प्लास्टिक महाव्याधिको सामना


प्लास्टिकको टुथब्रसमा प्लास्टिककै ट्युबबाट दन्तमञ्जन निचोरेपछि दाँत माझ्दै सुरु भएको तपाईंको दैनिकी बेलुका माइक्रो फाइबरबाट बनेको सिरानीमा टाउको ढल्काएर प्लास्टिकबाटै बनेको मोबाइल फोनमा हातका औंला दौडाउँदै समापन हुन्छ ।


ख्याल गर्नुस्, दन्तमञ्जनमा ‘माइक्रो बिड्स’ मिसिएको हुन सक्छ । मानव स्वास्थ्य र वातावरणमा हानिकारक असर पर्दैनथ्यो भने प्लास्टिक मानव इतिहासकै ठूला आविष्कारहरूमध्ये पर्थ्यो होला । प्लास्टिकले दैनिकीलाई यति सहज बनाइदिएको छ, हामीले प्रयोग गर्ने हरेकजसो सामानमा प्लास्टिकको योगदान छ । प्लास्टिक उपयोगी छ, बलियो छ, हलुका छ, सस्तो छ, सुलभ छ । त्यति नै हानिकारक पनि ।
९९ प्रतिशत प्लास्टिक कच्चा तेल र प्राकृतिक ग्यासको सम्मिश्रणबाट बन्छ । प्लास्टिक उत्पादन, उपभोग र विसर्जनको १५० वर्ष लामो इतिहास हेर्दा हामीले प्लास्टिकजन्य फोहोर पृथ्वीमा फाल्न थालेको लामै भइसक्यो । ग्लोबल प्लास्टिक आउटलुक अनुसार, सन् १९५० मा प्रतिवर्ष २ मिलियन टन प्लास्टिक उत्पादन हुन्थ्यो । २०१९ मा आइपुग्दा प्लास्टिकको उत्पादन २३० गुणा बढेर प्रतिवर्ष ४६० मिलियन टन पुगेको छ, जसमध्ये १० प्रतिशतभन्दा कम रिसाइकल हुन्छ । करिब ९० प्रतिशत प्लास्टिक कि वातावरणमा फालिने र जलाइने गर्छ । फलस्वरूप यसले हिमाल, समुद्र, जलमार्ग, वन्यजन्तु र मानव स्वास्थ्यमा हानि पुर्याइरहेको छ ।
प्राथमिक प्लास्टिक (कच्चा तेलबाट उत्पादन भएको नयाँ प्लास्टिक जसलाई भर्जिन प्लास्टिक पनि भनिन्छ) उत्पादनको प्रमुख हिस्सा अर्थात् ४२ प्रतिशत प्याकेजिङमा प्रयोग हुन्छ । अहिले विश्वमा प्याकेजिङदेखि उपभोक्ता र संस्थागत उत्पादनहरू, यातायात, भवन र निर्माण, इलेक्ट्रिकल/इलेक्ट्रोनिक, औद्योगिक मेसिनहरू र लत्ताकपडासम्ममा कुनै न कुनै रूपमा प्लास्टिक प्रयोग हुन्छ । प्लास्टिकबिनाको दैनिकी असम्भवजस्तै देखिन्छ ।
पछिल्ला दिनहरूमा विश्वसहित नेपालमा सरकारी तथा गैरसरकारी स्तरबाट फोहोरमैला सरसफाइ तथा व्यवस्थापनका लागि अनेकानेक कार्यक्रमहरू भइरहेका छन् । भर्खरै ‘सफा हिमाल अभियान–२०२३’ सञ्चालन गरियो । यता काठमाडौंमा ‘सफा पशुपति, स्वच्छ पशुपति’ नारा दिई ‘पशुपति अभियान’ पनि चलिरहेको छ । बागमती सफाइ अभियान चलेकै एक दशक बितिसकेको छ । सरकार, नागरिक समाज, प्राज्ञिक संस्था, विज्ञ, अनुसन्धाता सबैतिर फोहोर व्यवस्थापनबारे निश्चय पनि सचेतना बढेको छ । तर सचेतना बढ्नु मात्र ठूलो कुरा होइन, मुख्य कुरा फेरि पनि व्यवस्थापनको हो ।
