एउटा पार्टीको सय वर्ष- विचार - कान्तिपुर समाचार

एउटा पार्टीको सय वर्ष

गफ गरेर जनता बेवकुफ बनाउने नेपालका कम्युनिस्ट नेताहरूले काम गरेर देखाउने चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूबाट धेरै कुरा सिक्न सक्छन् ।
बुद्धिप्रसाद शर्मा

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का कडा आलोचक मानिने चिनियाँ मूलका अमेरिकी प्राध्यापक मिन्सिन फेईले हाल सालैको आफ्नो एउटा लेख एवं प्रवचनमा मानिस सय वर्ष लागेपछि मृत्युको मुखतर्फै धकेलिएजस्तै सय वर्षको राजनीतिक पार्टी पनि अवसानतर्फ लाग्ने धारणा राखेका थिए ।

तर स्थापनाको सयौं वार्षिकोत्सव मनाइरहेको सीपीसी भने विभिन्न चुनौतीका बाबजुद झनै आत्मविश्वासी, तन्दुरुस्त, स्पष्ट वैज्ञानिक दृष्टिकोण र आन्तरिक रूपमा थप एकताबद्ध हुन पुग्दा चिनियाँ नेताहरू दंग छन् भने, पश्चिमा शक्तिहरू भिन्न विचारधारा र फरक सभ्यताको भयानक ओजबाट सशंकित भएका छन् । सीपीसीले शतवार्षिकी मनाइरहँदा रोग र अभावले ग्रस्त विश्वलाई स्पष्ट दृष्टिकोण, राजनीतिक दूरदर्शिता, अनुशासन र कडा मिहिनेत हुन सकेमा जस्तै भयानक अप्ठ्याराहरूलाई पनि चिर्दै सम्पन्नता हासिल गर्न सकिन्छ भन्ने व्यावहारिक सन्देश दिएको छ । वर्तमान चीनमा अझै अनेक चुनौती छन्, तर महत्त्वपूर्ण कुरा, ती चुनौती पार गर्न सकिन्छ भन्ने उच्च आत्मविश्वास र आधार नेतृत्वसँग छ ।

छिन वंशदेखि दोस्रो विश्वयुद्धसम्म अनेक बाह्य आक्रमण बेहोरेको चीनले यतिखेर आएर ओजपूर्ण शक्तिका साथ भन्न थालेको छ— चिनियाँ जनतालाई अब कसैले दबाउन सक्नेछैन अनि चीनको इच्छाशक्ति र सामर्थ्यलाई कसैले बेवास्ता नगरे हुन्छ । गत महिना प्रकाशित सीपीसीको श्वेतपत्रमा मार्क्सवादसँगै चीनको संस्कृति, इतिहास, मुलुकको अवस्था र वर्तमानको यथार्थका आधारमा पार्टीले जनताका पक्षमा निर्णय लिने गरेको थप स्पष्ट पारिएको छ । यसै अवस्थालाई नै चिनियाँ नेताहरूले ‘चिनियाँ विशेषतासहितको समाजवाद’ वा ‘चिनियाँ माटो सुहाउँदो मार्क्सवादी प्रयोग’ भन्दै आएका छन् ।

कम्युनिस्ट विचारधारा अँगालेका चिनियाँ नेताहरू व्यक्तिगत सम्पत्ति राख्दैनन् र कुनै पनि वैचारिक प्रयोग चिनियाँ माटोविपरीत भएमा त्यसलाई हुबहु स्वीकार पनि गर्दैनन् । नेपालका कम्युनिस्टहरूको नैतिक पतनको खास कारण नै पैसाका लागि जस्तै दुष्कर्म पनि गर्न तयार हुनु र नेपाली माटो एवं संस्कृति सुहाउँदो प्रयोगबाट पूरै स्खलन हुनु हो । त्यसैले नेपालमा कम्युनिस्टहरूप्रति चरम आक्रोश बढिरहँदा, हार्वर्ड युनिभर्सिटीअन्तर्गतको एउटा थिंक ट्यांकले गरेको सर्भेमा, चिनियाँ कम्युनिस्ट पार्टीप्रति ९३ प्रतिशत चिनियाँ जनताको सन्तुष्टि रहेको देखिएको छ ।

