टुकुचा अभियानले छेडेको बहस- विचार - कान्तिपुर समाचार

टुकुचा अभियानले छेडेको बहस

महानगरपालिका स्थानीय सरकार हो तापनि देशको राजधानीमा विकास–निर्माणका काम गर्दा संघीय सरकारसँग समन्वय हुनुपर्छ । त्यसैले टुकुचा अभियानबारे सरकार प्रमुखलाई समय–समयमा जानकारी गराउनुपर्छ ।
बुद्धिनारायण श्रेष्ठ

काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत संरचना भत्काउने, नक्सा पास नभएका र नक्साभन्दा बढी निर्माण गरिएका संरचना हटाउने अभियान महानगरले चलाएको छ । भदौ ६ गते अन्तर्राष्ट्रिय सभाभवनपारिको बानेश्वरस्थित अल्फाबिटा भवनको अन्डरग्राउन्ड पार्किङ गर्नुपर्ने स्थानमा व्यापारिक प्रयोजनमा उपयोग गरिएको भागलाई मेयर बालेन शाह आफैं पुगी डोजर लगाएर भत्काइएको थियो । त्यसवरपरको फुटपाथमा राखिएका अनधिकृत पसलहरू पैदल हिँड्न सजिलोका लागि हटाइए ।

अनधिकृत संरचना भत्काउने क्रममा बानेश्वर हुँदै सुनधारास्थित काठमाडौं मलअगाडिको भाग तथा रणमुक्तेश्वर आरबी कम्प्लेक्सको नक्सा पासभन्दा अतिरिक्त भाग तोडियो । यस क्रममा त्रिपुरेश्वरस्थित सरकारी राहदानी विभागको बेसमेन्ट नक्सा पास अनुसार सवारी पार्किङमा कायम गरियो । नर्भिक अस्पतालछेउको संरचना भत्काउने क्रममा अदालतको स्टे अर्डर आयो ।

रत्नपार्क अगिाडिको अन्डरपास (सब–बे) माथि बनेको अनधिकृत संरचनाका पसल कवलहरू फोरिए । जय नेपाल सिनेमा हलनजिक भूमिगत टुकुचालाई पानी बगेको भाग देखिने गरी ठाउँठाउँमा डोजरले खनिएको छ । महाराजगन्ज टिचिङ अस्पताल र वीर अस्पताल परिसरका अनधिकृत फार्मेसी टहराहरू भत्काइएका छन् । यस्ता अनधिकृत संरचना भत्काउन सरोकारवालालाई ३५ दिने अग्रिम सूचना दिइएको थियो । स्वयंले नभत्काएका संरचना महानगरले डोजर लगाई पेलेको छ ।

यो अभियान दसैंका बेला पनि रोकिएन । लालपुर्जा र नक्सा नभएको बांगेमुढास्थित ‘त्वाः छें’ घर भत्काइएको छ । भदौ ६ यता यो लेख लेखुन्जेलको अवधिमा अवैध ढंगबाट निर्माण गरिएका ५६ स्थानका १३५ संरचना भत्काइएका छन् । मेयर बालेन शाहले असोज १५ मा भनेका थिए, ‘कानुनी रूपमा अवैध ठहरिएका सबै संरचना र अनियमित तरिकाले निर्माण गरिएका तथा सार्वजनिक जग्गा मिचेर बनाइएका सबै संरचना भत्काउने कामलाई निरन्तरता दिइनेछ । त्यसका लागि कामनपाले नक्सा अनुसार वैध–अवैध यकिन गरिरहेको छ ।’ अब टुकुचा अभियानतिर केन्द्रित होऔं ।

टुकुचा अभियानको माहात्म्य

जय नेपाल सिनेमा हलदेखि काठमाडौं प्लाजा (कमलादी मोड) सम्म भूमिगत बनेको टुकुचा खोला छोपिएको भाग खोल्न महानगर लागिपरेको छ । यस अभियान अन्तर्गत भदौ ३० देखि जय नेपाल सिनेमा हल परिसरदेखि भूमिगत टुकुचालाई छोपिएको संरचना ठाउँठाउँमा भत्काएर खोलाको पानी बगेको भाग देखिने गरी खोलिएको छ ।

यसका साथै टुकुचाको बहाव पत्ता लगाउन व्यक्तिगत घरजग्गा परिसरमा समेत गरी सात स्थानमा प्वाल पारिएको छ । यसरी जग्गाधनीका लालपुर्जा भएका स्थानमा डोजरले खोस्रेर छोपिएको टुकुचा खुला गर्न लागिएकाले त्यस क्षेत्रका घरधनीहरू त्रसित भएका छन् । महानगरको टुकुचा अभियानले अहिले काठमाडौंको बजारमा हल्लाखल्ला मच्चाएको छ । कतिले यस कार्यलाई सकारात्मक मानेका छन् भने केहीले विरोध गरेका छन् । मेयर बालेन शाहले टुकुचा अभियान केका लागि थालेका हुन् र यस कार्यको अभिप्राय के हो भन्ने सम्बन्धमा धेरैमा जिज्ञासा पैदा भएको छ । मेयरले ठीक गरे या बेठीक ? यस सम्बन्धमा विवेचना गर्नु समसामयिक नै होला ।

