गणतन्त्रको अन्योल- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गणतन्त्रको अन्योल

गणतन्त्र भनेर मात्र पुग्दैनथ्यो, आजको गणतन्त्रले दलाल पुँजीवादी अर्थतन्त्रको अन्त्य र सामाजिक न्यायको प्रत्याभूति गर्ने मुद्दा बोक्न पनि सक्नुपर्थ्यो । तर गणतन्त्रपछि सत्तासीन हुन पुगेका संसद्वादी पार्टीहरूसँग दलाल पुँजीवादी व्यवस्थासँग लड्ने कुनै नीति नभएको मात्र होइन, त्योसँग आत्मसमर्पण गर्ने मति मात्र थियो ।
आहुति

नेपालमा गणतन्त्र स्थापनाको संघर्ष सैद्धान्तिक रूपमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापनासंँगै सुरु भएको हो । व्यावहारिक रूपमा राजतन्त्रको अन्त्यसहितको राजनीतिक व्यवस्था स्थापना भएको पनि डेढ दशक हुन लागेको छ । २०४६ को परिवर्तनपछि जसरी आम जनता बहुदलीय व्यवस्थामा दिक्क भएका थिए, अहिले गणतन्त्रसहितको संघीयतामा आधारित व्यवस्थामा पनि असन्तुष्ट हुन थालेका छन् । टड्कारो विकल्प नदेखेर जे भैरहेको छ, त्यसैभित्र विकल्प खोज्ने माहोल चलिरहेछ ।

तर आम जनता अहिलेको व्यवस्थाबाट सन्तुष्ट छैनन् भन्ने कुरा पनि स्पष्टै देखिन्छ किनभने आम मानिसका आधारभूत समस्या समाधान हुने कुनै जूनकिरी देखा परेको छैन । देशभित्र उत्पादन नहुने, बेरोजगारले बिदेसिनुपर्ने अनि जो उत्पादन गरिरहेछन् उनीहरू संकटमा परिरहनुपर्ने— यो नै मूल कारण हो जसले गणतन्त्रबारे आम मानिसमा निराशा जन्माएको छ । त्यसै गरी सयौं वर्षदेखि उत्पीडित महिला, दलित, जनजाति, मुस्लिम, मधेशीमाथिको अन्याय नयाँनयाँ रूपमा जारी रहनुले पनि गणतन्त्रसहितको व्यवस्थाप्रति उदासीनता जन्माएको छ । नेपालमा गणतन्त्र कुनै संयोगले स्थापना भएको होइन बरु योजनाबद्ध संघर्ष र बलिदानबाट प्राप्त भएको हो । त्यसका निम्ति सबैभन्दा ठूलो बलिदान दसवर्षे जनयुद्धले गरेको पनि अकाट्य रूपमा स्थापित तथ्य हो । निहित स्वार्थका निम्ति राजतन्त्र चाहिन्छ भन्ने सानो झुन्डको मत र अभियान वैधानिक बनिरहेछ ।

दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र सांस्कृतिक दृष्टिकोण— जुनै दृष्टिबाट हेरे पनि राजतन्त्र आजको समयमा जरुरी भएको पुष्टि हुन सक्दैन तर पनि राजावादी सानो मत जीवित छ । यस्तो किन भइरहेछ खोजखबर जरुरी छ । संसद्वादी पार्टीका नेताहरू पहिलेका राजाजस्तै किन लाग्छन् जनतालाई ? ‘हिजो एउटा राजा थियो तर आज धेरै राजा भए’ जस्ता कथन पनि साँच्चै हो कि हो कि जस्तो लाग्ने वातावरण किन बनिरहेको छ ? राष्ट्रपतिको सवारी किन हिजोका राजाहरूको जस्तै गरी हुन्छ ? राज्यस्तरमा भइरहेको यस्तो क्रियाकलाप झुक्किएर गल्तीले हरेक वर्ष हुन सक्तैन । यस्तो परिवेशमा मान्नैपर्ने हुन्छ कि गणतन्त्रबारे बुझाइमा नेपाली समाज अन्योलग्रस्त हुन पुगेको छ । त्यसैले जरुरी भएको छ– गणतन्त्रबारे सही बुझाइ, गणतन्त्रको फरकफरक युगमा भूमिका र प्रकार अनि नेपालमा गणतन्त्रको महत्त्व र अहिलेको विकृतिको स्रोतलाई हेर्ने सही दृष्टिकोण ।

यस विषयका सन्दर्भमा ध्यानमा राख्नुपर्ने कुरा के हो भने कुनै पनि राजनीतिक प्रणाली वा राजनीतिक संस्था खास सामाजिक व्यवस्थाका अनिवार्य अंगका रूपमा जन्मिन्छ । ठीक त्यसै गरी खास प्रकारको सामाजिक व्यवस्था निश्चित आर्थिक प्रणालीमा उभिएको हुन्छ । यसरी जुनसुकै राजनीतिक प्रणाली वा संस्था उपरी संरचना हुन्छ र आधारका रूपमा भने आर्थिक प्रणालीले भूमिका खेलिरहेको हुन्छ । त्यसैकारण राजतन्त्र वा गणतन्त्रबारेको अध्ययनलाई पनि खास समयको आर्थिक प्रणालीसँग गाँसेर बुझ्नु अनिवार्य हुन्छ । जुन बेला संसारभरि राजतन्त्रको युग थियो, त्यतिबेला सामाजिक व्यवस्थाका रूपमा सामन्तवाद थियो । सामन्तवादी समाजको मुख्य सम्पत्ति उत्पादनको स्रोत जमिन हो । सबैभन्दा बढी जमिनमाथि कब्जा जसले जमाउँथ्यो, ऊ भूपति राजा बन्थ्यो । यसको अर्थ हो— जमिनले नै आर्थिक प्रणालीमा निर्णायक भूमिका खेल्थ्यो ।

