जात व्यवस्था : कोठादेखि चोटासम्म

बहुसंख्यक मानिस कडा वा नरम भाषामा, सिद्धान्तको जलप लगाएर वा काइते तर्क अघि सारेर पीडितविरुद्ध उभिन्छन् । उनीहरूले खास्टोचाहिँ प्राय: सदाचार र सामाजिक सद्भावको ओढेका हुन्छन् ।
आहुति

जात व्यवस्था र पितृसत्ता आजको नेपाली समाजमा यसरी उपस्थित हुन पुगेका छन्, ती विषयमा कुनै व्यक्तिले कस्तो धारणा र व्यवहार प्रकट गर्दछ भन्ने कुराले व्यक्ति न्यूनतम रूपमा पनि प्रगतिशील छ कि छैन भन्ने टुंगो हुन पुग्दछ ।

जात व्यवस्था : कोठादेखि चोटासम्म

जात व्यवस्थासँग सम्बन्धित छुवाछुत, भेदभावलगायतका उत्पीडन अनि पितृसत्ताले जन्माउने महिला उत्पीडनका हर्कतहरू कहिलेकाहिँ प्रकट हुने समस्या हुन्थे भने विषय फुर्सदिलो पनि हुँदो हो तर समाज शिरदेखि पाउसम्म यी समस्याबाट ग्रस्त भएकाले हरेक दिन यी समस्याहरू प्रकट भइरहन्छन् । कुनै प्रकाशमा आउँछन् त कुनै छोपछाप पारिन्छन्, कुरा त्यति मात्र हो । कुनै महिलामाथि पितृसत्तावादी अन्याय होस् या दलितमाथि जात व्यवस्थाजन्य भेदभाव, समाज तुरुन्तै दुई खेमामा तीव्र रूपमा विभक्त हुन्छ । बहुसंख्यक मानिस कडा वा नरम भाषामा, सिद्धान्तको जलप लगाएर वा काइते तर्क अघि सारेर पीडितविरुद्ध उभिन्छन् । उनीहरूले खास्टोचाहिँ प्राय: सदाचार र सामाजिक सद्भावको ओढेका हुन्छन् । एक हूल थोरै मान्छे मात्र पीडितको पक्षमा उभिन्छन् । न्यायको विषयमा लामालामा भाषण दिन सधैं अगाडि आउने एक हूल बुद्धिजीवी यस्तो समयमा यसरी मौन बस्छन् मानौं उनीहरूको तोते बोली पनि कहिले फुटेकै थिएन । पितृसत्तात्मक वा जात व्यवस्थाजन्य अत्याचारलाई कोठाभित्रै वा बस्तीमै थिचथाच पार्न सक्दा र पीडितको मुखमा ताल्चा मार्न सक्दा त सब ‘ठीकठाक’ हुन्छ तर पीडित ऐय्या भनेर चिच्याउन जब तम्सिन्छ, त्यसपछि भने व्यक्तिका कोठादेखि राज्यको चोटासम्म सबै ह्वात्तै तानिन्छन् । अन्तत: यस्ता मुद्दाहरूमा राज्य सबैभन्दा डरलाग्दो गरी नांगिन पुग्छ । वर्षौंदेखि यही सिलसिला चल्दै छ ।

