कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लुइँचेका दुइटा भाले

विश्वमा लुइँचेका दुई भालेहरू (अमेरिका र चीन) बीचको जुधाइ–झडप अति नै रोचक हुँदै गइरहेको छ । चीनले पनि ठाडै छोप्ने मनोभाव देखाउन थालेको छ । हिजोसम्म अमेरिकाले भनेका कुरा सबैजसोले सुन्थे, नमाने पनि । आज चीनले मान्ने त कुरै छैन, सुन्न पनि मान्दैन ।
महेन्द्र पी‍. लामा

हाम्रा म्हेम्हे–बाजेले सुनाउने दन्त्यकथाहरूमध्ये बढी चाखलाग्दो कुरोचाहिँ जंगली कुखुरा लुइँचेका भालेहरूबारे हुन्थ्यो । आआफ्ना पोथीहरूलाई लिएर हिँड्दै गरेका लुइँचेका भालेहरू एकअर्कोलाई देख्नासाथ हुर्रिएर गई झम्टिन्छन् रे अनि ठुँग्दै भुत्ल्याउँछन् रे ! पोथीहरू अवाक् भएर अललिन्छन् रे ! दक्षिण भारतमा प्रचलित कक फाइटको सुरुआत पनि लगभग यसरी नै भएको मानिन्छ ।

लुइँचेका दुइटा भाले

विश्वविद्यालयमा विद्यार्थी अवस्थामा अन्तर्राष्ट्रिय सम्बन्धबारे लेक्चर सुन्दा र पछि घोक्दै जाँदा, म्हेम्हे–बाजे र लुइँचेका भालेहरूको झलझली याद आउँथ्यो । त्यसताक विश्वको जंगलमा अमेरिका र सोभियत संघजस्ता लुइँचेका भालेहरू थिए र सदैव शीतयुद्ध (कोल्डवार) मा पर्थे । आआफ्ना पोथीहरूका झुन्ड नै बनाउँथे र बथानै भएर एकअर्कालाई चुनौती दिई नै रहन्थे । र नै सोभियत संघले सन् १९७९ मा अफगानिस्तानमा अड्डा जमाएपछि भयानक अस्थिरता देखा पर्‍यो । सोभियत संघ टुक्रै भयो । सन् २००१ मा वर्ल्ड ट्रेड सेन्टरमा भीषण हमला भएपछि अमेरिका फेरि अफगानिस्तान फर्कियो । अनि सन् २०२१ मा सबैलाई बिल्लिबाठ बनाएर, हारै खाएर तालिवानलाई सत्ता सुम्पिई दक्षिण एसिया छोड्यो ।

२१ औं शताब्दीका गत दुई दशकमा अमेरिका र चीन लुइँचेका दुइटा भाले भई विश्वरंगमञ्चमा आए । सोभियत संघ सन् १९९१ मा टुक्राटुक्रा भएपछि अमेरिकाको वर्चस्व द्रुत गतिमा बढ्यो र अब विश्वव्यवस्था एकतर्फीय–ध्रुवीय (युनिपोलर) भयो भन्दै अमेरिकाले चारैतिर ढोल पिट्न थाल्यो । अमेरिकाले जे भन्छ, अरू राष्ट्रले मान्नैपर्नेÙ जसले मान्दैन, उसलाई ठीक पार्ने प्रवृत्ति देखाउन थाल्यो । इराकमा नरसंहार गर्ने हातहतियार छन् भन्ने झुठो आरोप र प्रोपगान्डा गरेर व्यापक हमला गरी राष्ट्रपति सद्दाम हुसेन र उनका सबै परिवारको हत्या गरेर त्यहाँका तेलखानीहरूमा अड्डै जमायो । सन् १९९९ मा शान्त सर्बियामा हमला गरेर कोसोभोलाई अलग्गै बनाइछाड्यो । अमेरिकाको विदेशनीतिकै सैन्यकरण गरियो । चारैतिर हमला र विध्वंस मात्रै गर्‍यो । मानवतामाथिका यी सब आघातलाई अमेरिकाकै रक्षामन्त्री रोबर्ट गेट्सले आफ्नो पुस्तक ‘एक्सरसाइज अफ पावर’ (सन् २०२१) मा अति नै घतलाग्दो ढंगमा प्रस्तुत गरेका छन् ।

