एकीकरणको बहस
पुस २७ नजिकिएपछि पृथ्वीनारायण शाह एकीकरणकर्ता हुन् किहोइनन् भन्ने बहस हरेक वर्ष चल्ने गर्छ जुन स्वाभाविक हो ।
हुन त यस विषयको बहसले आजको नेपाल र नेपालीको जीवनमा तात्त्विक फेरबदल केही ल्याउँदैनतर पनि इतिहासलाई हेर्ने सही दृष्टिकोण बन्न सकेन भने भविष्यलाई ठीक दिशा पनि दिन सकिन्न भन्ने सन्दर्भमा यसलाई आवश्यक नै ठान्नुपर्छ । पृथ्वीनारायण शाहको कदम एकीकरण नै थियो भन्ने जिकिरहरू यस्ता छन्—
सबैतिर बलप्रयोगबाट राज्य विस्तार : त्यसैले एकीकरण !
संसारको इतिहासमा सबै एकीकरण बलप्रयोगबाटै भएको भन्नु सही होइन । जस्तो, हजरत मोहम्मदले आजभन्दा पन्ध्र सय वर्षपहिले इस्लामको एकीकरण बर्बर युद्धमा होमिएका सयौं कबिलाबीच छलफल र एकताद्वारा हासिल गरेका थिए । आजको संयुक्तराज्य अमेरिका र विघटित सोभियत संघ दुवै नै मूलत: छलफल र एकताद्वारा एकीकृत भएका थिए । अर्को कुरा, बलप्रयोगबाट राज्य र त्यस राज्यले शासन गर्ने देशको सीमा बनेको थियो भन्नु र एकीकरण भन्नु एउटै कुरा होइन । संसारको हरेक राष्ट्र र देशनिर्माणका आफ्नै विशेषता र परिघटनाहरू छन् । तर्क गर्ने गरिएजस्तो सबैतिर बलप्रयोगबाट राज्यविस्तार गरिएको र त्यसलाई नै एकीकरण भन्ने गरिएको भन्नु सही होइन ।
एउटै भाषा, एउटै संस्कृति र एउटै जाति समग्रमा एउटै सभ्यताका फरक-फरक राज्यहरूलाई एउटै बनाउन गरिने अनि फरक भाषा, फरक संस्कृति र फरक जाति समग्रमा भन्दा फरक सभ्यतालाई एउटै राज्यको अधीनमा ल्याउन गरिने बलप्रयोग एउटै कुरा होइन । एउटै जाति वा सभ्यताभित्रको बलप्रयोग केवल राजनीतिक सत्ताप्राप्तिका लागि मात्र हुन्छ र त्यसद्वारा बन्ने ठूलो देशले एउटै भाषा, संस्कृति र जाति, समग्रमा त्यस सभ्यताको विकासमा ठोस योगदान गर्छ । तर फरक भाषा, फरक संस्कृति र फरक जाति, समग्रमा फरक सभ्यतामाथि बलप्रयोगद्वारा राज्यविस्तार गर्नु भनेको खास सभ्यताका मानवनिर्मित सबै सांस्कृतिक सम्पदालाई नाश पार्दै जानु हो । एउटा सभ्यता र अर्को सभ्यताबीच छलफल, सहकार्य, सहमति र एकताद्वारा एकीकरण सम्भव छ तर बलप्रयोग गरेर एउटा सभ्यताले अर्को सभ्यतालाई शासित बनाई एकता वा एकीकरण सम्भव नै छैन । त्यस्तो बेला त विजित सभ्यताका मानवीय सबै सांस्कृतिक आर्जनलाई ध्वस्त पार्दै लगेर मात्र राज्य सञ्चालन सम्भव हुन्छ ।
बलप्रयोग गरेर भए पनि एउटै राज्यअन्तर्गत धेरै भूभाग र जनतालाई ल्याउनु नै एकीकरण हो भने इतिहासमा राज्यनिर्माणका निम्ति भएका सबै बलप्रयोग र युद्धलाई जायज मान्नुपर्ने हुन्छ । उपनिवेशवादी कालमा एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा बेलायत, पोर्चुगल, स्पेन, फ्रान्स आदिको शासनमुनि ल्याउन अन्धाधुन्ध गरिएका बलप्रयोगहरूलाई जायज मान्नुपर्ने हुन्छ । वास्तवमा यो कुरा मान्ने हो भने वर्तमान भारतको राष्ट्रनिर्माता बेलायतकी महारानीलाई मान्नुपर्ने हुन्छ । के यसो गर्न मिल्छ? त्यसैगरी जितेको हुनाले त्यो विजेताले गरेको ठीक मान्ने दृष्टिकोण स्थापित गर्ने हो भने इतिहासमा हार्नेहरू सबै बेठीक थिए भनी मान्नुपर्ने हुन्छ । हार्नु र जित्नु नै ठीक वा बेठीकको सिद्धान्त हुन सक्तैन ।
देश ठूलो र हामी नेपाली भयौं : त्यसैले एकीकरण !
