अनलाइन शिक्षामा कस्ता शिक्षक अब्बल हुन्छन् ?- विचार - कान्तिपुर समाचार

अनलाइन शिक्षामा कस्ता शिक्षक अब्बल हुन्छन् ?

ज्ञान प्रदान गर्ने पहिलो पक्ष र ज्ञान ग्रहण गर्ने दोस्रो पक्ष अन्तरक्रियात्मक रूपमा पठनपाठनमा सरिक हुनुपर्छ ।
इन्द्रबहादुर कार्की, सुशील पौडेल

शिक्षकको भूमिका तथा उत्तरदायित्व समाज तथा राष्ट्रमा निकै महत्त्वपूर्ण हुने गर्छ । आफ्ना विद्यार्थीहरूमा सृजनात्मकता, आत्मनिर्भरता, जिज्ञासा, नैतिकता तथा ज्ञानको आनन्द जगाउनु नै शिक्षकको मूल दायित्व हुन्छ । शिक्षकसँग विद्यार्थी, समाज र राष्ट्रले सधैं आशा, आदर्श, विश्वासको अपेक्षा गर्ने भएकाले ऊ सधैं उत्प्रेरक, मिहिनेती र क्षमतावान् बन्नुपर्ने हुन्छ । विद्यार्थीहरूमा केकस्तो प्रभाव/छाप छाडेको हुन्छ, यसैबाट शिक्षकको गुणस्तरको मापन गरिन्छ । वर्तमान समयमा चाहिँ आधुनिक अनलाइन तथा दूर शिक्षामा प्रविधिमैत्री भई दक्षतापूर्वक विद्यार्थीहरूमा जागरण ल्याउन पठनपाठन गर्ने शिक्षक नै उच्च कोटिको हुन्छ ।

शिक्षकमा तीनवटा विशिष्ट गुण हुनुपर्छ— उत्प्रेरणा, मिहिनेत र क्षमता । उत्प्रेरणा भनेको नदेखिने गुण हो, जुन हँसमुख भई पठनपाठनमा सरिक हुने शिक्षकमा हुन्छ । शिक्षकमा मिहिनेत र लगनशीलता छैन भने पठनपाठन अप्रभावकारी हुन्छ । क्षमता भनेको ज्ञान, सीप र सकारात्मक सोचको समष्टि हो । ज्ञानले विषयको सैद्धान्तिक जानकारी दिन्छ, ज्ञानको प्रयोगले सीपको विकास गराउँछ, ज्ञान र सीपको प्रयोग गर्न सकारात्मक सोचको आवश्यकता पर्छ । सकारात्मक सोचले शिक्षकलाई उत्पादनशील, सृजनशील बनाउँछ ।

नेपालका शिक्षकहरूको ज्ञान र सीपमा त खोट लगाउन मिल्दैन, तर उत्प्रेरणा र मिहिनेत अनि कोभिड महामारीसँगै आवश्यक देखिएको अनलाइन शिक्षा सम्बन्धी जानकारी भने अपेक्षित रूपमा पाइँदैन । यो समय नवीनतम प्रविधिको भरपूर प्रयोग गरी कर्तव्यनिष्ठ, दयालु, सहयोगी भई पठनपाठन गराउने शिक्षक नै अब्बल मानिन्छ । किनकि अहिलेको समय अनलाइन शिक्षाको हो । वेब टेक्नोलोजी र नेटवर्कका माध्यमबाट पठनपाठन हुने क्रियाकलापलाई अनलाइन शिक्षा भनिन्छ । अर्थात्, अनलाइन शिक्षा भनेको घरै बसेर इन्टरनेट वा वेब टेक्नोलोजीका माध्यमबाट गरिने सम्पूर्ण शैक्षिक क्रियाकलाप हो । अचेल यसलाई डिजिटल शिक्षाका रूपमा पनि बुझिन्छ । प्र्रविधिको विकाससँगै शिक्षा तथा प्रविधि सिक्ने–सिकाउने तौरतरिका विकसित हुँदै आएको छ ।

