प्रश्न देउवालाई होइन, गगन–विश्वलाई

माघ २, २०७९

राजाराम गौतम

२०७४ को आम निर्वाचनमा लज्जास्पद हार बेहोरेर खुम्चिएको नेपाली कांग्रेसलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली संसद्‌मा प्रतिपक्षी दल कता हरायो भन्दै कटाक्ष गर्थे र सुझाउँथे, ‘प्रमुख प्रतिपक्षी दल बर्नभिटा खाएर तागतिलो हुनुपर्‍यो ।’

२०७९ को निर्वाचनमा कांग्रेस संसद्को सबैभन्दा ठूलो दल भएको छ । अब उसले बलियो हुन बर्नभिटा खाने मुफ्तको सल्लाह सुनिरहनु पर्दैन । तर, जसरी यो संसद्को प्रारम्भिक दिनदेखि नै कांग्रेसले संसदीय परम्परा र नैतिक मूल्यलाई कुल्चेर अराजनीतिक बाटो समातेको छ, त्यसले आगामी दिनमा उसले प्रशस्तै खप्की सुन्नुपर्नेछ । 

संसद्को दोस्रो दिन, पुस २६ गते प्रतिपक्षको हारमा बसेका कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि त्यसको सुरुआत भइसक्यो । देउवालगत्तै संसद्को रोस्ट्रममा उभिएर एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले व्यङ्ग्य कसिहाले, ‘सरकारको समर्थन गरेर प्रमुख प्रतिपक्षी दलका नेताले डेमोक्रेसीको नयाँ भाष्य स्थापित गर्नुभएको छ । यसको देश–विदेश र इतिहासमा छलफल होला ।’ 

ओलीले कांग्रेस समर्थनको ओठे स्वागत त गरे तर उनीजत्तिका चतुर नेताले यसको अन्तर्य नबुझ्ने कुरा भएन । उनले शंका गर्दै भने, ‘यदि यो समर्थन सदाशयबाहेक कुनै जाल वा ढोक्सा हो भने त्यो माछा नभएको खोलामा फालेसरह हुनेछ र माछा पर्नेछैन ।’

देउवा–दाउ

देउवाको विश्वासको मतले ओलीमा त संशय पैदा गरायो नै, स्वयं कांग्रेसभित्रको संस्थापनइतर समूह पनि झस्किएको छ । देउवाको यो कदमका पछाडि मूलतः दुईवटा सन्देश छन् । 

पहिलो, आफ्नै हुस्सुपनले गठबन्धन टुटेपछि सत्ता गुमाएका देउवाले विश्वासको मतको कार्ड खेलेर हार नमानिसकेको सन्देश दिएका हुन् । राजनीतिक शतरञ्जमा केही अघि ओलीले उनलाई ‘चेक’ दिएर प्रचण्डलाई तेस्रो पटक प्रधानमन्त्री हुने बाटो खोलिदिए । देउवाले प्रचण्ड सरकारलाई विश्वासको मत दिएर त्यसको ‘काउन्टर’ गरेका छन् । अर्थात्, माओवादी–एमाले सहकार्यमा देउवाको कदमले थोरै भए पनि अविश्वासको बीउ रोपिदिएको छ । 

कदाचित् देउवाले सोचेजस्तै राष्ट्रपति निर्वाचनमा त्यो अविश्वास बढेर गयो भने सत्ताको पासा पल्टिन सक्छ भन्ने उनको आकलन हुन सक्छ । देउवा–दाउको भेद शेखर कोइरालाले खोलिदिएका छन् । उनी भन्छन्, ‘राष्ट्रपति निर्वाचनप्रति अहिले सबै दलको चासो छ । विगत पाँच वर्षमा राष्ट्रपतिबाट कस्तो भूमिका निर्वाह भयो भन्ने कुरा सबैले बुझेकाले पनि अहिले राष्ट्रपतिप्रति विशेष चासो छ । हामीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर सरकारलाई विश्वासको मत दिएका हौं ।’

