक कुरा भन्ने बुझाउन सक्नेहरू राजनीतिकर्मी, कर्मचारी र ठेकेदारहरूको साँठगाँठबाट तर्सिएकाले चुइक्क बोल्न सक्दैनन् ।

जलेश्वरबाट मटिहानी जाने सडकको मध्यतिर पर्ने बहुअर्वा चोकबाट पतैली जाने बाटोलाई ढलान गरिएको छ । मध्यअसारको एक साँझ त्यस सुनसान सडकमा पाँच जना स्कुले केटा रमाउँदै हिँडिरहेका थिए । रोकिएर एकछिन तिनीहरूसँग गफिँदा कृषि कर्म अहिले पनि समाजको पिँधमा रहेकाहरूका लागि गुजाराको एउटा प्रमुख सहारा रहेको जस्तो देखियो । पाँचमध्ये तीन बालक ‘अति पिछडा’ भनिने जातीय समूहका रहेछन्, दुई जना दलित परिवारका थिए । झिसमिसे अँध्यारामा तीमध्ये चार मित्र बहुअर्वा चोकमा दूध पुर्‍याउन जान लागेका साथीलाई आडभरोसका लागि हिँडेका रहेछन्, त्यसो किनभने अगाडि ‘नयाँ घरको कुकुरले एक्लो बटुवा देख्यो कि लखेट्छ’ । दुई बच्चाका पिता कमाइ गर्न अरब गएका रहेछन् । अरू दुईका पिता दिल्लीमा काम गर्छन् । एउटाको बाबु नेपाल प्रहरीमा कतै खटिएको रहेछ । अलि सुकिलो लुगा लगाएको सामान्य तहका सरकारी कर्मचारीको सन्तान नाफा क्षेत्रको ‘बोर्डिङ’ स्कुलमा पढ्दो रहेछ । बाँकी जम्मै ‘सरकारी विद्यालय’ जाँदा रहेछन् । अन्तर्राष्ट्रिय विप्रेषणभन्दा सरकारी नोकरीको आन्तरिक विप्रेषण भरपर्दो देखिनु अस्वाभाविक पनि होइन । खेतीपाती तिनका घरपरिवारले हेर्ने रहेछन् । गाई र बाख्रा चराउने जिम्मा बाजे र बज्यैको हुँदो रहेछ ।

मधेशतिर जग्गाधनीले ‘अधियाँ बटैया’ लगाउने चलन विस्थापित भएर तोकिएको वार्षिक बाली बुझाउने ‘मनखप’ प्रचलनले गर्दा सानो टुक्रामा पनि मिहिनेत गरेर बढीभन्दा बढी उब्जनी गर्ने बाध्यतालाई भने जलसागर पोखरीको डिलमा बाख्रा हेरी बसेका परसा गाउँका एक वृद्धले व्याख्या गरे । कार्यालय सहयोगीबाट अवकाशप्राप्त गरेका उनका सन्तान पनि बिदेसिएका रहेछन् । रहरले बाख्रापालन गरेको उनको दाबी सत्य पनि हुन सक्छ, तर त्यसो भनिरहँदा उनका आँखाहरू उदास देखिन्थे । मनखपमा जग्गा कमाउने किसान जतिसक्दो बढी उत्पादन चाहन्छ । जग्गाको दीर्घकालीन हित उसको चासोको कुरा होइन । पर्यावरणबारे ऊ चिन्ता गर्दैन । रासायनिक खाद, कीटनाशक (पेस्टिसाइड) र तृणनाशक (हर्बिसाइड) ओखतीको जथाभाबी प्रयोग एवं बाली भित्र्याएपछि खेतमै जलाइने परालले गर्दा किसानको मित्र मानिने गड्यौला देखिन छाडेको छ । कीरा–

फट्यांग्रा समाप्त भएपछि पानी जम्ने गराहरूमा समेत काँकडी, गंगटो एवं ससाना माछा जस्ता ‘हिलोजीवी’ र जलजीवी प्राणी भेट्टिन छाडेको छ । तटबन्धहरूको जालोले बाढीबाट एक हदसम्म सुरक्षा प्रदान गरेको सत्य हो, तर त्यससँगै आउने उब्जाउ ‘पाँकी माटी’ द्वारा खेतको उर्वराशक्ति पुनर्जागृत हुन पाउँदैन । त्यसपछि अझ बढी रासायनिक खाद चाहिन्छ । कृषिको प्राकृतिक चक्र बिथोलिए पनि वैकल्पिक व्यवस्था भने सुरु हुन सकिरहेको छैन ।

