डिप्रेसन रोगै हो- विचार - कान्तिपुर समाचार

डिप्रेसन रोगै हो

अजय रिसाल

गत महिना एक आशालाग्दा पत्रकार/लेखकले असामयिक मृत्यु रोजे, ‘आत्महत्या’ जस्तो कहालीलाग्दो बाटो खोजे । उनलाई कतिपयले कायरको संज्ञा दिए । तर आत्महत्या मनोरोगको गम्भीर चरण हो । मनोपरामर्श अनि मनोचिकित्सकीय उपचारबाटै यसलाई निदान अनि नियन्त्रण गर्न सकिन्छ । त्यसैले मानसिक समस्याका लक्षणहरू लुकाउनु हुन्न । मनोरोगको उपचार गर्न लजाउनु हुन्न ।

आत्महत्या गरेर दुःखद मृत्युवरण गरेका व्यक्तिहरूको तस्बिर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छरेर तिनलाई अनेक थरीका गाली गर्ने, तिनका व्यक्तिगत–पारिवारिक–कार्यस्थल–सामाजिक परिस्थितिको चर्चा–विश्लेषण गर्ने प्रवृत्ति छ । त्यस्तै, तिनका परिवार अनि साथीसँगीको हवाला दिएर अनावश्यक एवं अपुष्ट समाचार सम्प्रेषण गरिन्छ, जुन गलत छ ।

आत्महत्याको असफल प्रयास गरेर अस्पतालमा ल्याइएका वा मानसिक स्वास्थ्य केन्द्रमा भर्ना भएका बिरामी एवं तिनका नातेदारहरूसँग निरन्तरको अन्तरंग कुराकानी–मनोविमर्श आदिको अनेक चरण पार गरेपछि नै तिनका मानसिक समस्याबारे निर्क्योलमा पुग्न सकिन्छ । तिनको मानसिक स्वास्थ्य वा मनोरोगको अवस्था खुट्टिने गर्छ ।

विभिन्न अध्ययन अनुसार, विश्वभरि करिब दस लाख व्यक्तिले आत्महत्याका कारण ज्यान गुमाउने गर्छन् । आत्महत्याको प्रयास गर्नेहरू आत्महत्याबाट मृत्युवरण गर्नेभन्दा झन्डै बीस गुणा बढी हुन्छन् । यस्ता अध्ययनमा नब्बे प्रतिशतभन्दा बढीमा कुनै न कुनै किसिमको मानसिक समस्या देखिएको छ । हामीले अस्पतालस्तरमा गरेका उपचारसेवा अनि अध्ययन–अनुसन्धानको नतिजा पनि यस्ता अध्ययनका निचोडहरूसँग मिल्ने गरेका छन् । त्यसैले मानसिक रोग नै आत्महत्याको प्रमुख कारक रहेको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन ।

आत्महत्या गरेर मृत्युवरण गरिसकेकाहरूको मानसिक अवस्थाको पूर्वव्यापी मनोसामाजिक परीक्षण गर्ने विधि छ । यसका लागि नजिकका परिवार, साथीसँगी, सहपाठी–सहकर्मी, छिमेकी आदिसँग अन्तर्वार्ता गर्ने; ती व्यक्तिहरूको बसोबास–कार्यस्थल सम्परीक्षण गर्ने तथा तिनका हस्ताक्षर–लेखोट–डायरीहरूको अध्ययन गर्ने गरिन्छ । तर यसरी परीक्षण गर्न विभिन्न नीतिगत तथा अनुसन्धान पद्धतिगत बाधा–व्यवधान रहने अन्तर्राष्ट्रिय अध्ययनहरूले नै जनाएका छन् । तथ्यांक संकलन, सम्परीक्षण अनि अनुसन्धान प्रविधिमा विशिष्ट दक्षता राख्ने विकसित मुलुकहरूमा त यस्ता पूर्वव्यापी अध्ययनहरूमा समस्या छन् भने हाम्रोजस्तो स्रोतसाधनविहीन, तथ्यांकगत सचेतनाको अभाव भएको मुलुकमा यस्ता अध्ययन सजिलै भैहाल्ने परिकल्पना गर्न सकिँदैन । अतः त्यस्ता अध्ययन–अनुसन्धानको सीमितताका कारण पनि तिनमा मानसिक रोग थियो या थिएन भनेर ठोकुवा गर्न नसकिने भएको हो कि ?