यसप्रकार जमिनमाथि कब्जा जमाएका थोरै संख्याका भूपतिहरूको स्वार्थ पूर्ति गर्न तथा त्यस्तो अवस्थाको निरन्तरताका निम्ति सामन्तवादी सामाजिक व्यवस्थामा धर्म, राजनीतिक प्रणाली र संस्कृति बनाइएका थिए र यो व्यवस्थाको शिरमा रहन्थ्यो राजतन्त्र ! त्यस्तो सामन्तवादी सामाजिक व्यवस्थाको गर्भबाट पुँजीपति वर्गको जन्म भयो । पुँजीपति वर्गको शक्ति जमिनमा थिएन बरु पुँजीमा थियो जुन जमिनभन्दा शक्तिशाली थियो । पुँजीपति वर्गका निम्ति स्वतन्त्र मानिसहरू आवश्यक थिए किनभने औद्योगिक उत्पादनका निम्ति मानिसहरू स्वतन्त्र भए मात्र ज्यालादारी श्रमिक बन्न सक्थे । तर सामन्तवादी राजतन्त्रात्मक सामाजिक व्यवस्थाले त बहुसंख्यक मानिसलाई भूदास व्यवस्था वा पितृसत्ताद्वारा बाँधेर राखेको थियो । राजा र सामन्तहरू भूस्वामित्वको आधारमा शासन जारी राख्न चाहन्थे तर पुँजीपति वर्ग पुँजी स्वामित्वको आधारमा शक्तिशाली हुन चाहन्थ्यो । भूमि सबै चीजसँग साट्न मिल्दैनथ्यो, जसलाई भूमि चाहिएको छ, त्योसँग मात्र साट्न मिल्दथ्यो । तर पुँजीपति वर्गले जन्माएको पुँजी भने सबै चीजसँग साट्न मिल्ने सार्विक क्षमताको थियो । त्यसैले सामन्त वर्गमाथि पुँजीधारी पुँजीपति वर्ग हावी हुँदै गयो र गणतन्त्रात्मक पुँजीवादी क्रान्तिहरू अगाडि आए ।

राजतन्त्रात्मक सामन्तवादी सामाजिक व्यवस्थालाई नष्ट गर्दै स्थापित भएका सुरुका पुँजीवादी व्यवस्थाहरू प्रगतिशील थिए किनभने तिनले सामन्तवादले थोपरेका सारा बन्धन, रूढिवाद र उत्पादनको धीमा गतिलाई ध्वस्त बनाएका थिए । त्यतिबेला पुँजीवादी व्यवस्थासँगै उदाएका गणतन्त्रहरू केवल राजतन्त्रात्मक प्रणालीको विस्थापन थिएनन् बरु ती गणतन्त्रहरू नयाँ पुँजीवादी सामाजिक व्यवस्थाका राजनीतिक प्रणाली थिए अर्थात् त्यतिबेला उदाएका गणतन्त्रहरू नयाँ सामाजिक व्यवस्थाका पर्याय थिए । त्यतिबेलाका पुँजीवादी गणतन्त्र र राजतन्त्र एकआपसका निम्ति आधारभूत रूपमै विरोधी थिए किनभने तिनले फरकफरक सामाजिक व्यवस्थाको प्रतिनिधित्व गर्थे ।

राजतन्त्रात्मक सामन्तवादी व्यवस्थाविरुद्ध गणतन्त्रात्मक पुँजीवादी क्रान्तिहरू युरोपबाट सुरु भयो तर युरोपमै राजसंस्थाहरू आजसम्म बाँकी रहेको यथार्थले थुप्रै मानिसलाई अन्योलग्रस्त बनाउँछ । बुझ्नुपर्ने यथार्थ के हो भने पुँजीवादी क्रान्तिपछि पनि जीवित रहेका राजसंस्थाहरू पुँजीवादी क्रान्तिभन्दा अघिको चरित्रका राजसंस्थाहरू होइनन् । पुँजीवादी क्रान्तिपछि सम्पूर्ण सत्ता पुँजीपति वर्गलाई सुम्पेर आफू छेउकुनामा पुँजीपति वर्गको हालहुकुम स्वीकार गरी एउटा पुँजीपतिकै रूपमा रहन स्वीकार गरी जीवित रहेका राजसंस्थाहरू हुन् । त्यसैले पुँजीवादी क्रान्तिपछिका राजतन्त्रहरू सक्रिय हुन् वा सेरेमोनियल— ती सबै सामन्तवादका सांस्कृतिक अवशेष र मूलतः पुँजीवादी संस्थाहरू नै हुन् । यसरी पुँजीवादी क्रान्तिअघि र पछिका राजतन्त्रका गुणमा आधारभूत फरक छ भन्ने बुझ्नु आवश्यक छ । राजतन्त्र भन्नेबित्तिकै सबै समयका एकै चरित्रका हुन् भनी बुझ्नु स्वतः गलत हुन जान्छ । पुँजीवादको मुटु हो नाफा, नाफाका निम्ति उत्पादन र व्यापार जरुरी हुन्छ ।