सन् २०२१ मा कोभिडको मारमा धेरैजसो देशका विद्यार्थीहरू परे । नेपालमा पनि ९० लाखभन्दा बढी विद्यार्थी लकडाउनको मारमा परे । अझै पनि नेपालको शिक्षा क्षेत्र नराम्रोसँग प्रभावित बनिरहेकै छ । तर नेपाल पूर्ण रूपमा डिजिटलमैत्री बन्न नसकेका कारण अझै अनलाइन शिक्षा राम्ररी फैलिन सकेको छैन । यो कोभिडकालमा नेपालको शिक्षा क्षेत्रलाई उन्नत तथा गुणस्तरीय बनाउन अनलाइन शिक्षामा जोड गर्नुको विकल्प छैन ।

कोभिडको विषम परिस्थितिमा नेपालका केही स्कुल, कलेज तथा विश्वविद्यालयहरूले भने अनलाइनमार्फत पठनपठनको सुरुआत गरिसके । नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले पनि २०७७ वैशाख १० देखि अनलाइन कक्षा सञ्चालन आंशिक रूपमा गरिसकेको छ तथा धेरै सरकारी तथा निजी शैक्षिक संस्था यही बाटोमा हिँडे । नेपाल खुला विश्वविद्यालयले अनलाइनमार्फत पठनपाठन मात्र नगरी परीक्षा पनि वैकल्पिक विधि अपनाई अनलाइनमार्फत नै गर्‍यो ।

नेपालजस्तो भौगोलिक र आर्थिक विविधता भएको देशमा सूचना तथा सञ्चार प्रविधिमार्फत इलर्निङ र अनलाइन कक्षाहरू सफलतापूर्वक सञ्चालन गर्नु पक्कै पनि चुनौतीपूर्ण छ तर असम्भव छैन । विश्वविद्यालय तथा महाविद्यालयमा अनलाइनमार्फत अध्ययन–अध्यापन गराउने प्राध्यापकहरूलाई अनलाइन प्रणालीको प्रभावकारी प्रयोग सम्बन्धी प्रशिक्षण तथा तालिमको आवश्यकता पर्छ । उनीहरूले सिकेको सीप र ज्ञान विद्यार्थीहरूबीच पुग्यो कि पुगेन भनी निगरानी तथा अनुगनम तथा मूल्याङ्कन हुन जरुरी हुन्छ ।

अनलाइन प्रविधिमार्फत शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा शिक्षक तथा विद्यार्थीहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने प्रश्न सान्दर्भिक छ । यसका लागि शिक्षक प्रविधिमैत्री, दक्ष र मिहिनेती हुनुपर्छ भने विद्यार्थी लगनशील । उपयुक्त प्रविधि पूर्वाधारको आवश्यकता पनि पर्छ । अनलाइन शिक्षाका लागि परिमार्जित पाठ्यक्रम हुनुपर्छ, जुन स्वरोजगार उत्पादन गर्ने हुनुपर्छ । शिक्षकले अनलाइन कक्षा सुरु गर्नुभन्दा अगाडि के–कस्तो पढाउने भन्नेबारे बृहत् पाठयोजना तयार गरिसकेको हुनुपर्छ । अनि मात्र अनलाइन पठनपाठन परिमाणमुखी हुन सक्छ ।

प्रत्यक्ष शिक्षण सिकाइमा भन्दा अनलाइन शिक्षणका लागि शिक्षकले धेरै तयारी र मिहिनेत गर्नुपर्ने हुन्छ । अनलाइन शिक्षणमा सामग्री उपलब्ध गराउनु र कुनै साधनबाट पठाउनु मात्र भन्दा पनि विद्यार्थीहरूको सिकाइको अवस्थाको जानकारी लिनु अझ महत्त्वपूर्ण हुन्छ । यसका लागि शिक्षकले विभिन्न प्रकारका समस्या समाधान, बढीभन्दा बढी क्विज, फोरममार्फत प्रश्न–उत्तर, अनुसन्धान–खोज गर्ने गृहकार्य दिनेÙ त्यसका लागि निश्चित समय दिनेÙ प्रत्येक विद्यार्थीहरूका लागि त्यस्ता कामहरू परीक्षण गरेर पृष्ठपोषण उपलब्ध गराउनेÙ रुब्रिक्सहरू तयार गर्ने गर्नुपर्छ । अनलाइन परीक्षणका लागि टिम्स, मुडल, जुम लगायत एप्लिकेसन तथा टुल्सहरू पनि उपलब्ध छन् । अनलाइन शिक्षणमा विद्यार्थीहरूको मूल्यांकनका लागि ई–पोर्टफोलियो राख्नुपर्छ ।

