कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

त्यो विसंगत काठमाडौं

बालेन्द्र साहले पाएका मतमा अभिव्यक्त आकांक्षा र ती आकांक्षा निर्माण गर्ने काठमाडौंको आमवृत्तको जटिल प्रकृति बुझ्न भने चुनावी हल्लाखल्ला थिग्रिएपछि गहिरो गरी सोच्न र विमर्श गर्न जरुरी छ ।
उज्ज्वल प्रसाई

काठमान्डु इज एन अब्सर्ड सिटी ।’ यो काठमाडौंका रैथाने विद्वान् कमलप्रकाश मल्लको गहकिलो मानिने निबन्ध ‘काठमान्डु योर काठमान्डु’ को पहिलो वाक्य हो । काठमाडौं कसरी एउटा विसंगत सहर हो ? सन् १९६७ मा रचित निबन्धले यही प्रश्नको जवाफ खोज्छ ।

त्यो विसंगत काठमाडौं

मनोरम प्रकृतिको आलिंगनमा धमाधम फैलिरहेको ‘असुन्दर’ मानवबस्तीलाई उनले भौतिक विसंगति भने । चोकचोकमा उभिएका राणाका दरबारमा सवार अंग्रेज छायालाई संकेत गर्दै उनले भने- ती प्रत्येक संरचना मौलिक चरित्र नभएका संग्रहालय हुन् । ‘मेटाफिजिकल’ विसंगतिको उत्तिकै रोचक वर्णन छ निबन्धमा ।

मल्लको काठमाडौं कति फेरियो र कति उस्तै छ, लेखाजोखा गरिदिन उनी हाम्रामाझ छैनन् । यस घडी सोही निबन्ध अद्यावधिक गर्न पाउँथे भने, उनको पहिलो वाक्य त्यही रहन्थ्यो वा अर्कै हुन्थ्यो ? विसंगत चित्रको रङ अझ गाढा हुन्थ्यो वा पातलिन्थ्यो ?

मधेश र मधेशीप्रति कहिल्यै न्यानोपन नदेखाउने, बरु बेला–कुबेला क्षुब्धता व्यक्त गर्ने मल्लका लागि यही सहरमा हुर्केको मधेशी ठिटो बालेन्द्र साह काठमाडौंको मेयर बन्ने दौडमा अघिअघि कुदिरहेको खबर सुन्नलायक नहुन सक्थ्यो । सहरको विकासका नाममा पछिल्ला वर्ष चलेका असंख्य डोजरले मिचेका घरबस्ती र मठमन्दिर, नेवाः पहिचानका अनेक स्थापत्यमाथि भएका खेलबाड, संरक्षण गर्नुपर्ने पोखरी र खुला चौरलाई मुद्दा बनाएर नगरप्रमुखको उम्मेदवारी दिएका नेवार युवा सुमन सायमीले पाएको अति निम्छरो समर्थनबारे मल्लका प्रतिक्रिया कस्ता हुन्थे ? साहले आर्जन गरेको समर्थन र सायमीले कमाउन नसकेको मत हिजोकै विसंगतिको निरन्तरता हो वा अर्कै केही ?

‘काठमान्डु योर काठमान्डु’ प्रकाशित भएको पाँच दशकपछि देखिएका यस सहरका विसंगत (वा, कसैका लागि संगतिपूर्ण ?) चरित्रमाथि चिन्तन गर्न सजिलो छैन । सम्भवतः मल्लले जत्तिकै काठमाडौं बुझेको, र साथै पछिल्ला पाँच दशकमा सिंगो नेपालमा आएका अनेक परिवर्तनका गुजुल्टा पहिल्याउन सक्ने सामर्थ्य भएको प्रतिभासम्पन्न विद्वान्ले मात्र सन् २०२२ सुहाउँदो ‘काठमान्डु योर काठमान्डु’ लेख्न सक्नेछ । त्यस्तो विद्वान् जसले पहिल्याउन सकोस् संवैधानिक सामर्थ्य र सीमा, नेपाली लोकतन्त्रका गाह्रा–साँघुरा, पहिचानको आकांक्षा र व्याकुलता, जात व्यवस्थाका सहरिया रूप, दलतन्त्रको गहिरो दलदल, आमवृत्तमा चलिरहेको नयाँ बतास, र साथै बुझोस् दाह्री, कोट र चस्मासमेतको ‘तरक्की’ ।

दर्जनौं व्यक्तिगत सीमाका कारण काठमाडौंबारे यति गहकिलो विश्लेषण मबाट सम्भव छैन । बरु स्थानीय निर्वाचनको मतपरिणामले सतहमा ल्याएका केही खुद्रा–मसिना प्रश्नको आलोकमा काठमाडौंबारे गफ गर्नु नै मनासिब हुन्छ ।