जटिल आर्थिक–पारिवारिक–सामाजिक–सांस्कृतिक कारक, व्यक्तिगत तनाव, गहिरो संकट, प्राकृतिक प्रकोप, आतंक एवं महामारी आदिले गर्दा अनि सीमान्तीकृत समुदायमा आत्महत्याको आँकडामा समेत उल्लेखनीय वृद्धि देखिने तथ्य विश्व स्वास्थ्य संगठनले नै उल्लेख गरेको छ । यस्तो अवस्थामा मनोसामाजिक परीक्षण विधिवत् रूपमा गर्न नसकिने भएको हुँदा मानसिक समस्याहरू तथ्यपरक रूपमा उल्लेख नहुने सम्भावनालाई नकार्न सकिँदैन ।

नेपाली समाजमा आत्महत्यालाई एकाकी रूपमा व्याख्या गरेर सामान्यीकरण गर्ने चलन पनि छ । जस्तै- ‘बिचराको व्यवसाय नै डुब्यो त्यसैले’, ‘उसको प्रेमसम्बन्ध तोडिएकाले’, ‘जाँचमा फेल भएकाले’, ‘बाबुले अर्को बिहे गरेकाले’, ‘मन पराएको केटोसँग बिहे नभएर’, ‘बेइज्जत भएकाले’, ‘समाजमा मुखै देखाउन नसक्ने भएपछि के गरोस् त ?’

विभिन्न जैविक, मनोवैज्ञानिक अनि मनोसामाजिक अवयवसित अन्योन्याश्रित रूपमा गाँसिएको मानव मनको अवस्थालाई ‘यसको कारण यो’ भनेर एउटै कारकले व्याख्या गर्न सकिँदैन । त्यसैले त माथि उल्लेख भएजस्तो व्यवसाय डुबेका, प्रेममा धोका खाएका, परीक्षामा असफल भएका, पारिवारिक समस्या भएका अनि इज्जत गएका सबैले आत्महत्या गर्ने गर्दैनन् ।

वास्तवमा, नजिकको रक्तसम्बन्धमा मानसिक समस्या भएका या त आत्महत्या गरेका व्यक्तिहरू आनुवंशिक रूपमै मानसिक रोग अनि आत्महत्याको जोखिममा हुन्छन् । यस्ता व्यक्तिले नै उपर्युक्त उदाहरणमा लेखिएजस्ता तनाव या त सामाजिक दुरवस्थाको सामना गर्नुपर्दा आत्महत्याको प्रयास गर्न सक्छन् । त्यसैले प्राकृतिक (जैविक) अनि वातावरणीय (सामाजिक–सांस्कृतिक) प्रभावको जोडघटाउ, आरोह–अवरोह या ऊहापोह आदि बहुपक्षीय कारकले नै मानिसलाई मानसिक रोग लाग्ने–नलाग्ने अनि आत्महत्या गर्ने–नगर्ने अवस्थामा पुर्‍याएको हुन्छ । मनोसामाजिक वस्तुस्थितिको समग्र अध्ययनबिना एउटै विषयलाई आत्महत्याको कारक मान्नु विषम परिस्थितिलाई अति सरलीकरण गरेजस्तो मात्र हुन्छ ।

अर्को उदाहरण, ‘डिप्रेसन’ नामक मानसिक रोग आत्महत्याको एउटा महत्त्वपूर्ण कारक हो । फेरि, डिप्रेसन जुनसुकै मानसिक समस्यालाई जनाउने पर्यायवाची शब्दका रूपमा समेत जनमानसमा परिचित छ । तर, समाजले डिप्रेसन लाई रोगका रूपमा नभई एउटा प्रक्रियाका रूपमा मात्र लिएको पाइन्छ । ‘उसलाई डिप्रेसन नामक मानसिक रोग लाग्यो’ भनिँदैन, ‘ऊ डिप्रेसनमा गयो’ भनिन्छ । अनि कारकका रूपमा माथि उदाहरणमा भनिएका आर्थिक, सामाजिक, व्यक्तिगत, पारिवारिक अवस्थालाई नै मान्ने गरिन्छ । डिप्रेसनमा जाने होइन, डिप्रेसन नामक मानसिक रोग लाग्ने हो । केही व्यक्तिगत–पारिवारिक–आर्थिक–सामाजिक असन्तुलन भएर मात्र कसैले आत्महत्या गर्ने होइन, डिप्रेसन जस्ता मानसिक रोग भएकै कारणले तनावको सामना गर्न नसकेर नै यस्तो जघन्य कृत्यका लागि अग्रसर हुने हो मान्छे । त्यसैले मानसिक समस्याका लक्षणहरू नलुकाऔं । डिप्रेसन जस्तो मनोरोगको उपचार गर्न नलजाऔं । आत्महत्याबाट बचौं–बचाऔं ।

