कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

युवाको विदेश सपना 

समाजमा युवालाई पैसा कमाउनुपर्छ भन्ने ज्ञान त दिइयो तर सीप प्रयोग गर्ने खालको ज्ञान, स्थान भने राज्यले उपलब्ध गराउन सकेन । राज्यलाई रेमिट्यान्स मात्र महìवपूर्ण हो कि युवा जनशक्ति पनि ?

पैदलयात्रा गर्दैगर्दा वा बसका झ्यालबाट बाहिर नियाल्दा सानो ज्यान तर ठूला झोला बोकेर साइकलमा खाना डेलिभरी गर्न निस्केका युवा प्रशस्तै देखिन्छन् । एक मनले सोच्छ, विभिन्न सपना बुन्दै काठमाडौं आएका युवालाई आंशिक रोजगारी मिलेको छ । अर्को मनले यो पनि सोच्छ कि सहरमा भान्सामा खाना तयार गर्ने जमात कम हुँदै छन् ?

युवाको विदेश सपना 

खाना अर्डर गरेर खानेको संख्या पनि बढिसकेछ । घर, अफिसमा खाना या खाजाको अर्डर पुर्‍याउन साइकलमा हुइँकिएका युवासँग साक्षात्कार हुने मौका भने मिलेको छैन । मन त थियो जीविकोपार्जनका खातिर उनीहरूको काम के छ ? र, भविष्यको आशा या सपना के छ भनेर सोध्ने । तर, सम्भव भएको छैन । पठाओ या इन्ड्राइभमार्फत रोजगारीको बाटो समातेका युवासँग भने नियमितजसो बात मार्ने या उनीहरूका कुरा सुन्ने मौका मिल्छ ।

लाग्छ, अत्यधिक मोटरसाइकल चल्ने सहर हो काठमाडौं । अहिले मोटरसाइकल या स्कुटीले युवालाई रोजगारी नै थपिदिएको छ । पुरुष तथा महिला यस रोजगारीमा संलग्न भएका छन् । यात्रुलाई छिटो अनि ट्याक्सीभन्दा कम भाडादरको कारण पनि धेरैले यी सेवा लिने गर्छन् । म आफैं पनि धेरै पटक यस्ता मोटरसाइकलबाट सेवा लिएर विभिन्न स्थानको यात्रा गर्ने गर्छु । केही यस्ता राइडर छन्, जो निकै गफ गर्दै आफ्नो गन्तव्यमा पुर्‍याउँछन् । कोही भने चुपचाप यात्रीलाई गन्तव्यमा पुर्‍याइदिन्छन् ।

एक चालक सत्र–अठार वर्षका रहेछन् । १२ कक्षा पढ्ने । उनी आईटी पढ्न विदेश जान चाहन्छन् । तर बाबुले मात्र आफ्नो खर्च धान्न नसकेकाले यसरी राइडिङ सेवामा लागेको उनी बताउँदै थिए । उनका अनुसार सबै यात्रु इमानदार नहुने रहेछन् । कतिपय ग्राहकले हप्कीदप्की गर्ने, भनेको समयमा गन्तव्यमा नआइदिने, कन्फर्म गरिसकेको यात्रालाई क्यान्सिल गरिदिने गर्दा यो पेसा सजिलो जस्तो लागे पनि धेरै सकस हुने उनको अनुभव रहेछ । जे होस्, दुःखसुख गरेर उनको लक्ष्य भनेको विदेश नै जाने रहेको छ ।

अर्को एक दिन मोटरसाइकल सेवा प्रदायकसँग कुरा गर्न पुगियो । ती युवा पनि निकै गफ गर्नुपर्ने खालका फरासिला थिए । ३० वर्ष कटेका उनी विदेश जानकै लागि भनेर एक वर्षदेखि प्रोसेस मिलाइरहेका रहेछन् । भिसा नआउन्जेल पैसाको जोहो गर्नका लागि यो पेसामा कार्यरत रहेको सुनाए । आफूले होटल व्यवसाय पनि गरेको, आफ्ना केही साथी डाक्टर त केही खाद्य विशेषज्ञका रूपमा जागिर खाइरहेको उनी बताउँदै थिए । आफू पढेलेखेको बताउने उनी जीविकोपार्जनका लागि विविध व्यापार व्यवसाय गरिसकेको बताउँदै थिए । परिवारमा एक सानो सन्तान र श्रीमती अनि बाआमा रहेछन् । नेपालमा व्यापार व्यवसाय सन्तोषजनक नभएपछि परिवार र साथीभाइकै सरसल्लाहमा विदेश जान लागेको उनी बताउँदै थिए । यहाँ कुनै पनि रोजगारी व्यवस्थित र सुरक्षित हुन नसकेको भन्दै थिए । सायद आफ्नो पौरखमा हन्डर खाएको अनुभव साट्दै थिए उनी ।