सबैको जस्तै मेरो पनि आशा छ, काठमाडौं राम्रो नगर बनोस् । राम्रो काठमाडौंको सर्वमान्य परिभाषा भने हुन सक्दैन । अहिले मोटर चढिरहेका (केही महिना वा वर्षमा मोटर चढ्ने सपना भएका) र निजी मोटरको सपना देख्नै नसक्नेका लागि राम्रो काठमाडौंका फरक परिभाषा छन् । दुई–चार बित्ता जमिन खरिद गरिसकेका (वा, निकट भविष्यमा त्यति जमिन जोहो गर्न लागिपरेका) र पहिल्यै मनग्गे जमिन भएका मान्छेका परिभाषा फरक हुन्छन् । हरिया पर्दावाले खाजाघर नमासिएको काठमाडौं हेर्न चाहने र नयाँनयाँ सपिङ मल फैलिएकामा दंग पर्नेहरूका जपना अलग छन् ।

नयाँ पुस्ता भनिने युवाको उल्लेख्य समूहका लागि काठमाडौं मूलतः उपभोगको सहर हो । घरबाहिर निस्केर घुम्दाडुल्दा फोहोर देख्नु नपरोस्, सेल्फी खिच्दा पिठ्युँतिर रमाइला दृश्य देखिऊन्, खरिद गर्ने पैसा हात लागी होस् र खरिद गर्ने वस्तुको सहज उपलब्धता होस् ! मोमोदेखि एमबीएको रंगीन डिग्रीसम्म, युवल नोआ हरारीको नयाँ सूत्रदेखि विद्युतीय कारसम्म, गियर बदल्न पाइने साइकलदेखि पसिना बगाउने हाइकसम्म, समाजसेवाका रमाइला अभियानदेखि कर्पोरेटका घुम्ने कुर्सीसम्म, दलको सदस्यतादेखि दलविरोधी र्‍यापसम्म - यी सबै उपभोग्य वस्तु हुन् । उपभोगको धुरीमा पुग्ने बाटाहरू सुगम बनाइदिने संयन्त्रको उपस्थिति उनीहरूको स्वाभाविक चाहना हो ।

सानै संख्यामा किन नहोस्, त्यस्ता युवा पनि यही सहरमा छन्, जसले सहरलाई उपभोगको स्वर्गभन्दा अलि फराकिलो अर्थमा बुझ्ने कोसिस गर्छ । विभेदका पर्खाल ढाल्ने ऊर्जा यहीँ आएर संकलन गर्छ, बोल्न र लेख्न यतै सिक्छ, आफ्नो सामर्थ्यको सीमाभित्र न्याय र समताको खोजी यहीँ बसेर गर्छ ।

त्यसो त राम्रो काठमाडौं बनाउनु भनेको पुरानो काठमाडौं ब्युँताउनु हो भनेर बुझ्नेहरू पनि छन् । त्यस्तो काठमाडौं जहाँ पुरानै शैलीका चोक र डबली होऊन्, जात्रा र भोज होऊन्, पुरानै शंख र घण्ट बजून् । त्यो असल मानिएको पुरानोमा व्याप्त अन्यायी मानव सम्बन्धको जालो र समताद्वेषी संस्कारको जडता साथै ब्युँताउन चाहनेहरू पनि छन् । सम्पदा र संस्कृतिका नाममा, भाषा र मौलिकताको बहानामा, जाति र पहिचानका मोहमा आफूबाहेक अरू सबैलाई परचक्री ठान्ने ढिपी पनि उत्तिकै छ । नेवाः राष्ट्रवादको छिँडी साँघुरै रहोस् र त्यहाँ समताको न्यानो नफैलियोस् भनेर कल्पनेहरू पनि छँदै छन् ।

सपना र परिभाषाका वैविध्य एकातिर छन्, बँचाइका पेचिला कोपर्‍याइँ अर्कातिर । काठमाडौंमा पिउने शुद्ध पानी सहज पहुँचमा छैन । खोलो र नहर एउटै सद्दे छैन । स्वच्छ हावाका लागि अतिरिक्त पैसा कमाउनुपर्ने बाध्यता बढ्दै छ । पैदल हिँड्न चाहनेका लागि सुरक्षित बाटा छैनन् । आम मान्छेलाई काममा जान र घर फर्कन चाहिने सार्वजनिक सवारी सहज र भरपर्दा छैनन् । निजी सवारीको बाध्यता सृजना गर्ने दर्जनौं कारण छन् । शौचका लागि सहज र सुलभ व्यवस्था छैन । खेल मैदानमा पैसा लाग्ने ठूला गेटहरू धमाधम खडा हुँदै छन् । स्वस्थ रहन हदै हम्मे पर्दै छ, बिरामी परेकाले उपचार सस्तोमा पाउने सम्भावना दिन–प्रतिदिन क्षीण हुँदै छ । शिक्षाका पसल हजारौं छन्, गतिलो पढ्न पाउने ठाउँको अल्पता उति नै निसासलाग्दो छ ।