देशको आकार ठूलो र सानो अनि जनसंख्या धेरै र थोरैसँग मानिसको प्रगति र समृद्धि मूल रूपमा जोडिएको छैन, बरु वैचारिक तथा अर्थ–राजनीतिक दिशा र संरचनाले नै निर्णायक भूमिका खेलेका छन् । हामी आजका नेपाली हुन पायौं भन्ने जहाँसम्मको कुरा छ, यो एउटा अवधारणा मात्रै हो । के नेपाली हुनमा गर्व गर्नु भनेको भारतीय वा मंगोलियावासीभन्दा उच्चकोटिको हुनु हो र ? कदापि होइन । जंगबहादुर राणाले लखनउ विद्रोह दमन नगरेका भए आजका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर आजको भारतमै रहन्थे होलान् । अनि त्यहाँ बसोबास गर्नेले भारतीय हुनुमा गर्व गर्थे होलान्, जसरी आज नेपाली हुनुमा गर्व गर्छन् । यो राष्ट्रिय गर्व त त्यस भूमिसँगको निरन्तरको उठबस र त्यसमाथि आफ्नो स्वामित्वबाट पैदा हुने कुरा हो । त्यो एक सापेक्षिक भावना हो, निरपेक्ष विषय होइन ।
अंग्रेजले नेपाललाई खान्थ्यो : त्यसैले एकीकरण !
पृथ्वीनारायण शाहले राज्यविस्तार नगरेका भए अंग्रेजले सिंगै नेपाल खान्थ्यो भन्ने जुन तर्क छ, त्यसो हुन पनि सक्थ्यो, नहुन पनिसक्थ्यो ।सुरुमा प्रतिरोध नगर्ने भारतीय जनताले त अन्तत: उपनिवेशवादलाई धपाए भने नेपाली जनताचाहिँ साम्राज्यवादसँग लड्दै लड्दैनथे त, कुनै हालतमा भन्न सकिने कुरा होइन । यस सन्दर्भमा अर्को दु:खदायी यथार्थतिर पनि ध्यान खिचौं । पृथ्वीनारायण शाहका आँखाबाट नहेरी नेपालका जनजाति, मधेसी, दलित र कर्णालीपारिका जनताका आँखाबाट हेरियो भने पृथ्वीनारायणको तत्कालीन राज्य र अंग्रेजमा केकति फरक देखिन्छ ?पृथ्वीनारायण शाहको काठमाडौंकेन्द्रित हिन्दु राज्यको अधीनस्थ भएपछि नेपालका दलित, जनजाति, मधेसी र कर्णालीपारिले अंग्रेजी उपनिवेशवादले गर्ने अत्याचारभन्दा कम के भोगे त ? पृथ्वीनारायणको राज्य दूरीका हिसाबले अलि नजिकबाट आएको, छालाको रंग अलि बढी मिल्ने तर अंग्रेज धेरै टाढाबाट आएको, छालाको रंग धेरै नमिल्ने । यहाँभन्दा बढी फरक के भयो त यथार्थमा ? गुणात्मक रूपमा केही पनि फरक भएन । त्यसकारण नेपाल भनेको दलित, जनजाति, मधेसी र कर्णालीपारिका जनताको पनि हो भनेर बुझ्नेबित्तिकै त्यो एकीकरण थियो या राज्यविस्तार भन्ने कुराको एउटा बन्द झ्याल खुलिहाल्छ ।
हिन्दु धर्म सिद्धिन्थ्यो : त्यसैले एकीकरण !
कुनै पनि विचार वा धर्म मूलत: आफूभित्रको वैचारिक कमजोरी वा त्यस विचार या धर्म अनुसरण गर्ने समुदायको कमजोरीका कारण कमजोर हुन्छ, सिद्धिन्छ पनि । इसा मसिह जन्मिएको देश इजरायल जहाँपहिलो चर्च छ तर इसाईहरू कम छन् ।त्यहीँ एघार सय वर्षअगाडि बनेको मस्जिद छ तर मुस्लिम कम छन् । त्यसैले कुनै पनि धर्मको विस्तार र संकुचनकाबहुआयाम छन् ।‘हिन्दु धर्म मासिन्थ्यो, त्यसैले पृथ्वीनारायणको राज्यविस्तार एकीकरण नै थियो’ भन्ने हो भने हिन्दुबाहेकका नेपालभित्रका बौद्ध, इस्लाम, किरात र अन्य धर्ममाथि दमन गर्नु ठीक हो भन्नुपर्ने हुन्छ । एउटा किरातीका लागि हिन्दु वा इस्लाम वा इसाई जुन धर्मले दमन गरे पनि के फरक पर्छ ? अझ तर्कै गर्ने हो भने, इस्लाम र इसाईले त गाई काटेर खान एवं गाईको छालाले छत्तीस ताल निस्कने च्याब्रुङ बाजा बनाउन स्वीकृति दिन्छ, हिन्दुले चाहिँ गाई मार्दा जेल हाल्छ । त्यसैले ‘असिल् हिन्दुस्थाना’ बनाउने राज्यविस्तारको यात्रा कसरी गैरहिन्दुका लागि एकीकरण हुन्छ ?