रिसाल मनोचिकित्सक हुन् ।

प्रकाशित : मंसिर ७, २०७९ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्

बाली वार्ताद्वारा स्थापित शान्तिमार्ग

गोपाल खनाल

बेइजिङ र वासिङ्टनबीचको ‘शीतयुद्ध’ ले तेस्रो विश्वयुद्ध निम्त्याउने अतिशयोक्तिपूर्ण प्रचार भइरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच कात्तिक २८ मा इन्डोनेसियाको बालीमा तीन घण्टा बाह्र मिनेट लामो बैठक भयो ।

बाइडेन राष्ट्रपति भएपछि दुई शक्तिशाली नेताबीचको यो पहिलो आमनेसामने भेटवार्ता हो, यद्यपि दुई नेताबीच पाँच पटक भिडियो संवाद भने भएको छ । युद्धको खतरा त्यहाँ हुन्छ, जहाँ वार्ताको सम्भावना समाप्तप्रायः हुन्छ । संवाद जारी रहेका बेला युद्ध हुँदै छ भनेर विश्व आतंकित पार्ने प्रयासहरू भइरहेकै छन्, जुन शान्ति र सहअस्तित्वको बर्खिलाफ छन् ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार, बालीमा अमेरिकी राष्ट्रपतिले प्रस्ताव गरेको बैठक चिनियाँ राष्ट्रपति बसेको मुलिया होटलमा भएको थियो । बैठकको समय र स्थलका माध्यमले दुई शक्तिशाली र मुख्य ‘रणनीतिक प्रतिद्वन्द्वी’ नेतृत्वले आफ्ना रणनीतिक चालहरूभित्र पनि सौहार्दपूर्ण भेटवार्ता सम्भव हुन्छ भन्ने सन्देश प्रवाहित गरे, जुन संसारकै लागि सुखद सन्देश हो । त्यसको अर्थ चीन र अमेरिकाबीच अब द्विपक्षीय र विश्वमुद्दामा साझा धारणा निर्माण भयो, एक भएर समुन्नत विश्व निर्माणमा लाग्छन् भन्ने होइन तर युद्धको प्रचार गर्नेहरूलाई यो बैठकले निरुत्साहित पक्कै पार्नेछ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार, राष्ट्रपति सीले द्विपक्षीय सम्बन्धलाई सही दिशानिर्देश गर्न र नयाँ उचाइमा पुर्‍याउनका लागि सही मार्ग पहिल्याउन आवश्यक रहेको बताउँदै दुई देशले इतिहासलाई ऐनाका रूपमा लिएर भविष्य निर्देशित गनुपर्नेर्मा जोड दिएका थिए । भूराजनीतिक कोणबाट हेर्दा, दुई नेताबीच मूलतः चीन–अमेरिकाका साझा र रणनीतिक मुद्दा, विश्वराजनीतिका साझा र असहमतिका मुद्दा एवं क्षेत्रीय मुद्दाहरूमा खुला र गहन छलफल भएको थियो ।