यसै परिप्रेक्ष्यमा बितेको हप्ता सञ्चारकर्मी तथा कलाकार रूपा सुनारलाई जातका कारण भाडामा कोठा नदिएको मुद्दा चर्चित बन्यो । जब उनले भेदभावविरुद्ध कोठा नदिने सरस्वती प्रधानमाथि मुद्दा हालिन्, उनीमाथि लाञ्छनाको वर्षा नै भयो । जमाना सामाजिक सञ्जालको भएकाले त्यहीँ बढी प्रकट भयो । समाजका विभिन्न क्षेत्रका नामवाला व्यक्तिहरूका समेत टिप्पणीहरू हेर्दा उदेक लाग्ने स्थिति उत्पन्न भयो । पूर्वसचिव भीम उपाध्यायले पीडितलाई तथानाम उल्लीबिल्ली लगाए, पूर्व त्रिवि रजिस्टार सुधा त्रिपाठीले ‘दलितको दादागिरी’ बताइन्, नेपालपाना नामक अनलाइनले बिनातथ्य रूपाले डेढ करोड रुपैयाँ खाएको समाचार प्रसार गर्‍यो । जलस्रोतविज्ञ रत्नसंसार श्रेष्ठ र कलाकार मनीषा कोइरालाले त्यसलाई प्रचार गरे । नेवा: दे दवु नामको संगठनको काठमाडौं जिल्ला समितिले पीडितविरुद्ध वक्तव्य जारी गर्‍यो । अन्तत: सरकारवादी मुद्दाको अभियुक्तलाई सरकारकै शिक्षामन्त्रीले छुटाई आफ्नै गाडीमा राखेर घरसम्म पुर्‍याए । विगतमा जस्तै यो प्रकरणमा पनि खुसीको कुरा के छ भने, एकाधबाहेक सबैजसो जिम्मेवार सञ्चारमाध्यमले उत्पीडनविरुद्ध दृढतापूर्वक वकालत गरे भने गैरदलित युवा–प्रौढको गतिलो हिस्सा विश्वासयुक्त ढंगले न्यायका पक्षमा उभियो । बितेको एक वर्षमा जति दलितको हत्या भएको छ, त्योभन्दा बढी संख्यामा महिलामाथि बलात्कार र हत्या भएको छ । ती सबको तुलनामा रूपा सुनार र सरस्वती प्रधानको घटना साधारण हो तर त्यसमा प्रकट भएका विभिन्न मत, गतिविधि र राज्यको रबैया भने निकै घातक छ । त्यसैले यस प्रकरणसँग सम्बन्धित केही विषयमा गम्भीर विमर्श जरुरी हुन पुगेको छ ।

रूपा सुनार को हुन् ?

रूपा सुनार एक गायक, इमेज टेलिभिजनकी कार्यक्रम प्रस्तोता र सञ्चारकर्मी हुन् । साथै उनी जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल नामक संगठनकी युवा नेता पनि हुन् । उनी त्यही युवा हुन् जो सधैं न्यायपूर्ण आन्दोलनमा छिन् । गैरसरकारी संस्थामा उनको कहिल्यै संलग्नता छैन । एउटा महिला क्रान्तिकारीमाथि महिला भएकै कारण अन्याय भयो भने त्यसविरुद्ध न्यायका निम्ति बोल्छे कि बोल्दिन ? जात व्यवस्था उन्मूलन गर्न संगठित कार्यकर्ता रूपा आफैंमाथि जातका आधारमा विभेद भएपछि चुप लागेर कसरी बस्न सक्थिन् ? उनले प्रचलित कानुनको शान्तिपूर्ण उपायद्वारा न्याय खोज्नुलाई कुनै विवेकशील मानिसले गलत भन्न मिल्छ ? पारदर्शी ढंगले सिंगो राज्य गुहार्नु पनि षड्यन्त्र हुन्छ कतै ? सरस्वती प्रधानको बयान सुन्दा उनको स्वभाव दमनकारी लाग्दैन र छलकपट गर्न जान्ने पनि लाग्दैन । उनी लगातार भनिरहेकी छन्, ‘कामी भनेपछि म झस्केँ, सल्लाह गरेपछि दिन सक्तिन भनें ।’ जति सल्लाह गरे पनि खास जातको कारणले कोठा दिन्न भन्नु आजको संविधान र कानुनअनुसार गम्भीर अपराध हो भन्ने उनलाई ज्ञान नभएको हुन सक्छ । जस्तो घरसल्लाह गरे पनि, ‘तिमी नेवार वा मधेसी वा कालो भएकाले कोठा दिन्न’ भन्नु आजको कानुनमुताविक अपराध हुन्छ भन्ने कुरा समाजका निम्ति काम गर्छु भन्नेहरूले पनि नबुझ्ने कुरा हो र ? कानुन नबुझी वा नयाँ प्रगतिशील चेतनामा पुग्न नसकेकाबाट अपराध हुन्छ भने कानुन बुझाउँदै र सजायमार्फत चेतना अभिवृद्धि गर्दै पो जानुपर्ने हुन्छ, अपराध नै भएको छैन भनेर कसरी समाधान हुन्छ ? भलै सरस्वती प्रधान र उनको परिवारले आजको कानुनी व्यवस्था नबुझेरै होस्, अपराध त भएकै हो भन्न कुनै कोणबाट पनि हिच्किचाउनुपर्ने अवस्था देखिन्न । अपराधको प्रकृति र कुन स्तरको हो भन्ने विषय भने बेग्लै हो ।