नभन्दै अमेरिकाको एकध्रुवीय सोच अन्त गर्न फेरि रुस ब्युँझियो । रुसले युक्रेनमा हमला गरेपछि र युद्ध नै छेडेपछि अमेरिका अतालियो, नेटोका सदस्यराष्ट्रहरूसँग मिली गतिलै रूपमा आर्थिक अनि अन्य प्रतिबन्ध लगायो । रुसबाटै जाने खनिज तेल र ग्यासमा निर्भर रहेका नेटोका प्रायः सदस्यराष्ट्र भीरको चिन्डो नै भए । युक्रेन हमलामा रुसका पारम्परिक मित्रराष्ट्रहरू भारत र चीन रुससँगै बसे । तर रुसभन्दा पनि व्यापक एवं गम्भीर चुनौतीका रूपमा चीन नै आफूअघि अटल भई उभिन पुगेपछि अमेरिकाले चारैतर्फ चीनको खोइरो खन्न थाल्यो । कोरोना महामारीसमेत विश्वमा फैलाएको प्रोपगान्डादेखि चीनले विश्वशान्ति नै भंग गर्छ र उथलपुथल–अस्थिरता ल्याउँछ भन्ने भ्रमको कथा (न्यारेटिभ) अमेरिकाले चारैतिर फैलाउन थाल्यो । आज विश्वमा लुइँचेका यी दुई भालेहरू (अमेरिका र चीन) बीचको जुधाइ–झडप अति नै रोचक हुँदै गइरहेको छ । अमेरिका आक्रामक हुँदा चीन महा–आक्रामक भई देखा पर्दै छ । अमेरिकाले चीनप्रति छिःछिः–दूरदूर गर्नलाई विश्वसमूहमाझ विभिन्न कथा–बयानहरू अघि ल्याउँदै छ । चीन पनि पछि हटेर स्वीकार गर्ने कुरै गर्दैन, उल्टो अमेरिकाले कथा–बयानहरू अघि बढाएर विश्वलाई हावा मिठाई खुवाएको हो भन्दै अमेरिकाविरुद्ध अझै व्यापक वादविवाद छेड्ने गर्दै छ । दस वर्षअघिसम्म चुपचाप बस्ने चीन, अमेरिकाले लगाएको आरोपको मात्रै खण्डन गर्ने चीन आज किन झनै आक्रामक भयो भन्ने प्रश्नहरू चारैतिर सोधिँदै छन् । चीनको विदेशनीति नै फेरिएको हो त ? के चीनको विदेशनीति र कूटनीतिलाई अघि सार्न विश्वभरि छरिएका चिनियाँ कूटनीतिज्ञ (डिप्लोमेट) हरूमा नयाँ पिँढी अघि आएको हो ? वा, उनीहरूलाई आक्रामक कूटनीतिज्ञका रूपमा प्रशिक्षण दिइएको हो ? प्रश्नैप्रश्न तेर्सिंदै छन् ।

अर्कातिर, अमेरिकाको सर्वोच्च जासुसी एजेन्सी सीआईएका अहिलेका निर्देशक विल बर्न्सले नै अमेरिकी कूटनीतिलाई विलुप्त भएको कला (लस्ट आर्ट) भनेपछि अमेरिकामा हाहाकार मच्चियो । गत दुई दशकमा अमेरिकाले सम्पूर्ण विश्वसमुदाय र राष्ट्रहरूलाई यति हल्का प्रकारले लियो कि ऊ आफ्नो शक्ति, आडम्बर र विश्वनियन्त्रण गर्ने कलाले उन्मत्त भएको सबैले महसुस गरेकै हुन् । अझै राष्ट्रपति डोनाल्ड ट्रम्पले त विदेशनीति, कूटनीति र कूटनीतिज्ञहरू चाहिँदैनन् नै भन्दै ‘अमेरिका फर्स्ट’ को नीतिको घोडा चढे । ट्रम्प यतिसम्म भन्ने भए कि, अब अमेरिकालाई जर्ज केनानजस्ता कूटनीतिज्ञ चाहिँदैन । केनान विश्वप्रख्यात अमेरिकी कूटनीतिज्ञ थिए जसले अमेरिकाले सोभियत संघलाई गहकिलै चुनौती दिने नीतिबाहेक प्रसिद्ध ट्रुम्यान डक्ट्रिन बनाउनमा भूमिका निभाएका थिए । ट्रम्पले विदेशनीति बनाउने आफ्नै संस्थाहरूलाई लगभग भत्काउन नै खोजे र आफूलाई संस्था र राष्ट्रभन्दा पनि माथि राख्ने अद्भुत प्रवृत्ति देखाए । अमेरिकालाई यस किसिमको प्रवृत्ति अति नै महँगो र आघातपूर्ण साबित भयो ।