साझा मुद्दाबाट रणनीतिकतिर

तनावपूर्ण सम्बन्धलाई सामान्यीकरणतर्फ फर्काउने एउटा सूत्र के हो भने, वार्तामा असहमतिका विषयलाई पहिले प्रवेश गराउनुभन्दा सहमतिका स्वर पहिल्याउँदै असहमतिका बुँदातर्फ अघि बढ्नुपर्छ । विश्व हाँक्ने दुई शक्तिशाली राष्ट्रपतिबीच बाली–बैठक विश्वका केही जल्दाबल्दा मुद्दामा साझा दृष्टिकोण बनाउँदै रणनीतिक र असहमतिका मुद्दामा प्रवेश गर्‍यो । रुस–युक्रेन युद्धमा कुनै पनि आणविक हतियार प्रयोग गर्न नहुने अमेरिकाद्वारा प्रस्तावित एजेन्डामा चीन सहमत भएको छ किनकि चीन स्वयं आणविक अस्त्र प्रयोगका विरुद्धमा छ । राष्ट्रपति बाइडेनले उत्तर कोरियाको खतरापूर्ण मिसाइल र आणविक क्रियाकलापलाई चीनले नियन्त्रण गर्नु आवश्यक रहेको भन्दै त्यसले एसिया–प्रशान्त क्षेत्रलाई तनावपूर्ण अवस्थाबाट राहत दिन सक्ने बताएका थिए । यसमा सिद्धान्ततः चीन सहमत भएको छ । यद्यपि प्योङयाङले प्रयोग गर्ने स्वायत्तताको अभ्यासमाथि चीनले कुन तहको दबाब सृजना गर्न सक्छ, त्यो अहिले नै भन्न सकिने अवस्था छैन । फेरि, कूटनीतिमा दोहोरो मापदण्ड एउटा अभ्यासकै अंग भएका दृष्टान्तहरू प्रशस्तै छन् ।

त्यस्तै, अर्को साझा मुद्दा जलवायु परिवर्तनको हो । जलवायु परिवर्तनमा उपयुक्त सञ्चार संयन्त्र कायम राख्न र रचनात्मक प्रयासलाई बलियो बनाउन वरिष्ठ अधिकारीहरूलाई सशक्तीकरण गर्न दुवै देश सहमत भएका छन् । सीएनएनका अनुसार, अब अमेरिकी र चिनियाँ अधिकारीले जलवायु परिवर्तनबारेको वार्तालाई अघि बढाउनेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्प जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट पछि हटेका भए पनि राष्ट्रपति बाइडेनले अमेरिकालाई पेरिस सम्झौतामा जोड्दै अघि बढाएका थिए । अमेरिकाको यस्तो दोहोरो नीतिको चौतर्फी आलोचना हुँदै आएको थियो । अर्को विषय हो— आर्थिक सुरक्षाको । विश्व आर्थिक स्थायित्व, ऋण र त्यसबाट मुक्ति, स्वास्थ्य सुरक्षा र विश्व खाद्य सुरक्षामा साझा पहल गर्न दुवै पक्ष सहमत भएका छन् । यी सहमतिका मुद्दाबाहेक दुवै राष्ट्रपतिले ताइवान, ट्रेड, मानव अधिकार र प्रजातन्त्र, हिन्द–प्रशान्त रणनीति, दक्षिणी चीन समुद्रमाथिको प्रभाव लगायतका तनावका मुद्दामा आफ्ना अडान दोहोर्‍याएका छन् । यद्यपि छलफल हुनु नै आफैंमा सकारात्मक हो ।

अमेरिका र चीनले बुझ्नुपर्ने तथ्य के हो भने, पृथ्वीको बृहत्तर चाहनाका लागि पनि दुवै महाशक्तिले तनावका यी विषयमा पनि ढिलोचाँडो सहकार्य गर्नैपर्छ । तर विश्वराजनीतिलाई प्रभावित पार्ने अन्य शक्तिको सहानुभूति र समर्थन आफूप्रति खिच्न आवरणमा मात्र यस्ता कथन आएका हुन् भने ती दुर्भाग्यपूर्ण हुनेछन् । शीतयुद्धकालमा सोभियतविरुद्ध चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राख्ने निक्सन नीति ल्याएजस्तै अहिले चीनसँग सम्बन्ध सुधार गरी रुसमाथि दबाब दिने अमेरिकी रणनीति हुन पनि सक्छ । एउटा मौलिक फरक के छ भने, त्यस बेलाजस्तो नभएर अहिले रुस र चीनबीच साझेदारी छ र रुस चीनको कनिष्ठ साझेदारका रूपमा छ । जुनसुकै अवस्थामा पनि उच्च तहको वार्ता समस्या होइन, समाधानकै आधार हो ।