आ–आफ्नो मुलुकमा सत्ताधारी हुन पुगेका पुँजीपति वर्गले बढी नाफाका निम्ति व्यापक उत्पादन बढाउँदै लग्यो, सुरुका चरणमा आफ्नै मुलुकभित्रका पुँजीपतिबीच उत्पादन, व्यापार र नाफाको होड चल्यो । त्यतिबेलासम्म पुँजीवादी व्यवस्था प्रगतिशील चरित्रको रह्यो किनभने त्यसले सामन्तवादविरुद्ध लड्दै थियो । नाफाको अनन्त भोक अनि अति उत्पादनका कारण नयाँ बजार खोज्नु आवश्यक भयो । त्यसपछि पुँजीवादी राज्यहरू कच्चा पदार्थ र नयाँ बजार प्राप्तिका लागि अर्को कमजोर मुलुकलाई कब्जा गर्न निस्किए । त्यही कब्जा अभियान पुँजीवादी साम्राज्यवादको हो, उपनिवेशवाद हो भन्ने कुरा प्रस्टै छ । पुँजीवादी साम्राज्यवादले संसारका जुन–जुन कमजोर मुलुकलाई उपनिवेश बनाउन सुरु गरे, ती मुलुकका राजतन्त्रहरूले सुरुका चरणमा देशभक्तिपूर्ण अडान लिए, कैयौं वीरतापूर्ण संघर्ष पनि गरे । तर एकातिर राजतन्त्रहरू आफ्नो मुलुकका जनताका निम्ति अत्याचारी भएकाले उनीहरूको नेतृत्वमा लामो देशभक्तिपूर्ण संघर्ष सम्भव थिएन भने अर्कोतिर आफ्नो मुलुकको पुरानो सामन्तवादी वा कम विकसित अर्थतन्त्रमा उभिएर विकसित अर्थतन्त्रवाला साम्राज्यवादको प्रतिरोध सफल हुन सक्दैनथ्यो । यसरी कमजोर मुलुकका राजतन्त्रहरूका अगाडि गम्भीर संकट उत्पन्न भयो ।

कब्जा गर्न पुगेको साम्राज्यवादका अगाडि पनि विभिन्न मुलुकका सांस्कृतिक एवं प्रतिरोधी राष्ट्रिय विशेषताको सामना सजिलो विषय पक्कै थिएन । त्यस समस्यालाई टार्न आफ्नो नाफाको ध्येयमा मात्र केन्द्रित भई पुँजीवादी साम्राज्यवादले कमजोर मुलुकका शासकहरू र तिनले रक्षा गरिराखेको अत्याचारी सामाजिक संरचनाहरूसँग सुलह सम्झौता गर्ने नीति लिन पुग्यो । यहीँबाट पुँजीवादी व्यवस्थाले आफ्नो प्रगतिशील चरित्र गुमाउन थाल्यो । यो दौरान साम्राज्यवादले उत्पीडित मुलुकका राजतन्त्रहरूलाई आफ्नो दलाल संस्थामा रूपान्तरण गर्न सुरु गर्‍यो । दोस्रो विश्वयुद्धसम्म पुग्दा उत्पीडित मुलुकहरूका सबैजसो राजपत्रहरू या पतन भए, या त साम्राज्यवादको दलाल संस्थाका रूपमा जीवित रहन पुगे । उपनिवेशवाद हावी भएको समयमा साम्राज्यवादले स्थापना गरेका उत्पीडित मुलुकका गणतन्त्र पनि दलालका चरित्र थिए र राजतन्त्र पनि दलाल चरित्रमा रूपान्तरण भइसकेका थिए । त्यसैले गणतन्त्र भन्नेबित्तिकै सबै समयको एउटै हो भनी बुझ्नु गलत हुन जान्छ ।

पहिलो विश्वयुद्धपछि कम्युनिस्ट नेतृत्वमा सोभियत गणतन्त्र देखा पर्‍यो । त्यो साम्राज्यवादले जन्माइदिएको वा पुँजीवादी क्रान्तिले जन्माएको गणतन्त्रभन्दा आधारभूत रूपमै फरक थियो । त्यसै गरी दोस्रो विश्वयुद्धसँगै संसारका विभिन्न मुलुकमा कम्युनिस्ट नेतृत्वका जनवादी वा समाजवादी गणतन्त्रहरू उदाए, ती सबै पुँजीवादी साम्राज्यवादविरोधी र देशभक्त गणतन्त्रहरू थिए । दोस्रो विश्वयुद्धसँगै उपनिवेशवादलाई अन्त्य गर्दै भारत लगायतका देशमा पुँजीवादी गणतन्त्रहरू स्थापना भए । तर ती सयौं तरिकाले साम्राज्यवादसँग गाँसिएका हुनाले ती गणतन्त्रका मौलिक चरित्र थिएनन् । ती गणतन्त्रात्मक व्यवस्थाहरू न त सामन्तवादविरोधी थिए, न त पूरै देशभक्त चरित्रका । दोस्रो विश्वयुद्धपछि पुँजीवादी साम्राज्यवादले अप्रत्यक्ष रूपमा कमजोर मुलुकलाई उपनिवेश बनाउने नवउपनिवेशवादी नीति लियो । असीको दशकमा पुग्दा साम्राज्यवादले नवउदारवादको नीति आईएमएफ, विश्व बैंकजस्ता आर्थिक संगठनमार्फत कमजोर मुलुकहरूमाथि विश्वव्यापी रूपमा लाद्नु सुरु गर्‍यो । त्यसपछि भने कमजोर मुलुकका राजतन्त्रहरूमा बचेखुचेको देशभक्तिको अवशेष पनि चकनाचुर हुने सिलसिला सुरु भयो । नेपालको अन्त्य भएको राजतन्त्र देशभक्त थियो भन्ने विभ्रम थुप्रै मान्छेमा बाँकी छ तर यथार्थ त्यस्तो पटक्कै थिएन ।

