१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

काँकरभिट्टामा के छैन, सब थोक छ !

काँकरभिट्टामा त्यस्ता सरकारी/सार्वजनिक अड्डाहरू छैनन् जहाँ कमला राजवंशीहरूले परिचयपत्र देखाएको भरमा सहुलियतमा रासन पाउन सकून् । रासन लिन चाहिने परिचयपत्रमा छालाको रङ, भाषा वा वर्गका आधारमा कसैले झेल नगरोस् ।
उज्ज्वल प्रसाई

पञ्चायतकालमा राजा महेन्द्रको पहलमा बर्मा र असमबाट फर्केका ‘प्रवासी नेपाली’ लाई जग्गा दिएर बसोबास गराएको भेगलाई बर्मेली टोल र आसामे बस्ती भनिन्छ । नेपालका अन्य सहरमा झैं काँकरभिट्टामा पनि बर्मेली र आसामे टोल छन् । काँकरभिट्टाको बर्मेली टोलमा कोठा भाडामा लिएर बस्थिन् पैंतीस वर्षीया कमला राजवंशी ।

काँकरभिट्टामा के छैन, सब थोक छ !

श्रीमान् र तीन सन्तान पनि उनीसँगै बस्थे । श्रीमान् यातायात मजदुर थिए । एक जनाको कमाइले पुगेन; गुजारा चलाउन कमला कहिले ज्यामी हुन्थिन्, कहिले भाँडा माझ्ने र लुगा धुने ‘दिदी’ । प्रत्येक हिउँदमा डेरानजिकै चौबाटोमा बसेर भक्का पकाएर बेच्थिन् । फरासिली थिइन्, बात मार्दै भक्का खुवाउँथिन् । चिल्ला सेता भक्का टमाटरको चटनीसँग स्वाद मानेर बर्मेली टोलका आसामे, दार्जिलिङे, मणिपुरे, भोटाङे, पान्थरे, इलामे अनेकले स्वाद मानेर खान्थे ।

कोभिड महामारीले यातायात मजदुरको काम ठप्प भयो, भक्का हिउँदबाहेक अरू बेला बिक्दैन । विकल्पको खोजीमा रहेकी कमला सामान वारपार गर्न थालिन् । प्रहरी र भन्सार छलेर सामान खोला तार्ने काम गरेबापत थोरैतिनो कमाउँथिन्, जेनतेन परिवार धानिन्थ्यो । महामारी अझै सकिएको छैन, आम नागरिकको जीवन सामान्य बनेको छैन । गुमेका रोजगारीहरू फिर्ता भइसकेका छैनन् । कमलाको धपेडी औधी बढ्यो । परिवारको खर्च उकालो लागेकाले होला, उनी बढी नै खट्न थालेकी थिइन् । दिनको तीन–चार पटक सामान ओसारपसार गर्दै थिइन् । चर्को घाम, जून नउदाएको अन्धमुष्टि रात, आरीघोप्टे झरी केही नभनी उनी वारिपारि गरिरहेकी थिइन् । एक किलो सुपारी मेचीपारि पुर्‍याएबापत भारु ३० कमाउँथिन् । एक पटकमा दस किलो पुर्‍याउन सके, नेरु ४८० हात लाग्थ्यो ।

गत असोज २ गते दिउँसो काँकरभिट्टामा ठूलो वर्षा भएको थिएन, मेची खोलाको बहाव सामान्य थियो । साँझ परेपछि कमलाले दुई पटक सुपारी बोकेर पारि पुर्‍याइन् । मेची पुलको माथिल्लो भागमा प्रहरी नभएको मौका छोपेर अन्तिम एक पटक सुपारी तार्न पाए, साबिकभन्दा बढी कमाउने आशा गरिन् । रातको एक बजिसकेको थियो । सम्भवतः पहाडी भेगमा दिउँसो वा साँझ ठूलो वर्षा भयो । साँझसम्म खासै ठूलो बहाव नभएको मेची खोला मध्यरातपछि बढ्न थाल्यो । आफ्ना दुई साथीहरूसँग दस किलो सुपारी बोकेर कमला खोलामा हेलिइन् । कसोकसो सुपारी जोगाउँदै दुई साथी खोला तरे, ह्वात्तै बढेको खोलाले कमलालाई चाहिँ भारीसहित हुत्त्याएर तल पुर्‍यायो । अरू दुईले किनाराबाट हेर्दाहेर्दै उनी बगेर कता हो कता पुगिन् । भोलिपल्ट बिहान भारतपट्टिको किनारामा उनको शव भेटियो ।

कमला बितेपछि रीत पुर्‍याएर दाहसंस्कार गर्न परिवारलाई हम्मे पर्‍यो । समाजसेवीहरू जुटे, खाद्यान्न र नगद सहयोग जुटाए, उनको अन्तिम संस्कार गरियो । कमलाले श्रम गरेर धानेको परिवारलाई अब गुजारा चलाउन कति गाह्रो होला ! एक जनाको सामान्य मजदुरीले परिवार चलाउन मुस्किल हुनेछ । सम्भवतः उनले गरिरहेको ‘काम’ अब श्रीमान्ले गर्नेछन् । वैधताको कानुनी परिभाषासँग मजदुरलाई खासै मतलब हुँदैन । अरूले ‘तस्करी’ भनेर के भो, कमलाहरूलाई यो आधारभूत आवश्यकता पूरा गर्न नगरी नहुने श्रम हो ! उनीहरू श्रमिक हुन्, कामकै दौरान दुर्घटनामा परेर उनको मृत्यु भयो । के उनको मृत्यु पनि अवैध नै हो ?