यी एजेन्डाबाहेक द्विपक्षीय सम्बन्धलाई विकासको स्थायी बाटामा फर्काउन निरन्तर रूपमा यस्ता उच्चस्तरीय भेटवार्ता जारी राख्न पनि दुवै राष्ट्रपति सहमत भएका छन् । त्यसको ढाँचा पनि तयार पारेका छन् । सहमति अनुसार, दुवै राष्ट्रपतिले अब संवाद कायम राख्नेछन्, संवादको लक्ष्य ‘विन–विन’ कोअपरेसन हुनेछ भने कूटनीति ‘जिरो सम’ प्रतिस्पर्धाका रूपमा लिइनेछैन ।

यी सूचनालाई आधार मान्दा अमेरिका र चीन विश्वलाई तनाव दिएको ठूलो संकटलाई टार्ने प्रयासमा छन् भन्न सकिन्छ । सी र बाइडेनलाई थाहा छ— युद्धले न अमेरिका महाशक्ति भइरहन सक्छ न चीन अमेरिकालाई उछिनेर महाशक्ति बन्न सक्छ । युद्ध निर्माणको होइन, शक्तिको होइन, ध्वंसको हतियार हो; युद्धबाट शक्ति आर्जन हुँदैन, समाप्त होइन्छ ।

ताइवान–रापदेखि बाली–राहतसम्म

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेर ताइवानको स्वायत्तता र स्वतन्त्रताका लागि अमेरिका साथ रहेको कथनसहितको भ्रमण गरिन्, जसले वासिङ्टन युद्ध र मुकाबिलाको रणनीतिमा अघि बढेको बेइजिङ–बुझाइलाई मलजल गर्‍यो । अमेरिकाले ‘चीन–नियन्त्रण’ को नीतिलाई आक्रामक रूपमा अघि बढाउन चाहेको र त्यसका लागि हिन्द–प्रशान्त क्षेत्रलक्षित रणनीतिक, सैनिक र आर्थिक गतिविधि केन्द्रित गरिरहेका बेला चीन पनि त्यसलाई प्रतिवाद र प्रत्याक्रमणको योजनासहित तैनाथीमा थियो ।

अमेरिकाले चीनलाई आफ्नो ‘समान प्रतिस्पर्धी’ स्वीकार गरेको तथ्य उसको आन्तरिक दस्तावेजमा उल्लेख गरेको छ भने, चीन अमेरिकालाई जवाफ फर्काउने हैसियतमा पुगेको छ । पछिल्लो समय यी दुई महाशक्ति हिन्द–प्रशान्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्ने प्रतिस्पर्धामा छन्, जसका कारण यो क्षेत्र सम्भावित आमनेसामनेको हार्टल्यान्ड भएको छ । अमेरिकाले हिन्द–प्रशान्त रणनीतिमार्फत चीन–नियन्त्रण र हिन्द–प्रशान्त क्षेत्रमा सक्रियता बढाएको छ भने, चीनले तुलनात्मक रूपमा आफ्नो राम्रो प्रभाव रहेको क्षेत्रमा अमेरिकी प्रवेशलाई असफल पार्ने प्रयासका लागि सबै मोर्चा खुला राखेको छ ।

दुवै राष्ट्रपतिका वक्तव्यहरूले के यथार्थलाई पनि भुलेका छैनन् भने, दुवैले एकअर्काको शत्रुताको प्रकृतिलाई पनि बुझेका छन्, जसमा अहिले नै परिवर्तन आउनेछैन । तर कम्तीमा यो अहिले युद्धमा रूपान्तरण हुनु हुँदैन भन्नेमा उत्तिकै सचेत पनि देखिन्छन् । यसमा दुवै देश र राष्ट्रपतिका बाध्यता पनि छन् । विश्व राजनीतिक व्यवस्थामा आउँदै गरेको फेरबदल र देशहरूमा कुनै व्यवस्थाप्रतिको रुझान वा वितृष्णाका संकेत दुवै राष्ट्रपतिले आकलन गरेको हुनुपर्छ । त्यसका केही पछिल्ला उदाहरण छन् ।

पहिलो, राष्ट्रपति बाइडेन अमेरिकी राजनीतिमा सफल हुन सकेका छैनन्, जसका कारण महाशक्तिप्रति उसकै गठबन्धनको विश्वास डगमगाउँदै गएको छ । अमेरिकी प्रतिनिधिसभाको निर्वाचनमा रिपब्लिकन पार्टीले बहुमत पाउनुले बाइडेनले कंग्रेसबाट अपेक्षित सहयोग पाउने सम्भावना कम छ । उता, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ का लागि आफूलाई रिपब्लिकन पार्टीको राष्ट्रपतिको उम्मेदवार घोषणा गरेका छन् । आफूले ‘अमेरिका पहिला’ नीतिलाई पुनः कार्यान्वयन गर्ने वाचासमेत गरेका छन् । यसको दबाब पनि बाइडेनमाथि परेको छ ।