टुकुचाको उत्पत्ति

नेपाल भाषामा तोरीको साग–डाँठको त्यान्द्रोलाई ‘टुकँचा’ भन्ने गरिन्छ । टुकुचा भन्ने नाम यसै शब्दको अपभ्रंश हो कि भन्ने अड्कल कतिपय अध्ययनार्थीले गरेका छन् । टुकुचा खोलाको आकार ‘टुकँचा’ सागको त्यान्द्रोजस्तै कम चौडा (साँघुरो), तर लमतन्न परेको छ । काठमाडौं महानगरको तत्कालीन सहरी भागको करिब मध्यभागबाट टुकुचा बगेको छ ।

टुकुचा खोलो चपलीनजिकबाट जमिनमुनिको छिपछिपे जरुवा पानी सँगालिँदै चुनदेवी क्षेत्र निर्मल निवासपछाडि कुलोका रूपमा जमिनमा देखा परेको छ । त्यसपछि केही दक्षिण अनि पश्चिम हुँदै खोलाका रूपमा काठमाडौं टुँडालदेवी मन्दिर नजिकबाट बालुवाटारस्थित चिनियाँ दूतावास परिसरछेउ भएर बग्दै त्यहाँबाट पश्चिमतिर लागेर खुर्सानीटार पुगेको छ । यहाँबाट टुकुचा सीधै दक्षिणतिर सोझिएर नील सरस्वती, नारायणहिटी परिसर, जय नेपाल सिनेमा हल, सिद्धार्थ बैंक, कमलादी मोड (काठमाडौं प्लाजा), बागबजार, अद्वैतमार्ग, भृकुटीमण्डप, सिंहदरबार, भद्रकाली प्लाजा, त्रिपुरेश्वर ब्लुबर्ड मलबाट पश्चिमतिर लागी कालमोचनको मोक्षधाम मन्दिर हुँदै वाग्मती नदीमा मिसिन पुगेको छ ।

टुकुचा खोला चुनदेवीदेखि करिब ६.५ किलोमिटर लामो, ४ देखि ८ मिटरसम्म चौडा र ४ देखि १० मिटरसम्मको गहिराइबाट बगेको छ । सजिलोसँग खोलाको पानी बगोस् भनेर खोलामाथि बनाइएको गुम्बजजस्तो संरचना निर्माण गर्दा ठाउँठाउँमा भर्‍याङजस्तो छाँगा बनाइएको छ । लुकेको टुकुचा क्षेत्रमा करिब ८५ घरधुरी छन् ।

टुकुचा खोला वर्षायाममा जता इच्छा लाग्यो उतै बग्ने भएकाले पौराणिक कालमा यसको नाम ‘इच्छुमती’ राखिएको होला । टुकुचाको बाढी जताततै पस्ने भएकाले वीरशमशेरले आफ्नो र आफ्ना सन्ततिको लालदरबार परिसर र तत्कालीन गिन्नी पोखरी बगैंचा क्षेत्रको जग्गा बाढीबाट जोगाउन टुकुचालाई बाँधेर दायाँ–बायाँ हलचल गर्न नसक्ने गरी गुम्बज शैली आकारको डुँड बनाएको हुनुपर्छ । त्यस बखत यस्तो डुँडले छोप्ने संरचना बनाउने कार्यमा लागेका जोगवीर स्थापितको भनाइ पनि करिब यस्तै छ । यसरी छोपिएको भाग करिब ४४० मिटर लामो छ ।

बाढी पस्न सक्ने भएकाले अन्य स्थानमा अहिले पनि टुकुचाका दायाँ–बायाँ बलियो रिटेनिङ पर्खाल बनाइने गरिएको छ । पुतलीसडक टुकुचानजिकै घर भएका नागरिक अभियन्ता चन्द्रमान प्रधान भन्छन्, ‘चार दशकअघिसम्म टुकुचाको दायाँबायाँ धेरै ठाउँमा नर्कट बाँस रोप्ने गरिन्थ्यो । यसले पानीलाई निर्मलीकरण गर्थ्यो र बाढी रोक्थ्यो । जुद्धशमशेरका पालामा टुकुचा खोलाको पानी सिंहदरबार पश्चिम ढोकाको छेउछाउ पुगेको थियो ।’

महानगरको भनाइ

काठमाडौं महानगर टुकुचा खोला खाली गर्ने अभियानमा छ । जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म छोपिएको भाग खुला गर्न महानागर लागिपरेको छ । त्यस क्रममा भत्काइएका ठाउँमा टुकुचा खुला भएको छ । छोपिएर त्यसमाथि बनेको संरचना भत्काउन महानगरले नक्सा पास नगरेको तथ्यलाई आधार मानेको छ तापनि अधिकांश घरको नक्सा पास भएको वास्तविकता बाहिर आएको छ ।

महानगरले अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले दुई वर्षअघि गरेको अनुसन्धान प्रतिवेदनको आधारलाई टेकेर भदौ ३० देखि टुकुचा उत्खनन गरेको थियो । महानगरको भनाइ छ, ‘पानी बगाउन बनाइएको पुरानो संरचना नभत्काए पनि टुकुचा खुला राख्न आसपासका संरचना निरन्तर भत्काउँछौं । वीर अस्पताल परिसरको नक्सामा फूलबारी बनाउने उल्लेख भएकाले अनधिकृत भाग भत्काइएकामा त्यहाँ फूलबारी नै बनाइनेछ ।’