देशभक्ति जहिले पनि आफ्नो मौलिक अर्थतन्त्रको रक्षा र प्रगतिसँग जोडिएको विषय हो, चाहे त्यो सामन्तकालीन होस् या आजको जमानाको । नेपालमा देशभक्तिलाई अर्थतन्त्रको प्रश्नबाट अलग्याएर केवल भूमि रक्षाको विषयमा सीमित पारिनाले पनि विभ्रमहरू जन्मिँदै आएका छन् । नेपालको राजतन्त्र जंगबहादुर हुँदै सन् १९५० को सन्धि र दिल्ली सम्झौतासम्म पुग्दा नै पहिले ब्रिटिस र पछि भारतीय पुँजीवादको दलाल संस्थामा रूपान्तरण भइसकेको थियो । पञ्चायतकालमा त्यो दलाल पुँजीपति वर्गको समेत प्रतिनिधि संस्था बनिसकेको थियो । सन् १९८५ मा पुग्दा त घोषित रूपमै आईएमएफद्वारा अघि सारिएको ‘संरचनागत समायोजन कार्यक्रम’ जस्तो साम्राज्यवादी लुट योजनामा सही गरेर ऋण थाप्न पुगेको हो । यसरी नेपालको राजतन्त्र अन्ततः सामन्तवादको सांस्कृतिक प्रतीक मात्र थियो र सारमा दलाल पुँजीवादी संस्था बनिसकेको थियो । त्यो संस्था फाल्नु जरुरी थियो किनभने त्यसले महिला, दलित, जनजाति, मधेशी लगायतका जनतामाथिका परम्परागत अत्याचारको निरन्तरताका निम्ति नेतृत्व गरिरहेको थियो । तर त्यसलाई फाल्नु नै स्वतः प्रगतिशील गणतन्त्र हुन सक्दैनथ्यो किनभने त्यो राजतन्त्र न त पुँजीवादी क्रान्तिताकाको जस्तो सामन्तवादको समूल प्रतीक थियो, न त आजको पुँजीवाद नै स्वतः प्रगतिशील हुन सक्थ्यो । यहीँनेर सबैभन्दा स्पष्टताको आवश्यकता छ ।

नेपालमा जुन बेलाबाट गणतन्त्रको संघर्ष सुरु भयो, त्यतिबेला राजतन्त्रले सामन्तवादी सामाजिक व्यवस्थाको प्रतिनिधित्व गर्थ्यो । त्यतिबेला गणतन्त्र स्थापना भएको भए त्यो गणतन्त्र प्रगतिशील पुँजीवादी व्यवस्थाका रूपमा स्थापित हुन सक्थ्यो । तर जुन समयमा आएर राजतन्त्रको अन्त्य भयो, त्यतिबेला राजतन्त्र स्वयम् दलाल पुँजीवादी भइसकेको थियो । त्यसैले गणतन्त्र भनेर मात्र पुग्दैनथ्यो बरु आजको गणतन्त्रले दलाल पुँजीवादी अर्थतन्त्रको अन्त्य र सामाजिक न्याय प्रत्याभूतिको मुद्दा बोक्न सक्नुपर्थ्यो । तब नै आजको आवश्यकताको वास्तविक गणतन्त्र हुन सक्थ्यो ।

राजनीतिक आन्दोलनले गणतन्त्रको नारा दियो, सामाजिक आर्थिक रूपान्तरणको पनि कुरा गर्‍यो । जनता पुँजीवादी क्रान्ति ताकाको जस्तै स्वतः प्रगतिशील हुने गणतन्त्र सम्झेर ढुक्क हुन पुगे तर आजको विश्वको गणतन्त्र स्वतः जनमैत्री भइहाल्दैनथ्यो किनभने मुख्य समस्या नेपाली समाजमा दलाल पुँजीवाद हुन पुगिसकेको थियो । गणतन्त्रपछि सत्तासीन हुन पुगेका संसद्वादी पार्टीहरूसँग दलाल पुँजीवादी व्यवस्थासँग लड्ने कुनै नीति नभएको मात्र होइन, त्योसँग आत्मसमर्पण गर्ने मति मात्र थियो । सामाजिक न्यायका मुद्दालाई पनि न्याय गर्ने हैसियत उनीहरूले देखाउन सकेनन् । आजको विश्वमा गणतन्त्र कुनै व्यवस्थाको स्वतः पर्याय होइन बरु गणतन्त्रात्मक अर्थव्यवस्था, राजनीति र संस्कृति कस्तो बनाउने भन्ने गुदी विषयमै नयाँ सोच आवश्यक भएको समय हो भन्ने यथार्थलाई आत्मसात् गर्ने ल्याकत संसद्वादी पार्टीहरूमा रहेन । वास्तवमा नेपालको आजको गणतन्त्र दलाल पुँजीवादी गणतन्त्र हो ।

पक्कै पनि राजतन्त्रभन्दा यो गणतन्त्र थोरै भए पनि प्रगतिशील छ किनभने परम्परागत उत्पीडितहरू त्यस साङ्लोबाट फुक्काफाल भएका छन् तर जनताको प्रगति भने यसबाट हुन सक्दैन किनकि यो गणतन्त्र दलाल पुँजीपति वर्गको कब्जामा छ । यही वैचारिक अन्तरविरोधलाई छिचोल्न नसक्दा जनतामा अन्योल उत्पन्न भएको छ भने संसद्वादी राजनीति दलाल पुँजीवादको प्यादा भएकाले त्यो क्रमशः निरंकुश हुँदै जान बाध्य छ । राष्ट्रपतिको सवारीको तानाशाही शैली वा स्थानीय तहसम्मका शासकहरूमा देखा परेको पिर्के सलामी प्रकारको शासकीय उच्चताको अभ्यास वास्तवमा असफल दलाल पुँजीवादी व्यवस्थाले निम्त्याउने अनिवार्य निरंकुश प्रवृत्ति हुन् । जनताको हितमा असफल व्यवस्था र सत्ताधारीहरूसँग आफू हुनुको अनुभूति जनतामा बलात् गराउन क्रमशः निरंकुश, तानाशाही र बडप्पनयुक्त रवैया जनतामाथि लाद्नुबाहेक अर्को विकल्प बाँकी रहन्न । आज देखा परिरहेको छोटे राजा प्रवृत्तिको स्रोत यही नै हो ।

