कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९
वसुधा

पानीका मुहान सुक्नुको रहस्य

नेपालका सन्दर्भमा पछिल्लो समय पहाडी भेगमा सामुदायिक वन वा अन्यत्र हुर्काइएका सल्लाका वनहरूको भूमिका पानीको मुहान सुक्नमा कति छ भनेर वैज्ञानिक मूल्यांकन गर्न जरुरी छ ।

पुस ७ गते यसै दैनिकमा ‘जथाभावी सडक निर्माणले सुक्दै पानीका मुहान’ शीर्षकमा एउटा समाचार छापियो । उक्त समाचारको आधार नेपाल पानी सदुपयोग फाउन्डेसन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले नेपालका पहाडी र हिमाली भेगका ३०० पालिकाहरूमा गरेको सर्वेक्षणमा आधारित अनुसन्धान प्रतिवेदन थियो ।

पानीका मुहान सुक्नुको रहस्य

उक्त अनुसन्धानले अध्ययन गरिएका करिब ७४ प्रतिशत पालिकामा पानीका मूल सुक्ने र ५८ प्रतिशतमा मूल सर्ने घटना पाइएको देखाएको छ । क्षेत्रगत रूपमा भन्दा, चुरे क्षेत्रका पालिकाहरूमा मुहान सुक्ने समस्या सबैभन्दा बढी छ । अध्ययनमा पालिकामा मूलको अवस्था, मूलधार क्षेत्रमा मानवीय र प्राकृतिक परिवर्तनको अवस्था, मूल सुक्दै गएको सन्दर्भमा स्थानीय बासिन्दाहरूले अपनाएका पानी आपूर्तिका उपाय र मूलधार जोगाउन गरिएका संरक्षणका प्रयासका साथै पानीको आपूर्ति बन्द हुँदा परेका असरहरूका बारेमा चर्चा गरिएको छ । तर पानीका मुहानहरूको प्रत्यक्ष अवलोकन, नक्सांकन र समयक्रमसँगै मूलमा भएको पानी आपूर्तिको परिमाणको फेरबदल, मूलवरपर भएका प्राकृतिक र मानवीय परिवर्तनको मूल्यांकनभन्दा पनि पालिकाप्रमुख वा उपप्रमुख वा प्रशासकीय अधिकृतसँग फोन अन्तर्वार्तामार्फत उक्त प्रतिवेदन तयार गरिएको हो । त्यसैले उक्त अध्ययनले मोटामोटी अवस्थाको जानकारीसम्म दिनसक्छ तर पानीको मुहानबारेको सूक्ष्म परिस्थिति र मुहान सुक्नुको वास्तविक कारण बताउँदैन ।

तथापि यसअघि गरिएका अन्य अध्ययनले नेपालमा केही दशकयता पानीका मूलहरू सुक्दै गइरहेको देखाएकाछन् । जस्तै— त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भूगोल केन्द्रीय विभागका अध्येताहरूले मध्यपहाडको मेलम्ची क्षेत्रमा गरिएका अध्ययन र युथ एलाइन्स फर इन्भाइरोमेन्टका अध्येताहरूले खोटाङ, नुवाकोट, सुर्खेत, डडेलधुरा जिल्लामा गरेका अध्ययनहरूले त्यहाँ पानीका मूल सुक्ने क्रममातीव्रता आएको देखाएकाछन् । तनहुँमा गरिएको अध्ययनले पनि ६३ प्रतिशत मूलमा पानीको मात्रा कम भएको देखाएको थियो । छरिएका सीमित अध्ययन भएपनि सबैको निष्कर्ष छ—केही दशकयता पूर्वदेखि पश्चिम नेपालसम्मका भूभागमा पानीका मुहान सुक्दै गएको देखिएको छ । र, सुक्नेक्रमको सूचना गोरखा भूकम्पपछितीव्र भएको देखिन्छ । एक प्रतिवेदन अनुसार, २०७२ सालको गोरखा भूकम्पका कारण देशभरका करिब ५०००मुहान र इनारहरू सुकेका थिए । त्यसो त उक्त भूकम्पपछि कतिपय ठाउँमा नयाँमुहान पनि देखिए र कतिपय मूलमा पानीको परिमाण झन् बढी देखियो । काठमाडौं उपत्यकाका केही ढुंगेधारामा भूकम्पपछि पानीको मात्रा बढेको थियो ।