चीनको थियानचिन विश्वविद्यालयको स्कुल अफ मार्क्सवादका डिन प्राध्यापक छोन यीका अनुसार, सीपीसीले आर्थिक रूपमा पश्चिमाभन्दा फरक चीनका लागि उपयुक्त मोडल अपनाएका कारण यो ऐतिहासिक उपलब्धि हासिल भएको हो । चीनको मोडल अरूका लागि उपयुक्त हुन सक्छ भन्न त सकिँदैन तर चीनको प्रयोग र अनुभवबाट निश्चित रूपमा धेरै जानकारी हुन्छ भन्ने प्राध्यापक यीको टिप्पणी छ । सन् १९८७ मा सम्पन्न सीपीसीको तेह्रौं नेसनल कंग्रेसले तीन तहको विकास रणनीति प्रस्ताव गरेको थियो, जसमा पहिलो सन् १९९० सम्म विद्यमान ग्रस नेसनल प्रोडक्ट (जीएनपी) लाई दोब्बर गर्ने, त्यस्तै शताब्दीको अन्त्यसम्म पुनः दोब्बर गर्ने र अन्तिममा एक्काइसौं शताब्दीको मध्यसम्म प्रतिव्यक्ति जीएनपीलाई आधारभूत रूपमा विकसित मुलुकको अवस्थामा पुर्‍याउने लक्ष्य थिए ।

त्यस्तै, चीनबारे विश्लेषण हुँदा धेरै चर्चा हुने गरेको दुई शताब्दी लक्ष्यअनुसार पहिलो शताब्दी लक्ष्य ‘आधारभूत रूपमा समृद्ध समाज’ निर्माण गर्ने सपना पूरा भएको चिनियाँ राष्ट्रपतिले औपचारिक घोषणा गरेका छन्, साथै दोस्रो शताब्दी लक्ष्य सन् २०४९ सम्म पूरा हुने चिनियाँ नेतृत्वले अठोट लिएको छ । चिनियाँ एवं विदेशी अध्येताहरूले समेत चीनका सन्दर्भमा पटकपटक उल्लेख गर्ने आधरभूत रूपमा समृद्ध समाज अर्थात् चिनियाँ भाषामा ‘सियाओखाङ’ को अवधारणा २,५०० वर्षअगाडिको एउटा कविताबाट लिइएको हो । यसको खास चिनियाँ अर्थ हुन्छ— शान्तिपूर्ण र सुखी जीवन । चीन अहिले यही बाटामा छ ।

सीपीसी नेतृत्वले आधुनिक चीनको निर्माणका निम्ति विभिन्न प्रयोग गर्ने क्रममा कठिन चुनौतीहरूको सामना नगरेको होइन । ‘ग्रेट लिप फरवार्ड’ को असफलता, सन् १९५० को दशकका भयानक प्राकृतिक विपत्तिहरू, सोभियत युनियन र भियतनामसँगको युद्ध, विध्वंसकारी सांस्कृतिक क्रान्ति जसबाट नेता तङ सियाओफिङ स्वयं प्रताडित हुनुपरेको थियो । यीलगायतका कठिन अवस्थाबाट गुज्रिँदै र पाठ सिक्दै चीनले सन् १९७८ मा सम्पन्न सीपीसीको एघारौं केन्द्रीय समितिको तेस्रो बैठकबाट ‘सुधार र खुलापन’ को वैज्ञानिक योजना अख्तियार गर्दै आर्थिक निर्माण अभियानको वर्तमान अवस्थाको यात्रा तय गरेको थियो । यो अभियान सीपीसी नेतृत्वले भनेअनुसार चिनियाँ विशेषतासहितको विकास मोडल हुन पुग्दा चालीस वर्षभित्र चीन दोस्रो अर्थतन्त्र मात्र बनेन, बाह्य लगानी भित्र्याउनेमा पहिलो, क्रयशक्ति समताका आधारमा पहिलो र धेरै देशसँग पहिलो निर्यातकर्तासमेत बन्यो ।

विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले सन् २०२८ सम्म चीन पहिलो अर्थतन्त्र बन्न सक्ने प्रक्षेपण गरेका छन् । आर्थिक सुधार सुरु गर्दाताका सन् १९८० मा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) जम्मा १९१ अर्ब डलर थियो भने प्रतिव्यक्ति आम्दानी जम्मा १९५ डलर । यो भनेको विश्वकै गरिब मुलुकमध्येको एक भएको अवस्था थियो । तर चालीस वर्षपछि सन् २०१९ को तथ्यांकअनुसार, जीडीपी १४ दशलमलव ३ ट्रिलिएन डलर पुग्यो भने प्रतिव्यक्ति आम्दानी १० हजार २ सय ६१ डलर । पेकिङ विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक काओ हफिङको भनाइमा, मुख्य कुरा के हो भने चिनियाँ जनताले यतिखेर जस्तो जीवनस्तर जिउन सकेका छन्, यो आजभन्दा चालीस वर्षअगाडि कल्पनासम्म गर्न सकिँदैनथ्यो ।

विश्वकै पहिलो जनसंख्या चीनमा अझै विविध चुनौती कायमै छन् । आर्थिक असमानता, सहर र गाउँबीचको गहिरो खाडल, सबैका लागि उचित शिक्षा र स्वास्थ्य, वातावरणका मुद्दाहरू चिनियाँ नेताहरूका लागि अद्यापि टाउकोदुखाइका विषय हुन् । ‘वासिङ्टन क्बाटर्ली’ मा प्रकाशित लेखमा स्कट रोजेली र म्याथ्यु बोसवेलले आर्थिक असमानता र धनी–गरिबबीचको खाडल पुर्न नसके चीनले विषम अवस्थाको सामना गर्नुपर्ने र चीन उच्च आयस्रोत भएका मुलुकहरूको सूचीमा अट्न नसक्ने चेतावनी दिएका छन् । ‘मिडिल इन्कम ट्र्याप’ बाट जोगिन चीनले सुविचारित मोर्चा कस्नुपर्ने अर्थशास्त्रीहरूको सुझाव छ । आधुनिक चीनमा धनी र गरिबबीच बढ्दो खाडल, सहर र गाउँबीचको व्यापक असमानतालाई चिनियाँ राष्ट्रपतिले पटकपटक उल्लेख गर्दै यो अवस्था सम्बोधन गर्न नसके पार्टीले भविष्यमा भयानक अवस्था सामना गर्नुपर्नेतर्फ सचेत गराउँदै आएका छन् । पार्टी नेतृत्वमा आएपछिको पहिलो बैठकमा महासचिव सीले भ्रष्टाचार, जनतासँग कार्यकर्ताको दूरी, भद्दा औपचारिकतावाद र प्रशासनतन्त्रजस्ता संगीन विषयमा कडा कदम चाल्न सकिए मात्र पार्टी खास रूपमा सुदृढ हुने र जनविश्वास उच्च हुने बताएका थिए । नेता सी सत्तामा आएपछि भ्रष्टाचारविरुद्ध चालिएको देशव्यापी कडा कदम र जनतासँग कार्यकताको निकटतम साक्षात्कारले पनि उनीप्रति चीनमा लोकप्रियता बढेको यस पंक्तिकारले धेरै चिनियाँबाट सुन्दै आएको छ ।