प्रकाशित : असार १२, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्

परिवारको प्रगतिशीलकरण

मानिस अग्लो ढिस्कोबाट दहमा हामफाल्छ भने हामफालेकै तरिका र गतिमा दहबाट पुनः ढिस्कोमा फर्किन सक्दैन बरु ढिस्कोसम्म पुग्न नयाँ तरिका अपनाउनुपर्ने हुन्छ ।
आहुति

काठमाडौँ — मानव समाजमा जस्तो प्रकारको परिवारको ढाँचा छ, यस्तो ढाँचाको परिवार अन्य जीवजगत्मा पाइँदैन । संस्कृति विषयका एक थरी अध्येताहरू यस्तो ढाँचाको परिवार मानव समाजमा बन्नुको कारण मानिस सांस्कृतिक प्राणी भएकाले हो भन्ने व्याख्यासम्म मात्रै सीमित रहन चाहन्छन् ।

उनीहरू यस्तो ढाँचाको परिवार अस्तित्वमा आइनसकेको समयलाई उधिन्नतिर रुचि राख्दैनन् । कुनै पनि सामाजिक व्यवस्थाको जग आर्थिक प्रणाली हो । आर्थिक प्रणालीको सबैभन्दा मुख्य सरोकारचाहिँ उत्पादन र वितरण हो । आर्थिक प्रणाली नै सामाजिक व्यवस्थाको जग हो भन्ने अवधारणामा आधारित भएर इतिहास र समाजको व्याख्या गर्नेहरूले चाहिँ मानव समाजका फरक–फरक युग वा सामाजिक व्यवस्थामा देखा परेका परिवारका ढाँचाहरूलाई सम्बन्धित समयको आर्थिक प्रणालीको परिणामका रूपमा संश्लेषण गर्दछन् ।

आजभन्दा करिब आठ हजार वर्षपहिले निजी परिवार कुनै पनि मानव झुन्डमा थिएन । मानव झुन्डहरू सामूहिक जीवनमा थिए किनभने निजी सम्पत्तिको जन्म भइसकेको थिएन । निजी सम्पत्तिको जन्मसँगै निजी दाम्पत्य सम्बन्ध जन्मियो । त्यति बेलाको निजी सम्पत्ति पुरुषको कब्जामा पर्न गएकाले यो निजी दाम्पत्य सम्बन्ध पुरुषका निम्ति हुकुम र महिलाका निम्ति दासत्वको सुरुआत थियो । निजी दाम्पत्य सम्बन्धले नै निजी बच्चाहरू अनि निजी बाबुसहितको निजी आर्थिक दायित्वमा आधारित निजी परिवार विकसित हुन पुग्यो । यसरी निजी सम्पत्तिको आर्थिक जगमा निजी परिवारको आविष्कार हुन पुगेसँगै त्यस परिवारको ढाँचालाई निरन्तरता दिने संस्कृति पनि झाँगिँदै जाने नै भयो । यो परिवारको ढाँचाको आधारभूत विशेषता मुख्यतः तीनवटा छन् । एक, पुरुष शासक । दुई, महिला दास । र तीन, बालबालिका र वृद्धहरू उत्पीडित । नारी अधिकारका अध्येताहरूले परिवारको यस्तो ढाँचालाई पितृसत्तावादीका रूपमा व्याख्या गर्दछन् । यो व्याख्या सही त हुँदै हो तर परिवारको यो ढाँचा बाल र वृद्धमाथि उत्पीडनकारीसमेत भएको यथार्थलाई सधैं जोड्न चुक्नु भने सही हुँदैन ।

निजी सम्पत्तिको मालिक पुरुष हुनु र त्यस स्वामित्व सम्बन्धलाई दीर्घजीवी बनाउन तमाम सांस्कृतिक मान्यताहरू विकसित गरिनुले त्यस्तो परिवार पितृसत्तावादी बन्दै गयो र महिलाको जीवन दासत्वपूर्ण रहँदै आयो । पितृसत्तावादी पुरुषले आफ्नो सम्पत्ति आफ्नो पुरुष सन्तानकै बनोस् र महिला सन्तान दासत्वपूर्ण जीवनमै रहोस् भन्ने चाहने हुनाले बच्चाहरूलाई आफ्नो सोच अनुसारकै साँचोमा ढाल्न सुरुदेखि माया वा डरमा आधारित दमन बच्चाहरूमाथि गर्नु अनिवार्य भयो । त्यसै गरी सम्पत्ति आर्जन र सुरक्षाका निम्ति उमेरका कारण नालायक बन्न पुग्ने वृद्धहरू पनि स्वतः उपेक्षा र उत्पीडनको चक्रमा फस्दै जाने सिलसिला चल्दै आयो । करिब आठ हजार वर्षभन्दा अघि सामूहिक सम्पत्ति र सामूहिक जीवनपद्धतिको समाज भत्किएर निजी सम्पत्तिमा आधारित सामाजिक व्यवस्था सुरु भएदेखि यस प्रकारको निजी परिवार हुँदै आएको पाइन्छ । दास–मालिक युग, सामन्तवादी युग र आजको पुँजीवादी युगका परिवारहरूमा कैयौं प्रकार र विशेषताहरूमा फेरबदलहरू पाइन्छन् तर पितृसत्तावादी, महिलाको दासत्व र बाल–वृद्धमाथिको उत्पीडनजस्ता मुख्य विशेषता भने आज पनि आधारभूत रूपमा जारी नै छन् । विगतका अन्य सामाजिक व्यवस्थाका तुलनामा पुँजीवादी व्यवस्थाले महिला, बाल र वृद्धहरूका निम्ति कैयन राहतकारी व्यवस्थाहरू लिएर आएको भए पनि मूल समस्याहरू भने समाधान गर्न नसकेको यथार्थ छर्लंगै छ ।

