कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मेरो सम्झनामा जेठ ३

कोही भन्दै थिए, ‘मदन पौडी खेल्न माहिर हुनुहुन्थ्यो रे ! पक्कै त्रिशूली पार गरी कतै पुगेको हुनुपर्छ !’ कोही भन्दै थिए, ‘मदनपछिको एमाले कस्तो होला ?’
विष्णु रिमाल

काठमाडौँ — त्यस वर्ष मे १ मा फिलिपिन्सको ट्रेड युनियन केन्द्र किलुसाङ मायो उनो (केएमयू) ले आयोजना गरेको नवौं अन्तर्राष्ट्रिय ऐक्यबद्धतामा भाग लिन जानुअघि म कमरेड मदन भण्डारीको टोलीलाई बिदाइ गर्न अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थिएँ । योभन्दा अघि र त्यसपछि पनि प्रायः म अन्य नेतालाई स्वागत वा बिदाइ गर्न विमानस्थल पुगेको छैन ।

मेरो सम्झनामा जेठ ३

थाहा छैन, त्यो दिन किन म विमानस्थल पुगें । कमरेड मदनको नेतृत्वमा चीन जान लागेको प्रतिनिधिमण्डललाई मैले अलि असजिलो मानी परबाटै हात हल्लाएको थिएँ ।

त्यसपछि म फिलिपिन्स गएँ । मेरो यात्रा झन्डै तीन हप्ताको थियो । भ्रमणका क्रममा ट्रेड युनियनका नेताहरूका अतिरिक्त तत्कालीन समयमा सशस्त्र युद्धमा चर्चित तर विभाजनको संघारमा पुगेको फिलिपिनो कम्युनिस्ट पार्टीका नेताहरू र नयाँ जनसेनाका कमान्डरहरूसँग भेटघाट गरें । यी सबबारे कमरेड मदनलाई रिपोर्ट गर्नुपर्ने विषयहरू मसँग थिए; जस्तो— फिलिपिनो कम्युनिस्ट पार्टीका एसिया–प्रशान्त क्षेत्र हेर्ने नेताको नेपाल भ्रमण, कमरेड मदनलाई पठाइएका केही पुस्तक/दस्तावेजहरू ।

हङकङ हुँदै जेठ २ गते काठमाडौं आइपुग्नासाथ मैले कमरेड विद्या भण्डारीलाई फोन गरेर सोधें, ‘कमरेड कहाँ हुनुहुन्छ ?’ उहाँले मदन पोखराको कार्यक्रममा जानुभएको र नारायणघाटमा हुने अखिल नेपाल महिला संघको कार्यक्रम सकेर मात्र काठमाडौं आउने बताउनुभयो । मैले ठानें— अब उहाँका सामग्री फर्किएपछि नै दिनुपर्ला ।

जेठ ३ गते माधव नेपालले पार्टी कार्यालयमा बोलाउनुभयो र फिलिपिनो नेतालाई लिन विमानस्थल जान भन्नुभयो । प्रमोद हमाल र सुनील पौड्यालसहित हामी विमानस्थल गयौं । ती फिलिपिनो नेता हाम्रो पार्टीसँग द्विपक्षीय सम्बन्ध बढाउने हिसाबले आएका थिए र कमरेड मदनसँगको भेटवार्ता पहिलो कार्यक्रम थियो । तर मदनको व्यस्तता र फिलिपिनो कमरेडको काठमाडौंको छोटो बसाइका कारण ४ गते बिहान उनलाई नारायणघाट पुर्‍याइदिने र त्यहीँ नै भेटवार्ता गराउने योजना बनेको थियो ।

त्यसपछि जेठ ३ गते दिनभर म जिफन्ट कार्यालयमा रहें । तीन हप्ताको अनुपस्थितिका कारण छिनाल्न बाँकी आफ्ना काम सक्ने धुनमा थिएँ म । साँझ त्यस्तै छ बजेको हुनुपर्छ, बागबजारस्थित पार्टी कार्यालयबाट कमरेड प्रदीप नेपालको अनौठो फोन आयो, ‘तुरुन्त आउनुस् । गम्भीर सल्लाह गर्नु छ ।’