चीन भने कहाँबाट कहाँ पुग्यो, हरेक क्षेत्रमा ! केचाहिँ भएन चीनमा ? अनिकालले खर्लप्प खाएको अवस्थाबाट बाहिर निस्कनासाथ, माओ त्सेतुङको हिंसात्मक सांस्कृतिक क्रान्तिले एक दशक पूरा सतायो । सन् १९७९ देखि देङ स्याओपिङले राष्ट्रको परिस्थिति, व्यवस्था र आर्थिकस्तर सुहाउँदिलो विदेशनीति अपनाए । सबैलाई आह्वान गरे- ‘अब हाइड एन्ड बाइडको कूटनीति गर्नुपर्छ, आफूलाई कहिल्यै प्रदर्शन नगर र नेतृत्व गर्ने जमर्कोतिर पटक्कै नलाग ।’ अर्थात्, जबसम्म चीनले टक्कर दिने सामर्थ्य प्राप्त गर्दैन तबसम्म श्वास–प्रश्वास गर्ने ठाउँ खोज र बिस्तारै अघि बढ । र नै सन् १९७९ देखि सन् १९९९ सम्म चीनले विश्वकै सहायता पायो । अमेरिका, जापान, जर्मनी, इङ्ल्यान्ड सबै पुगे चीनलाई हरेक क्षेत्रमा सघाउन । गरिबी घट्यो, बाटाघाटा बने, कलकारखाना बने, शिक्षा–स्वास्थ्यको विकास भयो, विदेशी पुँजी निवेशकर्ता र बहुराष्ट्रिय कम्पनीहरूको घुइँचो भो त्यहाँ । भारतका एक प्रभावशाली कूटनीतिज्ञ के. नटवर सिंहले आफ्नो पुस्तक ‘माई चाइना डायरी’ (सन् २००९) मा लेखेका छन्- जब उनी भारत सरकारको तरुण कूटनीतिज्ञका रूपमा सन् १९५६ मा चीन गए, तिनताक चीनको अर्थव्यवस्था अति नै सोचनीय र रुग्ण थियो । उनी हङकङ भएर बेइजिङ जाँदा चीनका डाक्टरहरूले ‘कृपया, अर्को पटक आउँदा स्टेथस्कोप ल्याइदिनुहोला’ सम्म भन्थे । अर्थात्, चीनमा बुनियादी स्वास्थ्यको टेक्नोलजीसम्म थिएन । त्यस्तो स्थितिबाट चीन आज आर्थिक रूपले विश्वकै दोस्रो सम्पन्न राष्ट्रको स्थानमा पुग्यो ।

देङ स्याओपिङको सन् १९७९ उप्रान्तको विदेशनीति र त्यही राष्ट्रको सन् १९६० को दशकको नीतिमा आकाश–पातालको फरक थियो । सन् १९५०–६० को दशकमा त्यहाँका शक्तिशाली नेता चाउ एनलाईले विदेशनीति र कूटनीतिलाई केवल सामरिक–सैन्य दृष्टिकोणमा लिने गर्थे । र नै सन् १९६२ मा भारतसँग युद्ध छेड्नुमा उनको भूमिका अहं थियो । उनी भन्थे— कूटनीति भनेकै अरू यन्त्रतन्त्रले गरेको युद्धको विस्तार हो । अर्थात्, युद्धमा सैन्य दल (पिपल्स लिबरेसन आर्मी) जान्छ, कूटनीतिमा त्यही सैन्य दललाई नै गैरसैन्य वेशभूषा (सिभिल ड्रेस) मा पठाइन्छ । कूटनीतिको अर्थ नै अरूलाई आफूले चाहेको कुरो गराउन सक्नु वा गर्न बाध्य बनाउनु हो । कूटनीति गर्दा अरूले भनेको सुन्नुपर्छ तर गर्नचाहिँ आफैंले चाहेको कुरो गर्नुपर्छ । चाउ एनलाईले भारतका तिनताकका प्रधानमन्त्री पण्डित नेहरूसँग बातचित गर्दा यही मार्ग अपनाए । उपनिवेशवादबाट किन–कसरी–कहिले छुटकारा पाउनुपर्छ र पाउँछौं भनी पण्डित नेहरूले विश्वसमुदायलाई दिएको सरसल्लाह–ज्ञान–भाषण सुन्न चाउ एनलाईले आतुरी देखाए । तर अर्कोपट्टि बिस्तारै भारतमाथि आक्रमण गर्ने उपायहरू पनि खोजी निकाले र नै सन् १९६२ मा भारत–चीन युद्ध छेडियो ।