मेयर बालेन शाहले असोज ७ गते सामाजिक सामाजिक सञ्जालमा लेखेका छन्, ‘नदीमा अदालतले अल्पकालीन आदेश दिएको छ, अदालतले टुकुचा (इच्छुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्छ ?’ उनले भनेका छन्, ‘हामीले टुकुचालाई न्याय दिन खोजेका हौं, त्यसलाई पुरानै लयमा फर्काउन खोजेका हौं । तर नगरवासीलाई दुःख दिने हाम्रो नियत छैन । समस्यामा परेका र कागजपत्र भएकासँग हामी छलफल गर्नर्छौं । अहिले हामी

आफ्नो अभियानबाट रोकिने पक्षमा छैनौं । टुकुचामा पानी बग्न ४ मिटर छाडिनेछ भने दायाँबायाँ ४–४ मिटरको करिडोर बन्नेछ । यो काम पाँच वर्षभित्र पूरा गर्ने उद्देश्य छ ।’

अदालतले स्टे अर्डर जारी गर्न थालेपछि महानगर प्रहरी प्रमुखले भने, ‘यो गतिविधि राम्रो भएन । अब महानगरलाई जनताको साथ चाहिन्छ । केही गरौं भनेको, ठूलाबडाहरू अदालत गुहार्न थाले । जसले खोलामाथि घर बनाएको छ, त्यसलाई अदालतले पनि संरक्षण गर्नु हुन्न । नक्सा पास लिएर त्यति बेला घर बनाएको भए पनि नियम अनुसार नै भत्काउन सुरु गरिएको हो । नक्सा पास लिँदैमा खोलामाथिको घर नभत्काउने हो भने टुकुचाको बाँकी भूभाग खाली गर्न कठिन हुने भयो । अदालतको आदेशविपरीत काम गर्न पनि नसकिने भयो ।’

नापी विभागको भनाइ

काठमाडौं महानगरले टुकुचा खोला भूमिगत भएको स्थानमा रेखांकन गर्न आग्रह गर्दै नापी विभागलाई चिठी पठाएको थियो । त्यसको उत्तरमा नापी विभागले असोज ५ गते जवाफ पठाएको थियो, ‘जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म खोला नदेखिएको स्थानमा कानुनी रूपमा रेखांकन गर्न मिल्दैन । त्यस क्षेत्रको जग्गा कानुनी रूपमै व्यक्तिका नाममा दर्ता गरी नक्सा र लालपुर्जा तयार गरेको देखिएको छ ।

टुकुचा खोलालाई भूमिगत बनाएपछि त्यसमाथिको जग्गा कानुनी रूपमा व्यक्तिका नाममा दर्ता गरिएको हो । जहाँ–जहाँ टुकुचा देखिएको छ, त्यहाँको नापी गरिएको छ ।’ नापीका कर्मचारीले सतहको जमिन मात्र नापजाँच गर्छन्, सतहमुनि अथवा माथिको भाग अथवा उचाइ र गहिराइ मापन गर्ने अधिकार नापीलाई हुँदैन । २०००, २०२१ र २०३२ सालका नापीमा त्यस क्षेत्रका राणाकालीन र नारायणहिटी दरबारहरूको नापजाँच गरिएको छैन । यो नापी ग्राउन्ड सर्भे विधिबाट गरिएको थियो ।

पुरातत्त्वको भनाइ

टुकुचा क्षेत्रको अध्ययन गर्न पुरातत्त्व विभागले असोज ४ मा टोली बनाएको थियो । टोलीले अध्ययन गर्दा महानगरले डोजर लगाएर खोस्रेका सातमध्ये तीन ठाउँमा टुकुचालाई डुँडमा हालिएको फेला पारेको थियो । अध्ययन टोलीका संयोजक भास्कर ज्ञवालीले असोज १४ मा भनेका छन्, ‘टुकुचाको डुँड ऐतिहासिक–पुरातात्त्विक हो भन्नेमा शंका छैन । यो डुँड सय वर्ष पुरानो भएकाले प्राचीन संरक्षण ऐन अनुसार भत्काउन मिल्दैन । यसलाई मौलिक शैलीमै राख्नुपर्छ । दस दिन अध्ययन गर्दा पनि टुकुचाको समग्र पक्ष पत्ता लगाउन नसकिएकाले अब दसैंपछि खोलाको शिरदेखि अन्त्यसम्मै अध्ययन गरिनेछ । कतिपय ठाउँमा टुकुचा कहाँबाट बगेको छ भन्ने अत्तोपत्तो छैन ।’ यसमा जिज्ञासा पैदा भएको छ— यति थोरै क्षेत्रको पानी बगेको टुकुचाको अध्ययन गर्न समितिलाई यति लामो समय किन लागेको हो ? कतै खँदिलो कारण नभेटिएर खोचे थाप्न दसैंपछि पर्खनुपरेको हो कि ?