दोस्रो, पार्टीको आन्तरिक शक्ति सन्तुलनमा देउवाले संख्याको आडमा आफूले चाहेको निर्णय चाहेका बखत गर्न सक्ने सन्देश पनि दिएका छन् । यसले संस्थापनइतर समूह निरीह देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्मासहित केही नेताले पार्टीले प्रमुख प्रतिपक्षको रचनात्मक भूमिका खेल्नुपर्ने तर्क गरे, अडान राखे । केही नलागेपछि ‘नोट अफ डिसेन्ट’ सम्म लेखे । यद्यपि देउवामा पार्टीभित्रको फरक मतले खासै दबाब सृजना गर्न सकेन । 

चुनावअघि पनि कांग्रेसमा वडा तहदेखि केन्द्रसम्मै गठबन्धन नगरी एक्लै लड्नुपर्छ भन्ने बलियो मत थियो । देउवा त्यसको बेवास्ता गर्दै गठबन्धनबाटै निर्वाचनमा होमिए । २०७४ को निर्वाचनमा खुम्चिएको कांग्रेस सबैभन्दा ठूलो पार्टी त बन्यो तर दुई कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी हुनासाथ रक्षात्मक स्थितिमा पुग्यो । यसका बावजुद कांग्रेससँग एउटा सशक्त र उदाहरणीय प्रतिपक्षको भूमिका निर्वाह गर्ने अवसर थियो । तर सत्तामुखी राजनीतिलाई नै सर्वस्व ठान्दै आएका देउवाले सत्ताको च्याँखे दाउमा रम्ने रणनीति लिए । 

देउवाले थापेको पासोमा राष्ट्रपति पद पर्ला कि नपर्ला ? अथवा, अहिलेको सत्ता गठबन्धन टुटेर प्रचण्ड फर्केलान् कि नफर्केलान् ? अहिले नै अन्दाज गर्नु हतारो हुनेछ । प्रधानमन्त्री प्रचण्डले सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिने, सभामुख र राष्ट्रपति कांग्रेससँग बाँड्ने संकेत गरेको खबर आइरहँदा कतै पुरानै गठबन्धन ब्युँतिने त होइन भन्ने आशंका पनि उब्जिन सक्छ । तथापि सत्ताको लेनदेनबाट माथि उठ्न नसकेको यो राजनीति मुलुकका लागि चाहिँ महँगो पर्नेछ । 

कांग्रेसको च्याँखे दाउमा सत्ता परेछ नै भने पनि त्यसको मूल्य समग्र राजनीतिले चुकाउनुपर्नेछ । संसदीय राजनीति थप अस्थिर हुनेछ । गठबन्धन बन्ने–भत्कने खेलले जनस्तरमा दिक्दारी र निराशा बढाउनेछ अनि सबैभन्दा मुख्य कुरा, संसद्मा एउटा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने अवसर गुमाउँदै गरेको कांग्रेसको पुनर्जीवन पाउने आशामा पनि ग्रहण लाग्नेछ । 

प्रतिपक्ष राजनीतिको उपेक्षा

उसै पनि कांग्रेसमाथि प्रतिपक्ष राजनीतिको सबल भूमिका निर्वाह गर्न नसकेको आरोप लाग्ने गर्छ । भनिन्छ, ओली नेतृत्वको सरकार स्वेच्छाचारी हुँदै संसद् विघटनसम्म पुग्नुका धेरै कारकमध्ये एउटा थियो— कांग्रेसको कमजोर प्रतिपक्षीय भूमिका । कम्युनिस्टहरूकै कलह र सत्ता–उन्मादले संविधान ‘डिरेल’ भएकामा शंका छैन तर प्रमुख प्रतिपक्षको निरीह अवस्था यसमा त्यत्तिकै जिम्मेवार थियो ।