दोस्रो, राष्ट्रपति सी चिनियाँ कम्युनिस्ट पार्टीको २० औं राष्ट्रिय कंग्रेसबाट पार्टी महासचिव भएका छन् भने, तेस्रो पटक राष्ट्रपति सुनिश्चित गरेका छन् । त्यति मात्र होइन, आफ्नो विचारलाई संविधानकै अंग बनाई थप शक्तिशाली बनेका छन् । शक्तिशाली सीसँगको थप तिक्ततापूर्ण सम्बन्धबाट अमेरिकाले अपेक्षित लाभ लिन नसक्ने निष्कर्षमा बाइडेन पुगेको देखिन्छ । उत्तर कोरियाको अविश्वसनीय आणविक धम्कीदेखि रुस–युक्रेन युद्धसम्ममा चिनियाँ नीति त्यसको एउटा दृष्टान्त हो । यदि सी र बाइडेनबीच नियमित संवाद भइरहेको हुन्थ्यो वा दुवैबीच समझदारी कायम हुन्थ्यो भने रुस–युक्रेन युद्धले यो सन्त्रासको रूप लिने थिएन र मानवीय क्षतिको तहमा नपुग्दै संवादका माध्यमबाट समाधानतर्फ जान सक्थ्यो ।

तेस्रो कारण पनि छ । वर्तमान विश्व चरित्रका दृष्टिले विचारप्रधान होइन, तर कुनै पनि वैचारिक व्यवस्था स्थायी प्रकृतिको छैन । सोभियत संघको विघटनपछि ‘इतिहासको अन्त्य’ नै भयो भन्ने विद्वान्हरू गलत साबित भएका छन् । युरोप र दक्षिण अमेरिकामा समाप्त भएका वामपन्थी र समाजवादी शक्तिहरू पुनःस्थापित हुँदै छन् । त्यसको पछिल्लो उदारण हो- ब्राजिलमा ७७ वर्षका लुला डी सिल्भा दक्षिणपन्थी उम्मेदवारलाई हराएर राष्ट्रपतिमा ११ वर्षको अन्तरालपछि तेस्रो पटक निर्वाचित हुनु ।

युद्धोन्मुख अवस्थालाई रोक्नु जति अमेरिकाको बाध्यता हो त्यति नै चीनको पनि । आफूलाई अझै पनि ‘विकसित’ भन्न नचाहने, विकासशील भन्ने चीनले सम्पूर्ण नागरिकलाई गरिबीबाट मुक्त गरेर मध्यम खाले समाजवादी राष्ट्रको यात्रा आरम्भ गरेको छ । अबको एक दशकमा मात्र चीन वास्तविक समाजवादी राष्ट्र हुनेछ भन्ने चिनियाँहरूकै घोषणा छ । खुला भएको ४० वर्षपछि बल्ल चीन आर्थिक र सैन्य शक्तिका दृष्टिले शक्ति प्रदर्शनको तहमा उत्रेको छ एवं महाशक्तिलाई चुनौती दिने हैसियत राख्छ । अहिले कुनै पनि युद्धले चीनको यो बलियो बन्दै गरेको आर्थिक र सुरक्षा आधारशिलालाई भत्काउने सम्भावना छ । फेरि, चीनको नारा ‘साझा भाग्य, साझा विकास’ को छ, जसको अर्थ कुनै देशको शासन पद्धतिमाथि धावा बोल्नु होइन, बरु पारस्परिक लाभका लागि आर्थिक सहयोगमा उदार हुनु हो ।

यस्ता वार्ताका सीमितता त हुन्छन् नै, फेरि तिक्ततापूर्ण सम्बन्धका बेला भएका यस्ता वार्तालाई नेताहरूले नै उपलब्धिका रूपमा प्रचार गर्छन् । बाली वार्ताको सबैभन्दा ठूलो उपलब्धि यही हो कि दुवै पक्षले तत्काललाई द्वन्द्व टारेका छन् ।

प्रकाशित : मंसिर ७, २०७९ ०७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×