यहाँ अर्को विषय पनि सँगसँगै स्पष्ट हुनु जरुरी छ । त्यो के भने, रूपा सुनार र सरस्वती प्रधानको परिवारबीचको अन्तर्विरोध अथवा समस्या सामाजिक रूपमा शत्रुतापूर्ण हो कि मित्रतापूर्ण हो ? नि:सन्देह यो अन्तरविरोध आधारभूत रूपमा मित्रतापूर्ण नै हो किनभने दुवै पितृसत्तावादबाट पीडित महिला हुन् र दलित एवं नेवार दुवै नै पहाडिया हिन्दु उच्चजातीय अहंकारवादमा आधारित राज्यद्वारा उत्पीडनमा परेका समुदाय हुन् । यस अर्थमा यो मामिला एउटा उत्पीडित र अर्को उत्पीडितका बीचको समस्या हो तर जात व्यवस्था यस्तो संरचना र वैचारिकी हो जसले उत्पीडितहरूको बीचमै आधारभूत मानवअधिकार नै उल्लंघन हुने स्तरमा भेदभाव र फुट सिर्जना गर्दछ । त्यसैले आम रूपमा उत्पीडितहरूको बीचको समस्या समाधान गर्न आलोचना आत्मालोचना गर्दै गल्तीलाई सच्याउने प्रक्रिया नै अवलम्बन गरिने भए पनि जात व्यवस्थाजन्य अत्याचारले सामान्य मानव अधिकारसमेत उल्लंघन हुने भएकाले उत्पीडितहरूबीचकै समस्या भए पनि त्यसमध्येको उत्पीडक पक्षले आवश्यकताअनुसार सजायलाई स्वीकार गर्नुपर्ने हुन्छ । जसरी गरिब परिवारका लोग्नेस्वास्नी दुवै वर्गीय रूपमा उत्पीडित भए पनि पुरुषले महिलामाथि गर्ने अत्याचारलाई उत्पीडित परिवारभित्रको भनेर छुट दिन कदापि मिल्दैन । जात व्यवस्था र पितृसत्तावादी समाजमा उत्पीडितहरूबीच हुने समस्यालाई समाधान गर्न यो बाटो नलिने हो भने उत्पीडितहरूबीचको दीर्घकालीन एकता असम्भव बन्न जान्छ, उत्पीडितहरूभित्रै रहेको खराब चीजबाट रूपान्तरण पनि सम्भव हुन सक्दैन ।