अरू राजालाई प्रगतिको वास्ता थिएन : त्यसैले एकीकरण !
यो तर्क पनि खासै तथ्यमा आधारित देखिएको छैन किनभने तत्कालीन गोरखा राज्यमा एउटा गतिलो दरबारसम्म थिएन तर वाग्मती उपत्यकामा भव्य सभ्यता भइसकेको थियो । त्यति बेलाका कर्णालीपारि र भेरी आसपासका राज्यहरू अनि पूरै लिम्बूवानसम्म शासन चलाउने सेन राज्य गोरखा राज्यभन्दा विकासमा पछि थिए भन्ने प्रमाण अहिलेसम्म भेटिएको छैन । तब विकास र प्रगतिको चिन्ता अरूलाई थिएन भन्ने तर्कको पुष्टि कसरी हुन्छ ? आफ्नो प्रगतिको वास्तै थिएन भने आफू मर्न तयार भएर पृथ्वीनारायणको सेनासँग किन लडेका त विजित राज्यका जनता ? यदि त्यति बेलाका फरक सभ्यताका राज्यका राजा र जनता प्रगति नै चाहँदैनथे भनी मान्ने हो भने पनि जबर्जस्ती मान्छे मार्दै प्रगति गराइदिन जाने अधिकार पृथ्वीनारायणलाई कहाँबाट प्राप्त हुन्छ ? आजका राउटेलाई जबर्जस्ती गाउँ बनाएर राख्ने, नमान्नेलाई नाक–कान काटिदिन मिल्छ ? कतिपयले ‘त्यति बेला त्यस्तै चलन थियो’ भन्ने तर्क पनि गर्छन् ।त्यस्तै चलन थियो भन्नुको मतलब त्यो ठीक थियो ? सती पठाउने दिन थिए भन्नुको अर्थ सती प्रथा ठीक थियो ? कदापि थिएन ।
एकीकरण नभए नेपाल अब टुक्र्याउनु त : त्यसैले एकीकरण !
एकीकरण थिएन भने अब के नेपाललाई पुरानै टुक्राटुक्रामा फर्काउने त ? यस्तो प्रश्नले त बलात्कारबाट बच्चा जन्मियो भने बलात्कार भन्न हुँदैन भन्ने ठाउँसम्म पुर्याउँछ । बालविवाह ठीक थिएन भन्नुको मतलब बालविवाहपछि दाम्पत्यजीवन जेनतेन चलाइरहेको जोडीलाई सम्बन्धविच्छेद नै गराउनुपर्छ भनेको हो ? चरम गरिबीमा पनि गीत गाइन्छ, नाचिन्छ तर त्यो चरम गरिबी ठीक हो ? यस्तो तर्कले त जेजे भए, ती सबै ठीक थिए भन्ने ठाउँमा पुर्याउँछ, जुन गलत अवधारणा हो ।
करिब अढाई सय वर्षको एकात्मक केन्द्रीकृत हिन्दु पहाडे खस–आर्य अहंकारवादमा आधारित शासनले नेपालका विभिन्न भाषा, संस्कृति, क्षेत्र र जातीय मनोविज्ञानका मानिसहरूलाई उनीहरूका मौलिक भाषिक, सांस्कृतिक, मनोवैज्ञानिक समग्रमा अलग सभ्यताकृत सम्पदालाई छियाछिया पार्दै प्रताडना दिँदै एकै राज्यमुनि बस्न बाध्य पार्यो । त्यस बाध्यताले स्वाभाविक रूपमा जनताबीच आपसी न्यानो, एकअर्काको आवश्यकता अनि सँगै मिलेर प्रगति गर्न सकिने सम्भावना पनि जन्माउँदै लग्यो । अब छुट्टिएरभन्दा पनि एकताबद्ध भएरप्रगति गर्न सकिने अनि साझा परिचय नेपाली भन्नुमा बेग्लै आनन्दको अनुभूति थपिँदै गयो । यसरी आजसम्म पुग्दा बहुराष्ट्रिय राष्ट्रियता निर्माणको सम्भावना प्रकट हुन पुग्यो । यो बेग्लै पक्ष हो ।
निष्कर्षमा पृथ्वीनारायण र ‘एकीकरण’