आजको सामाजिक व्यवस्थाको सबैभन्दा सानो र आधारभूत संगठन परिवार हो । यसर्थ आजको राज्य वा अन्य तमाम सामाजिक अंगहरूको खराब पक्षको आधारभूत उत्पादनसँग परिवारको सीधा हिस्सेदारी छ । हरेक सामाजिक व्यवस्था परिवर्तन हुनका लागि परिवारको दृष्टिकोण परिवर्तन हुन थाल्नुपर्ने हुन्छ र नयाँ सामाजिक व्यवस्थाले परिवारको ढाँचामा पनि पूरै फेरबदल अनिवार्य रूपमा ल्याउँछ । दास युगलाई विस्थापित गरी सामन्तवादी सामाजिक व्यवस्था आएपछि दासहरू भूदास किसानका रूपमा निजी परिवारमा संगठित हुन पाए भने दास मालिकहरूको वर्ग पनि छुट्टाछुट्टै सामन्त परिवारमा विभक्त हुन पुग्यो । त्यो सामन्तवादी नयाँ सामाजिक व्यवस्थाले ल्याएको नयाँ परिवारको ढाँचा थियो । सामन्तवादी युगमा सामन्त, भूदास किसान र स्वतन्त्र किसानका परिवारहरू संयुक्त र ठूला हुन्थे किनभने त्यति बेला नाफाको अवधारणा जन्मिएकै थिएन, उपभोगको अवधारणा मात्र थियो । उत्पादनमा सबै लाग्नुपर्ने तर उपभोगचाहिँ पुरुष र सामन्त वर्गले बढी गर्न पाउने त्यो व्यवस्थामा परिवार संयुक्त र ठूलो हुनु अनिवार्य थियो किनकि उत्पादनमा परिवारका सबै सदस्य लाग्नैपर्ने हुन्थ्यो ।

पुँजीवादी सामाजिक व्यवस्था जब अस्तित्वमा आयो, त्यसपछि भने नाफाको अवधारणा प्रमुख भएर उपस्थित भयो । नाफाका निम्ति उत्पादन यसभन्दा अगाडि कहिल्यै गरिएको थिएन । पुँजीवादी सामाजिक व्यवस्थामा निजी सम्पत्ति, निजी उत्पादन र उपभोग सबै प्रक्रिया नाफाको अवधारणावरिपरि घुम्न थाले । पुँजीपतिका निम्ति तब नै नाफा बढी हुने भयो, जब सामान बढी बिक्थ्यो । सामान बढी बिक्नका निम्ति ठूला परिवारहरू टुक्रिनै पर्दथ्यो । उदाहरणका निम्ति, संयुक्त परिवारले एउटा टीभीबाट काम चलाउदा त टीभी धेरै नबिक्ने भयो । यदि हरेक दम्पतीका छुट्टाछुट्टै परिवार बने भने प्रत्येक परिवारका निम्ति छुट्टाछुट्टै टीभी बेच्न पाइने भयो । नाफाको पुँजीवादी सामाजिक व्यवस्थाको स्वार्थले गर्दा पुँजीवादी व्यवस्थामा परिवारहरू थोरै संख्याका हुँदै आज सूक्ष्म परिवारसम्म पुगिसकेका छन् । निजी सम्पत्तिको उदयभन्दा अगाडि मानिसको व्यक्तित्व थियो तर व्यक्तिवादको अवधारणा थिएन । तर, निजी सम्पत्तिको उदयसँगै व्यक्तित्व क्रमशः व्यक्तिवादमा रूपान्तरण सुरु भयो । पुँजीवादी सामाजिक व्यवस्थाले त व्यक्तित्व निरीह बनाइदियो बरु व्यक्तिवादलाई एकछत्र संस्कृति बनायो । किनभने व्यक्तिले निजी सम्पत्ति आर्जन र त्यसमार्फत शासन गर्न सकिने सबैभन्दा उन्नत रूप पुँजीवादले अंगीकार गर्‍यो ।

यस प्रकार के प्रस्ट हुन्छ भने, खास प्रकारको आर्थिक प्रणालीमा आधारित सामाजिक व्यवस्थाले परिवारको पनि खास ढाँचा जन्माएको हो । धर्मशास्त्र वा साहित्यमा लेखिएका पवित्र परिवारका व्याख्यानहरू शाश्वत वा सनातन होइनन् बरु मूलतः काल्पनिक हुन् । अब आजको ढाँचा र मान्यताको परिवार विघटन गर्नु अनिवार्य छ किनभने यो महिला र बाल–वृद्धका निम्ति उत्पीडनकारी छ । तर यस्तो कल्पना धेरैका लागि अकल्पनीय रूपमा कष्टकर लाग्ने अवस्था छ । यस्तो लाग्नु स्वाभाविक छ किनकि निजी परिवारबिना त आज मानिसले बिरामी हुँदा पानी पिउन पाउने अवस्थासम्म छैन । कुनै पनि चालु खराब सामाजिक संगठन वा प्रचलनको अन्त्यको कुरा गर्दा आजको भन्दा पनि खराब अवस्थामा पुगिन्छ कि भन्ने आकलनले त्यस्तो मनोदशा उत्पन्न हुने हो । आजको परिवारको विघटनको कुरा अहिलेको भन्दा स्वतन्त्रता, समानता र व्यक्तित्व विकासका निम्ति प्रचुर अवसर भएको नयाँ परिवार बन्न सक्ने भविष्यको मार्गचित्रद्वारा प्रशिक्षण सुरु गर्दा त्यस्तो आतंकित हुने मनोदशा पनि रूपान्तरित हुँदै जाने सन्दर्भ सजिलै बुझ्न सकिन्छ ।