२०७४ पछिको ओलीकालमा कांग्रेस प्रतिपक्ष राजनीतिका हिसाबले मृतप्रायः थियो । संसद्मा गगन थापा र मीनेन्द्र रिजालको उपस्थितिले मात्रै कांग्रेसको धुकधुकी जोगिएको थियो, प्रमुख प्रतिपक्षी दलका नेता देउवाले संसद्मा आफ्नो उपस्थिति कहिल्यै देखाउन सकेनन् । दुईतिहाइ बहुमतको बलियो सरकार, त्यसमाथि ओलीको आत्मविश्वास चुलीमा थियो । संसद् विघटन, सत्ता दाउपेच र चतुर्‍याइँले ओलीको छवि अहिले खस्के पनि त्यो बेला उनी शक्तिशाली प्रधानमन्त्री थिए । प्रतिपक्षी दल शक्तिशाली प्रधानमन्त्रीको छायामा कतै दबेको थियो । कांग्रेस ओलीकालमा जति लाचार कहिल्यै थिएन भनेर स्वयं कांग्रेसका नेताहरू टिप्पणी गर्थे । 

२०६४ मा पनि माओवादी सरकारमा गएपछि कांग्रेस प्रतिपक्षमा पुगेको थियो । विद्रोहबाट शान्तिको बाटामा भर्खरै आएको माओवादीमा युद्धको धङधङी यति धेरै थियो कि, त्यसलाई तटस्थ राख्नु त्यस बखतको अनिवार्य सर्त थियो । कांग्रेसले माओवादीको शक्ति–उन्मादको विरोध गर्दै खबरदारी गर्‍योÙ शान्ति प्रक्रिया, संविधान निर्माणसँगै उसलाई राजनीतिमा लचिलो बनाउँदै लैजाने भूमिका निर्वाह गर्‍यो । २०५१ को एमालेको नौमहिने शासनकालमा कांग्रेसले मुलुक फेरि मध्यावधिको चुनावमा नआओस् भनेर प्रधानमन्त्री मनमोहन अधिकारीलाई विश्वासको मत दिएको थियो । 

खासमा राजनीतिक भाषणमा नेताहरूले भनेजस्तो ‘बलियो र रचनात्मक प्रतिपक्ष’ नेपाली राजनीतिले पाएकै छैन । २०४६ पछिको संसदीय राजनीतिमा अधिकांश समय कांग्रेस सत्तापक्ष बन्यो भने एमाले प्रतिपक्षको भूमिकामा रह्यो । तर, एमाले संसद्भित्रको रचनात्मक भूमिकामा भन्दा बढी सडकमा देखियो । सरकारविरुद्ध एमालेको प्रतिरोध र हिंसात्मक भूमिकाको आलोचना पनि भयो । राजनीतिका पण्डितहरू एमालेलाई ‘अग्ली अपोजिसन’ को संज्ञा दिन्थे । 

२०६३ पछिको सत्ता राजनीतिमा प्रतिपक्षी भूमिका निर्वाह गर्दा माओवादीले एमाले सम्झायो । उसले पनि प्रतिपक्षीय राजनीतिका नाममा सडकमा हिंसात्मक प्रदर्शनलाई जोड दियो । एमाले र माओवादीका प्रारम्भिक संसदीय अभ्यासमा प्रतिपक्षीय भूमिका हिंसात्मक हुनुमा दुई कारण थिए । पहिलो, कम्युनिस्ट स्कुलिङ । कम्युनिस्टहरू संसद्लाई ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो’ भनेर आलोचना गर्थे । संसदीय राजनीति अँगाले पनि पूर्ण विश्वस्त हुन नसकेकाले तिनलाई संसद्भन्दा सडक प्यारो हुन्थ्यो । दोस्रो, संसदीय संस्कृति र अभ्यास सिक्न तिनले समय लिए । 

संसदीय राजनीतिमा अभ्यस्त हुँदै जाँदा कम्युनिस्ट पार्टीहरू पनि कांग्रेसजस्तै सत्तामुखी हुँदै गएका छन्, जसले गर्दा संसद्मा प्रतिपक्षीय राजनीति उपेक्षित छ, अपहेलित छ । 