ग्रामीण प्रणाली

उल्लेख्य नगद प्रवाहले गर्दा विप्रेषणका विभिन्न आयामबारे सार्वजनिक वृत्तमा बरोबर बहस भइरहेको हुन्छ । निर्वाह कृषिबाहेक वैकल्पिक रोजगारको अभावमा अधिकांश युवा बाध्यताले बिदेसिन्छन् । केही अर्काको देखासिकी पनि बाहिरिन इच्छुक हुन्छन् । रहरले बिदेसिनेको संख्या बढ्दो छ । मिटरब्याजीको आतंकदेखि विप्रेषण प्रवाहले निम्त्याएको उपभोक्ता संस्कृति तथा सामाजिक विचलनबारे जनवृत्तमा पर्याप्त छलफल हुन्छ । मधेशी महिला भने वैदेशिक रोजगारमा जाने चलन व्यापक भइसकेको छैन, त्यसैले ग्रामीण उत्पादन व्यवस्था लगभग पूरै तिनमा आश्रित हुन पुगेकामा योजनाविद्ले समेत यथेष्ट ध्यान पुर्‍याउन सकेको देखिँदैन । कृषि मजदुरदेखि उत्पादनलाई बजारसम्म पुर्‍याउने सेवामा अब महिलाको हालीमुहाली छ ।

विप्रेषण पनि धेरैजसो तिनले नै बुझ्छन् । किनमेल गर्छन् । घर मर्मत गराउँछन् । केटाकेटीलाई स्कुल पठाउँछन् । बुढाबुढीको हेरचाह तिनकै जिम्मामा हुन्छ । त्यसैले ग्रामीण योजनाको केन्द्रमा मधेशी महिलालाई राख्न जरुरी छ । जग्गाको चक्लाबन्दी एवं सहकारी वा कम्पनी प्रारूपमा व्यावसायिक खेतीका लागि टुक्राटुक्री खेतका मालिक रहेका ससाना किसानलाई गोलबद्ध गर्न मध्यमधेशमा सहज छैन ।

अझ केही वर्षसम्म नारी नेतृत्वमा साना गराहरूमा गरिने मनखप खेती कायम रहने सम्भावना यथावत् छ । हल–गोरु लगभग लोप भइसकेकाले एवं रोपाइँ र कटाइका लागि कृषि मजदुर पाइन छाडेकाले उचित भाडामा उपयुक्त र व्यवस्थित कृषि मेसिन तथा औजारको उपलब्धताले तिनको जीवन सहज बनाउनेछ । एकैपटक जैविक कृषिमा छलाङ लगाउन खोज्ने हो भने श्रीलंकाको जस्तो विपत्ति निम्तिन सक्छ । गाईबस्तुको दाना र दबाई हुँदै गोबरमा समेत प्रतिजैविक (एन्टिबायोटिक) एवं सान्दार्भ (स्टेरायड) रसायन पुगिसकेको अवस्थामा जैविक उत्पादन प्रणाली संस्थागत गर्न सहज छैन । ससाना एकीकृत पशुपालन र खेती अभ्यासबाट जैविक कृषिको सुरुवात भने सम्भव छ ।

पशुपालन र खेतीबीचको अन्योन्याश्रित सम्बन्ध बिथोलिएको भने धेरै भएको छैन । कुनै बेला गाईले बाच्छा पायो भने पशुपालक खुसी हुन्थ्यो, किनभने गोरुको बजार मूल्य उल्लेख्य हुने गर्थ्यो । हलो र गोरुगाडा म्युजियमतिर पुग्न थालेकाले गोरु कृषकका लागि अनुपयोगी भार बन्न पुगेको छ । थारो गाई र बुढा गोरुहरूको बथानलाई राति–राति झापा र पश्चिम बंगाल हुँदै बंगलादेश पुर्‍याउँदै आएका गिरोहहरू भारतीय सत्ताको कट्टरताले गर्दा आजभोलि निष्क्रिय भएका छन् ।