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको वाग्मती सुधार आयोजनाले टुकुचा खोलाको पानी प्रशोधन गर्ने प्रयोजनका लागि पानीको मात्रा मापन गर्न बोनाफाइड इन्जिनियरिङ कन्सल्टेन्सीलाई काम दिएको थियो । त्यस कम्पनीले २०७७ सालमा ५.९ किलोमिटर लामो टुकुचाको पूर्वसम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो । त्यस क्रममा जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म भूमिगत भएको क्षेत्रको नापनक्सा नभए पनि गुगल म्यापका आधारमा व्यावहारिक अध्ययन गरिएको कुरा कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अनिल मानन्धरले बताएका छन् ।

संस्कृतिविद् सत्यमोहन जोशीले पनि भनेका थिए, ‘उति बेला नै राजाहरूले खोलालाई बंग्याउँदा त्यसको समस्या अहिले देखिएको छ । खोला सधैं स्वतन्त्र हुनुपर्छ, तर इच्छुमतीलाई राणा र राजाकालीन समयमै खुला बग्न दिएनन् । टुकुचालाई पनि अन्य खोलाजसरी खुला र स्वतन्त्र हुन दिनुपर्छ ।’ अनुसन्धानकर्ता पद्मसुन्दर जोशीले ‘खोलालाई खुला गर्नुपर्छ, शिरदेखि पुछारसम्मको अवस्था के छ भन्ने हेरेका छैनन्, प्लान नै नबनाई मध्यसहरमा टुकुचा उत्खनन गर्दा त्यसको औचित्य देखिँदैन’ भनेका छन् ।

टुकुचा गुम्बज वरपरका जग्गाधनीको भनाइ

टुकुचा गुम्बज छेउछाउ घर भएका ६१ वर्षीय अरुण श्रेष्ठ र ५४ वर्षीय योगेश मिश्र एकस्वरमा भन्छन्, ‘हाम्रा बुबाहरूले ५०–५५ वर्षअघि किनेको जग्गाको वैधानिक कागजपत्र हुँदा पनि टुकुचा उत्खननका नाममा घर भत्काउने भन्ने महानगरपालिकाको लहडले हामीलाई अचानक तनाव दिएको छ । डोजर चलाएर हामीलाई आतंकित तुल्याएको छ । जग्गाको नक्सा हेर्‍यौं, घर बनायौं, हामीले के बिरायौं ? हाम्रो घरको नक्सा तत्कालीन नगर पञ्चायतबाट र राजदरबारबाट पनि स्वीकृत भएको छ । नियमसंगत ढंगबाट वर्षौंदेखि बसोबास गर्दै आएको घरजग्गालाई अहिले एक्कासि अवैध भन्दा दुःख लागेको छ । जग्गाको नक्सामा नदेखिएको टुकुचा हामीले कसरी देख्ने ? महानगरले हामीमाथि अन्याय गरेको छ । महानगरले निकालेको ३५ दिने सूचना हामीलाई लागू हुँदैन । सूचनामा अनधिकृत संरचना हटाउने भनिएको छ । हामीसँग आधिकारिकताको पूरा कागजात छ, किन र कसरी हामीले हटाउने ?’

हात्तीसार क्षेत्रमा बसोबास गर्ने अधिवक्ता भावना बानियाँको पहलमा २१ जनाको समूहले पाटन उच्च अदालतमा मुद्दा दायर गरेकाले उनीहरूको संरचना तत्काल नहटाउन महानगरका नाममा अदालतले अन्तरिम आदेश दिएको छ । उनको भनाइ छ, ‘हामी विकासविरोधी होइनौं, हाम्रो सहर राम्रो बन्दा हामीलाई पनि खुसी लाग्छ, तर न्यायोचित ढंगले महानगर अगाडि बढोस् भन्ने मात्र हाम्रो चाहना हो ।’

डोजर आतंक ?

मेयर बालेन शाहले अनधिकृत संरचना डोजरले भत्काएको महानगरको इतिहासमा पहिलो होइन । उनका पूर्ववर्तीले पनि डोजर प्रयोग गरेका थिए । त्यसैले यो आतंक होइन । तत्कालीन मेयर केशव स्थापितले सोल्टीमोडदेखि कलंकी चोकसम्म सडक फराकिलो पार्दा डोजर उपयोग गरेका थिए । त्यस बखत पनि सडक दायाँ–बायाँका कतिपय जग्गाधनीले बाधा–विरोध गरेका थिए । तर स्थापितले भनेका थिए, ‘सार्वजनिक जग्गाबाहेक तपाईंको जग्गा परेको भए हाम्रो सार्वजनिक सूचना अनुसार क्षतिपूर्ति बुझ्नुहोस् । तर सार्वजनिक सुविधा र भलाइका लागि चालिएको सडक फराकिलो पार्ने अभियान रोकिँदैन ।’ हुन पनि त्यति बेला सडक फराकिलो पारिएको हुनाले कलंकी भएर काठमाडौंबाहिर जाने सवारीसाधनको जाम हटेको छ ।