विश्वका तुलनामा नेपालको प्रतिव्यक्ति प्लास्टिक खपत निकै कम छ । तर अव्यवस्थित फोहोरमैला विसर्जनले अनेक प्लास्टिक प्रदूषणका संकटहरू निम्तिरहेका छन् । सहरहरू बाढी र डुबानको जोखिममा परेका छन् भने प्लास्टिकजन्य फोहोर जलाउँदा उच्च वायु प्रदूषणको जोखिम बढेको छ । यदि प्लास्टिकका झोला, पानीका बोतल, प्लास्टिक प्याकेजिङ (चाउचाउ, बिस्कुट, चकलेट, गुट्खा आदिका खोल), प्लास्टिकनिर्मित अन्य सामग्री वातावरणमा जथाभावी नफालिएका हुन्थे भने सम्भवतः हामीले फोहोर उठाउँदै हिँड्ने झन्झट गर्नुपर्दैनथ्यो ।
एकल–प्रयोग (एक पटक मात्र प्रयोग हुने) प्लास्टिकको उपभोग घटाउनका लागि विश्वभर भइरहेका पहलहरू पर्याप्त छैनन् । धेरै पहल प्लास्टिकको जीवनचक्रको ‘डाउनस्ट्रिम’ तर्फ निर्देशित भएका छन् । विभिन्न स्तरमा प्लास्टिक फोहोरको व्यवस्थापन गर्न ठूलो रकम खर्चिइएको छ, जबकि यसको उत्पादन पनि तीव्र गतिमा बढिरहेको छ । प्लास्टिकजन्य फोहोरले सर्वोच्च शिखर सगरमाथादेखि समुद्रसम्मलाई प्रदूषित बनाएको छ । प्राकृतिक वातावरणमा मिल्काइएको प्लास्टिकजन्य फोहोरको वार्षिक ३ प्रतिशत अर्थात् ८ मिलियन टन मुख्यतः नदीहरू र अन्य माध्यमबाट समुद्रमा प्रवेश गर्छ ।
प्लास्टिक सड्न सयौं वर्ष लाग्न सक्छ । अथवा, प्राकृतिक वस्तुजसरी नकुहीकन ससाना कणमा टुक्रिएर माइक्रो (सूक्ष्म) तथा नानो (अति सूक्ष्म) प्लास्टिकका रूपमा प्राकृतिक वातावरणमा सधैंभर रहन्छ । यस्ता कणहरू हामीले खाने खाना, सास फेर्ने हावा र माटामा पनि रहेको विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । धेरै प्लास्टिकका वस्तुहरूमा विषाक्त रासायनिक पदार्थहरू मिसाइएको हुन्छ । प्लास्टिकका सामान बनाउन मिसाइने फिलर, यूभी स्टेब्लाइजर, प्लास्टिसाइजर, लुब्रिकेन्ट्स, मोल्ड रिलिज एजेन्ट, प्रशोधन स्टेबिलाइजर, फ्लेम रिटार्डेन्ट्स, अनेक रङ मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।
नेदरल्यान्ड्सको भ्रिज युनिभर्सिटी एम्स्टर्डमले सन् २०२२ मा गरेको अध्ययन अनुसार, मानिसको रगतमा पहिलो पटक पोलिमर कणहरू फेला परेका छन् । यो खोजले माइक्रोप्लास्टिकका कणहरू हाम्रो नसा–नसामा बग्न सक्छन् भन्ने देखाउँछ । माइक्रोप्लास्टिकले मानव कोशिकाहरूलाई नोक्सान पुर्याउँछ । त्यस्तै, हावामा हुने प्लास्टिकका सूक्ष्म कणहरू (माइक्रो फाइबर) बर्सेनि लाखौं मानिसको मृत्युको कारक बनेका छन् ।