जिफन्टमा रहेका अरूहरूलाई ‘बस्दै गर्नू है’ भन्दै म र विनोद श्रेष्ठ बागबजार पुग्यौं । पार्टी कार्यालयको ढोकैमा भेटिएका कमरेड केशव बडालले भन्नुभयो, ‘मदनको गाडी दुर्घटनाग्रस्त भएछ ! पार्टी बरबाद हुने भो, कमरेड !’ सबै कुरा थाहा नपाइसकेकाले हुन सक्छ, मलाईचाहिँ मदन भेटिनुहुन्छ भन्ने लागिरहेको थियो ।

पहिलो तलामा कमरेड प्रदीप हताश भावमा बसिरहनुभएको रहेछ । अरू कोको हुनुहुन्थ्यो, याद रहेन । उहाँले हामीलाई भन्नुभयो, ‘मदन र जीवराज चढेको गाडी मुग्लिनबाट परतिर दुर्घटनामा परेछ । उहाँहरूको हालत के छ, थाहा छैन । त्यहाँ स्थानीय पार्टी पुगिसकेको छ । सम्पर्क हुन सकिरहेको छैन । तपाईं तुरुन्त त्यहाँ जानुस्, केन्द्रीय कार्यालयलाई नियमित सूचना गर्नुस् ।’

सोच्ने र सोध्ने समय थिएन । काठमाडौंमा छँदा शैलेन्द्र थापाको एउटा रातो गाडी मदनले सुरुका समयमा प्रयोग गर्नुहुन्थ्यो (शैलेन्द्रजीको पनि निधन भइसकेको छ) । त्यही गाडीमा शैलेन्द्रजी, म, विनोद र केशव पाण्डे मुग्लिनतिर लाग्यौं ।

सिमसिम पानी परिरहेको थियो । अनेक तर्क गर्दै हामी सामान्यभन्दा तीव्र गतिमा गुडिरहेका थियौं । हामी घटनाबारे कहिले आपसी तर्क–वितर्क गर्थ्यौं त कहिले मनमा तर्कना खेलाएर घोरिन्थ्यौं । मर्माहत र छटपटीपूर्ण मनोदशामा झन्डै दुई घण्टामा हामी मुग्लिनको प्रहरी चौकी पुग्यौं ।

‘दुर्घटना कहाँ भएको हो ? अहिलेसम्मको स्थिति के छ ?’

हाम्रो प्रश्नको प्रत्युत्तरमा ड्युटीमा रहेका प्रहरीले भने, ‘दासढुंगामा दुर्घटना भयो । प्रहरी त्यहाँ पुगिसकेको छ । त्रिशूलीमा गाडी डुबेको छ, नेताहरू भेटिनुभएको छैन । ड्राइभर जीवितै छ‘ ।’

यो सूचना हाम्रा लागि निराशालाग्दो थियो । मेरो मनको एउटा कुनामा ड्राइभर अमर लामाले सबै बताउला कि भन्ने लागिरहेको थियो । ऊ एक प्रकारले पत्याइएको कार्यकर्ता थियो । हामीले ‘पहिले घटनास्थल पुग्ने, त्यसपछि ड्राइभरसँग सोधपुछ गर्ने र पार्टी केन्द्रमा सूचना पठाउने’ योजना बनायौं ।

दासढुंगामा पुग्दा रात परिसकेको थियो । एक झुन्ड मानिसहरू दुर्घटनास्थलमा झुरुप्प जम्मा भएका थिए । गाडी कसरी आयो र कसरी खस्यो भन्ने दृश्य त्यहाँका प्रत्यक्षदर्शी गाउँलेहरू आगुन्तकहरूलाई दोहोर्‍याई–तेहेर्‍याई बताइरहेका थिए । त्रिशूलीमा डुबेको गाडी निकाल्ने प्रयत्न सुरु भएको थिएन । हामीले घटनाको प्रकृति हेर्‍यौं र अड्कल काट्यौं— मदन र आश्रित सायदै जीवित हुनुहोला ! त्यहाँ उपस्थित सबैले एक प्रकारले मदन–आश्रितको जीवित रहने आस मारिसकेका थिए ।