विश्वस्तरमा आफ्नो प्रभुत्व जमाउने प्रक्रियामा अमेरिकाका निम्ति चीन बाधक र चीनका निम्ति अमेरिका अडचन भएपछि दुई राष्ट्रबीच कूटनीतिक होडबाजी र खिचातानी अति नै उग्र रूपमा अघि आयो । अमेरिकाले चीनलाई रोक्न तीन–चारवटा प्रभावशाली हतियार चलायो । प्रथमतः, चीनलाई उसकै झ्यालढोकामा रोक्नुपर्छ भन्दै उसका छिमेकी राष्ट्रहरूसँग सैन्य एवं अन्य साँठगाँठ अघि बढायो । जापान, दक्षिण कोरिया, भियतनाम, कम्बोडिया, लाओस, बर्मा, इन्डोनेसिया आदिसँगसँगै भारत र दक्षिण एसियाका राष्ट्रहरूलाई समेत अँगाल्न थाल्यो । अमेरिकाको भारतविरोधी नीति देखेपछि नै भारतले सन् १९७२ मा सोभियत संघसँग मैत्री भावको सम्झौतामा हस्ताक्षर गरेको थियो । तिनताक चीन विश्वहोडबाजीमा आएकै थिएन । तर गत दुई दशकमा जब चीन विश्वहोडबाजीको मञ्चमा आउन थाल्यो, अमेरिकाले अतालिएर भारतसँग नजिक आउने हर किसिमको प्रयत्न गर्न थाल्यो । नेपालमा अमेरिकाले ल्याएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परिकल्पना–परियोजनालाई पनि चीनलाई झ्यालढोकामै रोक्ने अभियानको अंग मान्न सकिन्छ । सन् १९६० को दशकमा युद्धमा हजारौं मानिस मारेको त्यही भियतनामसँग अमेरिकाले नत्र किन सुमधुर सम्बन्ध बनाउँथ्यो ? भियतनाम दक्षिण चीन सागरनजिक नभएको भए त्यहाँ अमेरिका पुनर्निर्माणका निम्ति भनेर फेरि पस्ने थियो होला र ?

दोस्रो, चीनलाई अझै पर सागर–समुद्रमा रोक्न र आयात–निर्यातमा बाधा दिन अमेरिकाले नै इन्डो–प्यासिफिकको नीति अघि ल्यायो । जापान र भारत आआफ्नै राष्ट्रिय सुरक्षाका दृष्टिले यस अनौपचारिक झुन्डमा प्रवेश पनि गरे । तेस्रो, चीनको आर्थिक विकासको मूल खाँबो त्यहाँबाट विश्वबजारमा गरिने निर्यातमै विभिन्न प्रतिबन्ध लगाएर अमेरिकाले उसको आर्थिक वृद्धिलाई रोकथाम गर्ने प्रयास जारी नै राखेको छ । यसो गर्दा अमेरिकाले आफ्नै छत्रछायामा आफैं सुहाउँदिलो बनाएका विश्व व्यापार संगठन (डब्लूटीओ) आदिलाई समेत दिशाहीन बनाउने दुष्प्रयास गरी नै राखेको छ । टेक्नोलजी क्षेत्रमा अझै अघि नबढोस् भनेर चीनमाथि अमेरिकाले हर प्रकारको प्रतिबन्ध लगाउने प्रयास अर्को गहकिलो पक्ष भई अघि आएको छ । चौथो, अमेरिकाले सोचेको थियो आर्थिक विकासले जरा गाडेपछि चीन पनि सोभियत संघजस्तै भित्रैबाट फुटेर टुक्राटुक्रा हुन्छ भनेर, तर त्यसो भएन । यसै सिलसिलामा अमेरिकाले विश्वका कुनाकुनामा चीनलाई बदनाम गर्न विभिन्न चर्चा–विवाद छेड्दै आएको छ । मानव अधिकार हननदेखि हङकङमा प्रजातन्त्रवादीमाथि हिंसात्मक उत्पीडनसम्म र ताइवानदेखि बीआरआई अन्तर्गत ऋण लिएका राष्ट्रहरूमा आएको अस्थिरता र विषमतासम्म सबै एकैसाथ अघि ल्याएको छ ।

चीनले पनि ठाडै छोप्ने मनोभाव देखाउन थालेको छ । अमेरिकाको खुला रंगभेद नीति र कार्यप्रणाली, जबरजस्ती विश्वकै प्रवक्ता हुने दुस्साहस, चारैतिर सैन्य हमला गरेर अस्थिरता फैलाउने प्रवृत्ति, अनेक बहुराष्ट्रिय कम्पनी पठाएर गरिने सानाठूला राष्ट्रहरूका बजार व्यवस्थाको शोषण, सबैलाई कि त अनुदान कि धम्की देखाएर किन्ने नीतिलाई चीनले आफ्नो अमेरिकाविरुद्धको विदेशनीति एवं कूटनीतिमा राम्ररी बटारिदिएको छ । गुगल, फेसबुक, ट्वीटर आदि सामाजिक सञ्जालमाथि पूर्ण नियन्त्रण गरेको छ ।

अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभान एकातिर, चीनको सर्वोच्च स्थानमा रहेका कूटनीतिज्ञ याङ जिची अनि विदेशमन्त्री वाङ यी अर्कातिर । अति नै चाखलाग्दो र गम्भीर कूटनीति आदान–प्रदान हुँदै छ । चीनले आफ्ना कूटनीतिज्ञहरूलाई लगभग ब्वाँसो मार्ने व्यक्तिहरू (वुल्फ वारियर) मै परिणत गर्‍यो, उता अमेरिकाले अतालिएर अनेक पाइला सोच्न थाल्यो । र नै राष्ट्रपति बाइडेन आउनासाथ हार्वर्ड विश्वविद्यालयका चाइना वर्किङ ग्रुपका तीन विशिष्ट सदस्य विद्वान्हरू ग्राहम एलिसन, एलिसा रेसर अनि करिना बार्बेसिनोले ‘द ग्रेट डिप्लोम्याटिक राइभल्री : चाइना भर्सेस द युएस’ शीर्षक चालीस पृष्ठको रिपोर्ट प्रस्तुत गरेर चीनको कूटनीतिक प्रणाली र रणनीतिमा कस्तो परिवर्तन आएको छ भन्ने तथ्यहरू विश्लेषण गरेका छन् । भर्खरै, सन् २०२२ मै प्रकाशनमा आएको यो रिपोर्टमा चीनले कसरी विदेशनीति, कूटनीति र कूटनीतिज्ञहरूबारे आफूलाई सक्षम बनायो भन्ने तथ्यहरू अघि ल्याइएका छन् । चीनले धेरै शिखर सम्मेलन आयोजित गर्‍यो, अनेक राष्ट्राध्यक्षसँग प्रत्यक्ष वार्ता गर्‍यो, अनेक नयाँ दूतावास र कन्सुलेट खोल्यो, धेरै अन्तर्राष्ट्रिय संस्थाहरूका शीर्ष स्थानमा आफ्ना नागरिक पठायो, नयाँ प्रकारका कूटनीतिक प्रशिक्षण केन्द्रहरू बनायो, कूटनीतिक पेसासम्बद्ध व्यक्तिहरूको संख्या धेरैमाथि पुर्‍यायो, अनि विदेशनीतिलाई बहुआयामिक बनायो । उता अमेरिकामा भने पारम्परिक संस्थाहरू नै हावी छन् र विदेशनीतिका सोच, प्रकृति र कार्यक्षमता पनि ।

आजका चिनियाँ कूटनीतिक अधिकारीहरूका खाता–किताब नै अलग ढंगमा बनाइएका छन् भन्छ उक्त रिपोर्ट । हिजोसम्म अमेरिकाले भनेका कुरा सबैजसोले सुन्थे, नमाने पनि । आज चीनले मान्ने त कुरै छैन, सुन्न पनि मान्दैन । चीनलाई लाग्छ- अमेरिकाले विश्वको व्यवस्थापनका लागि सन् १९४० को दशकमा संयुक्त राष्ट्रसंघ, डब्लूटीओ आदिमा जति पनि उदारवादी नियम–कानुन बनायो, अहिले आफूलाई नसुहाएको र फाइदा नपुगेको भन्दै ती सबैको एक्लो रूपमा उल्लंघन गर्दै छ । र अब चीनले यस्ता नियम–कानुनको जगेर्ना एवं संवर्द्धन आफ्नै नेतृत्वमा गर्ने प्रस्ताव पनि राख्तै छ ।

अमेरिका र चीनबीच भइरहेको संघर्ष, खिचातानी र प्रतिशोधरूपी होडबाजीमा नरमपना ल्याउनेÙ ठीक दिशानिर्देश गर्ने र विश्वमा स्थिरता, शान्ति र विकासको दुन्दुभि बजाउने अभिभारा भारत र अन्य राष्ट्रमा आइपरेको छ । भर्खरै जी–२० को अध्यक्षको अभिभारा पाएको भारतले त्यस सन्दर्भमा अहं भूमिका निभाउन विश्वस्तरकै परिकल्पना र कार्यक्रमहरू ल्याउने आशा सबैले साँचेका छन् ।

प्रकाशित : मंसिर २०, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?