राजनीतिशास्त्रीहरू भन्छन्, संसद् प्रतिपक्षको हो । प्रतिपक्षले छाया सरकारको हैसियत पनि राख्छ । त्यसैले जनता चाहन्छन्, प्रतिपक्षहरूले आफ्ना मुद्दा बोकिदिऊन् । खासमा जनताले सरकारसँगभन्दा बढी आस प्रतिपक्षसँग राख्छन् । प्रतिपक्ष बलियो हुँदा मात्रै लोकतन्त्रले गति पाउँछ । प्रतिपक्षका गतिविधिकै कारण लोकतन्त्र ज्युँदो भएको अनुभूति हुन्छ । 

मूलतः प्रतिपक्षका केही महत्त्वपूर्ण जिम्मेदारी हुन्छन् । पहिलो, सरकारले प्रस्ताव गर्ने विधेयक, नीति तथा कार्यक्रममाथि आलोचनात्मक बहस छेड्नु प्रतिपक्षको काम हो । विरोधका लागि विरोध गरेर अनाहकमा संसद् अवरुद्ध गर्नु रचनात्मक प्रतिपक्षको ‘बहादुरी’ होइन । उसले सरकारका ‘लुप होल’ पहिल्याउँदै त्रुटि औंल्याउने दायित्व निर्वाह गर्छ । 

दोस्रो, सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्ने र खबरदारी गर्ने काम पनि प्रतिपक्षकै हो । सरकारको कार्यशैलीको निगरानी गर्ने, त्यो जनमुखी छ कि छैन भनी पर्गेल्ने काम प्रतिपक्षले गर्नुपर्छ । 

तेस्रो, संसद्मा निरन्तर जनसरोकारका मुद्दा उठाउने, सीमान्तीकृतका आवाज र अधिकारको पैरवी गर्दै संसद्लाई जीवन्त बहस गर्ने थलो बनाउने दायित्व पनि प्रतिपक्षकै हुन्छ । सरकार अनियन्त्रित र स्वेच्छाचारी हुँदै जाँदा त्यसको विकल्प खोज्ने अभ्यास पनि प्रतिपक्षले गर्न सक्छ । तर, कांग्रेसले अहिले च्याँखे थापेजसरी होइन । 

कांग्रेसको विरोधाभास

यति बेला नेपाली राजनीतिको मुख्य दुःखान्त सर्वत्र हुर्किरहेको सत्तामुखी सोच हो । सबैलाई सत्तामै जाने हतारो छ । बामे सर्दै गरेका साना दलहरूको नजरसमेत सत्तातिरै छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी सरकारमा सामेल भइसके । राष्ट्रिय प्रजातन्त्र पार्टी सामेल हुने प्रक्रियामा छ । कांग्रेसले सरकारलाई समर्थन दिएपछि प्रतिपक्षीय राजनीतिको अभिभारा नेमकिपाको काँधमा आएको छ । नेमकिपा संसद्को 

‘सदाबहार प्रतिपक्ष’ हो । यसबाहेक राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले रोमाञ्चक शैलीमा गर्ने कटाक्षमा प्रतिपक्ष राजनीति थोरबहुत जीवित होला । चिन्ता कांग्रेसकै छ, विपक्षी बेन्चमा बसेर सरकारको समर्थन गरेको संसद्वादी पार्टीले यो विरोधाभासबीच आफूलाई कसरी जीवन्त राख्ला ?

कांग्रेस पुनर्जीवनका मुख्य तीन सर्त छन्- नेतृत्व परिवर्तन, समयानुकूल नीतिगत स्पष्टता र त्यसको कार्यान्वयन । १४ औं महाधिवेशन र संसदीय दलको निर्वाचनमा कांग्रेसले आन्तरिक लोकतन्त्रको अभ्यास गरेर गुमेको विश्वास आर्जन गर्दै थियो । कम्युनिस्ट पार्टीहरू कलह र अन्तर्द्वन्द्वमा फस्दा कांग्रेसको अभ्यास प्रशंसालायक थियो । कांग्रेसले नेतृत्व परिवर्तनमा आंशिक सफलता पनि पायो । तर, नीतिगत प्रस्टता र त्यसको कार्यान्वयनमा अझै चुकेको छ । जबसम्म कांग्रेस राजनीतिक–वैचारिक प्रस्टतासहित अघि बढ्दैन, पाइलापाइलामा चुक्नु उसको नियति हुनेछ । 