नेपालका धेरै परिवारका लागि गाँस, बास, कपास आधारभूत आवश्यकता रहिरहेकै छ । अनलाइन पठनपाठनमा इन्टरनेटका साथै ल्यापटप/डेस्कटप आदिको आवश्यकता पर्छ । यसले गर्दा अति विपन्न परिवारका होनहार बच्चाबच्ची शिक्षाभन्दा बाहिरै रहनेसमेत सम्भावना रहन्छ । यस्तो परिस्थिति नआओस् भनेर सरोकारवालाहरू निकै सचेत हुनुपर्छ । नेपाल सरकारले अनलाइन कक्षा सञ्चालनका लागि न्यून लगानी गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अहिले इन्टरनेटको पहुँच ७२ प्रतिशत छ जसमध्ये अधिकांश इन्टरनेट ग्राहक मोबाइलमा छन् । यस्तै, विद्यार्थीहरूका हातहातमा इन्टरनेट तथा कम्प्युटरको पहुँचले निम्त्याउन सक्ने विकृतिलाई रोक्न नैतिक शिक्षाको खाँचो पर्छ, यसमा अभिभावक तथा शिक्षक पनि सचेत बन्नुपर्छ ।

नेपाल पूर्णतया अनलाइन शिक्षण पद्धतिमा गयो भने अहिले भएमध्ये करिब १ लाख ५० हजार शिक्षकको आवश्यकता नपर्न सक्छ, आधाभन्दा बढी शिक्षक बेरोजगार बस्नुपर्ने अवस्था आउन सक्छ । यसको विकल्पबारे सम्बन्धित निकायले बेलैमा सोच्नुपर्ने हुन्छ । अहिले प्रविधिमा शिक्षकभन्दा विद्यार्थी नै अघि रहेको कटु यथार्थलाई आत्मसात् गर्नुपर्छ । त्यसैले शिक्षकले हीनताबोध नगरी अनलाइन पठनपाठनमा सरिक हुनुपर्छ । विद्यार्थीहरूसँगै शिक्षक पनि इन्टरनेट तथा कम्प्युटरमा दक्ष हुनु अनलाइन पठनपाठनको पहिलो आवश्यकता हो ।

अनलाइन पठनपाठनमा शिक्षक तथा विद्यार्थीहरूबीच तारतम्य निकै मिलेको हुनुपर्छ । ज्ञान प्रदान गर्ने पहिलो पक्ष र ज्ञान ग्रहण गर्ने दोस्रो पक्ष अन्तरक्रियात्मक रूपमा पठनपाठनमा सरिक हुनुपर्छर् । अनलाइन शिक्षामा शिक्षक एकोहोरो बोलिरहनुलाई राम्रो मानिन्न । अनलाइन पठनपाठनमा शिक्षक तथा विद्यार्थीहरूमा इ–लाइब्रेरी सम्बन्धी सीप पनि हुनुपर्छ । विभिन्न पठन वा अनुसन्धान सामग्री खोज्न, जर्नल, लेख रचना, फ्री रिसोर्स सम्बन्धी सामग्री खोज्न जान्नुपर्छ ।