समग्र हिमालय क्षेत्रकै समस्या

पानीको मुहान सुक्नेक्रम नेपालमा मात्रै होइन, केही दशकयता समग्र हिमालय क्षेत्रमा पनि बढिरहेको छ । भुटान, भारत र पाकिस्तानमा भएका अध्ययनहरूले उत्तरपूर्वी भारतका सिक्किम र मेघालयदेखि पश्चिमको उत्तराखण्ड र पाकिस्तानसम्म फैलिएको हिमालय पर्वत शृंखलाका सबै भूभागमा रहेका पानीका मूलहरू सुकेको वा सुक्नेक्रममा रहेको उल्लेख गरेका छन् । सन् २०१८ मा भारतको नीति आयोगले प्रकाशित गरेको प्रतिवेदनमा भारतका हिमाली क्षेत्रका करिब ६० प्रतिशत मूलहरूमा पानीको परिमाण कम भएको देखाएको थियो । उक्त प्रतिवेदन अनुसार, भारतको अल्मोडामा१५० वर्षपहिले ३६० वटा मूल भएकामा हाल उक्त संख्या घटेर ६० मै सीमित भएको छ । त्यसैगरी भुटानको कृषि मन्त्रालयले गरेको अध्ययनले पनि त्यहाँ ३५प्रतिशत पानीका मुहानहरू सुक्नेक्रममा रहेको र २ प्रतिशत मूल सुकिसकेको देखाएको छ ।

पानीका मूलहरू यसरी सुक्दै जानुले यस भेगको जनजीवन र जीविकामा प्रत्यक्ष नकारात्मक असर पुर्‍याएको छ । किनभने हिमालयको पहाडी शृंखलामा मान्छेलाई पिउन अनि कृषिकर्म र अन्य जीविका चलाउनका लागि आवश्यक पानीको आपूर्तिको मुख्य स्रोत यहाँका मूलहरू नै हुन् । पानीका यी मूलहरूले यो क्षेत्रको मानवीय आवश्यकतामात्रै पूरा गरेका छैनन्, अन्य थुप्रै वातावरणीय सेवासुविधा पनि दिएका छन् । जस्तै— यस्ता मूलहरूले हिउँमा आश्रित नभएका नदी र खोलामा पानीको आपूर्तिको सुनिश्चितता गर्ने, जैविक विविधतालाई सहयोग गर्ने मात्रै होइन, कतिपय स्थानमा मूलहरू धार्मिक–सांस्कृतिक आस्थाका धरोहर पनि बन्न पुगेका छन् ।

त्यसकारण यस्ता पानीका मूलहरू सुक्दै जाँदा दैनिक मानवीय जीवन र जीविकामा मात्रै होइन, जैविक विविधता र पर्यावरणमा पनि नकारात्मक असर पुगेको छ । जस्तै— सिमसारमा पानीको मूल सुक्दा त्यसमा आश्रित चराचुरुंगी लगायतको जैविक विविधता हराएर जान्छ । जीवजन्तुले पिउने पानीको अभाव झेल्छन् । यतिखेर पानी अभावकै कारण कतिपय ठाउँमा मानवबस्तीहरू उजाडिएका छन्त कतिपय स्थानमा मानिसहरूले विकल्पका रूपमा अन्य स्थानबाट पानी लिफ्ट गरेर ल्याउने, टाढाको मुहानबाट पानी ल्याएर आपूर्ति गर्ने गरेकाछन् । पानी अभावको सबैभन्दा बढी बोझ ग्रामीण भेगका महिलाहरू, गरिब तथा विपन्न घरलाई परेको छ । मूलसुकेका कारण टाढाटाढाबाट घण्टौं लगाएर पानी बोकेर ल्याउनुपरेको छ ।