स्थापितले पाँचतले घर पनि भत्काई माइतीघर मण्डला निर्माणका लागि मार्गप्रशस्त गरेका थिए । मण्डलाले आज काठमाडौंको सान राखेको छ । रत्नपार्कका टहरा पसलहरू भत्काउने समयमा पितृ किरियाकर्ममा रहेका उनी कोरा कपडामै आई डोजर चलाउने आदेश दिएका थिए । उनले ‘सार्वजनिक भलाइको काममा अहिले कसैले छेक्छ भने उसैलाई डोजर लगाउँछु’ भनेका थिए । यस्तो प्रक्रियाले गर्दा आज त्यहाँ शान्ति वाटिका बनेको छ ।

सर्वसाधारणले रत्नपार्कमा सुगमताका साथ सार्वजनिक सवारीसाधन उपयोग गर्न पाएका छन् । यसै गरी टुँडिखेल पश्चिमको सडक फराकिलो पार्ने क्रममा स्थापितले महाकालस्थान अगाडिको साझाको फार्मेसी भवन, विश्वज्योति सिनेमा अगाडिको सडक फराकिलो पारे अनि बानेश्वर शंकर चिम उकालोको साँघुरो सडक छेउछाउ भत्काई फराकिलो पार्न डोजर नै उपयोग गरेका थिए । धोबीखोला करिडोर अवधारणा उनैले ल्याई भाइकाजी तिवारी (पछि सहरी विकासका प्रमुख आयुक्त भए) लाई त्यसको योजना र निर्माणको काम सुम्पेका थिए । आज धोबीखोला दायाँबायाँ करिडोरमा सडक सुविधा पुगी ट्राफिक व्यवस्थापनमा सहयोग भएको छ । यसै अवधारणाको अनुसरण गरी वाग्मती, विष्णुमती, मनोहरा करिडोर योजना बनाइएका हुन् । मेयर बालेन पनि यसैअनुरूप अहिले टुकुचा करिडोर सडक कार्यलाई सफलीभूत पार्न लागिपरेको बुझिन्छ ।

अबको बाटो

तत्कालीन मन्त्रिपरिषद्को २०६५ मंसिर २ गतेको बैठकले वाग्मती–वष्णुमती–मनोहरा नदी, धोबीखोला, बल्खु–साङ्ले–महादेव खोलाका दायाँबायाँ क्रमशः २०–२० मिटर, १२–१२ र ६–६ मिटर अनि टुकुचा खोलाको ४–४ मिटर क्षेत्रभित्र कुनै पनि संरचना निर्माण गर्न रोक लगाउने निर्णय गरेको थियो । यी नदी खोला किनारमा भौतिक संरचना निर्माण गर्नुपरे अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने भनिएको थियो । यसै निर्णयअनुसार समितिले टुकुचा खोलाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्न लगाउने कार्य अगाडि बढाएको थियो ।

सरकारको यस्तो प्रावधान भएकाले महानगरले यो मापदण्ड टुकुचा खोलामा पनि लागू गरी दायाँबायाँ ४–४ मिटर चौडा जमिन खुला रूपमा राख्नुपर्छ । खोला क्षेत्रका जग्गाधनीले अदालतमा मुद्दा दायर गरेकाले उनीहरूका विपक्षमा निर्णय दिएमा समस्या खत्तम भइहाल्यो, पक्षमा निर्णय भएमा महानगरले उनीहरूलाई मुआब्जा वा क्षतिपूर्ति दिई खोला क्षेत्र खाली गराउनुपर्छ । चलनचल्तीको उचित मुआब्जा पाएमा उनीहरूले अर्को स्थानमा योभन्दा सुविधाजनक आवास भवन बनाउन सक्छन् । यसबाट उनीहरू पनि खुसी हुनेछन्, महानगरको अभियान पनि सफल हुनेछ ।

राज्यका सम्पूर्ण जग्गाजमिनको स्वामी राज्यकै हो । जमिनको ‘अब्सोल्युट राइट’ राज्यसँगै हुन्छ । राज्यले व्यक्तिलाई कर (मालपोत) तिरी जमिनको उपभोग गर्न दिएको हो । मालपोत नतिर्नेको हकमा जग्गा लिलाम गर्ने प्रबन्ध पनि छ । जग्गा प्राप्ति ऐन–२०७६ को दफा ९(१) मा ‘नेपाल सरकारलाई सार्वजनिक हितका लागि आवश्यक पर्ने जहाँसुकैको र जतिसुकै क्षेत्रफल भएको जग्गा यस ऐनबमोजिम प्राप्त गर्ने र त्यस सम्बन्धी यस ऐनबमोजिम कारबाही गर्ने, क्षतिपूर्ति निर्धारण गर्ने पुनःस्थापना वा पुनर्बास योजना स्वीकृत गर्ने तथा अन्य आवश्यक निर्णय गर्ने अधिकार हुनेछ’ भन्ने उल्लेख छ । यस अनुसार सार्वजनिक कार्यका लागि टुकुचाको पानी देखिने गरी खुला गर्न सकिने देखिन्छ ।