नेवार र दलितबीचको सम्बन्ध

नेवार आफैंभित्र जात व्यवस्था भएको एउटा राष्ट्र (नेसन) हो । लिच्छविकालबाट सुरु भएर जयस्थिति मल्लले लादेको जात व्यवस्था आज नेवारभित्र छ । खस–आर्य र मधेसी समाजको जात व्यवस्थाचाहिँ जयस्थिति मल्लले लादेको होइन । त्यो बेग्लै प्रक्रियाबाट स्थापित हुन पुगेको हो । विक्रम संवत् १९१० को मुलुकी ऐनमा नेवारभित्र पानी नचल्ने तर छोएमा चोख्याउनुपर्ने र नपर्ने गरी दुईथरी कथित अछुत जातको किटान गरी उत्पीडन जारी राखिएको थियो । २००४ सालदेखि २०२९ सालसम्म नेपालको दलित आन्दोलनको नेतृत्व नै नेवार नेताहरू सहस्रनाथ कपाली, मेवा कपाली, सिद्धिनारायण खड्गीहरूले गरेका हुन् । समयक्रममा विभिन्न कारणले नेवारभित्रका समुदायहरू दलित सूचीमा नबस्ने प्रकरण चल्यो, त्यो बेग्लै छलफलको विषय हो । २०२१ सालको भूमिसुधारले मोहियानी हक दिँदैनथ्यो भने विशाल संख्यामा रहेको ज्यापू समुदायको हालत आज पनि निकै कठिनाइयुक्त हुन सक्थ्यो किनभने त्योभन्दा अघि जात व्यवस्थाले ज्यापू समुदायलाई जग्गाको मालिक बन्न दिएकै थिएन । सहरको विकासले गर्दा घरैमा धारा पुग्यो, सार्वजनिक पसलहरूमा चिनेर साध्य नहुने मान्छे जम्मा हुन थालेपछि सार्वजनिक स्थलमा भेदभाव स्वत: कमजोर हुन पुग्यो । तर अहिले पनि नेवार जातिभित्र प्रत्येक जातले छुट्टाछुट्टै समाज बनाएर मात्रै आफू सुरक्षित महसुस हुने स्थिति अनि अन्तर्जातीय विवाह गरेका कथित तल्लो जातका महिलाले अकल्पनीय दु:ख भोग्नुपरेको परिस्थिति ज्युँका त्युँ छँदै छ । त्यसैले नेवार जातिमा जात व्यवस्था अवशेषका रूपमा मात्र बाँकी छ भन्नु एउटा भ्रम मात्र हो; वास्तवमा जात व्यवस्था आधारभूत रूपमा कायम छ, त्यसमा केही सुधार भएको छ भन्नुचाहिँ सही कुरा हो ।

जीवन्त यथार्थलाई छोपछाप गर्नु कसरी मनासिब हुन सक्छ र ? त्यसैले नेवार जातिभित्रको जात व्यवस्थालाई कसरी कमजोर पार्ने, कसरी समता कायम गर्ने र नयाँ उचाइमा ‘झि नेवा’ को स्थितिमा कसरी फड्को मार्ने भन्ने एउटा एजेन्डा जीवित छ । नेवार र जात व्यवस्थाको सम्बन्धको एउटा प्रकृति यही हो । शासकहरूले नेवारमाथि लादेको यस प्रकारको करिब एक हजार वर्षभन्दा लामो जात व्यवस्थाका कारण जातका आधारमा सोच्ने संस्कृति बन्न पुगेकै त छ । नेवारभित्रका द्य:ला र च्यामखलको आजको पछाडि पर्न गएको जीवनलाई मात्र हेरे पनि यो विषय छर्लंग रूपमा अगाडि आउँछ ।

अर्कोतिर, पृथ्वीनारायण शाहको राज्य विस्तारसँगै खस–आर्य दलितहरू वाग्मती उपत्यकामा प्रवेश गर्न थाले । उपत्यकाका काँठहरूमा बसोबास गरे । बाली प्रथाबाट सबैभन्दा पहिले मुक्त हुन पुगेका सार्कीहरू बजारको खोजीमा सबैभन्दा पहिले आए किनभने नेवार समाजमा छालाको काम गर्ने जात थिएन । आम नेवारलाई छालाको जुत्ता लगाउन बानी पारेकै सार्कीले हो । केही गन्दर्भहरू आए, उनीहरू कीर्तिपुर आसपासमा विलीन हुने अवस्थामा पुगेका छन् । दमाई र कामी सुरुमा आएनन् किनकि कपडा र फलामको काम गर्ने नेवारभित्रै कपाली र न:कमि थिए । यसरी हेर्दा उपत्यकामा खस–आर्य दलित र नेवारको सम्बन्ध दुई सय वर्षभन्दा लामो छ । नेवारभित्रका तल परेकाहरू र ज्यापूहरू नेवारभित्रका कथित उच्च जातीय तल्सिङका मोही थिए भने दलितहरू विभिन्न मन्दिरको मोही बन्न पुगे । यसरी दलितहरू र नेवारहरू एउटै अर्थतन्त्रका साझेदारका रूपमा रहँदै आए । आज उपत्यकाबाट उठिबास लाग्नेमा नेवारसँगै तिनै दुई सय वर्षदेखि बस्दै आएका दलित नै त परेका छन् । काँठका बस्तीहरू चहार्‍यो भने त्यो दृश्य छर्लंग देखिन्छ । यसरी नेवार र दलित सँगसँगै बस्दै आए पनि जात व्यवस्थाका कारण दलितहरू खस–आर्य हिन्दु उच्च जातबाट जस्तै नेवारबाट पनि भेदभाव र उत्पीडनमा पर्दै आए । सत्य यही त हो ।