मूल सुक्नुका कारण

सामान्यतया वर्षातमा परेको पानी जमिनको सतहबाट जमिनमुनि छिर्छ । पानी कतिभित्र छिर्ने भन्ने कुरा जमिनको बनोट र माटोको किसिममा भर पर्छ । सतहनजिकको माटोको तह पूरै भिजेपछि पानी अझैभित्र जान्छ र त्यसरी भित्र पसेको पानी जमिनभित्र धाँजा फाटेको, चिरिएको ठाउँ (एक्विफायर वा जलभरा) मा सञ्चित भएर बस्छ । जमिनमुनि रहेका त्यस्ता जलभराहरू जब पानीले भरिन्छन्, पानी माटोको कमजोर सतहबाट वा पृथ्वीको गुरुत्वाकर्षणका कारण तल्ला क्षेत्रहरूबाट निस्कन थाल्छ, जसलाई हामी मूल भन्छौं । त्यसकारण मूल बन्न र नासिन वर्षातको मात्रा, जमिनको बनोट, माटोको प्रकार र सतहमाथिको भूउपयोगले मुख्य भूमिका खेल्छ । साथै मूलमा पानीको मात्रा पनि मूलाधारको चरित्र, जलभरा र वर्षातले निर्धारण गर्छ ।

नेपाल पानी सदुपयोग फाउन्डेसन र इसिमोडको प्रतिवेदनले पानीको मूल सुक्नुमा मूलधार क्षेत्रको विनाश हुनुÙ परम्परागत पोखरीहरू मासिनुÙ सिमसार क्षेत्रहरू मासिनुÙ जथाभावी सडक तथा भौतिक संरचना बनाउनुÙ जलविद्युत् आयोजनाका सुरुङ, इनार, डिप बोरिङ खन्नुजस्ता मानवीय र बाढीपहिरो, खडेरी, भूकम्पजस्ता प्राकृतिक कारकहरूको भूमिका रहेको उल्लेख गरेको छ । अर्थात्, ती गतिविधिका कारण मूल बन्ने संरचना (जस्तै— जलभरा, मूलाधारको चरित्र) मा हानि पुग्यो र मूल सुक्यो । साथै जलवायु परिवर्तनका कारण फेरिएको वर्षातको समय, परिमाण र आवृत्तिएवं तापमान वृद्घिका कारण पनि पानीका मूलहरू सुकेका हुन् भन्ने अध्ययनहरूको दाबी छ । तर अधिकांश अध्ययनका यस्ता निष्कर्षहरू स्थानीय बासिन्दाका अनुभवमा आधारित हुन्, मूलाधार वा जलाधारमै गरिएका वैज्ञानिक परीक्षणका नतिजा होइनन् ।

कतिपय ठाउँमा जनसंख्या वृद्घि, पानीको अत्यधिक खपत गर्ने पछिल्लो जीवनशैलीका कारण पनि पानीको अभाव महसुस भएको हुनसक्छ । बढ्दो खपतले भएको कमीलाईमानिसहरूले पानीको प्राकृतिक आपूर्ति नै घटेको हिसाबमा लिएका पनि हुनसक्छन् । नेपालसहित हिमालय क्षेत्रका पानीका मूलहरूको बनोट जटिल र भिन्न भएकाले मूल सुक्दै जानुको कारण खोतल्न स्थानीय जलवायु, सतहमा भूउपयोगको अवस्था, भौगर्भिक बनोट, मानवीय गतिविधिको सूक्ष्म र लामो अवलोकन एवं अध्ययन चाहिन्छ जुन अहिलेसम्म भएको छैन ।

वनको भूमिकामा प्रश्न

नेपालमा पानी र वनको सम्बन्धलाई सधैं सकारात्मक र सीधा हिसाबले हेरिँदै आएको पाइन्छ । धेरै वन हुँदा पानी पनि धेरै हुन्छ भन्ने मान्यता आम रूपमा गढेको छ । तर उक्त ‘आम बुझाइ’माथि पछिल्ला अध्ययनहरूले प्रश्न उठाएका छन् । सन् २००८ मा खाद्य एवं कृषि संगठन (एफएओ) ले प्रकाशित गरेको ‘टुवार्डस् ए न्यु अन्डरस्ट्यान्डिङ अफ फरेस्ट एन्ड वाटर’ प्रतिवेदन अनुसार, उपल्लो तटीय क्षेत्रमा वन जोगाउँदा पानीको गुणस्तरमा उल्लेख्य सुधार आएपनि माथिल्लो भूभागमा वन जोगाउँदा तल्लो भूभागमा पानी आपूर्तिको परिमाण बढ्छ नै भन्ने छैन । अर्थात्, वन र पानीको सम्बन्ध सोचेजस्तो सपाट, सरल र सीधा छैन । मुख्यतः कम पानी पर्ने पूर्ण वा केही सुक्खा स्थानहरूमा तल्लो भूभागमा पानीको मात्रा बढाउन वनको अवस्थिति सहयोगी नहुन पनि सक्छ ।