यति बेला कांग्रेसको सैद्धान्तिक–राजनीतिक अस्पष्टता देउवाको गुट र गणितले थिचिएको छ । के अब कांग्रेसमा नवोदित नेतृत्वको दायित्व संख्याले थिचियौं भन्दै निरीहता व्यक्त गर्ने, ‘फेस सेभिङ’ का लागि फरक मत दर्ज गर्ने मात्रै हो ? अब पनि देउवाबाट ‘आदर्श राजनीति’ को अपेक्षा राख्नु मूर्खता हुनेछ । विवेकी राजनीतिको बाटो समाएका भए देउवासामु थुप्रै अवसर थिए, जसले गर्दा उनको राजनीतिक साख जोगिन्थ्यो र छविले एउटा बेग्लै उचाइ पाउँथ्यो । राजनीतिक जीवनको उत्तरार्द्धमा पुगेका देउवा अभिभावकत्व ग्रहण गरेर नयाँ नेतृत्व निर्माणमा सहयोगी भइदिएका भए, सम्मानसहित इतिहासमा सम्झिने पात्र हुन्थे । 

छैटौं पटक प्रधानमन्त्री बन्ने लोभ नपालेका भए देउवालाई इच्छाएको व्यक्तिलाई राष्ट्रपति बनाउने अवसर थियो । सातै प्रदेशका सरकार गठनमा कांग्रेसले महत्त्वपूर्ण हिस्सा पाउँथ्यो । त्यसकारण देउवाले ‘ग्रेसफुल एग्जिट’ को बाटो रोज्लान् अनि नेतृत्वमा पुगौंला भनेर सोच्नु पनि व्यर्थ हो । 

कांग्रेसको पछिल्लो कदमको कारक देउवा मात्रै होइनन्, अपारदर्शी निर्णय प्रक्रियामा ताली ठोक्ने उनका ‘दास–अनुयायी’ पनि हुन् । अनि फरक मत दर्ज गरेर लोकप्रियतावादमा रमाउने नेतृत्व पंक्ति पनि कम जिम्मेवार छैन । कांग्रेसलाई नयाँ जीवन दिने हो भने महामन्त्रीद्वय गगन र विश्वप्रकाश लगायतको नवोदित नेतृत्वले फरक मतको औपचारिकता र प्रचारबाजीमा सीमित हुने होइन, देउवामाथि जबर्जस्त दबाब सृजना गर्न सक्नुपर्छ । आफूलाई मत दिने तल्लो तहसम्मका कांग्रेस कार्यकर्ता जगाउन महामन्त्रीद्वय मैदानमा ओर्लन ढिलो भइसकेको छ । देउवाको गुट र गणितको अविवेकी राजनीतिलाई परास्त गर्न तलैदेखि कांग्रेसमा राजनीतिक जागरण ल्याउन सक्नुपर्छ । अन्यथा कांग्रेस अझ अस्पस्ट, अराजनीतिक र कमजोर हुनेछ । त्यति बेला ओलीले सुझाएजस्तो बर्नभिटा वा अरू कुनै शक्तिवर्द्धक टनिकले पनि काम गर्नेछैन । कांग्रेसको नवोदित नेतृत्वले हेक्का राखोस्, प्रजापरिषद् शक्तिवर्द्धक टनिकहरूले अब फेरि ब्युँतनेछैन ।

राजाराम कान्तिपुर मिडिया ग्रुप अन्तर्गतको 'साप्ताहिक' र 'नारी' मासिकको सम्पादक भएका राजाराम कान्तिपुरमा समसामयिक बिषयमा लेख्ने गर्छन् ।

Link copied successfully