अनलाइन शिक्षामा कम्प्युटरमा बसी लामो समय पठनपाठन गराउनुपर्ने हुनाले कुर्सीमा बसाइको महत्त्व निकै हुन्छ । कम्प्युटरबाट निस्कने हानिकारक विकिरणले आँखालाई असर गर्ने हुँदा शिक्षक तथा विद्यार्थीहरू आँखा संरक्षण गर्ने चस्माको प्रयोग गर्नुपर्छ । अनलाइन पठनपाठन गर्दा आफूपछाडि कस्तो दृश्य राख्ने भन्नेमा होसियार हुनुपर्छ । आफ्ना कतिपय गोप्य कुरा पनि अरूले हेर्न सक्ने पक्षलाई बेवास्ता गर्नु हुँदैन । अनलाइन पठनपाठनमा भए पनि शिक्षक भौतिक रूपमै कक्षाकोठामा रहेजस्तै औपचारिक पोसाकमा हुनुपर्छ । चिया–कफी खाँदै पठनपाठनमा संलग्न हुनु हुन्न । कुनै विद्यार्थी अनलाइनमै छ कि अन्तै गयो, विद्यार्थीलाई रुचि भएको छ कि छैन भन्नेबारे सचेत हुनुपर्छ । यसका लागि बीचबीचमा प्रतिप्रश्न सोध्ने, विद्यार्थीहरूको रुचि–चाहना बुभ्ने गर्दै गर्नुपर्छ ।

अनलाइन पठनपाठन गर्दा शिक्षकहरूले विद्यार्थीहरूको सकारात्मक वा नकारात्मक बानीबेहोरा, स्वभाव, रुचि, क्षमता लगायतका आन्तरिक एवं बाह्य समस्या वा गुणहरूको अवलोकन र पहिचान गरी समाधानका लागि मनोविमर्श गर्नुपर्छ । सिकारुहरूसँग अनलाइन नै अन्तरक्रिया, छलफल वा कुराकानीका माध्यमबाट समस्या पहिचान गरी समाधानका उपायहरूको खोजी गर्नुपर्छ । अनलाइन कक्षामा विद्यार्थी र शिक्षक आमनेसामने नहुने हुँदा विद्यार्थीहरूमा रहेको डर, त्रास, घात, आघात, रिस, आवेग, उत्तेजना वा खुसी प्रत्यक्ष देख्न सकिन्न । त्यसैले शिक्षकले पठनपाठन गराउँदा उनीहरूको भावना जतिसक्दो बुझ्ने हिसाबले अन्तरक्रिया गर्नुपर्छ । यस्तो हुन सके विद्यार्थीमा लेखपढप्रति सकारात्मक सोचाइको बीजारोपण हुन्छ ।

विद्यार्थीहरू विभिन्न पृष्ठभूमिका हुन्छन् । आर्थिक, लैंगिक, भाषिक, सांस्कृतिक, धार्मिक, शारीरिक, मानसिक, बौद्धिक लगायतका विविधता भएका विभिन्न उमेर समूहका बालबालिका, किशोरकिशोरीहरू अनलाइन शिक्षामा हुन्छन् । उनीहरूको क्षमता, स्वभाव, आचरण, चाहना लगायतबारे शिक्षकले जानकारी राख्नुपर्छ । विद्यार्थीहरूको इच्छा एवं आकांक्षाको सम्बोधनबिना गरिने शिक्षण सिकाइ एकोहोरो हुन्छ । शिक्षण मात्र होइन सिकाइ पनि आवश्यक छ अनलाइन शिक्षामा ।

नेपाल सरकारको तथ्यांक अनुसार, परीक्षा दिने समयसम्म विभिन्न कक्षाका गरी लगभग ६० प्रतिशत विद्यार्थीले स्कुल छाड्ने गरेका छन् । अनलाइन शिक्षाका माध्यमबाट कमभन्दा कम विद्यार्थीले पढाइ छाड्ने वातावरण बनाउनुपर्ने हुन्छ । अनलाइन शिक्षाले धेरैभन्दा धेरै विद्यार्थीलाई समेट्ने मात्र नभई विश्वपरिवेशसँग जोड्ने काम पनि गर्छ । यसबाट तुलनात्मक रूपमा विद्यार्थीलाई आर्थिक भार कम पर्छ । यसबाट गरिएको सिकाइ क्रियाकलाप जीवनोपयोगी हुन्छ । घरघरसम्म शिक्षाको पहुँच हुन्छ ।