यी सबै यथार्थबीच स्थानीय निर्वाचन भएको छ । मत परिणामलाई बुझ्ने, अर्थ्याउने र भविष्य आकलन गर्ने कामलाई पनि यिनै यथार्थले आकार दिएका छन् । व्यावसायिक मिडिया र विद्युतीय सञ्जालमा प्रभावी देखिएको मतमा यथार्थका यी भिन्न आयाम गुजुल्टिएर आएका हुन् । यिनै यथार्थको छेउकुना कतै बसेर राम्रो काठमाडौंको सम्यक् परिभाषा बनाउन कति सम्भव छ ?

मौलिक पहिचान नमासिएको तर विविधता निषेध नगरिएको, विहार र जात्रा चालु रहने तर समतामूलक, आधारभूत सुविधा सबैको पहुँचमा भएको तर प्रदूषणरहित, स्थानीयता मजबुत रहेको तर आमवृत्त विविध एवं फराकिलो भएको, समग्रमा पूर्णतया लोकतान्त्रिक ! नगरको यस्तो सम्यक् परिभाषा कोरा आदर्श मात्रै हुन्छ वा यथार्थमा बदलिने कार्यक्रम पनि बन्न सक्छ ? यस्तो सम्भव छ भने, काठमाडौंका लागि ‘भिजन’ भन्नु यस्तै केही हुँदो हो ।

यसका लागि काठमाडौं सहरको मानवीय सम्बन्धका जटिलता, मानव–प्रकृति सम्बन्धका पत्रहरू, र यी सबैसँग गुजुल्टो पर्न आइपुग्ने अर्थ–राजनीति पहिल्याउन आवश्यक छ । त्यसैले भन्न जति सहज छ, यथार्थको अपेक्षित रूपान्तरण त्यति नै दुरूह । विद्यालयमा नेपाल भाषा लागू गर्ने एउटा निर्णय कसरी विवादको भुमरीमा फस्यो, त्यति सम्झिए जटिलताको अन्दाज गर्न सकिन्छ । दलितले घर भाडामा माग्न जाँदा उत्पन्न भएको विवादमा नेवाः राष्ट्रवादको पारो बढेको सम्झौं, विभेदरहित काठमाडौं बनाउने प्रयत्न उस्तै गाह्रो देखिन्छ । फोहोर नउठेकामा देखिएको आक्रोश सतह मात्रै हो । सतह उधिन्दा देखिने यथार्थबारे सिंगो किताब लेख्न सकिन्छ ।

जारी हल्लाखल्ला मात्र हेरेर पनि यति भन्न भने सकिन्छ- काठमाडौंको शासन सञ्चालन गर्न आउने चाहने स्थानीय सरकारका जनप्रतिनिधि होऊन् वा निजामती कर्मचारी, संघीय सरकारका मुखिया होऊन् वा प्रादेशिक रखवाला, यी सबैले कमलप्रकाश मल्लको मर्म बुझ्नुपर्छ र बुझ्नुपर्छ उनकै चिन्तनको विसंगति पनि । साथै बुझ्नुपर्छ, हार बेहोर्दै गरेका सुमन सायमीका मुद्दा र उनले नजित्नुका कारणहरू पनि । अहिले त न सायमीका मुद्दा विमर्शका विषय भए, न ती मुद्दाका सीमाबारे छलफल । केशव स्थापितका दुःखहरू तै बरु सहजै बुझिने नै छन् । बालेन्द्र साहले पाएका मतमा अभिव्यक्त आकांक्षा र ती आकांक्षा निर्माण गर्ने काठमाडौंको आमवृत्तको जटिल प्रकृति बुझ्न भने चुनावी हल्लाखल्ला थिग्रिएपछि गहिरो गरी सोच्न र विमर्श गर्न जरुरी छ ।

मत परिणामले क्षुब्ध भएका वा अतिरिक्त हर्षित भएका दुवैको अभिमत सुन्दा उनै मल्लले देखाएको विसंगत काठमाडौंको सम्झना हुने रहेछ । ‘काठमाडौंको हिन्दु पत्रकारिता र देशका समृद्ध, रैथाने र विविध लोक परम्पराबीचको फरक भनेको गाउँले यथार्थ र सहरिया झिलिमिलीबीचको शास्त्रीय फरक मात्रै होइन, बरु शब्दाडम्बर र यथार्थबीचको घातक असंगति पनि हो ।’

प्रकाशित : जेष्ठ ६, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?