पार्टीका स्थानीय कार्यकर्ताले हामीलाई पनि फेरि एक पटक उही विवरण सुनाए र भने, ‘अमर लामालाई अस्पतालमा भर्ना गरिएको छ ।’ हाम्रो टिमले त्यहाँ बसिरहनुभन्दा नारायणघाट पुग्ने र पार्टी केन्द्रलाई सूचना गर्नु उपलब्धिमूलक हुने ठान्यो ।

हामीले त्यहाँ कान्तिपुर दैनिकका कृष्ण उपाध्याय (कृष्णजी अहिले बेलायत बस्नुहुन्छ) र फोटोग्राफर चन्द्रशेखर कार्कीसहित अर्का एक पत्रकारलाई भेट्यौं । पत्रकारहरूको टिममध्ये कान्तिपुर त्यहाँ पुगेको पहिलो टोली थियो । नेपालमा तुरुन्तै घटनाको सूचना सम्प्रेषण गर्ने प्रचलन चलिसकेको थिएन । त्यो समयसम्म कान्तिपुर पनि त्यति धेरै चलिसकेको थिएन । यो घटनाको न्युज ब्रेक गरेपछि कान्तिपुर व्यापक भएजस्तो मलाई लाग्छ ।

कान्तिपुरका पत्रकारहरू पनि हामीसँगै नारायणघाटतिर लाग्नुभयो ।

नारायणघाटको अस्पतालमा हामी पुग्दा अमर लामा बेडमा पल्टिरहेको थियो । हामीलाई देख्नासाथ ऊ भावावेगमा आउला र आफू दुर्घटनाको कारक बनेकामा दुःखमनाउ गर्दै रोला भन्ने मेरो अपेक्षा थियो । ‘यो के भयो अमर ? तिमीलाई कस्तो छ ?’ मैले सोधेँ । हुनेहुनामी त भइसकेको थियो । त्यसले पुर्‍याउने अकल्पनीय क्षति त हामीले भोग्नु नै थियो । पार्टीकै कार्यकर्ता भएकाले म ऊप्रति पनि सहानुभूति प्रकट गर्दै थिएँ । तर मेरो अपेक्षा विपरीत हामीले बोलाउँदा पनि ऊ बोलेन, अर्कोतिर फर्कियो । मैले यसलाई अझै पनि सकारात्मक ढंगले लिँदै सोचें— सायद घटनाको तोड उसलाई ज्यादै परेको छ र आफैं पनि कतै घाइते भएको हुन सक्छ !

तर कान्तिपुरका कृष्ण उपाध्यायले ‘कसरी दुर्घटना भयो ? नेताहरू कसरी बस्नुभएको थियो ? तिमी कसरी बच्यौ ?’ भन्ने प्रश्न गर्नासाथ उसले बक्न सुरु गर्‍यो, ‘पानी परिरहेको थियो, गाडी स्पिडमा थिएन । एक्कासि गाडी चिप्लियो र म पानीबाट पौडी खेलेर निस्किएँ‘ ।’

हामी जिल्लियौं । मैले बोलाउँदा नबोल्ने, पत्रकारले सोध्नासाथ फरर विवरण दिने ! के हो यो ! तर मलाई अझै पनि ‘दुर्घटना षड्यन्त्रको अंग हो’ भन्ने लागिरहेको थिएन । अस्पतालबाट बाहिरिनासाथ कृष्णजीले भन्नुभयो, ‘यो ड्राइभर अब फस्यो, यसको कुरा बुझियो !’

हामीले काठमाडौं फोन गर्‍यौं र जेजति बुझेका थियौं सूचित गर्‍यौं । हामीलाई केन्द्रीय कार्यालयबाट राति त्यहीँ बस्ने र बिहान स्थिति हेरेर खबर गर्ने निर्देशन प्राप्त भयो ।

हाम्रो रात दासढुंगामा बित्यो । अनेक तर्क–वितर्क हुँदै थिए । मानिसहरू कम्तीमा मदनचाहिँ जीवितै हुनुहोला भन्ने निस्कर्ष निकाल्दै थिए । कोही भन्दै थिए, ‘मदन पौडी खेल्न माहिर हुनुहुन्थ्यो रे ! पक्कै त्रिशूली पार गरी कतै पुगेको हुनुपर्छ !’ कोही भन्दै थिए, ‘मदनपछिको एमाले कस्तो होला ?’ यस्तै तर्कनासँगै हामीले समय बितायौं ।