नेवार जाति हिन्दु जातीय अहंकारवादी सत्ताबाट भाषा, संस्कृति, भूमि थलो र शासन अधिकारमा उत्पीडित हुँदै आयो भने दलित जात व्यवस्थाको उत्पीडनमा पिसिँदै आयो । आज दुवै समुदाय मुक्ति चाहन्छन् किनकि दुवै फरक फरक प्रकारले उत्पीडित छन् । त्यसैले एउटाले अर्कोलाई निषेध गर्ने बाटोबाट अगाडि बढ्नु दुवैको बर्बादी मात्र हुने स्पष्टै छ । यहाँ जरुरी छ कि दलितले नेवार राष्ट्रको मुक्तिलाई दृढतापूर्वक साथ समर्थन गर्नुपर्छ किनभने त्यो जायज छ । त्यसैगरी नेवार राष्ट्रले पनि दलित अधिकारलाई हृदयदेखि व्यवहारमै सम्मान गर्नुपर्छ किनभने त्यो नेवार राष्ट्रको आफ्नै पनि एउटा एजेन्डा हो । जात व्यवस्थाको अमानवीय जाँतोमा पिस्न ऐतिहासिक रूपमा नेवारको पनि हिस्सेदारी रहन पुगेकाले दलितहरूप्रति नेवार राष्ट्र संवेदनशील हुनु जरुरी छ, विनम्रतापूर्वक भेदभावलाई अन्त्य गर्न संकल्प गर्नुपर्ने हुन्छ । यही नै उत्पीडितहरूबीचको अजम्मरी एकताको सूत्र हो । त्यसैले पुरानो साम्प्रदायिक सद्भाववाला पञ्चायती नाराबाट नेवार र दलित दुवै मुक्त हुनु आवश्यक छ । पञ्चायती साम्प्रदायिक सद्भावले दलितलाई, ‘नेवार भनेको दुष्ट हुन्छ’ भन्न सिकायो अनि नेवारलाई दलित भनेको, ‘थि मज्यु पिं कुजात’ ठान्न सिकायो । अब दुवै समुदायले समतामा आधारित भेदभावमुक्त नयाँ सामाजिक सद्भाव निर्माण गर्न संकल्प गर्नुको विकल्प छ र ?