वन पानी अत्यधिक दोहन गर्ने पारिस्थितिकीय प्रणाली हो । एउटा रूखले प्रतिदिन १.७५ लिटरदेखि ३७२ लिटरसम्म पानी उत्स्वेदन (ट्रान्सिपेरेसन) गरेर हावामा फाल्छ । त्यसकारण पानी प्रयोगको हिसाबले भन्दा रूख ‘पम्प’ जस्तै हो, जसले जराबाट जमिनमा भएको पानी तानेर पातबाट वायुमण्डलमा फाल्छ । तर सँगै रूखको अर्को भूमिका पनि हुन्छ । त्यसले विशेषगरीवर्षातको समयमा पानीलाई जमिनमा अड्याउने गर्छ जसले गर्दा पानी जमिनमा सोसिन सहयोग पुग्छ । अर्थात्,रूख पानी फाल्ने ‘पम्प’ र सोस्ने ‘स्पन्ज’ दुवै हो । थप, पानीको उपलब्धतामा वनको भूमिका सबै ठाउँमा एकै हुँदैनÙ वनको किसिम र घनत्व, ल्यान्डस्केपको प्रकृतिले फरक पार्छ । अस्ट्रेलियामा गरिएको अनुसन्धान अनुसार, वार्षिक ८५० देखि १५०० मिलिमिटरवर्षात हुने क्षेत्रमा रोपिएका सल्लाका रूखहरूले त्यहाँको जलाधारमा पानीको मात्रा उल्लेख्य रूपमा घटाउँछन् । नेपालका सन्दर्भमा पछिल्लो समय पहाडी भेगमा सामुदायिक वन वा अन्यत्र हुर्काइएका सल्लाका वनहरूको भूमिका पानीको मुहान सुक्नमा कति छ भनेर वैज्ञानिक मूल्यांकन गर्न जरुरी छ ।

विशेषतः पछिल्ला बहुअध्ययनको संश्लेषण (मेटा एनालाइसिस) ले क्षेत्रीय रूपमा वनले जलचक्रमा सकारात्मक र अपरिहार्य प्रभाव पारेपनि सानो आकारको जलाधार क्षेत्रको जलविज्ञानमा त्यसले सुक्खा बढाउन सक्ने संकेत गरेको छ । यद्यपि जल र जंगलका सम्बन्धमा वैज्ञानिक बुझाइमा अझै अन्योल कायमै छ । त्यसैले, वनका अनेकौं फाइदा हुँदाहुँदैपनि जलाधारविशेषमा हुर्काइएको वनको प्रकार, त्यसको प्रजातिगत र अन्य विविधतायुक्त (वनभित्रका ससाना झाडी–बुट्यान) संरचनामा ध्यान नदिने हो भने त्यो अहिले आम सोचाइमा भएको जस्तो ‘वन बढ्दा पानी पनि बढ्छ’ भन्ने मान्यतामा सहयोगी नहुन सक्छ ।

अन्त्यमा, अहिले भइरहेको र भविष्यमा झनै बढ्ने तापमान वृद्घि र वर्षातको फेरबदलले जल र जंगलको सन्तुलनलाई दुई तरिकाले प्रभावित गर्नसक्छ । पहिलो, तापमान वृद्घिसँगै हुने सुक्खा र गर्मीमा रूखले गर्ने उत्स्वेदनदर बढ्छ । दोस्रो, वर्षातको समय, अवधि र आवृत्तिमा परिवर्तन हुँदा जलभरामा पानीको मात्रा कम हुनसक्छ । त्यस्तो अवस्थामा एकातिर जमिनमुनि पानीको सञ्चिति वर्षातको फेरबदलका कारण घट्ने र घटेको पानीको सञ्चितिलाई रूखले उत्स्वेदनमार्फत सकिदिने गर्दा पानीका लागि मानव र वनबीच प्रतिस्पर्धा हुने अवस्था आउन सक्छ । त्यसकारण पानीको मूल मासिनुका विविध रहस्यको उत्खनन अत्यन्त जरुरी छ ।

प्रकाशित : पुस २८, २०७८ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?