आधुनिक युगमा शिक्षक कर्मचारी प्रविधिमैत्री हुन नसके प्रविधियुक्त विकासलाई आत्मसात् नगरेको ठहर्छ र हामी समयअनुकूल हुन सक्दैनौं । अहिले विद्यार्थीलाई आत्मनिर्भर तथा स्वावलम्बी बनाउने शिक्षकको खाँचो छ । यो समय प्रविधिमैत्री तथा विद्यार्थीलाई जिज्ञासु बनाउने शिक्षक नै अब्बल मानिन्छ ।

कार्की र पौडेल नेपाल खुला विश्वविद्यालयसँग सम्बन्धित छन् ।

प्रकाशित : माघ २४, २०७८ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसको अबको कार्यभार

डिला संग्रौला

नेपाली कांग्रेसको चौधौं महाधिवेशनले नयाँ नेतृत्व मात्रै चयन गरेन, पार्टीभित्र र पूरै देशभरि आशा र उत्साह जगायो । एउटा जीवन्त राजनीतिक पार्टीको जीवनमा आवधिक महाधिवेशन सामान्य प्रक्रिया हो, तथापि कांग्रेसको गत महाविधेशन अलिक पृथक् र अर्थपूर्ण रह्यो । संविधान कार्यान्वयनको अभ्यासस्वरूप संघीय संरचना अनुसार बनेको पार्टी विधान अनुसार कांग्रेसले समावेशी समानुपातिक सिद्धान्तका आधारमा तल्लो तहदेखि केन्द्रीय तहसम्म नेतृत्व चयन गर्‍यो ।

यतिखेर जनअपेक्षा पूरा गर्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा छ । २०१५ सालमा प्रधानमन्त्री निर्वाचित भएपछि बीपी कोइरालाले १५ वर्षभित्र हरेक नेपालीलाई आफूजस्तै मध्यमवर्गीय परिवारमा रूपान्तरण गर्ने अठोट लिनुभएको थियो । बीपीको उक्त अठोट तथा दीर्घकालीन सोचलाई सफल बनाउन र लोकतान्त्रिक समाजवादलाई सार्थक तुल्याउन आज कांग्रेसको भूमिका अपरिहार्य छ । २०४६ पछि कांग्रेस नेतृत्वका सरकारहरूले आर्थिक उदारीकरणका माध्यमबाट अर्थतन्त्रलाई एउटा बलियो जगमा उभ्याए पनि बेरोजगारी, असमानता र भेदभावजस्ता समस्या यथावत् छन् । हरेक तहका नागरिकका समस्या अद्यापि विकराल छन् । यसतर्फ पार्टीले दीर्घकालीन रणनीति र कार्ययोजना तर्जुमा गर्नुपर्ने आवश्यकता छ ।

अब मुलुकमा छिट्टै स्थानीय चुनाव हुँदै छ । संघीय र प्रदेश चुनाव पनि सन्निकट छन् । ती चुनावमा कांग्रेसले आगामी ५ वर्षका लागि मात्रै हैन, बीपीको अठोट सम्झिएर १५ वर्षको नेपालको विकासको खाका प्रस्तुत गर्नुपर्छ, देशको सामाजिक, आर्थिक रूपान्तरणको कार्यदिशा तय गर्नुपर्छ । जनताले पार्टीहरूको परीक्षा लिन गैरहेको यो बेला कांग्रेसले आफूलाई अब्बल साबित गर्नुपर्नेछ, अहिले पार्टी यही अवसर र चुनौतीको डिलमा उभिएको छ । कतिपय कम्युनिस्ट पार्टीहरूमा देखिएको सर्वसत्तावादी सोचलाई भत्काउन र समावेशी लोकतन्त्रलाई सफल बनाउन पनि कांग्रेसले आफ्नो भूमिका खेल्नुपर्ने बेला छ । यस्तै, बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिमा कांग्रेसले मात्रै देशलाई केन्द्रमा राखेर सन्तुलित विदेश नीति सञ्चालन गर्न सक्छ भन्ने प्रमाणित गर्ने चुनौती पनि छ । समयसापेक्ष विदेश नीति तयार पारेर मुलुकको सार्वभौमिकता र स्वतन्त्र अस्तित्वको रक्षाका निम्ति पार्टी जुट्नुपर्नेछ ।