दे दवुको वक्तव्य र मन्त्रीको हर्कत

सरस्वती प्रधान गिरफ्तार भएपछि नेवा: दे दवुको काठमाडौं जिल्ला समितिले वक्तव्य निकालेर पीडितले षड्यन्त्र गरेको आरोप लगायो । त्यसैगरी ललितपुरको एक जात संगठनले पनि फेसबुकमा कतै त्यस्तै वक्तव्यको खेस्रा पोस्ट गरेको देखियो । पीडितले देशको कानुनबमोजिम न्यायको माग गर्दा जातीय संगठनहरू सीधा विरुद्धमा बोल्ने कुरा अनौठो लाग्ने विषय हो । कहिलेकाहीँ व्यक्तिको मुद्दामा अनर्थ नै हुन लागेको महसुस हुँदा समुदायले पहल लिनुपर्ने हुन सक्छ । त्यस्तो बेला समुदायले अर्को सम्बन्धित समुदायसँग मित्रतापूर्ण अन्तरक्रियामा जानुपर्ने हुन्छ । यो मुद्दामा पनि त्यस्तो गर्न सम्भव थियो नै, किनभने एउटै सहरमा रूपा सुनार संगठित संगठन क्रियाशील थियो । तर त्यता नलागी सीधा चुनौतीपूर्ण वक्तव्य जारी गरी समुदाय परिचालनतिर लाग्नु स्वाभाविक प्रसंग बन्न सकेन । नेवार राष्ट्रले आफूलाई यहाँसम्म ल्याइपुर्‍याउन पद्मरत्न तुलाधरहरूदेखि राजभाई ज:कमिहरूसम्मले विकास गरेको प्रवृत्ति ती वक्तव्यमा कतै प्रतिविम्बित देखिएन । पद्मरत्नहरू आफ्नो टाउकोमा ढुंगामुडा खप्दै बस्तीबस्ती दलितका पक्षमा उभिएर बनेको आन्दोलन हो यो † नेवा: दे दवुका केन्द्रीय अध्यक्षलगायतको प्रवृत्तिसँग पनि त्यो वक्तव्य पटक्कै मेल खाएको देखिएन । त्यस्तो वक्तव्य के कसरी आयो, त्यो त त्यस संगठनभित्र छलफल हुने विषय हो तर सम्पूर्ण उत्पीडितहरूसँग सहकार्य गर्ने नेवा: राष्ट्रिय मुक्ति आन्दोलनको परम्परामा कतै न कतै समस्या उत्पन्न हुन थालेको त हैन ? नेवा: राष्ट्रिय मुक्ति आन्दोलनमा प्रगतिशील प्रवृत्ति पाखा लाग्दै गएको हो कि ? कतै निहित स्वार्थका साम्प्रदायिक तत्त्वहरू त त्यसभित्र घुस्न थालेका हैनन् ? यावत् प्रश्नहरू भने स्वाभाविक रूपमा उठ्न पुगेका छन् ।

यही धमिलो माहोलमा एकाएक प्रकट भएका छन् शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ । सरकारवादी मुद्दाको रखवाला नै सरकार हो । तर त्यही सरकारको मन्त्री नै अभियुक्तलाई छुटाउन, हौसला दिन र पीडितलाई हतोत्साहित गर्न हाकाहाकी उपस्थित हुन्छ भने त्यो नैतिकता एवं विधिका दृष्टिले कदापि क्षम्य हुन सक्ने विषय नै होइन । इतिहासले यसको हिसाब राख्छ नै । नेवा: राष्ट्रियताको आन्दोलनमा कुनै योगदानमा रुचि नभएका, खोकना बर्बाद हुन लाग्दा या बाहिरी चक्रपथको योजनाले नेवा: सभ्यता ध्वस्त हुने विषयमा कुनै चासो नभएका मन्त्री श्रेष्ठको हस्तक्षेप केवल नेवार जनतालाई उल्लु बनाएर भोटको राजनीतिमा सीमित गर्नु हो भन्ने बुझ्न कठिन छैन । मन्त्री श्रेष्ठको निर्लज्ज व्यवहारले एकातिर जात व्यवस्थालाई आजको राज्य नाङ्गो रूपमा मलजल गर्न तयार छ भन्ने यथार्थ उजागर हुन पुगेको छ भने, अर्कोतिर मौका पाउनेबित्तिकै भोटको राजनीतिमा साम्प्रदायिकताको बिष घोल्न कुनै पनि बेला सत्ताधारीहरू उफ्रेर आइपुग्छन् भन्ने कुरा पनि छर्लंग भएको छ । राज्य र संसद्वादीहरूको यस प्रवृत्तिबाट सच्चा राष्ट्रिय मुक्ति आन्दोलनका पक्षधर एवं उत्पीडितहरू समयमै सतर्क हुनु जरुरी छ ।

प्रकाशित : असार १२, २०७८ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?