अर्कातिर, प्लास्टिक जलवायु परिवर्तनको प्रमुख कारकमध्ये एउटा हो । किनभने प्लास्टिकको पूरा जीवनचक्र, उत्पादन र विसर्जनले हरितगृह ग्यास उत्सर्जनमा योगदान पुर्याउँछ । मुख्यतया खनिज इन्धनहरूको उत्खनन, निकासी र प्रशोधन साथै प्लास्टिक जलाउने तथा टुक्रिने क्रममा कार्बन डाइअक्साइड र अन्य प्रदूषक निस्कन्छन् । फलस्वरूप पारिस्थितिक प्रणालीमा अवरोध उत्पन्न हुन्छ, कार्बन पृथकीकरणलाई असर गर्छ र जलवायु संकटलाई बढाउँछ ।
प्लास्टिक प्रदूषणको दिगो समाधान र व्यवस्थापनका लागि ग्लोबल प्लास्टिक सन्धि (जीपीटी) का सर्तहरू र त्यसको कार्यान्वयन सम्बन्धी दोस्रो अन्तरसरकारी वार्ता समिति (आईएनसी) भर्खरै सकिएको छ । सन् २०२४ सम्ममा खनिज इन्धनहरूको उत्खनन, पेट्रोकेमिकलको प्रशोधन, प्लास्टिक उत्पादन, उपभोग र प्रयोगपछिको व्यवस्थापन तथा व्यापारिक प्रदूषण अन्त्यका लागि सदस्यराष्ट्रहरूलाई कानुनी रूपमा बाध्यकारी व्यवस्था गर्ने राष्ट्रसंघीय ग्लोबल प्लास्टिक सन्धिको लक्ष्य छ ।
प्लास्टिक प्रदूषणले निम्त्याएको संकट सामना गर्न प्रयोग गरेर विसर्जनपछि व्यवस्थापन गर्नुपर्ने डाउनस्ट्रिम अवधारणा हाल व्याप्त छ । तर ग्लोबल प्लास्टिक सन्धिले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा अपस्ट्रिम उद्योगहरूको भूमिकालाई स्वीकार गरेको छ । कच्चा तेल प्रशोधन गर्ने पेट्रोकेमिकल उद्योग, कच्चा तेल र ग्यास निकासी गर्ने कम्पनीहरू, प्लास्टिक उत्पादनमा संलग्न पोलिमर तथा प्लास्टिक उद्योगहरूलाई अपस्ट्रिम उद्योग भनिन्छ । प्लास्टिकका सन्दर्भमा डाउनस्ट्रिम भन्नाले फोहोर व्यवस्थापनका कार्यहरूलाई जनाउँछ । जस्तो— फोहोरको विभाजन, संकलन, भण्डारण, रिसाइक्लिङ, सह–प्रशोधन र फोहोरबाट ऊर्जा उत्पादन लगायतका कार्य यसमा पर्छन् । नाफाका लागि प्लास्टिक प्रयोग गर्ने व्यवसायहरू, वितरण च्यानलहरू र खुद्रा विक्रेताहरू मिडस्ट्रिम अन्तर्गत पर्छन् ।
विश्वभरका नागरिक समाज र वैज्ञानिकहरूले वार्ता प्रक्रियामा महत्त्वाकांक्षी बन्न आआफ्ना सरकारलाई दबाब दिइरहेका छन् । तर सन्धिको सुरुआतदेखि नै यसलाई कमजोर पार्न पेट्रोकेमिकल इन्धन उद्योगहरू प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सक्रिय लबिइङमा छन् । प्लास्टिक प्रदूषणको मुद्दामा स्पष्ट रूपमा विश्वव्यापी उत्तर–दक्षिण विभाजन देखिएको छ । अपस्ट्रिममा पेट्रोकेमिकल कम्पनीहरू, पोलिमर र प्लास्टिक उत्पादन गर्ने कम्पनीहरू तथा प्लास्टिकजन्य दैनिक उपभोगका वस्तुहरू उत्पादन र बिक्रीवितरण गर्ने बहुराष्ट्रिय कम्पनीहरू भूमध्यरेखाभन्दा उत्तरमा छन् । विकासशील राष्ट्रहरूले नियमित रूपमा रिसाइकलका नाममा ग्लोबल साउथ र विकासोन्मुख राष्ट्रहरूलाई डम्पिङ साइट बनाएका छन् ।