अप्रत्यक्ष गोवंश न्यूनीकरण (कलिङ) गर्ने उपाय नरहेपछि स्थानीय गाई पाल्ने ससाना पशुपालक बजारमा टिक्न नसक्ने भएका छन् । उन्नत नश्लका होलस्टेन र जर्सी गाई दुधालु त हुन्छन् तर तिनको दानापानी, रेखदेख र उपचार परम्परागत ज्ञानले पुग्दैन । आधुनिक भनिने दुग्ध उत्पादन व्यवसायमा लगानी गर्न उद्यमीहरूले सुरु गरेका छन् । एक वा दुई गाई पालेर पारिवारिक आयमा योगदान गर्ने साना महिला किसान प्रतिस्पर्धामा टिक्न सक्छन् वा सक्दैनन् भन्ने हेर्न बाँकी छ । सवर्ण हिन्दुहरूमा राँगाको मासु गोमांस जस्तो निषिद्ध नमानिने भएकाले भैंसीपालनमा अनुत्पादक गोवंशले खडा गर्ने जस्तो चुनौती छैन । तर मुर्राह वा बन्नी जस्ता बढी दूध दिने भैंसीलाई चाहिने पूर्वाधार अपेक्षाकृत कम जमिनमा घर बनाएर गुजारा गरिरहेका सीमान्त किसानले जुटाउन सक्दैनन् ।

तथाकथित सुकुम्बासी आयोगहरूले जथाभाबी सार्वजनिक जग्गा वितरण गरेकाले साझा चरनक्षेत्र अब कतै बाँकी छैनन् । वर्षामा जलजमाव भएर सुक्खा महिनामा हिले पोखरी हुन पुग्ने ‘डोरा र डबरा’ जलाशयहरू अनियन्त्रित निजीकरण तथा व्यावसायिक माछापालनले गर्दा विपन्नका गाई–भैंसीलाई आहालमा हाल्ने ठाउँ भेट्टाउन छाडिएको छ । त्यसैले होला, गाउँमा महिला र बुढाबुढीमा बाख्रापालनप्रति चासो बढ्दो छ । तर सार्वजनिक चरन क्षेत्र त तिनलाई पनि चाहिन्छ । सधैंभर अर्काको खेतको आलीमा बाख्रा चराउन लगेर बाली खुवाएको आरोपमा गाली खान कसैलाई पनि मन पर्दैन ।

पोखरीका डिललाई सुशोभित गर्ने महुवा र जामुनका रूखहरू सँगसँगै घाँस उम्रिने र फैलिने ठाउँ पनि गायब भइसकेका छन् । सडकका दुवैतिर चरिरहेका बाख्राका हेरालुहरू बाटामा निरन्तर हुइँकिने टिपर/ट्रकको त्रासमा रहन्छन् । दशकौंदेखि महिला सशक्तीकरणका नाउँमा गरिने कटाइ, सिलाइ र बुनाइ अब असान्दर्भिक हुँदै गएका छन् । चीनबाट तौलमा खरिद गरेर नेपालमा गोटामा बेचिने तयारी पोसाकसँग कपडा, धागो र बटन भारतबाट मगाएर सिलाइएको कपडाले प्रतिस्पर्धा गर्न सक्दैन ।

रहर औद्योगिकीकरणको गरे पनि ग्रामीण उत्पादन प्रणालीमा कृषि कर्मको विकल्प छैन । विप्रेषणको रकमले निर्वाहलाई सहज तुल्याए पनि खुद उत्पादन वृद्धिमा त्यस प्रकारबाट सञ्चित पुँजीको प्रत्यक्ष भूमिका केही पनि देखिँदैन । आपूर्तिभन्दा माग बढेकाले गाउँतिर जग्गाको भाउ बढ्छ । गाउँका ठूला जग्गाधनी आफ्ना श्रीसम्पत्ति बेचेर सहरतिर घरजग्गाको मोल बढाउनतिर लाग्छन् र रोजगारबेगरको आर्थिक गतिविधिको दुष्चक्र फैलँदै गएर अझ बढी युवा बिदेसिन बाध्य बन्छन् ।

सुस्तताको गुणवत्ता

कछुवा र खरायोको लोककथामा धीर र स्थिर अन्ततः लामो दूरीको दौडमा विजयी हुन्छ भन्ने कुरा त्यत्तिकै देखाइएको होइन । सबैखाले विकासको लक्ष्य सामान्यजनको जीवनलाई सहज तुल्याउनु हो । त्यसका लागि सास लिने स्वच्छ हावा, पिउनयोग्य सफा पानी, उपयुक्त पोषक तत्त्व भएको भोजन, भरपर्दो ढल विसर्जनको व्यवस्था, आङ ढाक्ने मौसमअनुसारको कपडा, सुरक्षित आवास एवं मानसिक रूपले जोडिएर रहन सक्ने समुदाय आधारभूत आवश्यकता हुन् ।