स्थापनाका केही वर्ष अलि कमजोर र दिशाहीनजस्तो भएको सीपीसीले सन् १९३५ को चुन्ही सम्मेलनबाट माओ सैन्य प्रमुखका रूपमा आएपछि तीव्रता लिएको थियो । सन् १९४९ पछि माओले समाजवादको विकासका लागि भन्दै विभिन्न प्रयोग गरे पनि यथोचित उपलब्धि हासिल गर्न सकेका थिएनन् । तर पनि माओ चीनले अमेरिकालाई एक दिन पक्कै उछिन्छ भन्नेमा विश्वस्त थिए र आफ्ना कमरेडहरूलाई बारम्बार यो कुरा भनिरहन्थे पनि । माओको मृत्युपश्चात् दोस्रो पुस्ताले पहिलेका उपलब्धिहरू अंगीकार गर्दै र विगतमा भएका गल्तीहरू सच्याउँदै नयाँ गन्तव्य तय गरेको थियो । सन् १९८१ मा सम्पन्न सीपीसीको एघारौं केन्द्रीय समितिको छैटौं बैठकले एउटा प्रस्ताव पारित गर्दै विध्वंसात्मक सांस्कृतिक क्रान्ति र यसको आदर्शलाई अस्वीकार गर्‍यो, साथै पार्टीको वैचारिक एवं सांगठनिक विकासका लागि माओ विचारधारालाई मार्गदर्शक सिद्धान्तका लागि अनुसरण गर्ने निर्णय पनि गर्‍यो । त्यो समयमा सबैसँग अत्यन्त नरम र विनम्रतापूर्वक प्रस्तुत हुने नेता तङले छोटो समयमै अन्तर्राष्ट्रिय समर्थन र साथ जुटाएका थिए ।

नेपाली कम्युनिस्टहरू पदमा पुगिसकेपछि जनता बिर्सिन्छन्, लोभीपापी केही कार्यकर्ता र बिचौलिया–व्यापारी भए पुग्छ उनीहरूलाई । तर चीनमा यस पंक्तिकारले देखेको यथार्थ के छ भने, जनता र पार्टीबीचको सम्बन्धलाई नङ र मासुको जसरी लिइन्छ, हर पल जनताको समस्या र आवश्यकता के छ, त्यसमा पार्टीका कार्यकर्ताहरू लागिरहन्छन् । चीनमा कोभिड–१९ नियन्त्रणमा प्राप्त सफलतामा पार्टीका कार्यकर्ताहरूको अनवरत जनसेवा र कठोर योगदानलाई पनि उत्तिकै महत्त्व दिइन्छ । सीपीसीका कार्यकर्ताहरू भन्छन्— हामीलाई दैनिक स्थानीय नेताहरूबाट जनताको काममा खट्न निर्देशन आइरहेको हुन्छ र हरपल जनकेन्द्रित भएर हामी कार्यक्षेत्रमा खटेका हुन्छौं ।

तीव्र विकासका कारण यति बेला चीन विश्वचर्चामा छ । यद्यपि चीनवारे अझै पनि पश्चिमा जगत् भ्रममा छ भन्छन् प्राध्यापकहरू राना मित्तर र इल्सवेथ जोन्सन । पश्चिमले उदार अर्थतन्त्र र लोकतन्त्र एकै सिक्काका दुई पाटा हुन्, लोकतन्त्रबाहेक अन्य राजनीतिक प्रणालीहरू जनअनुमोदित हुन सक्दैनन् र आधुनिक चीनका जनताले पश्चिमाको जस्तै रहनसहन, तौरतरिका र पद्धति अनुसरण गर्नेछन् भन्ने चरम भ्रममा रहिरहँदा चीनलाई खास रूपमा बुझेर गतिलोसँग डिल गर्ने मौका गुमाएको प्राध्यापकद्वयको निष्कर्ष छ । वास्तवमा चीनले सबैजसो समृद्ध मुलुकहरूबाट सिकेर आफ्नो माटो सुहाउँदो प्रयोग गरेको हो । अरू त के कुरा, बुद्ध धर्मबारे चीनमा भइरहेको अभ्याससमेत अरूको भन्दा भिन्न छ भन्छन् चिनियाँहरू । कम बोलेर अरूलाई कुराकानीको विषयवस्तु दिइरहने र धेरै कुराको जानकारी लिने चिनियाँ तरिकाबाट यो पंक्तिकार पनि चकित हुँदै आएको छ । चिनियाँको यो तरिका नबुझेका कतिपय विदेशी विज्ञहरूले चिनियाँहरूलाई पढाएर आएँ भन्दै अहंकार देखाएको यो पंक्तिकारले धेरै पटक देखेको छ ।