यी सबै कार्यभारका निम्ति कांग्रेसलाई देशभर जागरुक र रूपान्तरित गर्दै लैजानुपर्ने आवश्यकता छ । जिल्ला–जिल्लाका कांग्रेसजनलाई संगठित, क्रियाशील र जनमुखी बनाउन जरुरी छ । आज समाज रूपान्तरणका लागि कांग्रेसीजन एकजुटको विकल्प छैन । नत्र, कांग्रेसले अहिले पाइरहेको स्वर्णिम मौका त्यसै खेर जान सक्छ । त्यसो हुन नदिन संविधान निर्माणाको नेतृत्व लिएको पार्टीले यसको सफल कार्यान्वयन गर्ने पनि उत्तिकै भूमिका खेल्नुपर्छ । संवैधानिक व्यवस्था अनुसार मुलुकका तीनै तहका निर्वाचन पूरा गराउनुपर्छ । आवधिक निर्वाचन यथासमयमै गराएर जनतालाई लोकतन्त्रको अनुभूति दिलाउनुपर्छ । यी चुनावी अभियानहरूमा पार्टी कार्यकर्ताहरू एक ढिक्का भई अग्रसर हुनुपर्छ, र जनताको मन जितेर देशलाई उज्यालो बाटोमा डोर्‍याउने स्वर्णिम मौका कांग्रेसले गुमाउनु हुन्न । कम्युनिस्ट पार्टीहरूले आफू सत्तासीन भएका बेला संविधानलाई लत्याएर र प्रजातन्त्रलाई कुल्चिएर अघि बढेकाले ‘कम्युनिस्ट ह्याङओभर’ बाट मुलुकलाई मुक्ति दिलाउन पनि कांग्रेसको रणनीतिक भूमिका आवश्यक छ ।

नेपाली कांग्रेस यतिबेला नयाँ विधान अनुसार नयाँ संरचनामा छ । टोल एकाइदेखि केन्द्रीय समितिसम्म पार्टीको आन्तरिक जीवन समावेशी बनेको छ । यद्यपि, पार्टीभित्रका केही स्वार्थी समूहका गतिविधि संगठनलाई कमजोर बनाउने दिशामा छन्, जन दुःखद कुरा हो । पार्टीको मूल ध्येयविपरीत राष्ट्रियताको भावना क्षय हुँदै गएको, लोकतान्त्रिक समाजवाद नारामा मात्रै सीमित हुँदै गएको जस्तो देखिएकाले मूल नेतृत्वले सोही अनुसार रणनीति तत्काल बनाउनुपर्ने देखिएको छ । युवाहरूको ध्यान तात्कालिक घटनाहरूमा बढी छ, जसले सिद्धान्त र विचार अलप हुने खतरा छ । पछिल्लो समय गाउँ–सहरका नयाँ पुस्ताले कांग्रेसको विचार र दर्शनबारे जानकारी पाउन सकेका छैनन् । बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको बारेमा युवापुस्ता प्रशिक्षित हुने मौका पाएका छैनन् । उनीहरूलाई प्रशिक्षण जरुरी छ । नेपाललाई लोकतान्त्रिक समाजवादतर्फ उन्मुख गराउने जिम्मेवारी बमोजिम कांग्रेसले अब आफ्नो एजेन्डा, नेतृत्व र संगठन बलियो बनाउनुपर्छ । त्यसका लागि नीति तथा विधान अधिवेशन गर्न जरुरी छ । अब कांग्रेसलाई कमजोर हुने छुट छैन ।

प्रकाशित : माघ २४, २०७८ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×