पृथ्वीनारायण शाह त्यति बेलाका एक सक्षम हिन्दु पहाडे खस–आर्य अहंकारवादी राजा थिए । हरेक सामन्तवादी राजालाई जस्तै धेरै भूभाग र जनतामाथि शासन गर्ने, आफूभन्दा विकसित राज्य पनि हात पार्ने सपना उनमा थियो । आफ्नो नेतृत्वमा विजय हासिल गरिएको राज्यका प्रत्येक राजाले सामन्ती राष्ट्रवादलाई बढावा दिन्थे । उनको ‘दिव्य उपदेश’ भनी चर्चा गरिने गरिएका देशभक्तिका बखानहरूवास्तवमा सामन्तवादकालीन सामन्ती राष्ट्रवादभन्दा माथिल्लो स्तरकाहोइनन् । पृथ्वीनारायण शाह कुनै युद्धसरदार वा लुटाहा योद्धा पनि होइनन्, उनी प्रस्ट रूपमा एक राजाहुन् ।
उनलाई देशनिर्माता भन्न सकिन्छ तर राष्ट्रनिर्माता होइन,एकताको प्रतीक होइन । किनभने, नेपालका फरकफरक राष्ट्रियतालाई दमन गरेर वास्तविक बहुराष्ट्रिय राज्य बन्नै सक्दैनथ्यो र बनेन । उनले त झन् बहुराष्ट्रियतामाथि दमनको योजनाबद्ध अभियान सुरु गरे, जसका कारण नेपालको आन्तरिक राष्ट्रियताको मुद्दा दिन–प्रतिदिन कचल्टिन गयो र आजसम्म समाधान भएको छैन । नेपालमा देश र राष्ट्रको अन्तरलाई हेरिएन भने नेपाल एउटै सभ्यताको देशका रूपमा मात्रै बुझिन्छ‚ जुन कुरा सत्य होइन ।
देश हुनका निम्ति राज्यसत्ता, जनता र भूभाग भए पुग्छ तर राष्ट्र हुनका निम्ति त्यहाँका मानिसहरूबीचको सांस्कृतिक सम्बन्ध मुख्य भएर आउँछ । उनले देशनिर्माण गरे तर नेपालमा बहुसभ्यताबीचबाट वास्तविक नेपाली राष्ट्रियता निर्माणको प्रवेशद्वारमै ताला मारिदिए । त्यसकारण उनको बहुसभ्यताविरोधी अभियान एकता र एकीकरण थिएन, बरु बहुसभ्यता ध्वंसीकरण अभियान थियो ।
वास्तवमा पृथ्वीनारायण शाहको राज्यविस्तारको कदमलाई सही रूपमा अर्थ्याउन प्रचलित एकीकरणको भाष्यमाथि नै प्रश्न उठाउनु र त्यस भाष्यलाई परिवर्तन गर्नु जरुरी छ । सामन्तवादी युगका विजेताहरूले जसरी पनि एउटै राज्यमातहत ल्याउनुलाई एकीकरण अथवा एकता भनी भाष्य निर्माण गरे, त्यही भाष्यलाई पुँजीवादले पनि ग्रहण गर्यो र त्यो भाष्यबाट मार्क्सवादीहरूसमेत प्रभावित हुन पुगे, मूल वैचारिक समस्या यहीँनेर छ । बहुसंख्यक जनताको स्वीकृतिमा र उनीहरूको फाइदाका निम्ति नभएका सबै युद्ध गलत थिए, त्यसैगरी फरक सभ्यतामाथिका बलात् हस्तक्षेपहरू जतिसुकै राम्रो नियतका साथ भएपनि ती अन्यायपूर्ण थिए भन्ने भाष्य अब निर्माण गरिनुपर्छ र विगतको समग्र मानव इतिहासलाई यही दृष्टिले हेर्नु आवश्यक छ । यदि यसो नगर्ने हो भने त इतिहासमा हारेकाहरू सबै गलत थिए भन्ने निष्कर्षमा पुगिन्छ अनि हजारौं वर्षमा निर्मित बौद्धिक एवं भौतिक सम्पदाहरू जुन विजेताहरूले ध्वंस गरे, त्यस ध्वंसको प्रक्रियालाई पनि एकता मान्नुपर्ने पो हुन जान्छ!
प्रकाशित : पुस २४, २०७८ २१:०८