चीनभित्र पनि यति बेला पूर्व अगाडि बढिरहेको छ भन्ने लगभग साझा अवधारणा पाइन्छ । पूर्व भनेर मुख्यतः चीनको समृद्धि र यसको रफ्तारलाई नै इंगित गर्न खोजिएको हो । साँच्चिकै यतिखेर विश्वको समय चीनको पक्षमा देखिन्छ । जस्तै चुनौतीका बीच पनि चीन अबका केही दशक अगाडि नै बढिरहनेछ । कुनै बेला नेता तङले प्रान्तीय नेताहरूलाई प्रोत्साहन गर्दै भन्थे— अब पछाडि पर्नेले इतिहासको चुटाइ भेट्छÙ अब पनि विज्ञान, प्रविधि र आधुनिक शिक्षालाई अनुसरण गर्नुको अर्को विकल्प छैन । यो बाटामा चीन हिँडेको पनि देखिन्छ । पार्टी महासचिव सीले आफ्ना कार्यकर्ताहरूलाई हरपल जनतासँग नजिक रहेर काम गर्न निर्देशन दिइरहेका छन् ।

चीनमा बसेर सीपीसी स्थापनाको शतवार्षिकी नियालिरहँदा यो पार्टीमा व्याप्त उत्कट ऊर्जा, आत्मविश्वास, सामाजिक चेत, वैज्ञानिक दृष्टिकोण र कठोर मिहिनेत गरेर काम फत्ते गर्न सक्ने जबर्जस्त सामर्थ्य देखेर यो पार्टी अझै पनि जवान नै छ कि भन्ने भान पर्छ । पक्कै पनि यसको तन र मनमा शंका गर्नुपर्ने ठाउँ छैन । काम गरेर देखाउने सीपीसीका नेताहरूबाट गफ गरेर जनता बेवकुफ बनाउने नेपालका कम्युनिस्ट नेताहरूले धेरै कुरा सिक्न सक्छन् । आर्थिक–सामाजिक गहन रूपान्तरणका लागि चिनियाँ नेताहरूले जस्तै मिहिनेत गर्न नेपालमा पनि नसकिने होइन । यसका लागि त्याग, समर्पण, स्वच्छता र व्यावहारिक तथा वैज्ञानिक दृष्टिकोणचाहिँ निश्चित रूपमा आवश्यक पर्छ ।

(शर्मा चीनको सिचुवान प्रान्तस्थित लसान नर्मल विश्वविद्यालयका सहप्राध्यापक र सेन्टर फर ट्रान्स हिमालय स्टडिजका सिनियर रिसर्च फेलो हुन् ।)

प्रकाशित : असार २१, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्

अनलाइन कक्षा र आन्तरिक मूल्याङ्कन

वैकल्पिक माध्यमका नाममा अहिले प्रत्यक्ष उपस्थितिमा जस्तै दस बजेदेखि चार बजेसम्मको समयतालिका बनाइएको छ, त्यो व्यावहारिक देखिँदैन ।
साधना प्रतीक्षा

केही समयअघि भेट भएका एक परिचितलाई उनका छोराको पढाइबारे प्रश्न गर्दा उनको जवाफ थियो, ‘जाँचै नदिई एसईई पास गरेको, त्यो पनि ए प्लस ल्याएर, चानचुने कलेजमा पढ्दिनँ भन्यो । ए प्लस ल्याएकोलाई साइन्स नपढाई पनि त भएन । अहिले भने घाँडो पो भएको छ । जाँचै नदिई पास भएजस्तो सजिलो पढ्न त कहाँ हुन्थ्यो र ? बहिनीचाहिँ पनि जाँच दिन पर्दैन क्यारे भनेर अहिलेदेखि नै फुरुङ्ग छ । पढाइ भने जिरो... !’