पूर्व–पश्चिमबाट आइरहेका गाडीहरूले सडक भरिएको थियो । उज्यालो हुँदा–नहुँदै दुर्घटनास्थल मानिसहरूले टनाटन भरिएको थियो । सबैमा अपेक्षापूर्ण ‘अन्धविश्वास’ थियो— मदनचाहिँ जीवितै हुनुपर्छ !

बिहान १०–११ बजेतिर हामीले फेरि एक पटक काठमाडौंमा फोन गर्‍यौं । काठमाडौंबाट निर्देशन आयो, ‘धेरै कमरेडहरू त्यता जानुभएको छ । यहाँ अरू काम छ, तपाईंचाहिँ फर्किनुस् ।’

क्रेन उज्यालो भएपछि मात्र आयो र गाडी निकाल्ने प्रयत्न सुरु भयो । केही समयको प्रयत्नपछि गाडी बाहिर निकालियो । बीभत्स दृश्य ! जीवराज आश्रितको शव गाडीमा देखियो । त्यहाँ जम्मा भएका सबै मानिस सन्तप्त थिए । दुःखावेशमा मानिसहरू चिच्याइरहेका थिए । कोलाहल थियो । कृष्णगोपाल श्रेष्ठ बेहोस नै हुनुभयो । यो पीडादायक क्षणसहित मदन जीवितै रहने आस टुंगियो । फिलिपिन्समा हासिल गरेको अनुभव मदनलाई सुनाउने र छलफल गर्ने मेरो धोको अधुरै रह्यो ।

काठमाडौं फर्कने निर्देशन पाएकाले आफूसँगै गएकाहरूलाई त्यहीँ छोडी म कान्तिपुरकै गाडीमा फर्किएँ । बाटामा मनभरि धेरै तर्कना आए । तर्कनाहरू दुःस्वप्नहरूलाई भुलेर आफैंलाई क्षणिक मात्रै भए पनि सान्त्वना दिने माध्यम रहेछन् भन्ने लागेको छ मलाई यस बेला । आफ्नो अगाडि आएको भयानक प्रहार पहिले मनले महसुस गर्छ र त्यसलाई सामना गर्ने सामर्थ्य पनि मनले नै बनाउनुपर्ने रहेछ । सिंगो पार्टी र आन्दोलनको भविष्य तर्कनामा आइरहेका थिए । मदनको टोली चीन हिँडेपछि मैले सोम राईसँग गरेको बहस सम्झिएँ । ‘मदन हाम्रो सन्दर्भमा नयाँ मार्क्स हुन् तर यति ठूला नेताहरू एउटै जहाजमा चीन किन गएका ? केही भयो भने एमाले त डुब्छ !’ त्यसो त न्युजविकले उहाँले चुनाव जित्नासाथ लेखेकै थियो— ‘इन नेपाल कार्ल मार्क्स लिभ्स’ ! यो घटनापछि अन्य विदेशी सञ्चारमाध्यमले पनि मदनलाई ‘नेपाली मार्क्स’ लेखे । चीन वा भारत भ्रमणमा त केही भएन, तर जीवराज र उहाँसँगै गएको गाडी दुर्घटनाग्रस्त भयो । सोम र मैले छलफल गरेजत्तिकै ‘मात्रा’ मा नभए पनि काफी क्षति त हामीले बेहोर्नुपर्‍यो ।

३० वर्ष बिते, मैले यस्तै धारणा १७ औं स्मृति दिवसमा पनि व्यक्त गरेको थिएँ । त्यतिखेर मैले मदनको अभाव हामीलाई खट्किरहेको छ भनेको थिएँ । आज भन्न चाहन्छु— कमरेड मदन, तपाईंको विचारले हामीलाई मार्गदर्शन गरिरहेको छ ! सधैं सम्झिरहनेछौं !

रिमाल एमाले उपमहासचिव हुन् ।

प्रकाशित : जेष्ठ ३, २०८० ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?