कमलाहरू जहाँ श्रम गर्छन्, त्यो काँकरभिट्टाको नेपथ्य हो । रंगमञ्चको यथार्थ यति दुःखदायी छैन, बरु उपभोगको मेला लाग्छ त्यहाँ । मेची नगरपालिकाको वडा नं. ६ मा पर्ने सीमानाकाको यो सानो बजार उपभोग मात्रको दृष्टिकोणले हेर्दा संसारका अत्याधुनिक र सुविधासम्पन्न सहरहरूभन्दा धेरै भिन्न छैन । खाने, पिउने, लगाउने, गुडाउने — उपभोगका वस्तु र सेवामा कमी छैन यहाँ । कसैले प्रविधिलाई धन्य भन्छन्, कसैले अर्थतन्त्रलाईÙ जो धन्य भए पनि, ठूला ठाउँमा पाइने र यहाँ उपलब्ध वस्तु र सेवामा धेरै फरक छैन ।

प्रायः सडक कालोपत्रे छन् जहाँ प्रशस्त निजी गाडी कुदेका छन् । सामान्य र सस्ता बाइकका तुलनामा नयाँ मोडलका अत्याधुनिक बाइककै संख्या बढी छ । संसारमा चलेका सबैजसो ब्रान्डका मोटर यहाँ देख्न पाइन्छ । प्रत्येक दिनजसो भर्खरै सोरुमबाट निकालेका, नम्बर प्लेटसम्म जडान गरिनसकिएका नयाँ कारहरू गल्लीहरूमा देखिन्छन् । नेपालपट्टिको राजमार्ग त्यति ठूलो नभए पनि एसियन हाइवेको ६ लेनको सडक बसपार्कसम्म आइपुगेको छ । त्यही एसियन हाइवेअन्तर्गत बनेको यामानको पुलमुनिबाट त्यस रात कमला बगेकी थिइन् ।

दुई क्यासिनो सञ्चालनमा छन्, केही किलोमिटरपश्चिम एउटा पाँचतारे होटल चलेको छ, स्थानीय बासिन्दाकै लगानीमा अर्को तारे होटल बन्न थालेको छ । बजार क्षेत्रमा अत्याधुनिक ‘इन्टेरियर डिजाइन’ ले सज्जित तीन ‘कफी सप’ छन्, दुई सुविधासम्पन्न जिम क्लबहरू छन् । एउटा डिस्कोथेक निर्माणाधीन छ, बियर बार बन्ने क्रममा छ । काठमान्डुमा चोकैपिच्छे खुलेका ‘बिग मार्ट’ शैलीका ग्रोसरीहरूको संख्या यहाँ दिनहुँ बढिरहेको छ । ग्राहकले घुमीघुमी खरिद गर्न मिल्ने यस्ता पसलमा दुनियाँभर प्रचलित पेय पदार्थदेखि रंगीन प्लास्टिकमा बेरिएका झकिझकाउ खाद्यान्नसम्म सबै उपलब्ध छन् ।

सञ्चारका सबै सुविधा यहाँ चलेका छन् । इन्टरनेट चलाउने स्मार्ट फोनबारे कुनै टिप्पणी आवश्यक छैन । वर्ल्डलिंक र एनटीसीका साथै स्थानीय सेवाप्रदायक कम्पनी पनि सञ्चालनमा छन् । अनलाइन सामान खरिद गर्ने उपक्रम बढेको थाहा पाउन बाइकहरूमा ठूला बाकस दोकाँधे पारेर कुदिरहेका ‘डेलिभरी ब्वाई’ हरूको संख्या हेरे पुग्छ ।

फेसबुकमा नभएका मान्छेको खास गन्ती हुँदैन यहाँ । विवाह होस् वा पुराण, दलीय राजनीति होस् वा समाजसेवा, गाडी खरिद गरेको फुइँ लगाउन होस् वा नयाँ तरिकाले कपाल कटाएको खबर सुनाउन, अथवा टिकटकमा दर्जनौं हाउभाउ पस्कन, सञ्जालहरू भरिभराउ छन् । सामाजिक भनिने विद्युतीय सञ्जालमा यतिका सक्रिय मान्छे दुनियाँका अरू सहरमा कति भेटिएलान् ? कसैले अनुसन्धानको मेसो मिलाए रोचक तथ्यहरू फेला पर्दा हुन् ।