यस्तैयस्तै दुखेसो पोखेर उनी अलग्गिए । अहिले अधिकांश अभिभावक यस्तै दुखेसो गर्न बाध्य भएका छन् । गत वर्ष महामारीका कारण एसईई परीक्षा सञ्चालन गर्न नसकिने अवस्थामा सरकारले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थी उत्तीर्ण गराउने निर्णय गरेको थियो । सोही आधारमा विद्यालयहरू आफ्ना विद्यार्थीहरूलाई अधिमूल्याङ्कन गरी राम्रो ग्रेड दिन पछि परेनन् । यसले विद्यालयको ख्याति बढे पनि, विद्यार्थीहरू खुसी भए पनि अधिकांश विद्यार्थीको सो खुसी दीर्घकालीन बन्न भने सकिरहेको छैन । राम्रो ग्रेड ल्याउनेले सकेसम्म विज्ञान–प्रविधि विषय लिनैपर्ने परम्परामा उनीहरू अहिले नराम्ररी अल्झिरहेका देखिन्छन् ।

निश्चित मापदण्डका आधारमा ग्रेडिङ गरिएको भनिए पनि ती मापदण्ड र आधारहरू केवल हात्तीको दाँतजस्ता देखिए । किनभने, विद्यालयहरूमा कसले राम्रो ग्रेडिङमा धेरै विद्यार्थी उत्तीर्ण गराउने भन्ने प्रतिस्पर्धा थियो । त्यसैले आफ्ना विद्यार्थीको रुचि र क्षमताका आधारमा ग्रेड निर्धारण गरी उनीहरूलाई उपयुक्त विषय रोज्ने अवसर दिन विद्यालयहरू चुके । यसरी देखावटी मापदण्डका आधारमा गरिएको मूल्याङ्कनका कारण विद्यार्थीका लागि फलामे ढोका मानिएको एसईई परीक्षाको स्तर खस्किएको छ । साथै यसले विद्यार्थीको भविष्यमा समेत नकारात्मक असर पुर्‍याउने देखिन्छ ।

कोभिडको दोस्रो लहरका कारण अहिले पुनः सोही प्रक्रिया दोहोर्‍याउनुको विकल्प छैन । गत वर्षको परीक्षाफल र त्यसबाट विद्यार्थी वर्गमा देखिएको प्रभावको सही आकलनबिना यस पटक पनि हचुवाका भरमा एसईईको औपचारिकता पूरा गर्नु मूर्खताबाहेक केही हुनेछैन । विद्यार्थीको समग्र क्षमताका आधारमा नभएर विभिन्न प्रभाव तथा विद्यालयको ख्यातिका लागि गरिने मूल्याङ्कनका कारण बढी क्षमतावान् विद्यार्थी पछाडि तथा कम क्षमतावान् विद्यार्थी अगाडि देखिन पनि सक्छन् ।

यसबाट राम्रा विद्यार्थीले चाहेको विषय अध्ययनको अवसर नपाउने र उनीहरू नैराश्यको सिकार हुने सम्भावना रहन्छ । अर्कातिर, अधिमूल्याङ्कन गरिएका विद्यार्थीहरू पनि अगाडिको पढाइलाई राम्ररी निरन्तरता दिन नसकी उही नैराश्यबोध गर्न पुग्छन् । त्यसैले एसईईजस्तो परीक्षामा निष्पक्ष तथा उपयुक्त मूल्याङ्कन पद्धतिका लागि सोही प्रकारको संयन्त्र निमार्णको पनि आवश्यकता देखिन्छ । शैक्षिक सत्रको समाप्ति तथा परीक्षाको मुखैमा आएर यस्तो निर्णय गरिनु पनि आफैंमा उपयुक्त देखिएको छैन । महामारी सम्बन्धमा विज्ञहरूका धारणा तथा यसको अन्त्यको सम्भावना हेरेर शैक्षिक सत्रको आरम्भदेखि नै कक्षा दसका विद्यार्थीहरूको मूल्याङ्कन आरम्भ गरिनु उपयुक्त हुने थियो । यसका साथै उसको समग्र क्षमता तथा सबै परीक्षामा उसले प्राप्त गरेको अंकका आधारमा ग्रेड तोकिने व्यवस्था भएमा मात्र परीक्षाफल प्रभावकारी हुने थियो । यसतर्फ सम्बन्धित निकाय संवेदनशील हुनैपर्छ ।