उनीजस्ता मध्यम वर्गका लागि कोरोना महामारीले ठूलो असर पुर्‍यायो । जसले घरबारी राखेर बैंकबाट ऋण लिएर व्यवसाय गरेका थिए, उनीहरू अहिले निकै तनावमा छन् । भएका व्यापार व्यवसाय चौपट भए, नयाँ रोजगारी सिर्जना हुन सकेन र उनीजस्ता युवाको रोजाइ बन्यो विदेश पलायन । उनले भने आफूसँग भएको जग्गा आधा मूल्यमा भए पनि बिक्री गरेर ऋण सल्टाएका रहेछन् । उनी मोटरसाइकल पनि तीव्र गतिमै हुइँक्याइरहेकै थिए । लाग्थ्यो, उनमा राजनीतिक सुझबुझ पनि छ । यो देशमा नेताहरूको प्रवृत्तिले नै नेपालीले दुःख पाएको आम गुनासो उनले पनि सुनाउन भ्याए ।

‘सबलाई आफैंलाई खान पाए पुग्छ । काठमाडौंका मेयरले कस्तो राम्रो काम गरेका छन् । काम भनेको यस्तो पो हुनुपर्छ । पार्टीको भएको भए कति जनालाई भाग लगाउनुपर्थ्यो, तर स्वतन्त्र भएपछि कसैलाई रिझाउनुपरेन,’ उनी तर्क गर्दै गए । मैले मनमनै गुनें— युवाहरूलाई काठमाडौं महानगर बालेनले मात्रै बनाएका हुन् भन्ने पनि लाग्दो रहेछ । युवाले नेतृत्व गर्दा केही नयाँपन देखिएकामा त नजरअन्दाज गर्न पनि सकिएन । तर युवाहरूमा जे अगाडि छ, त्यसलाई तत्काल विश्वास गर्ने र प्रतिक्रिया जनाइहाल्ने, बाँकी अन्तर्यको विश्लेषण गर्नै नखोज्ने बानीको पो विकास भइरहेको छ कि भन्ने पनि लाग्यो । अर्को कुरा पनि मनमा खेलिरह्यो— हुन पनि हाम्रा आदर्श मानेका राजनीतिक दल र तिनका नेतृत्वले जनताका सवाललाई चटक्कै छोडिदिएका छन् नि । जनजीविकाका सवालमा मुद्दा उठाउनुपर्नेमा सत्तामोह र भ्रष्टाचारमा लिप्त दलहरू गम्भीर हुनु पर्दैन र ?

ती मोटरसाइकल चालक आफ्नो घर तराईमा भएकाले गर्मी बढेको, आफ्नो सानो सन्तानको याद आइरहेको र यसरी परिवारलाई छोडेर पनि कसरी विदेश जानू भनेर चिन्ता लागिरहेको बताउँदै थिए । उनका कुराबाट यो अनुमान गर्न सकिन्छ कि हाम्रा युवा पुस्ता आफ्नो समाज, परिवार, नेतृत्वप्रति उदासीन छन् । उनीहरूमा यी सबप्रति नकारात्मक भावनाको विकास भइरहेको छ । नेपालमा बसेर काम छैन, दुःख नै गर्नुपरेपछि अलि राम्रो र व्यवस्थित देशमै गएर गरौं न भन्ने मनसाय हुने रहेछ ।

सबै विदेश जाने भएपछि यता बस्छु भन्नेलाई पनि किन नगएको विदेश भनेर सोधिइन्छ । यस्तैयस्तै मनस्थितिले साँच्चै नै देश छाड्नेको लर्को लागिरहेको छ । हाम्रो समाजमा युवाहरूलाई पैसा कमाउनुपर्छ भन्ने ज्ञान त दिइयो तर मिहिनेत गर्ने, सीपलाई प्रयोग गर्ने खालको ज्ञान, स्थान भने राज्यले उपलब्ध गराउन सकेन । त्यसैले, विदेश घुमेर हेरौं न भन्दा पनि सदाका लागि या उर्वर जीवनसम्म नै विदेशिने मनस्थिति तयार हुँदै गइरहेको छ ।

राज्यलाई रेमिट्यान्स मात्र महत्त्वपूर्ण हो कि युवा जनशक्ति पनि ? युवाहरू विदेशिने मूल कारण पनि खोज्नुपर्ने आवश्यकता परेको छैन कि ? कैयौंको बाध्यता छ, उमेर ढल्किसकेपछि पनि विदेशिनुपर्ने । कतिको रहर छ, कतिलाई वैदेशिक अध्ययन गर्नु छ । कतिपयलाई मिले उतै सेटल हुनुछ । यसरी हाम्रो देश उही दीर्घरोगले थलिएका आशामुखी बाआमाको मात्र हुने पो हो कि ! युवाहरू आफैंले अवसर खोज्नुपर्ने, अवसर सिर्जना गर्नुपर्ने अवस्था छ । राज्यले ठूलठूला कलकारखाना सञ्चालन गरी युवालाई रोजगारी दिनुपर्ने, युवाशक्तिलाई स्वदेशमै रोक्नुपर्नेमा जताततै समस्या मात्रै थपिएको छ । हाम्रो समाजको भविष्य पनि यी युवाको जस्तै अन्योलमा छ ।

प्रकाशित : असार ६, २०८१ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×