नेपालका नाम चलेका निजी बैंकका शाखा धमाधम खुलिरहेका छन् काँकरभिट्टामा । तीनतले आफ्नै भवनको माथिल्लो तलामा ‘कर्पोरेट अफिस’ बनाएको सहकारी संस्था छ जसले यस वर्ष मात्रै ३३ करोडभन्दा बढी नाफा गरेको छ । अर्बौं मौज्दात रहेको यस सहकारीले अन्यत्र दर्जनौं शाखा विस्तार गरेको छ भने दूध डेरी र अत्याधुनिक ग्रोसरी पनि सञ्चालन गर्न थालेको छ । उपभोगको मेला लगाएर बसेको काँकरभिट्टा नेपालका सहरहरूको प्रतिनिधि हो । अन्यत्रका कथा पनि लगभग उही होलान् । कवि भूपि शेरचनको भाका सापटी लिएर भन्दा— यहाँ के छैन, सब थोक छ !

यहाँ के छैन ? यस प्रश्नको साँचो उत्तर थाहा पाउन कमला राजवंशीलाई सोध्नुपर्थ्यो । कोही कमलाको विचार किन सुनोस् ! उनको मृत्युको समाचारसम्म गतिलो ढंगले लेखिएन, प्रहरीको खेस्रा रिपोर्ट सार्नुबाहेक स्थानीय अखबारहरूले उनी को हुन् भनी खासै खोजेनन् पनि । काँकरभिट्टामा के छैन भनेर सोधेको भए नेपाली भाषामा भाका मिलाएर उनले कति भन्न सक्थिन्, थाहा छैन । सुपारीका भारी बोकेर खोला तर्ने बाध्यता बेहोर्ने कमलाहरूलाई यस्ता प्रश्नमा घोत्लिएर समय बिताउने सुविधा नै कहाँ थियो होला र ! अलि गहिरिएर सोच्यो भने, उनका अपेक्षाको सामान्य अन्दाज भने गर्न सकिन्छ ।

यहाँ उनका सन्तानले सहुलियत वा सित्तैंमा गुणस्तरीय शिक्षा आर्जन गर्ने ठाउँ छैन । त्यस्तो शिक्षालय जहाँ उनका छोराछोरीले जीवन र दुनियाँ बुझ्ने मौका पाऊन्, भाषाका सीप सिकून्, आफू को हौं भन्ने चिनून् र जिउने अदम्य उत्साह बोकेर घर फर्कून् । यहाँ त्यस्ता स्वास्थ्यकेन्द्रहरू छैनन् जहाँ उनी, उनका श्रीमान् वा छोराछोरी बिरामी परे पैसाको अतिरिक्त चिन्ता नगरी भरपर्दो उपचार गराउन पाऊन् । ती स्वास्थ्यकेन्द्रमा उनले राजवंशी लवजमा नेपाली बोल्दा कसैले नहेपोस् । नकाट्नुपर्ने आन्द्रा काटिएला भनेर भयभीत हुनु नपरोस् । केही घण्टाभित्र यति लाख जोहो गर्, नत्र ज्यान बचाउन गाह्रो हुन्छ भनेर कसैले नधम्क्याओस् ।

यहाँ त्यस्ता सरकारी/सार्वजनिक अड्डाहरू छैनन् जहाँ उनले परिचयपत्र देखाएको भरमा सहुलियतमा खानयोग्य आधारभूत रासन पाउन सकून् । अनि रासन लिन चाहिने परिचयपत्रमा छालाको रङ, भाषा वा वर्गका आधारमा कसैले झेल नगरोस् । चामल सकिएकामा, पीठो नभएकामा, तेल र भुटुन रित्तिएकामा अतिरिक्त चिन्ता गर्नु नपरोस् । सम्भवतः काँकरभिट्टामा उनले नपाएको त्यो करेसाबारी हो जहाँ दैनिक केही घण्टा श्रम गर्दा आफूलाई पुग्दो सागसब्जी उत्पादन हुन सकोस् ।

कमला राजवंशीहरूले काँकरभिट्टामा यी आधारभूत सुविधा पाउन कस्तो समृद्धि आउनुपर्छ ? अहिले क्यासिनो, डिस्कोथेक, बैंक, कर्पोरेट सहकारी र एसियन हाइवेसँगै आएको समृद्धिले किन पुगेन कमलाहरूलाई र उनीहरू दस किलो सुपारीसहित मेचीमा बग्नुपर्‍यो ? यसैबीच, देशको सबैभन्दा पुरानो र लोकतन्त्रको हिमायती हुँ भनेर दाबी गर्ने पार्टी नेपाली कांग्रेसको महाधिवेशनले काँकरभिट्टालाई पनि झ्वाप्पै छोपेको छ । जुन चोकमा हेरे पनि कांग्रेसका उम्मेदवारहरू मणिपुरे गम्छा भिरेर भोट मागिरहेका देखिन्छन् । तर, यीमध्ये कुनै उम्मेदवारले यस्ता जरुरी प्रश्नमाथि एक मिनेट पनि आफ्नो ऊर्जा खर्च गरेका छैनन् ।

प्रकाशित : आश्विन ८, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?