यसै गरी हाल सञ्चालन भइरहेको अनलाइन कक्षा पनि ‘बिरालो बाँध्ने परम्परा’ नै बनिरहेको छ । यसले लाखौं बालबालिकाको भविष्य उजिल्याउनुको साटो उनीहरूलाई अन्योलतर्फ धकेलिदिन पनि सक्छ । विशेष गरी निजी विद्यालायहरूले शुल्क असुलीका लागि अहिले जसरी सरकारले तोकेको मितिअगावै कक्षा सञ्चालन गरिरहेका छन्, त्यो प्रभावकारी देखिएको छैन । निषेधाज्ञाको अवस्था, अत्यावश्यकबाहेकका पसल नखुल्नु, शैक्षिक सामग्रीको सहज उपलब्धता नहुनु आदिका बीचमा अनलाइन कक्षा सञ्चालन कति प्रभावकारी होला ?

त्यसै पनि हामीकहाँ प्रविधिको सहज उपलब्धता तथा त्यसको प्रशस्त अभ्यास हुन सकेको छैन । प्रविधिका माध्यमबाट हुने तथा कक्षामा प्रत्यक्ष उपस्थितिमा गरिने पठनपाठनमा भिन्नता हुन्छ । वैकल्पिक माध्यमका नाममा अहिले प्रत्यक्ष उपस्थितिमा जस्तै दस बजेदेखि चार बजेसम्मको समयतालिका बनाइएको छ, त्यो व्यावहारिक देखिँदैन । यति लामो समय कोठाभित्र एकै स्थानमा डिभाइस चलाएर बस्नु बालबालिकाको स्वास्थ्यका दृष्टिले समेत उपयुक्त देखिँदैन । यसले उनीहरूका आँखा तथा मानसिकतामा समेत नकारात्मक प्रभाव पार्न सक्छ । हालको यस्तो पठनपाठनमा बालबालिका प्रायः निष्क्रिय र शिक्षक मात्र सक्रिय देखिन्छन् । निजी विद्यालय प्रशासनको अनावश्यक दबाबका कारण हाल शिक्षक तथा विद्यार्थी दुवैलाई मानसिक बोझ थपिएको छ । यति लामो समयको कक्षापश्चात् प्रत्येक दिनको गृहकार्य पनि प्रविधिकै माध्यमबाट गर्नुपर्ने हुँदा दुवैथरीले असहजता महसुस गरिरहेका छन् ।

अनलाइन कक्षाको अर्को समस्या, विद्यालयहरूले प्रयोग गरिरहेको जुमजस्तो निःशुल्क माध्यमका कारण कक्षामा अनावश्यक व्यक्तिको प्रवेश तथा अनेक प्रकारका व्यवधान हुने गरेका छन् । यसले पढाइमा बाधा पुर्‍याएको देखिन्छ । यसै गरी, सबै ठाउँमा इन्टरनेटको सुविधा प्रभावकारी छैन । महँगो नेट तथा त्यस्तै डिभाइसहरू प्रयोग गर्न नसक्नेहरूका लागि त पठनपाठन केवल औपचारिकता बनिरहेको देखिन्छ । जुन प्रकारले पठनपाठन भइरहेको छ, विद्यार्थीको मूल्याङ्कन पनि सोही आधारमा हुनुपर्नेमा सो पनि भएको देखिँदैन । कहिले अनलाइन तथा कहिले विद्यालयको पठनपाठन र परीक्षाका कारण गत शैक्षिक सत्रमा विद्यार्थीको मूल्याङ्कन प्रभावकारी भएको पाइएन ।