न्यूनतम स्वास्थ्य सेवा एवं आवश्यक शिक्षाको उपलब्धताले व्यक्तिलाई आत्मविश्वासी बनाउँछ । त्यस्ता सबै कुरा एकै ठाउँमा उपलब्ध हुन नसक्ने भएपछि उत्पादक र उपभोगकर्तालाई जोड्ने विनिमय केन्द्रहरू चाहिन्छन् । सेवा कर्मले व्यवसायको रूप लिन्छ । बजार र समाजलाई जोड्ने गोरेटो हुँदै लोकमार्गसम्म दोस्रो तहको सार्वजनिक आवश्यकता बन्न पुग्छ । खेतबारी, पशुधन, जलाशय, उत्खनन क्षेत्र, जंगल र विनिमय व्यापारले पर्याप्त रोजगार सिर्जना गर्न नसकेपछि उद्योग एउटा सम्भाव्य विकल्प हुन सक्थ्यो ।

मााग, आपूर्ति र समुद्रपार व्यापारका सूक्ष्म व्यवधानले गर्दा ‘भारत–वेष्ठित’ देशमा औद्योगिकीकरणका चुनौतीहरूको चाङ अत्यासलाग्दो छ । सन् १९६० दशकमा राजा महेन्द्रदेखि यताका लगभग सबै राजनीतिकर्मीले देखाउँदै आएका ‘अरूले १०० वर्षमा पाएको उपलब्धि हामीले १० वर्षमा हासिल गर्नुपरेको छ’ भन्ने सपना यथार्थपरक छैन । नेपाल युरोपको स्विट्जरल्यान्ड जस्तो वा एसियाको दोस्रो सिंगापुर बन्न सक्दैन । महाविनाशक युद्धबेगर कोरिया वा सांस्कृतिक क्रान्तिको विध्वंस नभोगी चीनको जस्तो आर्थिक वृद्धि पनि हासिल गर्न सक्दैन । अहिलेभन्दा मानवीय, न्यायसंगत एवं सन्तुष्ट समाज भने बनाउन सकिन्छ ।

तीव्र विकासको लोभ देखाएर बिदेसिन बाध्य पार्ने सपनाका व्यापारीहरूबाट राजनीतिलाई मुक्त नगरेसम्म भ्रष्टाचार घट्नेवाला छैन । भनाइ नै छ– पिटाइको डरभन्दा मिठाईको लोभ बलियो हुन्छ । बिनाकुनै गृहकार्य हतारमा बनाइएका ठूला नगरपालिकाका राजनीतिक र प्रशासकीय प्रमुखहरूको सबभन्दा ठूलो सपना राजधानीमा घर र निजी चारपांग्रे गाडी जोड्नु रहेको हुन्छ । त्यस्तो कमाइ महँगा स्वागत द्वार, निरर्थक अवलोकन स्तम्भ (भ्युटावर) वा ढलान सडक निर्माणमा पैसा नखन्याई हुँदैन ।

भुइँमुनिको ढल निकास पनि विकास नै हो, तर त्यो नदेखिने हुँदा एउटो भोट बढ्दैन भन्ने मनस्थिति छ । सार्वजनिक स्कुल वा स्वास्थ्य सेवा सुधारभन्दा कीर्तन–भजनका लागि स्रोत खन्याएर लोकप्रिय हुने होड चलेको छ । सबैभन्दा ठूलो आवश्यकता सामान्यजनमा जागरुकताको छ । पारम्परिक समाजमा चेतनाको विस्तार भने सजिलो काम होइन ।

निराशाजनक भविष्यवादको चित्रण गरिएको ‘ब्रेभ न्यू वर्ल्ड’ उपन्यासका लेखक एल्डस हक्सले बडो सटीक टिप्पणी गरेका छन्, ‘धेरैजसो व्यक्ति बुद्धिमान् हुन्नन् । जिम्मेवारी लिन डराउँछन् । अह्राइएको काम गर्न इच्छुक रहन्छन् । तिनका भौतिक सुविधा एवं परम्परागत आस्थामा हस्तक्षेप नभएसम्म ती शासित भएर राजीखुसी बस्न तयार हुन्छन् ।’ एकताका ‘चल भैया आजादी ले’ नारा दिएर ‘हिरो’ भएका सीके राउत त्यत्तिक्कै संघीय राजधानीका खेलाडीहरूको अंक पछाडि थपिने ‘जिरो’ बनेका होइनन् । मधेशमा स्वशासनको संघर्ष लामो कालसम्म यथास्थितिमा अल्झिरहने सम्भावना देखिँदै छ । विद्रोहले हो जागरुकता जन्माउने, त्यसका लागि निरन्तर तयारी भने भइरहनुपर्छ । जसले जेसुकै भने पनि मधेशको हालत नसुध्रिए देश बन्दैन ।

प्रकाशित : असार २६, २०८१ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×