पुरातत्त्व विभागको अध्ययन समितिले सय वर्ष पुरानो डुँड शैली कायम गर्नुपर्छ भन्ने निर्णय गरेमा त्यस्ता पुराना निर्माणमा आजको अवस्थिति कायम गरी जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म जहाँजहाँ खोलाको पानी देखिने गरी खोलिएको छ, त्यसमा हेर्न सकिने गरी पर्खाल लगाई बलियो बनाएर अहिल्यैको स्थितिमा राख्नुपर्छ । यसपछि कित्ता नापीको नक्सामा जमिनमा टुकुचा खोलिएको भागमा ठाउँठाउँको रेखांकन गराउनु आवश्यक पर्छ । जमिनमा भएको विवरण अनुसार नक्सा अद्यावधिक गर्न प्राविधिक हिसाबले कुनै बाधा पर्दैन ।

यी सबै कुराको सार हुन सक्छ— टुकुचा खोलाको अस्तित्व कायम गरिनुपर्छ र दायाँबायाँ ‘टुकुचा करिडोर मार्ग’ बनाइनुपर्छ । खोलाको पानी सफा राखिनुपर्छ । टुकुचाका केही खण्डमा अहिल्यै पनि केही सडक बनेका छन् । ४–४ मिटर चौडा क्षेत्रमा हरियालीसहित टुकुचा करिडोर निर्माण गरिएमा महानगरको मध्यभागबाट बूढानीलकण्ठ जानलाई छोटो र सुगम पर्न जान्छ । यसबाट ट्राफिक जामको केही समस्या पनि समाधान हुन्छ । फ्रान्सको पेरिसमा आइफल टावर नजिकैको सेइन नदीलाई दायाँबायाँ पर्खाल लगाएर दुवैतिर प्यारापेट बनाई स्थानीय बासिन्दा तथा पर्यटकका लागि मनोरम वातावरण सृजना गरिएझैं टुकुचा करिडोरलाई पनि यस्तै बनाउने योजना गर्नुपर्छ ।

महानगरपालिका स्थानीय सरकार हो तापनि देशको राजधानीमा विकास–निर्माणका काम गर्दा संघीय सरकारसँग समन्वय हुनुपर्छ । त्यसैले टुकुचा अभियानबारे सरकार प्रमुखलाई समयसमयमा जानकारी गराउनुपर्छ । मेयर बालेन शाहले ऐन–कानुन र नीति अनुसार गरेको कामकारबाही युवा जमातले समर्थन गर्नेछन् । मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्डभित्र रहेर नियमसंगत तरिकाबाट टुकुचा अभियान सञ्चालन गर्दा मेयर बालेन शाहलाई केही तत्त्वले आपत्ति जनाए भने त्यस्तो तत्त्वलाई युवा पिँढीले नकार्नेछन् ।

प्रकाशित : कार्तिक ८, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

महिलालाई उड्न देऊ !

महिला भएर जन्मिएकै कारण हरेक दिन हामीले ‘रियालिटी चेक’ बाट गुज्रिनुपर्छ । ठूलठूला सपना नदेख, महत्त्वाकांक्षा नपाल, वास्तविकतामा बाँच्न सिक, जोखिम नमोल ! हाम्रा लक्ष्य र चाहनाहरू यथार्थपरक र अर्थपूर्ण मानिँदैनन् ।
प्रीति मित्तल

हामी यस्तो समयमा बाँचिरहेका छौं जति बेला ‘महिला सशक्तीकरण’ शब्दावली जनजिब्रोमा लगभग बसिसकेको छ । सँगसँगै दुर्भाग्यपूर्ण के छ भने, परिस्थितिवश महिलाहरूको ठूलो हिस्सा आज पनि आफ्नो नियन्त्रणबाहिरको काम गर्न बाध्य छ ।

आज हामी इतिहासको धेरै महत्त्वपूर्ण र निर्णायक समयमा उभिइरहेका छौं, समावेशीकरण र विविधताको युगमा, जहाँ महिलाहरू आफू, आफ्नो परिवार, समाज र सिंगो संसारलाई नै परिवर्तन गर्न र नेतृत्वदायी भूमिका खेल्न तयार छन् ।

पितृसत्तात्मक मूल्यमान्यताहरूले लादेका कर्महरूबाट मुक्ति पाउन दिनरात संघर्ष गर्दै हामीले लामो यात्रा तय गरिसकेका छौं । तर भोलि के होला भन्ने चिन्ता नलिई हामी वास्तवमै के गर्न चाहन्छौं भनेर रोज्ने स्वतन्त्रता, कसैको सहयोग वा सद्भाव हामीसँग छ ? जवाफ एउटै हुन्छ— छैन । हामीले अझै पनि इच्छाएको जीवन बाँच्न, आफ्ना सपनाहरू पछ्याउन, पेसागत प्राथमिकताहरू निर्धारण गर्न वा चाहेजस्तो शिक्षा हासिल गर्न आफ्ना आमाबाबु वा श्रीमान्को अनुमति लिनुपर्छ । यदि विवाह महिला र पुरुषबीचको एकता हो भने किन महिलाले मात्र सधैं सपना र विवाहमध्ये एक रोज्नुपर्ने ? अनि किन हरेक कुरामा कसैको अनुमति चाहिने ?