नेपाली समाजका परिवारहरू मूल रूपमा पितृसत्तावादको जगमा उभिएका छन् । प्रत्येक परिवारमा धेरै वा थोरै दासत्वमा महिलाहरू छन् । सबैजसो प्रतिबन्धात्मक पारिवारिक नियमहरू महिलामाथि थोपरिएका छन् । छोराछोरीले बाबुसम्म कुरा पुर्‍याउन आमामार्फत याचना गर्नुपर्ने अवस्था छ । श्रीमतीले श्रीमान्सँग आफ्ना मौलिक मतहरू समर्पणमा घोलेर, गुनासोमा पोको पारेर या सुँकसुँकाएर व्यक्त गर्नुपर्छ । बुहारीहरूको हालत त झन् चौपट छँदै छ । कमाइबाट कट्दै गएका वृद्धहरूमा असुरक्षाको आतंक बढ्दै जान्छ । बच्चाहरूलाई आज पनि आम रूपमा पिटिन्छ । हप्काएर, अत्याएर उनीहरूका हजारौं जिज्ञासा र बालापनलाई पिसिन्छ । परिवारको शासक बनेको पुरुष आफ्ना व्यक्तिगत अप्ठ्याराहरू कसैलाई भन्नै नसक्ने एक्लो, नीरस, कठोर प्राणीमा फेरिँदै जान्छ । सबैकी प्यारी भनिएकी छोरी परिवारलाई भन्न नसकी प्रेमीसँग भाग्नुपर्ने मनोदशामा पुग्न बाध्य हुन्छे । खराब लतमा डुब्न पुगेको छोरो आमाबाउलाई त्यसबारे बताउन चाहन्न । आज त झन् क्रमशः श्रीमान् र श्रीमती एकअर्काका मोबाइलसँग तर्सिने जमाना सुरु भएको छ । एउटै खाटमा सँगै पल्टिएर पनि उनीहरू एकअर्काप्रतिको आशंकामाथि निर्धक्क प्रश्न–उत्तर गर्न असमर्थ छन् । यसरी एउटै छतमुनिको परिवारका सदस्यहरू मनमनै एकान्तमा सोच्दै बाँच्न बाध्य छन् कि ‘मलाई बुझ्ने कोही छैन !’ यही हैन त हाम्रो परिवारको आधारभूत चित्र ? पक्कै पनि शिक्षा र चेतनामा आएको थोरै परिवर्तनले मध्यमवर्गीय परिवारका बच्चाहरूले केही राहत महसुस गर्ने वातावरण बनेकै छ तर आधारभूत खराब व्यवहार त्यो वर्गमा पनि बदलिन सकेको छैन ।

प्रत्येक परिवार यस्तो हालतबाट गुज्रिनुको कारण स्पष्ट छ— हाम्रो परिवार निरंकुशतामा टिकेको छ, सामन्तवादी संस्कृतिमा चुर्लुम्मै डुबेर चलेको छ । सारमा भन्दा, परिवारमा लोकतन्त्र नै छैन । यस्तो हालतबाट परिवारलाई प्रगतिशीलकरण गर्ने विषय पक्कै पनि सजिलो छैन । मानिसले चाहेर होस् वा नचाहेर, एउटा निश्चित भौतिक संरचना वा परिस्थिति निर्माण गरिसकेपछि यस परिस्थितिबाट चाहनेबित्तिकै बाहिर निस्कन सम्भव हुँदैन बरु त्यस परिस्थितिबाट बाहिर निस्कन अर्को नयाँ प्रक्रिया सुरुदेखि थालनी गर्नुपर्ने हुन्छ । मानिस अग्लो ढिस्कोबाट दहमा हामफाल्छ भने हामफालेकै तरिका र गतिमा दहबाट पुनः ढिस्कोमा फर्किन सक्दैन बरू ढिस्कोसम्म पुग्न नयाँ तरिका अपनाउनुपर्ने हुन्छ । आजको निजी परिवार गलत छ भन्दैमा यस परिवारको ढाँचा र संस्कृतिलाई चाहनेबित्तिकै बदलेर नयाँ प्रगतिशील परिवार निर्माण गर्न सकिँदैन, जसरी एउटा खराब राजनीतिक व्यवस्थालाई चिन्नेबित्तिकै भत्काएर नयाँ बनाउन सकिँदैन, यसका लागि निश्चित विचारधारा, संगठन र आन्दोलनको सिलसिलाबद्ध प्रक्रिया जरुरी हुन्छ । आजको परिवारको स्थानमा नयाँ प्रगतिशील परिवार निर्माणका सन्दर्भमा पनि यही नियम लागू हुने कुरा प्रस्ट छ । अर्को के विषयमा पनि स्पष्टता आवश्यक छ भने, परिवारलाई प्रगतिशील बनाउने अभियान यदि यस्तो परिवारको पुनरुत्पादन गरिरहने पुँजीवादी व्यवस्था नै बदल्ने आन्दोलनसँग जोडिँदैन भने त्यसले बढीमा सुधारको काम मात्र गर्न सक्नेछ ।