महामारी एकपछि अर्को धार गरी आइरहेको अवस्थामा, पाठ्यपुस्तकको सहज उपलब्धता नभएको परिस्थितिमा र वैकल्पिक माध्यमबाट पठनपाठन गर्नुपर्ने बाध्यकारी परिवेशमा उही पुरानो र सम्पूर्ण पाठ्यक्रमभन्दा महत्त्वपूर्ण विषयवस्तु निर्धारण गरेर विद्यार्थीकेन्द्री पनि हुने गरी सम्पूर्ण शैक्षिक सत्र नै वैकल्पिक रूपमा लाने गरी शैक्षिक कार्यक्रम ल्याइनुपर्ने थियो तर त्यसो हुन सकेन । जसरी हुन्छ कक्षा सञ्चालन गर्ने, विद्यार्थी भर्ना गर्ने, विद्यालयले शुल्क असुली गर्ने, सरकारले तिनबाट राजस्व उठाउनेबाहेक अन्य पक्षतर्फ यति लामो समयसम्म पनि ध्यान गएको पाइएन । आफ्ना बालबालिका ढोका थुनेर दिनभर मोबाइल र ल्यापटपमा बसेको देख्दा अभिभावक पनि मक्ख परिरहेका छौं । किनभने, उनीहरूले के पढिरहेका छन् के गरिरहेका छन् भनेर बुझ्न सक्ने क्षमता हामीमध्ये धेरैमा नहुन सक्छ ।

पढाइ भनेको दस कक्षा वा एघार–बाह्र कक्षा मात्र नभएर त्यसपछि पनि अझ धेरै हो भन्ने कुरा विद्यार्थीको मूल्याङ्कनका सन्दर्भमा विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थी स्वयम्ले समेत बुझ्नुपर्ने हुन्छ । अहिले मुलुकको राजनीति दिशाविहीन भए पनि शैक्षिक क्षेत्र त्यसमा अलमलिनु हुँदैन र शैक्षिक निकाय एवम् शिक्षाविद्हरूले बेलैमा सचेत भएर वर्तमान विषम परिस्थितिमा बालबालिकाको भविष्यतर्फ संवेदनशीलताका साथ वैकल्पिक कक्षाहरूलाई कसरी बढीभन्दा बढी प्रभावकारी बनाउने भन्नेमा ध्यान दिनु आवश्यक देखिन्छ ।

हुन त हरेक पटक ‘नयाँ’ का नाममा ‘पुरानै’ लाई तोडमोड गरी पाठ्यक्रम बनाउने, पाठ्यपुस्तकमा सकेसम्म आफ्नाहरूका सामग्री मात्र समावेश गराउने, मूल्याङ्कन गर्ने निकायहरूमा समेत पाएसम्म आफ्नैलाई मात्रै छिराउने हाम्रा कथित शैक्षिक एवम् प्राज्ञिक वर्गहरूबाट धेरै आशा गर्ने ठाउँ त छैन । आसन्न विपत्को परिवेशमा त्यसै पनि मानसिक रूपले असहजपन खेपिरहेका विद्यार्थीहरूलाई अस्पष्ट शैक्षिक गतिविधिले झनै असन्तुलित बनाएको छ । त्यसैले शैक्षिक क्षेत्रमा देखिएको अस्पष्टता र असहजताप्रति सम्बन्धित निकाय बेलैमा सचेत हुनुपर्छ । अन्यथा असंख्य बालबालिकाको भविष्य पनि यसरी नै अन्योलग्रस्त हुनेछ ।

प्रकाशित : असार २१, २०७८ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×