शिक्षित हुनु हरेक अविवाहित केटीका लागि विवाहको सबैभन्दा पहिलो सर्त हो । तर विडम्बना, विवाहपश्चात् उसले काम गरेको हेर्न कोही पनि चाहँदैन । फगत उसको खाना पकाउने सीप, उसले लगाउने पोते र सिन्दूरले महत्त्व पाउँछन्; ऊ कुन उचाइमा पुग्न सक्छे वा के कुरा हासिल गर्न सक्छे भन्नेले कुनै अर्थ राख्दैन । कथंकदाचित् विवाहपश्चात् पनि उसले काम गर्ने वा आफ्ना सपनाहरू पछ्याउने अनुमति पाई भने उसलाई भाग्यमानी ठानिन्छ । तर हाम्रा आफ्नै सपनाहरू पछ्याउन हामीलाई कसैको अनुमति लिन जरुरी छ ? आजसम्म पनि हामी कुन दुनियाँमा बाँचिरहेका छौं ?

महिला भएर जन्मिएकै कारण हरेक दिन हामीले ‘रियालिटी चेक’ बाट गुज्रिनुपर्छ । ठुल्ठूला सपना नदेख, महत्त्वाकांक्षा नपाल, वास्तविकतामा बाँच्न सिक, जोखिम नमोल ! हाम्रा लक्ष्य र चाहनाहरू यथार्थपरक र अर्थपूर्ण मानिँदैनन् । हामीले प्रायः नसोचेका कामकुरा छनोट गर्नुपर्ने चुनौतीको सामना गर्नुपर्छ, जसले हाम्रो पेसा–व्यवसायमा भाँजो हाल्छ वा हाम्रा महत्त्वाकांक्षाहरूलाई बीचमै तुहाइदिन्छ । हामीबाट प्रायः सीमित लक्ष्य र महत्त्वाकांक्षाहरूको अपेक्षा गरिन्छ । लक्ष्यबाट बारम्बार पछि हट्नुपर्ने समस्याले अन्ततोगत्वा हामीलाई यस्तो विषाक्त दुश्चक्रतिर धकेलिदिन्छ जहाँबाट फेरि कामको लयमा फर्किनु अत्यन्त पीडादायी अनि असम्भवप्रायः हुन्छ ।

यसले हाम्रो आत्मविश्वासलाई छियाछिया पारिदिन्छ । यो एउटा मुख्य बाधाका रूपमा देखा पर्छ जसले सदैव असफलताको अनुभूति त दिलाउँछ नै, आफ्नै वरिपरिका सहयोगीहरूप्रतिको विश्वास पनि हामीबाट हट्दै गुम्दै जान्छ । ती आफ्नै परिवार सदस्य, साथीभाइ वा सल्लाहकार जो पनि हुन सक्छन् । महिलाहरूलाई शीर्षस्थानमा पुग्नबाट रोक्ने अनेकौं कारणमध्ये लैंगिक समानता, सहयोग र सद्भावको कमी पनि हो जसले बिस्तारै महिलाहरूको आत्मविश्वासलाई धूलिसात् पारिदिन्छ ।

आत्मविश्वासको कमी हानिकारक हुन सक्छ किनकि सफलता पाउन क्षमताका साथसाथै आत्मविश्वास पनि चाहिन्छ । परिणामस्वरूप, सपनाहरू पूरा गर्ने चाहना, नाम, प्रसिद्धि र सफलता हासिल गर्ने इच्छाहरू बिस्तारै कठिन र अवास्तविक लाग्न थाल्छन् । हामीलाई आफ्नो लक्ष्यमा अघि बढ्ने क्रममा बारम्बार हाम्रा सीमितताहरूबारे सम्झाइन्छ जसले महिलाले हासिल गर्न सक्ने सफलताको दायरालाई साँघुरो पारिदिन्छ ।

जीवनका सपनाहरू पूरा गर्न पुरुषहरूलाई पनि महिलाहरूलाई जस्तै सहयोग, विश्वास, ऊर्जा, योग्यता, सीप र स्रोतसाधनको आवश्यकता हुन्छ । तर पुरुषहरू महिलाले जस्तै सजिलै सपनाहरू कहिल्यै त्याग्दैनन् । यदि पुरुषहरूको सपनाको कुनै सीमा हुँदैन भने महिलाहरूको सपनाले मात्र किन समयको हदबन्दीभित्र बाँधिनुपर्ने ? पुरुषहरूको सफलताका लागि सबैको हरसम्भव साथ र सहयोग हुन्छ भने महिलाले चाहिँ किन इच्छाएको जीवन बाँच्न पनि कसैको अनुमति लिनुपर्ने ? असल श्रीमती र छोरी बन्नका लागि महिलाले सब थोक त्याग्नैपर्छ र ? महिलाहरू पछि पर्नु भनेको यो विश्व अन्यायी र पक्षपाती बन्नु हो । यदि तिनै महिलालाई साथ–सहयोग दिई उचित वातावरण बनाइदिने र सशक्तीकरण हुने अवसर जुटाइदिने हो भने उनीहरू उचाइमा पुग्नबाट रोक्ने हरेक व्यवधानबाट मुक्त हुन सक्छन् ।