नेपालको लामो राजनीतिक आन्दोलनमा लोकतन्त्र र समाजवादी क्रान्ति गर्ने अनि व्यवस्था बनाउने लक्ष्य चल्दै आयो, जुन आज पनि जारी छ । लोकतान्त्रिक वा समाजवादी संस्कृतिका खाकाहरू पनि प्रशस्त मात्रामा कोरिँदै आए । समग्र देशमा लोकतन्त्र वा समाजवाद स्थापना गरेर सिंगै समाजलाई बदल्ने लक्ष्य र आन्दोलन सही नै हो तर खराब व्यवस्थाको प्राथमिक एकाइका रूपमा रहेको परिवारलाई लोकतान्त्रिक वा समाजवादी बनाउँदै लैजाने कार्ययोजना र दिशा भने कहिले पनि अगाडि सारिएन । फलतः राजनीतिक व्यवस्थामा सुधारहरू हुँदा पनि परिवारहरू पुरानै परिपाटीका रहिरहे जसको कारणले नयाँजस्ता लाग्ने तर पुरानै गुदी बोकेका नागरिकहरूको उत्पादन पनि चलिरह्यो । यो निकै टीठलाग्दो प्रसंग र शिक्षा हो । प्रगतिशील दार्शनिक राजनीतिक चेतना र आन्दोलनको लक्ष्यसँग गाँसेर परिवारलाई पनि क्रमशः बदल्दै जाने नीति र व्यवहार नहुनाले नेपालको इतिहासमा धुरन्धर देशभक्त र क्रान्तिकारीका रूपमा स्थापित व्यक्तित्वहरूका हूलका हूल छोराछोरी अमेरिका–युरोप भासिने विडम्बना देखा परेको छ । नेपालको आर्थिक दुर्दशा, सत्ताधारी राजनीतिक व्यवस्थाको फोहोरीपना र सामाजिक अव्यवस्थाले नेपालका युवाहरूलाई डीभी भर्ने प्रवृत्तितिर प्रेरित गरिरहेछ, यो कुरा सत्य हो । तर सही र गलतबारे परिवारमा लोकतान्त्रिक वातावरणमा व्यापक छलफल हुने वातावरण नै नहुनुले यो प्रवृत्ति मौलाउन ऊर्जाको काम गरेको यथार्थप्रति आँखा चिम्लिन पटक्कै मिल्दैन । तसर्थ, अब समाजवादी क्रान्तिकारीहरू र सचेत नागरिकहरूले समाजवादी क्रान्तिको अभिन्न अंगका रूपमा परिवारको प्रगतिशीलकरणको प्रक्रिया योजनाबद्ध रूपमा सुरु गर्नैपर्दछ । आजको परिवारलाई प्रगतिशील र समाजवादी परिवारमा रूपान्तरण गर्न कहाँबाट सुरु गर्ने भन्ने प्रश्न महत्त्वपूर्ण छ । संस्कार र संस्कृतिको रूप लिइसकेका खराब संरचना, प्रचलन र व्यवहारहरू प्रायः अनौपचारिक रूपमा क्रियाशील भइरहेका हुन्छन् । हाम्रो परिवार जुन ढाँचामा चलिरहेछ, त्यो पनि बिलकुल अनौपचारिक रूपमा जारी छ । अनौपचारिक रूपमा क्रियाशील शक्तिशाली खराबसँग लड्नका निम्ति औपचारिक संस्था वा संरचनाको उदय अनिवार्य हुन्छ ।

आजको परिवारलाई प्रगतिशीलकरण गर्दै अघि बढ्न सबैभन्दा पहिले परिवारमा लोकतन्त्र स्थापना गर्नु आवश्यक छ । परिवारका प्रत्येक वयस्क सदस्यले परिवारका साझा सरोकारका विषयमा अकण्टक रूपमा मत राख्न पाउने, निर्णयमा भाग लिन पाउने र आफ्नो व्यक्तिगत विषयमा स्वतन्त्र निर्णय गर्न सक्ने वातावरणको ग्यारेन्टी नै परिवारमा लोकतन्त्रको स्थापना हो । यस प्रकारको न्यूनतम लोकतन्त्र स्थापना नगरी समाजवादी परिवार निर्माणतिर एक पाइला बढ्न पनि सम्भव छैन । लोकतन्त्र स्थापना गर्ने हो भने परिवारमा एउटा औपचारिक विधिसहितको संगठन जन्माउनैपर्दछ । त्यो संगठन हुन सक्छ— प्रत्यक्ष लोकतन्त्रमा आधारित पारिवारिक बैठक ! त्यस्तो बैठक हरेक महिना वा बढीमा तीन महिनामा एक पटक गर्न सकिन्छ । यो बैठकमा परिवारका सबै वयस्क सदस्यको अधिकार बराबर हुनुपर्छ, नाबालिगहरू पनि रुचि अनुसार सहभागी हुन सक्छन् । त्यस्तो बैठक निर्णयपुस्तिकासहित औपचारिक रूपमा गर्नुपर्ने हुन्छ ।

बैठकका सहभागीहरूले प्रत्येकको आलोचना गर्न पाउनुपर्छ । प्रत्येकले प्रश्नको जवाफ दिनुपर्छ । बैठकको संयोजन महिला र पुरुष सदस्यले पालैपालो गर्न सक्दछन् तर महिला सदस्यलाई कुनै पनि बेला बैठक बोलाउन पाउने विशेष अधिकारको व्यवस्था गरिनुपर्दछ किनकि परिवारमा मुख्य पीडित महिलाहरू हुँदै आएका हुन् । पक्कै पनि परिवारमा लोकतन्त्रको अभ्यास गर्ने यो प्रणाली लागू गर्न सजिलो छैन तर अन्ततः यो लक्ष्य हासिल गर्नैपर्दछ । कतिपय व्यक्तित्वहरूले यदाकदा यो अभ्यास गरेको पाइएको छ र त्यहाँ परिणाम धेरै नै उत्साहजनक छ ।

प्रकाशित : जेष्ठ १, २०७९ ०७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×