प्लास्टिक प्रदूषण पर्यावरणीय मात्र होइन, मानव स्वास्थ्यको मुद्दा पनि हो । यसको दिगो समाधानका लागि प्लास्टिकको पूर्ण जीवनचक्रलाई सम्बोधन गरी अपस्ट्रिम, मिडस्ट्रिम र डाउनस्ट्रिम स्तरहरूमा व्यापार नियमको आवश्यकता छ । समस्याग्रस्त प्लास्टिक उत्पादनमा प्रतिबन्ध लगाउने, उत्पादनको सीमा तोक्ने र भर्जिन प्लास्टिक पोलिमरको उत्पादन घटाउने दिशातर्फ सन्धिका वार्ताहरू उन्मुख हुनुपर्छ । यसरी मात्र प्लास्टिकको विकल्प र प्रतिस्थापनलाई प्रवर्द्धन गर्न सकिन्छ । ‘ग्रिन वासिङ’ (प्लास्टिकजन्य उत्पादनको वातावरणीय असरबारे गरिने भ्रामक तथा गलत टिप्पणी) लाई रोक्न अन्तर्राष्ट्रिय परिभाषा र मापदण्डहरूलाई पनि सन्धिले सम्बोधन गर्नुपर्छ ।
प्लास्टिक प्रदूषण अन्त्य गर्ने सामाजिक र आर्थिक चुनौतीहरू चिर्दै प्लास्टिक उत्पादक र तपाईं–हाम्रो घरदैलोसम्म फोहोर संकलन गर्न आउने सफाइकर्मीहरूको न्यायोचित सङ्क्रमणको योजना विकास गर्नुपर्छ । यो लडाइँमा उत्पादन र प्रयोगसँगै अन्तर्राष्ट्रिय व्यापार, हाम्रो दैनिक जीवन र आनीबानी पनि जोडिन्छ । यसर्थ, प्लास्टिक महाव्याधि अन्त्य गर्ने महत्त्वाकांक्षी नीति कार्यान्वयनका लागि व्यापक र समावेशी दृष्टिकोण चाहिन्छ । प्लास्टिक प्रदूषणको सामना तथा थप दिगो भविष्य निर्माणका लागि उत्तरी विश्वमा अवस्थित विकसित मुलुकहरूलाई जिम्मेवार बनाउन अन्तर्राष्ट्रिय दबाब सृजना गर्नुपर्छ । एसिया र अफ्रिकासहितका विकासोन्मुख तथा विकासशील राष्ट्रहरूबीचले सामूहिक पहल गरे यो असम्भव छैन ।
प्लास्टिक प्रदूषण संकटको समाधान गर्न बाध्यकारी सन्धि अत्यावश्यक छ । यसका लागि नेपालले आफ्नो सरोकार आईएनसीमा स्पष्टसँग राख्नुपर्छ । प्लास्टिकको पूर्ण जीवनचक्रलाई सम्बोधन हुने गरी चक्रीय अर्थतन्त्रको अवधारणा अपनाउन नेपालले ढिलो गर्नु हुँदैन । मानवीय र वातावरणीय दुइटै दृष्टिकोणले सन्तुलन मिलाउनुपर्छ । एकल–प्रयोग प्लास्टिक उत्पादनमा रोक लगाउन सकेमा ग्लोबल प्लास्टिक सन्धि इतिहासको सबैभन्दा प्रभावकारी वातावरणीय सम्झौता बन्नेछ ।
लामिछानेले थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट प्लास्टिक व्यवस्थापनमा स्नातकोत्तर गरेकी छन् ।
प्रकाशित : जेष्ठ २२, २०८० ०७:३३