निश्चय नै, परिवार समाजको सबैभन्दा महत्त्वपूर्ण एकाइ हो र यसभित्र केही निश्चित सम्झौता गर्नुपर्छ । तर त्यसका लागि महिला र पुरुष दुवैले जिम्मेवारीहरू बाँडफाँट गर्नुपर्छ । आफ्नो पेसागत योजना नत्यागीकन पनि महिलाहरू असल श्रीमती र आमा बन्न सक्छन् । असल छोरी र श्रीमती बन्न तथा बालबच्चा हुर्काउन उसले आफ्ना सपनाहरूलाई माया मार्नुपर्दैन । केवल आफ्नो परिवार र जागिरबीच गहन सन्तुलन राख्न सक्नुपर्छ । महिलाहरूलाई प्रगतिपथमा अघि बढाउनका लागि समाजले आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ । अभिभावकहरूले आफ्ना छोराछोरीलाई समान रूपमा हुर्काउनु र व्यवहार गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । अझ महत्त्वपूर्ण कुरा महिलाहरूको सपनामा विश्वास गर्नु र आर्थिक रूपले सकिँदैन भने पनि नैतिक रूपले भरपूर समर्थन गर्नु हो । नैतिक समर्थन भौतिक समर्थनजत्तिकै अर्थपूर्ण हुन्छ ।

समाजलाई पितृसत्ताले यसरी गाँजेको छ, पुरुषका लागि आधारभूत मानिने चीजहरू खोज्ने महिलालाई अझै पनि या त पारिवारिक वा सामाजिक अनुमति चाहिन्छ या उसबाट भएको सुविधा पनि खोसिन्छ । आफूलाई प्रगतिशील ठान्नेहरू अझै पनि महिलाहरूलाई उनीहरूले चाहेको जीवन जिउन अनुमति दिनुमा गर्व गर्छन् जबकि पितृसत्तात्मक मूल्यमान्यता बोक्ने पुस्ताले अन्ततः बिस्तारै समाजमा आफ्नो पकड गुमाउँदै गएको छ ।

शिक्षा हासिल गर्ने, पेसा–व्यवसाय रोज्ने, व्यावसायिक सिँढीको माथिल्लो खुड्किलामा रहनेजस्ता पुरुषहरूका लागि सामान्य मानिने कुराहरूलाई अझै पनि महिलाहरूका सन्दर्भमा विशेषाधिकार मानिन्छ । यसैले आपसी सम्बन्धमा साझेदारी स्थापना गर्ने कुरालाई सामान्य बनाउनुपर्छ, ताकि महिलाहरूले आफ्नो चाहना अनुरूपको जीवनयापन गर्ने छुट पाएकामा पुरुष र समाजप्रति कृतज्ञ बन्नु नपरोस् । भनिन्छ, हरेक सफल पुरुषका पछाडि महिला हुन्छन् तर हरेक सफल महिलाका पछाडि मानिसहरूको झुन्ड हुन्छ भन्ने पनि उत्तिकै साँचो हो ।

हामीलाई आफ्नो पूर्ण क्षमताका साथ काम गर्न रोक्ने कुरा भनेको नकारात्मक आत्मवार्ता र आत्मध्वंसकारी सोच पनि हो । त्यसैले यस्ता सबै नकारात्मक कुराहरूलाई पन्छाउने समय पनि हो यो । बरु जस्तोसुकै परिस्थितिमा पनि आफ्नो जोस र उत्साहलाई कम हुन नदिनु महत्त्वपूर्ण कुरा हो । त्यसको सट्टा बरु कर्मको उचाइमा पुग्ने उपायहरू खोज्नुपर्छ । जब कुनै महिलाले आफ्ना सपना र महत्त्वाकांक्षाहरू त्याग्न इन्कार गर्छिन्, उनी रोल मोडल मात्र बन्दिनन्, अरूलाई पनि अगाडि तान्छिन् र उनीजस्तै अरूले पनि सफलताको उडान भर्न सक्छन् भनेर देखाइदिन्छिन् ।

हामी महिलाहरू पुरुषहरूले कल्पनासम्म गर्न नसक्ने कामहरू गर्न सक्षम छौं । हामी घरायसी र कार्यालयसम्बन्धी कामहरू कुशलतापूर्वक व्यवस्थापन गर्न सक्छौं । त्यसैले महिलालाई विवाहरूपी सुनको पिँजडामा बन्द गरेर नराखौं, जहाँ हरेक चीज सुन र चाँदीको थालमा पस्केर त दिइन्छ तर यसका लागि उनीहरूको सिंगो जीवन र सम्पूर्ण स्वतन्त्रता खर्चिनुपर्छ । उनीहरूलाई उड्न दिऔं ।

अन्त्यमा, आजको द्रुत, तनावपूर्ण, एकअर्कामा संयोजित र निरन्तर विकसित हुँदै गइरहेको विश्वमा बाँच्दाबाँच्दै पनि यो सहस्राब्दी आफ्नो विचार र दृष्टिकोणमा अघिल्लोभन्दा तुलनात्मक रूपमा प्रगतिशील छ । यद्यपि प्रेम र विवाहमा समान साझेदारी हुनुपर्छ भन्ने चाहिँ अझै पनि बहसकै विषय हो ।

प्रकाशित : कार्तिक ८, २०७९ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×